२०८३ असार २७
२०८३ असार २७

काठमाडौ, २० साउन

। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

 

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५% अर्थात् १६ लाख ६० कित्ता र स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

 

यसमा कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ । कम्पनीले यसअघि जारी पुँजी ८० करोड रुपैयाँको १०% अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

 

यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

 

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

काठमाडौं, १९ साउन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता चौधरीले सहकारी सम्बन्धित् समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्क्रिय रहेको कार्यविधि तथा ऐन कार्वान्वयनमा लैजाने भएकी छिन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यवस्था भए पनि निष्क्रिय बन्दै आएको विभिन्न ऐन तथा कार्यविधिहरु तत्काल कार्वान्वयनमा लैजान मन्त्री चौधरीले निर्देशन दिएकी हुन् ।

 

मन्त्री चौधरीलेको निर्देशनसँगै कर्जा सूचना केन्द्र, बचत सुरक्षण कोष, असुली न्यायाधीकरण, सहकारी समस्या समाधान सुझाव कार्यदल, उच्चस्तरीय प्राविधिक समिति, क्रेडिट युनियन याक्ट (सियुए) लगायत कार्यविधि कार्वान्वयन गरिने भएको छ ।

 

कार्यान्वयनमा आउने कार्यविधिहरु मध्य समस्यामा परेका सहकारी पीडितहरुलाई बचत सुरक्षण कोषले तत्काल राहत दिने मन्त्री चौधरी    बताउँछिन् । ‘बचत सुरक्षण कोष भनेको यदी कुनै बचतकर्ताको रकम सहकारीमा डुबेको छ, उसले सहकारीमार्फत् फिर्ता पाउन सकेनन् भने यस कोषमार्फत् सरकारले उपलब्ध गराउनेछ र सहकारीबाट सरकारले लिनेछ’, मन्त्री चौधरीले भनिन् ।

 

मन्त्रालयले अर्थको सहमति लिएर उक्त कार्यविधिहरु कार्वान्वयनका लागि मन्त्रिपरिषदको निर्णय गराउन लैजाने चरणमा छ । आगामी दुई महिना भित्रै आवश्यक सम्पूर्ण आन्तरिक तयारी पूरा गरेर सहकारी पीडितहरुलाई सरकारले नै पाउनुपर्ने रकम उपलब्ध गराउने मन्त्री चौधरी बताउँछिन् ।

 

अन्य कार्यविधिहरु भने सहकारी पिडितहरुको दिर्घकालिन समस्या समाधानका लागि अतिउपयोगी रहनेछ । ‘अहिले हामीले कार्यान्वयनमा लैजान लागेका ऐन तथा कार्यविधिहरुका कारण सहकारीमा हुने समस्या र त्यसबाट पीडित हुने सम्भावनाको निर्मूल हुने कुरामा हामी विश्वत छौँ । यही कुरामा ढुक्क भएर नै सहकारी पीडितहरुले लामो समयदेखि जारी राख्नु भएको आन्दोलन स्थगित गर्नु भएको छ’, मन्त्री चौधरीले भनिन् ।

 

माइतीघरमा करिब २ महिनादेखि आन्दोलनमा रहेका सहकारी पीडितले बिहीबारदेखि आन्दोलन स्थगित गरेका छन् । सिंहदरबारमा भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चौधरीले, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेसमेतको उपस्थितिमा मन्त्रालयमा छलफल भएपछि पीडितसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ ।

काठमाडौ, १९ साउन ।

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले साउन २३ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री गरिसकेको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

 

यस कम्पनीले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याउने छ । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

 

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ ।

 

रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

काठमाडौ, १९ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सानिमा बैंकको खुद नाफा २५.१३ प्रतिशतले बढेर २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढ्न सहयोग पुगेको हो ।

 

खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब ६५ करोड १७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

 

असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १५.३४ प्रतिशतले घटेर १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सानिमा बैंकको प्रतिसेयर लाभांश दिने क्षमता १७.७३ प्रतिशत छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।

