२०८२ चैत्र २३
२०८२ चैत्र २३

आरके श्रीवास्तव,रौतहट,१२ गते चैत ।
रौतहटको कटहरिया नगरपालिकामा पोषण प्रवद्र्धन तथा सामाजिक व्यवहार परिवर्तनलाई लक्षित गर्दै नगरपालिका स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम आज कटहरिया नगरपालिका समाहलमा आयोजना गरिएको हो ।

कार्यक्रममा परम्परागत उपचारकर्ता, धार्मिक अगुवा तथा समुदायका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले समाजमा विद्यमान पोषणसम्बन्धी मान्यता, अभ्यास तथा सुधारका आवश्यकताबारे खुलेर छलफल गरेका थिए ।

। यस कार्यक्रममा यस नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल, उपप्रमुख रितादेवी यादव र वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो र ९ का अध्यक्ष रुपेश यादवको सहभागिता थियो साथै यसै पालिकाका स्वास्थ्य शाखा, महिला बालबालिका शाखाका प्रमुख र यस नगरका पुरोहित, मोल्बी, पुजारी, बाल कल्बका सदस्यहरूको सहभागितामा प्रभावकारी तरिकाले संचालन भएको थियो । यस कार्यक्रमको उदेश्य परम्परागत उपचारकहरू र सामुदायिक नेताहरू द्वारा आमा र बच्चाको स्वास्थ्यमा बाधा पुर्याउने हानिकारक सामाजिक मान्यताहरू पहिचान गर्ने र त्यसलाई पालना गर्ने । हानिकारक सामाजिक मान्यताहरू र व्यवहारहरू जस्तै बालविवाह, खाद्य निषेध, लिङ्गमा–आधारित भेदभाव जसले आमा र बच्चाको स्वास्थ्य र पोषणलाई असर गर्छ, त्यसको नकारात्मक प्रभावहरू बारे सचेत गराउने र

हानिकारक सामाजिक–सांस्कृतिक मान्यताहरू र व्यवहारलाई सम्बोधन गर्न कार्य योजना विकास गर्ने रहेको थियो ।कार्यक्रमको मुख्य उद्देश्य कुपोषण न्यूनीकरण, विशेष गरी बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा सुधार ल्याउने रहेको आयोजकले जनाएको छ । सहभागीहरूलाई पोषणसम्बन्धी जानकारी प्रदान गर्दै सन्तुलित आहार, पोषणयुक्त खाद्य पदार्थ र गर्भवती महिलाको उचित हेरचाहका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा मनोज कुमार पण्डितले सबै सरोकारवालाले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गर्भवती महिलाको हेरचाह र पोषणमा ध्यान दिनु अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य संयोजक दिनेश प्रसाद यादवले कार्यक्रमका मुख्य बुँदाहरू समेट्दै पोषणसम्बन्धी नीति तथा नियम निर्माणको आवश्यकता औंल्याउनुभयो । त्यस्तै, संरक्षण नेपालका जेसी अफिसर भाग्यनारायण महतोले संस्थाले सञ्चालन गर्दै आएका पोषणसम्बन्धी कार्यक्रमहरूको जानकारी गराउनुभयो । कार्यक्रममा श्रीभगवान जयसवालको समेत सहभागिता रहेको थियो ।

कटहरिया नगरपालिकाको समन्वयमा केयर आईडी र संरक्षण नेपालको संयुक्त साझेदारीमा सञ्चालन गरिएको उक्त कार्यक्रम विगत दुई वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । यस अवधिमा संस्थाहरूले आमा समूह परिचालन, पोषण बगैंचा स्थापना, सरसफाइ सामग्री वितरण, स्वच्छ खानेपानीका लागि फिल्टर सहयोग, पोषण लेखाजोखा तथा महिला सशक्तीकरण लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

कार्यक्रममा सहभागीहरूले कुपोषणबाट बालबालिकालाई जोगाउन सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।

