नयाँदिल्ली, ३० भदौं ।
भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरी अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ ।

कोरोनाको छिटपुट मामिलाहरू बीच केरलामा एक भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि केरलामा निपाह भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ ।
केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ व्यक्ति पीडितको सम्पर्कमा आएकाले त्रास छाएको छ । प्रदेश सरकारले भदौ २४ सेप्टेम्बरसम्म शैक्षिक संस्था बन्द गरेको छ । सक्रमित क्षेत्रहरुमा अावतजावतमा राेक लगाइएकाे छ भने हिडडुलमा पनि प्रतिबन्ध लगाइएकाे छ ।
निपाह भाइरस जनावरबाट मानिसमा सर्ने भाइरस हो। यो विशेष गरी चमेरोमार्फत फैलिन्छ। निपाहको पहिलो केस सन् १९९८ मा मलेसियामा सुँगुर किसानमा भेटिएको थियो । यसको नाम मलेसियाको गाउँबाट बनाइएको थियो, जहाँ यसको पहिलो केस फेला परेको थियो।
डब्ल्यूएचओले यो भाइरसलाई इबोला, जिका र कोरोना भाइरसको श्रेणीमा राखेको छ। यो किनभने यसले महामारी फैलाउने क्षमता राख्छ। निपाह भाइरस सामान्यतया जनावर र दूषित खानाबाट सर्ने गर्छ तर हालै यो मानिसबाट सिधै मानिसमा पनि सर्ने गरेको देखिएको छ ।
सबैजना निपाह भाइरसको बारेमा चिन्तित छन् किनभने यो भाइरसको मृत्यु दर उच्च छ। पीडितको मृत्युदर ७५ प्रतिशत रहेको अनुमान गरिएको छ । चिन्ताको अर्को कारण यो हो कि अहिलेसम्म कुनै खोप जारी गरिएको छैन।
निपाह भाइरसका लक्षणहरू के के हुन् ?
निपाह भाइरसमा पीडितलाई उच्च ज्वरो, बान्ता र सास फेर्न समस्या हुने गरेको छ । मामिलालाई अझ नराम्रो बनाउन पीडितको दिमागमा असर पर्न सक्छ र ऊ कोमामा समेत जान सक्छ।
निपाहबाट बच्न के गर्ने ?
निपाह भाइरसबाट बच्नका लागि हामीले केही सावधानीहरू बताइरहेका छौं, जसलाई अपनाएमा भाइरसबाट बच्न सकिन्छ ।
– कुनै पनि भाइरसबाट बच्ने सबैभन्दा सजिलो र सामान्य तरिका समय समयमा साबुन पानीले हात धुनु हो। यसले भाइरसको जोखिम कम गर्छ।
– मानिसको सम्पर्कमा नआउनु पनि निपाह भाइरसबाट बच्ने उपाय हो। लक्षणहरू देखाउने व्यक्तिहरूसँग विशेष गरी सावधान रहनुहोस्।
– आफ्नो खानेकुराको सधैं ख्याल राख्नुहोस्, कुनै पनि जनावरको शव नखानुहोस्।
– यदि तपाई आफैंमा निपाहको कुनै लक्षण देखिएकाे छ भने डाक्टरसँग परामर्श गर्नुहोस्।

