२०८२ चैत्र २६
२०८२ चैत्र २६

आरके श्रीवास्तव,रौतहट,०७ गते पुस । 

राैतहट । मधेस प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पत्रकारिता पुरस्कार विधेयक तत्काल पारित गरी कार्यान्वयनमा लैजाने पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित होटल गौतममा आयोजित सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक एक दिवसीय गोष्ठीमा बोल्दै उहाँले यस्तो जानकारी दिनु भएको हो ।

अध्यक्ष यादवका अनुसार दोस्रो कामका रूपमा पत्रकार अभाव र समस्यामा रहेकाहरूलाई तत्काल राहत दिन पत्रकार कल्याण कोष स्थापना गरिँदैछ । यो वर्षभित्रै यी दुवै काम सम्पन्न हुने उहाँको भनाइ थियो ।

 

तेस्रो प्राथमिकताका रूपमा उहाँले पत्रकारितामा लेखन संस्कृति कमजोर हुँदै गएको स्वीकार गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । “कपि–पेस्ट पत्रकारिता लेखन संस्कृतिको कमजोरीको उपज हो,” भन्दै यसलाई सुधार गर्न लेखन वृद्धि कोष स्थापना गरिने जानकारी दिनुभयो । मिडिया काउन्सिलले यस वर्ष यी तीनवटै काम सुरु गरिसकेको र अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

चौथो कामका रूपमा सामाजिक सञ्जाल र फेसबुके पत्रकारिताको दुरुपयोग कम गर्न अनलाइन सञ्चारमाध्यमको वर्गीकरण गर्ने प्रक्रिया अघि बढाइएको अध्यक्ष यादवले स्पष्ट पार्नुभयो । मिडिया काउन्सिलले मधेस प्रदेशका ६ वटा जिल्लामा यस्ता कार्यक्रम सम्पन्न गरिसकेको जानकारी पनि दिनुभयो ।

 

पत्रकारको अर्थतन्त्र मजबुत बनाउने विषयलाई गम्भीरतापूर्वक लिइएको बताउँदै उहाँले लोककल्याणकारी विज्ञापन व्यवस्थापनका लागि कार्यविधि बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यी सबै काम सफल बनाउन नेपाल पत्रकार महासंघको सक्रिय सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।

विश्वसनीयता कायम भए मात्र व्यवसायिक पत्रकारिता सम्भव हुने उल्लेख गर्दै अध्यक्ष यादवले आमसञ्चार प्राधिकरणमार्फत प्रेस पासको व्यवस्था गरिने, जसले वास्तविक पत्रकारको पहिचान सुनिश्चित गर्ने बताउनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद युवराज भट्टराई ‘समिर’ ले सञ्चारमाध्यमका समस्या र चुनौतीबारे आफू जानकार रहेको बताउँदै पत्रकारितामा स्पष्ट मापदण्ड आवश्यक रहेको धारणा राख्नुभयो ।

 

गोष्ठीमा नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झा र नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले आ–आफ्ना जिल्लाको पत्रकारिताको अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बनजराले पनि याे विषयमा आफ्नो धारणा राख्नु भएको थियोे । नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष सञ्जय कार्कीले पनि सञ्चारमाध्यमकाे अवस्था र चुनाैतीकाे बारेमा आफ्नो धारणा राख्नु भएको थियोे ।

कार्यक्रमको पृष्ठभूमिबारे मिडिया काउन्सिलकी सदस्य बन्दना झाले अवस्था सुधार गर्न सकिने बताउनुभयो । गोष्ठीका क्रममा सहभागी मिडिया सञ्चालकहरूलाई समूहमा विभाजन गरी सुझाव संकलन गरिएको थियो । कार्यक्रममा राैतहट र सर्लाहीका मिडिया सञ्चालकहरूकाे सहभागीता रहेको थियो ।

कार्यक्रम सञ्चालन मिडिया काउन्सिल मधेस प्रदेशका प्रशासकीय प्रमुख ओमप्रकाश कटुवालले गर्नुभएको थियो ।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । सहभागी मिडिया सञ्चालकहरूलाई मिडियाको काममा सहयोग पुर्‍याउने उद्देश्यले एक–एक थान ब्याग प्रदान गरिएको थियो ।