आरके श्रीवास्तव,रौतहट,१२ गते चैत ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा समुदाय स्तरमा देखिने नसर्ने रोग सम्बन्धी पालिका स्तरीय जनचेतनामूलक अभिमूखिकरण गोष्ठी सम्पन्न भएको छ ।
बिहीबारका दिन वडा नम्बर–८ स्थित माध्यमिक विद्यालय विजयपुरको सभाहलमा स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रममा रक्तचाप (ब्लडप्रेसर), मधुमेह (चिनी रोग), दम, क्यान्सर लगायतका नसर्ने रोगबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ताले नसर्ने रोगको कारण, लक्षण तथा यसबाट बच्ने उपायबारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
उहाँले असन्तुलित खानपान, शारीरिक व्यायामको कमी, धूम्रपान तथा मदिरा सेवन जस्ता कारणले यस्ता रोगको जोखिम बढ्ने बताउँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य सह– संयोजक रमेश यादवले यसले सामुदाय स्तरमा यस कार्यक्रम मार्फत राम्रो प्रभाव हुने र यसबाट जोगिन यसबारे सबैलाई जानकारी लिनुपर्ने र सचेत हुनु जरुरी रहेको देखिन्छ ।
उक्त कार्यक्रममा नगरका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, पालिकाका शाखा प्रमुखहरु , पत्रकारहरु लगाएत सरोकारवालाहरुको उल्लेखनीय सहभागीता रहेका थियोे ।
कार्यक्रममार्फत समुदायमा नसर्ने रोगबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको स्वास्थ्य शाखाले जनाएको हो ।

आरके श्रीवास्तव,राैतहट,१० गते चैत । 

रौतहट । केही दिनयता परेको लगातार वर्षा, असिना र तीव्र हावाहुरीका कारण रौतहटका इँटा उद्योगहरू गम्भीर रूपमा प्रभावित भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको मौसमीय विपत्तिले जिल्लाका करिब ५० वटा इँटा उद्योगमा ठूलो नोक्सानी पुर्‍याएको छ ।

रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष रामबिनोद साहका अनुसार पोल्नका लागि तयार पारिएका काँचो इँटाहरू नष्ट हुँदा उद्योगीहरू आर्थिक संकटमा परेका छन् । प्रारम्भिक तथ्यांकअनुसार १० लाखभन्दा बढी काँचो इँटा बिग्रिएका छन्, जसको मूल्य करिब ४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

उद्योगीहरूले खुला ठाउँमा सुकाउन राखिएका काँचो इँटाहरू अचानक आएको मुसलधारे वर्षा र असिनाले पूर्ण रूपमा बिगारेको बताएका छन् । तेज हावाहुरीले थप क्षति पुर्‍याउँदा उत्पादन नै प्रभावित भएको उनीहरूको भनाइ छ ।

बिके, बिर, पूजा, एमबिआई, सोना, रामजानकी, उदय र आजादलगायतका इँटा उद्योगहरूमा सबैभन्दा बढी असर परेको जनाइएको छ ।

यस प्राकृतिक प्रकोपले ठूलो आर्थिक भार थपिएपछि उद्योगीहरूले सम्बन्धित निकायसँग राहत तथा क्षतिपूर्तिको माग गरेका छन् । साथै, भविष्यमा यस्ता जोखिमबाट बच्न आवश्यक पूर्वतयारी र दीर्घकालीन उपाय अपनाउनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

आरके श्रीवास्तव,रौतहट,१० गते चैत ।
रौतहट — रौतहटको कटहरियामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, रौतहट क्षेत्र नम्बर ३ को हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समिक्षा बैठक सम्पन्न भएको छ ।

उक्त बैठक जसपा नेपालका तर्फबाट उम्मेदवार रहनु भएका संविधान सभा सदस्य तथा पूर्व मन्त्री गोविन्द चौधरीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । कार्यक्रममा निर्वाचन जनपरिचालन समितिका संयोजक रामप्रवेश दासको संयोजन रहेको थियो ।

समिक्षा बैठकमा पार्टीका विभिन्न नेताहरूले आ–आफ्नो वडास्तरको चुनावी गतिविधि र परिणामको समीक्षा प्रस्तुत गरेका थिए । जसअनुसार विजय चौधरी, अनिल यादव, रामअश्रे चौधरी, रामप्रवेश दास लगायतले आफ्नो वडाको अवस्थाबारे धारणा राखेका थिए । उक्त जानकारी जसपा नेपालका नेता राजाबाबु साहले दिएका हुन् ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि गोविन्द चौधरीले चुनावी परिणामलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले केही कार्यकर्ताबाट कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सुधार गर्नुपर्ने बताए । साथै, अब इमान्दार र प्रतिबद्ध कार्यकर्ताको बलियो संगठन निर्माण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

