पर्सा, २४ साउन ।
१६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त विषयमा वकिल महमद अंसारी र अली महमद अन्सारीबीच शनिबार राति झै-झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगञ्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको छ ।
काठमाडौ, २४ साउन ।
सेयर बजार सूचक नेप्सेले बुधबार दुई हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१.०६ विन्दुले बढेर २०६०.९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।
२२ सय भन्दा माथि पुगेको नेप्से मौद्रिक नीतिपछि निरन्तरजसो घटेर २ हजारको मनोवैज्ञानिक रेखासम्म झरेको हो । यद्यपि, सूचक बुधबार २ हजारभन्दा तल अर्थात १९ सयको लाइनमा भने झरेन ।
यस दिन २६५ कम्पनीको ५० लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ५० लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल रिपब्लिक मिडिया परेका छन् ।
चितवन, २४ साउनन ।
चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीव्र रुपमा भइरहेको छ । चितवनमा लक्की मिडिया हाउस चितवनले पहिलोपटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दै छ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टिम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रमपश्चात अहिले देशका मुख्य सहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका अनुसार अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।
अवार्डलाई सम्पूर्ण कलाकार, फिल्मीकर्मीको प्रतिनिधित्व हुने गरी देशका विभिन्न जिल्लामा प्रचार प्रसार गरी समेत फर्केको र अन्य जिल्लामा पनि प्रचार प्रसारलाई निरन्तरता दिईएको छ । अर्वाड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र पारिएको आयोजक संस्था लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिए । ‘विगत केही महिनादेखि हामी अवार्डको प्रचार प्रसार र देश दौडाहामा थियौं,’ उनले भने, ‘अब बांँकी कामको लागि जुटेका छौं ।’
अवार्डका लागि आवश्यक पर्ने विभिन्न चरणहरु पार गर्दै अहिले कलाकारहरुको नोमिनेसनको काम भइरहेको उनले बताए । निर्णायक मण्डलले काम गरिरहको जानकारी दिँँदै उनले विभिन्न विधामा अवार्ड वितरण हुने भएकाले सोही अनुसारको नोमिनेसन र छनौटको काम तीव्र रुपमा अगाििड बढेको जानकारी दिए ।
नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको कार्कीको भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलो पटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ,’ कार्कीले भने ।
अवार्डमा दुई दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए ।
लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।
बाँके, २४ साउन ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख दुल्लु नगरपालिका-६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, २४ साउन ।
काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने दिपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जोरपाटी बस्ने ५२ वर्षीय अरुण घिमिरे समेत सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खड्क सुनार,मुगु २४ साउन ।
मुगूम कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ । उनको नाकभित्र मासु पलाएर सास फेर्न गारो भएपछि उपचारका लागि नेपालगञ्ज जान रारा विमानस्थल आएको ६ दिन भयो । गाउँपालिकाले उनलाई २० दिनको मात्र बिदा दिएको छ । पाँच दिन रारा विमानस्थलमा सकिसकेको छ । जहाजको पर्खाइमा बस्दा बस्दै उपचार गर्न नपाई सबै बिदा विमानस्थल सकिने चिन्ता लागेको बुढाले गुनासो गरिन् ।
कर्णालीका दूर्गम जिल्लाहरुमा १२ बजेपछि हवाई जहाजमा उडानमा रोक लगाएपछि यति बेला कर्णालीका नागरिकहरुले सास्ती खेपिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ साउनबाट दूर्गम स्थानका विमान स्थलहरुमा दिउँसो १२ बजेदेखि उडान गर्न रोक लगाउने निर्णय गरेपछि मुगु, हुम्ला , डोल्पा, जुम्लाका यात्रुहरुले सास्ती खेप्नु परेको हो ।
