२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

मोहम्मद हबिब,भैरहवा, ६ भदाैं ।

सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ बनेको छ ।

 

पर्यटकलाई लक्षित गरी सिद्धार्थ गौतमबुद्धको जन्मभूमिमा प्रवेश गरेको अनुभूति दिलाउने भनि बनाइएको सिद्धार्थ राजमार्गमा अवस्थित गेट नजिकै अहिले नगरपालिकाले नै फोहोर व्यवस्थापन गर्ने गरेको छ । नाकाबाट केही दुरी भित्र रहेको प्रवेशद्वार बुद्धत्व झल्कने लक्ष्यले बनाइए पनि अहिले सोही नगरपालिकाले नगरको फोहोर नै गेट नजिकै फाल्दै आएको छ ।

 

अहिले दैनिकरुपमा सिद्धार्थनगरबाट उत्सर्जन भएको फोहोर नगरपालिकाले गेट नजिकै डण्डा नदीको किनारमा नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । केही समय देखि सिसाको टुक्रा संकलन केन्द्र बनेको सो क्षेत्रमा अहिले सिसासँगै फोहोरको डम्पिङ क्षेत्र बनेको छ ।

 

गोरखपुरबाट साथीहरुसँग समूह बनाएर आएको प्रमिन्दर पनि फोटो खिच्न भनेर मंगलबार गाडीबाट ओर्ले तर फोहोरको गन्धका कारण उनी केही मिनेटमै गाडी चढी भैरहवातर्फ हानिए । गेट नजिकै पर्यटक रोकुन र केही समय भुलाउन भन्ने नगरपालिकाको मनसायले गेट बनाए पनि अहिले नगरपालिकाले नै पर्यटक भगाउने रणनितिमा लागेकाे देखिन्छ ।

 

सिद्धार्थनगर नगरपालिकाले वर्षौ देखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएको थियो । फोहोरले स्थानीय प्रभावित भएसँगै वडा नम्बर १ र २ का बासिन्दाले फोहोरको गाडी प्रवेश नै रोक लगाई विरोधमा उत्रेका थिए । यस अघि पनि स्थानीयले पटक पटक विरोध जनाएकोमा विभिन्न सहमतिमा विगत ३ दशक देखि नियमित रुपमा नगरको फोहोर सोही क्षेत्रमा व्यवस्थापन हुदै आएको थियो । अहिले स्थानीयले गरेको विरोधसँगै नगरपालिकाले फोहोर डम्पिङ क्षेत्रको स्थान नै परिवर्तन गरेको छ ।

 

सिद्धार्थनगर नगरपालिकाका फोहोर व्यवस्थापन प्रमुख अधिकृत केशव पौडेलले पुरानो ठाउमा स्थानीयले गरेको अवरोधका कारण साउन ४ गतेबाट सिद्धार्थ राजमार्ग नजिक पर्यटकीय गेटको पश्चिम तर्फ नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको बताए । अहिले नगर क्षेत्रबाट संकलन भएको फोहोर गेट नजिकैको क्षेत्रमा टयाक्टरमार्फत पठाउने, खाल्डोमा फोहार राखी सम्याउने र माटो पुर्ने गरी फोहोर व्यवस्थापन गरिरहेको बताए ।

 

सार्वजनिक जग्गा हो भन्ने सुन्नमा आएको डम्पिङ क्षेत्रमा गन्ध नआओस भन्नका लागि मट्टितेल, फिनेल र इमो झोल दैनिक रुपमा हाल्ने गरेको बताए । पहिलाको ठाँउमा स्थानीयले अवरोध गरी फाल्न नदिएपछि अहिले यो क्षेत्रमा फोहोर व्यवस्थापन हुदै आएको अधिकृत पौडेलले भने ।

 

पौडेलका अनुसार सिद्धार्थनगरमा दैनिक ३० टनको हराहारीमा फोहोर उत्सर्जन भई नगरपालिकाले करिब सय जना जनशक्ति लगाएर १२ वटा टयाक्टर, ठेला र कुचीकारहरुबाट फोहोर संकलन गर्ने गरेको छ ।

 