काश्मिर, ३० भदौं ।
जम्मू कश्मीरको अनन्तनागमा चौथो दिन पनि सुरक्षा बल र आतंककारीबीच भिडन्त जारी छ ।
भारतीय सेना, पुलिस, सीआरपीएफ र अन्य सुरक्षा एजेन्सीहरू पूर्ण सतर्कताका साथ मैदानमा उभिएका छन्। घना जंगल र पहाडको बिचमा आतंककारीहरु लुके पछि खोजी गर्न ड्रोन र हेलिकप्टरको समेत सहयोग लिइएको छ । केही बेर अघिसम्म दुवै पक्षबाट गोली हानाहान भइरहेको छ ।
आतंकवादीहरू पहाडको टुप्पोमा रहेको गुफामा लुकेर बसेको बताइएको छ । यद्धपी, कोकरनागको गडुलको जङ्गल क्षेत्रमा सुरक्षा बलको खोजी अभियान जारी छ ।
आतङ्ककारीको घेरालाई बलियो बनाउन सेनाले पहाडलाई घेरा हालेको छ । यसपछि पनि गतिरोध जारी छ । क्वाडकोप्टर, ड्रोन र अन्य आधुनिक उपकरणहरूद्वारा आतंककारीहरूको निगरानी भइरहेको छ। पारा कमाण्डोले पनि अपरेशनको जिम्मा लिएका छन् । घना जङ्गल र पहाडी भूभागका कारण यो विशेष टोली तैनाथ गरिएको हो । यसबाहेक पहाडमा आतङ्ककारी लुकेको ठाउँमा रकेट प्रहार गरिएको छ ।
उल्लेखनीय छ कि कोकेरनागको गदुल जंगलमा आतंकवादीहरूको आन्दोलनको सूचना पछि सेना, जम्मू कश्मीर पुलिस र सीआरपीएफको राष्ट्रिय राइफलको संयुक्त दलले बुधबार बिहानै खोजी अभियान सुरु गरेको थियो। घेराबन्दीका क्रममा जङ्गल क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरूले संयुक्त टोलीमाथि भारी गोलीबारी गरेका थिए ।
मुठभेडका क्रममा सेनाका १९ आरआर कमाण्डिङ अफिसर कर्नेल मनप्रीत, मेजर आशिष धौनचक र जम्मु कश्मीर प्रहरीका डीएसपी अपरेशन हुमायुन भाट मारिएका थिए, जुन घटनाबाट आक्रोशित भारतीय सुरक्षा फौजले आतंककारीहरुलाई घेरा हालेका हुन ।
लण्डन, ३० भदाै ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेसनमा अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन् । उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन् ।
यस अघि गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा उम्मेदवारी दिने चाहना राखेकी प्रधानले महाधिवेसन प्रतिनिधिहरुको सुझाव र संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिने निचोडमा पुगेको बताइन् ।
सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ पराडाइज) रेष्टुरेन्ट चलाएकी छन् । प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन् । सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापारमा हात हालेकी हुन् ।
उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छन् । नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक रुपमा मिलियन्स युरोको व्यापार गर्छिन् ।
गैरआवासीय नेपाली संघको निर्वाचन अक्टोवर तेस्रो साता अनलाइन (हाइब्रिड) मार्फत हुदैछ । संघको नेतृत्वको लागि अध्यक्षमा डा. बद्री केसी, महेश श्रेष्ठ, डा. हेमराज शर्मा, रविना थापा, आरके शर्मा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्।
काठमाडौँ, ३० भदौ।
गायक आनन्द कार्की र गायिका मिलन नेवारको एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
जसमा प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषले संगीत रहेको छ ।

गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको यात्राको क्रममा देखभेट पछि झांगिदै गएको प्रेमलाई निर्देशक सुब्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन् । भिडियोका मोडल सुशान्तले यो गीतबाट आफूले निकै नै आशा गरेको बताएका छन् ।

र्याम्प हुँदै म्यूजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी , लगायतका भिडियो बजारमा आइसकेका छन् । सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन् ।
भिडियो लिंक : https://youtu.be/rigwj05lsFg
काठमाडौं, ३० भदौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता पोष्टबहादुर बोगटीलाई सम्झना गरिएको छ ।

माओवादी केन्द्रका प्रभावशाली र इमान्दार नेता मानिने बोगटीको नवौं नवौ स्मृति दिवसमा उनको सम्झना गरिएको हो ।

पेरिसडाँडा, काठमाडौंस्थित पार्टी मुख्यालयमा आयोजित स्मृति सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनले पार्टी र देशका लागि गरेको योगदानको चर्चा परिचर्चा गरेका छन ।
आज साँझ अमेरिका प्रस्थान गर्नु अघि अध्यक्ष प्रचण्डलगायत माओवादी शिर्ष नेताहरुले बोगटीको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अपर्ण गरेका छन् ।

