२०८२ चैत्र २५
२०८२ चैत्र २५

 

आरएन पटेल, रौतहट, माघ १० गते ।
बसन्त पञ्चमी तथा विद्या की देवी सरस्वती पूजाको पावन अवसरमा रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २, इनर्वामा सञ्चालनमा रहेको ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूलमा भव्य सांस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजा २०८२ को अवसरमा विद्यालयका बालबालिकाहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम, स्पीच तथा नाटकीय प्रस्तुतीको शुभ उद्घाटन बौधिमाई नगरपालिकाका पूर्व नगर प्रमुख तथा जनता समाजवादी पार्टी नेपाल, रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवले गरेका हुन।
कार्यक्रममा प्रमुख अतिथि यादवले बसन्त पञ्चमीको महत्वबारे चर्चा गर्दै विद्यालयले प्रत्येक वर्ष आयोजना गर्दै आएको यस्ता सांस्कृतिक, स्पीच तथा नाटकीय कार्यक्रमहरूले विद्यार्थीहरूमा शिक्षाप्रति रुचि र सिर्जनशीलता बढाउने बताए। उनले शिक्षा मानव जीवनको “तेस्रो आँखा” भएको उल्लेख गर्दै शिक्षाले केवल साक्षर मात्र नभई आत्मनिर्भर नागरिक बनाउने भएकाले अभिभावक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूले यसको महत्व बुझेर अघि बढ्नुपर्नेमा जोड दिए।


विद्यालयका फाउन्डर तथा प्रिन्सिपल जयराम प्रसाद गुप्ताले विगत दुई दशकदेखि ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूलले इनर्वा तथा आसपासका क्षेत्रहरूमा शिक्षाको उज्यालो फैलाउँदै आएकोप्रति युवा नेता दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेलले बताए। उनका अनुसार विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू आज विभिन्न सरकारी तथा गैरसरकारी निकायमा सफलतापूर्वक कार्यरत छन। साथै विद्यालयले शिक्षाप्रति खेलको उक्त भूमिकाको लागि विद्यालयको निरन्तर उन्नति र प्रगतिको युवा नेता पटेलले शुभकामना व्यक्त गरे।

त्यस्तै बौधिमाई-२ का पूर्व वडा अध्यक्ष रामबाबु प्रसाद कुशवाहाले विद्यालय परिवारको प्रशंसा गर्दै गीतमार्फत अभिभावक र विद्यार्थीहरूलाई शिक्षाको महत्वबारे सन्देश दिएका थिए। उनले यस विद्यालयले विगतमा मधेश प्रदेश स्तरीय कार्यक्रममा प्रथम स्थान हासिल गरी नगरपालिका तथा वडाको गरिमा बढाएको उल्लेख गरे।
स्थानीय समाजसेवी तथा पूर्व वडा सदस्य शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहट जिल्लाका पूर्व उपसभापति तथा हाल प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. २ का जसपा नेपालका उम्मेदवार राम अशिष राय यादव, समाजसेवी अशोक प्रसाद पटेल, वडा सदस्य रामध्यान पटेल, स्थानीय विजय प्रसाद पटेल, रामाकान्त कुमार पटेल, दीपकराज पटेल लगायत विद्यालय परिवार, अभिभावक, बुद्धिजीवी र शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो।

आरके श्रीवास्तव,राैतहट,१० गते माघ । 

कटहरिया । आज भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रौतहटको आयोजनामा कटहरिया नगरपालिका–८ अन्तर्गत पिप्रा पोखरियामा निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा पशु चिकित्सक, प्राविधिक टोली तथा स्थानीय जनप्रतिनिधिहरूले सक्रिय र सहयोगी भूमिका निर्वाह गरेका थिए । शिविरमार्फत पशुपालक किसानहरूलाई खोरेत तथा पि.पि.आर. रोग विरुद्धको खोप सेवा, गोबर परीक्षण, रोग निदान तथा उपचार र दूध परीक्षणजस्ता सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो ।

यो पशु स्वास्थ्य शिविर कटहरिया नगरपालिकाका वडा नम्बर ३, ८ र ९ गरी तीन वटा वडाका विभिन्न स्थानहरूमा आयोजना गरिएको थियो । सो अवसरमा वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव र वडा नम्बर ९ का वडा अध्यक्ष रूपेश यादवले पनि शिविर सफल बनाउन सहयोग पुर्‍याएका थिए ।

