२०८३ बैशाख २
२०८३ बैशाख २

 

१८ मंसिर, काठमाडौं ।

निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) उत्तीर्ण भएकालाई तत्काल आवश्यक परेको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा उत्तीर्ण भएको व्यहोरा प्रमाणित गरिदिने भएको छ ।

शिक्षक सेवा आयोगले वितरण गर्ने अनुमति पत्र छपाई गरेर वितरण गर्न अझै केही समय लाग्ने भएको भन्दै उत्तीर्ण भएका उम्मेद्वारलाई तत्काल आवश्यक परेको खण्डमा उत्तीर्ण भएको व्यहोरा प्रमाणित गरिदिन निर्देशन दिएको छ ।

आयोगले उत्तीर्ण उम्मेद्वारलाई कुनै विद्यालयबाट विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि आवेदन दिने प्रयोजन खुलाइ अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण भएको आवश्यक कागजात सहित निवेदन दिएमा आयोगको वेबसाइटमा प्रकाशित भएको नतिजासँग भिडाई न्यूनतम योग्यता पुरा भएको यकिन गरी प्रमाणित गरिदिन इकाइलाई पत्राचार गरेको छ ।

आयोगले लाइसेन्स पास गरेको परीक्षार्थीले निवेदनसहित अध्यापन अनुमति पत्र परीक्षाको प्रवेशपत्रको प्रतिलिपि, शैषिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (मान्यता प्राप्त शिक्षण संस्थाबाट माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महिने तालिम पुरा गरेको, तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता भए सो को प्रमाणको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि इकाइमा पेश गर्नुपर्नेछ ।

 

 

 

काठमाडौं,मंसिर १६     

महानगरपालिकाले करारमा काम गर्न २३० कर्मचारी मागेको छ।

शनिबार सूचना प्रकाशन गर्दै महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन कार्यका लागि २१ सुपरीवेक्षक र २०९ गणक मागेको हो।

महानगरले इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ६ गतेसम्म दरखास्त दिइसक्न भनेको छ। दरखास्त महानगरको वेभ साइटबाट दिन सकिने र शुल्क नलाग्ने महानगरले जनाएको छ।

सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रूपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ। गणकलाई मासिक  ३२ हजार ९०२ रूपैयाँ पारिश्रमिक र २ हजार रूपैयाँ इन्टरनेट खर्च तोकेको छ।

काठमाडौं महानगरपालिकाका बासिन्दा, यसअघि जनगणना वा सर्वेक्षणमा काम गरेको र महानगरपलिकाबाट विगतमा पनि सोही कार्यक्रममा छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

 

