काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा फेरबदल गरिएको छ। ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३” ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक सरुवाका नियमहरूलाई फेरबदल गर्न लागिएको हो ।
प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि ‘एक वर्ष पूरा भएका’ र अनिवार्य अवकाश हुन ‘एक वर्षभन्दा बढी समय बाँकी रहेका’ शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवाका लागि निवेदन दिन सक्नेछन् ।
विशेष अवस्थाबाहेकका साधारण स्थायी शिक्षकहरूको हकमा यसअघि राखिएको तीनवर्षे अवधि घटाएर अब एक वर्ष सेवा अवधि पूरा भएपछि नै सरुवा गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।
यसको अर्थ अब कुनै पनि स्थायी शिक्षकले नयाँ विद्यालयमा हाजिर भएको वा नियुक्ति पाएको एक वर्षमै सामान्य रूपमा सरुवा पाउन सक्ने छैनन्। यसअघि यो तीन वर्ष पुगेपछि मात्र हुने व्यवस्था थियो । सरुवाका लागि आएका निवेदनहरूमाथि विचार गर्दा मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ ।
संशोधित नियमअनुसार “ख” र “ग” वर्गका अपाङ्गता भएका शिक्षक, अरूको सहारा बिना हिँडडुल गर्न नसक्ने फरक क्षमताका व्यक्ति, गर्भवती महिला र दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिला शिक्षकलाई सरुवामा ‘पहिलो प्राथमिकता’ दिइनेछ। अन्य सामान्य शिक्षकहरूको हकमा भने विद्यालयले नै प्राथमिकताक्रम तय गर्नेछ ।
यसैगरी, दुई विद्यालय वा शिक्षकहरूबीच हुने पारस्परिक सरुवाको हकमा पनि निवेदन दिने शिक्षकहरूको कम्तीमा एक वर्ष सेवा अवधि अनिवार्य रूपमा बाँकी हुनुपर्ने सर्त राखिएको छ। यसमा पनि यसअघि राखिएको तीन वर्षे बाध्यकारी अवधिलाई घटाएर एक वर्षमा झार्न प्रस्ताव गरिएको हो ।
नियमावलीले ‘विशेष अवस्था’ लाई पनि थप प्रस्ट्याएको छ। यसअन्तर्गत स्थायी विपद्मा परेका शिक्षक, आकस्मिक वा आपत्कालीन अवस्थाका कारण ज्यान जोगाउनुपर्ने स्थिति, वा शिक्षकको पति/पत्नी, छोराछोरी वा आमाबुवालाई गम्भीर बिरामी भई निरन्तर हेरचाह गर्नुपर्ने अवस्थालाई समेटिएको छ। यस्तो अवस्था विशेषज्ञ डाक्टर वा मानसिक स्वास्थ्य विशेषज्ञबाट प्रमाणित भएको हुनुपर्नेछ ।
यसैगरी, सरकारले तोकेको कडा रोग लागेको वा मेडिकल बोर्डले सिफारिस गरेको फरक क्षमता भएका शिक्षकले पनि यो सुविधा पाउनेछन् । नयाँ संशोधन लागू भएपछि साविकको नियमावलीमा रहेको उपनियम (१५) लाई भने पूर्ण रूपमा हटाउन प्रस्ताव गरिएको छ। एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ को एसइईको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सोमबार राति नतिजा प्रकाशन गरेको हो । यस बर्षको एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कार्यालयले केहीबेरमा एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । जसअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ । यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।
गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन दिएको थियो ।
यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको एसइई परीक्षा नियन्त्रण कार्यालयले २०८२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ ।
गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन अनुसार बैशाख २९ गतेभित्र नतिजा प्रकाशित गर्ने गरि तयारी गरिरहेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत नतिजा सार्वजनिक हुने जानकारी दिएको छ ।
कार्यालयले एसईई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ ।

सूचनाअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस,युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ। यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ।साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।
यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो ।
हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।
एभरेष्ट न्यूज एजेन्सी