कार्यक्रमका क्रममा वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम शाहले पशुपालक किसानहरूको आयआर्जन र जीविकोपार्जनमा पशु स्वास्थ्य सेवाको ठूलो महत्व रहेको बताउँदै यस्ता निःशुल्क शिविरहरूले किसानलाई प्रत्यक्ष लाभ पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि पशु सेवा सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिन वडा कार्यालय सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

स्थानीय किसानहरूले शिविरबाट समयमै उपचार र परामर्श पाउन पाएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता,रा‌ैतहट,०६ गते माघ । 

कटहरिया । प्रतिनिधि सभा सदस्यका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनका प्रतिनिधि (वारेस) मार्फत उम्मेदवारी दर्ता गरिएको हो ।

यसअघि सोही क्षेत्रबाट प्रभु साह चार पटकसम्म प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् । लामो समयदेखि रौतहट–३ को राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका साहको पुनः उम्मेदवारीसँगै क्षेत्रको राजनीतिक प्रतिस्पर्धा थप चर्किने अपेक्षा गरिएको छ ।

मनाेनय पछि प्रतिक्रिया दिदै उनले भने राैतहटकाे गाैरव बढाउने हाे । याे इतिहास पुनः दाेहाेरिने छ भने आफू विश्वस्त रहेको बताए ।

उम्मेदवारी दर्तापछि स्थानीय कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन् । निर्वाचन कार्यतालिका अनुसार अब उम्मेदवारहरूको नामावली प्रकाशन, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशनपछि चुनावी प्रचार–प्रसार तीव्र हुने निर्वाचन कार्यालयले जनाएको छ ।

हनुमत कुमार यादव,गाैर,०६ गते माघ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. १ मा आज उम्मेदवारी दर्ता प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

‎उम्मेदवारी दर्ता गर्ने प्रमुख उम्मेदवारहरूमध्ये नेकपा एमालेबाट अजय गुप्ता, नेकपाबाट पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेसबाट अनिल झा, जनता समाजवादी पार्टी (जसपा) बाट योगेन्द्र यादव तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजेश चौधरी लगायतका उम्मेदवारहरु मनोनयन दर्ता गराएका छन् ।

‎मनोनयन दर्तापछि उम्मेदवारहरूले संक्षिप्त मन्तव्य राख्दै लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता जनाएका थिए । नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले विकास, सुशासन, स्थायित्व र रौतहट लाई बाढी प्रभावित मुक्त क्षेत्र बनाउने आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै जनताको विश्वास जित्ने दाबी गरे ।

‎त्यसैगरी नेकपाका उम्मेदवार माधव कुमार नेपालले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायका लागि आफू उम्मेदवार बनेको उल्लेख गरे । उनले रौतहटको समग्र विकासका लागि दीर्घकालीन योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरे ।



‎नेपाली कांग्रेसका उम्मेदवार अनिल झाले समावेशी विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने बताउँदै जनताको मतबाट परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।

‎जसपाका उम्मेदवार योगेन्द्र यादवले मधेसका मुद्दा, पहिचान र अधिकारको सुनिश्चितताका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै जनतासँग प्रत्यक्ष संवाद गर्दै अघि बढ्ने धारणा राखे ।

‎रास्वपाका उम्मेदवार राजेश चौधरीले पुराना राजनीतिक अभ्यासको अन्त्य गर्दै नयाँ सोच र पारदर्शी राजनीतिमार्फत जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

‎मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी दर्तासँगै रौतहट क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दै गएको छ भने आगामी दिनमा चुनावी प्रचार–प्रसार थप तीव्र हुने देखिएको छ ।


हनुमत कुमार यादव,गाैर,०६ गते माघ । 

प्रादेशिक अस्पताल गौर रौतहटलाई ५० बेडबाट १०० बेडमा स्तरोन्नति गरिनुका साथै मधेश प्रदेशमै न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS) कार्यान्वयनमा मधेश प्रदेशमै पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

‎न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत अस्पतालको अनुगमन, मूल्याङ्कन तथा समीक्षा गोष्ठि आज गौरमा भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