काठमाडौं  ।
पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो ।
आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विवरण आएपछि आरक्षणको लागि प्रतिशत छुट्टयाएर विज्ञापन खोल्नेछौं । आयोगले ढिलोमा पुस मसान्तसम्ममा विज्ञापन खोल्ने तयारी गरेको हो ।’
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा समन्वय इकाईले उपलब्ध गराएको विवरणअनुसार केन्द्रले रिक्त शिक्षकको तथ्याङ्क सार्वजनिक गरेको बताउनुभयोे । उहाँले रिक्त रहेको शिक्षक विवरण सच्याउन एक साताको म्याद दिएको जानकारी दिँदै भन्नुभयो– ‘एक सातापछि अन्तिम विवरण आयोगमा बुझाउनेछौं । आयोगले सोही विवरणको आधारमा रिक्त दरबन्दीको लागि विज्ञापन खुला गर्नेछ ।’ केन्द्रले तयार गरेको विवरणमा काठमाडौं, सप्तरी, महोत्तरी, कपिलवस्तु र हुम्लाको विवरण यकिन भएको छैन । केन्द्रले विवरण नदिएका यस्ता जिल्लाका हकमा एक साताको म्याद दिएर तथ्याङ्क पठाउन निर्देशन दिएको छ ।
केन्द्रले सार्वजनिक गरेको रिक्त शिक्षक विवरणअनुसार प्राथमिक तहमा सबैभन्दा बढी ३ हजार १ सय ७९, निम्न माध्यामिक तहमा ७ सय ४४ र माध्यमिक तहमा ४ सय २ पद रिक्त छ । प्रदेशगत रूपमा सबैभन्दा बढी वागमती प्रदेशमा १ हजार २ सय ४२ दरबन्दी खाली हुने छ । जिल्ला शिक्षा समन्वय इकाइ काठमाडौैंले प्राविको दरबन्दी शून्य देखाएको छ भने निमावि ५, मावि २ मात्रै दरबन्दी रिक्त भएको विवरण केन्द्रमा पढाएको छ । सुदूरपश्चिममा सबैभन्दा कम ३ सय ३१ शिक्षक पद रिक्त हुने देखिएको छ ।
कोशीमा ९ सय ९३, मधेसमा ३ सय ४९, गण्डकीमा ७ सय ७०, लुम्बिनीमा ५ सय ६४ र कर्णालीमा १ सय ७६ दरबन्दी रिक्त हुने भएको छ । केन्द्रका अनुसार माध्यमिक तहमा नेपालीमा ६३, अंग्रेजी ७०, गणित ८७, विज्ञानमा १ सय ९ र सामाजिकमा ४७ जनाको दरबन्दी खाली हुने निश्चित भएको छ । त्यस्तै, निमावितर्फ नेपालीमा १ सय १३, अंग्रेजी १ सय ६४, गणितको १७, विज्ञान १ सय ६९ र सामाजिक १ सय १९ दरबन्दी खाली हुनेभएको छ । केन्द्रले रिक्त र रिक्त हुने जिल्लाको विवरण तत्काल उपलब्ध गराउन सबै इकाईलाई परिपत्र गरेको छ ।
परिपत्रअनुसार दरबन्दी आएपछि केन्द्रले अन्तिम विवरण आयोगलाई पठाउने छ । सबै इकार्ईले चैतसम्ममा अवकास हुने शिक्षकको विवरण तयार गरी आयोगमा पठाएपछि आयोगले सोही आधारमा खुला पदको लागि विज्ञापन खोल्नेछ ।

काठमाडौँ, ८ मङ्सिर :

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल रु पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा रु पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख बराबरको आयात गरेको छ भने रु ५० अर्ब ५६ करोड ५३ लाख बराबरको मात्रै निर्यात गरेको छ । गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ७९, निर्यात सात दशमलव ६८, व्यापार घाटा तीन दशमलव ३४ र समग्र वैदेशिक व्यापार चार दशमलव १५ प्रतिशतले घटेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालु आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल रु तीन खर्ब ४७ अर्ब तीन करोड बराबरको व्यापार गर्दा रु दुई खर्ब ८१ अर्ब दुई करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । रासस

 

मंसिर ८/

नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागेको हो।

देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।

सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने  वा उम्मेदवार स्वयंम भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।

काठमाडौं,मंसिर ७, २०८० ।

नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक तथ्यांकले यस्ताे देखाएको हो ।

केन्द्रीय बैंककाे तथ्याङ्क अनुसार असोज २०८० सम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड दुई लाख ७६ हजार १६१ पुगेको छ । गत भदौ मसान्तसम्म डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९९ लाख २२ हजार ४४३ रहेको थियो ।

गत वर्ष असोजसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ४८ लाख ३९ हजार ८२० थियो । यो तथ्याङ्क हेर्दा एक वर्षको अवधिमा डिजिटल वालेट प्रयोगकर्ता ५४ लाख ३६ हजार ३४१ ले बढेका छन् ।

त्यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पनि पछिल्लो एक महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड १९ लाख ५७ हजार ६९२ थियो । असोज २०८० मा भने उक्त सङ्ख्या बढेर दुई करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ ।

यही अवधिमा गत वर्ष नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या एक करोड ९१ लाख दुई हजार ६५२ थियो । एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३१ लाख ८१ हजार ९७० ले बढेको छ ।

पछिल्लो समय इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या भने निरन्तर घट्दो छ । भदौ २०८० सम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १८ लाख ८८ हजार ३४५ थियो । असोज मसान्त सकिँदा सो सङ्ख्या घटेर १६ लाख २५ हजार ९ पुगेको छ । गत वर्ष यही अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १७ लाख ३७ हजार ८०३ थियो । एक वर्षको अवधिमा उक्त सङ्ख्या एक लाख १२ हजार ७९४ ले घटेको छ ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार असाेज महिनासम्म कनेक्ट आईपीएस प्रयोगकर्ताको सङ्ख्या ११ लाख ६० हजार ९५६ पुगेको छ । गत वर्ष यही अवधिमा कनेक्ट आईपीएसका प्रयोगकर्ताको सङ्ख्या नौ लाख ४६ हजार २९३ थियो ।

