सञ्जय मिश्रा रौतहट, ९ साउन।
रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नाम, वडा कार्यालयको छाप र लेटरप्याड प्रयोगसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ। प्रशासनिक तहबाट समाधान हुन नसकेको विवादमा सर्वोच्च अदालतले विपक्षीहरूलाई ‘कारण देखाऊ’ आदेश जारी गर्दै लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। दर्ता नम्बर ०८३–डब्लुओ–०००८ रहेको उत्प्रेषणसम्बन्धी रिटमा रोशन आउजीसहितका स्थानीय निवेदक छन् भने जिल्ला प्रशासन कार्यालय रौतहटसहित सम्बन्धित निकाय विपक्षी छन्। यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रचलित कानुनअनुसार स्वीकृत नाम, छाप र लेटरप्याड मात्र प्रयोग गर्न वडा कार्यालयलाई दुई पटक निर्देशन दिँदै तीन दिनभित्र स्पष्टीकरण मागेको थियो।
तर स्थानीयका अनुसार अझै पनि ‘यदुवंशीनगर’ उल्लेख भएका छाप तथा लेटरप्याडको प्रयोग रोकिएको छैन। स्थानीयहरूको दाबीअनुसार पेटभर्वा नाम दशकौँदेखि सरकारी अभिलेख र नक्सामा कायम रहेको भए पनि २०७४ सालपछि वडा कार्यालयमा ‘यदुवंशीनगर’ नाम प्रयोग हुन थालेपछि विवाद सुरु भएको हो। विरोधपछि केही समय पेटभर्वा नाम प्रयोग गरिए पनि २०७९ को स्थानीय निर्वाचनपछि पुनः पुरानै नाम प्रयोग हुन थालेको आरोप छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय र कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन्। यही कानुनी आधारमा सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।
बर्तमान वडा अध्यक्ष राम एकवाल यादव र पूर्व वडा अध्यक्ष हिरालाल यादवले गाउँको नाम परिवर्तन गर्न यस अघिनै नगर कार्यपालिका बैठकले गरेको भन्दै पेटभर्वा को स्थानमा लेटर प्याड र छापमा यदुबंशी नगर प्रयोग गर्दै आएका बताएका छ्न् ! तर जिल्ला प्रशासन बाट २ चोटि लिखित जवाब पठाउन पत्र काटे पनि जिल्ला प्रशासन रौतहटमा पत्रको जवाब लेखेर पठाएको छैन !। नामको विवादले गाउँमा दुई समुदाय बिच पटक पटक बिवाद हुँदै आएको छ।
स्थानीयहरूका अनुसार विवादले कानुनी र प्रशासनिक विषयसँगै गाउँमा सामाजिक ध्रुवीकरणसमेत बढाएको छ। अब सर्वोच्च अदालतको निर्णयले यस विवादको टुंगो लगाउने अपेक्षा गरिएको छ !
शिवनाथ कुशवाहा ,रौतहट, साउन ९ ।
नेपाल बार एसोसिएसन रौतहट जिल्ला इकाइको अध्यक्ष पदमा अधिवक्ता हेमचन्द्र लाल कर्ण निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उनले प्रतिद्वन्द्वी अधिवक्ता लालबाबु यादवलाई ४ मतको अन्तरले पराजित गर्दै नेतृत्व हात पारेका हुन्
।
निर्वाचित अध्यक्ष कर्ण रौतहट जिल्लाको कटहरिया नगरपालिका–२, हथियाही निवासी हुन्। कानुनी क्षेत्रको लामो अनुभव र सक्रियताका कारण उनी अधिवक्तामाझ परिचित व्यक्तित्वका रूपमा चिनिन्छन्।
निर्वाचनमा दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। मतगणनाको अन्तिम परिणामअनुसार अधिवक्ता हेमचन्द्र लाल कर्णले विजयी हासिल गर्दा अधिवक्ता लालबाबु यादवले विजेताभन्दा ४ मत कम प्राप्त गरेका थिए।
अध्यक्षमा निर्वाचित कर्णलाई कानुन व्यवसायी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गर्न थालेका छन्। उहाँको नेतृत्वमा नेपाल बार एसोसिएसन रौतहटको संस्थागत विकास, कानुन व्यवसायीहरूको हकहित संरक्षण तथा न्यायिक क्षेत्रको सुदृढीकरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष अधिवक्ता हेमचन्द्र लाल कर्णलाई सफल कार्यकालको शुभकामना दिँदै कानुनी पेशाको मर्यादा र संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
