२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, १६ भदौं ।

कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ ।

 

हिजाे समय अभावका कारण ‘हेर्दा हेर्दै’ मा राखिए पछि मङ्गलवारबाट सुनुवाइ हुने भएको हाे ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो ।

 

गत अाइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुने भनिए पनि साेमबार हुन नसके पछि मंगलबारवाट हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संबैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो । उक्त रिटमाथि गत शुक्रबार नै पूर्ण सुनुवाइ गर्ने गरी यस अघि नै पेसी तोकिएको थियो तर सो रिटमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भनेसँगै अाइतवारका लागि सुनवाइ तोकिएको थियो ।

 

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरे हुन ।

 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन ।

 

काठमाडौं, १९ भदौं ।

संघीय संसदीय समितिमा नयाँ नेतृत्व चयन भए पछि काम कारबाही तिब्रताका साथ बढन सुरू गरेको छ ।

 

गत हप्ता नयाँ नेतृत्व चयन भए पछि  समितिका बैठकहरू धमाधम बस्न सुरू गरेका छन् ।

 

 

संघीय संसद सचिवालयका अनुसार मंगलवार मात्रै पाँचवटा समितिको बैठक बस्दैछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा कानून, न्याय तथा मानव अधिकार समितिसहित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

 

साथै, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समिति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि सोमवार बस्दैछन् ।

 

बैठक सिंहदरबारस्थित संसद सचिवालय भवन, सिंहदरबारमा बस्नेछ ।

 

 

काठमाडौं, १९ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, बंगालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू तथा देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्टयाङ्गको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

काठमाडौं, १८ भदौ ।

ओपनर आसिफ शेखको अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल जोडेको छ।

आसिफले ५८ रन बनाएका थिए। भारतविरुद्ध नेपालका ओपनरद्वय आसिफ र कुशल भुर्तेलले उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावर प्लेमा भारतीय बलिङलाई दबाबमा राखेका थिए। तर, ९.५ ओभरमा कुशल भुर्तेल आउट भएपछि नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन।

भारतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए। कुशल पनि इनिङको पहिलो ओभरको छैटौं बलमा क्याच आउट हुनबाट बचेका थिए। मोहम्मद सामीले गरेको पहिलो ओभरको छैटौं बलमा कुशल भुर्तेलको क्याच स्लिपमा श्रेयस ऐयरले छोडेका थिए।

नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे । १४४–६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्याएका थि । सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन जोडेका थिए।

गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे। नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन। आरिफ सेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रनमात्र थपे। सन्दीप लामिछानेले नौ रन बनाए। कुशल मल्ल दुई रन र ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण केसी दुई रनमा अविजित रहे।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए। हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए।

 

काठमाडौं, १८ भदौ ।

बागमती सरकारले भदौ २२ गते प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

 

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काठमाडौं बूढानीलकण्ठ–५ की कृष्णकुमारी बस्नेतलाई नियुक्त गरिएको छ।

 

बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

 

अर्घाखाँची, १८ भदौ ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।

 

मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा न‌म्बर ९ का बर्ष २० का मिलन खनाल रहेका छन्। घाइतेहरूको अर्घाखाँची अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको बताइएको छ।

 

कञ्चनपुर, १८ भदौ ।

कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१० सुकासाल स्थित पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाँउका ३५ वर्षीय नरेश जोशीको सोमबार दिउँसो मृत्यु भएको हो।

कर्णबहादुर चन्दको घरको पश्चिम पट्टी रहेको बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

काठमाडौं, १८ भदौ ।

कैलालीको धनगढीमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

 

धनगढी उपमहानगरपालिका–१ बाल्मिकी स्कुल नजिक सुदूरपश्चिम प्रदेश ०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–५ जाईका ४० वर्षीय जिउधन चौधरीको सोमबार बिहान मृत्यु भएको हो।

 

ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

काठमाडौं, १८ भदौ ।

विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औं राष्ट्रिय सेमिनार आयोजना हुने भएको छ।

चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्मेलन सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिए। सेमिनारमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीदेखि निजी क्षेत्रसम्मका सरोकारवालाहरूको सहभागिता रहने जोशीको भनाइ छ।

समृद्ध नेपालको लागि सुशासन र दिगो विकास प्राथमिक विषय भएकाले विगत १० वर्षदेखि यसै विषयमा बौद्धिक बहस चलाउँदै आएको चैतन्यले यसै विषयमा आवासीय सेमिनार गर्न लागेको जोशीले जानकारी दिए।

