२०८३ कार्तिक १
२०८३ कार्तिक १

प्रेमचन्द्र झा, अशोज०५ गते

रौतहट। फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले गरेको फैसला सर्वोच्च अदालतबाट पनि उल्टिन सकेन। विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै यादवलाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। त्यस फैसलाविरुद्ध यादवले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। सर्वोच्च अदालतको असोज ५ गतेको दैनिक पेसी विवरणमा उक्त पुनरावेदनको आदेशको किसिम “पुनरावेदन जिकिर नपुगेको” उल्लेख छ। यसको अर्थ पुनरावेदनमा उठाइएका आधारबाट विशेष अदालतको फैसला परिवर्तन गर्न पर्याप्त आधार नदेखिएको भन्ने हो।

यो मुद्दाको सुरुआत फतुवा विजयपुर र गुजरा नगरपालिका भएर बग्ने लालबकैया नदीबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननको ठेक्का प्रक्रियाबाट भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा कानुन र निर्धारित निर्णयअनुसार काम नभएको तथा ठेक्का रद्द गर्दा स्थानीय तहलाई आर्थिक हानि–नोक्सानी पुगेको दाबी गरेको थियो। अख्तियारले २०७९ असार १२ गते यादवसहित २१ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्यसबेला १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो मागदाबी गरेको थियो।

 

अख्तियारका अनुसार लालबकैया नदीको आन्तरिक आय व्यवस्थापनसम्बन्धी जिल्ला समन्वय समितिको रोहवरमा भएको निर्णयअनुसार फतुवा विजयपुर र गुजरा नगरपालिकाले संयुक्त रूपमा ढुंगा, गिट्टी तथा बालुवाको ठेक्का लगाउने र त्यसबाट प्राप्त आम्दानीमध्ये फतुवा विजयपुरले ६० प्रतिशत तथा गुजरा नगरपालिकाले ४० प्रतिशत पाउने व्यवस्था गरिएको थियो। तर उक्त ठेक्का प्रक्रिया अघि बढाउने क्रममा कानुनी प्रक्रिया पालना नभएको र ठेक्का रद्द गर्दा नगरपालिकालाई आर्थिक क्षति पुगेको अख्तियारको अभियोग थियो।

अख्तियारले यादवसँगै तत्कालीन उपप्रमुख, वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्य तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत २१ जनालाई प्रतिवादी बनाएको थियो। अभियोगपत्रमा २०७५ पुस १५ गतेको निर्णय कार्यान्वयन नगरिएको, बोलपत्रदाताको धरौटी जफत गर्नुपर्ने मुद्दाको सुनुवाइ गर्दै विशेष अदालत काठमाडौंले २०८० असोज १७ गते गोपाल राय यादवलाई मात्र दोषी ठहर गरेको थियो। सो मुद्दामा प्रतिवादी बनाइएका अन्य २० जनाले सफाइ पाएका थिए। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारूको संयुक्त इजलासले यादवलाई कसुरदार ठहर गरेको थियो।
दोषी ठहर भएको एक सातापछि विशेष अदालतले २०८० असोज २४ गते सजाय निर्धारण गर्दै यादवलाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। उक्त सजाय लालबकैया नदीको ठेक्का प्रकरणमा नगरपालिकालाई आर्थिक हानि–नोक्सानी पुर्‍याएको कसुरसँग सम्बन्धित थियो।

विशेष अदालतको फैसलापछि यादवले त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए। पुनरावेदनमा विशेष अदालतको फैसला बदर हुनुपर्ने जिकिर गरिएको थियो। तर सर्वोच्च अदालतको असोज ५ गतेको दैनिक पेसी विवरणमा सो पुनरावेदनको आदेशको किसिम “पुनरावेदन जिकिर नपुगेको” उल्लेख भएपछि विशेष अदालतको फैसलालाई चुनौती दिँदै गरिएको पुनरावेदनबाट यादवले राहत पाउन नसकेको देखिन्छ।

