कञ्चनपुर, ७ भदौ ।
भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा राखेको क्याम्प(ब्यारियल) हटाइएको छ।
बिहीबार बेलौरी नगरपालिका–१० भुडामा नेपाली भूमिमा भारतीय एसएसबीले राखेकोे क्याम्प हटाइएको छ। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।
‘नेपाली भूमिमा ब्यारियल तथा क्याम्प राखेको जानकारी पाएपछि त्यसलाई सशस्त्र प्रहरीद्धारा हटाएका छौं,’ अधिकारीले भने, ‘नेपाली भुमिमा ब्यारिएल लगाउन पाइँदैन, नेपालतर्फ बनाएको ब्यारियल बिहानै हटाएका छौं।’ बेलौरी नगरपालिका–१० भुडाबाट भारतीय बजार कम्बोजनगर जाने बाटोमा एसएसबीले क्याम्प राखेको थियो।
काठमाडौं, ७ भदौ ।
नेकपा एकीकृत समाजवादीको पार्टी सदस्यताको आवेदन फोनबाटै दिनसकिने भएको छ।
मंगलबारदेखि सुरु भएर बिहीबार सकिएको पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको सूचनालाई बढी प्रभावकारी बनाउने जनाएको हो।
पार्टीका कुनै पनि कमिटीको बैठकका निर्णअनुसार हरेक सदस्यले लिएका जिम्मेवारीको अनुगमन गर्ने र त्यसका लागि कस्ले कुन दिन कुन काम गरेको हो भन्ने जानकारी तुरुन्तै केन्द्रमा आउने व्यवस्था गरिने व्यवस्था गरिने बैठकको निर्णय छ।
पार्टीका बारेमा सकेसम्म बढी सूचना पाउन सक्ने गरी पार्टीको डिजिटल एपको प्रयोगलाई प्रभावकारी बनाउँदै लगिने निर्णयसमेत बैठकले गरेको छ।
खड्क सुनार/न्युज कारखाना ,मुगु, ७ भदौ ।
विश्वका चार धाममध्ये छायानाथ धामको तीर्थयात्रा बिहीबारबाट शुभारम्भ भएको छ। बिहीबार छायानाथ रारा नगरपालिका–२ चैन गाउँमा रहको छायानाथ मन्दिरमा रहेका भगवान शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित छायानाथ लगेपछि आजबाट तीर्थयात्रा सुरु भएको हो। मुगुमकामरोङ गाउँपालिका डोल्फुमा रहेको छायानाथ मन्दिरमा लगेपछि छायानाथ धाम तीर्थयात्रा आजबाट प्रारम्भ भएको यहाँका पुजारीले बताएका छन्।
हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता रुपमा छायानाथ ठाकुरको मूर्ति पवित्र धाम छायानाथमा नुहाउन लगिएसँगै छायानाथ धाम तीर्थयात्र शुरु भएको मानिन्छ। बिहीबार लगिएको शिवजीको मूर्ति जनैपूर्णीमासम्म छायानाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुसहित कर्णालीका जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोटसँगै सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी लगायत जिल्लाबाट तीर्थालु दर्शन गर्न छायानाथ धाममा पुग्ने गरेका छन्।
जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालु आउने गरेको छायानाथ मन्दिरका पूजारी सनत हमालले बताए। विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुज्न थालिएको पुजारीको भनाइ छ।
छायानाथ मन्दिरमा जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। बिहीबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि अथवा परेउ पूर्णिमाको दिनमा फर्किने गर्दछ।
सर्लाही, ७ भदौ ।
रौतहटमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो।
बागमती नगरपालिका–१ स्थित पौराहीमा आज पश्चिमबाट पूर्वतर्फ हिँडेको ना६ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–१ का अन्दाजी वर्ष ५५ की विमला विमलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार ट्रकले ठक्कर दिएर स्थानीय विमलीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमाथि तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका थिए। श्रीमान्–श्रीमती बजार गएर आएका बेला पौराही पुलमा विमलीलाई पछाडिबाट ठक्कर दिँदा लडेपछि पुनः ट्रक ब्याक गरी किचेको पीडित परिवारको भनाइ छ।
ठक्कर दिने ट्रकका चालक इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ।
काठमाडौं, ७ भदौ ।
अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी असोजमा इजिप्ट भ्रमणमा जाने भएका छन्।