आरके श्रीवास्तव,राैतहट,०९ गते साउन ।
रौतहट निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य माननीय रबिन्द्र पटेल ‘धिरज’ ले कटहरिया नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै जनगुनासा सुन्नुका साथै विकास निर्माण र जनसरोकारका विषयमा छलफल गरेका छन् । सांसद पटेलले कटहरिया नगरपालिकाको छेदी चौक्को चौतारा, वडा नं.१ को भसेढवा गाउँ तथा झौवा गाउँ लगायतका स्थानमा स्थानीय बासिन्दासँग भेटघाट गरेका हुन् ।
भेटका क्रममा नागरिकहरूले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, कृषि तथा अन्य स्थानीय विकाससँग सम्बन्धित विभिन्न समस्या र आवश्यकताबारे आफ्ना धारणा तथा गुनासा राखेका थिए। स्थानीयसँगको अन्तरक्रियामा सांसद पटेलले जनताका समस्या र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए । उनले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीय तह, सरोकारवाला निकाय र नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

भेटघाटका क्रममा स्थानीय नागरिकले आफ्ना समस्या प्रत्यक्ष रूपमा जनप्रतिनिधिसमक्ष राख्न पाउँदा सकारात्मक अनुभूति भएको बताएका थिए। कार्यक्रमका क्रममा विकास निर्माणका कामलाई तीव्रता दिने, जनचासोका विषयलाई सम्बन्धित निकायसम्म पुर्याउने तथा जनतासँग निरन्तर संवाद कायम राख्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।
जनताकै साथ, जनताकै बीचमा भन्ने उद्देश्यका साथ सांसद पटेलले निरन्तर जनसम्पर्क र जनसंवादलाई प्राथमिकता दिँदै विभिन्न बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन् । उक्त जानकारी सांसद पटेलका सहयोगी महमद करमुला अन्सारीले दिएका हुन् ।
आरके श्रीवास्तव, रौतहट, साउन ८ गते —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कटहरिया नगर कार्यसमितिले रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी फ्यालिएको घटनाको घोर भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ।
शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा नगर उपसभापति सिला कुमारी साहले उक्त घटना अलोकतान्त्रिक, अमानवीय तथा आपराधिक भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनमाथिको गम्भीर प्रहार भएको बताएकी छन्।
विज्ञप्तिमा जनताको मतबाट निर्वाचित भई संसदमा जनताका समस्या तथा सुशासनका पक्षमा आवाज उठाइरहेका सांसदमाथि गरिएको यस्तो दुर्व्यवहार कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ। असहमति वा फरक विचार व्यक्त गर्न लोकतान्त्रिक र कानुनी माध्यम उपलब्ध हुँदाहुँदै यस्ता अराजक गतिविधि गर्नु विकृत मानसिकताको उपज भएको रास्वपाको ठहर छ।
रास्वपा कटहरिया नगर कार्यसमितिले घटनामा संलग्न व्यक्ति वा समूहको तत्काल पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासन, नेपाल प्रहरी तथा गृह प्रशासनसँग माग गरेको छ। साथै, जनप्रतिनिधिहरूले शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नगर उपसभापति सिला कुमारी साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक संस्कृतिको संरक्षण, कानुनी शासनको सम्मान तथा राजनीतिक असहमतिलाई सभ्य र शान्तिपूर्ण ढंगबाट अभिव्यक्त गर्न सबै पक्षलाई आग्रह गरिएको छ।
[9:05 am, 25/07/2026] आरके श्रीवास्तव अध्यक्ष-लाेकतान्त्रिक पत्रकार संघ राैतहट: डिभिजनल वन अधिकृत मनोज ठाकुरको अग्रसरतामा वन अतिक्रमण हटाइयो, २ बिघा क्षेत्रमा पुनः वृक्षारोपण
