२०८३ असार २७
२०८३ असार २७

आरके श्रीवास्तव,गरूडा,२२ गते वैशाख ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ स्थित शितलपुर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले सहभागिता जनाउँदै विद्यार्थीहरूलाई पुस्तक वितरण गर्नुका साथै शिक्षाको महत्वबारे सम्बोधन गर्नु भएको छ । उहाँले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्दै अध्ययनमा लाग्न आग्रह गर्नु भएको हाे ।

साे विद्यालयका प्रधानाध्यापक मुकेश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रधानाध्यापक यादवले सबै विद्यार्थीहरूलाई समयमै पुस्तक उपलब्ध गराउन सकिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक स्तर अझै उकास्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यसैगरी जिल्लाकाे अधिकांश सामुदायिक बिद्यालयमा पाठ्यपुस्तक वितरण भएकाे खबर छ । शिक्षक आन्दोलनले ठप्प रहेकाे शैक्षिक संस्थान अब सक्रिय भएका छन् । बिद्यालयकाे रिज्ल्ट निकाल्ने देखि लिएर भर्ना अभियान पनि सञ्चालन गरिरहेका छन् ।

भैरहवा ।आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सिमामा सुरक्षा हैन, लूट मचाएको बताएका छन् ।

रुपन्देहीको पिप्रा महजिदिया बजारमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सिमानाको रक्षा गर्ने सिमावर्ती क्षेत्रकै नागरिकलाई सशस्त्र प्रहरी लुटने काम गरिरहेको बताए ।

‘सिमानाको रक्षा, सुरक्षा सिमावर्ती क्षेत्रका नागरिकले गरेका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि सिमाको रक्ष गर्ने त्यही सिमावर्ती क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरीले लुटने काम गर्नु दुखद हो,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई सरकारले आवश्यक मलखाद्य दिदैन । सिमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एकदुई बोरा मलखाद्य खोस्ने र लुटने काम गरेर सशस्त्र प्रहरीले बहादुरी देखाउँछन् । कमिशनको लोभमा मलखाद्य खोसिदिने सरकारको अपराध हो ।’

सिमावर्ती क्षेत्रमा भन्सार छलीको नाममा लुट मचाउने काम बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी उनले दिए । किसानलाई आवश्यक मलखाद नदिने तर कमिशनको लोभमा भारतबाट ल्याएको मलखाद खोसिदिने यो सरकारको अपराध भएको उनले बताए । मलखाद्यमात्रै नभई घरायसी प्रयोगका लागि सिमावर्ती क्षेत्रका जनताले कुनै समान ल्याउदा त्यसलाई सोस्ने र उसको नीजि सम्पती लुटने काम वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको बताए ।

‘कमिसनको नाममा अहिले सरकारी लुट मचाइएको छ । पुरस्कारको लोभमा सिमावर्ती क्षेत्रमा लुट मचाउने भएको छ । मन्त्री, आईजिपीसम्मले अदृश्य कमिशन लिईरहेका छन् । वास्तवमा सिमामा प्रहरीले कुनै समान पक्राउ गरेपछि त्यसवातप पाउने पुरस्कार पक्राउ गर्ने प्रहरीले नै पाउनुपर्ने होइन र? तर तलदेखी माथिसम्मकाले बाड़ी रहेका छन्,’ आजपा अध्यक्ष साहले भने ।

आजपा उपाध्यक्ष डा. उसमानको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, विधा शर्मा लगायतका सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,२१ गते वैशाख ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ मा अवस्थित श्री माध्यमिक विद्यालय शीतलपुरमा शिक्षक सेवा आयोग मार्फत नाम निकालेर आएका दुई जना नयाँ शिक्षकले पदभार सम्हालेका छन् । विद्यालयमा नयाँ शिक्षकहरूको उपस्थितिलाई स्वागत गर्दै वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले स्वयम् उनीहरूलाई विद्यालयमा हाजिर गराएका छन् ।