‎कार्यक्रममा अध्यक्ष यादवले अस्पतालको स्तरोन्नतिले रौतहटसहित सीमावर्ती जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । “५० बेडबाट १०० बेडमा स्तरोन्नति हुनु भनेको केवल भौतिक विस्तार मात्र होइन, सेवाको गुणस्तर, पहुँच र विश्वासको विस्तार हो,” उहाँले भन्नुभयो । साथै उहाँले न्यूनतम सेवा मापदण्ड सफलतापूर्वक कार्यान्वयन गर्न सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो ।



‎कार्यक्रममा बोल्दै मे. सु. मुरारी ठाकुरले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनले अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र बिरामीमैत्री वातावरणमा उल्लेखनीय सुधार आएको उल्लेख गर्नुभयो । “मधेश प्रदेशमै पहिलो स्थान प्राप्त गर्नु गौर अस्पतालका लागि गौरवको विषय हो, यसले अन्य अस्पताललाई पनि प्रेरणा दिनेछ,” उहाँको भनाइ थियो ।

‎जनस्वास्थ्य अधिकृत राजेश सिंहले न्यूनतम सेवा मापदण्डले अस्पतालमा सेवा, सरसफाइ, औषधि व्यवस्थापन र मानव स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गरेको बताउनुभयो । “यस उपलब्धिले सरकारी स्वास्थ्य संस्थाप्रति जनताको विश्वास अझ बलियो बनाएको छ,” उहाँले उल्लेख गर्नुभयो ।

‎अस्पताल व्यवस्थापन समितिका सदस्य ओमप्रकाश साह मधेशीयाले गौर अस्पतालको यो सफलता सामूहिक प्रयासको परिणाम भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी र विशेषज्ञ सेवाहरू विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो । “अबको लक्ष्य भनेको सेवा मात्र होइन, सेवाको निरन्तर गुणस्तर सुनिश्चित गर्नु हो,” उहाँले भन्नुभयो ।

‎कार्यक्रममा प्रदेश बाट आएका संबन्धीत निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

आरएन पटेल, रौतहट, माघ ०६ गते ।
जनता समाजवादी पार्टी नेपाल रौतहट क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार राम अशिष राय यादवले आज निर्वाचन कार्यालय लौकाहामा औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराउनुभएको छ ।
मनोनयन दर्ता कार्यक्रममा जसपा नेपाल रौतहटका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता-कार्यकर्ता, जनप्रतिनिधि, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
जसपा नेपालका उम्मेदवार यादवले लोकतान्त्रिक विधि र संविधानअनुसार निर्वाचनमा सहभागी हुँदै जनताको अधिकार र पहिचानको लडाइँलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
उम्मेदवार यादवले मनोनयनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रौतहट क्षेत्र नं. २ का जनताको विकास, सुशासन, सामाजिक न्याय र समावेशी लोकतन्त्र आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो । उहाँले जनताको भरोसा र समर्थनका साथ निर्वाचनमा विजय हासिल गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। जसपा नेपालले आगामी निर्वाचनलाई जनताको पक्षमा निर्णायक बनाउने लक्ष्यसहित संगठनात्मक रूपमा अघि बढिरहेको पार्टी नेताहरू तथा जिल्ला अध्यक्ष राजीव रंजन यादवले बताएका छन।

आरके श्रीवास्तव,राैतहट,०६ गते माघ । 

रौतहट क्षेत्र नम्बर २ मा जनमत पार्टीको तर्फबाट सोनु कुशवाहाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ता पश्चात उहाँले युवाको आवाज संसदसम्म पुर्‍याउने, भ्रष्टाचारविरुद्ध दृढ रूपमा उभिने तथा जनताको अधिकार, विकास र सुशासनका लागि निडर भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

कुशवाहाले आफू जेन–जी युवाको प्रतिनिधिका रूपमा चुनावी मैदानमा उत्रिएको बताउँदै देशको राजनीति अब नयाँ सोच, पारदर्शिता र जवाफदेहिताको दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । युवाको ऊर्जा र विचारलाई नीति निर्माणको केन्द्रमा राखेर काम गर्ने उहाँको भनाइ छ ।

जनमत पार्टीले रौतहट क्षेत्र नम्बर २ मा युवा नेतृत्वलाई अघि सार्दै परिवर्तनको सन्देश दिन खोजेको जनाएको छ । स्थानीय स्तरमा सक्रिय युवाहरू र मतदातामाझ कुशवाहाको उम्मेदवारीले नयाँ बहस र उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