यहाँ “पुनरावेदन जिकिर नपुगेको” भन्ने शब्दावलीको कानुनी अर्थ पनि महत्वपूर्ण छ। यसले पुनरावेदनमा प्रस्तुत गरिएको दाबी, तर्क वा प्रमाणले तल्लो अदालतको फैसला परिवर्तन गर्न पुग्ने पर्याप्त कानुनी आधार नदेखिएको जनाउँछ। त्यसैले सर्वोच्चको उक्त आदेशपछि विशेष अदालतले गरेको दोषी ठहर तथा सजायसम्बन्धी फैसला कायम रहने अवस्था बनेको छ।
मुद्दाको अर्को महत्वपूर्ण पक्ष के हो भने अख्तियारले २१ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाए पनि विशेष अदालतको फैसलामा यादवबाहेक अन्य प्रतिवादीले सफाइ पाएका थिए। यसले मुद्दाको सम्पूर्ण प्रशासनिक तथा राजनीतिक जिम्मेवारी एकै ढंगले सबै प्रतिवादीमाथि स्थापित नभई अदालतले यादवको भूमिकालाई । मात्र कसुरसँग जोडेर दोषी ठहर गरेको देखाउँछ।

लालबकैया नदीको ठेक्का विवाद केवल एउटा ठेक्का रद्द भएको विषयमा सीमित थिएन। यसको केन्द्रमा सार्वजनिक स्रोतबाट स्थानीय तहले प्राप्त गर्नुपर्ने राजस्व, ठेक्का व्यवस्थापनमा अपनाउनुपर्ने कानुनी प्रक्रिया र निर्वाचित जनप्रतिनिधिले निर्णय गर्दा पालना गर्नुपर्ने सार्वजनिक जवाफदेहिताको प्रश्न जोडिएको थियो। अख्तियारको आरोपअनुसार निर्धारित प्रक्रिया र निर्णय कार्यान्वयन नभएका कारण स्थानीय तहलाई आर्थिक क्षति पुगेको थियो।

यस मुद्दाको फैसलाले फतुवा विजयपुर नगरपालिकाको नेतृत्वमाथि पनि कानुनी प्रश्न खडा । गरेको छ। नगरपालिकाको आधिकारिक वेबसाइटमा हाल पनि गोपाल राय यादव नगर प्रमुख र अम्बेया खातुनलाई कार्यवाहक नगर प्रमुखका रूपमा उल्लेख गरिएको छ।

तर सर्वोच्चको पछिल्लो आदेशसँगै अब बहस केवल राजनीतिक रूपमा यादवको भविष्य के हुन्छ भन्नेमा मात्र सीमित रहने छैन। विशेष अदालतको दोषी ठहर, तीन वर्षको कैद र १५ लाख रुपैयाँ जरिवानाविरुद्ध गरिएको पुनरावेदनमा सर्वोच्चबाट “पुनरावेदन जिकिर नपुगेको” आदेश आएपछि विशेष अदालतको फैसलाको कानुनी हैसियत र त्यसपछि लागू हुने प्रक्रिया नै मुख्य विषय बनेको छ।
लालबकैया नदीको एउटा ठेक्का प्रक्रियाबाट सुरु भएको यो विवाद अख्तियारको अनुसन्धान, २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, विशेष अदालतबाट एक जनामाथि मात्र कसुर कायम, तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना तथा त्यसपछि सर्वोच्च अदालतसम्म पुगेको पुनरावेदन हुँदै अहिले अर्को महत्वपूर्ण चरणमा पुगेको छ। सार्वजनिक पदमा रहेका जनप्रतिनिधिको निर्णय, सार्वजनिक सम्पत्तिको संरक्षण र स्थानीय तहको आर्थिक प्रशासनमा कानुनी प्रक्रिया कति निर्णायक हुन्छ भन्ने प्रश्न पनि यो मुद्दाले पुनः सतहमा ल्याएको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०५ गते असाेज ।
रौतहटकाे कटहरिया नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई समयमै सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