आरके श्रीवास्तव,राैतहट,०८ गते साउन ।
रौतहट जिल्लाको गुजरा नगरपालिका–३, बलुवा स्थित श्री अन्जुमन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरी करिब एक महिनाअघि खनजोत गरेर धान रोपिएको क्षेत्रमा डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरको नेतृत्व र अग्रसरतामा संयुक्त टोलीले अतिक्रमण हटाई पुनः वृक्षारोपण गरेको छ ।
वन क्षेत्र संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै डिभिजनल वन अधिकृत ठाकुरको पहलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखसँग आवश्यक समन्वय गरी मिति २०८३ साउन ८ गते वन कर्मचारी, जङ्गलसहिया तथा सशस्त्र प्रहरीका विभिन्न बेसहरूको संयुक्त टोली परिचालन गरिएको थियो ।
संयुक्त टोलीले अनुमानित २ बिघा वन क्षेत्र अतिक्रमण गरी रोपिएको धान हटाई उक्त क्षेत्रमा टिक (सागवान) जातका बिरुवा रोपण गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजनल वन अधिकृत मनोज ठाकुरले वन अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै वन क्षेत्रको संरक्षणका लागि कानुनअनुसार कडा रूपमा अघि बढिने बताए । उनले सामुदायिक वनको संरक्षण सरकार, सुरक्षा निकाय र स्थानीय समुदायको साझा दायित्व भएकाले वन अतिक्रमण गर्ने कार्यविरुद्ध निरन्तर अभियान सञ्चालन गरिने उल्लेख गरे ।
डिभिजन वन कार्यालयका अनुसार यसअघि पनि उक्त अतिक्रमित क्षेत्रमा वृक्षारोपण गरिएको थियो। तर पुनः वन क्षेत्र जोतेर खेती गरिएको पाइएपछि तत्काल संयुक्त टोली परिचालन गरी अतिक्रमण हटाइएको हो ।
वन संरक्षण अभियानलाई प्रभावकारी बनाउन डिभिजनल वन अधिकृत ठाकुरले सुरक्षा निकाय र स्थानीय सरोकारवालासँगको समन्वयलाई अझ सुदृढ बनाउने तथा अतिक्रमित वन क्षेत्रको पुनःस्थापना अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,०८ गते साउन ।
रौतहट जिल्लाको गुजरा नगरपालिका–३, बलुवा स्थित श्री अन्जुमन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरी करिब एक महिनाअघि खनजोत गरेर धान रोपिएको क्षेत्रमा डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत मनोज ठाकुरको नेतृत्व र अग्रसरतामा संयुक्त टोलीले अतिक्रमण हटाई पुनः वृक्षारोपण गरेको छ ।
वन क्षेत्र संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै डिभिजनल वन अधिकृत ठाकुरको पहलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखसँग आवश्यक समन्वय गरी मिति २०८३ साउन ८ गते वन कर्मचारी, जङ्गलसहिया तथा सशस्त्र प्रहरीका विभिन्न बेसहरूको संयुक्त टोली परिचालन गरिएको थियो ।
संयुक्त टोलीले अनुमानित २ बिघा वन क्षेत्र अतिक्रमण गरी रोपिएको धान हटाई उक्त क्षेत्रमा टिक (सागवान) जातका बिरुवा रोपण गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजनल वन अधिकृत मनोज ठाकुरले वन अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै वन क्षेत्रको संरक्षणका लागि कानुनअनुसार कडा रूपमा अघि बढिने बताए । उनले सामुदायिक वनको संरक्षण सरकार, सुरक्षा निकाय र स्थानीय समुदायको साझा दायित्व भएकाले वन अतिक्रमण गर्ने कार्यविरुद्ध निरन्तर अभियान सञ्चालन गरिने उल्लेख गरे ।
डिभिजन वन कार्यालयका अनुसार यसअघि पनि उक्त अतिक्रमित क्षेत्रमा वृक्षारोपण गरिएको थियो। तर पुनः वन क्षेत्र जोतेर खेती गरिएको पाइएपछि तत्काल संयुक्त टोली परिचालन गरी अतिक्रमण हटाइएको हो ।