काठमाडौ, १९ साउन ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर शुक्रबारबाट बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ५० हजाार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।  लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ थापाथलीस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म तोकिएको छ।

काठमाडौ, १९ साउन ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको नाफा ९.९१% ले वृद्धि भएको हो । यसअबधीमा खुद ब्याँज आम्दानीमा सुधार भएपछि खुद नाफा पनि बढेको देखिएको छ । खुद ब्याज आम्दानी २३.९७% ले बढेर ८ अर्ब १७ करोड रुपैयाँ नाघेको छ ।

 

खुद फि तथा कमिसन आम्दानीमा पनि सामान्य सुधार भएको छ । जसका कारण सञ्चालन नाफा ९.८३% ले बढेर ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ । यता, कम्पनीको रिजर्भ कोष बढेर १० अर्ब नाघेको छ । खराब कर्जा भने अघिल्लो वर्ष १.०७% रहेकामा अहिले बढेर २.०१% पुगेको छ ।

 

इक्विटीमा प्रतिफल (आरओई) र सम्पतिमा प्रतिफल (आरओए) क्रमशः १३.५६% र १.१६% रहेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ छ ।

काठमाडौ, १९ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ह्वातै बढेको छ ।

 

एक वर्षको अबधीमा खुद नाफा १३२.२३% ले बढेर २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअबधीमा यस कम्पनीले ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

यसअबधीमा खराब कर्जा ह्वातै घटेको र सञ्चालन नाफा बढेको कारण खुद नाफा बढेको हो । खराब कर्जा ६.७३% ले घटेर १.८३% मा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीको खराब कर्जा ८.५६% थियो । सपोर्ट लघुवित्तको खराब कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम नछुट्याएका कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो ।

 

सञ्चालन नाफा ४२.०१% ले बढेर १ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ११.२४% ले घटेर ७ करोड २ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।

काठमाडौ, १९ साउन ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबार साउन १९ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमय दर सार्बजनिक गरिएकाे छ ।

 

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम रहेकाे छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसामा काराेबार हुनेछ ।

 

राष्ट्र बैंककका अनुसार चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ४१  पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा  कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६५ रुपैयाँ कायम गरिएकाे छ ।

 

काेरियन सय वन को १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर १ को १२ रुपैयाँ २९ पैसा हुदाँ बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २३ पैसा र बिक्री दर १६७ रूपैयाँ ९९ पैसामा खरिदबिक्री हुनेछ ।

 

बहराइनको दिनार १ को खरिद गर्दा ३५० रुपैयाँ २८ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८७ पैसा, कुवेती दिनार १ को ४२९ रुपैयाँ २८ पैसा र विक्रीदर ४३१ रुपैयाँ २३ पैसा, युएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९५ पैसा, कतारी रियाल १ को ३६ रुपैयाँ २६ पैसा कायम गरिएकाे राष्ट्रबैंकले जनाएकाे छ ।

काठमाडौ, १८ साउन ।

नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो।

काठमाडौं, १८ साउन ।

सहकारी पीडिसँग सरकारले ७ बुँदे सहमती गरेको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएमो हो।

 

यससँगै माइतीघरमा दुई महिनादेखि आन्दोलनमा रहेको सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणी दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरेको उपस्थितिमा मन्त्रालयमा छलफल भएको थियो।

 

सहकारी पीडित र सरकारबीच सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

 

ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने सहमति भएको बताइएको छ।

 

सहकारले सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिका नामबाट माइतीघर मण्डलामा अनसन र धर्ना बसिरहेका सहकारी संस्थाका बचतकर्ता सदस्यहरुको मागहरुमाथि छलफल गरेर ७ बुँदे सहमति गरेसँगै सहकारी संस्थाका वचतकर्ता सदस्यहरुबाट माइतीघर मण्डलामा जारी अनसन र धर्ना पनि मंगलबारदेखि नै स्थगित भएको हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।