नगर कार्यपालिकाको कार्यालय कटहरियाले वडा कार्यालयहरूलाई पठाएको सूचनाअनुसार सामाजिक सुरक्षा भत्ता (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ बाट २०८३/८४ मा भत्ता प्राप्त गर्ने कुल ७ हजार ३७३ लाभग्राहीमध्ये ६ हजार ४७३ जनाले परिचयपत्र नवीकरण गरेका छन् । अझै ९०० जना लाभग्राहीले नवीकरण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह र पञ्जिकरण शाखा प्रमुख विवेक साह द्वारा संयुक्तरूपमा हस्ताक्षर गरिएको पत्रमा वडागत विवरणअनुसार वडा नं. १ मा १ हजार ३५० लाभग्राहीमध्ये ७५४ जनाको नवीकरण भएको छ भने ५९६ जनाको बाँकी छ । वडा नं. २ मा १ हजार ३० मध्ये ९९५ जनाको नवीकरण भइसकेको र ३५ जनाको बाँकी रहेको छ । वडा नं. ३ मा ७८९ मध्ये ७७१ जनाले नवीकरण गरेका छन् ।

त्यस्तै, वडा नं. ४ का सबै १ हजार ३८ लाभग्राहीको नवीकरण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । वडा नं. ५ मा ८४१ मध्ये ७१४, वडा नं. ६ मा ५१८ मध्ये ५१५, वडा नं. ७ मा ६७२ मध्ये ६३८ र वडा नं. ८ मा ६४९ मध्ये ६३८ जनाको नवीकरण भएको छ। वडा नं. ९ मा ४८६ लाभग्राहीमध्ये ४१० जनाले नवीकरण गरेका छन् भने ७६ जनाको नवीकरण हुन बाँकी छ ।

नगरपालिकाले बाँकी रहेका लाभग्राहीलाई सम्बन्धित वडा कार्यालयमा गई सामाजिक सुरक्षा परिचयपत्र समयमै नवीकरण गर्न आग्रह गरेको छ । साथै, वडा कार्यालयहरूलाई आफ्ना वडाभित्र सूचना टाँस गरी नागरिकलाई जानकारी गराउन निर्देशन दिइएको छ ।

नगरपालिकाले सामाजिक सुरक्षा सम्बन्धी सूचना बाज्जिकाञ्चल एफ.एम. ८९.२ मेगाहर्ज, कटहरिया मार्फत समेत प्रसारण गराउन अनुरोध गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,०५ गते असाेज ।
रौतहटको मध्य भाग शिवनगरस्थित जय बाबा विश्वकर्मा इन्टरप्राइजेज पछिल्लो समय सवारी धनीहरूका लागि पहिलो रोजाइ बन्दै गएको छ। वि.सं. २०७५ सालमा स्थापना भएको टिभीएस मोटरसाइकल तथा स्कुटीको यो आधिकारिक शोरूमले उत्कृष्ट सेवा र ग्राहकको विश्वास जित्दै जिल्लाभरि नै छुट्टै पहिचान बनाउन सफल भएको हो।


विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि असोज १ गते विश्वकर्मा पूजाको विशेष अवसरमा ५० वटा भन्दा बढी मोटरसाइकल र स्कुटी बिक्री गर्दै जय बाबा विश्वकर्मा इन्टरप्राइजेज रौतहट जिल्लामै बिक्रीका हिसाबले प्रथम स्थान हासिल गर्न सफल भएको छ। साथै, देशमै उत्कृष्ट स्थान र नाम कमाउन सफल भएको कम्पनीले जनाएको छ। प्रोप्राइटर सन्दिप कुमार शाहको कुशल नेतृत्वमा सञ्चालित यस शोरूममा टिभीएसका चर्चित तथा लेटेस्ट मोडलहरू—जस्तै अपाची, रोनिन लगायतका विभिन्न ब्रान्डका सवारी साधनहरू उपलब्ध रहेका छन्।


