२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

 

काठमाडौँ मंसिर २०,/ 

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ तथा गोलभेँडा सानो (लोकल)को १५ रुपैयाँ रहेको छ ।

यस्तै लोकल बन्दाको ५०, काउली स्थानीयको १५, मुला रातोको ३०, स्कुसको १५, तामाको १००, केरा दर्जनको १५० रुपैयाँ रहेको छ।

 

काठमाडौं, १९ मंसिर ||

पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो । सोमवार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर मंगलवार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । तर सुनको मूल्य अझै बढ्ने व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ । नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रुपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो ।

तर पछिल्लो दुई हप्ता लगातार रुपमा सुनको मूल्य उच्च रुपमा बढिरहेको छ । तर मंगलवार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दि बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिदाँ विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दि, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेको कारण लगानीकर्ताहरुको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताउनु भयो । उहाँले दुई, तीन हप्तादेखि उच्च रुपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारीक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताउनु भयो ।

उहाँले विश्व ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रुपमा सुनमा लगानी गरेको बताउनु भयो । उहाँले विश्वका लगानीकर्ताहरुले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रुपमा बढेको दाबी गर्नुभयो । संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्व बैंकले कही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताउनु भयो।

उहाँले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलवार मूल्यमा गिरावट आएको बताउनु भयो । उहाँले नेपाली बजारमा पनि त्यसैको असर देखिएको बताउनु भयो । उहाँले नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताउनु भयो ।

 

१८ मंसिर, काठमाडौं ।

निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) उत्तीर्ण भएकालाई तत्काल आवश्यक परेको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा उत्तीर्ण भएको व्यहोरा प्रमाणित गरिदिने भएको छ ।

शिक्षक सेवा आयोगले वितरण गर्ने अनुमति पत्र छपाई गरेर वितरण गर्न अझै केही समय लाग्ने भएको भन्दै उत्तीर्ण भएका उम्मेद्वारलाई तत्काल आवश्यक परेको खण्डमा उत्तीर्ण भएको व्यहोरा प्रमाणित गरिदिन निर्देशन दिएको छ ।

आयोगले उत्तीर्ण उम्मेद्वारलाई कुनै विद्यालयबाट विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि आवेदन दिने प्रयोजन खुलाइ अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण भएको आवश्यक कागजात सहित निवेदन दिएमा आयोगको वेबसाइटमा प्रकाशित भएको नतिजासँग भिडाई न्यूनतम योग्यता पुरा भएको यकिन गरी प्रमाणित गरिदिन इकाइलाई पत्राचार गरेको छ ।

आयोगले लाइसेन्स पास गरेको परीक्षार्थीले निवेदनसहित अध्यापन अनुमति पत्र परीक्षाको प्रवेशपत्रको प्रतिलिपि, शैषिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (मान्यता प्राप्त शिक्षण संस्थाबाट माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) वा सो सरहको परीक्षा कम्तिमा २०० पूर्णाङ्क वा ८ क्रेडिट आवर उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा दश महिने तालिम पुरा गरेको, तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता भए सो को प्रमाणको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि इकाइमा पेश गर्नुपर्नेछ ।

 

 

काठमाण्डाै,मंसिर १८,/ 

– रुसी सेनामा भर्ना भएका ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि भएकाे छ । परराष्ट्र मन्त्रालयले आज साेमवार एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि गरेकाे हाे ।

ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाकाे पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।

नेपाल सरकारले ज्यान गुमाएकाहरूकाे शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई आग्रह गरेकाे छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।

रुसी सेनामा भर्ना भई अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक पहल भइरहेकाे पनि मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

 

 

काठमाडौं,मंसिर १६     

महानगरपालिकाले करारमा काम गर्न २३० कर्मचारी मागेको छ।

शनिबार सूचना प्रकाशन गर्दै महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन कार्यका लागि २१ सुपरीवेक्षक र २०९ गणक मागेको हो।

महानगरले इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ६ गतेसम्म दरखास्त दिइसक्न भनेको छ। दरखास्त महानगरको वेभ साइटबाट दिन सकिने र शुल्क नलाग्ने महानगरले जनाएको छ।

सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रूपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ। गणकलाई मासिक  ३२ हजार ९०२ रूपैयाँ पारिश्रमिक र २ हजार रूपैयाँ इन्टरनेट खर्च तोकेको छ।

काठमाडौं महानगरपालिकाका बासिन्दा, यसअघि जनगणना वा सर्वेक्षणमा काम गरेको र महानगरपलिकाबाट विगतमा पनि सोही कार्यक्रममा छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

 

काठमाडाैं,२०८० मङ्सिर १३ 

नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिरमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथिका रूपमा प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइएको छ । सम्मेलन युएईस्थित नेपाली राजदूतावासको सहयोगमा हुन लागेको महासंघले जनाएको छ ।

सम्मेलनमा दुवै देशका करिब सयजना उद्यमी–व्यवसायीको उपस्थिति रहने बताइएको छ । उक्त सम्मेलनमा दुुवै देशबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ । सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरूमा निर्यात प्रवद्र्धनमा सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे । उनले भने, ‘सम्मेलनबाट ऊर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास छ ।’

यसअघि महासंघले प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरेको थियो । दुबईमा आयोजना हुने व्यावसायिक सम्मेलनपछि अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अबुधाबीमा आयोजना हुने जलवायुसम्बन्धी विश्वसम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम रहेको छ । नयाँ पत्रिका

काठमाडौँ, १२ मङ्सिर :

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार एक सय ५० कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य रु एक हजार पाँच सय निर्धारण भएको छ । रासस

 ११ मंसिर २०८०,काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार  भइरहेकाे जनाएकाे छ  ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार हिजोको तुलनामा मूल्य बढेसँगै आज १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ थियो । न्यूज अफ नेपाल

 

काठमाडौं  ।
पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो ।
आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विवरण आएपछि आरक्षणको लागि प्रतिशत छुट्टयाएर विज्ञापन खोल्नेछौं । आयोगले ढिलोमा पुस मसान्तसम्ममा विज्ञापन खोल्ने तयारी गरेको हो ।’
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा समन्वय इकाईले उपलब्ध गराएको विवरणअनुसार केन्द्रले रिक्त शिक्षकको तथ्याङ्क सार्वजनिक गरेको बताउनुभयोे । उहाँले रिक्त रहेको शिक्षक विवरण सच्याउन एक साताको म्याद दिएको जानकारी दिँदै भन्नुभयो– ‘एक सातापछि अन्तिम विवरण आयोगमा बुझाउनेछौं । आयोगले सोही विवरणको आधारमा रिक्त दरबन्दीको लागि विज्ञापन खुला गर्नेछ ।’ केन्द्रले तयार गरेको विवरणमा काठमाडौं, सप्तरी, महोत्तरी, कपिलवस्तु र हुम्लाको विवरण यकिन भएको छैन । केन्द्रले विवरण नदिएका यस्ता जिल्लाका हकमा एक साताको म्याद दिएर तथ्याङ्क पठाउन निर्देशन दिएको छ ।
केन्द्रले सार्वजनिक गरेको रिक्त शिक्षक विवरणअनुसार प्राथमिक तहमा सबैभन्दा बढी ३ हजार १ सय ७९, निम्न माध्यामिक तहमा ७ सय ४४ र माध्यमिक तहमा ४ सय २ पद रिक्त छ । प्रदेशगत रूपमा सबैभन्दा बढी वागमती प्रदेशमा १ हजार २ सय ४२ दरबन्दी खाली हुने छ । जिल्ला शिक्षा समन्वय इकाइ काठमाडौैंले प्राविको दरबन्दी शून्य देखाएको छ भने निमावि ५, मावि २ मात्रै दरबन्दी रिक्त भएको विवरण केन्द्रमा पढाएको छ । सुदूरपश्चिममा सबैभन्दा कम ३ सय ३१ शिक्षक पद रिक्त हुने देखिएको छ ।
कोशीमा ९ सय ९३, मधेसमा ३ सय ४९, गण्डकीमा ७ सय ७०, लुम्बिनीमा ५ सय ६४ र कर्णालीमा १ सय ७६ दरबन्दी रिक्त हुने भएको छ । केन्द्रका अनुसार माध्यमिक तहमा नेपालीमा ६३, अंग्रेजी ७०, गणित ८७, विज्ञानमा १ सय ९ र सामाजिकमा ४७ जनाको दरबन्दी खाली हुने निश्चित भएको छ । त्यस्तै, निमावितर्फ नेपालीमा १ सय १३, अंग्रेजी १ सय ६४, गणितको १७, विज्ञान १ सय ६९ र सामाजिक १ सय १९ दरबन्दी खाली हुनेभएको छ । केन्द्रले रिक्त र रिक्त हुने जिल्लाको विवरण तत्काल उपलब्ध गराउन सबै इकाईलाई परिपत्र गरेको छ ।
परिपत्रअनुसार दरबन्दी आएपछि केन्द्रले अन्तिम विवरण आयोगलाई पठाउने छ । सबै इकार्ईले चैतसम्ममा अवकास हुने शिक्षकको विवरण तयार गरी आयोगमा पठाएपछि आयोगले सोही आधारमा खुला पदको लागि विज्ञापन खोल्नेछ ।