कारोबार सङ्ख्या र रकम

वालेट प्रयोगकर्ताको वृद्धिसँगै यसबाट हुने कारोबार सङ्ख्या र रकम पनि उल्लेखनीय रूपमा बढेको छ । भदौ २०८० मा वालेटबाट दुई करोड २४ लाख १४ हजार ५७६ पटक कारोबार भएको थियो । असोज २०८० मा वालेटबाट दुई करोड २६ लाख २२ हजार १७० पटक कारोबार भएको देखिन्छ । यही अवधिमा गत वर्ष वालेटबाट एक करोड ५७ लाख तीन हजार ४२ पटक कारोबार भएको थियो ।

वालेटबाट कारोबार भएको रकमको सन्दर्भमा असोज २०८० मा मात्रै २२ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्ष यही अवधिमा वालेटबाट १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । एक वर्षको अवधिमा वालेटबाट हुने कारोबारको रकम छ अर्ब २२ करोड ८० लाख रुपैयाँले बढेको छ ।

यता मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या वृद्धि भए पनि कारोबार सङ्ख्या भने एक महिनाको अवधिमा घटेको छ । भदौ २०८० मा मोबाइल बैंकिङबाट तीन करोड ४४ लाख ९३ हजार २५२ पटक कारोबार भएकोमा असोजमा तीन करोड २७ लाख ७२ हजार ८३९ पटक कारोबार भएको छ । अर्थात एक महिनाको अवधिमा मोबाइल बैंकिङबाट हुने कारोबारको सङ्ख्या १७ लाख २० हजार ४१३ ले घटेको छ । गत वर्ष सोही अवधिमा मोबाइल बैंकिङ अन्तर्गत दुई करोड नौ लाख नौ हजार ३६१ पटक कारोबार भएको थियो ।

मोबाइल बैंकिङ मार्फत हुने कारोबारको रकमको तथ्याङ्क हेर्ने हो भने उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा मोबाइल बैंकिङबाट दुई खर्ब ४२ अर्ब २६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट दुई खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । गत वर्ष सोही अवधिमा मोबाइल बैंकिङबाट एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

इन्टरनेट बैंकिङको सन्दर्भमा भने पछिल्लो समय प्रयोगकर्ता, कारोबार सङ्ख्या र कारोबारको रकम घट्दो छ । तथ्याङ्क अनुसार भदौ २०८० मा इन्टरनेट बैंकिङबाट तीन लाख २९ हजार ८८६ पटक कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट दुई लाख ७७ हजार ६०६ पटक कारोबार भएको थियो । सोही अवधिमा गत वर्ष दुई लाख ४८ हजार ६२२ पटक कारोबार भएको थियो ।

इन्टरनेट बैंकिंङमार्फत भएको कारोबार हेर्ने हो भने भदौ २०८० मा १२ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट ११ अर्ब ८० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिमा इन्टरनेट बैंकिङबाट ११ अर्ब ९५ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।

यसैगरी एक वर्षको अवधिमा क्यूआरबाट हुने कारोबारको सङ्ख्या आकर्षक रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा क्यूआरबाट एक करोड १७ लाख ९९ हजार १७५ पटक कारोबार भएको थियो । असोज २०८० मा क्यूआर माध्यमबाट एक करोड १८ लाख ८३ हजार १०० पटक कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिमा क्यूआर माध्यमबाट ३५ लाख ६५ हजार ४५५ पटक कारोबार भएको थियो ।

क्यूआरबाट भएको कारोबार रकमका सन्दर्भमा असोज २०८० मा ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्ष सोही अवधिमा क्यूआर माध्यमबाट १५ अर्ब ७८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । टेकपाना

 

 

लमजुङ ५ भदौ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका १ सय ३८ जनाले रोजगारी पाएका छन् ।

 

गत आर्थिक बर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगार सूचिमा दर्ता भएका मध्ये पालिका भित्रका १ सय ३८ जनाले रोजगारी पाएका हुन् ।

 

