२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, १४ भदौ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।

शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

साथै बैठकमा  चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।

 

नेपालगञ्ज, १४ भदौ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंगिने दाबी गरेका छन् ।

 

बिहीबार नेपालगञ्जको भेरी अस्पतालको निरीक्षणपछि अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंग्याउने बताएका हुन् ।

 

पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरुलाई एक महिनाभित्रै आफ्नो दरबन्दीमा पठाउने बताउँदै उनले यसका लागि सरकारले काम गरिरहेको जानकारी दिए ।

 

वर्षाैँदेखि काजमा बस्ने परिपाटीले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएको भन्दै उनले अब कााज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।

 

काठमाडौ, १४  भदौ ।

ज्योति विकास बैंकले बिहीबारदेखि केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा सेयर संख्या भने खुलाइएको छैन।

सेयर खरिद गर्न इच्छुक संस्थापकले बिहीबारबाट ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । तोकिएको समयसम्म विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभए अन्य व्यक्ति, संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

सुर्खेत, १४ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा प्रचण्डसहित माओवादीका नेताहरु दोषी देखिए नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबीलाई भनेको बताएका छन् ।

 

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईवीलाई दबाब नदिएको बताउँदै दोषी देखिए आफ्ना नेता र प्रचण्डलाई समेत नछाड्न भनेको बताए ।

 

‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

 

काठमाडौं, १४ भदौ ।

दक्षिण अफ्रिकामा आगलागीमा परेर कम्तिमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकी सहर जोहानेसबर्गको एक पाँच तले आप्रवासी भवनमा आगलागी हुँदा ७० भन्दा बढीको मृत्यु भएको र ५० जना घाइते भएका छन् ।

भवनबाट शवहरु निकालिरहेको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुलिसकेको छैन ।

 

 

काठमाडौं, १४ भदौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

 

नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीय वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको साझा सत्रुको रुपमा रहेको भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताए ।

 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनको भनाइ छ । भ्रष्टाचार अन्त्य गर्न प्रचण्ड सरकारसँग क्षमता रहेको दाबी गर्दै मन्त्री किराँतीले भष्ट्राचार नियन्त्रणको लागि प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए ।

 

काठमाडौ, १४  भदौ ।

गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक जो कोहीले बिहीबारबाट १५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ । सेयरको दरभाउ बुझ्न बैंकको प्रधान कार्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।

 

सुर्खेत, १४ भदौ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने बताएका छनु ।

 

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने र १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् ।

 

नेपालको संविधानभन्दा माथि कुनै कानुन हुन नसक्ने भन्दै उनले भने, ‘एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन सक्दैन । सैन्य अंग बन्न सक्दैन । व्याख्यात्मक घोषणा गरिएको थियो । अमेरिकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ साथै उनले कुनै पनि विषयमा अनुचित सम्झौता स्वीकार्य नहुुने बताए ।

 

काठमाडौं, १४ भदौ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउने प्रयास भइरहेको बताएका छन् ।

 

बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने प्रयास भइरहेको र यसलाई सफल हुन नदिने बताए ।

 

सरकारले सुशासनको अभियानबाट विश्राम नलिने बताउँदै उनले सुशासनको अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध बनाउने दाबी गरे ।

समृद्धिको यात्रा प्रक्रियालाई तीव्र बनाउन सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले यसका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीालाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरूलाई कडा कारबाही गर्ने बताए ।

 

काठमाडौं, १४ भदौ । 

एसिया कप–२०२३ को दोस्रो खेलअन्तर्गत भारतविरूद्ध खेल्न  नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ ।

बुधबार पहिलो खेल पाकिस्तानसँग खेलेको नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो ।

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको थियो ।

समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।