शिक्षक सेवा आयोगबाट नाम सिफारिस भएका यी शिक्षकहरू औपचारिक प्रक्रिया अनुसार विद्यालयमा कार्यभार सम्हाल्न पुगेका हुन् । आजदेखि उनीहरूले आआफ्नो कक्षा पनि लिएका हुन् ।

वडा अध्यक्ष यादवले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा नयाँ शिक्षकहरूको आगमनले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

विद्यालय व्यवस्थापन समिति तथा स्थानिय अभिभावकहरूले पनि नयाँ शिक्षकहरूको स्वागत गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक सुधारमा योगदान दिन अनुरोध गरेका छन् ।

अंग्रेजी शिक्षिका सबिता हुमागाई र विज्ञान शिक्षब उतिलाल साह बिधालयमा आएपछि विद्यार्थी तथा अभिभावकहरूमा उत्साह देखिएको प्रधानाध्यापक मुकेश यादवकाे भनाइ छ । पढाइमा सुधार हुने अपेक्षा गरिएको छ ।

ग्रामीण क्षेत्रका बिद्यालयमा राम्रा शिक्षकहरू आउनै मान्दैनन् । तर वडा अध्यक्ष यादवले अथक प्रयास गरेपछि उनीहरू दुई हाजिर भएका हुन् । निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । सामुदायिक बिद्यालयकाे अवस्था सुधार गर्न उनी कम्मर कसेर लागेका छन् ।

बज्जिकाञ्चल संवाददाता काठमाडौ,२१ गते वैशाख । २०८२

प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मुलुक आर्थिक लयमा फर्किएको भन्दै यही गतिमा अगाडि बढेमा आगामी बर्षमा विकासोन्मुख राष्ट्रबाट नेपाल विकाससिल राष्ट्रमा स्तरोन्नती हुने विश्वास व्यक्त गरेका छन् ।

आइविएन मिडिया एण्ड रिसर्च प्रा.लिले नेपाल टेलिभिजनबाट प्रशारण गरिरहेको साप्ताहिक आर्थिक कार्यक्रम अर्थको अर्थ ३१ औं वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश अवसरमा आयोजित “पूर्व बजेट अन्र्तक्रिया” कार्यक्रममा प्रमु्ख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीका सल्लाहकार डा. खतिवडाले वर्तमान अवस्थामा मुलुकका सवै आर्थिक सूचकहरु सकारात्मक रहेको बताउँदै नेपालको आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न आगामी बजेटमा ऋण लिएरै भए पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।

पूर्व अर्थमन्त्री समेत रहेका डा. खतिवडाले देशमा ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋण लिनु अपरिहार्य रहेको स्पष्ट पारे । उनले ६–७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ऋणको आकार बढाउनुपर्ने आवश्यकता औंल्याए ।

“मैले अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र निर्धारण गरेको थिएँ,” डा. खतिवडाले भने, “अब भने केवल क्षेत्र तोकेर मात्र पुग्दैन, ठोस परियोजना निर्धारण गरेर आन्तरिक ऋण लिनुपर्ने आवश्यकता छ ।”

डा. खतिवडाका अनुसार सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सूचना प्रविधिलाई प्राथमिकता दिइएको छ । त्यसअनुसार ‘बिजनेस प्लान’ र ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी पुस्ता’ लक्षित ‘स्टार्टअप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।  यसले युवालाई लक्षित गर्दै उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना र आयआर्जनको अवसर बढाउने डा.खतिवडाले विश्वास व्यक्त गरे ।

मितव्ययिताको चर्चा गर्दै प्रधानमन्त्रीका सल्लाहकार डा. खतिवडाले वैदेशिक भ्रमण भन्दा पनि सरकारी प्रणालीमा सफ्टवेयर खरिदमा बढी खर्च हुने गरेको उल्लेख गरे ।  “सार्वजनिक खरिद प्रक्रियामा अझै समस्याहरू छन्,” उनले भने, “त्यसका लागि सार्वजनिक खरिद ऐनमा संशोधन गरी आगामी संसद अधिवेशनमा प्रस्ताव पेश गरिने तयारी छ ।”

