काठमाडौं, ३१ भदौं ।
आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन ।
देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो ।
हेटौडामा चिकित्सक कुटिए पछि सोको बिरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।
शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्द आन्दोलन थालिएको संघको भनाइ छ । संघका अनुसार गत भदौं २७ गते डा विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले स्मरण गराएको छ ।
सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम गरेको हो ।
संघका अनुसार देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।
काठमाडौं, ३१ भदौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
रौतहट,भदौ ३० गते ।
रौतहट प्रहरीले पटाका बरामद गरेको छ । बेवारिसे अवस्थामा राखिएको पटाका बरामतद गरेको हो ।
इलाका प्रहरी कार्यलय मौलापुरबाट खटिएका प्रहरी सहाय निरीक्षक प्रकाश चौहान नेतृत्वको टोलीले मौलापुर बसपार्कबाट बेवारिसे अवस्थामा पटाका बरामद गरेको हो । बोरामा लुकाइछिपाइ ल्याइ राखेको अवस्थामा पटाका ५० पाता (२० बंडल) नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक चौहानले जानकारी दिए ।
भारतबाट भन्सार छली गरेर बंकुल नाका हुँदै मौलापुरमा ल्याइ राखेको अवस्थामा उक्त पटाका बरामद गरिएको हो । बरामद गरिएको पटका जिल्ला भन्सार कार्यलय गौरमा पठाइएको र पटाका ल्याउने मानिसको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यलय मौलापुरले जानकारी दिएको हो ।
रौतहट, ३० गते भदौ ।
रौतहटको शिवनगरमा राष्ट्रिय बाल दिवसकै अवसरमा जिल्ला स्तरीय डोम समुदायका बालबालिका तथा अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको हो।

शनिबार जिल्लाको गरुडा नगरपालिका-५,स्थित कृषि उपकेन्द्र शिवनगरमा आयोजित कार्यक्रममा बालबालिका लाई नियमित शिक्षा हासिल गर्न विद्यालय पठाउने अभिभावकलाई सम्मान गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । डोम समुदाय विकास केन्द्र रौतहटको अध्यक्ष विजय मलिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माधव नारायण नगरपालिका -३ का वडा अध्यक्ष राजकुमार यादवले शिक्षामा अझैसम्म डोम समुदाय पछाडी रहेको बताए ।
अब डोम समुदायले पनि आफुलाई परिवर्तन गदै शिक्षा स्वास्थ्यमा जोड दिनुपर्ने धारणा राखे । डोम समुदायको पेसा सरसफाइ गर्ने जिम्मेवारी भएपनि उनीहरु आफ्नै बस्ने ठाँउको सरसफाइमा निकै पछाडी रहेको दुख व्यक्त गरे।

कार्यक्रममा वक्ताहरुले शिक्षामा डोम समुदायका बालबालिकाको पनि समान पहुँच होस लगायतका विषयमा आ-आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुले नृत्य गायन लगायतका आफ्ना प्रतिभा प्रस्तुत गरि सबै मन जितेको संस्थाको अध्यक्ष विजय मलिले बताए ।

आरके श्रीवास्तव,रौतहट,३० गते भदौ ।
रौतहटमा प्रदेश आमसंचार नीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । आज जिल्लाको चन्द्रपुर स्थित गौतम होटेलमा एक दिने छलफल कार्यक्रम आयोजन गरिएको थियो । युएसएआईडी नागरिक समाज तथा संचार कार्यक्रमको ‘प्रदेश आमसंचार नीति छलफल कार्यक्रम भएको हो ।

दि एसिया फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा सर्लाही र रौतहट जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो । दुवै जिल्लाका सहभागी पत्रकारहरुले आ—आफनो तर्फ बाट महक्तवपूर्ण सुझावहरू समेत दिएका थिए । कार्यक्रममा यूवा,महिला र सीमान्तकृत समुदायलाइ पत्रकारितामा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा पनि सुझावहरु संकलन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रह्नु भएका प्रदेश सांसद कनिश पटेलले प्रदेश आमसंचार नीति सम्बन्धि छलफल कार्यक्रमलाइ अझै व्यापक बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा उठेका सवालहरु, सुझावहरू सदनमा आवाज उठाउने प्रतिबद्धता जनाउनु भयो । उनले भने,सावैजनिक खरिद ऐन परिवर्तन गर्नु देखिएको बताए ।
सो ऐनले राष्ट्रिय स्तरको पत्रिकामा केही विज्ञापन गर्नुपर्ने तोकेको हुन्छ । त्यो परिवर्तन गर्नुपर्छ । त्यती गर्न सके मात्र स्थानिय स्तरका सञ्चारमाध्यमहरु लाइ संरक्षण गर्न सकिने बताउनु भयो । सो कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेश अध्यक्ष श्यामसुन्दर यादव,मिडिया काउन्सिलका अध्यक्ष कैलाश दास,नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कर्ण,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य शैलेन्द्र झा,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा सहित दुइ जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
काठमाण्डौं, ३० भदौ ।
ललितपुरका दुई छात्राले काठमाण्डौंको तारकेश्वर नगरपालिका–३ का ठूलागाउँ आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन् ।

ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र उनकी साथी दिव्यांशी जोशीले शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गरेका हुन् ।
आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयको खेलकुद विभाग, रोटरी क्लब अफ नागार्जुन र नेपाल जुत्ता फैक्टरीको सहयोगमा सामग्री संकलन गरिएको आचार्यले बताइन् । नमामीले आफू र साथी दिव्यांशी छुट्टीका दिन आफ्ना बाबु व्यवसायी सुदीप आचार्यसँग घुम्न आउँदा आश्रम देखेकी थिइन् ।
एक महिनायता हरेक सार्वजनिक बिदाका दिन नमामी र उनकी साथीले आश्रममा रहेका बालबालिकालाई अंग्रेजी भाषा सिकाउने गरेका छन् । सिन्धुपाल्चोक मेलम्चीका नरबहादुर राउतको अभिभावकत्वमा सञ्चालित आश्रममा विभिन्न उमेर समूहका गरी ४६ बालबालिका छन् ।

उनीहरु स्थानीय नागार्जुन ठूलागाँउ माविमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यनरत छन् । अघिल्लो शनिबार आश्रम नजिकै खुला चौउरमा विद्यार्थीले कोही खाली खुट्टा र कोही चप्पल लगाएर फुटबल खेलिरहेको देखेपछि आफूले जुत्ता संकलन गरेर वितरण गर्ने योजना बनाएको नमामीले बताइन् ।
‘हामी आउँदा उनीहरु फुटबल खेलिरहेका थिए । कसैको खुट्टा खाली थियो । कोही चप्पल लगाएर खेलिरहेका’, नमामीले भनिन्, ‘कतिबेला त खाली बल हिर्काउँदा ठोक्किएर घाउ हुने रहेछ । यो देखेर मलाई यिनीहरुलाई जुत्ताको जरुरी रहेछ भन्ने लाग्यो ।’ नमामी र दिव्यांशीले आश्रममा रहेका सबैलाई एक/एक जोर गरी ४६ जोर र फुटबल खेलाडी ११ जनाका लागि छुट्टै स्पोर्टस् सुज, दुईवटा फुटबल, जर्सी र प्याड दिए ।
‘अब फुटबल खेल्दा उनीहरुको खुट्टामा घाउ हुँदैन र दुखेर मुर्छा पर्नु पर्दैनन् होला’, सामग्री वितरण गर्नुअघि मन्तव्य दिने क्रममा उनले भनिन् । बिना प्रशिक्षक र पूर्वाधारको अभावमा पनि आश्रमका विद्यार्थीले व्यवसायिक फुटबल टिमले जस्तै प्रदर्शन गरेबाट आफू प्रभावित भएको उनको भनाइ थियो ।
‘तालिम र पूर्वाधार भयो भने यिनीहरु राष्ट्रिय टिम र अरु क्लबमा आवद्ध भएर व्यवसायिक खेल जीवन अगाडि बढाउन सक्छन् भन्ने मेले देखें’, उनी भन्छिन् ।
नमामीले आफूहरुले निकट भविष्यमा आश्रमका विदार्थीका लागि पुस्तकालय स्थापना गरिदिने योजना बनाएको पनि सुनाइन् । उनीहरुले जुत्ता, मोजा, फुटबल र जर्सी गरी करिब एक एक लाख रुपैयाँभन्दा बढीको सामग्री हस्तान्तरण गरे । कार्यक्रममा नमामीका पिता एवं डिश होम नेटवर्कका प्रबन्ध निर्देशक सुदीप अचार्य, आमा रास्वपा नेतृ लीमा अधिकारी, रोटरी क्लब अफ नागार्जुनका अध्यक्ष प्रकाश डोटेल, नागार्जुन ठूलागाँउ माविमा प्रधानाध्यापक अर्जुन फुयाँल, शिक्षक शिवप्रसाद फुयाँल र आश्रमका सञ्चालक राउतलगायत सहभागी थिए ।
काठमाडौं, ३० भदाैं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा सरकार र राष्ट्रिय खेलकुद परिषदले सहयोग गरे पिकलबलको अत्यन्तै राम्रो सम्भावना रहेको बताएका छन् ।
पिकलबल एशोसियसन नेपालको आयोजनामा नेपाल-सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्ट आजबाट सुरु भएको छ। पुर्व उपप्रधानमन्त्री समेत रहेका थापाले केलको उद्घाटन गरेका हुन् ।
टुर्नामेन्ट काठमाडौंको बौद्धस्थित स्नोल्यान्ड स्पोर्ट्स एकेडेमीमा भईरहेको छ। पिकलबल एशोसियसन सिक्किमबाट हेमन्त गुरुङको नेतृत्वमा ३० जनाको टोलि नेपाल आएको छ भने नेपालबाट ८० खेलाडी सहभागी भएका छन्। एनसीसीएस, क्याम्पियन र काव्य स्कुलका विद्यार्थी खेलाडीहरु पनि सहभागी भएका छन्। यी बिद्यालयका विद्यार्थी खेलाडीहरुले एक-आपसमा प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा थापाले एक म्याच खेलेका थिए ।
