२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

भक्तपुर, २० भदौ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा वडामा झडप भएको छ । वडाका जनप्रतिनिधिहरु र  सेवाग्राहीवीच झडप भएको हो ।

झडपमा परेर दुई जना घाइते भएका छन् । नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरुको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

झैझगडा घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ गरिएको छ । सुनिल थापा र सुदीप थापालाई पक्राउ गरी प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा वडा सदस्यसमेत संलग्न भएकोले उनलाईसमेत कार्यालयमा बोलाई बयान लिएको प्रहरीले जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन । जग्गासम्वन्धी विवादमा झैझगडा भएको प्रहरीले जनाएको छ ।

 

 

काठमाडौ, २० भदौ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप ११ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । नेप्सेले मंगलबार कारोबार सदस्यतासँगै ब्रोकर नम्बर पनि दिएको छ । सदस्यता पाएका ११ वटै ब्रोकर कम्पनीहरु सीमित कार्य गर्ने कम्पनीहरु हुन् ।

यससँगै, नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ । यसअघि, असार २१ गते ७ वटा, साउन १२ गते ७ वटा र साउन १९ गते ३ वटा नयाँ ब्रोकरहरुले नेप्सेबाट सदस्यता पाएका थिए ।

 

काठमाडौ, २० भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा प्रतिकेजी मूल्य ५५, भारतीय ठूलो गोलभेडा ५५, टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ९०, काउली स्थानिय ९०, आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ५०, घिरौला ४० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ । दुइ साता अघि टमाटर १८० रूपैयाँमा खरिदबिक्री भइरहेकाे थियाे ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती २००, भिण्डी ४०, न्यूरो ९०, रातो बन्दा २०० ,लोकल काक्रो १००, अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८०, नासपाती ७०, आभोकाडो २५०, कालो अंगुर ४५०, किवि ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ तथा रहु माछा ३१५, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २८०, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २२०, रुख कटहर ८०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ११०, तोफु ११०, पिंडालू ६०, तामा ९०,चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याँउ १८०, तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

काठमाडौं, २० भदौं ।

आगामी लोकसभा चुनावअघि भाजपालाई हराउन विपक्षी दलहरूले गठबन्धन बनाएका छन्, जसको नाम INDIA राखिएको छ।

यसैबीच हालै सम्पन्न जी–२० सम्मेलनमा राष्ट्रपति भवनमा आयोजना गरिएको रात्रिभोजका लागि पठाइएको निमन्त्रणामा ‘प्रेसिडेन्ट इन्डिया’को सट्टा ‘भारतीय राष्ट्रपति’ लेखिए पछि देशको नाम परिवर्तनको हल्ला चर्किएको छ ।

 

अहिले प्रतिपक्षले निरन्तर विरोध गरिरहेको देखिन्छ । अहिले देशको नाम परिवर्तन गर्ने अभ्यास यो पहिलो पटक होइन । यसअघि पनि एकपटक यस्तै प्रयास भएको थियो ।

 

वास्तवमा आज हामी समाजवादी पार्टीका संस्थापक तथा पूर्व मुख्यमन्त्री स्वर्गीय मुलायम सिंह यादवको कुरा गर्दैछौँ । जसले करिब २० वर्षअघि सन् २००४ मा उत्तर प्रदेशको मुख्यमन्त्री हुँदा इन्डियाको नाम परिवर्तनको प्रस्ताव विधान सभामा ल्याएका थिए र पारित गराएका थिए ।

 

त्यसबेला मुलायम सिंह यादवले उत्तर प्रदेश विधानसभामा ‘इन्डिया’ नाम परिवर्तन गरेर ‘भारत’ राख्ने प्रस्ताव ल्याए र सर्वसम्मतिले पारित गराए ।

 