सरकारी आयोगहरूले दिएका प्रतिवेदनहरू कार्यान्वयन नभएकोप्रति उठेका प्रश्नहरूबारे जवाफ दिँदै डा. खतिवडाले ती प्रतिवेदनहरू पूर्ण नहुनु, अध्ययन आवश्यक देखिनु र चरणवद्ध रूपमा लागू गर्ने तयारीका कारण ढिलाइ भएको बताए ।

उनका अनुसार आर्थिक सुधार आयोग र खर्च पुनरावलोकन आयोगका सुझावहरूलाई क्रमिक रूपमा कार्यान्वयनमा ल्याउने सरकारको योजना रहेको छ । डा. खतिवडाले देशको आर्थिक उन्नतीका लागि सवै क्षेत्र थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रेशम थापाले आगामी आर्थिक वर्ष २०८२/ ८३ को लागि सम्भावित “पूर्व बजेट र यसले समेट्नुपर्ने विषय”का बारेमा कार्यपत्र प्रस्तुत गर्दै आगामी बजेटलाई लयमा फर्काउन अर्थतन्त्रका सवै क्षेत्रलाई चयलामान बनाउनुपर्नेमा जोड दिए । प्राध्यापक डा. थापाले सरकारले यथासक्य चाँडो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा जोड दिए ।

प्राध्यापक डा. थापाद्धारा प्रस्तुत कार्यपत्रमा वर्तमान अवस्थामा बाहिर हेर्दा मुलुकको अर्थतन्त्र कम्जोर देखिए पनि तथ्याङ्कथगत रुपमा सुधारोन्मुख देखिएको तथ्य सार्वजनिक गरिएको थियो ।

कार्यक्रमम नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थिले कार्यक्रम अर्थको अर्थले विगत ३१ वर्षदेखि मुलुकको आर्थिक क्षेत्रको विकास, आरोह, अवरोहको साक्षी हुँदै आर्थिक नीति तथा नियमनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

पूर्व बजेट छलफल कार्यक्रममा सहभागि अर्थशास्त्री केशव आचार्य, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका अध्यक्ष डा. शालिग्राम पराजुली, नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डा.भोजराज घिमिरे, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी लगायतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथी टिप्पणी गर्नुका साथै आगामी बजेटमा समावेश गर्नुपर्ने विषय, बजेट कार्यन्वयनका चूनौती, सुशासनमा रहेका समस्या तथा सुधार र समाधानका उपायहरुका बारेमा धारणा राखेका थिए ।

कार्यक्रमका सभापति एवं आइविएन मिडिया एण्ड रिसर्च प्रा.लि.का प्रवन्ध निर्देशक हृदयराज गौतमले विगतका वर्ष झै यस बर्ष पनि बजेट सम्बन्धी छलफल कार्यक्रमले सरकारलाई आगाी बजेट निर्माण एवं आर्थिक नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको धारणा राखेका थिए । प्रवन्ध निर्देशक गौतमले आगामी दिनमा अर्थको अर्थ कार्यक्रमलाई अझ गुणस्तरीय बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त अवसरमा अर्थको अर्थ कार्यक्रमको ३२ औं स्मारिका पुस्तक समेत विमोचन गरिएको थियो ।

बज्जिकाञ्चल संवाददाता काठमाडौ,२१ गते वैशाख । २०८२

कोशी प्रोजेक्ट शो केस प्रतियोगितामा १० टीम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् ।

