काठमाडौं, ३२ साउन ।
बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’को वल्र्ड प्रिमियर आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुँदै छ । निर्माता तथा निर्देशक मिलन चाम्सले प्रिमियरको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । सो प्रिमियरमा बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुती दिने तय भएको निर्देशक चाम्सले बताए ।
‘नेपाली फिल्मको लागि गर्विलो इतिहास लेखिँदै छ । उक्त बेलायती सेनाको ब्याण्डले दिने सम्मान आफैँमा गौरवपूर्ण हुनेछ । उहाँहरू गोर्खालीको कथालाई पर्दामा देखाउने भएपछि स–सम्मान आफ्नो प्रस्तुती दिन तयार हुनुभएको हो’, निर्देशक चाम्सले भने, ‘सो प्रिमियरमा बेलायत सेनाका उच्च पदाधिकारीसमेत सहभागी हुनेछन् । गोर्खालीको विषयमा फिल्म बनेको छ भन्ने थाहा पाएँपछि उहाँहरूले दिनुभएको सम्मानलाई म शब्दमा व्यक्त गर्न सक्दिन ।’ बेलायती सेनाको ब्याण्डले पहिलोपटक फिल्मको प्रिमियरमा आफ्नो प्रस्तुती दिनेछ ।
हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरको दौरान रेड कार्पेटमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको बताए ।
‘गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु, किनकि हाम्रो वीरताको कथा विश्वले देख्नेछ’, निर्देशक चाम्सले भने । उनले लन्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रदर्शनीमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।
युद्धको कथामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
सर्लाही, ३२ साउन ।
सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पदंशबाट मृत्यु भएको छ ।
राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा उनलाई लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको स्थानीयले बताए ।
यसवर्ष सर्लाहीमा सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ ।
काठमाडौं, ३२ साउन ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको शुक्रबार सुनुवाइ हुँदै छ ।
नाबालिग बलात्कार आरोपमा सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा हुने भएको छ ।
सन्दीप पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।
यसअघि धेरैपटक सुनुवाइ सर्दै आएको छ ।
काठमाडौं, ३२ साउन ।
नेपाली कला क्षेत्रमा निर्माता, गायक तथा अभिनेताको रुपमा सक्रिय विक्रमजंग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ सार्वजनिक गरेका छन् । यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टिका पुनले साथ दिएकी छिन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोमा ब्रेकअपको कन्सेप्ट देखाइएको छ ।

प्रेमी र प्रेमिका बीच असमझदारी उत्पन्न भएपछि टुंगिने सम्बन्ध देखाएको गीतको भिडियोमा पल शाह, विजय पुन, बिष्णु पुन, यानी पुन लगायतले नृत्य गरेका छन् । गीतको भाव अनुसार नै भिडियो तयार गरिएको गायक विक्रमले बताए । उनले भने,‘गीतमा अहिलेको यूवापुस्ताको प्रेम र त्यसपछिको परिस्थितिलाई देखाउने कोसिस गरेका छौं । यसमा सबैले उत्तिकै मेहनत गरेका छन् ।’
उनले समझदारीमा प्रेमी र प्रेमिका छुटिने तथा त्यसलाई सेलिब्रेट गर्ने प्रस्तुतीलाई रुचाईएको जानकारी दिए । ‘मलाई सानै देखि नै कला क्षेत्रमा सक्रिय रहने ईच्छा जागेको थियो । त्यसलाई नै पछ्याउदै विभिन्न क्षेत्रमा मेरो उपस्थिति देखिएको हो’, गायक विक्रमले भने ।
विक्रम चौहानको निर्देशन र नृत्य निर्देशनमा तयार भएको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग संयोजन रहेको छ । रैथाने गीतसङ्गीत पस्कने गायक विक्रमले यसअगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायतका गीतहरुमार्फत दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।

काठमाडौ, ३२ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठुलो १३०, टनेल गोलभेडा सानो ७५,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ५०,मुडे आलु रातो ४२,भारतीय आलु रातो ३६,भारतीय प्याज सुकेको ५८,लौका ६०,हरियो फर्सी ८०,घिरौला ३५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल २०, गाजर ११०, मूला सेतो हाइब्रीड ६०,सेतो रातो ४०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,मकै बोडी ७०, टाटे सिमी ७०,तितो करेला ५०,ब्रोकाउली १००, कागती १२० रुपैयाँ, भिण्डी रू ९०,पिंडालू ६०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ६०,तामा ९०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १२०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी ५०,हरियो धनिया १००,खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २२०, चाइनिज लसुन २५०,लसुन हरियो १८०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खु्र्सानी ५० , फूजी स्याउ ३५०,अम्बा ३००,जुनार ३२०,तोफु ११०,तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।
काठमाडौ, ३२ साउन ।
नेपाली बजारमा बिहीबार पनि सुनको भाउ घटेको छ। सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
काठमाडौं, ३२ साउन ।
गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगरको परिवारले आफूहरुमाथि गलत आरोप लगाएर चरित्र हत्या गर्न खोजेको बताएका छन् । केही दिनअघि वैदेशिक रोजगार ठगीको आरोपमा एक माया पक्राउ परेकी थिइन् । तर, आफ्नो आमामाथि गलत आरोप लगाएर चरित्र हत्या गर्न खोजेको भन्दै उनका छोरा रमेश मगरले आपत्ति जनाउँदै न्यायका लागि सरोकारवाला निकायसँग माग गरेका छन् । अनावश्यक आरोप लगाएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजेको भन्दै उनले आफूहरुले न्याय पाउने विश्वास गरे ।
भएको के हो ?