‘हामीले सन् २०१४ बाट राष्ट्रिय सेमिनारका रूपमा यस कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं। यस कार्यक्रमको मूल भाव भनेको देशमा सुशासन र समृद्धि कसरी कायम गर्न सकिन्छ? आम नेपालीहरूको समृद्धिको चाहना परिपूर्ति गर्न त्यसलाई वास्तविकतामा उतार्ने वा यसलाई यथार्थपरक तुल्याउने आधारहरू के हुन्? समृद्धिका आधारहरू के हुन्? भन्ने नै हो,’ जोशीले भने। यसै विषयमा कार्यक्रम लक्षित हुने उनको भनाइ छ।

‘कार्यक्रममा देशमा उपलब्ध थिङक ट्यांकहरू जसले अर्थशास्त्रको परिप्रेक्षबाट देशको समृद्धिलाई बुझ्नुभएको छ, जसले समाजशास्त्रको दृष्टिबाट समृद्धिलाई बुझ्नुभएको छ, जसले शिक्षाको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ। स्वास्थ्यको क्षेत्रबाट, राजनीतिको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ। अर्थात् मानव जीवनका अत्यन्त महत्त्वपूर्ण अन्तरसम्बन्धित विषयवस्तु, जो समग्र समृद्धिका निम्ति अहम् रहेका छन् ती विषयहरूमा चिन्तन गरिने एउटा बौद्धिक चिन्तकका रूपमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ र अहिलेको कार्यक्रम पनि त्यसकै निरन्तरता हो,’ उनी भन्छन्।

कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकले आआफ्नो विषय विज्ञताको क्षेत्रका दृष्टिकोण व्यक्त गर्ने छन्। त्यसको अलावा संघीयता र समृद्धिको आधार स्थानीय सराकार भएकाले यसमा स्थानीय तहका जनप्रतिनिधिहरू, प्रशासकहरूको पनि कार्यक्रममा सहभागिता रहने जोशीले बताए।

शिक्षा, स्वास्थ्य, निजी क्षेत्रका विद्यालय, शिक्षालय र विश्वविद्यालयमा संलग्न शिक्षाकर्मीहरूले पनि यसअघिका सेमिनारमा सहभागिता जनाएको उनले स्मरण गरेका छन्। उद्यमशीलता र औद्योगिक विकाशसँग जोडिएका व्यवसायीहरू, बैंक, इन्सुरेन्स र वित्तीय क्षेत्रसँग जोडिएका व्यक्तित्वहरू, स्वतन्त्र अद्यताहरू, अनुसन्धानकर्ताहरूदेखि विद्यार्थीहरू पनि यसमा सहभागी हुने गरेको जोशीले बताए।

जोशीले नागरिक र निजी संस्था समृद्धिको संवाहक बन्नसक्छ भन्ने आत्मबोध गराउने सम्मेलनको उद्देश्य भएको बताए। विगतका सम्मेलनहरूबाट प्रतिक्रियाले नै यो क्रम १०औं श्रृङ्खलासम्म पुग्न सफल भएको उनले बताए।

यसका साथै यहि सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलाई एक लाख राशिको ‘सुशासन पर्वद्धन र प्रसाशन सुधार पुरस्कार’ समेत प्रदान गरिने उनले जानकारी दिए।

सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्य सचिव डा. विमल कोइरालाले दुई दिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

‘सम्मेलनले नेपाली समाजमा व्याप्त निराशाबिच आशा जागरुक गर्ने विश्वास लिएका छौं। अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पुर्‍याउने भन्ने सोचका साथ यो सम्मेलन आयोजना हुँदैछ’, उनले भने।

काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सञ्चालन हुने उक्त सम्मेलनमा अर्थव्यवस्था, राजनीतिज्ञ, शिक्षा र स्वास्थ्य, सांस्कृतिक र शासकीयलगायत सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता हुनेछ। सम्मेलनले नेपालको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयाम पहिचान गर्ने उनको भनाइ छ।

 

रुकुम पश्चिम, १८ भदौ ।

रुकुम पश्चिमको चौरजहारीस्थित न्याउला खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको ज्यान गएको छ। चौरजहारी नगरपालिका-६ का रत्न बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावना बुढाथोकीको खोलाले बगाएर ज्यान गएको हो।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार दुबै जना (दाजुबहिनी)को आधारभूत विद्यालय घर्तिकाँडाबाट घर फर्किँदै गर्दा खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो। मनोज ३ कक्षामा अध्ययनरत थिए भने भावना १ कक्षामा पढ्दै आएकी थिइन्।

 

उनीहरूलाई खोलाले बगाएको सूचना पाएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मनोजको शव खोलाबाट १ सय ५० मिटर तल भेटिएको थियो। भावनाको शव भने ८ सय मिटर तल भेटिएको  प्रहरीको भनाइ छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।