भारतीय संविधानको भाग १ को अनुच्छेद १ (संघको नाम र क्षेत्र) मा रहेको ‘इण्डिया दैट इज भारत’  लाई प्रतिस्थापन गर्न संविधानमा आवश्यक परिमार्जन गर्ने प्रस्ताव प्रस्तुत गर्दै मुख्यमन्त्री मुलायम सिंह यादवले सदनको कारबाहीमा भनेका थिए, संविधानमा जहाँ ‘इण्डिया इज भारत’ लेखिएका छ, अब ‘भारत इज इण्डिया’ लेख्नुपर्छ भन्ने म भन्न चाहन्छु ।’

उनले अगाडी भनेका थिए, ‘तर आजसम्म उनीहरु त्यसका लागि तयार छैनन् । संसदीय काममा व्यस्त छु, म मन्त्रीलाई प्रस्ताव यहाँ ल्याउन भन्छु ।’

 

यसबारे व्यवस्थापिकामा छलफल गरी पारित गरेर संसदमा पठाउन समस्या के छ ? ‘भारत इज इण्डिया’ मा अब परिवर्तन गरिनु पर्छ भन्ने प्रस्ताव गर्छु । माननीय उपसभामुख महोदय, संविधानमा ‘इण्डिया इज भारत’ जहाँ जहाँ लेखिएको छ, त्यहाँ अब ‘भारत इज इण्डिया’ लेख्नुपर्छ भन्ने प्रस्ताव संशोधन गर्नुपर्छ । यदि अनुमति छ भने, यो प्रस्ताव गर्न सकिन्छ। यहाँबाट सर्वसम्मतिले पारित गर्नुपर्छ ।’

सन् २००४ मा भएको चुनावमा समाजवादी पार्टीले आफ्नो चुनावी घोषणापत्रमा पनि देशको नाम ‘इन्डिया’ बाट परिवर्तन गरेर भारत गर्ने उल्लेख गरेको थियो । त्यसका लागि चुनावी घोषणापत्रमा देशको नाम परिवर्तन गर्न संविधान संशोधन गर्ने कुरा भएको थियो । जसलाई मुलायम सिंहले अगस्ट ३, २००४ मा सरकार गठन पछि विधानसभामा प्रस्तुत गरेका थिए। सदनमा प्रस्तुत भएपछि देशको नाम परिवर्तन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएपछि केन्द्र सरकारमा पठाउने भनिएको थियो ।

 

दिल्ली, २० भदौ ।

भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालको सूचना प्रविधि क्षेत्रमा  लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् ।

 

दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले भने, ‘नेपाल आकर्षक लगानी गन्तव्यको रुपमा रहेको छ।  भारतीय लगानीकर्ताहरुका लागि न भाषाको समस्या छ, न यातायात खर्च नै बढी छ।  नेपालको मौसम राम्रो छ र नेपाल सरकारले थुप्रै कर छुट पनि दिएको छ। नेपालमा अंग्रेजी बोल्न सक्ने दक्ष, युवा जनशक्तिको संख्या बढ्दै गएको छ र औसत पारिश्रमिक पनि कम छ।’

 

उनले नेपाल सरकारले विदेशी लगानीकर्ताहरुलाई विभिन्न कर छुट दिनुका साथै श्रम कानूनमा सुधार गरेको, ‘ड्राइ पोर्ट’ को निर्माण भै रहेको र १६ ओटा नयाँ विशेष आर्थिक क्षेत्र निर्माण गर्न लागेको जानकारी दिए।  उनले नेपालसंग सीमा जोडिएका भारतीय राज्यहरुमा ५० करोड मानिसहरु बसोबास गर्ने  र भारत तथा नेपालबीच दोहोरो कर छुट सम्बन्धी सन्धि भएकाले पनि भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्यको रुपमा रहेको बताए।

 