काठमाडौं, ३० भदौं ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत गएका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गरेका हुन ।
साताब्यापी भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपालको आर्थिक विकासलगायतका विषयमा प्रबचन दिनेछन ।
भट्टराईको सचिवालयका अनुसार भारत भ्रमणको क्रममा त्यहाँ रहेका नेपाल-भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
भारतका मुख्य सहरहरू गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा अायाेजित कार्यक्रममा सहभागी भएर उनी अब असोज ५ गते मात्रै स्वदेश फर्कने छन्।
काठमाडौं, ३० भदौं ।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन ।
संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न आज अमेरिका जानु अघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेटन शितल निवास पुगेका हुन ।
सो भेटघाटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। साथै, सो भेटघाटमा समसामयिक राजनीतिक बिषय पनि छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट न्युयोर्क, अमेरिका प्रस्थान गर्दैछन् । आगमी १८ देखि २६ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।
नेपालका प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यस पछि उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने छन् ।
नयाँदिल्ली, ३० भदौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता थप बिश्वव्यापी भएको छ ।
हालै भारतीय प्रधानमन्त्री मोदी सबैभन्दा धेरै ‘ग्लोबल अप्रुभ रेटिङ’ पाउने नेता बनेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘मर्निङ कन्सल्ट’ले गरेको विश्वव्यापी सर्वेक्षणमा भारतीय प्रधानमन्त्री मोदीले ७६ प्रतिशत ग्लोबल रेटिङ पाएको छन ।
अमेरिकास्थित कन्सल्टेन्सी फर्मले सञ्चालन गर्ने गरेको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’मा उनलाई ७६ प्रतिशत जनताले प्रधानमन्त्री मोदीको नेतृत्वलाई अनुमोदन गरेका हुन । यसअघिको रेटिङमा पनि प्रधानमन्त्री मोदी शीर्ष स्थानमा नै रहेका थिए।
सो रेटिङका अनुसार १८ प्रतिशतले जनताले उनको नेतृत्वलाई अस्वीकार गर्दै असन्तुष्ट जनाएका छन । ६ प्रतिशतले भने उनका बारेमा कुनै पनि राय दिएका छैनन्।
यसैगरी बिश्वब्यापी सर्बेक्षणको दोस्रो स्थानमा स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बेर्सेट जनता माझ लोकप्रिय देखिएका छन । उनलाई ६४ प्रतिशत जनताले मनपराएका छन भने मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई ६१ प्रतिशत जनताले मन पराएको सर्बेक्षणमा देखिएको छ ।
साथै, अमेरिकी राष्ट्रपति जो बाइडेनको बिपक्षमा ६० प्रतिशत जनता रहेको देखिएको छ भने ४० प्रतिशतले मात्रै उनलाई मन पराएका छन ।
उता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ३७ प्रतिशतले मन पराउँदा बेलायतका प्रधानमन्त्री ऋषि सुनक भने २७ प्रतिशतमा सिमित भएका छन । बहुसंख्यक जनताले बेलायती प्रधानमन्त्री सुनकलाई अस्विकार गरे झै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको पनि हालत उस्तै देखिएको छ । उनलाई त झन २४ प्रतिशत जनताले मात्रै अनुमोदन गरेका छन्।