२०८३ आश्विन २१
२०८३ आश्विन २१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५  जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशीमा ४ जनाको मृत्यु भएको छ भने मधेशमा एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, सुदूरपश्चिममा ४ जना, बागमतीमा ६ जना र  कर्णालीमा २ घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार साँझ पाण्डेको काठमाडौंको विशालगरस्थित आफ्नै निवासमा निधन भएको हो । पाण्डे पछिल्लो समय प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए ।

उनी २०४६ सालको परिवर्तनपछि संक्रमणकालमा बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीसमेत बनेका पाण्डे पछिल्लो समय भने नागरिक अगुवाको भूमिकामा रहेका थिए । एभरेष्ट न्यूज एजेन्सी

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–०२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा जिल्ला रुपन्देही बुटवल उउपमहानगरपालिका -०३ बस्ने ३० वर्षीय माइक्रोबसका सहचालक सन्दीप बरालको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा भिम अस्पताल भैरहवामा उनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका -०८ बस्ने ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही ठेगाना बस्ने ३४ वर्षीया श्रद्धा जोशी, जिल्ला कपिलबस्तु शिवराज नगरपालिका -०२ बस्ने १९ वर्षीय प्रकाश गाहा, जिल्ला पाल्पा रिब्दीकोट गाउँपालिका -०६ बस्ने ३८ वर्षीय सुनिल थापा, जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका -०३ दरखसवा बस्ने २६ वर्षीय कुलदीप गुप्ता, जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका -०७ वडवलिया बस्ने ५५ वर्षीया शाहाबुन निसा र जिल्ला नवलपरासी सुनवल नगरपालिका -०६ बस्ने ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन् ।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

प्रहरीले दुर्घटनापछि फरार भएका चालक जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–०६ गणेशपुर बस्ने ४६ वर्षीय छबिलाल थापालाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ।

बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालित जलन उपचार सेवाको अवस्था, उपलब्ध स्रोत–साधन तथा भावी योजना प्रस्तुत गरेका थिए ।

बैठकले जलन उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, तालिम, पूर्वाधार, उपकरण, औषधि तथा अन्य स्रोत–साधनको प्रदेशगत रूपमा विस्तृत नक्साङ्कन गरी सोही आधारमा कार्ययोजना कार्यान्वयन गर्ने सहमति गरेको छ।

त्यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा सञ्चालनमा रहेका मनोसामाजिक परामर्श केन्द्रलाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउने निर्णय गरिएको छ। अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई मनोसामाजिक परामर्श सेवाबारे प्रभावकारी रूपमा जानकारी गराउने तथा आवश्यक परामर्श सहज रूपमा उपलब्ध गराउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

बुटवल । प्युठानको नौबहिनी गाउँपालिका–०५ डामृ स्थित रोकी राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासी ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । साथै, सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा मध्यम घाइते भएका थिए ।

दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएकोमा चिकित्सकले कुण्डन घर्तीको मृत्यु भएको छ भने अर्का घाइते पारस बुढालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार र ट्याक्टर साहुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

चितवन । निरन्तर खोजी तथा अनुगमनपछि चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्ती फेला परेको छ ।  निकुञ्जभित्र सुखीभार पोस्ट नजिक ध्रुवे हात्ती फेला परेपछि गएराती विशेषज्ञ टोलीले ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो । यस्ले नियमित निगरानी गरिने,बस्ती आउनु अगावै जानकारी गराउने छ ।

रेडियो कलरमार्फत हात्तीको अवस्थिति र गतिविधिको जानकारी छोटो–छोटो अन्तरालमा प्राप्त हुने भएकाले नियमित अनुगमन गर्न सहज हुने विश्वास गरिएको छ। यस प्रविधिले हात्तीको जीपीएस लोकेसन तत्काल प्राप्त हुने, जोखिमपूर्ण क्षेत्रको पूर्वानुमान गर्न सकिने तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने छ।

चितवन राष्ट्रिय निकुञ्जले रेडियो कलरमार्फत ध्रुवे हात्तीको नियमित निगरानी गर्दै आवश्यक व्यवस्थापनका कार्यलाई निरन्तरता दिने जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनलाई प्रभावकारी बनाउन समस्या सिर्जना गर्दै आएको ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको छ।

असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहटा निवासी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ध्रुवे हात्तीको आक्रमणबाट मृत्यु भएपछि थप मानवीय क्षति हुन नदिन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा हात्तीको खोजी र निगरानी तीव्र बनाइएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन ठेक्कामा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ का लागि समनपुर नाकाबाट बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन, संकलन, बिक्री तथा निकासीको ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिले ३ करोड २५ लाख रुपैयाँमा कबोल गरेको पाइएको अख्तियारले जनाएको छ।