फाइनल चरणमा पुग्नेहरुमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज टीम, पुल्चोक कलेजको स्केट्च स्क्वायर, पुल्चोक कलेजकै केटुपिए, एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर, पुल्चोक कलेजको पुल्चोक इयर फाइभ रहेका छन् । यस्तैगरी, पुल्चोक कलेजकै पाथफाइण्डर, ख्वपः इन्जिनियरिङ कलेजको बियोण्ड द ब्रिउ, पुल्चोक कलेजका विनर र टिम कोशी एक्सप्लोरल रहेका छन् । नेपाल इन्जिनियरिङ कलेजको रुरल रिड्ज विल्डर्स टीमपनि फाइनल चरणमा पुगेको छ ।
शनिबार नेपाल माउण्टेन एकेडेमीको हलमा प्रतिष्पर्धी समुहले प्रस्तुत गरेको अवधारणा अनुसार निर्णायक मण्डलले उत्कृष्ट १० टिमको छनौट गरेको हो । प्रतियोगिताको निर्णायकहरुमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), नेपाल माउण्टेन एकेडेमीका प्राचार्य शिवप्रसाद जैसी खतिवडा, प्राइम कमर्सियल बैंक बागमती प्रदेश प्रमुख दिमन श्रेष्ठ, सोसाइटी अफ आर्किटेक्ट इन्जिनियर्स एशोशिएसनका पूर्व उपाध्यक्ष सुनिता सुवेदी तथा नेपाल इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक रमेश ज्ञवाली रहनु भएको थियो ।
निर्णायकहरुले प्रतिष्पर्धी टिमले प्रस्तुत गरेको अवधारणामा नवप्रर्वद्धन र सृजनशीलता, प्राविधिक संभाब्यता, आर्थिक एवम् वातावरणीय प्रभाव, प्रस्तुति, पर्यटनमैत्री योजनाका आधारमा अंकहरु प्रदान गरेका थिए । विद्यार्थीहरुको समुहले होम स्टे, कृषि पर्यटन, माउण्टेन पर्यटन, ट्रेकिङ, चिया, र्याफ्टिङ, बञ्जिजम्प, एडभेञ्जर जस्ता विषयहरुमा प्रस्तुति दिएका थिए ।
प्रतियोगिताको आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरका अनुसार उत्कृष्ट १० मा पर्न सफल टीमहरुलाई अब उनीहरुका अवधारणा अनुसार थप अध्ययनका लागि फिल्डमा पठाइन्छ । त्यसका लागि प्रत्येक टीमलाई एक जना मेन्टर (सल्लाहकार) समेत उपलब्ध गराईन्छ । ‘अब छनौट भएका प्रत्येक टीमलाई एकएक जना मेन्टर उपलब्ध गराइन्छ । त्यसपछि उहाँहरु थप अध्ययन र अनुसन्धानका लागि फिल्डमा जानुहुन्छ ।’ अध्यक्ष मगरले भनिन्,‘जेठ ९ गतेदेखि काठमाडौंमा उहाँहरुले तयार पारेको प्रोजेक्टको बृहद् प्रर्दशनीसँगै फाइनल प्रतिष्पर्धा हुन्छ ।’
ठमेलको जी रामायण होटलमा हुने प्रदर्शनी तथा फाइनल कार्यक्रममा पर्यटन व्यवसायी, होटल व्यवसायीसँगै ठूला लगानीकर्ता र सरकारी क्षेत्रबाट समेत प्रबुद्ध व्यक्तिहरुले अध्ययन अवलोकन गर्नेछन् । कोशी क्षेत्रको पर्यटन प्रवर्द्धन सँगै नयाँ पर्यटनका आयामहरुलाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको छनौट चरणमा १९ वटा समुहको प्रोजेक्टको छनौट गरिएको थियो । जसमध्ये शनिबारको छनौट चरणबाट १० वटा उत्कृष्ट टिम फाइनल चरणमा पुगेका हुन् ।
प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, ख्वप इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, पूर्वाञ्चल इन्जिनियरिङ कलेज लगायतबाट विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
नेपालमै पहिलोपटक आयोजना भएको कोशी प्रोजेक्ट शो केसले कोशी प्रदेशमा नयाँ पर्यटकीय क्षेत्रको संभाव्यता अध्ययन गर्दै पर्यटनबाटै मुलुकको अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद रु. १ लाख, द्वितिय हुने टीमलाई रु. ५० हजार तथा तृतिय हुने टीमलाई रु. २५ हजार नगद, मेडल, प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ । प्रतियोगितालाई कोशी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड लगायतले सहयोग गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता रौतहट,२१ गते वैशाख । २०८२

रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चेतनगर बजारमा औषधी पसलमा प्रतिबन्धित लागूऔषध बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले आइतबार लागूऔषध ट्रामाडोलसहित मौलापुर नगरपालिकाका २९ वर्षीय जितेन्द्र साहलाई पक्राउ गरेको जनाएको छ। साहले चेतनगरमा औषधी पसल सञ्चालन गर्दै आएका छन्।

स्थानीयका अनुसार साहले चिकित्सा व्यवसायको नाममा लामो समयदेखि लुकीछिपी लागूऔषधको कारोबार गर्दै आएका थिए। प्रहरीले गुप्त सूचनाका आधारमा सादा पोसाकमा खटिएको टोलीमार्फत छापा मारेर साहको फार्मेसीबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ४ हजार ५ सय वटा ट्याबलेट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए।

बरामद लागूऔषधसहित साहलाई नियन्त्रणमा लिइएको प्रमुख राईले बताए। अनुसन्धानका क्रममा साहले बागमती, चन्द्रनिगाहपुर र वरपरका क्षेत्रका युवाहरूलाई नियमित रूपमा लागूऔषध उपलब्ध गराउँदै आएको तथ्य खुलेको र लागूऔषध नियन्त्रण ऐन अनुसार कारबाही अगाडि बढाइएको प्रमुख राईले बताए।

बज्जिकाञ्चल संवाददाता काठमांडौ,२१ वैशाख । २०८२

प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मुलुक आर्थिक लयमा फर्किएको भन्दै यही गतिमा अगाडि बढेमा आगामी बर्षमा विकासोन्मुख राष्ट्रबाट नेपाल विकाससिल राष्ट्रमा स्तरोन्नती हुने विश्वास व्यक्त गरेका छन् ।

आइविएन मिडिया एण्ड रिसर्च प्रा.लिले नेपाल टेलिभिजनबाट प्रशारण गरिरहेको साप्ताहिक आर्थिक कार्यक्रम अर्थको अर्थ ३१ औं वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश अवसरमा आयोजित “पूर्व बजेट अन्र्तक्रिया” कार्यक्रममा प्रमु्ख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीका सल्लाहकार डा. खतिवडाले वर्तमान अवस्थामा मुलुकका सवै आर्थिक सूचकहरु सकारात्मक रहेको बताउँदै नेपालको आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न आगामी बजेटमा ऋण लिएरै भए पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।

पूर्व अर्थमन्त्री समेत रहेका डा. खतिवडाले देशमा ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋण लिनु अपरिहार्य रहेको स्पष्ट पारे । उनले ६–७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ऋणको आकार बढाउनुपर्ने आवश्यकता औंल्याए ।

“मैले अर्थमन्त्री हुँदा आन्तरिक ऋणका लागि क्षेत्र निर्धारण गरेको थिएँ,” डा. खतिवडाले भने, “अब भने केवल क्षेत्र तोकेर मात्र पुग्दैन, ठोस परियोजना निर्धारण गरेर आन्तरिक ऋण लिनुपर्ने आवश्यकता छ ।”

डा. खतिवडाका अनुसार सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सूचना प्रविधिलाई प्राथमिकता दिइएको छ । त्यसअनुसार ‘बिजनेस प्लान’ र ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी पुस्ता’ लक्षित ‘स्टार्टअप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।  यसले युवालाई लक्षित गर्दै उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना र आयआर्जनको अवसर बढाउने डा.खतिवडाले विश्वास व्यक्त गरे ।

मितव्ययिताको चर्चा गर्दै प्रधानमन्त्रीका सल्लाहकार डा. खतिवडाले वैदेशिक भ्रमण भन्दा पनि सरकारी प्रणालीमा सफ्टवेयर खरिदमा बढी खर्च हुने गरेको उल्लेख गरे ।  “सार्वजनिक खरिद प्रक्रियामा अझै समस्याहरू छन्,” उनले भने, “त्यसका लागि सार्वजनिक खरिद ऐनमा संशोधन गरी आगामी संसद अधिवेशनमा प्रस्ताव पेश गरिने तयारी छ ।”