गत आर्थिक बर्ष २०७९/०८० मा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत ३२ वटा पुर्वाधार विकास, सिढी निर्माण लगायतका योजनाहरु रहेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताए ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक बर्ष २०७९/८० मा ८२ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ । पालिमा सुचिकृत बेरोजगारका संख्या १ हजार ५ सय १३ जना रहेका छन् ।

 

काठमाडाैं, २३ साउन ।

मकवानपुर, बाँके र कास्कीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । मकवानपुरकाे मनहरी गाउँपालिका-७ पेन्चेबाट अवैध लागूऔषध गाँजा १० किलो ९ सय ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-८ बस्ने ३० वर्षीय तुल बहादुर रुम्बा र उनकै श्रीमती निर कुमारी मोक्तान रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय प्रमोद गिरी र ४३ वर्षीय कलामुदिन शेख रहेका छन् ।

 

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.४ प २१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई चालकले हेलमेटभित्र लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कास्कीकाे  पोखरा महानगरपालिका-१० औद्योगिक क्षेत्रबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५ मिलिग्राम र भारतीय रूपैयाँ २८ हजारसहित सोही महानगरपालिका-११ फुलबारी बस्ने अर्घाखाँची भएका ३० वर्षीय बलेन्द्र भन्ने मनोज आलेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो ।

 

 

आरके श्रीवास्तव,रौतहट,असार २४ गते

रौतहट–रोजगारीको राम्रो सम्भावना बोकेको ह्याचरी उद्योगलाइ प्रोत्साहन गर्ने हो भने यस बाट धेरैले रोजागरी पाउने छन् । यसको प्रत्यक्ष उदाहरण हो फतुवा बिजयपुर नगरपालिकामा रहेको एक ह्याचरी उधोग । जिल्लाको फतुवा बिजयपुर–८ मा अबरारुल हकले हाँस,बट्टाइ लगायतको चल्ला उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

उनको कासमी कृषि तथा पोल्ट्री प्रा.लि. अहिले सञ्चालनमा छ । उनले अहिले हाँस,बट्टाइ,टर्की,लोकल कुखुराको चल्ला,गिरिराज कुखुराको चल्ला र परेवा पाइनु को साथै पोल्ट्री जन्य सामाग्री उत्पादन गरेर मधेश प्रदेशका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेका छन् ।

उनले चल्ला उत्पादनबाट हरेक महिना १ लाखदेखि २ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताउँछन् । २०६३ सालदेखि पोलट्री व्यवसायमा लागे अबरारुलले अन्य ठाउँमा यो व्यवसाय राम्रो गर्दै गएको प्रभावित भएर ह्याचरी सञ्चालनमा ल्याएको बताउँछन् ।

ह्याचरीमा उत्पादित चल्ला रौतहट,बारा,पसाका साथै सर्लाही,महोत्तरी,धनुषा सम्म बजार प्रतिनिधी मार्फत बिक्री वितरण गराउने गरेका छन् । बाहिरका व्यापारीहरू पनि चल्ला खरीदको लागि उनको ह्याचरीमा आउन गरेको बताउँछन् ।

ह्याचरी उद्योग नहुँदा यहाँका पोल्ट्री सामाग्रीका लागि किसान व्यवसायीले चितवन सहित अन्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता थियो । तर स्थानीयस्तरमै ह्याचरी उद्योगबाट हाँस लगायतका चल्ला उत्पादन भएपछि किसानलाई सुविधा भएको छ । १० वर्ष पेशा बाट पलायन भएका अबरारुल पुनः फर्किए वि.स. २०६३ सालमा ब्रोइलर फार्म सुरु गरेका उनी १० वर्ष जति पेशा बाट पलायन भए । बिचबिचमा कुखुरापालन गर्दै छोड्दै आएका थिए ।

कारण थियो कहिले व्यवसायमा घाटा हुनु कहिले नाफा हुनु । जसरी त्यसरी पारिश्रमीक निस्किन्थ्यो । उनी भन्छन् कुखुरापालन व्यवसाय बाट राम्रो आम्दानी गर्न सकिन्छ भने आश थिएन् । पछि वि.स. २०७५ साल मा पुनः यस पेशामा फर्किएको सुनाउँछन् । वि.स.२०७७ साल देखि देखि चल्ला उत्पादनको काम सुरु गरेका बताए । तत्पश्चात् राम्रै आम्दानी गरेको छु ।