चाडपर्वको अवसर पारेर शोरूमले ग्राहकहरूका लागि आकर्षक छुट र उपहार योजनाहरू पनि सार्वजनिक गरेको छ। कम्पनीका सेल्स म्यानेजर अभिमन्यु कुमार गुप्ताका अनुसार यस चाडपर्वमा ग्राहकहरूलाई विशेष सुविधा दिनका लागि विभिन्न अफरहरू ल्याइएको छ।

सेल्स म्यानेजर अभिमन्यु कुमार गुप्ता भन्नुहुन्छ:
स्थानीय ग्राहकहरूको विश्वास र रोजाइका कारण रौतहटकै नम्बर वान शोरूमको रूपमा स्थापित ‘जय बाबा विश्वकर्मा इन्टरप्राइजेज’ले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
​दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शोरूमले टीभिएसको ‘भाग्यको चाबी तपाईंको हातमा’ विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत सवारी खरिद गर्ने प्रत्येक ग्राहकले सुपर स्योर उपहार, रु. १० लाखसम्मको क्यास डिस्काउन्ट, गोल्ड कि (गोल्ड कि) तथा १००% क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। साथै, लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकलाई ५ वर्षसम्मको नि:शुल्क सर्भिस सुविधा प्रदान गरिने जनाइएको छ ।


​सवारी खरिदलाई सहज बनाउन शोरूमले ‘फटाफट फाइनान्स’ सेवा पनि उपलब्ध गराएको छ, जसका लागि नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मात्र भए पुग्नेछ। चाडपर्वलाई लक्षित गरी सबै बाइक तथा स्कुटीहरूको पर्याप्त स्टक आइसकेकाले समयमै शोरूम पुगेर यो आकर्षक अफरको फाइदा उठाउन जय बाबा विश्वकर्मा इन्टरप्राइजेजले सबैमा अनुरोध गरेको छ।
पर्याप्त स्टक, सरल फाइनान्स सुविधा र थरीथरीका छुट अफरका कारण शिवनगरस्थित जय बाबा विश्वकर्मा इन्टरप्राइजेजमा यतिबेला नयाँ मोटरसाइकल तथा स्कुटी खरिद गर्ने ग्राहकहरूको बाक्लो उपस्थिति रहने गरेको छ । कम्पनीले सबै मोडलका सवारी साधनहरू उपलब्ध रहेकाले ढुक्क भएर सेवा लिन ग्राहकहरूलाई आग्रह गरेको छ ।

रामअधार यादव, रौतहट, भादौ, २१ चैत गते

रौतहट । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले नेकपा दुर्गा भगवती गाउँपालिका कमिटीको संयुक्त अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ। गाउँपालिका कमिटीका पूर्वसंयोजक हरिशंकर नाथ झाको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो।

बैठकमा नेकपाका केन्द्रीय सदस्य रेमान्त झा प्रमुख अतिथि, गाउँपालिका अध्यक्ष शम्भू सिंह लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकका क्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले रसुवा बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए। साथै बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई राहत सहयोग उपलब्ध गराउने निर्णय गरिएको थियो।

राहत संकलन अभियानअन्तर्गत रेमान्त झा लगायत २७ जना नेता तथा कार्यकर्ताले नगद तथा खाद्यान्न सामग्री सहयोग गरेका छन्। सहयोग गर्नेहरूमध्ये रेमनत झा ११ हजार, शम्भू सिंहले ११ बोरा चामल र ५ हजार ५ सय रुपैयाँ, शीला देवीले २ बोरा चामल र ५ हजार १ सय रुपैयाँ, डीके झाले ५ हजार १ सय रुपैयाँ, रामानन्द यादवले ५ हजार १ सय रुपैयाँ, शकुन्तला देवीले १ बोरा चामल र १ हजार रुपैयाँ तथा परमानन्द चौधरीले १ हजार १ सय रुपैयाँ सहयोग गरेका छन्।

