रौतहट ३ भदौ।
रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ११ सय सवारी धनी लाई कार्वाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ।
गत साउन मसान्त भित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कार्वाही गरी कुल ९ लाख,२५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।
कार्वाहीमा पर्ने सवारी साधन मध्ये सबभन्दा बढी ट्रकको संख्या ३३८ रहेको छ। ट्राफिक प्रहरीले उपलब्ध गरिएको तथ्याङकमा कार्वाहीमा पर्ने सवारी साधनमा दोस्रो स्थानमा २६१ मोटरसाईकल रहेको छ। त्यसैगरी १७३ कार, जिप, टेम्पो,८६ बस र ५९ ट्याक्टर रहेको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर आचार्यका अनुसार मापसे ६ ओभरालोड रहेको ३३१ ट्रक, हेलमेट सीट बेल्ट नलगाएको ९२, कागजपत्र नबोकेको २९७, सवारी चालक अनुमतिपत्र नभएको ६२, बती बिग्रिएको ७४, तिव्रगतिको ७ , र उद्देश्य बितरित लगेज बोकेको ४० गरी कुल ११ सय ५ सवारी धनीलाई कार्वाहीको दायरामा ल्याईएको छ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर, बागमती, डुमरिया , गौर, गरुडा, बमनहर, मौलापुर, लगायत ग्रामीण भेगसम्म ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।न्युज कारखाना
काठमाडौँ । दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा अहिले पहिलो पटक पुगेको छ । रुसको कुर्स्क क्षेत्रमा करिब दुई सातादेखि युक्रेनी सेनाको उपस्थिति रहेको छ ।
युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्वपूर्ण अर्को पुल ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी सेनाले केही दिनअघि रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो । युक्रेनी सेनाले आइतबार पुलमा भएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ । यो हमला झानोएको सेयाम नदी माथि गरिएको बताइएको छ ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्न थालेको थियो । पछिल्लो समय रुसले पूर्वी युक्रेनका क्षेत्रहरूमा आफ्नो नियन्त्रण बढाउन क्रमशः अघि बढिरहेको छ । यसैक्रममा युक्रेनी सेनाले रणनीतिक रुपमा रुसको कुर्स्क क्षेत्रमा कब्जा गर्न शुरु गरेपछि रुस-युक्रेन युद्धको परिदृश्य बदलिने विश्लेषण गर्न थालिएको छ । त्यसयता रुसले आफ्ना हजारौं नागरिकलाई यस क्षेत्रबाट बाहिर निकालेको छ ।
युक्रेनी वायुसेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल मिकोला ओलेस्चुकले आक्रमणको भिडियो जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्को पुल ध्वस्त भएको छ ।’
युक्रेनी सेनाको भिडियोमा पुलमाथि धुवाँको ठूलो मुस्लो र यसको केही भाग ध्वस्त भएको देखाइएको छ । यद्यपि यो आक्रमण कहिले भएको हो भन्ने खुलाइएको छैन ।
आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुर्स्कमा सैन्य घुसपैठको उद्देश्य रुसी आक्रमणलाई रोक्न ‘बफर जोन’ बनाउनु रहेको बताएका छन् । युक्रेनले ध्वस्त गरेको यस पुलबाट रुसले त्यो आफ्ना सेनाहरूलाई आपूर्ति गर्न प्रयोग गर्ने गरेको बताइएको छ ।
यसअघि, युक्रेनी सैन्य विश्लेषकहरूले यस क्षेत्रमा तीनवटा त्यस्ता पुलहरू पहिचान गरेका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दुईवटा पुल या त ध्वस्त भएका छन् वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । युक्रेनी सेनाले रुसी सीमाभित्र रहेको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको झण्डै दुई सातापछि उनीहरु यहाँ बस्ने योजनामा रहेको स्पष्ट हुँदै आएको छ ।
जेलेन्स्कीले युक्रेनमा थप रुसी आक्रमणहरू रोक्न कुर्स्क आक्रमणमा बफर जोन सिर्जना गर्ने उद्देश्य रहेको स्पष्ट गरेका छन् । अर्को तर्फ रुसले यो घुसपैठलाई उत्तेजक भन्दै यसको उचित जवाफ दिने बताएको छ ।न्युज कारखाना
काठमाडौँ । यही भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । फिल्मले बलात्कारको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा देखाउन खोजिएको छ ।
फिल्ममा अभिनेत्री शिल्पा मास्के पत्रकारको भूमिकामा छिन् । फिल्मले मूलतः शिल्पाको पात्रमार्फत् कथा भनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
सञ्जोग राईको निर्देशनमा बनेको फिल्ममा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला, विशाल पहारी, निरिक्षा घतानी, प्रभाकर न्यौपाने, निरु खड्का, जीवनजंग खड्का लगायतको पनि अभिनय छ । गौरव प्रहरीको भूमिकामा छन् । जोएल फ्रोमको छायांकन रहेको फिल्मको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । फिल्ममा सन्जेन थापाको द्वन्द्व छ ।
एक्जिबिट स्टुडियोले ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मससँग सहकार्य गरेको फिल्ममा रेमन गुरुङ, नारायण राई र सञ्जोग राई निर्मातामा छन् भने जावेद खान कार्यकारी निर्माता हुन् । त्यस्तै, सह-निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा छन् ।
फिल्मको ट्रेलर: https://youtu.be/jcO53FtHCI0
न्युज कारखाना
काठमाडौं । ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ ।
मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ ।
अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।न्युज कारखाना