अर्थमन्त्री र गभर्नर एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं वार्षिक बैठकमा भाग लिन त्यसतर्फ जाने भएका हुन्।
मन्त्री तथा गभर्नरको भ्रमण मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भैसकेको छ। बैठक असोज ८ गतेदेखी १० गतेसम्मको लागि चल्नेछ।
काठमाडौं, ७ भदौ ।
एकीकृत समाजवादीले महाधिवेशन माघमा गर्ने भएको छ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ।
काठमाडौं, ७ भदौ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै अनसन बसेका युवक पक्राउ परेका छन्। प्रहरीले सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका देव शर्मालाई पक्राउ गरेको हो।

कोशी प्रदेश सरकारमा मुख्यमन्त्री र सत्तागठबन्धनका सांसदहरुले संविधान बिपरित गतिबिधि गरेको भन्दै शर्मा सर्वोच्चमा रिट दर्ता गर्न पुगेका थिए। तर, सर्वोच्चले उनको रिट दर्ता नगरेपछि अनसन बसेका हुन्।
शर्मा कोशी प्रदेश स्थित बिराटनगका युवा हुन्। उनी सामाजिक तथा राजनीतिक क्रियाकलापमा पछिल्लो समय निकै सक्रिय रहँदै आएका छन्।

सिन्धुपाल्चोक, ७ भदौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जनतले अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन्।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण सम्बन्धि कार्यक्रमको वार्षिक समिक्षामा मन्तव्य राख्दै मन्त्री बस्नेतले जनप्रतिनिधिले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने बताएका हुन्।
‘हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं। अहिले सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै छ। राम्रो भएर नै सरकारीमा चाप भएको हो।अझै राम्रो बनाउन लाग्नेछौं । भनसुनको भरमा ८ सय भन्दा बढी स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका थिए, अहिले त्यो सबै अन्त्य भएको छ। नेपालको इतिहासमा पहिलो पटक स्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धतिको अन्त्य भएको छ,’ उनले भने।
नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा समेत भनिरहेको अवस्था रहेको उनले बताए। ‘माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोध समेत गर्नुभएको छ। हामीले यहाँ मेडिकल शिक्षा सहजरूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ। यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो। अव तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु,’ उनले भने।
मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालहरुमा मात्रै ३ हजार ५ सय बेडमा निशुल्क उपचार हुने व्यवस्था रहेको र आगामी दिनहरुमा अझै बृद्धि गर्ने बताए।
काठमाडौं, ७ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिने बताएका छन्।
काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजित समारोहमा प्रचण्डले सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने मान्यताका साथ गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गरेर जाने बताए।
यस विषयमा बुधबार बसेको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको उनले बताए। गौरा पर्वका अवसरमा देशभर सार्वजनिक बिदाको निर्णय पनि गर्ने उनले घोषणा गरे।
बैतडी, ७ भदौ ।
बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता भएका छन्।
जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनीका ५२ वर्षीय जयबहादुर बोहरा मंगलबार साँझदेखि बेपत्ता भएका हुन्। बोहरा लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। शिक्षक बोहरा बेपत्ता भएको प्रहरीलाई बुधबार साँझ मात्रै बोहराका दाजुले खबर गरेका थिए।
बेपत्ता शिक्षकको स्थानीय गन्नीगाडको छेउमा चप्पल भने फेला परेको प्रहरीले बताएको छ। बेपत्ता शिक्षक बोहराको खोजीको लागि प्रहरीको टोली गन्नीगाड क्षेत्रमा परिचालन गरिएको छ।