काठमाडौं, १७ भदौ ।
म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटलबल टोलीको घोषणा गरिएको छ ।
आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप नेपालले यही भदौ २२ र २५ गते म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । म्यानरमारमै हुने खेलका लागि घोषणा गरिएको टोलीमा गोलरकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्कीलाई समावेश गरिएको छ ।
रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् भने मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन्।
फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया छन्।
काठमाडौं, १७ भदाै ।
सभामुख देवराज घिमिरेसँग अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले भेट गरेका छन् । 
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
उनका अनुसार भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताए ।
सभामुख घिमिरेले उच्च स्तरीय भेटघाटको आदानप्रदानले दुई देश बीचको सम्बन्ध र बुझाईलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
‘नेपालको विकास प्रक्रियामा संयुक्त राज्य अमेरिकाको सहयोग महत्वपूर्ण रहेको छ,’ उनले भने, ‘नेपालको आर्थिक सामाजिक विकासका लागि संयुक्त राज्य अमेरिकाले पुर्याउँदै आएको सहयोगमा आएको गुणात्मक एवम् परिमाणात्मक अभिवृद्धिले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।’

लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता हामी दुई मुलुकहरुबीच रहेको साझा मूल्य मान्यताहरु भएको बताउँदै सभामुख घिमिरेले नेपाल लोकतन्त्र संस्थागत गर्ने यात्रामा अगाडि बढेको उल्लेख गरे । लोकतन्त्रको सबलीकरणका लागि बलियो आर्थिक आधार आवश्यक रहेको सभामुख घिमिरेको भनाइ थियो ।
सभामुख घिमिरेले नेपाल र संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबीचको भ्रमणको आदानप्रदानबाट दुई देशको संसदीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनले गर्दा नेपालका हिमालहरु पग्लिरहेको बताउँदै अमेरिकाले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको न्यूनीकरणका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भेटमा सिनेटर होलेनले नेपालमा गतिशील प्रजातन्त्रको जन्म भएको बताउँदै यस प्रक्रियामा भूमिका खेल्ने नेपालका राजनीतिक दललाई धन्यवाद व्यक्त गरे । ‘हामी दुई देशका संसदमात्रै जनता–जनतामा सम्बन्ध स्थापित गर्न चाहन्छौं,’ उनले भने ।
नेपालमा एमसीसी कार्यान्वयन सुरु भएलगत्तै आफ्नो भ्रमण भएको बताउँदै सिनेटर होलेनले एमसीसीबाट नेपालले फाइदा लिने धारणा राखे । ‘एमसीसी दुई देशबीचको सम्बन्ध र सहकार्यको उदाहरण हो,’ उनले भने, ‘हामी एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं ।’
विशाल बस्नेत ,महोत्तरी, १७ भदाै ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादीकाे प्रयास असफल भएकाे बताएका छन् ।
धर्म, जात-जाती, मधेश, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यस्लाइ नसकेपछी पछाडी हटेको सचिव भट्टराईको तर्क छ । सबे जाती, धर्म, भूगोलको वर्गीय विभेदलाइ अन्त्य गरी समान अधिकार दिलाउन नेकपा एमालेले मात्र सक्ने दावी गर्दै उनले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै एमाले भएको बताए ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्लासत्रमा बोल्दै सचिव भट्टराईले पुँजीवादी, दलाल र नोकरसाहीहरुसँग प्रतिस्पर्धा गर्न एमाले मात्र एक्लो शक्ति रहेकाे दाबी गर्दै माओवादी र एकीकृत समाजवादी बेकामे भएको टिप्पणी गरे ।
उनले भने, `समाजवादको यात्रा एमालेले तय गरेको छ । माओवादी र समाजवादी त सत्ता टिकाउन कांग्रेससँग मिल्नुले नै समाजवादको लक्ष्य उनीहरुसगँ छैन भन्ने प्रमाणित हुन्छ ।´
काठमाडौं, १७ भदाै।
नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ सेभेन स्टार फोर के टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएकी छन् ।
चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्षसमेत रहेकी श्रेष्ठलाई आइतबार टेलिभिजनको कार्यालय शान्तिनगर काठमाडौंमा अध्यक्ष सुरेश काफ्लेले नियुक्ति पत्र प्रदान गरेर महाप्रबन्धकको जिम्मेवारीमा नियुक्त गरेका हुन् ।
२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’बाट निर्देशनमा लागेकी सुचित्राले जिम्मेवारी समाल्दै आफूमा भएको सिप, क्षमता र अनुभवको भरपुर उपयोग गरी टेलिभिजनमा आफूलाई समर्पित गर्ने सोच लिएको बताएकी छन् ।
व्यवसायिकरुपमा करिब ३३ वर्ष पत्रकारिता क्षेत्रको अनुभव बोकेकी श्रेष्ठले भनिन्न, ‘आफूले पाएको र हालसम्म गरेको कामको अनुभवलाई यस टेलिभिजनमार्फत आम दर्शकहरूबिच प्रभावकारी र उत्पादनमूलक बनाई टेलिभिजनलाई अझै चम्काउने लक्ष्य छ ।’
त्यस्तै स्टार जस्तै चम्किलो बनाउन श्रेष्ठका योगदान अतुलनीय रहने टेलिभिजन परिवारले विश्वास लिएको अध्यक्ष काफ्ले बताउँछन्
काठमाडौं, १७ भदौ ।
पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानको मल्लरानी गाउँपालिका-४ खलंगा घर भई हाल काठमाडौं-२६ सामाखुसी बस्ने २८ वर्षीय नवराज खड्का रहेका छन्।
उनले वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिने भनेर सन्दीप परियारसँग तीन लाख रुपैयाँ लिएर फरार भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
काठमाडौं, १७ भदौ ।
सोलुखुम्बुको खिुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
वडाध्यक्ष बस्नेतले गाउँपालिका–२ को भवन निर्माणका लागि जग्गा निःशुल्क दानपत्रमार्फत प्राप्त गरी ६ लाख रुपैयाँमा खरिद गरेको भुक्तानी देखाइ झुटा खरिद ब्यहोरा उल्लेख गरिएको पाइएको भन्दै उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
उक्त झुठो विवरण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले दिन नमिल्ने रकम ६ लाख रुपियाँ भुक्तानी लिई दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम माग दाबी लिई आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
काठमाडौं, १७ असोज ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले दु:ख दिने गरी केरकार गरेको बालेन सचिवालयले जनाएको छ। पत्नी सबिना काफ्ले सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि शनिबार बेलुकी बालेनले सिंहदरबार जलाइदिने धम्की दिँदै स्टाटस लेखेका थिए।
यसबारे विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको बताउँदै सचिवालयले आइतबार दिउँसो विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे। सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो। प्रसव पीड़ा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ।’
२०८० भदौ १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहेकी सविना कापलेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर उनी अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ।
आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए। त्यस जाँचका क्रममा परेको सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराएका थिए।
सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ। नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको सचिवालयले बताएको छ।
विज्ञप्तिका भनिएको छ, ‘सार्वजनिक यातायात व्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ । प्रहरीबाट सबै सबै सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको र आवश्यक कारवाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाका बारेमा जवाफ दिंदा पनि मैले चाहे भने यतै राम्रा सक्छु भनेर धम्की दिने, कुनै ठुलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ।’
सचिवालयले यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरुलाई भ्रामक सूचना दिई समाचार सम्प्रेषण गरेको भन्दै खेद प्रकट गरेको छ।
परासी, १७ भदौ ।