एडब्लुएसको दक्षिण एसिया प्रशिक्षण तथा प्रमाणीकरण विभागका प्रमुख अमीत मेहताले सूचना प्रविधिमा दक्ष जनशक्तिले देशको अर्थतन्त्रमा महत्व पूर्ण योगदान दिने विभिन्न अध्ययनहरुले देखाएको बताए।  उनले राम्रो डिजिटल सीप भएका व्यक्तिहरुले अन्य व्यक्तिको तुलनामा ६५ प्रतिशतसम्म बढी आम्दानी गरिरहेको पनि जानकारी दिए।  एडब्लुएस दक्षिण एसियासंगै आबद्ध लोकेश मेहराले सरकारले आफ्ना प्राथमिकताहरु निर्धारण गरेपछि तिनलाई प्राप्त गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नु पर्ने बताए।  ‘अब तपाईंहरुले डिजिटल सेवा विस्तारतर्फ ध्यान दिनु पर्छ,’ उनले भने।

 

बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख प्रविधि अधिकृत अन्जनी फुयालले डिजिटल क्षेत्रमा नेपालले ठूलो फड्को मारेको र नेपालको सूचना प्रविधि क्षेत्र सफलताको कथा भएको बताए।  ‘नेपालका विश्वविद्यालयहरुले क्लाउडमा आधारित नवीनतम पाठ्यक्रमहरु पढाइ रहेका छन् र विश्वस्तरका नेपाली स्नातकहरु उत्पादन गरिरहेका छन्।  नेपालगंज र पोखरामा बसेर नेपाली युवाहरुले विश्वका ठूला कम्पनीहरुमा  काम गरिरहेका छन्।  सुन्दर प्रकृति तथा पहाडहरुका बीच काम गर्न भारतीय तथा संसारभरिका ‘डिजिटल नोम्याडहरुका लागि नेपाल एक सुन्दर  गन्तव्य बन्दै गएको छ,’ उनले भने।

 

अमेजन वेब सर्भिसेजका भारतस्थित एक अधिकारी विक्रान्त सत्संगीले नेपाललाई डिजिटल एक्सिलरेशन परियाजनालाई छिटै अगाडी बढाउन सुझाव दिए।  उनले नेपालमा उत्पादन भैरहेका आइटी स्नातकहरुलाई देशमै रोके राख्न सरकार, उद्यमीहरु र विश्वविद्यालयहरुले मिलेर काम गर्नु पर्ने बताए।

 

समझदारीपत्रमा हस्ताक्षर

उक्त समारोहमा दिल्लीस्थित इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमन, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान तथा काठमाडौंस्थित जेनेस एकेडेमीबीच आपसी सहकार्य, अनुसन्धान तथा  शिक्षक, विद्यार्थीहरुको आदानप्रदान सम्बन्धी सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो।

 

हस्ताक्षर समारोह पछि बोल्दै  इन्दिरा गान्धी टेक्निकल इन्सटिच्युट फर वुमनकी उपकूलपति डा अमिता देवले आफ्नो विश्वविद्यालयमा ५,००० छात्राहरुले अध्ययन गरिरहेको र आफ्नो विश्वविद्यालयका स्नातकहरुले राम्रो आम्दानी गर्नुका साथै आआफ्नो क्षेत्रमा नेतृत्व गरिरहेको बताइन्। ‘मुलुकका सीमाहरू भनेका भावनात्मक कुराहरु मात्र हुन्।  यस्ता साझेदारीहरुद्वारा हामीले अनुसन्धान, इन्टर्नशिप तथा दोहोरो डिग्री जस्ता कार्यक्रम अगाडी बढाउने छौं,’ उनले भनिन्।

 

इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक प्राध्यापक डा बसन्त जोशीले प्राविधिक शिक्षाको क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य गर्न पाउँदा अनुसन्धान तथा पठनपाठनको क्षेत्रमा ठूलो सहयोग पुग्ने बताए।  आफ्नो धन्यवाद मन्तव्यमा दिल्लीस्थित नेपाली दूतावासकी मिनिस्टर काउन्सिलर श्रीमती निता पोख्रेल अर्यालले  भारतीय प्रविधि उद्यमी तथा व्यवसायीहरुलाई नेपालमा व्यवसाय विस्तार गर्न आग्रह गरिन्।

उक्त कार्यक्रम जेनेस सलुशन तथा नास आइटीको सहयोगमा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको थियो।

 