वन संरक्षण अभियानलाई प्रभावकारी बनाउन डिभिजनल वन अधिकृत ठाकुरले सुरक्षा निकाय र स्थानीय सरोकारवालासँगको समन्वयलाई अझ सुदृढ बनाउने तथा अतिक्रमित वन क्षेत्रको पुनःस्थापना अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रौतहट, साउन ०९ गते । रौतहट जिल्ला अदालत बार एसोसिएसन, गौरको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन भइरहेको छ। ६६ जना मतदाता रहेको उक्त संस्थामा ९ सदस्यीय कार्यसमितिका पदाधिकारी चयन गर्न १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचनमा अध्यक्ष पदका लागि अधिवक्ता लालबाबु राय यादव र अधिवक्ता हेमचन्द्र लाल कर्ण नेतृत्वका दुई समूहबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। दुवै पक्षले आफ्नो समूहको जित सुनिश्चित गर्न मतदातासँग अन्तिम चरणको भेटघाट र समन्वयलाई तीव्र बनाएका छन्।
कानुन व्यवसायीहरूको साझा संस्था बार एसोसिएसनको नयाँ नेतृत्वले संस्थागत विकास, पेशागत हकहितको संरक्षण तथा न्यायिक क्षेत्रको प्रभावकारी समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। निर्वाचन शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास गरिएको छ।

निर्वाचनबाट विजयी हुने सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै, संस्थाको गरिमा अभिवृद्धि, कानुन व्यवसायीहरूको हकहित संरक्षण तथा न्यायिक सेवाको सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउन सफल रहून् भन्ने कामना गरिएको छ।
आरके श्रीवास्तव,राैतहट,०७ गते साउन ।
रौतहटकाे फतुवा विजयपुर नगरपालिका–११ अन्तर्गत पर्ने राङगी, बुटवा, भैसहीलगायतका गाउँहरूमा केही अनधिकृत व्यक्तिहरूले एलानी तथा वन क्षेत्रको जग्गा खनजोत तथा उपभोगको अनुमति दिलाइदिने भन्दै प्रत्येक घरधुरीबाट रु. १,००० का दरले रकम असुलेको भन्ने आरोप सार्वजनिक भएपछि उक्त विषयले स्थानीय स्तरमा चासोको विषय बनेको छ ।
उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै रौतहट क्षेत्र नं. ३ का संघीय सांसद माननीय रविन्द्र पटेल (धिरज) ले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसमक्ष तत्काल घटनाको निष्पक्ष छानबिन गरी संलग्न दोषी व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न आग्रह गर्नुभएको छ ।
सांसद पटेलले जनतालाई झुक्याएर वा कानुनविपरीत कुनै पनि प्रकारको रकम असुल गर्ने कार्य अस्वीकार्य भएको उल्लेख गर्दै सत्यतथ्य अनुसन्धान गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन प्रशासनलाई अनुरोध गर्नुभएको छ ।
स्थानीय बासिन्दाले पनि घटनाको निष्पक्ष छानबिन गरी अवैध रूपमा रकम असुल गर्ने प्रवृत्तिको अन्त्य गर्न तथा पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
सम्पादकिय/ समाज परिवर्तनका ठूला कथाहरू प्रायः सहरका चम्किला भवनहरूबाट होइन, गाउँका धुलाम्मे गल्लीहरूबाट सुरु हुन्छन्। र इतिहास गाउँका धुलाम्मे बाटो, अभावले चर्किएका घर, विभेदले थिचिएका बस्ती र न्यायको खोजीमा उठेका साहसी आवाजबाट जन्मिन्छन्। रौतहट जिल्लाको वृन्दावन नगरपालिका–८, बहुअरी गाउँका राजेश कुमार पासवान (निर्माणी) को जीवन यात्रा पनि त्यस्तै एउटा संघर्षको इतिहास हो—जहाँ आँसु छ, पीडा छ, अपमान छ, तर त्यसभन्दा ठूलो साहस, आत्मविश्वास र अन्यायविरुद्ध नझुक्ने अडान पनि छ।