बैठकमा सहभागी अन्य नेता तथा कार्यकर्ताहरूले पनि आफ्नो क्षमता अनुसार नगद तथा खाद्यान्न सामग्री सहयोग गरेका छन्। संकलित राहत सामग्री तथा रकम रसुवा बाढीपीडित परिवारसम्म पुर्‍याउने जनाइएको छ।

आरके श्रीवास्तव, रौतहट, २१ भदौ ।

रौतहटको कटहरिया नगरपालिका–३ मा पछिल्ला वर्षहरूमा विकास निर्माणका गतिविधिले गति लिएको छ। साविक बिर्ती प्रस्टोका गाविसअन्तर्गत पर्ने यस वडामा स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, कृषि तथा धार्मिक–सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राखेर विभिन्न योजनाहरू सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनबाट पुरै प्यानलसहित वडा अध्यक्षमा निर्वाचित श्यामाकान्त प्रसाद यादवले आफ्नो कार्यकालमा वडाको आवश्यकता र स्थानीयको मागअनुसार विकास योजनालाई अघि बढाइएको बताएका छन्। उनका अनुसार स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तारलाई विशेष प्राथमिकता दिइएको छ ।

नगरपालिकाको बजेटबाट २२ लाख रुपैयाँको लागतमा तीन कोठे स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । त्यस्तै, मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयबाट २० लाख र २५ लाख रुपैयाँको लागतमा दुई वटा दुई–दुई कोठे बर्थिङ सेन्टर भवन निर्माण गरिएको वडा अध्यक्ष यादवले जानकारी दिए। यसअघि छाया नेपालको सहयोग तथा नगरपालिकाको सहकार्यमा २५ लाख रुपैयाँको लागतमा तीन कोठे बर्थिङ सेन्टर भवनसमेत निर्माण भएको थियो ।

स्वास्थ्य संस्थाका भौतिक पूर्वाधार विस्तार भएपछि स्थानीय महिलालाई प्रसूति सेवाका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम भएको वडा कार्यालयको भनाइ छ।

शिक्षामा पनि पूर्वाधार र जनशक्ति थप

वडाले शिक्षाको गुणस्तर सुधारका लागि श्री आधारभूत विद्यालयलाई समेत प्राथमिकतामा राखेको छ। वडा बजेटबाट तलब–भत्ता उपलब्ध हुने गरी एक जना शिक्षक नियुक्त गरिएको तथा विद्यालयको कम्पाउन्ड वाल निर्माणका लागि दुई चरणमा पाँच–पाँच लाख गरी १० लाख रुपैयाँ लगानी गरिएको वडा अध्यक्ष यादवले बताए।

विद्यालयको भौतिक संरचना सुधारसँगै पर्याप्त शिक्षक तथा शैक्षिक वातावरण निर्माणमा अझै थप लगानी आवश्यक रहेको स्थानीयको भनाइ छ।

९० प्रतिशत भित्री सडक ढलान भएको दाबी

वडा कार्यालयले सडक पूर्वाधारलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। वडा अध्यक्ष यादवका अनुसार वडाभित्रका करिब ९० प्रतिशत भित्री सडक ढलान भइसकेका छन्।

प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र वडा बजेटबाट ५० लाख रुपैयाँ गरी करिब एक करोड रुपैयाँ लगानीमा अधिकांश भित्री सडक पक्की गरिएको उनले बताए। संघीय सहरी विकास मन्त्रालयको सहयोगमा गाउँको मुख्य सडकमा करिब ६ सय मिटर सडक ढलान तथा ४२० मिटर नाला निर्माणसमेत सम्पन्न भएको छ।

स्थानीयका अनुसार सडक पक्की भएपछि वर्षायाममा हुने हिलो, पानी जम्ने र आवतजावतमा हुने कठिनाइमा कमी आएको छ।

स्थानीय जावेद आलमले नहर बाटो ढलान भएपछि वर्षौंदेखि हिलो–किचलोको समस्या भोग्दै आएका स्थानीयलाई ठूलो राहत मिलेको बताए।

