२०८२ चैत्र २३
२०८२ चैत्र २३

चन्दन कुमार महताे,गाैर,२१ गते चैत । 

जिल्ला कुखुरा व्यवसायी किसान संघ, रौतहट को आयोजनामा पहिलो साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम रौतहट अन्तर्गत दुर्गा भगवती गाउँपालिकाको सामुदायिक भवनमा शनिबार आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा भेटनरी अस्पताल तथा पशु सेवा विभाग गौरका कार्यालय प्रमुख ईन्दु राय यादव, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रमेश शिवा, रामनरेश साह ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अध्यक्ष प्रदिप साह लगायतको उपस्थिति रहेको थियो । साथै, संघका पदाधिकारीहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, किसान तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राधेश्याम साहले गरेका थिए ।

सभामा कुखुरा व्यवसायसँग सम्बन्धित समस्या, बजार व्यवस्थापन, रोग नियन्त्रण तथा व्यवसाय प्रवर्द्धनका विषयमा व्यापक छलफल गरिएको थियो । सहभागीहरूले किसानको हकहित संरक्षण तथा उत्पादन वृद्धि गर्न समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष उमाशंकर साहले गरेका थिए भने अन्य वक्ताहरूले पनि कुखुरा व्यवसायलाई थप व्यवस्थित र सुदृढ बनाउन आवश्यक पहलका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

साधारण सभाले आगामी कार्ययोजना तय गर्नुका साथै किसानको हितमा विभिन्न महत्वपूर्ण निर्णयहरू समेत पारित गरेको आयोजकले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,२१ गते चैत । 

रौतहट जिल्लाको उत्तरी–पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाले आफ्नो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गर्दै गृह मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ।
गुजरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सिमराभवानीपुरले प्रहरी चौकी स्थापनाको आवश्यकता औंल्याउँदै नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंलाई सिफारिससहित अनुरोध गरेको हो। नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले हस्ताक्षर गरेको पत्रमा नगर क्षेत्रको शान्ति सुरक्षा सुदृढ गर्न प्रहरी चौकी अत्यावश्यक रहेको उल्लेख गरिएको छ।


नगरपालिकाका अनुसार गुजरा क्षेत्रको अधिकांश भूभाग सघन वन क्षेत्रले ढाकिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वन क्षेत्र तथा वन्यजन्तुको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी स्थानीय तहमा रहेको छ। यस्ता भौगोलिक अवस्थाका कारण यहाँ बसोबास गर्ने नागरिकको जीउ–धनको सुरक्षामा चुनौती देखिएको जनाइएको छ।
विशेषगरी वडा नं. २ अन्तर्गत पर्ने सघन वन क्षेत्रदेखि करिब १ किलोमिटर दक्षिणतर्फ रहेको कटानी बजारमा प्रहरी चौकी स्थापना गर्न उपयुक्त स्थान रहेको नगरपालिकाले प्रस्ताव गरेको छ।
नगरपालिकाले उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएमा अपराध नियन्त्रण, वन संरक्षण तथा आम नागरिकको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गरेको छ।
यस सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी शीघ्र प्रहरी चौकी स्थापना गरिदिन गृह मन्त्रालयसँग आग्रह गरिएको नगरपालिकाले जनाएको छ।

सागर संगम ठाकुर रौतहट चैत २० गते । 

रौतहटको देवाही गोनाही नगरपालिकामा सम्पन्न दोस्रो नगरस्तरीय नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर–१ करुनिया टिम विजयी भएको छ । शनिबार वडा नम्बर–९ धरहरीमा सम्पन्न खेलमा वडा नम्बर–१ करुनिया र वडा नम्बर–५ टिकुलियाबीच कडा प्रतिस्पर्धा भएको थियो।
टस जितेर फिल्डिङ रोजेको वडा नम्बर–१ करुनिया टिमले विपक्षीलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो। वडा नम्बर–५ टिकुलियाले १६ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वडा नम्बर–१ करुनिया टिमले १९ ओभर १ बलमा ९ विकेट गुमाउँदै १३१ रन बनाउँदै शानदार जित हासिल गरेको हो। प्रतियोगिताको विजेताले उपाधिसहित रु बीस हजार तथा उपविजेताले रु दस हजार पुरस्कार पाउनेछन् ।