 

बज्जिकाञ्चल संवाददाता,रौतहट, ५ पुस ।

जनमत पार्टीका कार्यकारिणी समिति, केन्द्रीय कमिटी सहित विभिन्न जिम्मेवारीमा रहेका दर्जनौं नेताहरु पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको गृहनगर रौतहटको मौलापुर नगरपालिकाको पतौरा बजारमा आयोजित एक कार्यक्रमका बीच नेताहरु जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन ।

यसरी पार्टी प्रवेश गर्नेहरुमा जनमत पार्टीका कार्यकारिणी समिति सदस्य सुनिल यादव, केन्द्रीय सदस्य सियाराम जयसवाल, केन्द्रीय सदस्य विनोद यादव, सांस्कृतिक जनमत संघका केन्द्रीय सदस्यद्धय दिपक बैठा, रामबाबु यादव रहेका छन् ।

यसैगरी जनमत पार्टी बाराका सदस्य एवं सुवर्ण गाउँपालिकाका इन्चार्ज कामेश्वर मुखिया, देवताल गाउँपालिका अध्यक्ष संदिप यादव, महागढीमाई नगरपालिका सचिव राजेश यादव, देवताल गाउँपालिका सचिव कौशल कुशवाहा, वडा नं. ६ का वडा अध्यक्ष कपिलदेव पण्डित, महागढीमाई नगरपालिका वडा नं. ६ का पूर्व वडा अध्यक्ष कुबेर यादव, सचिव हरिन्द्र यादव, बारा जिल्ला सदस्य उमाशंकर दास, पुन्देव चौरसिया, पतौरा ९ का वडा अध्यक्ष सविन्द्र यादव लगायतका नेताहरु आजपामा प्रवेश गरेका छन् ।

जनमत पार्टी परित्याग गरी आजपा प्रवेश गर्ने नेताहरु बारा जिल्ला क्षेत्र नं. २ का बढी रहेका छन् । पछिल्लो समय जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्ने नेताहरुको संख्या बढदै गइरहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

उनीहरुलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका, माला, अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् । आजपामा स्वागत गर्दै उनले सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् ।

यसअघि जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु गत बुधबार आजपामा प्रवेश गरेका थिए ।

जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने नेताहरुले जनमतले मुलुकको नेतृत्व गर्दै नेपाली जनताको आवश्यक्ता, चाहना पुरा गर्न नसक्ने भएकाले आफूहरुले आजपामा प्रवेश गरेको जनाएका छन् ।

आजपाले लिएको रणनीति, उठाउदै आएको मुद्धाले मुलुक र नेपाली जनताको पक्षमा रहेको र आजपाले मुलुकको नेतृत्व गर्दै समृद्धिको स्पष्ट खाका सहित अगाडी बढेकाले आजपामा प्रवेश गरेको उनीहरुले जनाएका छन् । आजपाको नेतृत्व, नीति, विचार नै अहिलेको आवश्यक्ता भएकाले अन्य नेतालाई समेत उनीहरुले आजपामा गोलबद्ध हुन आह्वान गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,०५ गते पुस । 

रौतहट । आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तथा छलफलका लागि नेपाली कांग्रेस रौतहट निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय भेला आज कटहरिया बजारमा सम्पन्न भएको छ ।

भेलामा प्रतिनिधि सभा निर्वाचनका विषयमा व्यापक छलफल गरिएको थियो । सो क्रममा नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति जितेन्द्र यादव (शुनिल) ले आउँदो प्रतिनिधि सभा चुनावमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सभापति यादवको उक्त घोषणापछि भेलामा सहभागी नेताहरूले प्रतिनिधि सभा सदस्यका लागि नाम सिफारिस प्रक्रिया अघि बढाएका थिए ।

नाम सिफारिसका क्रममा नेपाल शिक्षक संघका अध्यक्ष रामकृपाल यादव, ज्ञानेन्द्र यादव, वाल्मीकि यादव, ओमप्रकाश जयसवाल लगायतले प्रतिनिधि सभा सदस्य पदका लागि आ–आफ्नो नाम प्रस्ताव गरेका थिए । जयसवाल यस अघि पनि संघिय सांसद पदका प्रत्यासी हुन् ।