 

बारा, माघ ६ गते 

आम जनता पार्टी (आजपा) का केन्द्रीय अध्यक्ष प्रभु साहका स्वकीय सचिव विजय यादव ‘निर्विज’ले बारा निर्वाचन क्षेत्र नं. १ बाट औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराएका छन्। निर्वाचन कार्यालय कोल्हवीमा पुगेर उनले आज उम्मेदवारी दर्ता गराएका हुन्।

विगत ६ वर्षभन्दा बढी समयदेखि पार्टी संगठन सुदृढीकरण, जनसरोकारका विषय तथा राजनीतिक व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका यादवलाई आम जनता पार्टीले बारा–१ मा परिवर्तनको दृढ संकल्पसहित उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ। पार्टीका अनुसार यादव जनताको दुःख–सुखमा सधैं साथ दिने, भ्रष्टाचारविरुद्ध अडिग रहने तथा विकास र सुशासनको पक्षमा स्पष्ट र निर्भीक आवाज उठाउने नेताको रूपमा परिचित छन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विजय यादवले बारा–१  सिम्रौनगढ एउटा एतिहासीक स्थल भएको ठाउँमा नयाँ मोडेल विकास सहित विद्यमान विकासका समस्या, बढ्दो बेरोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई अन्त्य गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको बताए। उनले भने, “जनताको विश्वास र सक्रिय साथले बारा–१ मा नयाँ राजनीतिक संस्कार स्थापित गर्दै वास्तविक परिवर्तनको सुरुवात हुनेछ।”

मनोनयन दर्ता कार्यक्रममा आम जनता पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आम जनता पार्टीले बारा–१ मा जनआधारित राजनीति, पारदर्शिता र सुशासन स्थापनाका लागि विजय यादवको उम्मेदवारी महत्वपूर्ण हुने जनाएको छ।

आरके श्रीवास्तव,राैतहट,०६ गते माघ । 

कटहरिया । रौतहट–३ बाट नेपाल काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा रामकृपाल यादवले मनोनयन दर्ता गराएका छन् । शिक्षण पेशाबाट राजनीतिमा प्रवेश गरेका यादवको उम्मेदवारीले स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ ।

 

मनोनयन दर्ताका क्रममा यादवले जेन–जी आन्दोलनले आफ्नो मन छोएको उल्लेख गर्दै देशमा रूल अफ ल र सुशासन कायम गर्न पढेलेखेका व्यक्तिहरू राजनीतिमा आउनुपर्ने आवश्यकता औँल्याए । “पढेलेखेका मान्छे यदि राजनीतिमा आएनन् भने उनीहरूमाथि मुर्खले शासन गर्छ,” उनले भने।

यसअघि पार्टीको शुभेच्छुक संस्थाको जिम्मेवारी सम्हाल्दै आएका यादवले उक्त जिम्मेवारी छोडेर सक्रिय राजनीतिमा आएको बताए । उनले आफूलाई एकपटक मौका दिन आग्रह गर्दै जनताको विश्वास र समर्थनले मात्र देशमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे ।

 

उनको उम्मेदवारीले रौतहट–३ को चुनावी प्रतिस्पर्धा थप चर्किने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०६ गते माघ । 

कटहरिया । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट रविन्द्र पटेल धिरजले मनोनयन दर्ता गराएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनले आज निर्वाचन अधिकृतको कार्यालय कटहरियामा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

 

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका धिरजले ८ हजार ५८ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा अपेक्षित परिणाम नआए पनि यसपटक जनतामा परिवर्तनको चाहना अझ प्रबल देखिएको उनको भनाइ छ ।

क्षेत्र नम्बर ३ का स्थानीय मतदाताहरूले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाउने उम्मेदवारलाई मतदान गर्ने प्रतिक्रिया दिएको धिरजको दाबी छ । “अब पुरानै शैलीको राजनीति स्वीकार्य छैन, इमानदार र जवाफदेही नेतृत्व चाहिएको छ,” स्थानीय एक मतदाताले प्रतिक्रिया दिए ।

 

रास्वपाले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई प्रमुख एजेन्डा बनाउँदै आएको छ । सोही एजेन्डालाई लिएर आफू जनतामाझ जाने धिरजले बताएका छन् ।

 

अब रौतहट क्षेत्र नम्बर ३ मा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।