काठमाडौं, ३० भदौं ।
काठमाडौंमा एक परिवारको सामुहिक हत्या भएको छ ।
तीनकुने, गैरीगाउँमा गए राती एकै परिवार तीनसहित चार जनाको सामुहिक हत्या भएको हो ।
प्रहरीका अनुसार यसरी हत्या हुनेमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। साथै, २० बर्षीय नविन राइको पनि हत्या भएको छ ।
साे काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए भने आमा शुभद्रा केही दिनअघि मात्रै श्राद्ध गर्नका लागि काठमाडौं आएकी थिइन । तर, शुक्रबार राती उनको पनि हत्या भएको छ ।
सो घटनामा संलग्नताको आरोपमा दिपेन्द्र राईलाई नियन्त्रणमा लिईएको छ, उनी सो हत्या भए पछि प्रहरीलाई खबर गर्न तीनकुने प्रहरी चौकी पुगेका थिए ।
यसरी हत्या भएका चारै जनाको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा लगिएको छ । थप बिवरण आउन बाँकी छ ।
विशाल बस्नेत,२९ भदौ, महोत्तरी ।
माओवादी केन्द्र महोत्तरीको विवाद उत्कर्षमा पुगेको वेला बर्दिवास नगरपालिकामा समान्तर अभियान सुरु भएको छ ।

जनतासगँ माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत महोत्तरीका इन्चार्ज बनेर आएका केन्द्रिय सदस्य अच्युतम काफ्लेले समान्तर गतिविधिले दिक्क भएकाे बताएका छन ।
इन्चार्ज काफ्लेले पाटीको निर्देशन विपरित बर्दिवासमा समान्तर गतिविधि भएको ठहर गर्दै एक बिज्ञप्ति समेत जारी गरेका छन । बिज्ञप्तिमा पार्टीकाे कार्यविभाजन अनुसार वडामा खटिनुपर्ने नेताहरुले समान्तर गतिविधि गरेको बताउदै यस्ता गतिविधि नगर्न सचेत समेत गराइएको छ ।
गत २९ भदौ कै दिनवाट यस्ता गतिविधिमा नलाग्न निर्देशन दिदै इन्चार्ज काफ्लेले समान्तर गतिविधमा लागेको पाईएमा गम्भीर अनुसासन उल्लंघनको बिषय बन्न सक्ने बताएका छन । तर माओवादी केन्द्र महोत्तरीमा संस्थापन पक्ष र संस्थापन इतरविच विवाद चुलिदै गएको छ । बर्दिवासमा नै २ बर्षदेखी पार्टी कमिटी बनाउन नदिई हस्तक्षेप गरेको संस्थापन इतरको आरोप छ भने संस्थापन पक्षले जे जस्तो विवाद भए तापनी वडा अभियान सके पछि निष्कर्षमा पुर्याउने बताउदै आएको छ ।

यसै विचमा बर्दिवास नगर कमिटीको नेतृत्व विहिन बनिरहेको वेला रुद्र सुस्लिङ्ग मगरलाई नगर इन्चार्ज वनाएर रुपान्तरण अभियानका कार्यक्रम संचालन गर्दै आएको छ । नगरबाटै निर्णय गरि वडामा कसरी जाने ? भन्ने बिषय तय भएको र सोहीअनुसार कार्यक्रम संचालन गरिरहेको रुद्र सुस्लिङ्ग पक्षले जनाएको छ ।
तर इन्चार्ज अच्युतम काफ्ले र मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले भने यो निर्णयलाई अस्विकार गरेका छन । १७ साउन देखि २१ साउनसम्म चलेको केन्द्रिय बैठकको निर्णय अनुसार नै पाटी चल्नुपर्ने र पाटी सर्कुलेसन बाहिर गएर कुनै पनि गतिविधि गर्न नमिल्ने उनिहरुको भनाइ छ ।

नगर कमिटीलाई पुर्णता दिएर वडाका कार्यक्रम संचालन गर्दा थप प्रभावकारी बन्ने ठानेर पाटी हितका लागी नै आफुहरु लागि परेको सुस्लिङ्ग पक्षधरको दावी छ ।
भक्तपुर, ३० भदाैं ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वृहस्पती मार्गमा ७ वर्षीय एकजना बालकको खसेर मृत्यु भएको छ ।
स्थानीय संजिव श्रेष्ठको साढे तीन तले घरको तेस्रो तलामा डेरा गरी बस्ने वर्ष ७ को डेविट डाइमन्डको खसेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
अछाम मेलेकु नगरपालिका घर भई हाल सोही स्थानमा डेरागरी बस्ने रामबहादुर बुढाको छोरा वर्ष ७ को डेविट डाइमन्ड बुढा आफ्नै डेरा कोठामा खेल्ने क्रममा कोठाको झ्यालबाट खसेको प्रहरीले जनाएको हो ।
सोही घरको कम्पाउण्डमा बारेको फलामको बारमा पर्न जादा घाइते भएका थिए । उपचारको लागी नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारकाे क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरी वृत ठिमीबाट थप अनुसन्धान भैरहेको जनाइएको छ ।
काठमाडौं, ३० भदौं ।
सन्तोष अधिकारी फिल्मसको व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ।

निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ ।
सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।
फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने निर्देशन लामिछानेले जानकारी दिए । फिल्म पोखरा र घाचोकमा छायांकन हुनेछ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’ फिल्ममा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व, महेश पौडेलको छायांकन, प्रतिमा थापाको प्रोडक्सन हेड र कृष्णबहादुर थापा लाइन प्रोडुसर छन् ।
फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत रहनेछ । केदार पराजुली (श्री कृष्ण फिल्मस्) ले फिल्मको नेपाल अधिराज्यभरको वितरण जिम्मा लिएको छ। फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिईसकेका छन । अन्य देशको राइट्स पनि छिट्टै टुंगिने निर्माता एवम् कलाकार सन्तोष अधिकारीले जानकारी दिए।
निर्माता अधिकारी नयाँ फिल्म ‘डलर एयुडी’ को तयारीमा छन् । यो फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । सन्तोष ‘घर’ र ‘आमा’का सह–निर्माता पनि हुन् । उनको नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

काठमाडौँ, ३० भदौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा. केशव पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
शुक्रबार राजधानीको होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनका बीच संघका वर्तमान महासचिव पौडेलले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।
उनले अध्यक्षमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठलाई समर्थन गर्दै आफूले ऊपाध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले सहमति, सहकार्यको माध्यमबाट संघलाई उचाइमा लैजाने दायित्व रहेको भन्दै त्यसका लागि अध्यक्षको उम्मेदवारबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको दुई कार्यकाल अध्यक्ष तथा एक कार्यकाल प्रमुख संरक्षकको रुपमा समेत काम गरिसकेका उनले एनआरएनए अभियान एउटा निर्णायक मोडमा पुगेको बताए ।
दशौँ महाधिवेशनमा उत्पन्न विवादलाई समाधान गर्दै संस्थालाई एकजुट गरेर अगाडी बढाउने जिम्मेवारी सबैसामु रहेको उल्लेख गर्दै पौडेलले दसौं विश्व सम्मेलनमा सबै अभियन्ताले महासचिवको रुपमा गरेको विश्वासप्रति सम्मान व्यक्त गर्दै आउँदो ११ औं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेको बताए ।
‘‘हुन त यस पटक नै मैले संघको नेतृत्वको निम्ति तयारी पनि गरेको थिएँ, तर यो संस्थामात्र नभई अभियान भएकाले सहमतिको बिन्दुबाट पनि सोच्नुपर्ने हुन्छ’, उनले भने, ‘संघको विभिन्न पदमा रही काम गरिसक्नु भएका अनुभवी र म जस्तै नेतृत्व गर्ने अर्को एनआरएनए अभियन्ताले सँगै अभियानलाई अगाडि बढाउ भनिरहँदा त्यसलाई सहज रुपमा लिदैं म अभियानमा आफू उपाध्यक्ष पदका रुपमा रही अघि बढ्ने निष्कर्ष सहित अगाडि आएको पौडेलले प्रस्ट पारेका छन ।
पौडेलले आफ्नो उम्मेदवारीका साथ आफ्नो प्रतिबद्धतापनि सार्वजनिक गरेका छन । जसमा निर्वाचित भई आउने अध्यक्ष सहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रित योजनाहरुको कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान रहने बताएका छन । आफूलाई उपाध्यक्षको रुपमा उभ्याई रहँदा केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले गरेका छन ।