महिनाको लाखौं आम्दानी गरेको छु । सबै खर्च काटेर राम्रै आम्दानी हुन्छ । यदी अनुदानहरु सहयोग पाए भने ह्याचरी उधोगलाइ मधेश प्रदेशमै नमुना बनाउने उनको सोच छ । उधोगलाइ विस्तार गर्ने उनको योजना रहेको सुनाउ छन् । यदि ठूलो उधोगको रुपमा परिणत भयो भने १२ जनाको ठाउँमा १००÷२०० जनाले रोजगारी पाउन सक्ने उनको भनाइ छ ।

महिनाको ६० हजार सम्म कमाउँछन् बजार प्रतिनिधी ४ लाखको व्यत्तीगत लगानीमा सञ्चालनमा रहेको ह्याचरी उद्योगमा तिन जना कामदार छन् । भने करिब १ दर्जन जति बजार प्रतिनिधीहरु छन् । स्थानिय सरकार फतुवा बिजयपुर नगरपालिकाबाट अनुदानको सहयोगमा उनको लगानी कारोबार अहिले ४० लाख सम्म पुगेको छ ।

उनले व्यवसाय सञ्चालनको लागि काँही कतै बाट ऋणलिएका छैन्न् । बजार प्रतिनिधीको रुपमा काम गर्ने ऐनुल हक भन्छन् चल्लाहरु बेचेर महिनाको ६० हजार सम्म कमाउँछौ । अन्त कामउन जानुपरेको छैन् । अर्का एक जना बजार प्रतिनिधी नुर आलमको पनि त्यस्तै भनाइ छ ।

हामी दैनिक रुपमा मोटरसाइकिलमा चल्ला लोड गरी मधेश प्रदेशको विभिन्न ठाउँमा बिक्रि गर्न निस्किन छौं । बेलुका आएर साहु सँग हिसाब किताब सबै काँटछाँट गरेर महिनामा त्यती आम्दानी गर्ने गरेका छौं । सम्बन्धित निकाय बाट के के पाए अबरारुलले? स्थानिय सरकारबाट केही अनुदान बाहेका काँही कतै बाट केही सहयोग नपाएको उनी बताउँछन् ।

प्रदेश र संघ सरकार बाट केही सहयोग नपाएको गुणासो गरे । पशु सेवा शाखा फतुवा बिजयपुर शाखाका प्रमुख दयाराम यादव सँग बुझदा यस वर्ष ह्याचरी उत्पादन गर्ने किसानको लागि केही कार्यक्रम नभएपनि माछा पालन गर्ने किसानको लागि आएको जानकारी गराए ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर प्राविधिक सहायक सूचना अधिकारी जादोलाल साह सँग सोध्दा जिल्ला बाट ह्याचरी उधोगीका लागि जिल्ला बाट केही कार्यक्रम नभएपनि क्षेत्रीय निर्देशनालय बाट अनुदानको लागि रकम आएपनि फ्रि भएको जानकारी गराए ।

यता पशुपन्छी तथा मत्सय विकास निर्देशनालय मधेश प्रदेशका प्रमुख जागेश्वर यादव सँग सोध्दा हाँसको ह्याचरी स्तरोन्ती कार्यक्रम सञ्चालनका लागि आएपनि बजेट रोक्का भएका कारण कार्यक्रम सञ्चालन हुन नसकेको जानकारी गराउनु भयो । तर हामीले ह्याचरी सञ्चालन गर्ने व्यवसायीहरु लाइ प्राविधिक मार्फत निःशुल्क सेवा दिइरहेका छौं ।

कुनै व्यवसायीलाइ सहयोगको आवश्यकता परे निर्धक्क भएर सम्पर्क गर्न आग्रह गर्नु भयो । ह्याचरी उधोग सञ्चालन गर्न यस्तो छ चुनौती ह्याचरी उधोग सत्तचालन गर्न धेरै चुनौती रहेको उनी बताउँछन् । बजारीकरणको समस्या छ । चल्ला उत्पादन गरेपछि आफैले लगेर बेच्नु पर्ने बाध्यता छ । काँहिकतै बाट अनुदान पाउँदैन् । अर्को समस्या बिधुतको रहेको बताए ।

१ घण्टा लाइन कटयो भने ४ सय सम्मको डिजल खपत हुन्छ । जसकारण हामी लाइ घाटा हुन्छ । यसको पनि ठोस् उपाय गरियो भने राम्रो हुन्थ्यो । उनी भन्छन् फतुवा बिजयपुर नगरपालिकाको अनुदान सहयोगमा यहाँ सम्म पुग्न सफल भएको छु ।