आर्थिक अभाव, सामाजिक विभेद र विकासको चरम उपेक्षाबीच हुर्किएका उनले बाल्यकालदेखि नै आफ्नो गाउँको वास्तविकता नजिकबाट देखे। सडक थिएन, अवसर थिएन,शिक्षा थिएन,समान व्यवहार थिएन। चुनावका बेला ठूलाठूला वाचा गर्नेहरू चुनाव सकिएपछि गाउँ फर्केर नआउने दृश्य उनले पटक–पटक देखे।
जनताको विश्वासमाथि राजनीति गर्ने प्रवृत्ति र दलित बस्तीप्रतिको बेवास्ताले उनको मनमा एउटा प्रश्न जन्मायो—यदि अन्यायका विरुद्ध कोही बोल्दैन भने परिवर्तन कसरी सम्भव हुन्छ? त्यही प्रश्नको उत्तर खोज्दै उनले पत्रकारितालाई आफ्नो हतियार बनाए। कलमलाई आवाजविहीनहरूको आवाज बनाए। गाउँका समस्या, भ्रष्टाचार, सामाजिक विभेद, विकास निर्माणका अवरोध र जनताको पीडालाई निरन्तर सार्वजनिक गर्दै उनी सत्ता होइन, सत्यको पक्षमा उभिए।
दलित समुदायका मुद्दालाई राष्ट्रिय स्तरमा संस्थागत रूपमा उठाउने उद्देश्यले उनले राष्ट्रिय दलित पत्रकार संघ, नेपालको स्थापना अभियानमा अग्रणी भूमिका निर्वाह गरे। रौतहटका संस्थापक अध्यक्षका रूपमा दुई कार्यकाल नेतृत्व गर्दै उनले दलित पत्रकारिताको पहिचान निर्माणमा योगदान दिए। अहिले पनि केन्द्रीय सचिवका रूपमा उनी सामाजिक न्यायको अभियानलाई निरन्तर अघि बढाइरहेका छन्। उनका लागि पत्रकारिता समाचार लेख्ने पेशा मात्र होइन, अन्यायविरुद्धको प्रतिरोध हो।
जनताले उनको संघर्ष देखे, इमानदारी देखे र विश्वास गरे। यही विश्वासले २०७९ सालको स्थानीय तह निर्वाचनमा उनलाई दलित अल्पसंख्यक कोटाबाट वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्य बनायो। तर उनी पद पाएपछि फेरिने नेतामध्येका भएनन्। उनले पदलाई सुविधा होइन, जिम्मेवारी माने।
उनले आफ्नै व्यक्तिगत जग्गा उपलब्ध गराएर दलित धर्मशाला निर्माणमा योगदान दिए। वर्षौंदेखि उपेक्षित सडकमा ढलान र नाला निर्माण गराए। बहुअरी–पिपरिया छठघाट निर्माण तथा सौन्दर्यीकरणमार्फत धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा भूमिका खेले।यसका साथै उनले दलित तथा अति विपन्न परिवारका बालबालिकाका लागि निःशुल्क ट्युशन सञ्चालन गरेर स्वयं अध्यापनसमेत गरे। यी कामहरू भाषणबाट होइन, व्यवहारबाट नेतृत्व देखाउने उदाहरण बने।
यद्यपि, आफ्ना सबै उपलब्धिको श्रेय उनले कहिल्यै एक्लैले लिँदैनन्। बरु, यो यात्रा सामूहिक प्रयासको परिणाम भएको उनी बारम्बार बताउने गर्छन्। उनका अनुसार यस अभियानमा निरन्तर साथ, सहयोग र विश्वास गर्ने वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी, वडा नं. ८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह, आफ्ना निकट सहयात्री मित्र सलामोदिन दर्जी तथा आफ्ना समुदायका हरेक अधिकारकर्मी, शुभेच्छुक र आम नागरिकप्रति उनी सधैं कृतज्ञ छन्। “मैले गरेको हरेक काममा उहाँहरूको साथ, विश्वास र प्रेरणा जोडिएको छ। यो सफलता मेरो एक्लैको होइन, सामाजिक न्यायमा विश्वास गर्ने सम्पूर्ण समुदायको साझा उपलब्धि हो,” भन्ने उनको भनाइ छ।
तर न्यायको पक्षमा उभिने बाटो कहिल्यै सहज हुँदैन। जनताको पक्षमा बोलेको मूल्य उनले पनि चुकाए। उनीमाथि विभिन्न मुद्दा दर्ता भए, हिरासत बस्नुपर्यो, चरित्रहत्या गर्ने प्रयासहरू भए। तर कानुनी प्रक्रियापछि अदालतबाट उनी सबै आरोपबाट सफाइ पाए। यसले एउटा सन्देश दियो—झुट केही समयका लागि ठूलो देखिन सक्छ, तर सत्यलाई स्थायी रूपमा हराउन सक्दैन।