रियाे दि जिनरियाे, २० भदाैं ।

ब्राजिलमा चक्रवातका कारण आएको भीषण वर्षा र हावाले हंगामा मच्चाएको छ ।

 

दक्षिणी ब्राजिलमा यस प्राकृतिक प्रकोपका कारण हालसम्म कम्तीमा २१ जनाको ज्यान गएको छ, सयाैंजना साे चक्रावतमा परी घाइते भएका छन् ।
यससँगै अविरल वर्षाले बाढीको तीव्रतालाई थप बढाए पछि प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा समेत कठिनाइ भएको छ ।

 

ब्राजिलका गभर्नर रियो ग्रान्डे डो सुलले यसलाई आफ्नो राज्यको सबैभन्दा खतरनाक मौसमी प्रकोप भनेका छन्। अधिकारीहरुका अनुसार धेरै क्षेत्रमा हजारौं मानिसहरु आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् । आलम भनिने ५ हजार जनसङ्ख्या भएको मुकुम नामको सानो सहरमा अधिकांश मानिस घरको छतमा थुनिएका हुन् । तीमध्ये अधिकांशलाई हवाई सहायताबाट बाहिर निकालिएको छ। यस सहरको ८५ प्रतिशत क्षेत्र बाढीको पानीमा डुबेको बताइएको छ ।

 

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले संघीय सरकार राज्यलाई सहयोग गर्न तयार रहेको बताएका छन् । रियो ग्रान्डे डो सुलका गभर्नर एडुआर्डो लेइटले पत्रकार सम्मेलनमा भने कि राज्यमा विगत २४ घण्टामा ३०० मिलिमिटर -११ इन्च_ वर्षा भएको छ। जसका कारण धेरै ठाउँमा बाढी र पहिरो गएको छ ।

 

उद्धारकर्मीहरूले मानिसहरूलाई बाहिर निकाल्न हेलिकप्टर प्रयोग गर्नुपरेको छ।

 

काठमाडौ, २० भदौ । 

सेयर बजार आज बुधबार बन्द हुने भएको छ ।

 

यसैगरी, बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् । आज भदौ २० गते श्रीकृष्ण जन्माष्टमी परेकाले सरकारले सार्वजनिक बिदा दिइएको छ । सोही कारण आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द गरिएका हुन् ।

 

अब सेयर बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक ६.४५ अंकले घटेर १९ सय ६१.३७ बिन्दुमा बन्द भएको थियो । जसमा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

काठमाडौ, २० भदौ ।

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ ।
 

राष्ट्र बैंकका अनुसार अमेरिकन डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा तथा विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गर्दा युराेपियन युरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रीदर १४२ रुपैयाँ ९८ पैसामा काराेबार गर्न सकिने जनाएकाे छ ।

 

अष्ट्रेलियन डलर ८४ रुपैयाँ ३८ पैसामा खरिदबिक्री गरिदाँ क्यनेडियन डलर ९७ रुपैयाँ ०९ पैसा र बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसामा काराेबार हुनेछ ।

 

साथै, अरबियन मुलुकहरु मध्ये कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ३६ पैसा, युएई दिराम ३६ रुपैयाँ ०९ पैसा, कुवेती दिनार ४२९ रुपैयाँ ७१ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ६६ पैसा कायम भएकाे छ भने  कोरियन वन १०० को ९ रुपैयाँ ९३ पैसामा र जापानी येन १० को ९ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ ।

 

 

मुम्बई, २० भदौं ।

भारतीय फिल्म उद्योगमा मित्रता र झगडा सामान्य छ। यस्ता धेरै कथा छन्, जसमा स्टारहरु बीच झगडा र गहिरो मित्रता देख्न सकिन्छ ।

 

यस्तै एउटा कथा फिल्म उद्योगका दुई दिग्गज अभिनेत्री ऐश्वर्या राय बच्चन र मनिषा कोइरालासँग सम्बन्धित छ । वास्तवमा एक पुरुषसँगको प्रेम सम्बन्धलाई लिएर यी दुवै अभिनेत्रीबीच झगडा भएको थियो । के छ पुरा कथा, आज हामी तपाईलाई बताउनेछौँ ।