कलभर्टले छोट्यायो खेतबारी जाने बाटो

कटहरिया–३ कृषि तथा नर्सरी व्यवसायका लागि पनि परिचित क्षेत्र हो। बिर्तीदेखि खतवहिया जाने बाटोमा १० लाख रुपैयाँको लागतमा कलभर्ट निर्माण भएपछि स्थानीय कृषक तथा नर्सरी व्यवसायीलाई आवतजावतमा सहज भएको छ।

स्थानीय नर्सरी व्यवसायी छोटेलाल यादवका अनुसार कलभर्ट निर्माण हुनुअघि खेतबारी तथा नर्सरीमा पुग्न करिब तीन किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। कलभर्ट निर्माण भएपछि उक्त समस्या हटेको उनले बताए।

वडा अध्यक्ष यादवले बिर्ती प्रस्टोका देशमै चर्चित नर्सरी तथा बिरुवा उत्पादन क्षेत्र भएकाले स्थानीय व्यवसायीलाई आधुनिक प्रविधि, तालिम र आवश्यक पूर्वाधार उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरेका छन्।

खानेपानी र विद्युतीकरणमा पनि काम

खानेपानीको समस्या समाधानका लागि हरेक वर्ष बजेट विनियोजन गरी विभिन्न स्थानमा ह्यान्डपम्प जडान गरिएको वडा कार्यालयले जनाएको छ। कृषि सडक निर्माण, विद्युत् पोल तथा तार विस्तारलगायतका कामसमेत गरिएको छ।

वडालाई उज्यालो बनाउने अभियानअन्तर्गत पाँच वटा टावर लाइट जडान गरिएको वडा अध्यक्ष यादवले बताए।

धार्मिक तथा सामाजिक संरचना निर्माण

वडामा धार्मिक तथा सामाजिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिइएको छ। बडेरवा मठमा चौतारा निर्माण, दक्षिण टोल बडेरवामा तीन लाख रुपैयाँको लागतमा भुइँया बाबा मन्दिर निर्माण, बिर्ती टोलको ब्रह्मस्थान स्तरोन्नति तथा सौन्दर्यीकरणका काम गरिएको वडा कार्यालयले जनाएको छ।

मुस्लिम समुदायका लागि १७ लाख रुपैयाँको लागतमा मोकदम भवन तथा करिब २० लाख रुपैयाँको लागतमा कब्रिस्तानको घेराबार निर्माण गरिएको छ।

स्थानीय अब्दुल सकुरले मोकदम भवन र कब्रिस्तानको घेराबार निर्माण भएपछि मुस्लिम समुदायलाई सामाजिक तथा धार्मिक गतिविधि सञ्चालन गर्न सहज भएको बताए।

चालु आर्थिक वर्षमा थप योजना

वडा अध्यक्ष यादवका अनुसार चालु आर्थिक वर्षमा विद्यालयका लागि पाँच लाख, मोकदम भवनका लागि पाँच लाख तथा दक्षिण टोल बडेरवास्थित ब्रह्मबाबा मन्दिर निर्माणका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ।

स्थानीय बिरेन्द्र साहले ब्रह्मस्थानमा कम्पाउन्ड वाल निर्माणसँगै अधुरो ब्रह्मबाबा मन्दिर निर्माण कार्यसमेत सम्पन्न गर्न वडा कार्यालयसँग आग्रह गरेका छन्।

विकाससँगै दिगोपनाको चुनौती

स्थानीय तहले सडक, भवन, खानेपानी तथा धार्मिक–सामाजिक संरचना निर्माणमा लगानी बढाए पनि निर्माण भएका संरचनाको संरक्षण, नियमित मर्मतसम्भार तथा सेवाको प्रभावकारिता कायम राख्नु अर्को चुनौती देखिएको छ।

विशेषगरी नर्सरी तथा कृषि उत्पादनमा पहिचान बनाएको बिर्ती प्रस्टोकामा उत्पादनलाई बजारसँग जोड्ने, आधुनिक प्रविधि भित्र्याउने, व्यवसायीलाई तालिम दिने तथा कृषि सडक र सिँचाइको पूर्वाधार थप विस्तार गर्ने आवश्यकता रहेको वडा अध्यक्ष यादव बताउँछन्।