काठमाडौँ । अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पछिल्लो पोलमा ट्रम्पलाई पछाडी पारेकी छन् । सीबीएस न्यूजले गरेको राष्ट्रव्यापी पोलमा डेमोक्रेटिक उम्मेदवार ह्यारिसको पक्षमा ५१ प्रतिशत मत देखिएको छ भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको छ ।
सोमबारदेखि शुरु हुन लागेको डेमोक्रेट पार्टीको नेशनल कन्भेन्सन अघि सार्बजनिक भएको यो पोलको नतिजाले डेमोक्रेटहरुलाई उत्साहित बनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यस पोलमा ८३ प्रतिशतले अर्थतन्त्रलाई मुख्य आधार बनाएर भोट दिने बनाएका छन् भने ७६ प्रतिशतले महंगी आगामी चुनावको सबै भन्दा ठुलो एजेण्डा भएको बताएका छन् । त्यस्तै ६२ प्रतिशतले अपराध र ५८ प्रतिशतले बन्दुक नीतिमा आधारित भएर मत दिने बताएका छन् । त्यस्तै ५६ प्रतिशतले सीमा सुरक्षाको विषय र ५१ प्रतिशतले गर्भपतनको मुद्धालाई आधार बनाएर मत दिने बताएका छन् ।
सिविस न्यूजका लागि यो पोल यूगभ (yougov) ले गरेको थियो । यो पोल अगस्त १४ देखि १६ सम्म देशभरका मतदाता नामावलीमा दर्ता भएका ३ हजार २५८ मतदातामा गरिएको बताइएको छ । यस पोलको २.१ प्रतिशत मात्र तलमाथि हुने समेत रिपोर्टमा उल्लेख गरिएको छ ।
त्यसैगरी अर्को मिडिया हाउस सिएनएनले गरेको सर्वेले ह्यारिस ५० प्रतिशत र ट्रम्प ४८ प्रतिशत रहेको देखाएको छ ।न्युज कारखाना
चितवन । चितवनको खैरहनी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।
आज बिहान २: ४० बजे खैरहनी–८ बाबा पेट्रोलपम्प स्थित पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट खोलेसिमलतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००३ प ६३७ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटना कसरी भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल दुर्घटना हुँदा लमजुङ राईनस नगरपालिका–६ धमेलीकुवा घर भई हाल रत्ननगर नगरपालिका–१५ खोलेसिमल बस्ने वर्ष ४३ को हेमन्त कुमार श्रेष्ठ गम्भिर घाइते भएका थिए । उनी इलाका प्रहरी कार्यालय मनहरीमा प्रहरी वरिष्ठ हवल्दार पदमा कार्यरत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गम्भिर घाईते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहान ३: १९ बजे मृत्यु भएको थियो । प्रहरीले मोटरसाइकल दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक एक गोल गरेका थिए । हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने कोभाकिकले खेलको ८४औं मिनेटमा गोल गरेका थिए ।
यो जितपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनको शुरुवात गरेको छ भने चेल्सीले हारबाट नयाँ सिजनको शुरुवात गरेको छ । न्युज कारखाना
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड नयाँ सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिड मल्लोर्कासँग १-१ गोलको बराबरीमा रोकिएको हो । रियल म्याड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस खेलमा रियल म्याड्रिडका फेर्लान्ड मेन्डीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ९० मिनेटपछिको इन्जुरी समयमा मैदान छोडेका थिए ।
यो बराबरीपछि रियल म्याड्रिड र मल्लोर्काले एक एक अंक बाँडेका छन् र दुवैले नयाँ सिजनमा औसत शुरुवात गरेका छन् । यसै खेलबाट किलीयन एम्बाप्पेले ला लिगामा डेभ्यु समेत गरेका छन् । न्युज कारखाना
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।
रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी क्वाँटी
जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडाँैको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्दछ ।न्युज कारखाना
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानैदेखि सर्वसाधारणले रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । तर, विशिष्ट व्यक्तिहरूले भने दिउँसो १ बजेपछि रक्षाबन्धन कर्म गर्नु ठिक हुने समितिले बताएको छ ।
समितिका अनुसार भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको छ । सो तिथिलाई देखाएर गणस्नान, उपाकर्म नूतन यज्ञोपवीतधारण, ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरूको काल सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भइरहेको भन्दै समितिले यसबारे स्पष्ट पारेको हो ।
समितिका अनुसार घण्टा मिनेटअनुसार सोमबार दिउँसो १: ३१ बजेसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धनलगायत जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन भन्ने नै मुख्य प्रश्न रहेको देखिएको समितिले जनाएको छ।
समितिले भद्रामा श्रावणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं सहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भएको बताएको छ ।
समितिले विशिष्ट व्यक्तिहरूले मात्र भद्रा कटाई सोमबार १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिब देखिएको बताएको छ ।
समितिले साउन ३१ मै जारी गरेको विज्ञप्तिमा भनेको छ- ‘यस बीचमा गणस्तान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूत्रमात्र पूर्वोक्त व्यक्तित्वहरूले बाँध्न नहुने हुँदा भद्रापछि बाँध्नु उचित हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ ।’न्युज कारखाना