२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

 कैलाली, ५ असाेज ।

गौरीगंगा नगरपालिका-४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र नगद १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका-४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई   प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ७० ग्रामसहित सोही महानगरपालिका-२१ कृष्ती घर भई हाल सोही महानगरपालिका-१५ फुलवारी गैह्रगाउँ बस्ने १९ वर्षीय राजन विकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

 

सुनसरी, ५ असोज ।

ईटहरी उपमहानगरपालिका-६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

रूकुम पश्चिम, ५ असोज ।

मुसिकोट नगरपालिका-६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारीलाई ३ नाल भरूवा बन्दुक, नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करिब १ मुठी, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोली जस्तो बनाएको फलामको टुक्रा १५ वटा, क्यापमा प्रयोग हुने पटाका २० रोल र बारुद २ डिब्बासहित प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हातहतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

कैलाली, ५ असोज ।

गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने लोक बहादुर खड्काको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय मनिराज महतासमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खड्क सुनार ,मुगु,५  ।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ११ रोवा गाउँका बुद्धु बुढा उमेर अहिले ६० नाघिन् । विगतमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताका लागि जति संघर्ष, सास्ती खेपिन् उनले अहिले पनि अवस्था उस्तै थियाे । विगतका ति दिनहरुलाई फर्केर हेर्दा  गुजारेकाे कष्टकर क्षण सम्झिदा उनको मन भक्कानिन्छ ।

सिटामोल पाउन पनि मुस्किल पर्ने मुगाली जनता सधैँ रोग र भोकले पीडित बनिरहे । तर, देशमा संघीयता  कार्यान्वनयनसँगै  जिल्लामा सञ्चालित संघ संस्थाले गर्दा पछिल्लो समय मुगुका नागरिक स्वास्थ्य सेवाकाे पहुँचमा पुग्न थालेका छन् ।

 

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ , ११ , र १४ वडामा बर्थिङ सेन्टर सञ्चालन भएकाले यहाँका मानिस हर्षित देखिन्छन् । अकालमा शिशु  र आमाकाे मृत्यु हुने अवस्थालाई बर्थिङ सेन्टरले अन्त्य गर्न सहयाेग गर्ने अपेक्षा स्थानीयले गरेका छन् ।

मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना कार्यक्रम अन्तर्गत रोवा प्रसूति गृह निर्माण भएपछि अब ११ नं वडाका नागरिकहरुले सहजै रुपमा सुविधा युक्त संरचनामा सुत्केरी गर्न पाउने भएका छन् ।

 

कोईका , गुर्ड नेवर्स जापानको आर्थिक सहयोग र किर्डाक नेपालको प्राविधिक सहयोगमा जम्मा ६३ लाख ६६ हजार ६ सय ७२ रुपैयाको लागतमा रोवा गाउँमा पहिलो पटक बर्थिङ सेन्टर निर्माण भएको एमसिएच प्रोजेक्ट कार्यक्रमका राजेस उपाध्यायले बताए ।

 

उनका अनुसार रोवा गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि अब यहाँका नागरिकहरुले सहजै सेवा पाउने बताए ।  छाँयानाथ रारा नगरपालिकाका उपमेयर ऐश्वर्या मल्लका अनुसार विशेष गरेर दूर्गम गाउँका महिलाहरुले गाउँ घरमा यस्ता स्वास्थ्य संस्थाहरु नहुँदा अकालमै आमा र बच्चाको ज्यान गुमाउनु परेको थियो ।

 

अब यस्तो समस्यालाई मध्येनजर गर्दे गाउँमै बर्थिङ सेन्टर बने पनि मृत्युको मुखबाट बच्ने नगर उपप्रमुख मल्लले बताइन् । अब यो बर्थिङ सेन्टरको व्यवस्थापन स्वास्थ्य सेवा चुस्त दुरुस्त बनाउन र यहाँका नागरिकहरुको स्वास्थ्य क्षेत्र आँच आउन नदिन नगरपालिकाले सहयोग गर्ने बचन दिइन् ।

 

चितवन, ५ असाेज ।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले रेडक्रसकर्मी कृष्णप्रसाद ढकाललाई मानवीय सेवा अवार्ड प्रदान गर्ने भएको छ । असोज २५ गते भरतपुरमा हुने ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड–२०८० तथा सम्मान कार्यक्रम’ मा मानवीय सेवा विधातर्फ ढकाललाई सम्मानीत गर्न लागिएको हो ।

मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले कोभिडसहितका विभिन्न असहज अवस्थामा बिरामीको उद्धार तथा रगतको प्रबन्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न ढकालले खेलेकाे भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनलाई मानवीय सेवा विधातर्फ सम्मानीत गर्न लागिएको बताए ।

 

२०३३ सालमा गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ मा जन्मिएका ढकाल हाल भरतपुर–७ स्थित श्रीकृष्ण टोलमा बस्दै आएका छन् । रक्तदान कार्यक्रम सहजीकरण समितिको जिल्ला संयोजकको रुपमा रहेका ढकालले रगतको आवश्यकता पर्ने बिरामीहरुलाई रगत जुटाउने काम गर्दै आएका छन् भने आफैँले हालसम्म ३८ पटक रक्तदान गरिसकेका छन् ।

 