सम्पन्न भएको खेललाई सम्बाेधन गर्दै देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले खेलमा कसैको जित र कसैको हार निश्चित भएको भन्दै पराजित भएको टिमलाई आफ्नो मनाेबललाई कमजोर नपार्न सबै खेलाडीहरुलाई हाैसला प्रदान गर्नु भयो । नगर प्रमुख साहले खेलमा जितने खेलाडी नै कहिलेकाही हार्ने गरेको र हार्ने खेलाडीले नै जितने गरेको कुरालाई स्मरण गराउनु भयो ।
साहले प्रतियोगितामा उपस्थित सबै खेलाडीहरुलाई खेलकाे माध्यमबाट आफ्नो पालिका जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन सफल हुन भने अग्रिम बधाई तथा शुभकामना दिनु भयो ।
प्रतियोगितामा मेयर साह र आयोजक देवाही गाेनाही नगरपालिकाका खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले प्रतियोगिताको ‘म्यान अफ दी मैच विवेक पटेल म्यान अफ दी सिरिज’ निरज साह,वेष्ट बलर रितिक रौशन यादव, वेष्ट ब्याटर रौशन गुप्ता र हैट्रिक विकेट माेनु गुप्तालाई मेडल लगाई सम्मान गरेको थियोे ।नगर स्तरीय नक आउट क्रिकेट प्रतियोगितामा नौं वटा वडा तथा आयोजक गरी दसवटा टोली सहभागी थिए ।
नगरपालिकाकाे तर्फबाट खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव राम स्वास्थ्य शाखा सह-संयोजक राजिव साह र सहयोगी पात्रको रुपमा समाजसेवी तथा युवा नेता कुन्दन साह, विवेकान्नद साह( टाईगर) विकेश गुप्ता,राकेश साहले मुख्य भुमिका निर्वाह गरेकाे थियोे । एक हप्ता सम्म चलेको प्रतियोगितामा प्रत्येक दिन वडा नम्बर एक देखि वडा नम्बर नौं सम्मका वडा अध्यक्षहरु उपस्थिति रहेको थियो । प्रतियोगितामा स्थानीय खेलप्रेमी दर्शक, नेपाल प्रहरी,शस्त्र प्रहरी र संचारकर्मीकाे नियमित उपस्थिति रहेको थियोे ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१६ गते चैत । 

रौतहट । नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले करोडौंको बाँकी बिल रकम बक्यौता राखेका रौतहटका चार नगरपालिकाको लाईन काटेको छ ।
आज सोमबार रौतहटमा पहिलो पटक प्राधिकरणले बाकी बक्यौता रहेका निजि र सरकारी कार्यालयका लाईन काटने अभियान अन्तरगत राजदेवी, इसनाथ, गरुडा र माधवनारायण नगरपालिकाको लाइन काटेर बक्यौता तिर्न पालिकाहरुलाइ दबाब बढाईएको नेपाल प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवले जानकारी गराउनु भएको हो । प्रमुख यादवका अनुसार, चार पालिकाको लाईन काटे संगै दुई नगरपालिका राजदेवी र इसनाथले आफ्नो विद्युत विलको आंशिक बक्यौता तिरे पछि पुनः लाइन सुचारु गरिएको जानकारी गराए ।
प्रमुख यादवका अनुसार बिल बाकी बक्यौताका अधारमा २०८२ साउन १ गते देखि २०८२ चैत्र १६ गते सम्म २ हजार ४५ जना ग्राहकको नौ करोड ५५ लाख ८३ हजार ३१६ असुल उपारको लागि लाइन काटिएको सो मध्ये १७ सय ७२ जना ग्राहकले ५ करोड ५०लाख १५ हजार ३ सय ७७ रुपैयाँ विल रकम तिर पुनः लाईन जडान गराएको बताए । पुनः जडान गर्दा लाग्ने ८ प्रतिशत दस्तुरबाट १५ लाख ३ हजार ६ सय ५७ समेत असुली गरिएको प्रमुख यादवले बताए ।
त्यतै कालो सुचीमा रहेका ग्राहकहरु मध्ये ६० जना उपभोक्तबाट २४ लाख ४९ हजार ६ सय ३५ रुपैया असुल उपर गरिएको छ भन्ने विधुत चहावट गरेका १ सय २० माथिको कार्यवाहीबाट १५ लाख ७६हजार १सय २४ रुपैया जरिवाना गरिएको बिधुत प्राधिकरण गौर वितरण केन्द्रले जनाएको छ ।