भेलामा सहभागी वक्ताहरूले पार्टी संगठन सुदृढ बनाउँदै चुनावमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । साथै, क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको जित सुनिश्चित गर्न सबै कार्यकर्ता र नेताहरू मिलेर काम गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

आरके श्रीवास्तव,मधेस,०५ गते पुस । 

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय भेलाले पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरलाई प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मतिले एकल नाम सिफारिस गरेको छ ।

क्षेत्रीय भेलाको निर्णयसँगै पार्टीका नेता–कार्यकर्ताहरूले ठाकुरलाई हार्दिक बधाई दिँदै आगामी निर्वाचनमा विजयको अग्रिम शुभकामना व्यक्त गरेका छन् । भेलामा सहभागी वक्ताहरूले मधेशको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्दै आएका ठाकुरको नेतृत्व आज पनि जनतामाझ विश्वासिलो रहेको बताए ।

महन्थ ठाकुर यसअघि सोही निर्वाचन क्षेत्रबाट दुई पटक संघीय सांसदमा निर्वाचित भइसकेका अनुभवी नेता हुन् । सरल जीवनशैली, सिद्धान्तनिष्ठ राजनीति र स्वच्छ छविका कारण उनी ‘सन्त नेता’का रूपमा चिनिँदै आएका छन् । सत्ता राजनीतिमा अवसर हुँदा पनि मन्त्री पदप्रति आकांक्षा नराखी आफूभन्दा अन्य दर्जनौं नेतालाई मन्त्री बन्न सहयोग गरेको उनको राजनीतिक आचरणलाई पार्टीभित्र मात्र होइन, आम जनताले पनि सकारात्मक रूपमा लिएका छन् ।

“मरे तो मुक्ति, जिए तो मधेश” भन्ने चर्चित नारासहित मधेश आन्दोलनको अगुवाइ गरेका ठाकुरको राजनीतिक विचार र प्रतिबद्धता अहिले पनि जनस्तरमा चर्चामा रहेको छ । पार्टीका नेताहरूले महोत्तरी–३ मा ठाकुरको उम्मेदवारीले लोसपा नेपाललाई थप बलियो बनाउने र मधेशी जनताको मुद्दा फेरि सशक्त रूपमा संसदमा उठ्ने विश्वास व्यक्त गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,०५ गते पुस ।

रौतहट । राजपुर नगरपालिकामा कार्यरत हल्का सवारी चालक रोज कमरूल होदा (शेख कमरूद्दिन) को असामयिक निधन भएको छ । उहाँको मिति २०८२/०९/०४ गते राति करिब ९ बजे निधन भएको नगरपालिकाले जनाएको छ ।

स्व. होदाको निधनप्रति राजपुर नगरपालिका परिवारले गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। नगर कार्यपालिकाको कार्यालय, राजपुर नगरपालिकाबाट जारी सूचनाअनुसार मिति २०८२/०९/०६ गते आइतबार नगरपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयहरूमा शोक विदा दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरद्वारा हस्ताक्षरित सूचनामा स्व. होदाको योगदानप्रति सम्मान व्यक्त गर्दै शोक विदा दिइएको व्यहोरा सबैलाई जानकारी गराइएको छ ।

यसैबीच, राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजिक आलमले सामाजिक सञ्जालमार्फत शोक सन्देश व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “राजपुर नगरपालिकाको हल्का सवारी चालक रोज कमरूल होदा (शेख कमरूद्दिन) को असामयिक निधनले हामी सबै स्तब्ध भएका छौं । उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं र शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गर्दछौं।”

स्व. होदाको निधनले नगरपालिकामा शोकको वातावरण छाएको छ । स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूले उहाँलाई एक इमानदार र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