एक माया पुलामी मगरमाथि लागेको आरोप र यसबारे उनको परिवारले गरेको खण्डनबारे उनका छोरा रमेश मगरकै शब्दमा :
साउन २५ गते पुलामी मगर पक्राउ पर्नुभएकाके हो । उक्त दिन महेश घिमिरलाई नै एक माया पुलामी मगर आफैंले भेट्न बोलाउनु भएको हो । उनीहरू दुईबीच काठमाडौंको नयाँबसपार्कस्थित बिजी मल अगाडि बिहान १० बजे भेट्ने भन्ने कुरा भएको थियो । सोही अनुरूप एक मायाले आफ्नो एक जना महिलालाई पनि साथीको रूपमा बोलाएकी थिइन् । ती महिला समयमै आइपुगिन्, तर घिमिरे भने लामो समयसम्म कुर्दासमेत आइपुगेनन् । मगरले घिमिरेलाई पटक पटक फोन सम्पर्क गरिन् । तर, उनले फोन उठाएनन् । उनी भने भेट्ने बहानामा उनलाई पक्राउ गर्ने प्रपञ्च रच्दै थिए ।
लामो समय कुर्दा समेत नआएपछि थुप्रै पटक मगरले घिमिरेलाई फोन सम्पर्क गरिन् । निकै पटकको फोन सम्पर्कको प्रयासपछि अन्ततः घिमिरेले फोन उठाए । फोनमा घिमिरेले भने, ‘दिदी म आज ड्राईभिङ लाइसेन्सको तयारीमा छु, उतै (विदेश) गएपछि पनि काम लागिहाल्छ, बरू दिउँसो ३ बजे भेटाँै ।’ घिमिरेले उक्त कुरा गरेपछि एक माया आफ्नो निजी कामका लागि कलंकी पुगेर समयमै फेरि बिजी मल नै फर्किइन् ।
त्यसपछि मगरले घिमिरेलाई फोन गरिन् । तर, फेरि घिमिरेको बहानाबाजी सुरू भयो । उनले फेरि आधी घण्टाको समय मागे । तर, आधा घण्टाको समय कुर्दा समेत उनी भेट्न आएनन् । त्यसपछि उनलाई करिब ५ बजेतिर घिमिरे आफँैले फोन गरे । एक मायाको भने त्यसको भोलिपल्ट नै नयाँ दिल्लीका लागि २ बजेको फ्लाइट तालिका थियो । त्यसकरण पनि घिमिरेलाई उनी जसरी पनि भेट्न चाहन्थिन् ।
घिमिरेको फोनपछि दूबैको लागि बीच बाटो पर्ने हिसाबले बिजी मलभन्दा थोरै पूर्व मित्रनगर अगाडि भेट्ने कुरा भयो । खासै टाढा नभएकाले मगर हिँडेरै मित्रतानगरतर्फ लागिन्। सिभिल ड्रेसमा केही सीआईबी प्रहरी त्यहाँ पु¥याएर घिमिरे भने अलि टाढा बसेका थिए । तर, कल्पना पनि गर्न नसकिने उक्त दृश्य देखेर एक माया अचम्ममा परिन् । उनलाई आफुविरूद्ध उजुरी परेकोबारे त्योभन्दा अगाडि कहिँकतै खबर थिएन । एकाएक त्यो दृश्य देख्दा एकछिन उनी हासिन् । उनी आफै घिमिरेलाई भेट्न आएकी थिइन्, जसले उक्त स्थानमा उनले नै बोलाएकी थिइन् । उक्त ठाउँमा महेश घिमिरे, समिरजङ्ग गुरुङ, राज घले, बेलबहादुर पौडेल र विकास बोहरा नाम गरेका गरी ५ जना अन्य व्यक्तिहरू समेत आएका थिए ।
खासमा वैदेशिक रोजगार विभागमा उजुरी गर्ने व्यक्ति भने समिरजङ्ग गुरुङ मात्र हुन् । उनले बुझाएको भनेको २ लाख ५५ हजार रूपैयाँ मात्र हो । कुरा त्यति मात्रको हो । एक मायालाई पटक पटक गरी गुरुङसँग उक्त रकम लिइएको भनेर आरोप लगाइएको छ । पोर्चुगल जान चाहेका समिरजङ्गको भने अहिले पनि भिसा प्रोसेसिङमा नै छ।
समिरजङ्गको मात्रै उजुरी परे पनि अन्य व्यक्तिहरू पनि त्यसैको मौका छोपी मगरसँग बार्गेनिङ गर्न चाहेका थिए । एद्यपि, समिरजङ्गको पनि भिसा प्रोसेसिङमा नै भएकाले उनको रकममा एक मायाबाट कुनै तलमाथि भएको छैन । र पनि उजुरी परेको हुनाले एक मायाले गुरुङसँग भने उक्त रकम डिजिटल पेमेन्टमार्फत् आफ्नै पैसा खर्च गरेर उनलाई बुझाएकी थिइन् । त्यसकारण यो केस यहि अन्त्य हुनुपर्ने हो, तर त्यस्तो भएन ।