चौधरीले चुनावको नतिजाबाट निराश नहुन आग्रह गर्दै शून्यबाटै भए पनि नयाँ ऊर्जा र रणनीतिसहित अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी सम्पूर्ण कार्यकर्तालाई धन्यवाद दिँदै उनले आफूलाई विश्वास गरेर मत दिएका मतदाताप्रति पनि आभार व्यक्त गरे ।

आरके श्रीवास्तव,रौतहट,०८ गते चैत ।
रौतहट । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल (भोजपुरा कमाण्ड) ले नयाँ बन्न लागेको सरकारसँग आफ्ना मागहरू सम्बोधन हुने आशा व्यक्त गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनका प्रतिनिधिहरूले यस्तो अपेक्षा सार्वजनिक गरेका हुन् ।

आन्दोलनले विशेष गरी रवि लामिछाने गृहमन्त्री रहेको समयमा मिटरब्याज पीडितहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइएको स्मरण गर्दै अब उनको पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावनापछि आफूहरू थप आशावादी बनेको बताएका छन् ।

पत्रकार सम्मेलनमा आन्दोलनले मिटरब्याजसँग सम्बन्धित विभिन्न मागहरू अघि सारेको छ । जसअनुसार मिटरब्याजसँग जोडिएका सबै प्रकारका फर्जी कागजात खारेज गर्नुपर्ने, मिटरब्याजलाई अपराध घोषणा गर्दै कडा कानुन ल्याउनुपर्ने तथा विशेष न्यायाधिकरण गठन गरी छिटो न्याय सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, पीडितहरूको नाममा गैरकानुनी रूपमा हडपिएको सम्पत्ति फिर्ता गरिनुपर्ने, साहु–महाजनमाथि कडा कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति तथा पुनस्र्थापना उपलब्ध गराउनुपर्ने माग पनि राखिएको छ ।

आन्दोलनका भोजपुरा इन्चार्ज शिवशंकर महतोले मिटरब्याज पीडितहरूको समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । उनले राज्यले समयमै ठोस कदम नचाले देशव्यापी दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै अझ सशक्त आन्दोलनमार्फत सरकारलाई दबाब दिने बताए ।

आन्दोलनले लामो समयदेखि मिटरब्याजका कारण किसान, मजदुर तथा साना व्यवसायीहरू गम्भीर आर्थिक तथा सामाजिक उत्पीडनमा परेको उल्लेख गर्दै राज्यले प्रभावकारी समाधान गर्न नसकेको आरोप लगाएको छ । विज्ञप्तिमा पीडितहरूले न्याय नपाउँदा निराशा बढ्दै गएको र अदालत तथा प्रशासनमा प्रभावका कारण निष्पक्ष निर्णय हुन नसकेको गुनासो गरिएको छ ।

पीडितहरू विस्थापित हुने, आत्मसम्मान गुमाउने तथा सामाजिक रूपमा अपमानित हुने अवस्थासम्म पुगेको आन्दोलनको दाबी छ । देशका विभिन्न जिल्लामा हजारौं पीडितले साहु–महाजनविरुद्ध उजुरी दिएका भए पनि ती उजुरीमाथि प्रभावकारी छानबिन र कारबाही हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।

सोनफी चौधरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अर्जुन प्रसाद दहाल, नारायण प्रसाद घिमिरे, शेष अबुलैश लगायतका पीडितहरूले आफूमाथि भएको अन्यायबारे अनुभव सुनाएका थिए ।

यसैबीच, रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी रामबाबु प्रसाद कलवारमाथि मिटरब्याज प्रकरणमा गम्भीर आरोप लागेको छ । आन्दोलनका अनुसार उनले किसान, मजदुर तथा साना व्यवसायीलाई उच्च ब्याजदरमा ऋण दिँदै चक्रवृद्धि ब्याजमार्फत ऋणीहरूलाई फसाउने, घरजग्गा कब्जा गर्ने र फर्जी कागजातमार्फत सम्पत्ति आफ्नो नाममा सार्ने गरेको आरोप छ ।