यादवले जनप्रतिनिधिका रूपमा आफ्नो कार्यकालमा व्यक्तिगत पहल र लगानीबाट विपन्न तथा दुःखीलाई सहयोग गर्नुका साथै विभिन्न पर्व, धार्मिक तथा सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको बताएका छन्।

“जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर वडा विकासलाई नमुना बनाउने प्रयास भइरहेको छ,” वडा अध्यक्ष यादवले भने।

कटहरिया नगरपालिका–३ मा हाल करिब दुई हजार पाँच सय मतदाता रहेका छन्। पछिल्ला वर्षमा सडक, स्वास्थ्य, शिक्षा र सामाजिक पूर्वाधारमा भएको लगानीले वडाको भौतिक स्वरूपमा परिवर्तन ल्याएको देखिए पनि विकासलाई दीगो बनाउँदै कृषि तथा नर्सरी क्षेत्रको व्यावसायिक विकासलाई थप गति दिनुपर्ने स्थानीयको अपेक्षा छ।

फोटो फिचरः

आरके श्रीवास्तव, रौतहट, भदौ १९ गते ।  

रौतहटको कटहरिया नगरपालिका–१ भसेडवामा खुला व्यायामशालासहित आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न पाँच वटा विकास योजनाको शुक्रबार उद्घाटन गरिएको छ।

वडा नं. १ का अध्यक्ष भूपेन्द्र महतो कोइरी र वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले संयुक्त रूपमा नवनिर्मित संरचनाको उद्घाटन गरेका हुन् ।

मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालित योजनामध्ये भसेडवामा १६ लाख रुपैयाँको लागतमा खुला व्यायामशाला, १२ लाख रुपैयाँको लागतमा नागरिक आरोग्य भवन तथा १२ लाख रुपैयाँकै लागतमा योग भवन निर्माण सम्पन्न भएको जनाइएको छ ।

त्यसैगरी, सामाजिक विकास इकाइ कार्यालय, मलंगवा सर्लाहीको सहयोगमा १६ लाख रुपैयाँको लागतमा दलित भवन निर्माण तथा १२ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवन स्तरोन्नतिको काम सम्पन्न गरिएको छ ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गरी अत्यावश्यक योजनाहरूको मात्र औपचारिक उद्घाटन गरिएको बताए ।

 

उनले निर्माण सम्पन्न भएका संरचना अब स्थानीय नागरिककै साझा सम्पत्ति र धरोहर भएकाले यसको संरक्षण, नियमित प्रयोग तथा सदुपयोगमा स्थानीयवासीको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएका योजनाहरू भसेडवामा ल्याउन पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाको पहल तथा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र यादव) को सक्रिय भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकमा देखिने सामान्य स्वास्थ्य समस्या न्यूनीकरण गर्न नियमित व्यायाम र योग प्रभावकारी हुने बताउँदै अध्यक्ष कुशवाहाले नवनिर्मित खुला व्यायामशालाको अधिकतम उपयोग गर्न स्थानीयवासीलाई आग्रह गरे ।

उनका अनुसार व्यायामशाला, योग भवन र नागरिक आरोग्य भवनजस्ता संरचनाले स्थानीयस्तरमै नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै स्वास्थ्यप्रति सचेतना बढाउन सहयोग पुग्नेछ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

रामअधार यादब,रौतहट, भादौ १० गते

रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइल प्रयोगकर्ता लामो समयदेखि नेटवर्क समस्याबाट प्रभावित भएका छन्। नेटवर्क कमजोर हुँदा स्थानीयवासीलाई फोनमा कुराकानी गर्न तथा मोबाइल सेवा प्रयोग गर्न कठिनाइ भइरहेको छ।