सिद्धार्थनगर नगरपालिका वडा नं. १ का अध्यक्ष उज्जवल पोखरेलले गेट नजिकै को सो क्षेत्रमा पहिला देखिनै सिसाको कवाड (फोहोर) संकलन गरी वातावरण नै प्रभावित बनेकोले पटक पटक हटाउने प्रयास गरेपनि नमानेपछि रिसीबीको कारण जरिवाना स्वरुप नगरको फोहोर सोही क्षेत्रमा फाल्न दिएको बताए । वर्षौ देखि नगरको फोहोर वडा नं. १ मै फलिरहेको छ- झण्डी बजार होस या पर्यटकीय गेट नजिकै । फोहोरको कारण स्थानीय नैडिहवा र हर्नैया क्षेत्रको नागरिकमा असर परेको क्षेत्रमा अहिले नगरपालिकाले स्वास्थ्य विमाको लागि बजेट छुटयाएको बताए ।

 

गेट नजिकै  रहेको निजि जग्गा लिजमा लिई सिसा कवाडको काम गर्दै आएका राम प्रसाद पन्तले नगरपालिकाले फालेको फोहोरको कारण काम गर्न सकिने अवस्था नभएकोले काम नै बन्द गरेको बताए । तत्काल १०–२० दिनको लागि भनि नगरपालिकाले यहाँ नजिकै नदी किनारमा फोहोर फाल्ने भने पनि महिना दिन भयो लगातार रुपमा फोहोर फाल्दै आएको छ, गन्ध र प्रदुषणले आजित भएकोले अहिले काम नै बन्द गरेको उनले भने । ‘एकातर्फ नगरपालिकाले प्रति किलो १० पैसा करबाट दश गुणा बढाएर प्रति किलो एक रुपैया पुरयाएको छ भने अर्कोतर्फ काम गर्ने वातावरण नै छैन,’ पन्तले भने, ‘यस क्षेत्रको सिसाको कवाड पूर्ण रुपमा भारत नै जान्छ अन्त मार्केट छैन, मैले पनि लिजमा लिएर काम गर्दै आएकोले जग्गाधनिलाई काम गर्न सकिने अवस्था नभएको जानकारी गराउदै काम बन्द गरेको छु ।’

 

उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने नुन फोहोर फालेको केही दुरीमै भण्डारण गरि राखिएको छ । खुला रुपमा फालिएको असर नैडिहवा गाँउसम्म परेपनि नजिकै रहेको नुनमा भने यस्को असर पक्कै परेको छ । उपभोक्ताको स्वास्थ्य प्रत्यक्ष असर पर्ने गरि नुन भण्डारण समेत सो क्षेत्रमा गर्दा उच्च जोखिम छ ।

 

साल्ट टेड्रिङ कर्पोरेशनका सहायक महा प्रबन्धक हरि चन्द्र श्रेष्ठले गेट नजिकै साल्ट ट्रेडिङले नुन भण्डारण गर्दै आएको बताए । विक्री वितरण नगरेर संचिति गर्नका लागि हामीले त्रिपालले ढाकेर नुन राख्ने गरेका छौ, त्यस्तो ठाँउमा नगरपालिकाले फोहोर व्यवस्थापन नगर्नु पर्ने बताए । हामीले सुरक्षित रुपमा राखेपनि नगरपालिकाले यस विषयमा सोच्नु पर्ने बताए, जनताको स्वास्थ्यसँग खेलवाड हुने काम नगरपालिकाले गर्न नहुने उनले भने ।

 

नौडिहवाका स्थानीय सन्दिपले फोहोर फाल्न लागे देखि दुर्गन्धले गेट नजिक जाने स्थिती छैन । त्यहाँ मात्रै होइन हावा चल्दा यस्को असर गाँउ सम्म पनि आउने गरेको छ, वर्षाको समय छ यसले महामारी फैलाउने जोखिम पनि छ, नगरपालिकाले तत्काल यस्को समाधान गरी बस्तीबाट टाढा व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । यसले आउने पर्यटकमा पहिलो इम्प्रेसनमै गलत म्यासेज जाने बताए ।

सिद्धार्थ राजमार्ग र डण्डा नदीको पुलसँगै रहेको सो फोहोर फालेको क्षेत्र नजिकै सशस्त्र प्रहरीको पनि युनिट छ । गन्धको असर राजमार्ग आवगमान गर्नेलाई परेपनि सधै चेकजाँचमा खटेका सुरक्षाकर्मीलाई पनि पर्ने गरेको छ । एक सुरक्षाकर्मीले भने ‘हामीलाई त सिद्धार्थनगरको फोहोरले पिछा छोड्ने भएन गणमा हुदा उता फोहोरले सास्ती भोगेका थियौ, अहिले यहाँ पनि सोही समस्या रहेको छ’