सागर संगम ठाकुर, रौतहट, चैत १६ गते । 
रौतहटको प्रेमपुर गाेनाहीमा साेमबार देखि श्री विष्णु महायज्ञ सुरु भएको छ । महायज्ञको मधेस प्रदेशका उधाेग वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले उदघाटन गर्नुभयो ।

देवाही गाेनाही नगरपालिकाकाे वडा नं.८ प्रेमपुर गाेनाही साेमबार देखि शुरु भएको महायज्ञमा मन्त्री पटेल र देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेेमलाल साहले संयुक्तरूपमा उदघाटन गर्नु भयो । अचार्य श्री नन्दकिशोर भर्द्वाजकाे मुखार बिन्दुबाट मन्त्र उचारण गर्दै प्रमुख अतिथि पटेल र नगर प्रमुख साहले संयुक्तरूपमा उदघाटन गर्नु भयो ।

उदघाटन पश्चात् कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पटेलले यस यज्ञले समाजमा एकता, धर्मप्रति आस्था, र सांस्कृतिक पहिचानको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गर्नु भयो । मन्त्री पटेलले यज्ञस्थल लागेको ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आफुले आफ्नो र प्रदेश सरकारकाे तर्फबाट विषेश पहल गर्न प्रतिवद्वता जनाउनु भयो । मेला अध्यक्ष एवं पुर्व वडाध्यक्ष श्री ब्रमदेव पटेलकाे अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्वागत मन्तव्य स्थानीय समाजसेवी भरत पटेलले गरेको थियोे ।

कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा जिल्ला समन्वय समितिका अध्यक्ष रामअयाेध्या राय यादव देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह रहनु भयो । नौ दिन सम्म चल्ने याे महायज्ञमा रौतहट जिल्लाभरीका भक्तजनहरुको साथै छिमेकी जिल्लाबाट पनि समेत श्रद्धालुहरु यज्ञमा आउने दावी गरिएको छ । चैत १६ गते साेमबार देखि शुरु भएको यज्ञ चैत २४ गतेसम्म चलने आयाेजक समितिले जनाएको छ। नौ दिन सम्म चलने महायज्ञमा लाखौंकाे संख्यामा श्रद्धालुहरु सहभागी हुने अपेक्षा गरिएको छ । उदघाटन कार्यक्रममा देवाही नगरपालिकाका नगर उपप्रमुख परनिया देवी पटेल वडा नम्बर-८ का वडा बिजय पटेल वडा नम्बर -७ का वडा अध्यक्ष उपेन्द्र राय यादव, वडा नम्बर-५ उपेन्द्र साह वडा_३ का संजय पटेल वडा-६ का विष्णु दास,जसपाका मेयर प्रत्यासी एवं देवाहीका तत्कालीन गाबिस अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल शिक्षक सुरेश यादव, अर्जुनकुमार यादव, सहित विभिन्न वडाका वडा अध्यक्ष,जनप्रतिनिधि ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रहरी प्रमुख शस्त्र प्रहरीका प्रमुख पत्रकार सहित करिब हजारौंकाे संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियोे ।

 

