काठमाडौं, २२ साउन ।
सभामुख देबराज घिमिरेले शिर्ष दलको बैठक बोलाएका छन् ।
निरन्तर संसदमा अबरोध हुन थालेको तथा ८ महिनासम्म संसदीय समितिको सभापति चयन गर्न नसकिरहेको बेला सभामुख घिमिरेले शिर्ष दलका शिर्ष नेतासँग बैठक बोलाएका हुन ।
सभामुखको सचिवालयका अनुसार सो बैठक आज दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।
सभामुख घिमिरेले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुनका लागि अनुरोध गरेका छन् ।
गत साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।
सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेर अबरोध खुलाउन अनुरोध गरेका थिए भने प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन ।
आइतबार पनि सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिए पछि शिर्ष नेताको बैठक बोलाइएको हो ।
काठमाडौं, २२ साउन ।
राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
बिद्यायन ब्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
काठमाडौं, २२ साउन ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।
काठमाडौं, २२ साउन।
सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।

केन्द्रिय समिति बैठक सम्पन्न गरिएको भोलीपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसदमा प्रस्तुत हुने र बिषय छनौट गर्ने बिषयमा छलफल गर्ने बुझिएको छ ।

गत साउन १२ गते देखी भएको संसद्को गतिरोध अन्त्यका लागि पार्टीले संसदमा खेल्ने भूमिका र सरकारको पछिल्ला काम कारबाहीलगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।