 

नौडिहवा टोल सुधार समितिका कोषाध्यक्ष ज्ञासु पठानले घाट जाने बाटो व्यवस्थापन गर्ने, मन्दिर, धर्मशाला र पोखरीलाई व्यवस्थापन गरिदिने मौखिक छलफल नगरपालिकालदे गर्ने भएपछि फोहोर फाल्ने सम्झौता भएको जानकारी दिए । ‘फोहोरले स्वास्थ्यमा समस्या देखिने भएपनि अहिले खासै समस्या भने नरहेको, फोहोर हो हल्का त गन्ध आइहाल्छ,’ कोषाध्यक्ष पठानले भने ।

 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले सिद्धार्थनगरको फोहोर मैला व्यवस्थापनको दीर्घकालिन समाधानका लागि प्रयासरत रहेको बताए ।  छिमेकी पालिकाको सहकार्यमा सम्झौताको क्रममा रहेको छ, एसियाली विकास बैंकले २०२४ मा नेपालभरिका लागि फोहोरमैला व्यवस्थापन परियोजना ल्याउदै छ ५० करोडको लगानीमा एडिबीले बनाउने भनेर अनौपचरिक रुपमा छलफल भइसकेको छ, जग्गा छनोट र डिपीआर लगायतको काममा केही समय लाग्ने बताए ।

 

तत्कालका लागि हाल सिद्धार्थनगर १ मा फोहोरमैला व्यवस्थापन भइरहेको छ, २४ घण्टा जेसिभी राखेर फोहोर माटोले पुर्ने र गन्ध व्यवस्थापनका लागि मट्टीतेल छर्कने काम निरन्तर भइरहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले दाबी गरे । सार्वजनिक जग्गा हो केही खाल्टो पनि छ, पुरेर भोलिका दिनमा बगैचा बनाउने योजना समेत रहेको बताए । नुन भण्डारण नजिकै नुन फालिएको विषयमा स्वास्थ्यमा असर गर्छ भन्ने प्रश्नमा उनले भने ‘नुन केमिकल बस्तु हो केमिकललाई गन्धले के असर गर्छ र? नुन भित्र गन्ध कसरी छिर्छ नुनको नाक हुदैन भन्ने जवाफ दिए ।

 

काठमाडौ, ६ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेडा १३०, टनेल गोलभेडा सानो ६३, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानिय प्रतिकेजी ८० , आलु रातो  ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ । तीन दिन अघि १३० रूपैयाँ भाउ रकाे नेपाली गाेलभेडाकाे हिजाे १२० रूपैयाँमा काराेबार भएकाे थियाे ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर ८०, मूला सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली १४०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०,शरीफा २५०, फूजी स्याउ ३५०, अम्बा १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० रुपैयाँ मा कारोबार भइरहेको छ ।

 

मेक्सिको सिटी, ६ भदौं ।

मध्य मेक्सिकोको कुआक नोपालन ओक्साका राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

 

अधिकारीहरूका अनुसार स्थानीय र आप्रवासी बोकेको बस ओक्साका र पुएब्ला राज्यको सिमानामा रहेको राजमार्गमा एउटा ट्रेलर ट्रकसँग ठोक्किदा उक्त भयानक दुर्घटना भएको हो ।

 

ओक्साका अभियोजकको कार्यालयका अनुसार सवारी दुर्घटनामा एक नाबालिग सहित कम्तीमा आठ पुरुष र आठ महिलाको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि पुएब्लाको अस्पतालमा लगिएको छ ।

 

सो टक्करको कारण अज्ञात छ तर अभियोजकको कार्यालयले भनेको छ कि उनीहरूले विज्ञको नेतृत्वमा अनुसन्धान गर्नेछन्, जसले दुर्घटनामा निम्त्याएको घटनाहरू पत्ता लगाउन र कसैलाई जिम्मेवार ठहराउनु पर्छ कि भनेर निर्धारण गर्नेछन ।

‘मैले सम्बन्धित निकायका प्रमुखहरूलाई घाइतेहरूलाई सहयोग गर्न र सहयोग गर्न निर्देशन दिएको छु,’ ओक्साकाका गभर्नर सालोमन जारा क्रुजले भने, ‘हामी मृतकका परिवारलाई अँगालो र समवेदना पठाउँछौं, जसलाई हामी हाम्रो सबै सहयोग प्रदान गर्नेछौं।’

 

पुएब्लाको आन्तरिक मन्त्रालयले पीडितहरूलाई कसरी सहयोग गर्ने भन्ने बारे सङ्घीय सरकारी एजेन्सीहरू र राज्य अधिकारीहरूसँग निरन्तर कुराकानी भईरहेको बताएको छ ।

 

एथेन्स, ६ भदौं ।

उत्तरी ग्रीसको जंगली क्षेत्रमा विगत चार दिनदेखि लागेको डढेलोबाट प्रभावित १८ जनाको शव फेला परेको ग्रीसको दमकल सेवाले जनाएको छ ।

प्रारम्भिक रिपोर्टमा मृत्यु हुनेहरू आप्रवासी हुन सक्ने अनुमान गरिएको छ। कोरोनर र अनुसन्धान टोली डडिया जंगल नजिकै घटनास्थलतर्फ गएको छ ।

 

टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त भएको छ।

 

त्यसपछि अलेक्जान्ड्रो पोलिस सहरको एउटा अस्पताल खाली गर्नुपर्‍यो र नवजात शिशुहरू र सघन हेरचाहका बिरामीहरू बन्दरगाहमा डुंगामा सारियो।

अलेक्जान्ड्रोपोलिसको उत्तरमा रहेको ठूलो जङ्गल भएको डाडिया राष्ट्रिय निकुञ्जमा सोमबारदेखि आगो तीव्र गतिमा फैलिएको थियो । आपतकालीन सेवाहरूले वरपरका क्षेत्रहरूमा मानिसहरूलाई छोड्न आग्रह गर्दै मोबाइल  सन्देशहरू पठाएका छन् ।

 

पछिल्लो डरलाग्दो खोज हुनु अघि प्रारम्भिक मृत्यु यस क्षेत्रमा एक आप्रवासीको भएको विश्वास गरिएको थियो।

मङ्गलबार धेरै ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको उच्च हावा र तापक्रमले ग्रीसका विभिन्न भागमा आगलागी भइरहेको छ।

 

काठमाडौ, ६ भदौ ।

अपर तामाकोशी हाइड्रोपावरको आज बुधबार भदौ ६ गते वार्षिक साधारण सभा बस्दैछ ।

 

साे सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

 

नेपाल धितोपत्र बोर्डले अपर तामाकोशीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद बिक्री खुला गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

 

हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत पुँजी संकलन गर्न लागेको हो । हकप्रद सेयरका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

 

यता, कम्पनीले सभा र हकप्रद निष्कासनका लागि साउन २६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, साउन २५ गतेसम्म कायम लगानीकर्ताले हकप्रद भर्न र सभामा भाग लिन सक्नेछन् ।

 

इस्लामबाद, ६ भदौं ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा मंगलबार ९ सय फिटको उचाइमा फसेका आठ जनाको अबेर राति उद्धार गरिएको छ ।

 

पाकिस्तानी सेना र स्थानीयवासीले ठूलो साहस देखाएर सबैलाई बचाएका छन । पाकिस्तानी सेनाले अन्धकारका कारण हवाई उद्धार कार्य स्थगित गरी चेयर लिफ्टमा फसेका अरुको उद्धारका लागि स्थलगत अभियान सुरु गरेको थियो ।

खैबर पख्तुनख्वाको बट्टाग्राम जिल्लाको पहाडी क्षेत्रमा प्रतिकूल मौसमको बीचमा सूर्यास्त हुनुभन्दा केही समय अघि पाकिस्तानी सेनाको विशेष सेवा समूहले दुई बालबालिकालाई उद्धार गरेको हो । पाकिस्तानको सरकारी प्रसारक पीटीभी न्यूजले सेनालाई उद्धृत गर्दै रातको अन्धाकार र मौसमको कारणले हवाई अपरेशन स्थगित गरेको र वैकल्पिक माध्यम मार्फत उद्धार प्रयास सुरु गरेको जनाएको थियो ।

 

बट्टग्राम जिल्लाको अल्लाई तहसीलमा बिहान करिब ८ बजे बालबालिका विद्यालय जाँदै गर्दा उक्त घटना भएको हो । अल्लाई तहसीलका अध्यक्ष मुफ्ती गुलामुल्लाहलाई उद्धृत गर्दै पाकिस्तान मिडियाले भने कि यस क्षेत्रमा कुनै सडक वा पुल नभएकोले खोला पार गर्न स्थानीयहरूले निजी रूपमा सञ्चालन गरेको चेयरलिफ्ट व्यवस्था थियो।

 

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जियो न्यूजले जानकारी दियो कि बट्टग्राममा केबल बिग्रिएको कारण एउटा चेयरलिफ्ट सडकको बीचमा ९०० फिटको उचाइमा अड्कियो। घटनामा ६ बालबालिकासहित आठ जना फसेका थिए ।

 

टोकियो, ६ भदौं ।

जापानले बिहीबारदेखि प्रशान्त महासागरमा फुकुसिमा दाइची आणविक केन्द्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी छोड्ने भएको छ ।

 

बिगत १२ वर्षअघिको विवादास्पद तर सुनामीले क्षतिग्रस्त प्लान्ट बन्द गर्न दशकौं लामो कार्यमा यो आवश्यक कदम हो। योजनामा ​​संलग्न मन्त्रीहरुको बैठकमा प्रधानमन्त्री फुमियो किशिदाले सो कामलाई स्वीकृति दिएका हुन् ।

किशिदाले टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्सलाई मौसम र समुद्री अवस्था अनुकूल भए बिहीबारदेखि पानी छोड्न निर्देशन दिएका हुन ।

 

सरकारले सुरक्षा सुनिश्चित गर्न, माछापालन क्षेत्रको प्रतिष्ठामा आँच आउन नदिन र देशभित्र र बाहिर वैज्ञानिक स्पष्टीकरण र पारदर्शिता दिन सरकारले हरसम्भव प्रयास गरेको बताए ।

 

किशिदाले दशकौं लामो पानी निस्कने र प्लान्ट बन्द गर्ने प्रक्रियामा सरकारले यी प्रयासहरूलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएका छन् ।

 

तर, जापानको मत्स्य ब्यावसायीले भने सरकारको सो स्विकृतिको भने चर्को बिरोध गर्दै आएका छन् ।

 

काठमाडौं, ६ भदौं ।

राप्रपा नेपालका महामन्त्री राजाराम वतौंलाले सिमित दलका सिमित नेताको ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकिएको बताएका छन ।

 

मनपरीतन्त्रले सिमा नाघेको चर्चा गर्दै बर्तौलाले मुलुकमा अहिले बिद्यमान भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि जनआन्दोलनको बिकल्प नभएको समेत उनले बताए।

 

संगठन विभाग प्रमुख समेत रहेका वर्तौलाले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आगामी असोज ५ गते सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनको तयारी बैठकमा बोल्दै मुठ्ठी भरका नेताहरुको रजाई गर्ने ब्यबस्थाले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिबर्तन र हित नहुने हुँदा जनआन्दोलनको माध्यमबाट मुलुकलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए ।

 

अहिलेको राजनीतिक शक्तिले मुलुकको स्वाधिनताको रक्षा , प्रजातन्त्रको संरक्षण , बिधिको शासन र आर्थिक समृद्धिको लागि केही योगदान दिन नसक्ने भएकोले धर्म, संस्कृती र पहिचान रक्षाको लागि पनि आन्दोलनको बिकल्प नभएको उनको भनाई थियो ।

 

राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी असोज ५ मा काठमाडौमा आयोजना हुने भएको छ । सम्मेलनमा प्रत्यक जिल्लाबाट ५ जनाको दरले ६० जिल्लाबाट श्रमिक प्रतिनिधीहरुको सहभागीता रहने महासंघले जनाएको छ ।

 

राष्ट्रिय सम्मेलन सफल पार्न टुकोनले आर्थिक, व्यबस्थापन एवं विधान संशोधन समिती समेत गठन गरेको छ । महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएको हो ।

 

साथै तीन जना श्रमिक अगुवाहरुलाई टुकोनको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा शिब प्रसाद पकुवाल (दोलखा) शिबहरी पकुवाल (दोलखा) र सन्त कुमार तामाड (नुवाकोट) रहेका छन् । राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम वर्तौलाले मनोनित केन्द्रीय सदस्यहरुलाई खाता लगाएर बधाई दिएका थिए ।

सुडान, ६ भदौं

पूर्वी अफ्रिकी देश सुडानमा अप्रिलमा सुरु भएको द्वन्द्वपछि भोकमरीका कारण झण्डै ५०० बालबालिकाको मृत्यु भएको छ ।

 

जस अनुसार राजधानी खार्तुममा रहेको सरकारी अनाथालयका दुई दर्जन बालबालिका समेत भोकमरीले मरेका छन ।

 

एक प्रमुख सहायता समूह सेभ द चिल्ड्रेनका अनुसार अहिले पनि कम्तिमा ३२ हजार बालबालिका कुपोषण र सम्बन्धित रोगहरूको उपचारमा पहुँचविहीन छन् किनभने परोपकारी संस्थाले सुडानमा आफ्ना ५७ पोषण केन्द्रहरू बन्द गर्न बाध्य भएका छन ।

 

सुडानमा गत अप्रिल १५ मा खुल्ला लडाइँ सुरु भयो, सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बलबीच महिनौंदेखिको तनावपछि अराजकता फैलियो। द्वन्द्वले खार्तुम र अन्य सहरी क्षेत्रलाई युद्धको मैदानमा परिणत गरेको छ। धेरै बासिन्दाहरू पानी र बिजुली बिना बाँच्न बाध्य छन् जबकि अहिले देशको स्वास्थ्य सेवा प्रणाली लगभग ध्वस्त भएको छ।

 

सुडानमा सेभ द चिल्ड्रेनका निर्देशक आरिफ नूरले भने, “हामीले यति धेरै बालबालिका भोकले मरिरहेको देख्नेछौं भन्ने सोचेका थिएनौं तर अहिले सुडानमा यस्तै भइरहेको छ । हामीले बच्चाहरूलाई पूर्ण रूपमा रोक्न सकिने अवस्थाहरूमा मरिरहेको देखिरहेका छौं।’

 

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता लिज थ्रोसेलका अनुसार सुडानमा भएको हिंसामा कम्तीमा ४ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ । जग्गामा काम गर्ने कार्यकर्ता र चिकित्सकहरूले मृत्यु हुनेको संख्या धेरै हुन सक्ने बताएका छन्।

 

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार ४४ लाखभन्दा बढी मानिस आफ्नो घरबार छोडेर सुडानका सुरक्षित क्षेत्र वा छिमेकी मुलुकतर्फ भाग्न बाध्य भएका छन् ।

 

सेभ द चिल्ड्रेनले मे र जुलाईको बीचमा दक्षिणी ह्वाइट नाइल प्रान्तमा कुपोषण वा सम्बन्धित रोगका कारण कम्तीमा ३१६ बालबालिकाको मृत्यु भएको जनाएको थियो। उनले भनिन्, गत आठ महिनामा २४ सय भन्दा बढी बालबालिका गम्भीर कुपोषणका साथ अस्पतालमा भर्ना भएका छन्, ती सबै अति कुपोषणले बिरामी थिए ।

पूर्वी काड्रिफ प्रान्तमा गत अप्रिल र जुलाई बीचमा सरकारी सञ्चालित बाल अस्पतालमा कुपोषणका कारण कम्तीमा १३२ बालबालिकाको मृत्यु भएको छ।

 

पहिलो छ हप्तामा खार्तुमको एउटा अनाथालयमा दुई दर्जन शिशुसहित कम्तीमा ५० बालबालिकाको भोक वा सम्बन्धित रोगका कारण मृत्यु भएको परोपकारी संस्थाले जनाएको छ। त्यसको मुख्य कारण दुवै समुह बिच भइरहेको झगडाका कारण  ‘सेभ द चिल्ड्रेन’ का कर्मचारी उनीहरुको हेरचाह गर्न त्यहाँ पुग्न नसकेकाले यसो भएको हो ।

 

काठमाडौं, ६ भदौं ।

नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ ।

 

हिजो देखी सुरू भएको केन्द्रिय समिति बैठकमा आजवाट केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।

 

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिबेदन पेश गरेका थिए भने सो प्रतिवेदन माथी ‘फरक मत’ राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए ।

 

आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

 

बैठक बिहान ८ बजे देखी सुरु हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।