२०८३ श्रावण २०
२०८३ श्रावण २०

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ ।

यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ।

विश्कपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ्नसक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले तदारुकताका साथ कारबाही अगाडि बढाएको हो। प्राधिकरणले यसका लागि छुट्टै टाक्स फोर्स पनि गठन गरेको छ।

टाक्स फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप शुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिहरुलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइटलाई बन्द गर्ने काम गरिएको थियो।

आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताउनुभयो। उहाँका अनुसार यति धेरै वेबसाइट एकएक गरेर खोज्न कठिन हुने भएको अधिकार प्रदत्त विभिन्न संस्था तथा निकायले पहिचान गरेर राखेका त्यस्ता बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरुलाई आईएसपीसँगको सहकार्यमा बन्द गरिन्छ।

यसमा पनि एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुन्छ। यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन् त्यतिलाई बन्द गर्दै जानुपर्छ।  यसका लागि ‘थ्रेड इन्टिेलिजेन्स टुल’ प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ। यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको उहाँको भनाइ छ।

कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे थाहा भए github.com/NTA-OPM लिंकमा अपडेट गराउन सकिने पनि प्राधिकरणले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।

आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज दिउसो साढे २ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक बर्ष २०८३/०८४ को बार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रम बारे छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको तत्काल रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । साथै, देशभर देखिएको रासायनिक मलको अभाव तत्काल समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय सीमावर्ती बजार सोनवरसाबाट आफ्नो खेतीका लागि रासायनिक मल खरिद गरी फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर चासो व्यक्त गरेको हो ।

विज्ञप्तिअनुसार दुवै किसानलाई विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा कारागारमा राखिएको छ । घटनाबारे वास्तविकता बुझ्न कांग्रेसले पीडित परिवार तथा स्थानीय समुदायसँग पनि जानकारी लिएको जनाएको छ ।

कांग्रेसका अनुसार ती किसान आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले दुई बोरा युरिया र डिएपी मल खरिद गर्न भारत गएका थिए । नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएका कारण उनीहरू सीमापारबाट मल ल्याउन बाध्य भएको पार्टीको भनाइ छ ।

कांग्रेसले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्दा उनीहरू यस्तो अवस्थाको सामना गर्न बाध्य भएको उल्लेख गर्दै, “मल गोदाममा, किसान जेलमा” भन्ने अवस्था अत्यन्त विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ ।

पार्टीले किसानहरूको रिहाइका लागि व्यवहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ। साथै, भारत सरकारसँग पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखी खेतीका लागि मल खरिद गर्ने क्रममा पक्राउ परेका नेपाली किसानलाई अविलम्ब रिहा गर्न अनुरोध गरेको छ ।

कांग्रेसले नेपाल–भारत सम्बन्ध केवल दुई सरकारबीच सीमित नरही दुई देशका जनताबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयलाई सोही भावना अनुरूप समाधान गर्न दुवै सरकारसँग आग्रह गरेको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा रहेका छन् ।

सभापति लामिछानेको चीन भ्रमणको तयारी भइरहेको र छिट्टै मिति सार्बजनिक गर्ने रास्वपा उच्च स्रोतले जानकारी दिएको छ ।  भ्रमणका लागि परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग संवाद गरिरहेको बताइएको छ ।

लामिछाने चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चीन भ्रमणमा जान लागेको र सम्भवत भ्रमण अगस्त महिनामा हुने दाबि गरिएको छ ।

यसअघि लामिछानेले भारतीय जनता पार्टीको निमन्त्रणमा गरेको भ्रमण भ्रमणको निकै चर्चा भएको थियो भने उनले भारतमा उच्च सम्मान समेत पाएका थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियानको शुभारम्भ गरेको छ ।

नेपाली काँग्रेसका सभापति गगन थापाले विहिबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियानको सुरु गर्दै नागरिकको कल्याण र अधिकारका पक्षमा केन्द्रित भएर काम गर्ने बताएका हुन ।

सभापति थापाले भने- ‘हामीले पार्टीको महासमिति बैठकबाट प्रत्येक समितिले ५० प्रतिशत राजनीतिक काम र ५० प्रतिशत काम बृहत्तर समुदायका लागि गर्नुपर्ने निर्णय गरेका छौं। विशेष महाधिवेशनबाट राष्ट्रिय पुनर्जागरण अभियान पारित गरेका छौं । यही पृष्ठभूमिमा बीपीलाई स्मरण गर्दै जरा अभियान सम्पन्न गरी आजदेखि ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियान प्रारम्भ गरेका छौं। यसको साझा उद्देश्य नागरिकको कल्याणमा काम गर्नु र नागरिकको हकको पक्षमा उभिनु हो ।’