तर अझै ठूलो रुपमा काम गर्नको लागि मेसिनहरु ख्रिद गर्न पाइयो भने सयांै जना लाई राम्रो रोजगारी दिन सकिन्थ्यो । म जस्ता वास्तविक किसान फर्म वालाले जिल्ला ,प्रदेश बाट अनुदान नपाएको गुणासो गरे । नगरपालिका बाट थोरै अनुदान पाएर राम्ररी चालाउन कठिन छ मथिल्लो निकायको ध्यानाकर्षण होस् भनि उनी चाहन्छन् ।

         

 

आरके श्रीवास्तव,रौतहट,१४ गते असार

रौतहटको एक घरपरिवारका सबै सदस्य च्याउ खेती गरिरहेको पाइएको छ । जिल्लाको कटहरिया नगरपालिकाका एक किसान जसको पुरै परिवारका सदस्य च्याउ खेतीमा संलग्न छन् । सो नगरपालिकाको वडा नम्बर ४ बलिरामपुरका किसान सुदिन मियाँको परिवारको दिनचर्या नै फेरिएको छ ।

घरायसी काम बाट फुर्सद निस्किएपछि उनको परिवार च्याउ खेती भएको स्थान तर्फ लागछन् । बिगत आठ वर्ष देखि च्याउ खेतीलाई निरन्तरता दिदै आएका मियाँ अहिले आफ्नै कटहरिया च्याउ उधोग दर्ता गराएर व्यवसाय गरिरहेका छन् । जिल्लाको चर्चित बजार कटहरियामा च्याउ खेती गरेर राम्रै आम्दानी गरिरहेको बताउँछन् । उनले मासिक ५० हजार देखि १ लाख कामाउँछन् ।

च्याउ खेती गरि राम्रो आयआर्जन गरेर उनी अहिलेका युवापुस्ताहरूको लागि उदाहरणीय बनेका छन् । हेर्दा मियाँ उमेरले पाका देखिन्छन् । बि.स.२०७२ साल देखि उनी यो खेती सुरु गरेका थिए । सुरुआतमा उनले ५० हजार लगानी गरेर च्याउ उत्पादन गर्न थाले ।

रेडक्रस सोसाइटिले आयोजना गरेको च्याउ खेती तालिमबाट प्रभावित बनेर उनी यस तर्फ लागेको सुनाए । तालिम पछि च्याउ खेती गर्ने रहर जाग्यो र उनी अहिले ४ कठ्ठा क्षेत्रफलमा च्याउ खेती गरिरहेका छन् । उनले उत्पादन गर्ने च्याउ भनेको कन्ने च्याउ हो । उनले दुइ वटा घर निर्माण गरेर च्याउ खेती गरिरहेका छन् । अहिले उनी घर परिवारको खर्चको व्यवस्था गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

च्याउ बिक्रीका लागि व्यवस्थित बजार नहुँदा समस्या हुने गरेको बताउँछन् । मियाँले च्याउ खेती गरेको ८ वर्षभयो । च्याउ खेती अझै फस्टयाउने उनकोे योजना रहेको उनले जानकारी गराए । मियाँले घरपरिवारको अलावा अन्य ५ जनालाई च्याउ उत्पादन भएको बेला रोजगारी समेत दिने गरेका छन् ।

‘च्याउखेतीबाट खर्च कटाएर मासिक ५० हजार देखि १ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने, ‘अहिले प्रतिकिलो २ सयका दरले च्याउ बिक्री हुने गरेको छ ।’ आफ्नै लगानीमा च्याउ खेती अहिले देशमा तिन तहको सरकार छ । सबभन्दा नजिकको सरकार स्थानिय सरकार हो ।

तर मियाँ लाई कसैले पनि सहयोग नगरेपछि उनलै आफ्नै लगानीमा च्याउखेती गरेका हुन् । आर्थिक मन्दीको असर उनलाइ पनि परेको छ । बैंक बाट ऋण लिएर व्यवसाय फस्टयाएका उनलाइ बैंकले ब्याजदर बढाउँदा समस्या परेको छ । किस्ता बुझाउन समस्या परि रहेको दुःखेसो गरे ।