उनको जीवनको सबैभन्दा पीडादायी अध्याय भने त्यतिबेला आयो, जब जनप्रतिनिधि हुँदाहुँदै पनि उनी आफ्नै गाउँमा जातीय विभेद र छुवाछुतको शिकार बने। सार्वजनिक अपमान, कुटपिट र जातीय भेदभावको त्यो घटना कुनै एक व्यक्तिमाथिको आक्रमण मात्र थिएन; त्यो संविधानले सुनिश्चित गरेको समानताको अधिकारमाथिको चुनौती पनि थियो।
तर उनले झुकेनन्। उनी चुप बसेनन्। कानुनी बाटो रोजे। राष्ट्रिय दलित आयोग, मानव अधिकारकर्मी, जनप्रतिनिधि र अधिकारकर्मीहरूको साथमा उनले न्यायका लागि संघर्ष जारी राखे। र कानुनी लडाई लड्नथाले त्यसपछी पासवान झन् पिडामा पर्न थाले,राजेश कुमार पासवानका अनुसार जनपक्षीय मुद्दामा खुलेर बोल्ने र जातीय विभेदविरुद्ध निरन्तर आवाज उठाउने क्रममा उनीमाथि ज्यान मार्ने उद्योग, कुटपिट, अंगभंग, अभद्र व्यवहार तथा आपराधिक उपद्रव लगायतका विभिन्न मुद्दा दर्ता गरिए। उनले केही दिन हिरासतको जीवन पनि बिताउनुपर्यो। तर लामो कानुनी प्रक्रियापछि ती मुद्दामा आफूले सफाइ पाए र अहिले पनि केहिमुदामा उनि जिल्ला अदालत गौर रौतहटमा तारिख रहेको उनी बताउँछन्।
पासवानका अनुसार, लाखौँ चुनौती, बाधा र अवरोधका बीच पनि आफूले लडिरहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुर मुद्दामा उनले कुनै सम्झौता गरेनन्। उनका अनुसार विपक्षीहरूको मूल उद्देश्य झुटा मुद्दा लगाएर छुवाछूतसम्बन्धी मुद्दालाई कमजोर बनाउनु र पीडितलाई सम्झौताका लागि बाध्य पार्नु थियो। तर उनी झुकेनन्।लामो कानुनी लडाईपछि अदालतले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुर मुद्दामा उनका विपक्षीहरुलाई दोषी ठहर गर्दै कानुनबमोजिम सजाय सुनायो। यो फैसला एउटा व्यक्तिको मात्र जित थिएन; अन्यायविरुद्ध कानुनी संघर्ष गरेर पनि न्याय प्राप्त गर्न सकिन्छ भन्ने विश्वासको जित थियो।
आज राजेश कुमार पासवान (निर्माणी) केवल जनप्रतिनिधि वा पत्रकारका रूपमा चिनिँदैनन्। उनी संघर्षलाई शक्तिमा बदल्ने, विभेदको सामना गर्दै समानताको पक्षमा उभिने र जनसेवालाई राजनीति भन्दा माथि राख्ने सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित छन्।
बाबा सलहेश मिडियाको दृष्टिमा, राजेश कुमार पासवान (निर्माणी) को जीवनले एउटा गहिरो सन्देश दिन्छ—सत्ता प्राप्त गर्नु नेतृत्व होइन, अन्यायका विरुद्ध उभिनु नै नेतृत्व हो। संघर्षले मानिसलाई कमजोर बनाउँदैन, बरु इतिहास लेख्ने साहस दिन्छ। सत्यलाई केही समय दबाउन सकिएला, तर पराजित गर्न सकिँदैन। सामाजिक न्याय कुनै दया होइन, प्रत्येक नागरिकको संवैधानिक अधिकार हो। र त्यो अधिकारका लागि उठेको आवाज नै लोकतन्त्रको वास्तविक शक्ति हो।
शिवनाथ कुशवाहा ,रौतहट, साउन ५।
अखिल (क्रान्तिकारी) रौतहटका जिल्ला सचिव रोहित जयसवालले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने सरकारको निर्णयलाई विद्यार्थी आन्दोलन, अभिभावक र आमनागरिकको संयुक्त दबाबको सकारात्मक परिणाम भएको बताएका छन्।
उनले सरकारको पछिल्लो निर्णयले जनभावनाको सम्मान गरेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा थप आर्थिक भार थोपर्ने नीति जनहितविपरीत हुने धारणा व्यक्त गरे।
जयसवालका अनुसार विद्यार्थीहरूको निरन्तर खबरदारी र आन्दोलनकै कारण सरकार आफ्नो निर्णय पुनर्विचार गर्न बाध्य भएको हो। उनले भने, “विद्यार्थी र नागरिकको एकताले सरकारलाई जनपक्षीय निर्णय लिन बाध्य बनाएको छ। यो संगठित आन्दोलनको सफलता हो।”
उनले भविष्यमा शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकमाथि अतिरिक्त आर्थिक बोझ पार्ने कुनै पनि नीति ल्याउने प्रयास भए त्यसको सशक्त प्रतिवाद गरिने चेतावनीसमेत दिए।