समिरजङ्गसँगै आएका अन्य व्यक्तिहरूले भने यसैलाई मौका छोपेर मगरसँग अनावश्यक रकम वार्गेनिङ गर्न थालेका थिए । त्यसमध्ये विकास पौडेल नाम गरेका व्यक्तिले मगरलाई आफूले भनेजति रकम दिन चर्को दबाब दिन सुरू गरे ।
पौडेलसँग सामान्य चिनजान भए पनि उनीसँग एक मायाको कुनै लेनदेन भने थिएन । उसले निकै दबाब दिएपछि एक मायाले बाध्य भएर उनीहरूलाई चेकमार्फत् पैसा दिएकी थिइन् । त्यसमध्ये राज घलेलाई ३ लाख ४० हजार रुपैयाँ, बेलबहादुर पौडेललाई १ लाख ९० हजार रुपैयाँ र महेश घिमिरेलाई ३ लाख रुपैयाँ गरी जम्मा ८ लाख ३० हजार रकम चेकमार्फत् दिइएको थिथयो । उनीहरूले बुझाएको रकम भने भिसा प्रोसेसिङमा लाग्ने खर्च मात्र हो र मगरले उनीहरूबाट अन्य कुनै थप रकम भने लिएकी छैनन्। यी सबै रकम एक मायाले आफ्नो खाताको पैसा उनीहरूलाई बुझाएकी हुन्। यसरी भ्रममा पारेर स्वार्थ लुट्नेहरूलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ । गलत आरोप लगाएर चरित्र हत्या गर्नेविरुद्ध पनि कानुनी उपचार खोज्नुपर्छ
काठमाडौ, ३२ साउन ।
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।
यो आइपीओमा कुल १३ लाख ६४ हजार ३५३ जनाले आवेदन दिएकामा १३ लाख ५६ हजार ८३५ जनाको आवेदन गोलाप्रथाका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ । ७ हजार ५१७ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, रिलायबल नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
काठमाडौ, ३२ साउन ।
प्रि ओपन सेसनमा नेप्से सूचक ०.८५ विन्दुले बढेको छ । यससँगै सूचक २०२५.९८ अंकमा आएको छ । ४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
इन्दीप कोइराला,बारा, ३२ साउन ।
बाराका किसानले धान रोपाइँ गर्न खेतमा जडान गरेका आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ३ र १० बाट मोटर र दमकल चोरी भएको पीडित किसानले बताएका छन् ।
धान खेत सिँचाइ गर्न खेतमा राखिएको विद्युतीय मोटर र दमकल चोरी भएको हो । महागढीमाई नगरपालिका– १०, गञ्जभवानीपुरस्थित प्रहरी चौकीदेखि पाँच सय मिटर दुरी रहेका खेतमा विद्युतीय मोटरबाट सिँचाइ गरिरहेको अवस्थामा मोटर चोरी भएको पीडित किसान कुइस राउत अहिरले बताए । उनका अनुसार रातिको १० बजे मोटर जडान गरी धान खेतमा पानी पटाउदै गरेको अवस्थामा दुई घण्टापछि १२ बजे राति हेर्न जाँदा मोटर हराएको थियो । चोरी भएको आशङ्कामा चारैतिर खोज्दा कतै मोटर नभेटिएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
खेतमा जडान गरिएको वडा नं. १० का चुल्हाई महतो नुनियाको प्रेमशङ्करप्रसाद साहको आँपको बगैँचामा पानी राख्न जडान गरिएको विद्युतीय मोटर पनि चोरी भएको छ । यसैगरी सोही वडाका सक्कलप्रसाद यादव र वडा नं. ३ का इजहार मियाँको दमकल चोरी भएको छ भने चनरदेव यादवको दमकल चोर्न नसकी सोही स्थानमा पल्टाएर छाडिएको छ ।
त्यस्तै ढोढा महतो कोइरीको दमकल चोर्न नसक्दा पसाहा नदीको नहरमा फालिएको अर्का पीडित किसान सीयारामप्रसाद कुशवाहाले बताए । त्यसैगरी धान खेतमा राखेका ध्रुप महतो कोइरी, महागढीमाई नगरपालिका–३ का सुनील जैसवाल र वडा नं. ४ दहियार टोलका चनरजितप्रसाद यादवको मोटर चोरी भएको छ । उनीहरू दुवै जनाले माछा पालनका लागि पोखरीमा मोटर जडान गरेका थिए । सिँचाइ गर्न खेतमा राखिएको मोटर र दमकल चोरी हुन थालेपछि जिल्लाका किसान चिन्तित बनेका छन ।