बोलपत्रको सर्तअनुसार सम्झौताअघि सात दिनभित्र सम्पूर्ण रकम बुझाउनुपर्ने व्यवस्था भए पनि कम्पनीले तोकिएको समय नाघेर २४ दिनपछि ८४ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरी सम्झौताका लागि निवेदन दिएको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि कम्पनीले एक करोड रुपैयाँ पहिले नै दाखिला गरिसकेको भनी झुट्टा विवरण समावेश गरेर टिप्पणी पेश गरिएको र नगर प्रमुखले त्यसलाई स्वीकृत गर्दै बोलपत्रको सर्तविपरीत एक महिनाका लागि १० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासी गर्न अस्थायी अनुमति दिएको आरोप लगाइएको छ।

तर उक्त अवधिमा ५४ हजार ३५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरी ३ करोड ३२ लाख ६९ हजार ७८९ रुपैयाँ ५८ पैसा बराबरको लाभ लिएको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ।

अनुसन्धानअनुसार कम्पनीले ठेक्का सम्झौताबापत १ करोड ९ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरेको थियो। यसरी ठेक्काको बाँकी २ करोड १५ लाख ३७ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि करबापत ४२ लाख २५ हजार रुपैयाँ गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व दाखिला नगरी नेपाल सरकार तथा गढीमाई नगरपालिकालाई हानि पुर्‍याएको आरोप छ।

यसका साथै रकम दाखिला नभइसकेको अवस्थामा दाखिला भइसकेको भन्दै गलत प्रतिवेदन तयार गरी राजस्व चुहावट गराइएको निष्कर्षसहित नगर प्रमुखयादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., बत्तीसपुतली, काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राधेश्याम साहविरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार २४ गते बुधबार ईस २०२६ जुलाई ८ नेपाल सम्बत ११४६ तछलागा अष्टमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण अष्टमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, अतिगण्ड योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १५ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज विश्व छाला स्वास्थ्य दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन आशावादी सोच र निरन्तर प्रयासले सफलता दिलाउने संकेत देखिएको छ। बिहानदेखि नै नयाँ काम सुरु गर्ने वा अधुरा योजना पूरा गर्ने उत्साह बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको आत्मविश्वास, लगनशीलता र निर्णय क्षमताले वरिष्ठ व्यक्तिको ध्यान आकर्षित गर्न सक्छ। व्यापार–व्यवसायमा साना तर महत्वपूर्ण उपलब्धि हात लाग्ने सम्भावना छ। आर्थिक रूपमा आम्दानी सन्तोषजनक रहनेछ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त निद्रा र आरामलाई बेवास्ता नगर्नु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र सन्तुलित व्यवहारले धेरै जटिल काम सहज बन्नेछन्। कार्यक्षेत्रमा पुराना प्रयासले सकारात्मक परिणाम दिन थाल्ने संकेत देखिन्छ। नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई धैर्यपूर्वक पूरा गर्न सक्नुहुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ र भविष्यका लागि बचत गर्ने सोच बलियो बन्नेछ। परिवारमा मेलमिलाप र सहयोगको वातावरण कायम रहनेछ। आफन्तसँगको भेटघाट वा शुभ समाचारले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा शान्ति महसुस हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ योजना सफल हुने सम्भावना छ। सहकर्मी तथा साथीभाइको सहयोगले चुनौतीपूर्ण काम पनि सहज रूपमा सम्पन्न हुनेछ। सञ्चार, लेखन, अध्ययन वा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन निकै फलदायी रहनेछ। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ र रोकिएको रकम प्राप्त हुने सम्भावना पनि देखिन्छ। परिवारसँग बिताएको समयले मनमा नयाँ ऊर्जा थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारको साथ र विश्वासले तपाईंलाई ठूलो हौसला दिनेछ। घरमा खुसी, मेलमिलाप र समझदारीको वातावरण कायम रहनेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी र जिम्मेवारीको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना छ। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ र आवश्यक खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ। कुनै शुभ समाचारले मन प्रसन्न बनाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता र आत्मविश्वासले तपाईंलाई विशेष सफलता दिलाउन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। व्यापारमा विस्तार गर्ने योजना अघि बढ्न सक्छ। आर्थिक रूपमा लाभका अवसर देखिए पनि हतारमा ठूलो लगानी नगर्नु उचित हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्ने सम्भावना छ। परिवारको साथले मनोबल उच्च रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान प्राप्त गर्ने कार्यमा उल्लेखनीय प्रगति हुनेछ। कार्यक्षेत्रमा निरन्तर मेहनतले राम्रो परिणाम दिनेछ। नयाँ सीप सिक्ने वा आफ्नो अनुभवलाई उपयोग गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो यात्रा वा बाहिरी भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र नियमित जीवनशैलीले थप ऊर्जा दिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। व्यापार वा व्यवसायमा विस्तार गर्ने योजना सफल बन्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग रमाइलो समय बित्नेछ र घरमा खुसीको वातावरण कायम रहनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। स्वास्थ्य पनि राम्रो रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले राम्रो प्रतिफल दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो छ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ। सम्बन्धमा विश्वास र आत्मीयता अझ मजबुत बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह कायम रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच, उत्साह र आत्मविश्वासले तपाईंलाई अगाडि बढाउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। नयाँ योजना सुरु गर्न वा भविष्यका लक्ष्य तय गर्न दिन उपयुक्त रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ। बचत गर्ने योजना सफल बन्ने सम्भावना छ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्‍याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले आरामका लागि समय छुट्याउनु उचित हुनेछ। दिनको अन्त्यमा उपलब्धिले मनमा सन्तोष ल्याउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच र नवीन योजनाले तपाईंलाई विशेष उपलब्धि दिलाउन सक्छ। कार्यक्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले कठिन काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यमा लाभदायक बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मनमा सकारात्मक ऊर्जा रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई सफल बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्तिम परिणाम सन्तोषजनक रहनेछ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको सही उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुन सक्छ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना छ। साँझतिर कुनै सुखद समाचार प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि निरन्तर बढ्दै जानेछ।

एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । हरेक वर्ष जुलाई ६ मा विश्व ग्रामीण विकास दिवस मनाइन्छ । ग्रामीण समुदायले खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, कृषि उत्पादन र दिगो विकासमा पुर्‍याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२४ सेप्टेम्बर ६ मा जुलाई ६ लाई विश्व ग्रामीण विकास दिवसका रूपमा औपचारिक मान्यता दिएको हो । यसको उद्देश्य ग्रामीण क्षेत्रमा रहेका गरिबी, असमानता र विकासका चुनौतीप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुका साथै कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, जलवायु अनुकूलन र रोजगारीमा लगानी बढाउन प्रोत्साहन गर्नु हो ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वका करिब ८० प्रतिशत अति गरिब मानिस ग्रामीण क्षेत्रमा बसोबास गर्छन्, जहाँ दैनिक आम्दानी अत्यन्त न्यून छ । यस्तै, एक अर्बभन्दा बढी मानिस बहुआयामिक गरिबीमा बाँचिरहेका छन्, जसमा आधाभन्दा बढी बालबालिका छन्। ग्रामीण क्षेत्रका करिब ५० प्रतिशत नागरिक अझै पनि आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित छन्, जबकि सहरी क्षेत्रमा यस्तो अवस्था करिब २२ प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ ।

विश्वभर उत्पादन हुने करिब ८० प्रतिशत खाद्यान्न पारिवारिक खेतीबाट उत्पादन हुन्छ । कृषि क्षेत्रमा महिलाको उल्लेखनीय योगदान रहे पनि उनीहरू भूमि, ऋण, आधुनिक प्रविधि र अन्य स्रोतमा समान पहुँचबाट अझै वञ्चित छन् ।

विशेषज्ञहरूका अनुसार ग्रामीण क्षेत्रमा गरिने लगानीले गरिबी घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, खाद्य सुरक्षा मजबुत बनाउने र जलवायु परिवर्तनका असर सामना गर्ने क्षमता अभिवृद्धि गर्ने भएकाले यसलाई दिगो विकासको प्रमुख आधार मानिन्छ । यही सन्देशका साथ विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी ग्रामीण समुदायको सशक्तीकरण र समावेशी विकासमा जोड दिइएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । काठमाडौंबाट धनगढीतर्फ उडान भरेको श्री एयरलाइन्सको एक जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवामा आकस्मिक अवतरण गराइएको छ । विमानको ककपिटमा अचानक धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा प्रक्रिया अपनाएको थियो ।

विमानले आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो । केही समयमै ककपिट क्षेत्रमा धुवाँ देखिएपछि पाइलटले सतर्कता अपनाउँदै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराएका थिए ।

विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सम्पूर्ण यात्रु तथा चालक दलका सदस्य सकुशल रहेका छन् । घटनापछि प्राविधिक टोलीले जहाजको विस्तृत परीक्षण सुरु गरेको छ भने ककपिटमा धुवाँ देखिनुको वास्तविक कारणबारे अनुसन्धान अघि बढाइएको छ ।

यसैबीच, भैरहवामा रोकिएका यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन श्री एयरलाइन्सले अर्को जहाज पठाइसकेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।