सरकारी आयोगहरूले दिएका प्रतिवेदनहरू कार्यान्वयन नभएकोप्रति उठेका प्रश्नहरूबारे जवाफ दिँदै डा. खतिवडाले ती प्रतिवेदनहरू पूर्ण नहुनु, अध्ययन आवश्यक देखिनु र चरणवद्ध रूपमा लागू गर्ने तयारीका कारण ढिलाइ भएको बताए ।

उनका अनुसार आर्थिक सुधार आयोग र खर्च पुनरावलोकन आयोगका सुझावहरूलाई क्रमिक रूपमा कार्यान्वयनमा ल्याउने सरकारको योजना रहेको छ । डा. खतिवडाले देशको आर्थिक उन्नतीका लागि सवै क्षेत्र थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रेशम थापाले आगामी आर्थिक वर्ष २०८२/ ८३ को लागि सम्भावित “पूर्व बजेट र यसले समेट्नुपर्ने विषय”का बारेमा कार्यपत्र प्रस्तुत गर्दै आगामी बजेटलाई लयमा फर्काउन अर्थतन्त्रका सवै क्षेत्रलाई चयलामान बनाउनुपर्नेमा जोड दिए । प्राध्यापक डा. थापाले सरकारले यथासक्य चाँडो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा जोड दिए ।

प्राध्यापक डा. थापाद्धारा प्रस्तुत कार्यपत्रमा वर्तमान अवस्थामा बाहिर हेर्दा मुलुकको अर्थतन्त्र कम्जोर देखिए पनि तथ्याङ्कथगत रुपमा सुधारोन्मुख देखिएको तथ्य सार्वजनिक गरिएको थियो ।

कार्यक्रमम नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थिले कार्यक्रम अर्थको अर्थले विगत ३१ वर्षदेखि मुलुकको आर्थिक क्षेत्रको विकास, आरोह, अवरोहको साक्षी हुँदै आर्थिक नीति तथा नियमनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

पूर्व बजेट छलफल कार्यक्रममा सहभागि अर्थशास्त्री केशव आचार्य, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका अध्यक्ष डा. शालिग्राम पराजुली, नेपाल खुला विश्वविद्यालयका प्राध्यापक डा.भोजराज घिमिरे, साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी लगायतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथी टिप्पणी गर्नुका साथै आगामी बजेटमा समावेश गर्नुपर्ने विषय, बजेट कार्यन्वयनका चूनौती, सुशासनमा रहेका समस्या तथा सुधार र समाधानका उपायहरुका बारेमा धारणा राखेका थिए ।

कार्यक्रमका सभापति एवं आइविएन मिडिया एण्ड रिसर्च प्रा.लि.का प्रवन्ध निर्देशक हृदयराज गौतमले विगतका वर्ष झै यस बर्ष पनि बजेट सम्बन्धी छलफल कार्यक्रमले सरकारलाई आगाी बजेट निर्माण एवं आर्थिक नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको धारणा राखेका थिए । प्रवन्ध निर्देशक गौतमले आगामी दिनमा अर्थको अर्थ कार्यक्रमलाई अझ गुणस्तरीय बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । उक्त अवसरमा अर्थको अर्थ कार्यक्रमको ३२ औं स्मारिका पुस्तक समेत विमोचन गरिएको थियो ।

श्रीअन्तु, (ईलाम), २१ गते वैशाख । २०८२ 

खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताउनु भएको छ ।
आज ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ति सार्नु पर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजनाहरु अघि सारेको छ । खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ ।”
यसैगरी उहाँले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरु र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ ।”
आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने हेतुले सिङ्गो मन्त्रालय लागि परेको मन्त्री यादवको भनाई छ । “म बोलेको कुरा पुरा गर्ने व्यक्ति हुँ । म आफ्नो बाँचा अनुसार नागरिकका घर घरमा शुद्ध खानेपानी पुर्‍याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु । नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पुर्‍याउछु ।”
बिगतका समयमा अधुरा रहेका र बाढीले क्षति गरेका खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न भइरहेको बताउनु हुँदै उहाँले भन्नुभयो, “मैले मन्त्रालय सम्हालेदेखि बिगतका अधुरा रहेका खानेपानीका आयोजनाहरु पुरा भएका छन् । सिङ्हदरबारदेखि दुर्गमक्षेत्र सम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ ।”
खानेपानी तथा ढलव्यवस्थापन विभागका मानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना अन्तर्गत सुर्योदय नगरपालिका–४ र ५ का करिब  दुई हजार १३४  घरपरिवार र ११ हजार ७६९  जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउनुभयो ।
उहाँका अनुसार हालसम्म कुल २५० घरधुरीहरू यस खानेपानी प्रणालीमा जोडिएका तथा यस योजना अन्तर्गत दुई वटा मुहान (सिद्धी खोला र श्रीअन्तु खोला) बाट पानी सङ्कलन गरिन्छ । प्रभावकारी र भरपर्दो आपूर्ति सुनिश्चित गर्न आयोजना पम्पिङ तथा ग्राभिटी दुवै प्रणालीमा आधारित छ ।
योजना १५ वर्षको दीर्घकालीन सेवा अवधिका लागि डिजाइन गरिएको र जसमा  भविष्यको जनसङ्ख्या वृद्धि समेत ध्यानमा राखिएको छ । आयोजना सम्पन्न गर्नको लागि कुल लागत रु ३७ करोड ७२ लाख रहेको छ । जसमा १० प्रतिसत लागत स्थानीय समुदायबाट योगदान प्राप्त भएको खानेपानी तथा ढलव्यवस्थापन विभागले जनाएको छ ।
श्रीअन्तु समालबुङ खानेपानी आयोजना इलाम जिल्लाको सदरमुकामबाट ४७ किलोमिटरमा अवस्थित रहेको छ । यसको क्षेत्रफल १८ दशमलब ८ वर्ग किलोमिटर रहेको छ । यो समुद्री सहतबाट ९५७ देखि एक हजार ८०० मिटर सम्म रहेको महानिर्देशक ई श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आम उपभोक्ताको मागलाई मध्यनजर गर्दै सूर्योदय नगरपालिकाको सिफारिस बमोजिम सिद्धि र अन्तुखोलाको दोभान महेन्द्रबेंसी मुहानबाट पानी पम्पिङ् प्रणाली मार्फत उक्त क्षेत्रको उच्च भागमा भण्डारण गरी वितरण गर्ने परियोजना सहित यस आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७८/७९ देखि शुरु भएको हो ।” उक्त आयोजना खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहत केन्द्रीय खानेपानी आयोजना अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट सञ्चालनमा रहेको छ ।
श्रीअन्तु समालबुङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष राजु बम्जनको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा इलाम क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश बस्नेत, कोशी प्रदेश सभा सुसासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेल (बन्दना), प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री शमसेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका प्रमुख उत्सव पोख्रेल लगायतका स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

काठमाडौँ- मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जानकी प्रकाट्य दिवस (जानकी नवमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई टेलिफोन गरेर जानकी नवमीको अवसरमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आग्रह गरेका थिए।

मुख्यमन्त्री सिंहले जानकी नवमीको अवसरमा बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रीलाई जानकारी गराउने निधिसँग भनेका थिए।

त्यस्तै वैशाख २८ गते कविर दास जयन्तीको अवसरमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ। सभार हिमाल प्रेस

बज्जिकाञ्चल संवाददाता काठमांडौ,२१ गते वैशाख । २०८२ 

 विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।

समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो । डा. उपाध्यायले गीत संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उहाँको नयाँ उपन्यास ‘आशक्ति’ प्रकाशनको तयारीमा छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।