काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–५ जोरपाटी बस्दै आएका ६१ वर्षीय पदम घ्याम्छो तामाङलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।
तामाङ बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका बेला २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए । फरार रहेका तामाङलाई २०८३ साउन २८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।एभरेष्ट न्यूज एजेन्सी
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरका रहेका एक भूमिहीन सुकुम्बासी मृत अवस्थामा भेटिएका छन् ।
बिहीबार बिहान करिब पौने ११ बजे तालिम केन्द्रको दोस्रो तलाको कोठा नम्बर २०७ मा मृत अवस्थामा भेटिएको बताइएको छ ।
त्यसपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित सुरक्षाकर्मी पुगे पनि सुकुम्बासीले शव उठाउन नदिएपछि उनीहरु फर्किएका थिए ।
पासवान श्रीमती र छोरा, बुहारीसहित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । श्रीमती बारा गएको बेला कोठामा एक्लो परेका पासवानले ज्यान लिएको आशंका गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
सिन्धुपाल्चोक । चीनको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ ।
आज बिहान करिब ६: ३० बजे लिपिङको पारिपट्टि चीनतर्फको भिरबाट ढुंगामाटोसहितको पहिरो खसेपछि भोटेकोशीको बहाव प्रभावित भएको छ । पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति रोकिएको बताइएको छ । नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने र विपद्जन्य घटना हुनसक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेषगरी ड्यामसाइट, झोलुङ्गे, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे र बलेफी बजार क्षेत्रका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।
पहिरोका कारण नदीको बहावमा थप परिवर्तन हुनसक्ने भएकाले भोटेकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको पुष्टि गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली श्रेष्ठलाई वैक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ ।
काठमाडौं । प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने पर्वत फलेवास नगरपालिका-१ घर भएका ४६ वर्षीय हरि बहादुर रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फ दरखास्त दिई लिखित लगायतका सबै परीक्षामा उतिर्ण भई अन्तर्वार्ता बाँकी रहेका आवेदकलाई आफ्नो गृहमन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम निकाली दिन्छु सेटिङ्ग मिलाउन १० लाख रकम लाग्ने भनि विश्वास दिलाई आफ्नो बैंक खातामा १० लाख रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो ।
यो मार्गदर्शनले विभिन्न सरकारी कार्यालयहरूमा सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदनको ढाँचामा रहेको विविधता र अन्योललाई हटाएर देशैभर एउटै र निश्चित ढाँचा कायम हुनेछ। साथै, यसले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउँदै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः डिजिटल माध्यमबाट समेत प्रयोग गर्न सकिने गरी सूचना प्रविधिमा आधारित बनाउनेछ।
यस व्यवस्थाको पूर्ण कार्यान्वयनसँगै अब नागरिकले सरकारी कार्यालयपिच्छे फरक-फरक तरिकाले निवेदन लेख्नुपर्ने वा अन्योलमा पर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ। साथै, आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एपमार्फत सजिलै लिन सकिने बाटो खुला भएको छ, जसले डिजिटल नेपालको परिकल्पनालाई थप बल पुर्याउने विश्वास गरिएको छ।
साथै, सरकारी आवेदन भर्न सेवाग्राहीलाई हुने झन्झट शून्यमा झार्दै कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण कार्यलाई निरुत्साहित गर्न पनि यो मार्गदर्शनले महत्वपूर्ण भूमिका खेल्नेछ।
यस मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।एभरेष्ट न्यूज एजेन्सी
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका- ९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा खोजतलास गर्ने क्रममा जंगलको बीचमा रहेको जामुनको रुखको फेदमा बेवारिसे अवस्थामा राखिएका ६ नाल भरुवा बन्दुक फेला पारेको हो । बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडी, सुनसरीको बसले बाटोको छेउमा बसिरहेकी गढी गाउँपालिका–४ मेहता टोल बस्ने ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा उपचारका क्रममा निजको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि बस र चालक बर्जु गाउँपालिका–६ बस्ने २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधन भएको छ ।
वडा अध्यक्ष साहको सोमबार बिहान असामयिक निधन भएको उपमहानगरले जानकारी दिएको छ ।
शाहको निधनप्रति दुख व्यक्त गर्दै आज जनकपुरधाम उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सवै वडा कार्यालयहरु (अत्यावश्यक सेवा: स्वास्थ्य, दमकल, सरसफाई आदि सेवाहरु बाहेक) का सेवाहरु वन्द रहने जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ पत्थरखोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन् ।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको विद्युतीय माइक्रोबसको अगाडिको बायाँतर्फको टायर पञ्चर भएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका बेला माइक्रोबसमा चालक र सहचालकसहित सात जना सवार थिए। घाइते हुनेमा कावासोती नगरपालिका–८ का २७ वर्षीय चालक होरामणी महतो, कावासोती–३ का ७४ वर्षीय सुरेश कुँवर र उनकी ६२ वर्षीया श्रीमती लालकुमारी कुँवर रहेका छन् ।
त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का ४५ वर्षीय धनराज बुढा, वीरेन्द्रनगर–६ का ३६ वर्षीय बलबहादुर बुढा र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–३ का ५५ वर्षीय विधासागर लोना चमार घाइते भएका छन् ।
घाइते चालक महतोको कालीगण्डकी अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य घाइतेहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी