काठमाडौं, ६ भदौ ।
त्रिशूलीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका आठमध्ये चार यात्रुको सनाखत भएको छ।
दुर्घटनामा म्याग्दीको रघुगङ्गा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी-११ का २४ वर्षीय सुमन थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको सनाखत हुन बाँकी छ। सनाखत हुन नसकेका मृतकमध्ये एक जना महिला र तीन जना पुरुष रहेका छन्।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूलीमा खसेको थियो।
बसमा २६ जना रहेका थिए। दुर्घटनामा १७ जना घाइते छन्। घाइते १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य घाइते भएका छन्।
बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ।
दार्चुला, ६ भदौ ।
महाकालीमा पानीको सतह बढेको छ। माथिल्लो क्षेत्रमा बिहानबाट वर्षा भएकोले बुधबार मध्याह्नदेखि महाकालीमा पानी सतह बढेको स्थानीय प्रशासनले जनाएको छ।
महाकाली नगरपालिका-९ स्थित दत्तुमा रहेको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ। नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
सदरमुकाम खलंगाको बङ्गाबगर क्षेत्रमा निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ। महाकाली नदीमा पानीको बहाव बढ्दै गएकाले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
काठमाडौं, ६ भदौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी दल नभएको बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिएको उनले बताए।
‘यो दशवटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीनवटा बैठक हल्ला गरेर चलेको। दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनुभएको थियो। बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो। यो सदन सत्तालई चाहिन्छ चाहिँदैन तर, नेकपा एमालेलाई चाहिन्छ,’ उनले भने।
अविश्वासको प्रस्ताव दर्ता हुँदा मनोमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उनले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गरे। साथै उनले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गरे।
काठमाडौं, ६ भदौ ।
राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाए ।
देशमा दुईवटा कानुन नरहेको भन्दै उनले निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।
काठमाडौ, ६ भदौ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्रीन भेन्चर्स लिमिडेटको नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा १९०.३८ प्रतिशत ले बढेर ३१ करोड ९० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ९८ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी बढेकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो ।
असार मसान्तसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी ६३.८६ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ४५ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ९४ करोड २५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष ५६ करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी असारसम्म ९४ कोड २ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ १३ पैसाले बढेर १० रुपैयाँ २१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २२ पैसा छ । चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । जगेडा कोषमा २२ करोड ५५ लाख २५ हजार रुपैयाँ छ ।
काठमाडौं, ६ भदौ ।
एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो ।

बुधबार दलहरुबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो ।
राष्ट्रिय दल मान्यता प्राप्त दलहरुको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ । उक्त सहमतिबारे प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कार्ले जानकारी गराएका छन् ।

काठमाडौं, ६ भदौ ।
एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो । बुधबार दलहरुबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दलीय सहमतिबारे सदनलाई जानकारी गराएका छन् । उनले सरकारको तर्फबाट सदनलाई जानकारी गराएका हुन् ।
बुधबार बसेको राष्ट्रिय दल मान्यता प्राप्त दलहरुको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ । यसपछि बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले उक्त सहमतिबार सदनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने निर्णय गरेको थियो ।
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ स्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले उक्त बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना प्रकट गर्दछु । घाइते यात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु ।’
काठमाडौं, ६ भदौ ।
नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । बुधबार बसेको बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिस्कार गरेका हुन् ।
मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।
बुधबारको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका छन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले थापाको पक्षमा मत दिएका थिए । सोही कार्यको विरोधमा एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् ।
काठमाडौ, ६ भदौ ।
सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । बुधबार नेप्से सूचक २९.४७ विन्दुले बढेर २०४५.४५ अंकमा आइपुगेको छ । ३ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
नेप्से सूचकले १९९० आसपासको विन्दुलाई बटम बनाएर फर्किएपछि सकारात्मक माहोल देखिएको हो । यसअघि २२ सय भन्दा माथि पुगेको बजार मौद्रिक नीतिपछि भने निरन्तरजसो घटेको यियो ।
यसरी घटेको बजार सोमबार २ हजार विन्दुभन्दा पनि तल झरेको थियो । त्यसपछि भने बजार बाउन्स ब्याक भएको हो ।
यस दिन २७३ कम्पनीको ४२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र आइएमई लाइफ इन्स्याेरेन्स परेका छन् ।