स्थानिय सरकारले आफूलाइ सहयोग गर्छ भन्ने अपेक्षा छ ।

कटहरिया नगरपालिकाको यस अघिका नगर प्रमुख सियाराम कुश्वाहाले च्याउ खेतीका लागी आफूलाई दुई लाख रुपैयाँ सहयोग गरेको किसान मियाले बताउनु भयो ।
साथै प्रदेश सरकारबाट ५० प्रतिशत अनुदान फ्रि पाएको उनले बताए । यसका अलावा काही कतैबाट सहयोग नपाएको उनको भनाई छ ।

च्याउको बिउ पनि गर्छन् उत्पादन

बिउ उत्पादन पनि आफैंले सुरू उनी बताउँछन् । च्याउको बिउ उत्पादन गर्ने मेसिन नै खरिद गरेर बिउ उत्पादन गर्ने गरेका छन् । तर जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले आफूले उत्पादन गरेको बिउको प्रोत्सान नगरिदिँदा समस्या हुने गरेको गुणासो गरे । मिहिनेत गर्न सके च्याउ खेती बाट राम्रै आम्दानी गर्ने सकिने उनको ठम्याइ छ ।

मियाँ भन्छन् विदेश जाने पैसा यही लगानी गरी व्यवसाय सुरु गर्ने हो भने घर परिवार सँग बसेर राम्रै आम्दानी गर्न सकिन्छ ।

के भन्छन् सम्बन्धित निकाय?

चयाउ खेती प्रवद्र्धनका लागि स्थानिय सरकारले कस्ता कार्यक्रम ल्याएको छ । यस बारे कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल सँग सोध्दा च्याउ खेतीकै लागि भनेर कुनै ठोस् कार्यक्रम नभएपनि कृषि विधुतीकरणको लागि बजेट छुट्टयाएको जानकारी गराए ।

कृषि मिटर भन्ने नगरभरी फ्रि गरिएको उनको भनाइ छ ।

च्याउ खरिद गरिरहेका कटहरिया ८ का उपभोक्ता शिवनाथ यादव भन्छन् पहाड तिर पाइने च्याउ हाम्रै क्षेत्रमा उत्पादन भइ खरिद गर्न पाएपछि खुशि छौ । त्यस्तै कटहरिया वडा नम्बर १ का उपभोक्ता योगेन्द्र कुशवाहाका अनुसार कटहरियामा नै उत्पादन हुन थालेपछि हामी बिहान बिहानै ताजा च्याउ खरिद गरी खान पाएका छौं ।

यो सबै हाम्रो लागि खुशिको खबर नै छ ।

यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश सरकारका सचिव डा.नम्रता सिंह सँग प्रदेश सरकारले च्याउ प्रवद्र्धनका लागि कस्ता खालका कार्यक्रम ल्याएको छ भनि सोध्दा प्रदेश सरकारले प्रत्येक जिल्ला स्थित रहेको कृषि ज्ञान केन्द्र मार्फत नार्क बाट उपलब्ध गराएको च्याउको बिउँ ७५ प्रतिशत अनुदानमा बिउँ वितरण गरेको जानकारी गराउनु भयो । साथै उनले प्रदेश सरकारले बाली संरक्षण प्रयोगशाला मार्फत बिउँ उत्पादन गराउने लक्षय छ ।

जुन यसपाली देखि हुन सकेन् अर्को आ.व. देखि उत्पादन गरिने छ । त्यस्तै आगामी वर्ष देखि च्याउ उत्पादन र प्रवद्र्धन कार्यक्रम चलाउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी गराइन् ।

कृषि ज्ञान केन्द्र गौरका प्रमुख हरिशंकर साह सँग सोध्दा रौतहटमा ५ देखि ६ मेट्रिक टन च्याउको माग रहेको जानकारी गराउनु भयो ।

जसमा ८ मेट्रिक टन सम्म उत्पादन भइरहेको उनको भनाइ छ । माग भन्दा आपूर्ती नै बढी रहेको वहाँ भन्नु हुन्छ । यहाँको च्याउ सर्लाही लगायत अन्य ठाउँमा जाने गरेको उनी बताउँछन् । यहाँको किसानले नै च्याउको बिउँ उत्पादन गर्ने गरेकोले अन्य ठाउँ बाट ल्याइदैन् ।

              

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।