 

बलिउडकी सुन्दर अभिनेत्री मध्येकी एक ऐश्वर्या पनि आफ्नो प्रेमका कारण चर्चामा आईरहेकी हुन्थिन् । यद्यपि अहिले उनी लामो समयदेखि अभिषेक बच्चनसँग सुखी दाम्पत्य जीवन बिताइरहेका छन् । तर यसअघि उनको नाम सलमान खानदेखि विवेक ओबेरोयसँग जोडिएको थियो र दुवैको अफेयर पनि धेरै विवादमा परेको थियो ।

 

समाचार अनुसार सलमान र विवेक भन्दा पहिले पनि ऐश्वर्या आफ्नो करिअरको शुरुवाती दिनहरूमा अर्का एक पुरुषसँग प्रेम सम्बन्धमा थिए। रिपोर्टका अनुसार ऐश्वर्याले एक पटक तत्कालीन चर्चित मोडल राजीव मूलचन्दानीसँग डेट गरिसकेकी थिइन् । चलचित्र अभिनेत्री मनिषा कोइरालाले आफ्नो एक अन्तर्वार्तामा यो खुलासा गरेकी हुन् ।

 

वास्तवमा मनिषा कोइरालासँग राजीव मूलचन्दनीको पनि अफेयर थियो र मनिषाले यो सम्बन्धलाई खुलेर स्विकारेकी छिन् । तर ऐश्वर्याले राजीवसँगको आफ्नो सम्बन्धलाई कहिल्यै स्विकारेकी थिइनन् र राजीवसँगको आफ्नो सम्बन्धको खबरलाई सधैँ अस्वीकार गरिरहेकी छिन् । यस विषयमा ऐश्वर्या र मनिषाबीच चर्को बहस पनि भएको थियो ।

 

एक अन्तर्वार्तामा मनिषा कोइरालाले ऐश्वर्याको तुलनामा राजीवले आफूलाई रोजेको बताएकी थिइन् । त्यसपछि ऐश्वर्याले कडा जवाफ दिँदै आफू राजीवसँग कहिल्यै सम्बन्धमा नभएको बताइन् । तिनीहरू केवल असल साथीहरू थिए, त्यो भन्दा बढि केहि छैन। उनले मनिषाको बारेमा पनि भनिन कि उनी हरेक दोस्रो महिना फरक केटासँग डेट गरिरहेकी छिन् ।

 

मनिषाको कुराको जवाफ दिँदै ऐश्वर्याले भनिन्,  ‘यो सुनेपछि मैले सीधै राजीवलाई फोन गरेँ र सोधें यो के बकवास भइरहेको छ ?’  वास्तवमा सन् १९९४ मा एक पत्रिकाले राजीव र ऐश्वर्याको अफेयरको समाचार छापेको थियो ।

 

यी सबैको बारेमा मनिषा कोइरालाले भनिन्,  ‘जब राजीव र म रिलेसनसिपमा थियौं, राजीवले उनलाई लेखेका प्रेमपत्रहरू देखेको थिएँ । उसलाई देखेपछि म स्तब्ध भएँ र मेरो लागि यो भन्दा नराम्रो अरू केही हुन सक्दैनथ्यो।’

 

नयाँदिल्ली, २० भदौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेन भोली भारत आउँदैछन ।

जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोली बिहीबार भारत आउन लागेका हुन ।

 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन ।

 

भारत आउने अन्तिम तयारीमा रहेका राष्ट्रपति वाइडेनको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । अमेरिकाकी प्रथम महिला ७२ वर्षीय जिल बाइडेनलाई सोमबार कोभिड पोजिटिभ भेटिए पछि ८० वर्षीय बाइडेनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो  । र उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

जेक सुलिभानले भने कि बिहीबार राष्ट्रपति बिडेन जी २० शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जानेछन्। शुक्रबार उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतवार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।