प्रदीप सम्राट,रौतहट,चैत १६ गते ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा उपसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गर्ने क्रममा रौतहटका नगरपालिकाहरूमा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृतहरू खटाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको निर्णयअनुसार रौतहट जिल्लाका मौलापुर, गौर, राजपुर, परोहा, माधव नारायण, गुजरा, फतुवा विजयपुर र चन्द्रपुर नगरपालिकामा उपसचिव स्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको हो ।

जसअनुसार मौलापुर नगरपालिकामा सुरेश बाबु घिमिरे, गौर नगरपालिकामा विष्णु प्रसाद पौडेल, राजपुर नगरपालिकामा धिरेन्द्रराज पन्त, परोहा नगरपालिकामा विष्णु प्रसाद शर्मा, माधव नारायण नगरपालिकामा ऋषिकेश रेग्मी, गुजरा नगरपालिकामा डम्बरु दाहाल, फतुवा विजयपुर नगरपालिकामा कमल प्रसाद दाहाल तथा चन्द्रपुर नगरपालिकामा बद्रिराज ढकाललाई खटाइएको छ ।

यसैगरी जिल्ला समन्वय समिति रौतहट (गौर) मा लेखनाथ खतिवडालाई जिल्ला समन्वय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न कार्यालयहरूमा गरी कुल ६३ जना उपसचिव वा सो सरहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरिएको हो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते चैत । 
नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गरिएको गालिगलौज र दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रभु साह को नाममा सञ्चालन गरिएको “I support prabhu” नामक फेसबुक आइडीमार्फत रातोपाटी डटकमका रौतहट संवाददाता पत्रकार संजय मिश्र लाई अपशब्द प्रयोग गर्दै गालिगलौज गरिएको घटनाप्रति आपत्ति जनाएको हो ।


महासंघका अनुसार आम जनता पार्टीका सचिवालय सदस्य राजन साहले पार्टी परित्याग गरेको विषयमा समाचार प्रकाशन भएपछि सोही विषयलाई लिएर पत्रकार मिश्रलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभद्र व्यवहार गरिएको हो । महासंघले यस्तो कार्यलाई निन्दनीय मात्रै नभई प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादामाथि गम्भीर आक्रमणका रूपमा व्याख्या गरेको छ ।

विज्ञप्तिमा सञ्चारकर्मीले लेखेको समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउनुपर्ने उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत मानमर्दन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।
साथै, महासंघले जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहट लाई उक्त फेसबुक आइडीबारे छानबिन गरी दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । पटक–पटकको धम्की र त्रासबीच काम गर्न बाध्य पत्रकारहरूलाई सुरक्षा र कानुनी संरक्षणको अनुभूति गराउन पनि सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

महासंघका सचिव गौतम श्रेष्ठ ले यस्ता धम्कीपूर्ण गतिविधि तत्काल बन्द गर्न र नागरिकको सूचनाको हक सुनिश्चित गर्न सबै पक्षसँग अपिल गरेका छन् ।

सागर संगम ठाकुर,रौतहट,चैत १५ गते

रौतहटकाे देवाही गाेनाही नगरपालिका-८ प्रेमपुर गाेनाही बजारमा विष्णु महायज्ञकाे लागि कलश निकालिएको छ। साेमबार देखि शुरु हुने महायज्ञकाे आईतवार कलश यात्रा निकालिएको आयाेजक समितिले जनाएको छ। यज्ञ शुरु गर्नुअघि कुमारी कन्या द्वारा कलश यात्रा निकालिने गरिन्छ ।

यज्ञ स्थलबाट निकालिएको कलश यात्रा देवाही गाेनाही नगरपालिकाकाे वडा नम्बर ३,७,९ हुदै गरुडा नगरपालिकाकाे वडा नम्बर ६ हुँदै वडा नम्बर ५ शिवनगरधाममा पुगि जल भरेर पुण:यज्ञ स्थल पुगेर समापन भएको छ । कलश यात्रामा १५ सय ५१ कुमारी कन्या सहित करिब सात हजार श्रद्धालु भक्तजनहरु सहभागी भएका थिए । कलश यात्रामा सहभागी सम्पूर्ण श्रद्धालुलाई वडा नम्बर -९ धरहरीमा नगर प्रमुख प्रेमलाल साहले फ्रुटीकाे व्यवस्था मिलाईएकाे थियोे ।