पीडितहरूले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दर्ता गराए पनि प्रभाव र पहुँचका कारण अहिलेसम्म ठोस कारबाही हुन नसकेको बताएका छन् । आन्दोलनले यस विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

आरके श्रीवास्तव, रौतहट, चैत ०४ गते ।
रौतहटको गढीमाई नगरपालिका–६ धरमपुरस्थित घोडी देवी समाज कल्याण केन्द्रले आफ्नो पहिलो सामाजिक परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन गरिएका विभिन्न गतिविधिहरूको समीक्षा केन्द्रित रहेको थियो ।


कार्यक्रममा संस्थाका सचिव उग्रनारायण यादवले संस्थाले गरेको कार्यप्रगति, कार्यक्रम सञ्चालन अवस्था तथा आर्थिक व्यवस्थापन सम्बन्धी विस्तृत प्रस्तुति राख्नुभएको थियो। प्रस्तुतिपछि सहभागीहरू तथा सरोकारवालाबीच खुला छलफल भएको थियो, जसले संस्थाको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
गढीमाई नगरपालिकाकी उपप्रमुख स्मिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष उमाकान्त राय यादवले गर्नुभएको थियो। कार्यक्रममा असमान नेपालका एक्टिभ परियोजना संयोजक रामप्रवेश यादवले परियोजनाको उद्देश्य र उपलब्धिबारे जानकारी गराउँदै युवा सदस्यहरूको क्षमता विकास, पारदर्शिता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा सहयोग पुगेको बताउनु भयो ।
उक्त एक्टिभ परियोजना भिएसओको प्राविधिक सहयोगमा आसमान नेपालद्वारा कार्यान्वयन भइरहेको जनाइएको हो। परियोजनाले स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्दै युवाहरूलाई नेतृत्व विकासतर्फ अग्रसर गराउने लक्ष्य राखेको आसमान नेपालका कर्मचारी जितेन्द्र पासवानले जानकारी गराउनु भयो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायतका कानुनी व्यवस्थाअनुसार सार्वजनिक निकायहरूले नियमित रूपमा सामाजिक परीक्षण गर्नुपर्ने प्रावधान भए पनि व्यवहारमा यसको कार्यान्वयन कमजोर देखिँदै आएको छ । यस्ता अवस्थामा घोडी देवी समाज कल्याण केन्द्रले पहिलोपटक सामाजिक परीक्षण सम्पन्न गर्नु सकारात्मक कदमका रूपमा हेरिएको छ ।
कार्यक्रमले स्थानीय स्तरमा पारदर्शिता, उत्तरदायित्व र सहभागितामूलक विकासलाई प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।

 

हनुमत कुमार यादव,गाैर,३० गते फाल्गुन ।

प्रादेशिक अस्पताल गौर, रौतहटमा कर्मचारी आवास भवन निर्माणको शिलान्यास कार्यक्रम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री माननीय कृष्ण प्रसाद यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो भने मधेसका स्वास्थ्य तथा जनसंख्या मन्त्री जङ्गीलाल राय विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री कृष्ण प्रसाद यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री जङ्गीलाल रायले संयुक्त रूपमा कर्मचारी आवास भवनको शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रमका क्रममा उपस्थित अतिथिहरूले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा अस्पतालका कर्मचारीलाई सहज वातावरण प्रदान गर्न कर्मचारी आवास भवन निर्माण अत्यन्त महत्वपूर्ण कदम रहेको धारणा व्यक्त गरे ।