नवलपरासीको बर्दघाट नगरपालिका-७ स्थित नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गरेको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा कोलिफर्म भेटिएको छ।
बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको हो।
पानीमा कोलिफर्म भेटिएपछि उद्योगलाई ४८ घण्टाभित्र बजारमा पठाइएका सबै पानी फिर्ता ल्याउन नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ।
तर, ५ दिन बितिसक्दा पनि उद्योगले पानी फिर्ता लगेको बारे जानकारी नगराएको बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताए। पानीमा ब्याक्टेरिया भेटिएपछि नगरवासीलाई उक्त पानी नपिउन नगरपालिकाले आग्रह गरेको छ।
बुटवल, १६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका छन्।
सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताउँदै उनले माओवादी नेतृत्वको सरकार भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाए। एमालेले मुलुकबाट गरिबी उन्मुलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए। ‘एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ,’ उनले भने।
२०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए। `नेपालको नक्सा सच्याउने, विप्लप र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं। अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ। यस्तो पनि सरकार हुन्छ?,’ उनले प्रश्न गरे।
नेपाल अब पछाडि परिराख्न नहुने बताउदै उनले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने उनको भनाइ छ। अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उनले बताए। ‘भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने। कतिसम्म लाजमर्दो काम गरेको हो। अहिले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो,’ अध्यक्ष ओलीले भने।
उनले यतिसहितका विषयमा छानविन गरेर देखाउन चुनौती दिए। ‘वाईडवडीमा कमिसन खानेहरू नै कुरा उठाउँछन्। मेरो चुनौती छ, छानविन गर जेल जाउ,’ उनले भने।
एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको उनको जिकिर छ। तर एमालेका विरूद्धमा भ्रम छर्ने काम भइरहेको उनले बताए। उनले सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगेको बताए। तर एमाले सरकार जान हतारमा नरहेको उनको भनाइ छ।
मुम्बई, १६ भदौं । सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।
फ्यानहरूलाई ठूलो ट्रीट दिँदै निर्माण पक्षले शनिबार फिल्म ‘टाइगर ३’ को पहिलो पोस्टर सार्वजनिक गरेको छ । योसँगै फिल्मको रिलिज मिति पनि पक्का भएको छ ।
सलमान खानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा टाइगर–३ को फर्स्ट लुक पोस्टर रिलिज गरेका छन् र फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन्।सलमान खानले ट्वीट गरेका छन्, ‘आ रहा हु, टाइगर ३’ २०२३ को दिवालीमा। वाईआरएफ ५० सँग टाइगर– ३, नजिकैको ठूलो पर्दामा मात्र मनाउनुहोस्। हिन्दी, तमिल र तेलुगुमा रिलिज हुँदैछ।’
पोस्टरमा सलमान र कट्रिना दुवैलाई बन्दुक बोकेको ड्यासिङ अवतारमा देख्न सकिन्छ । यो पोस्टर हेर्दा ‘टाइगर’ को पहिलो दुई किस्ताभन्दा ‘टाइगर ३’ ठूलो र भव्य फ्रेन्चाइज हुने पक्का छ ।
फ्रेन्चाइजीको पहिलो फिल्म ‘एक था टाइगर’ ले २०१२ मा बक्स अफिसमा हलचल मचाएको थियो । टाइगर फिल्ममा सलमानले रअ एजेन्ट र कट्रिनाले आईएसआई एजेन्ट जोयाको भूमिका निर्वाह गरेकी थिइन् । सलमान र कट्रिनाको केमेस्ट्रीले सिल्वर स्क्रिनमा आगो लगाएको थियो। यसपछि सलमान र कट्रिनाले सन् २०१७ मा ‘टाइगर जिन्दा है’ नामको फिल्मको सिक्वेलबाट कमब्याक गरेका थिए । यो फिल्मले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो ।
स्मरण रहोस, टाइगर–३ लोकप्रिय वाईआरएफ स्पाई युनिभर्स को पाँचौं फिल्म हो । र, छ वर्षपछि सलमान र कट्रिना टाइगर र जोयाको रूपमा कमब्याक गर्दैछन्। अब आगामी फिल्मले विगतका फिल्मको कीर्तिमान तोड्छ कि गर्दैन त्यो हेर्नु चासोको विषय हो ।