आरके श्रीवास्तव,राैतहट,०५ गते पुस । 

रौतहट । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले मौलापुर सब–स्टेसनदेखि हर्षाहा सब–स्टेसनसम्मको ३३ केभी प्रसारण लाइनमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकाले मिति २०८२/०९/०५ गते शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मौलापुर सब–स्टेसनबाट प्रसारण हुने सम्पूर्ण क्षेत्रको विद्युत् सेवा बन्द रहनेछ । मर्मत तथा सुधार कार्य सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न लाइन अवरुद्ध गर्नुपरेको प्राधिकरणले स्पष्ट पारेको छ ।

यद्यपि, तोकिएको समयभन्दा अगाडि नै कार्य सम्पन्न भएमा निर्धारित समयभन्दा पहिल्यै लाइन सञ्चालन गरिने पनि सूचनामा उल्लेख गरिएको छ । यसबाट प्रभावित उपभोक्ताहरूलाई आवश्यक पूर्वतयारी गर्न नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ ।

उक्त सूचना जिल्ला प्रशासन कार्यालय, गौर तथा मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुर लाई बोधार्थ पठाइएको छ ।

नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले असुविधाप्रति क्षमायाचना गर्दै उपभोक्ताको सहकार्यका लागि आग्रह गरेको छ ।

काठमाण्डौ – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाउनुभएको छ । हिजो बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै सदस्यहरूले उहाँलाई विश्वासको मत दिएका हुन् ।

उहाँको पक्षमा प्रदेशसभाको पूरै ९२ मत खसेको थियो । उहाँलाई सत्तापक्षका सबै दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले समेत विश्वासको मत दिएका हुन् ।

६ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले मंसिर २१ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । सभार उज्यालाे

हनुमत कुमार यादव,राैतहट,०३ गते पुस । 

‎रौतहट । रौतहटको सदरमुकाम गौर स्थित रहेको करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयविरुद्ध जिल्लाका व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन् । रौतहट वाणिज्य संघको आयोजनामा जिल्लाका विभिन्न स्थानबाट आएका व्यापारीहरू एकजुट भएर उक्त निर्णयविरुद्ध सडकमा उत्रिएका हुन् ।

‎प्रदर्शनकारीहरूले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयले स्थानीय व्यापारी, उद्योगी तथा करदाताहरूलाई गम्भीर समस्या पर्ने भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरेका छन् । उनीहरूको भनाइमा करदाता सेवा कार्यालय खारेज हुँदा कर सम्बन्धी सेवा लिन टाढा जानुपर्ने बाध्यता सिर्जना हुने र यसले समय तथा खर्च दुवै बढाउनेछ ।

‎र्‍यालीका क्रममा व्यापारीहरूले सरकारविरुद्ध कर कार्यालय सार्न पाइदैन ,व्यापारी दिन पाउदैन र अर्थमन्त्री मुर्दावाद सहितका नाराबाजी गर्दै करदाता सेवा कार्यालय यथावत् राख्न माग गरेका थिए । रौतहट वाणिज्य संघका अध्यक्ष रविन्द्रनाथ गोपाल सहितका पदाधिकारीहरूले स्थानीय स्तरमै सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै करदातामैत्री नीतिको आवश्यकतामा जोड दिएका छन् ।

‎वाणिज्य संघले सरकारले आफ्नो निर्णय पुनर्विचार नगरे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ । उक्त कार्यक्रम लाई अगाडिको लागि बिहान शुक्रबार करदाता सेवा कार्यालय अगाडि धर्ना दिन र विरोध प्रदर्शन का लागि वाणिज्य संघ रौतहटले सम्पूर्ण व्यापारी संग आफ्नो व्यापार बंद गरी आउन आग्रह समेत गरेका छन् । हाल प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०३ गते पुस । 