प्रमुख अतिथि मुख्यमन्त्री यादवले आफ्नो मन्तव्यमा मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रादेशिक अस्पताल गौरलाई आधुनिक तथा सुविधासम्पन्न बनाउने दिशामा निरन्तर पहल भइरहेको उल्लेख गर्नुभयो । उहाँले कर्मचारीहरूको आवासीय सुविधा सुधार हुँदा सेवाग्राहीलाई पनि छिटो र प्रभावकारी सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी विशिष्ट अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री जङ्गीलाल रायले अस्पतालको भौतिक पूर्वाधार विस्तारले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवैमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूको विकासका लागि आवश्यक बजेट र नीति निर्माणमा विशेष ध्यान दिइरहेको पनि जानकारी दिनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादवले कार्यक्रममा बोल्दै कर्मचारी आवास भवन निर्माणले अस्पतालका चिकित्सक तथा कर्मचारीलाई स्थायी रूपमा सेवा दिन प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकार तथा सम्बन्धित निकायको सहयोगले अस्पतालको समग्र विकास सम्भव भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका विधेयक नागेन्द्र साह जयसवाल, मेसु मुरारी ठाकुर लगायत विभिन्न राजनीतिक व्यक्तित्व, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

निर्माण हुन लागेको कर्मचारी आवास भवनले भविष्यमा अस्पतालका कर्मचारीलाई बसोबासको सुविधा प्रदान गर्दै अस्पतालको सेवा प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

हनुमत कुमार यादव,गाैर,३० गते फाल्गुन ।

रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेटस्थित दिव्य दृष्टि एकाडेमीमा विद्यार्थीहरूले वर्षभरि सिकेका शैक्षिक गतिविधि, सिर्जनात्मक कार्य तथा प्रतिभाहरूको प्रदर्शन गर्ने विशेष शैक्षिक प्रदर्शनी कार्यक्रम आज भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ ।

विद्यालय परिसरमा आयोजित उक्त प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विभिन्न शैक्षिक सामग्री, परियोजनाहरू, चित्रकला, हस्तकला तथा अन्य सिर्जनात्मक गतिविधिहरू प्रदर्शन गरिएको थियो । प्रदर्शनी अवलोकन गर्न अभिभावक, स्थानीय बासिन्दा तथा शिक्षा प्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । अवलोकनकर्ताहरूले विद्यार्थीहरूको मेहनत, सृजनशीलता र प्रतिभाको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले विज्ञान, गणित, भाषा, सामाजिक अध्ययन लगायत विभिन्न विषयसँग सम्बन्धित परियोजनाहरू प्रस्तुत गरेका थिए । यसले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइ, अनुसन्धान क्षमता तथा सिर्जनशील सोचलाई उजागर गरेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई अझ प्रभावकारी र व्यवहारिक शिक्षातर्फ प्रेरित गर्ने विश्वास लिइएको छ । साथै, अभिभावक र समुदायलाई पनि विद्यालयमा भइरहेको शैक्षिक गतिविधिबारे जानकारी गराउने महत्वपूर्ण अवसरका रूपमा यस्ता प्रदर्शनीलाई लिइन्छ ।

विद्यालयले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने विधालय परिवार द्वारा जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,रौतहट,फागुन २८ गते।

रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा होलीको पूर्वसन्ध्यामा भएको दुई समूहबीचको विवादलाई लिएर स्थानीय स्तरमा आरोप-प्रत्यारोप सुरु भएको छ । सामान्य विवादलाई केही राजनीतिक व्यक्तिहरूले बढावा दिएको आरोप स्थानीयहरूले लगाएका छन भने समुदायका प्रतिनिधिहरूले घटनालाई सामुदायिक रूपमा समाधान गर्न आग्रह गरेका छन् ।

स्थानीयका अनुसार गत फागुन १९ गते होलीको पूर्वसन्ध्यामा सन्तपुरमा दलित समुदाय र यादव समुदायका केही युवाहरू एकै ठाउँमा बसेर भोजभतेर तथा मासु-मदिरा सेवन गरिरहेको क्रममा सामान्य विवाद उत्पन्न भएको थियो । उक्त विवाद बढ्दै जाँदा दुई पक्षबीच तनाव तथा झडप भएको बताइएको छ । त्यसमा दुबै पक्षका धेरै जना घाईते भएका थिए ।

स्थिति नियन्त्रणमा ल्याउने क्रममा स्थानीय भुवनेश्वर राय यादवले विवाद शान्त पार्ने प्रयास गर्दा दलित समुदायका केही युवाहरूले रडले प्रहार गर्दा उनको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शी सिकिन्द्र राय यादवले बताएका छन् ।