 

नवलपरासी  मंसिर ८,/

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन नगरपालिकालाई पत्राचार गरेको हो ।

आयोगको बुटवल कार्यालयले नवलपरासीको सुनवल नगरपालिकालाई शुक्रवार पत्र लेख्दै नगरपालिका क्षेत्र अन्तर्गतको जनसेवा माविको जग्गामध्ये १५ कठ्ठा नम्बरी जग्गा गैरैले दर्ता गरी बिक्री गरेको खुल्न आएको दाबी गरेको छ । अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइ आफ्नो निर्णय कार्यान्वयन गराउन भनेको छ ।

गैरे एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनी गत प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं. २ ‘क’बाट एमालेबाट पराजित भएका थिए ।

विद्यालयका नाममा साविक सुनवल गाविस–६ ‘ख’को कित्ता नम्बर ११ को ४ बिघा १८ कठ्ठा १८ धुर जग्गा रहेको छ । सोही जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले अतिक्रमण गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगले छानबिन गर्दा उक्त जग्गा उनले अतिक्रमण गरी बिक्री गरेको भन्ने खुल्न आएको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र ९७ बमोजिब छानबिन गरी कारबाही गर्न नगरपालिकालाई आयोगले पत्राचार गरेको हो ।

गैरेले अतिक्रमण गरी बिक्री गरेको भनिएको जग्गा सोधखोज गर्दा उक्त जग्गा गैरेकी श्रीमती लीलादेवी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट दर्ता गरी लिएको मालपोत  कार्यालयको श्रेस्तामा देखिएको छ । श्रेस्ताअनुसार विद्यालयसँगै जोडिएको ८ कठ्ठा जग्गा गैरेकी श्रीमती लीलादेवीको नाममा तत्कालीन लुम्बिनी बसोबास कम्पनीको मिति २०४६ जेठ ९ को निर्णयअनुसार सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीले २०५८ असार २० गते दर्ता गरेको देखिएको छ ।

विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमिल्सिनाले विद्यालयका नाउँमा रजिष्ट्रेसन पास भइसकेपछि खोजबिन गर्ने क्रममा उक्त जग्गा अतिक्रमण भएको पाइएको बताए । २०३४ सालदेखि उक्त जग्गा विद्यालयले भोगचलन गर्दै आएको छ । २०७४ चैतको मन्त्रिपरिषद्को निर्णयले उक्त जग्गा विद्यालयको नाममा रजिष्ट्रेसन पास भएको हो ।

आयोगको निर्णय कार्यान्वयनबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले कार्यपालिकाको बैठक बसेर त्यसबारे निर्णय गर्ने बताए । विद्यालयका प्रधानाध्यापक रमेश पौडेलले करिब ५ बिघा जग्गामध्ये अहिले विद्यालयले २ बिघा मात्रै भोगचलन गरेको जानकारी दिए ।

 


ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।