नगर प्रमुख साह स्वयंम आफै वितरण कार्यमा टुटेको थियोे । श्री विष्णु महायज्ञ मुल आयोजक समितिका अध्यक्ष एवं पुर्ववडा अध्यक्ष ब्रमदेव पटेल र यज्ञ प्रधान वडा नम्बर-८ का वडा अध्यक्ष बिजय पटेलले पूजा गरेर कलश यात्रा शुभारम्भ गरिएको थियो ।महायज्ञका लागि पालिका भरिका करिब १० हजार भन्दा बढी व्यक्तिहरु यज्ञ स्थलमा पुगेका थिए ।

नौ दिन सम्म चल्ने याे महायज्ञमा रौतहट जिल्लाभरीका भक्तजनहरुको साथै छिमेकी जिल्लाबाट पनि समेत श्रद्धालुहरु यज्ञमा आउने दावी गरिएको छ । चैत १६ गते साेमबार देखि शुरु भएको यज्ञ चैत २४ गतेसम्म चलने आयाेजक समितिले जनाएको छ। नौ दिन सम्म चलने महायज्ञमा लाखौंकाे संख्यामा श्रद्धालुहरु सहभागी हुने अपेक्षा गरिएको छ । वडा नम्बर ८ काे वडा स्तरीय कुल सात लाखौंको लागतमा हुन लागिएको यज्ञमा वडा नम्बर-७ का वडा अध्यक्ष उपेन्द्र राय यादवले दुई लाख र वडा नम्बर-५ का वडा अध्यक्ष उपेन्द्र साहले ५० हजार सहयोग गरेका छन।

कलश यात्रमा देवाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, उपप्रमुख परनिया देवी पटेल वडा नम्बर-८ का वडा अध्यक्ष उपेन्द्र राय यादव, जसपाका मेयर प्रत्यासी एवं देवाहीका तत्कालीन गाबिस अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल सहित विभिन्न वडाका वडा अध्यक्ष,जनप्रतिनिधि सहित करिब दस हजारकाे हाराहारीमा भक्तजनहरुको सहभागिता रहेको थियोे ।

 

सागर संगम ठाकुर,रौतहट, चैत १२ गते
रौतहटको देवाही गाेनाही नगरपालिकामा दाेस्राे मेयर कप प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको वडा नं.९ धरहरीमा आयोजनामा विहिबारदेखि सुरु भएको कप प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । क्रिकेट प्रतियोगिता अन्तर्गत उदघाटन खेलमा आयाेजक देवाही गाेनाही नगरपालिकालाई वडा नम्बर ४ देवाहीले १२३ रनले पराजित गरेको छ।टस जितेर पहिलो बैटिङ्ग राेजेका आयाेजक टिमलले १२ ओभरमा अलआउट हुदै ११९ रन बनाएको थियोे । जवाफि बैटिङ्गमा उत्रेका वडा नम्बर ४ देवाही टेलीले १२ ओभरमा पाँच बिकेटकाे क्षतिमा १२३ रन बनाई बिजयी भएको छ। पहिल दिनको खेलमा  देवाहीका धर्मजित पटेल चार ओभरमा ७ रन लिएका थिए । अनिष पटेलकाे कप्तानीमा भएको खेलमा धर्मजित पटेलले दुई विकेट लिएर मैनअफदि मैच घाेषित भएको थियो ।