उनले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले नागरिकको पीडा सुन्नु र त्यसमा साथ दिनुलाई राजनीतिको मूल जिम्मेवारीका रूपमा लिएको स्मरण गर्दै भने-‘बीपीको लागि नागरिकको कुरा सुन्ने कुरा कुनै अतिरिक्त काम थिएन, यो त राजनीतिको मूल काम थियो। बीपी कोइरालाका निम्ति जहाँ जनताको दुःख छ, त्यो दुःखमा नपुग्ने कांग्रेस, कांग्रेस नै होइन। भोट मात्र माग्ने कांग्रेस कसरी कांग्रेस हुन्छ? दुःखको बेला देखिने कांग्रेस, कांग्रेस हुनुपर्छ। पीडाको बेला देखिने कांग्रेस, कांग्रेस हुनुपर्छ। बीपी कोइरालाका निम्ति यही सबैभन्दा ठूलो कुरा थियो।’

थापाले कांग्रेसले महासमिति बैठक र विशेष महाधिवेशनबाट राजनीतिक गतिविधिसँगै समाजसेवालाई पनि प्राथमिकता दिने नीति पारित गरिसकेको समेत उल्लेख गरेका थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार राति थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडानमार्फत नेपाल आएका विदेशी यात्रुको निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूले साथमा ल्याएको सुटकेसभित्र लुकाएर राखिएको आठ किलोग्राम थाई गाँजा बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको मणिपुर राज्यकी २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन् ।

उनीहरूको साथबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन पनि बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनले वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यसँग मिलेर भारतको कोलकातामा बसेर कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भएका थिए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको  जागिर खोसिएको थियो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए ।   उनले स्थापना गरेको कम्युनिष्ट पार्टी आल विभिन्न पार्टी र विचारमा विभाजित रहेको छ ।

विसं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । प्रत्येक वर्ष जुलाई २३ मा विश्वभर विश्व ह्वेल तथा डल्फिन दिवस मनाइन्छ । समुद्री पारिस्थितिक प्रणालीमा ह्वेल र डल्फिनको महत्वपूर्ण भूमिकाबारे जनचेतना फैलाउने तथा तिनलाई बन्दीकरण, जलवायु परिवर्तन, समुद्री प्रदूषण र अवैध सिकारजस्ता खतराबाट जोगाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

यो दिवस सन् १९८२ मा अन्तर्राष्ट्रिय ह्वेल आयोगले व्यावसायिक रूपमा ह्वेलको सिकारमा पूर्ण प्रतिबन्ध लगाउने ऐतिहासिक निर्णय गरेको सम्झनामा मनाइन्छ । त्यस निर्णयको कार्यान्वयनसँगै सन् १९८६ देखि यो दिवसलाई औपचारिक रूपमा मनाउन थालिएको हो ।

व्यावसायिक सिकारमा प्रतिबन्ध लागे पनि ह्वेल र डल्फिन अझै पनि विभिन्न चुनौतीसँग जुधिरहेका छन् । समुद्रमा बढ्दो प्लास्टिकजन्य फोहोर, जहाजसँग हुने ठक्कर, समुद्री ध्वनि प्रदूषण, जलवायु परिवर्तनका असर तथा केही क्षेत्रमा हुने अवैध सिकारले यी समुद्री स्तनधारी जीवको अस्तित्वमा गम्भीर खतरा सिर्जना गरेको छ ।

विज्ञहरूका अनुसार ह्वेल समुद्री जैविक विविधता जोगाउन मात्र होइन, जलवायु सन्तुलन कायम गर्न पनि महत्वपूर्ण मानिन्छ। ह्वेलबाट निस्कने मलले समुद्रमा सूक्ष्म वनस्पतिको वृद्धि गर्न सहयोग पुर्‍याउँछ, जसले वायुमण्डलको कार्बन डाइअक्साइड अवशोषण गरेर जलवायु परिवर्तनको प्रभाव कम गर्न योगदान दिने विश्वास गरिएको छ ।

यस दिवसका अवसरमा समुद्री जीव संरक्षणका अभियानमा सहयोग गर्न, संरक्षणमा सक्रिय संस्थालाई समर्थन गर्न तथा समुद्री क्षेत्रमा भ्रमण गर्दा वातावरणमैत्री र जिम्मेवार पर्यटन अपनाउन आग्रह गरिन्छ । संरक्षणकर्मीहरूका अनुसार ह्वेल र डल्फिनको सुरक्षा समुद्री पारिस्थितिक प्रणालीको दीर्घकालीन संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रेसले प्रमुख तीन दलले प्रदेशमा एक साथ सरकार बनाउन नहुने अडान लिएपछि एमाले र नेकपा नजिकिएका हुन् ।

प्रदेशमा सहकार्य गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच छलफल भएको छ ।

नेकपा सचिव महेश बस्नेतले दुवै नेताको छलफलपछि प्रचण्डले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएको जानकारी दिएका छन् । बस्नेतले यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्ने बताउदै वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा गरेका छन् ।

सातै प्रदेशमा सहकार्यको मोडल बारे अब छलफल टुंगिने नेताहरुले बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । बझाङ केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ बजेर ४० मिनेट जादा बझाङको कोतदेवाल आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।