पहिलो मुद्दा भनेको नेपाली नागरिकताको निरन्तरता नै हुने उनले बताए । ‘अहिले संविधानप्रदत्त गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयन सँगै एक पटकको नेपाली सधैंको नेपाली भन्ने हाम्रो मूल उद्देश्य अनुरुप नेपाली नागरिकताको निरन्तरताको विषयलाई टुंगोमा पुर्याउन मेरो भूमिका रहनेछ’, उनले भने, ‘खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोप लगायतका देशमा रहनुहुने त्यहाँको नागरिकता लिनुभएका गैरआवासीय नेपालीले नेपालमा रहेको सम्पत्तिलाई लिएर धेरै असजिलो अवस्था व्यहोर्नु परिरहेको छ । नेपाल भित्र केही गर्नु पर्दा पनि विदेशी दर्जामा गर्नु परिरहेको छ, यी बाहेक पनि मुख्य कुरा आफूलाई एक प्रकारको विभेद जस्तो व्यहोर्नु परिरहेको छ तसर्थ त्यसलाई टुंगोमा पुर्याउन नेपाली नागरिकताको निरन्तरता नै आवश्यक छ ।’
दोस्रो मुद्दा भनेको एनआरएनएलाई नै संस्थागत बनाउनु रहेको उनको भनाइ छ । एनआरएनएलाई संस्थागत रुपमा सबैको सहभागिता र भूमिका सहितको बनाउन सक्दा संघको प्रशासनिक खर्चमा पनि कटौती गर्न सकिने भएकाले त्यसतर्फ पनि आफ्नो ध्यान रहने उनले बताए । विश्वभर रहेको अनुभव, ज्ञान, पुँजी र सामर्थ्यलाई संस्थागत ढंगवाट नेपालका नेपाली र गैर आवासीय नेपालीका बीच पनि उपलब्धिमूलक ढंगवाट पुर्याउन आफूले काम गर्ने पौडेलले बताए।
यस्तै तेस्रो मुद्दा गैर आवासीय नेपालीका लागि एनआरएनएले गर्नुपर्ने काम भएको उनले जनाएका छन । ‘देश अनुसार एनआरएनहरुका आवश्यकता फरक फरक छन । त्यसलाई लिपिबद्ध गर्दै सम्बोधन गर्ने तर्फ एनआरएनएले पहल गर्नुपर्ने हुन्छ । दोहोरो कर प्रणाली, आप्रवासी कामदारको सामाजिक सुरक्षाको जिम्मेवारी, वैदेशिक श्रम बजारमा सिपयुक्त जनशक्त्ति, कूटनीतिक नियोगहरुवाट दिइने सेवामा सेवाग्राहीको सरल पहुँच र सहज समाधानको पहल, नेपालको निर्वाचनमा मत दिन योग्य गैर आवासीय नेपालीले मत दिन पाउने व्यवस्थाको कार्यान्वयन, कठिनाई रहित भन्सार सुविधा, पुँजीको सरल व्यवस्थापन, वैदेशिक श्रम बजारवाट नेपाल फर्कन चाहनेहरुका लागि आवश्यक व्यवस्थाको पहल, सुरक्षित वैदेशिक श्रम बजार जस्ता धेरै विषयहरुमा हामीले कार्य गर्नुपर्ने छ त्यस तर्फ मेरो भूमिका रहनेछ’, उनले भने ।
यसैगरी विश्व ज्ञान सम्मेलनलाई नेपालको समृद्धि, सूचना तथा प्रविधि क्षेत्रको विकास, प्रविधि तथा सीप हस्तान्तरण जस्ता विषयमा केन्द्रित गरी आयोजना गर्न आफूले पहल गर्ने पनि पौडेलले बताए ।
साथै, संघका सबै गतिविधिमा युवा र महिलालाई अग्र स्थान दिने, प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्ने, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा पनि आफूले संस्थागत रुपमा पहल गर्ने पौडेलको प्रतिबद्धता रहेको छ ।
आफ्नो उम्मेद्वारीप्रति विश्वभरबाट सहभागि हुने प्रतिनिधिहरु तथा गैरआवासीय नेपालीबाट साथ र सद्भाव रहने उनको विश्वास रहेको छ ।
श्रेष्ठको टिमबाट वर्तमान महासचिव केशव पौडेलले पनि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । उनले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन । उम्मेदवारी घोषणा कार्यक्रममा उपाध्यक्ष नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविन गुरुङ,सचिव गंगाधर गौतम, प्रवक्ता सोम सापकोटा, अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीसहित अन्य एनआरएनए अभियन्ताहरूको भौतिक र अनलाइनमाध्यममार्फत सहभागिता रहेको थियो ।
आगामी अधिवेसनका लागी विश्वबाट उम्मेदवारी दिने क्रम जारी रहेको छ ।