बर्षातका समयमा हवाइ दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले १४ साउन दिउँसो १२ बजेबाट लागु हुने गरी तीन महिनासम्म उडानमा रोक लगाउने निर्णयले यहाँका नागरिक मर्कामा परेका हुन् । नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका मुगुको रारा विमानस्थल, डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमिकोट विमानस्थल र बाजुरालगायत अन्य जिल्लाका यात्रुहरु मर्कामा परेका छन् ।
रारा विमानस्थलमा हवाइ उडान नभएको एक हप्ता हुन लाग्यो । हवाइ यात्राबाट नेपालगञ्ज पुग्ने यात्रुहरु रारा विमानस्थलमा जहाजको पर्खाइमा ताल्चामै बस्ने गरेका छन् । बिहान मौसम नखुले पनि दिउँसो १२ बजेपििछ आकास खुल्ला हुन्छ । तर, नागरिक उड्डयन प्राधिकरणको निर्णयले १२ बजेपछि उडान गर्न मिल्दैन । तारा एयरलाइन्स नेपालगञ्ज जाने ४३ जना यात्रुहरु हातमा टिकट लिएर विमान स्थलमा जहाजको पर्खाईमा बसेका छन् ।
प्रत्येक दिन १२ बजेपछि रारा विमानस्थलको मौसम सफा भए पनि तीन महिनासम्म १२ बजेपछि उडान भर्न रोक लगाएसँगै सबैभन्दा बढी बिरामीहरु मर्कामा परेको हेमन रारा टा«भल्सका बजार ब्यवस्थापक सोभबहादुर भामले बताए ।
दिउस १२ बजेभन्दा पछी उडान रोक गर्ने प्राधिकरणको निर्णय हुनुभन्दा पहिला रारा विमान स्थलमा नेपालगञ्जबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक एकदेखि दुई उडान भर्दै आएका थिए । नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो । ६ दिनदेखि रारा विमानस्थलमा कुनै जहाजले उडान गर्न सकेका छैनन् ।
रारा विमानस्थलको मौसम १२ बजेपछि खुला हुने गर्छ । प्राधिकरणको निर्णयले १२ः ३० भित्र जहाज उडिसक्नुपर्ने हुन्छ । रारा विमानस्थलको लागि यो निर्णय उपयुक्त नभएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले बताए ।
लामो समय जहाज उडान नहुँदा सडक यातायातमार्फत् आफनो गन्तव्यमा पुग्ने भए पनि बर्षातको समय पहिरोले ठाउँ ठाउँमा अवरुद्ध हुने भएका कारणले सबैजना जहाजको पर्खाइमा हुन्छन् । कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकप्टर वा जहाजबाट सुबिधा सम्पन्न स्थान लैजानुपर्ने हुन्छ । तर, प्राधिकरणको निर्णयले सर्वसाधरण मर्कामा परेको छाँयानाथ रारा—१० का दीर्घ बुढाले बताए ।
काठमाडौं, २४ साउन ।
कैलाली र बर्दियाबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागुऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित गुलरिया नगरपालिका-७ बस्ने ४३ वर्षीय बच्छिराज खटिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं, २३ साउन ।
नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन्।
साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो।
पाण्डे हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका छन्।
काठमाडौं, २३ साउन ।
कोशी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो।
अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै बिदाको जानकारी दिएको हो। प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
रोल्पा, २३ साउन ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा आज मङ्गलवार भएको बस दुर्घटनामा चार जनाको निधन भएको छ। दुर्घटनामा ११ महिनाको शिशुसहित १५ जना घाइते भएका छन्।
रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उहाँकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षका प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश भुसालले जानकारी दिए।
शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा लगिएको छ भने घाइतेहरूको दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइते हुनेहरूमा धेरैजसो रोल्पाको माडी गाउँपालिकाका रहेका छन्।
यस्तै सामान्य घाइतेसमेत रहेका दाङको घोराही उपमहानगरपालिका–१२ का २४ वर्षीय चालक हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा चालकको लापर्बाही देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए। बस तीव्र गतिका कारण अनियन्त्रित भई घुम्ती सडकबाट तल खसेको थियो।