कटहरिया नगरपालिका अन्तर्गत छेदीचोक र कटहरिया बजार क्षेत्रमा एनसेलका टावर रहे पनि झौवा गाउँलगायत आसपासका क्षेत्रमा वर्षौंदेखि नेटवर्क समस्या कायम रहेको स्थानीय समाजसेवी गणिलाल यादवले जानकारी दिनुभएको छ।

नेटवर्क कमजोर भएका कारण आवश्यक समयमा फोन सम्पर्क गर्न नसकिने, कुराकानी गर्दा आवाज स्पष्ट नआउने तथा पटक–पटक फोन काटिने समस्या रहेको स्थानीयवासीको गुनासो छ।

स्थानीय समाजसेवी यादवले एनसेल कम्पनी तथा सम्बन्धित निकायलाई यस समस्याप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै यथाशीघ्र प्राविधिक टोली पठाई नेटवर्क समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ।

स्थानीयवासीले सञ्चारजस्तो अत्यावश्यक सेवामा लामो समयदेखि समस्या भइरहेकाले सम्बन्धित निकायले तत्काल पहल गरी भरपर्दो र गुणस्तरीय नेटवर्क सेवा उपलब्ध गराउन माग गरेका छन्।

रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर भएको आगलागी सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।

अमलेखगंजबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बन्यजन्तु मृग जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । दुर्घटना पश्चात उक्त ट्याङ्करमा आगलागी भएको थियो ।

दुर्घटनाबारे जानकारी पाएपछि आवश्यक उद्धार तथा आगलागी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा वेश निजगढ बारा र  सुरक्षा बेश सन्तपुर रौतहटबाट टोली खटिएको थियो ।

उक्त आगलागीबाट मानवीय क्षति केही नभएको र तेल ट्याङ्कर पुर्ण रुपमा जलेको प्रहरीले बताएको छ । एभरेष्ट न्यूज एजेन्सी

‎शिवनाथ कुशवाहा, श्रावण १६ गते ।

‎रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत कहरिया क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै स्थानीय उपभोक्ताले गुनासो गरेका छन्।
‎
‎स्थानीयका अनुसार ग्यास समयमै उपलब्ध नहुँदा दैनिक खाना पकाउन समस्या भएको छ। ग्यास खोज्दै विभिन्न डिलर र पसल धाउनुपरेको तथा कतिपय उपभोक्ता खाली सिलिन्डर बोकेर फर्किन बाध्य भएका छन्। सर्वसाधारणले सम्बन्धित निकायलाई आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेका छन्।
‎
‎नेपाल आयल निगमले भने हाल देशभर ग्यास आपूर्ति सामान्य अवस्थामा ल्याइएको र पूर्ण १४.२ केजीका सिलिन्डर वितरण भइरहेको जनाएको छ।
‎
‎स्थानीय बासिन्दाले कटहरिया क्षेत्रमा देखिएको ग्यास अभाव तत्काल समाधान गरी नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

रौतहट, १५ साउन।

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल शाह कानु र वडा नं. ४ का वडाध्यक्ष राम प्रवेश प्रसाद कुर्मी पदमुक्त भएका छन्।

निर्वाचन आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित दुवै जनप्रतिनिधि प्रचलित कानुनबमोजिम स्वतः पदमुक्त भएको जनाएको हो। आयोगको सूचना गोरखापत्रमा समेत प्रकाशित भएको छ।

शाह र कुर्मी २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिह्नबाट निर्वाचित भएका थिए। तर पछिल्लो समय उनीहरू प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) मा आबद्ध भएपछि एमाले केन्द्रीय सचिवालयले उनीहरूलाई पार्टीबाट निष्कासन गर्दै त्यससम्बन्धी निर्णय निर्वाचन आयोगमा पठाएको थियो।

सोही निर्णयका आधारमा आयोगले राजनीतिक दलसम्बन्धी कानुन तथा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको दल परिवर्तनसम्बन्धी कानुनी व्यवस्थाअनुसार दुवै जनप्रतिनिधिलाई पदमुक्त गरेको जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।