नियमित रक्तदाता ढकाल नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाका निवर्तमान सभापति समेत भइसकेका छन् । उनी उपशाखा सभापति रहँदा जिल्लाका ४२ वटा उपशाखामध्ये कृष्णपुर उपशाखालाई जिल्लामै उत्कृष्ट बनाउन सफल भएका थिए । कोभिड कहरका समयमा व्यक्तिले व्यक्तिलाई छुन पनि हुँदैन भन्ने भावना विकास भइरहेको अवस्थामा ढकालले कोरोना सङ्क्रमितहरुलाई अस्पताल लैजाने ल्याउने काममा आफूलाई अग्रभागमा राखेका थिए ।

 

२०६५ सालदेखि रेडक्रसमा आबद्ध भएर विभिन्न भूमिका निभाउँदै आएका ढकाल सिर्जनशील समाज नेपालका कोषाध्यक्ष, मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यसमिति सदस्य, श्रीकृष्ण आध्यात्मिक प्रतिष्ठानका कार्यसमिति सदस्य, श्रीकृष्ण टोल विकास संस्थाका पूर्वअध्यक्ष, नेपाल परिवार नियोजन संघका आजीवन सदस्य, क्यान्सर सेवा समाजका आजीवन सदस्य छन् । भरतपुरको सिजी मलमा रहेको सिनेप्लेक्समा आयोजना हुने अवार्ड तथा सम्मान वितरण कार्यक्रमा मिडिया हाउसले जिल्लाबाट वरिष्ठ पत्रकार नवराज ढकाललाई पत्रकारिता विधातर्फ सम्मानित गर्ने जनाइसकेको छ भने थप नामहरु सार्वजनिक गर्दै जाने महाप्रबन्धक कार्कीले बताए ।

 

महाप्रबन्धक कार्कीका अनुसार अवार्ड तथा सम्मान कार्यक्रममा चितवनमा रहेर लामो समयदेखि काम गर्दै आएका व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी सम्मान गरिँदैछ । ‘चितवनमै पहिलो पटक यस प्रकारको फिल्मी अवार्ड आयोजना गर्दैछौँ’ उनले भने, ‘अवार्डको प्रचारप्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रा समेत गरिँदैछ ।’ अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटो यात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिए ।

 

देशभरबाट विभिन्न विधाका दुई दर्जन कालाकारहरुलाई सम्मान गर्ने गरी असोजको अन्तिम साताभित्र अवार्ड कार्यक्रम आयोजना हुने कार्कीले जानकारी दिए । लक्की मिडिया हाउस चितवनले यही असोज महिनामा गर्ने अवार्डको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए ।

कलाकारको योगदानको कदर गर्नेुपर्नेमा उनले जाेड दिए ।  अवार्ड वितरणका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको उनले बताए । २०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।

 

काठमाडौं, ५ भदौ ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् ।

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ प्रस्थान गर्नेछन् ।

 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा हुने १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुनेछन् । शनिबार  चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट हुनेछ ।

 

काठमाडाैं, ५ असाेज । 

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष असोज ६ गते शनिबारका दिन राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको आयोजना गरेको छ ।

 

यस मुशायरामा आदिगजलकार मोतीराम भट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै ३ जना चर्चित युवा गजलकारहरूले आआफ्ना गजलहरू तरुन्नम शैलीमा प्रस्तुत गर्नेछन् । कार्यक्रममा तनहुँका गजलकार अन्जान यात्री, धादिङकी गजलकार राधा कणेल र झापाका मिलनकुमार ढुङ्गानाको तरुन्नमका जादूमय प्रस्तुति रहनेछ ।

 

प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष  रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारका १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ । यसका अलावा १० जना गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचलकुमार शर्माले वाचन गर्ने कार्यक्रम छ ।

 

यस कार्यक्रमको मुख्य प्रायोजकमा रूपमा ग्लोबल आइएमई बैँक तथा अन्य सहयोगी एवं सहप्रयोजकहरूमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम लि., सूर्य ज्योति लाइफ इन्सोरेन्स, सूर्य नेपाल, एभरेष्ट बैंक लिमिटेड , नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट आदि रहेका छन् ।

संस्थाले आगामी २०८० कात्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमसमेत आयोजना गर्ने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए ।

 

काठमाडौं, ४ असोज  ।

चालु चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को दुई महिनामा ५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको छ । दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँ)विद्युत् निर्यात भएको हो ।

साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमश: ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट  नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए । ‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौं, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रुपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौं।’

 

काठमाडौं, ५ असोज ।

आन्दोलनरत शिक्षकहरुसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको बार्ता चार घन्टा पर सरेको छ ।

 

असोज ३ गते देखी देशैभरीका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएको थियो ।

 

बिहिबार बिहान र राती भएको बार्ता निष्कर्षबिहिन भए पछि आज बिहान ८ बजेका लागि बोलाईएको थियो । तर, सो बार्ता अब १२ बजेसम्ममा सिंहदरबारमा हुनेछ ।

 

शिक्षकहरुको मागका बारेमा सरकारले आन्तरिक छलफल गर्न अझै बाँकी रहेको भन्दै थप समय मागेपछि बार्ता १२ बजेका लागि सारिएको हो । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको अनुसार यतिखेर सरकार र आन्दोलनरत शिक्षक दुबै आन्तरिक छलफलमा जुटेका छन ।

 

सो अघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, शिक्षा मन्त्री  अशोक राइलगायतले बिहान एक चरण आन्तरिक छलफल गरेका थिए । साे छलफल पुर्ण नभए पछि थप समय माग गरिएकाे हाे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।