रौतहट । जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना अन्तर्गत शुक्रबार चन्द्रपुर नगरपालिका र सरोकारवाला निकायबीच बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।
अक्सफाम नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र (आरडिसी नेपाल) को आयोजनामा चन्द्रपुर नगरपालिका भित्र जलवायु परिवर्तनका कारण पर्न सक्ने सम्भावित प्रभाव तथा त्यसको न्यूनीकरणका उपायबारे छलफल गरिएको हो ।
चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा जलवायु परिवर्तनले कृषि, वन, पूर्वाधार, जनस्वास्थ्य तथा जीविकोपार्जनमा पार्दै आएको असरका विषयमा सहभागीहरूबीच गहिरो विमर्श गरिएको थियो । साथै ती असरहरू कम गर्न सकिने सम्भावित उपाय, सुधार गर्नुपर्ने पक्ष तथा यस क्षेत्रमा नगरपालिकाले हालसम्म गरिरहेको प्रयासबारे समेत व्यापक छलफल भएको थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका अन्तर्गतका चन्द्रपुर नगरपालिकाको उपप्रमुख, प्रशासकीय अधिकृत, वडाका वडाअध्यक्षहरूवडा सदस्य , वन उपभोक्ता महासङ्घ, जलधार तथा भूसंरक्षण, संघर्ष युवा क्लब महिला समूह ,  तथा सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको थियो भने डिभिजन वन कार्यालय रौतहटका प्रतिनिधिहरूले वन संरक्षण, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणमा वन क्षेत्रको भूमिकाबारे धारणा राखेका थिए ।
त्यसैगरी चन्द्रपुर नगरपालिकाका विभिन्न शाखा प्रमुख कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छलफल कार्यक्रममा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) की उपाध्यक्ष ममता झा स्वागत मन्तव्य र परियोजनाको संयोजक चिरञ्जीवी महत्व ले परियोजनाको उद्देश्य, हालसम्मको प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी दिइन ।
छलफलबाट स्थानीय तह, वन क्षेत्र, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्यलाई अझ सुदृढ गर्दै जलवायु जोखिम न्यूनीकरण र सामुदायिक उत्थानशीलता अभिवृद्धि गर्ने निष्कर्ष निकालिएको आरडिसी नेपालले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,०३ गते पुस । 

रौतहट । जेन जी २.० रौतहट जिल्ला संयोजकसहितको टोलीले इनरवा स्थित भी आधारभूत विद्यालयमा देखिएको शैक्षिक तथा व्यवस्थापकीय अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा पछिल्लो समय विद्यालयमा अव्यवस्थित वातावरण, कक्षाकोठाको नियमित अनुगमनको अभाव, समयतालिकाको अव्यवस्था तथा शिक्षक–विद्यार्थी सम्बन्धमा देखिएको दूरीका कारण विद्यार्थीको भविष्यमा नकारात्मक असर परिरहेको उल्लेख गरिएको छ । यस्ता समस्याले विद्यालयप्रतिको विश्वास कमजोर हुनुका साथै विद्यार्थीको शैक्षिक प्रगति र मनोबलमा गम्भीर प्रभाव पारेको जेन जेड २.० को भनाइ छ ।

ज्ञापन पत्रमार्फत विद्यालय सुधारका लागि १० बुँदे माग प्रस्तुत गरिएको छ । जसअन्तर्गत विद्यालयको समग्र अनुशासन, स्वच्छता र दैनिक व्यवस्थापन कडाइका साथ लागू गर्नुपर्ने, शिक्षक समयमै उपस्थित नभए कारबाही गर्ने, कम्प्युटर तथा विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था, खानेपानी र शौचालयको सुधार, कक्षाकोठामा मोबाइल प्रयोग निषेध, स्यानेट्री प्याडको व्यवस्था, दिवा खाजामा पौष्टिक आहार समावेश, विद्यालयमा लागू पदार्थ नियन्त्रण, बालविकास कक्षामा कार्पेटको व्यवस्था तथा शिक्षक–विद्यार्थीको पोशाक र कपाल व्यवस्थापन गर्नुपर्ने माग समेटिएका छन् ।

जेन जी २.० ले सुरक्षित, अनुशासित, गुणस्तरीय र विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण नै साझा उद्देश्य रहेको बताउँदै प्रधानाध्यापकले ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लिएर तत्काल सुधारका ठोस कदम चाल्ने विश्वास व्यक्त गरेको छ ।

ज्ञापन पत्र जेन जी २.० रौतहट जिल्ला संयोजक सोनु कुशवाहाको नेतृत्वमा बुझाइएको हो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।