काठमाडौं, २२ साउन ।
गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) पठाएको छ। जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछाममा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेललाई पठाइएकाे छ ।
अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनकाे स्थानमा पाेखरेललाई पठाइएकाे हाे । सुनारले पनि यसअघि मोरङ र बाँकेमा सहायक प्रजिअका रूपमा काम गरेको अनुभव छ। उनी डोल्पा र बझङमा प्रजिअ भइसकेका छन्।
पोखरेलसँग मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भइसकेका छन् । उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पूरा गरिसकेका छन् ।
काठमाडौं, २२ साउन ।
मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर ताप्लिङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३८ वर्षीय रविन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले एकजनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएकाे छ ।
काठमाडौं, २२ साउन ।
देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।
यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।
काठमाडौं, २३ साउन । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू(भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
रौतहट, २२ साउन ।
गरुडाको चिनी मिल बचाउन प्रर्दशन सहित ज्ञापनपत्र बुझाइएको छ । श्रीराम सुगर मिलको उपकरण लिलाम भएछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको छ । साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको अगुवाई पूर्व राजदूत डा.वंशिधर मिश्र, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादव, प्रदेश साँसद शोभा देवी साह, किशोरी यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, वृजकिशोर यादव, सुनिल यादव, रामनारायण यादव, दिपक यादव, रामभरोस यादव, रामचन्द्र गिरी, अनिल यादव, रामेश्वर यादव, युवा नेता राजकुमार दास तत्मा, उद्योगी, व्यापारी, किसानहरुले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
अनाधिकृत रुपमा हजारौ उखु किसानको भबिश्य लाई चोर बाटो भएर लिलाम गरिएकोमा तत्काल रद्द गरेर श्रीराम सुगर मिल्सलाई पुन ः संचालनमा ल्याउन माग गरिएको छ ।
चिनी मिल जोगाउन आगामी २७ गते मिल्स प्रांगण गरुडामा वृहद आम भेला मार्फत संघर्षका कार्यक्रम तय गरिने बताइएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको र सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिएका छन् ।
काठमाडौं, २२ साउन ।
काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-२ घर भएका २८ वर्षीय दिपेश भक्त श्रेष्ठको दिपेश अटोलिङ्कमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
ललितपुरकाे गोदावरी नगरपालिका-१३ झरुवाराशीस्थित बिष्णु प्रसाद घिमिरेको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा घिमिरेसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त चाँपागाउबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ३ सय ५५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, २२ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।
बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।
काठमाडौं, २२ साउन ।
संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको आह्वानमा शीर्षनेताहरुको बैठक बसिरहेको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमm दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी छन् ।
१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।
सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए । तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि सोमबार शीर्षनेताहरुको बैठक सभामुख घिमिरेले राखेका हुन् ।
सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा र दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।

काठमाडौं, २२ साउन ।
संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा सोमबार बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।
जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ ।
तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने संसदीय समिति सभापति नपाउने भएका छन् ।