काठमाडौ, २२ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १५०, टनेल गोलभेडा सानो ९५, घिउ सिमी लोकल ३०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ५०, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याँज सुकेको ५०, लौका ४०, हरियो फर्सी ७०, घिरौला २० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाँजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ६०, टाटे सिमी ७०, तितो करेला ३०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी ३५,पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ८०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १८०, लप्सी ७०, हरियो धनिया १५०, लसुन हरियो १००, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २६०,रुख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।
काठमाडौं, २२ साउन ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्ड प्रस्थान गरेका छन् ।
प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि टर्किस एअरको विमानद्वारा आज विहान ७ः३० बजे इस्तानवुल हॅुदै जेनेभा प्रस्थान गरेका हुन ।
हिजो सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा उहॅा जानकार रहेको उनको नीजि सचिवालयले जानकारी दिएको छ । ‘सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ’ भन्ने कुरामा उहॅाको दृढ मान्यता रहेको सचिवालयले जनाएको छ।
उनी भदौं १ गते स्वदेश फर्कने छन् ।
लन्डन, २२ साउन ।
ट्युनिसियाको केर्केना टापुमा एक आप्रवासी जहाज पल्टिँदा चार आप्रवासीको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् ।
एक प्रहरी अधिकारीका अनुसार जहाजमा रहेका सबै आप्रवासी उप सहारा अफ्रिकाका रहेको बताए। उनका अनुसार डुंगा पल्टिदा बेपत्ता भएकाे खाेजी कार्य जारी राखिएकाे छ। तटरक्षक देखी प्रहरी र जलसेनाहरू उनीहरू अझै जीवित रहेकाे अाशामा खाेजी कार्यलाइ तिब्र बनाइएकाे छ ।
यस्तो घटना भएको यो पहिलो पटक भने होइन । मार्चमा पनि यस्ता घटनामा दुई दर्जनभन्दा बढीको ज्यान गएको थियो ।
उत्तर अफ्रिकी देशहरूले यो वर्ष धेरै आप्रवासीहरू देखिरहेका छन्। आफ्नो ज्यान जोखिममा पारेर मानिसहरु डुङ्गाको सहारा लिएर यात्रा गर्ने गरेकाले डुंगा डुब्ने घटना बारम्बार सार्वजनिक भइरहेका छन् । देशका आन्तरिक मन्त्रीले जुलाईमा भनेका थिए कि ट्युनिसियाको तटरक्षकले यस वर्ष जनवरी १ देखि जुलाई २० सम्म आफ्नो तटमा डुबेका आप्रवासीहरूको ९०१ शव फेला पारेको छ, जुन देशको किनारमा अभूतपूर्व संख्यामा मारिएका छन्।
गत १६ जुलाईमा ट्युनिसिया र युरोपेली संघ (इयु) ले मानव तस्करहरू विरुद्ध लड्न र सिमाना कडा गर्न ‘रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गरेका थिए किनभने उत्तर अफ्रिकी राष्ट्रबाट युरोप जाने डुङ्गाहरूमा तीव्र वृद्धि भएको कारण ट्युनिसियाले लिबियालाई यस क्षेत्रको मुख्य प्रस्थान बिन्दुको रूपमा प्रतिस्थापित गरेको थियो ।
युरोपमा राम्रो जीवनको आशामा अफ्रिका र मध्य पूर्वमा गरिबी र द्वन्द्वबाट भागेका मानिसहरूका कारण अहिले युरोपको टाउको दुखाई बनिरहेको छ ।
बेइजिङ, २२ साउन ।
चीनले प्रशान्त क्षेत्रका सम्बन्धमा आफ्नो पक्षमा समाचार प्रकाशित गर्ने सोलोमन टापुको समाचार संस्था ‘द सोलोमन स्टार’ पत्रिकालाई १.३० मिलियन डलर अनुदान दिएको छ ।
द एशियन एजका अनुसार गत वर्ष सोलोमन टापुले चीनसँग सुरक्षा सम्झौता गरेको थियो। यसले अष्ट्रेलिया, अमेरिका र उनीहरूका सहयोगीहरूलाई चिन्तित बनाएको छ।
जसका कारण उक्त क्षेत्रमा चिनियाँ सेनाको उपस्थितिको आशंका बढेको छ । सोलोमन टापुका प्रधानमन्त्रीले सन् २०१९ मा ताइवान माथिको बेइजिङको दाबीलाई कूटनीतिक मान्यता दिएका थिए। सोलोमन स्टार अखबार र पाओआ एफएम रेडियो स्टेशनले जुलाई २०२२ मा चिनियाँ दूतावासलाई कोषको प्रस्ताव गरेको थियो। यसमा चीनले सोलोमन टापुका तर्फबाट बेइजिङलाई फाइदा पु¥याएको दाबी गरिएको थियो ।
मोरोक्को, २२ साउन ।
मध्य मोरक्कोको अजिलाल प्रान्तमा आइतबार भएको सबैभन्दा भयानक सडक दुर्घटनामा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूले डेम्नेट सहरको साप्ताहिक बजारमा यात्रुहरू बोकेको मिनीबस एक मोडमा पल्टिएको बताए। सो दुर्घटनामाथी प्रहरीले अनुसन्धान थालेको छ ।
मोरक्को र अन्य उत्तर अफ्रिकी देशहरूको सडकहरूमा दुर्घटनाहरू बारम्बार हुन्छन्, वार्षिक हजारौं सडकको मृत्यु हुने गर्दछ। गत मार्चमा ब्राचोआको ग्रामीण सहरमा एउटा मिनीबस रूखमा ठोक्किँदा ११ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश कृषि कामदार थिए ।
धेरै गरिब नागरिकहरूले ग्रामीण क्षेत्रमा यात्रा गर्न कोच र मिनी बसहरू प्रयोग गर्छन्। गत वर्षको अगस्टमा मोरक्कोको आर्थिक राजधानी क्यासाब्लान्काको एउटा मोडमा बस पल्टिँदा २३ जनाको मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए।
नेशनल रोड सेफ्टी एजेन्सीका अनुसार मोरक्कोमा वार्षिक औसत ३ हजार ५ सयको सडक दुर्घटनावाट मृत्यु र १२ हजार घाइते हुने गरेका रेकर्ड सार्बजनिक भएको छ । जसअनुसार प्रति दिन त्यस्ता दुर्घटनामा परेर १० जनाले ज्यान गुमाउँदै आएका छन ।
गत वर्ष यो संख्या करिब तीन हजार दुई सय थियो । २०१२ मा देशको इतिहासमा सबैभन्दा खराब बस दुर्घटनामा ४२ जनाको मृत्यु भएपछि अधिकारीहरूले २०२६ सम्म मृत्यु दर आधा गर्ने लक्ष्य राखेका छन्।
काठमाडौ, २२ साउन ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज सोमबार (साउन २२ गते) अन्तिम दिन हो ।
कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको हो । जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९% अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयरमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।
यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला भएको हो । यसमा माग भन्दा बढी आवेदन परिसकेका कारण सोमबार बिक्री बन्द हुन लागेको होे । आइतबार साँझ ५ः६ बजेसम्मको तथ्यांक अनुसार १० लाख ५० हजार १९६ जना आवेदकले १ करोड १९ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।