काठमाडौं, १५ भदाै ।
लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन् ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरुलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १५ भदौ ।
सर्वाेच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो । तर, न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेकाले शुक्रबारको सुनुवाइ हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको हो ।
यही ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गरेकाको मत लिनु गैरसंवैधानिक हुने दाबीसहित एमालेका हिक्कमत कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् ।
७ भदौमा उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।
काठमाडाैं, १५ भदाै ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ। गृह मन्त्रालयमा राजदुत फेनलाई स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भाएको सय वर्ष पुगेकोमा गर्व व्यक्त गर्दै राजदुतको कार्यकाल सफलताको शुभकामना दिए ।

त्यसक्रममा राजदूत फेनले समेत मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा आफूलाई गर्व लागेको र दुई देशबिचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्भाव रहेको र उक्त सद्भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफुहरूको रहेको उनको भनाइ थियो।
उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैं साथ दिएकोमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताए । ६ दशकको लामो राजनीतिक संघर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासको माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मुल कार्यभार रहेको उनले बताए ।

यसका लागि नेपालका विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नती हुने भएकोले यसलाई दिगो बनाउन मैत्रीराष्ट्रहरूको सहयोग थप महत्त्वपूर्ण हुने उनले बताए । मन्त्री श्रेष्ठले वर्तमान सरकार सुशासन प्रत्याभूतिका लागि आक्रामक रूपले लागेको पनि स्पष्ट पारे ।
राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको बताउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गरे । सामाजिक न्याय, महिला हिंसा विरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुन्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उनले दिलाए ।

उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन आफू र आफ्नो मन्त्रालयबाट सबै सहयोग रहने बताउनुभयो। साथै, गोर्खा सैनिकको मागलाई सम्बोधन गर्दै यस विषयमा न्यायोचित निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । जवाफमा राजदुत फेनले आफू नेपाल आउनु अगाडि बेलायतका लागि नेपाली राजदूतसँग गोर्खा सैनिकका बारेमा बेलायतमा छलफल गरेको र यस विषयलाई चाँडै निष्कर्षमा पुर्याउन आफ्नो प्रयास रहने बताए ।
काठमाडौं, १५ भदौ ।
महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले बहराइनलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको हो ।
शुक्रबार भएको खेलमा पहिला ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा अलआउट हुँदै दिएको ३१ रनको लक्ष्य नेपालले विनाविकेटको क्षतिमा २.५ ओभरमा भेट्टाएको हो ।
नेपालले १३ अतिरिक्त रन पाएको थियो। कविता कुँवरले अविजित १७ र सिता रानामगरले २ रन बनाइन्।
मकवानपुर, १५ भदाै ।
हेटौंडा उपमहानगरपालिका-१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका-६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले धर्मेन्द्र र दिपेशलाई उक्त नक्कली नोटसहित नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय बिजय तामाङलाई समेत पक्राउ गरेको छ ।
काठमाडौं, १५ भदौ ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
यही ५ भदौमा बसेको न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि उजुरी आह्वान गरिएको हो ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो । उनीविरुद्ध उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिन सकिनेछ ।
डोल्पा, १५ भदाे ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बझाङ, १५ भदाै ।
बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ ।
जंगली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
पाँचजनाको कठायत परिवारमा च्याउ खाएकी मृतकका आमाको भने उपचार भइरहेका छन् । एक छोरी र बुबा घरमा नभएका कारण उनीहरु जोगिएका छन् ।
सिन्धुपाल्चोक, १५ भदौ ।
आठ वर्षपछि नेपाल–चीन सीमानाका तातोपानीबाट आवतजावत सुरु भएको छ । १२ वैशाख २०७२ मा गएको शक्तिशाली भूकम्पछि पूर्ण रुपमा बन्द रहेको तातोपानी नाकाबाट शुक्रबारदेखि आवतजावत सुरु भएको हो ।
लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले स्वागत गरेर आवतजावतको सुरु गरिएको हो ।
चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट गत १८ वैशाखबाट दोहोरो आयात निर्यात खुलाइएको थियो ।
झापा, १५ भदाै ।
दमक नगरपालिका-२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका-५ चपेटी घर भएका हिमाल राईको चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्द र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।