उमेश कुमार साह,सप्तरी,२०८२ जेठ २३ गते ।
डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।
बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते हुनुभएको छ ।
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ ।
सागर संगम ठाकुर, रौतहट, जेठ २३
रौतहटको देवाही गोनाही नगरपालिकामा डेंगु रोगसम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। समुदायमा डेंगु रोगको जोखिम बढ्दै गएकाले स्थानीय स्तरमै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार नगर स्वास्थ्य शाखाको आयोजनामा तालिम कार्यक्रम सम्पन्न गरिएको हो।
तालिमको उद्घाटन नगर प्रमुख डा. रामप्रवेश पटेलले गरेका थिए। उनले तालिमको दौरान डेंगु रोग सामान्य ज्वरो जस्तो देखिए पनि गम्भीर परिणाम ल्याउन सक्ने भएकाले यसको समयमै पहिचान, रोकथाम र नियन्त्रण अत्यावश्यक रहेको बताए। उनले भने, “डेंगु नियन्त्रण सामूहिक प्रयासबाट मात्र सम्भव छ। यसमा समुदायको सक्रिय सहभागिता अपरिहार्य छ।”
कार्यक्रममा नगर स्वास्थ्य शाखाका संयोजक जग्गा रामले डेंगु रोगको लक्षण, संक्रमणका तरिका, बच्ने उपाय र नियन्त्रण रणनीतिका बारेमा विस्तृत जानकारी दिएका थिए। सहभागीहरूले घर वरपर पानी जम्न नदिने, पूर्ण शरीर ढाकिने लुगा लगाउने, लार्भा नष्ट गर्नेजस्ता व्यावहारिक उपायहरूबारे जानकारी प्राप्त गरेका थिए।
उक्त तालिममा उपमेयर परनिया देवी पटेल, स्वास्थ्य शाखाका सह-संयोजक रंदीप साह, विभिन्न वडाका स्वास्थ्यकर्मी, शिक्षक, आमा समूहका प्रतिनिधिहरू, वडा अध्यक्ष तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले तालिममा प्राप्त ज्ञानलाई समुदायमा फैलाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले सबै सहभागीप्रति आभार प्रकट गर्दै तालिम औपचारिक रूपमा समापन गरेको थियो।
आरके श्रीवास्तव,राैतहट,२३ गते जेठ ।
राैतहटकाे मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै यस वर्षको “प्यान उत्कृष्ट नगरपालिका २०८२” को सम्मान प्राप्त गरेको छ । उक्त पुरस्कार नेपाल प्रधानाध्यापक संघ बाट प्रदान गरिएको हो।

प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले देशभरका नगरपालिकाहरूको शिक्षासम्बन्धी २५ वटा मापदण्डको आधारमा मूल्याङ्कन गरी मौलापुर नगरपालिकालाई मधेस प्रदेशमा उत्कृष्ट ठहर गरेको हो ।
पुरस्कार पाेखरामा आयोजित समारोहमा संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तबाट मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साहले ग्रहण गर्नुभएकाे छ ।

शिक्षाको समग्र स्थिति, बाल शिक्षा तथा ईसीडी व्यवस्थापन, सिपमूलक शिक्षा, शिक्षक/विद्यार्थी सन्तुष्टि, विद्यालय बाहिर रहेका बालबालिकाका लागि गरिएको प्रयास, विद्यालयको भौतिक संरचना, स्थानीय पाठ्यक्रमको कार्यान्वयन, आधुनिक प्रविधिको प्रयोग, छात्रालाई शिक्षामा समावेश गराउने पहल, आवधिक शैक्षिक योजना निर्माण तथा गुनासो व्यवस्थापन प्रणाली लगायतका सूचकहरूमा मौलापुर नगरपालिकाको प्रदर्शन उच्च रहेको मूल्याङ्कन समितिको निष्कर्ष रहेको छ ।
नगरपालिकालाई उत्कृष्ट बनाउन सक्रिय योगदान पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षकमण्डल, अभिभावक, विद्यार्थी तथा सरोकारवालाप्रति मौलापुर नगरपालिकाले विशेष कृतज्ञता प्रकट गरेको माैलापुर नगरपालिकाका प्रमुख अधिकृत रामबाबु साहले जानकारी गराएका हुन् । साथै निष्पक्ष मूल्याङ्कन तथा पुरस्कार छनौटका लागि प्यान प्रति आभार व्यक्त गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,२३ गते जेठ ।
राैतहटकाे कटहरिया नगरपालिका–५ स्थित श्री जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष नसरुदिन अंसारीले आज औपचारिक रूपमा आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले राजिनामा पत्र शिक्षा शाखाका प्रतिनिधिलाई नगरपालिकामा बुझाएका हुन् ।