स्थानीय समाजसेवी यादवका अनुसार समुदाय स्तरमै मिलाउन सकिने उक्त घटनालाई पछि अनावश्यक रूपमा ठूलो बनाइएको आरोप लगाइएको छ । उनले एक जना स्थानीय नेताले व्यक्तिगत स्वार्थका कारण केही व्यक्तिलाई उक्साएर प्रहरी प्रशासनमाथि दबाब दिँदै ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराएको आरोप लगाएका छन् ।

उता घटनामा घाइते भएका भुवनेश्वर राय यादवले आफूले सामूहिक विवाद समाधान गर्न खोज्दा उल्टै आक्रमणको शिकार भएको र राजनीतिक षड्यन्त्रका कारण मुद्दा खेप्न बाध्य भएको बताएका छन् ।

दलित समुदायका पीडित बिर्जा राम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुरमा बुधबार आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार दलित परिवारमाथि सामूहिक आक्रमण गरेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको छ । घटनामा संलग्न रहेको आरोप लागेका भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार रहेका छन् । पक्राउ परेका पसिन्द्र यादवलाई हाल इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

यता घटनामा गम्भीर घाइते भएका भुवनेश्वर यादवलाई प्रहरी प्रशासनको सल्लाहमा थप उपचारका लागि वीरगञ्ज पठाइएको बताइएको थियो तथा त्यसै बिच राजनीतिक दबाबका कारण घाइते यादव समेत आठ जना माथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको घाइते भुवनेश्वर यादवको भनाइ रहेको छ ।

यसैबीच स्थानीय दलित समुदायका प्रतिनिधि सुब्बा महरा र जुगलाल रामले दुवै समूहबीचको सानो विवादलाई ठूलो नबनाई समुदायस्तरमै समाधान खोज्न आफूहरू तयार रहेको बताएका छन। सन्तपुरमा विभिन्न समुदायका मानिसहरू लामो समयदेखि सँगै बसोबास गर्दै आएको उल्लेख गर्दै स्थानीयहरूले आपसी समझदारीबाट विवाद समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उता दलित समुदायका मानिसहरूले आफूहरूलाई घरमा पसि सम्पूर्ण परिवारलाई कुटपिट गरेकाे पत्रकारको सम्मेलन गरि जानकारी गराएका थिए । भने अर्काे पक्षले बिहिवार पत्रकार सम्मेलन गरि आफ्नो कुरा राखेको हाे ।

स्थानीयवासीका अनुसार सानो झगडालाई साम्प्रदायिक रंग नदिई शान्तिपूर्ण रूपमा समाधान गर्न सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता रहेको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते फाल्गुन । 

रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल धिरज विजयी भएका छन् । प्राप्त अन्तिम मत परिणाम अनुसार उनले २७ हजार ३१८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरे । त्यसैगरी आम जनता पार्टीका प्रभु साहले ९ हजार ८९० मत ल्याए भने नेकपा एमालेका कुन्दन कुशवाहाले ६ हजार ६०५ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका रामकृपाल यादवले ६ हजार ४३० मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीकी पुनम यादवले ३ हजार ८८१ मत प्राप्त गरिन् ।

विजयी भएका पटेल माओवादी सशस्त्र जनयुद्धपछि २०६३ सालदेखि सक्रिय रूपमा राजनीतिमा लागेका व्यक्ति हुन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा मौलापुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए तर त्यसबेला पराजित भएका थिए । त्यसैगरी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी सफल हुन सकेका थिएनन् ।

लगातार दुई निर्वाचनमा पराजय भोगे पनि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीको लहर र रौतहट–३ का मतदाताको समर्थनका कारण पटेलले विजय हासिल गरेका छन् । स्थानीय स्तरमा लामो समयदेखि सक्रिय राजनीतिक यात्रापछि उनले पहिलोपटक संघीय संसद् प्रवेश गर्न सफल भएका हुन् ।

रौतहट–३ मा यसपटकको निर्वाचन परिणामलाई नयाँ राजनीतिक शक्ति उदाउने संकेतका रूपमा समेत हेरिएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।