साथै, सरकारले दुर्गम क्षेत्र, विपन्न, दलित तथा सिमान्तकृत समुदायका नागरिकलाई गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
अन्त्यमा जयसवालले “संघर्ष, खबरदारी र जनअधिकारको अभियान निरन्तर जारी रहनेछ,” भन्दै विद्यार्थी आन्दोलन जनताको हक, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको पक्षमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
बज्जिकाञ्चल संवाददाता,रौतहट,०४ गते साउन ।
रौतहटको कटहरिया नगरपालिका–५ निवासी स्वर्गीय युवा पत्रकार रविन्द्र प्रजापतिको प्रथम स्मृति दिवस आइतबार कटहरियास्थित विवाह भवनमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरी भावपूर्ण रूपमा मनाइएको छ ।
भावपूर्ण हार्दिक श्रद्धाञ्जली,आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कारबाही गर, पीडितलाई न्याय देऊ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्वर्गीय पत्रकार प्रजापतिको तस्वीरमा माल्यार्पण, दीप प्रज्वलन तथा मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले स्वर्गीय पत्रकार प्रजापतिले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँको निधनको घटनालाई गम्भीर रूपमा अनुसन्धान गरी आत्महत्याका लागि दुरुत्साहन गर्ने व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउन राज्यसँग माग गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित पत्रकार संघ, रौतहटका अध्यक्ष राजेश पासवानले पत्रकार प्रजापति एक इमानदार, मेहनती र निडर पत्रकार भएको उल्लेख गर्दै यस्ता दुःखद घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले दोषीमाथि कानुनी कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरे ।
त्यसैगरी पत्रकार सागर संगम ठाकुरले आफूले नजिकको सहकर्मी गुमाउनुपरेको पीडा व्यक्त गर्दै पत्रकार रविन्द्र प्रजापतिलाई आत्महत्याको अवस्थासम्म पुर्याउने जो–कोही भए पनि उनीहरूमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताए । उनले पत्रकारको सुरक्षासँगै मानसिक तथा सामाजिक दबाबका विषयमा समेत राज्यले गम्भीर ध्यान दिनुपर्ने धारणा राखे ।
यस्तै आम जनता पार्टी आजपा रौतहटका जिल्ला अध्यक्ष नरेश तुरहा तथा आजपा नेता विवेक साहले पनि स्वर्गीय पत्रकार प्रजापतिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरे ।
कार्यक्रममा कटहरिया नगरपालिकाका पूर्व नगरप्रमुख सियाराम कुशवाहा,कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, बज्जिकाञ्चल एफएमका सञ्चालक आर.के.श्रीवास्तव,स्थानिय मञ्जु गिरी लगायतले स्वर्गीय पत्रकार प्रजापतिको व्यक्तित्व, पत्रकारिताप्रतिको समर्पण र सामाजिक योगदानको स्मरण गरेका थिए ।
सो अवसरमा स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
स्वर्गीय पत्रकार रविन्द्र प्रजापतिको जन्म मिति २०५३ साल भदौ १५ गते तथा स्वर्गारोहण मिति २०८२ साल साउन ३ गते रहेको स्मरण गर्दै उहाँको पवित्र स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
वक्ताहरूले पत्रकार प्रजापतिको निधन केवल एक व्यक्तिको क्षति नभई सम्पूर्ण पत्रकारिता क्षेत्रकै अपूरणीय क्षति भएको उल्लेख गर्दै सत्य, न्याय र उत्तरदायित्व सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए । साथै, उहाँको स्मृतिलाई सदैव सम्मानपूर्वक जीवित राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।