आफ्नो कार्यकाल इमानदारीपूर्वक पुरा गरेपछि पटक–पटक नयाँ समिति गठनका लागि आग्रह गर्दा पनि नगरपालिकाको उदासीनता र बालबालिकाको भविष्यप्रति देखिएको लापरवाहीले गम्भीर चिन्ता व्यक्त गर्दै अंसारीले पदबाट अलग हुने निर्णय गरेका हुन् । उनले भने, “चुनावी प्रक्रिया सहज होस् भनेर मैले राजिनामा दिएको हुँ ।”
कतिपयले अंसारीको राजिनामालाई कटहरियाको राजनीतिक समिकरणमा सम्भावित फेरबदलका रूपमा समेत हेरिरहेका छन् । जानकारहरूका अनुसार, नगरपालिकाले आफू नजिकका व्यक्तिलाई विव्यसमा मनोनयन गर्ने अभ्यासको विरोधमा आएको यो राजिनामा शिक्षा क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको लागि ठुलो सन्देश हो ।

अंसारीको अध्यक्षतामा विद्यालयमा उल्लेखनीय विकास कार्यहरू सम्पन्न भएका छन् । चारकोठे दुईतले भवन निर्माणाधिन, विद्यालयमा सीसीटीभी जडान, प्राविधिक ल्याब तथा थप कम्प्युटर व्यवस्थापन, विद्यार्थीहरूको डिजिटल आइडी कार्ड निर्माण, विद्यालय प्रांगणमा सौन्दर्यकरणका लागि फूलका विरुवा रोपण, पोशाक व्यवस्थापन, सवारी साधन पार्किङका लागि स्ट्यान्ड निर्माण, बाउण्ड्री वाल, फलामको घेराबेरा तथा थप चारकोठे भवनको शिलान्यास जस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

अब, अभिभावक, शिक्षक, विद्यार्थी तथा नागरिक समाजको सहकार्यमा शिक्षा क्षेत्रलाई पारदर्शी, जवाफदेही र गुणस्तरीय बनाउने बेला आएको अंसारीको राजिनामा सन्देश दिएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,२३ गते जेठ ।
आगामी मनसुनमा सम्भावित प्राकृतिक विपद्बाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रौतहटको गौरस्थित बरहवाको झोलुङ्गे पुल नजिक आज एक दिवसीय कृत्रिम उद्धार अभ्यास सम्पन्न गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालद्वारा आयोजित उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकायको सक्रिय सहभागिता रहेको थियो । मनसुन पूर्वानुमानअनुसार औसतभन्दा बढी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै विपद्को समयमा गरिने उद्धार तथा राहत कार्यमा समन्वय र तयारी अभिवृद्धि गर्ने उद्देश्यले सो अभ्यास गरिएको हो ।

कार्यक्रममा आरडिसी नेपाल, मान्डवी लगायतका विभिन्न गैरसरकारी संघसंस्थाहरूको समन्वय रहेको थियो । अभ्यासका क्रममा नदीमा फसेका व्यक्तिहरूको उद्धार, आकस्मिक उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण लगायतका गतिविधिहरू देखाइएको थियो ।