प्रतियोगितामा बेष्ट बाैलर र बैटष्मैन मैनमा अनिष पटेल घाेषित भएको आयाेजक खेलकुद शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले जानकारी दिनुभयो । क्रिकेट प्रतियोगितामा विजेतालाई नगद दस हजार, मेडल, कफ र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । त्यस्तै उपविजेताले नगद १० हजार, मेडल उप कफ र प्रमाणपत्र पाउनेछ । दाेस्राे पटक प्रतियोगिता गरेको मेयर कप अन्तर्गत क्रिकेट प्रतियोगिताको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले उद्घाटन गर्नुभयो । उहाँले खेलाडीलाई हौसला प्रदान गर्न र नयाँ खेलाडी उत्पादन गर्न मेयर कप प्रभावकारी बन्नुपर्ने बताउनुभयो ।
नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगितामाले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने नगर प्रमुख साहले बताउनुभयो ।
प्रतियोगिताको व्यवस्थापन देवाही गाेनाही नगरपालिका खेलकुद शाखाले गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले जानकारी दिनुभयो । नगर क्षेत्रमा क्रियाशील क्रिकेट खेलाडीहरूको अन्तर्निहित क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गरिएकाे नगर प्रमुख साहले जानकारी दिनुभयो । देवाही गाेनाही नगरपालिका-९ धरहरीका वडा सदस्य श्री खसबलाल दासकाे अध्यक्षतामा शुरु भएको प्रतियोगितामा प्रमुख अतिथि देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह रहनु भएको थियोे भने बिशिस्ट अतिथिको रुपमा उपप्रमुख परनिया देवी पटेल रहनु भएको थियोे । उदघाटन कार्यक्रममा वडा नम्बर ९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साह वडा नम्बर -४ का वडा रामप्रवेश पटेल, वडा नम्बर-३ का संजय पटेल श्री जय किसान नमुना माबि धरहरीका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामन्नद साह प्रधानाध्यापक संजय प्रसाद गुप्ता नगरपालिकाका विभिन्न शाखामा आवद्ध सम्पुर्ण कर्माचारी, सुरक्षाकर्मी पत्रकार लगाएत स्थानीयहरु विशेष उपस्थिति रहेको थियो । शुक्रबार दुईवटा टिम बिच खेल हुने आयाेजकले जनाएको छ। बिहान दस बजे देखि वडा नम्बर १ र वडा नम्बर ७ बिच हुने अर्को खेल दिउँसो दुई बजेदेखि वडा नम्बर २ र वडा नम्बर ५ बिचहुने युवा नेता कुन्दन साहले जानकारी दिनु भयो ।साहले चारैवटा टिमलाई अ-आफ्नो समयमा उपस्थित हुन समेत आग्रह गर्नु भयो ।

आरके श्रीवास्तव,राैतहट,१२ गते चैत । 

रौतहट जिल्लाको फतुवा विजयपुर वडा नम्बर १० मा आज एक दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ। उक्त शिविरमा बिहान ९ बजे देखि ३ बजे सम्म १४२ जना आखा बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरको आयोजना वडा नम्बर १० का वडाध्यक्ष मन्जय चौधरीको पहलमा भएको हो।

कार्यक्रममा तिलगंगा सामुदायिक आखा अस्पताल, निजगढका अप्टोमेट्रिस्ट डा. दीपक सुबेदी, कृषि शाखा अधिकृत दीपक चौधरी, स्थानीय जनप्रतिनिधिहरु, भर्भालादामी, र विभिन्न सञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो।

वडाध्यक्ष मन्जय चौधरीका अनुसार, शिविरमा मोतिया बिन्दुका २५ जना बिरामीहरु छनोट भएका छन्। ती बिरामीहरुका लागि तिलगंगा सामुदायिक अस्पताल निजगढमा निशुल्क अप्रेशनको व्यवस्था गरिएको छ।

यस शिविरले स्थानीय समुदायलाई आंखाका समस्याहरुको समाधान दिन महत्त्वपूर्ण भूमिका खेलेको छ, र वडाध्यक्ष चौधरीले यस्तो प्रयासलाई निरन्तरता दिने बताएका छन्।

यस शिविरले स्थानीयहरूलाई आँखाका स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण जानकारी र उपचार सेवा प्रदान गरेको छ, जसले धेरैलाई लाभ पुर्याएको छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।