सुरक्षा निकायका प्रतिनिधिहरूले यस्ता अभ्यासले विपद् व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् । स्थानीय तह, सरोकारवालाहरू र सर्वसाधारणबीच समन्वय बढाउने यस्ता अभ्यासले भविष्यमा हुने सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरणमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बिना राउत श्रीवास्तव, गौर, २३ गते जेठ ।
राैतहटकाे गौर र इशनाथ नगरपालिकालाई जोड्ने टीकुलिया घाटको पुल निर्माण कार्य पुनः सुरु गरिएको छ । तर सो स्थानमा काम गरिरहेका केही निर्माण मजदुरहरूले त्यहाँबाट दैनिक आवतजावत गर्ने महिलाहरूलाई जिस्क्याउने, अश्लील र आपत्तिजनक टिप्पणी गर्ने जस्ता अभद्र व्यवहार देखाइरहेका छन् भन्ने गम्भीर गुनासो आएको छ ।
एक पीडित महिलाका अनुसार, ती मजदुरहरूले ठूलो स्वरमा फोहरफाल कुराहरू गरेर महिलाहरूलाई असहज बनाउने, हेरेर जिस्क्याउने, र आत्मसम्मानमा ठेस पुर्याउने कार्य नियमित रूपमा गर्दै आएका छन् । “हामीले अब त्यो बाटो हिँड्न पनि डराउनुपरेको छ। साँझपख त एक्लै जान त झन् जोखिमपूर्ण लाग्छ,” उनले बताइन् ।
महिलाहरूले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् र यथाशीघ्र समाधानको माग गरेका छन् । पीडितहरूले ठेकेदार र स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ती कामदारहरूलाई तत्काल निर्माण स्थलबाट हटाउनुपर्ने माग राखेका छन् ।
“यदि यस्ता कामदारलाई तुरुन्त नहटाइयो भने भविष्यमा कुनै महिला दिदीबहिनीमाथि अप्रिय घटना घट्न सक्छ,” स्थानीय महिलाहरूको चेतावनी छ ।
सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिहरूको तुरुन्त ध्यान जानु आवश्यक छ । पुल निर्माण जस्तो विकासको काम महिला सुरक्षाको मूल्य चुकाएर हुनुहुन्न भन्ने चेतावनीसहित स्थानीय महिलाहरूले आफ्ना आवाज उठाइरहेका छन् ।
काठमाडौं –
नवगायक संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन्। गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन्। भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा धु्रव, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ।
भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन्। कथा, पटकथा र सह-निर्देशन सैलेश त्साजनले सम्हालेका छन्।
चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘संकल्प श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो। भिडियोका निर्माता विवेक गुरुङ हुन्। निर्माण टोलीले भिडियो हेरेर आफ्ना सुझाव तथा प्रतिक्रिया दिन सबै दर्शक-श्रोतालाई आग्रह गरेको छ।
भिडियो लिंक: https://youtu.be/JIrVjKv-c1I?si=HBH2Wb4O2yObaxXL
राजिव राय, जनकपुरधाम,२०८२ जेठ २३ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मधेस प्रदेश कार्यालय जनकपुरधाममा आज पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मधेस प्रदेश संसदीय दलको अनौपचारिक बैठक सम्पन्न भएको छ ।

बैठकमा हालको राजनीतिक अवस्था, जनताका समसामयिक समस्या समाधानका उपाय, तथा पार्टीको संगठनात्मक सुदृढीकरण लगायतका विषयमा गहन छलफल भएको पार्टी स्रोतले जनाएको छ ।

अध्यक्ष ठाकुरले बैठकलाई सम्बोधन गर्दै मधेसका जनताको अधिकार र समृद्धिका लागि पार्टी निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पारे । सांसदहरूबीच समन्वय, नीति निर्माणमा सहकार्य, तथा आगामी रणनीतिहरूका बारेमा समेत बैठकमा विचारविमर्श भएको थियो ।

बैठकले स्थानीय तहदेखि प्रदेशसम्म जनतामाझ पार्टीको उपस्थिति मजबुत पार्न सबै सदस्यलाई सक्रिय रुपमा लाग्न आह्वान गरेको छ । पार्टी स्रोतका अनुसार निकट भविष्यमा थप निर्णयहरू सार्वजनिक गरिने छन्।
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बनमा परेको हो ।
उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको सूचना अख्तियारले संसद्लाई दिनेछ । त्यसपछि सभामुखले सदन चलेको अवस्थामा स्वतः निलम्बनको सूचना सुनाउनेछन् । सदन नचलेको अवस्थामा सभामुखले निलम्बनको सूचना टाँस गर्नेछन् । सभार बाह्रखरी
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ २२ गते ।
रौतहटको कटहरिया नगरपालिका–५ प्रगतिनगरमा रहेको श्री बाल कल्याण विधा मन्दिरले विश्व वातावरण दिवसको अवसरमा विविध कार्यक्रम गरी दिवस मनाएको छ । विद्यालयका विद्यार्थीहरूले प्लेकार्डसहित कटहरिया बजार परिक्रमा गर्दै वातावरण संरक्षणका सन्देशमूलक नाराहरू गुन्जाएका थिए ।

“हरियो वन नेपालको धन”, “रूख रोपौं, वातावरण बचाऔं”, “हरियाली छ जीवनको शान”, “प्रकृति हो हाम्रो पहिचान” जस्ता नाराहरू सहित विद्यार्थीहरू वातावरणप्रति जनचेतना फैलाउने उद्देश्यले बजार परिक्रमा गरेका थिए ।

कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिकाको प्राङ्गण, ईप्रका कटहरियाको प्राङ्गण, बौद्धीमाताको मन्दिर नजिकसहितका स्थानहरूमा वृक्षारोपणसमेत गरिएको विद्यालयका प्रबन्ध निर्देशक बैजुदास बनियाँले जानकारी दिए ।

उनका अनुसार यस्तो खालका कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारीको भावना विकास गर्नुका साथै स्थानीयवासीहरूमा पनि चेतना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

विश्व वातावरण दिवसका अवसरमा गरिएको उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति सामूहिक जिम्मेवारीबोध गराएको सहभागीहरूले बताएका छन् ।