काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो ।
यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो ।
केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्म यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्मको मुख्य कलाकारका रूपमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहेका छन् । यसै फिल्ममार्फत नवनायिकाका रूपमा सृजना र छिरिङले डेब्यु गर्दै छन् ।
सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।
यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ । यस फिल्मलाई यम शेर्पाले निर्देशनमा गर्दै छन् । उनको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।
यस फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन् । फिल्ममा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका आङछिरिङ शेर्पा कार्यकारी निर्माता, वीरेन्द्र शाही लाइन प्रोड्युसर हुन् ।
मनोज थापा मगर, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत निर्देशक रहने फिल्मको मुख्य सह-निर्देशक सुदीप कुँवर, योगेन्द्र सापकोटा, दिपेश गजुरेल सह-निर्देशक, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् ।
फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।न्युज कारखाना
काठमाडौँ । अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ ले दर्शक र समीक्षकबाट धेरै माया पाएको थियो । यी दुई भागको सफलतापछि निर्माण पक्षले फिल्मको तेस्रो भागको छायांकन सकिएको छ ।
अक्षय कुमार र अरशद वारसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो किस्ताको फिल्मको छायांकन सकिएको छ । सुभाष कपूर निर्देशित यस फिल्मको छायांकन सकिएपछि फिल्मका कलाकर र क्रु मेम्बर्सले खुशियाली मनाएको भिडियो सार्बजनिक गरिएको छ ।
अब छिट्टै फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । जोली एलएलबी फ्रेन्चाइज व्यावसायिक रूपमा सफल छ । पहिलो दुई चलचित्रहरूले तिनीहरूको तीव्र सामाजिक टिप्पणी र आकर्षक कोर्टरूम नाटकको लागि व्यापक प्रशंसा पाएका थिए ।
यसअघिका फिल्महरूमा जोलीको भूमिका निर्वाह गरेका अक्षय कुमार र अर्शद वारसीबीचको भिडन्त हुने भएकाले तेस्रो किस्ताको व्यग्र प्रतिक्षा भइरहेको छ । दुवैको पुनर्मिलनलाई विशेष रुपमा हेरिएको छ । दुवैले फिल्ममा जगदीश नामको भूमिका निर्वाह गर्नेछन् । अर्शद वारसी ‘जगदीश त्यागी’ र अक्षय कुमार ‘जगदीश्वर मिश्रा’ को भूमिकामा देखिनेछन्।
‘जोली एलएलबी ३’ अजमेर र राजस्थानमा छायांकन गरिएको थियो, जसको अधिकांश शुटिङ ४० दिनभन्दा बढी समय अजमेरको वास्तविक अदालतमा भएको थियो ।
यो फिल्मलाई २०२५ को अगस्त २१ मा रिलिज गरिने बताइएको छ ।
फिल्ममा अक्षय र अर्शद बाहेक सौरभ शुक्ला र हुमा कुरेसीको अभिनय रहेको छ ।न्युज कारखाना
काठमाडौँ । बलिवुडका सुपरस्टार अभिनेता अक्षय कुमारका फिल्मले पछिल्लो समयमा बक्स अफिसमा सफलता पाउन सकेका छैनन् । अहिले रिलिज भएको फिल्म सरफिरा बक्स अफिसमा असफल भएपछि अक्षयको समस्या बढेको छ ।
हरेक बर्ष कम्तिमा चार फिल्म रिलिज गर्ने अक्षय कुमारका पछिल्ला फिल्म लगतार असफल भएको समयमा सरफिराबाट उनले विशेष आशा राखेका थिए । तर यो फिल्मले पनि दर्शकको मन जित्न नसकेपछि उनी निराश भएका छन् ।
सरफिराको पहिलो दिन कमाई नै निकै निराशाजनक रहेको थियो । साताको अन्त्यमा फिल्मको कमाईमा केही सुधार भएपनि पहिलो सोमबारको कमाईमा उल्लेख्य गिरावट आएको छ । फिल्मले आइतबार ५.१ करोड कमाएको थियो । चौथो दिन सरफिराले १.४० करोड कमाएको थियो । योसँगै फिल्मले अहिलेसम्म १३.४० करोडको व्यापार गरेको छ ।
८० करोडको लगानीमा बनेको यो फिल्मले अब बक्स अफिसमा जादु देखाउने सम्भावना देखिएको छैन ।
यस अघि उनको अप्रिलमा रिलिज भएको बडे मिया छोटे मियाँले केवल ५९ करोड कमाएको थियो र फ्लप भएको थियो भने त्यसअघि गत अक्टोबरमा मिसन रानीगंजले ३३ करोड कमाएको थियो र बक्स अफिसमा असफल भएको थियो । सरफिरासँगै उनका लगातार तेस्रो फिल्म बक्स अफिसमा फ्लप भएका छन् ।
उनको फिल्म २०२३ को अगस्तमा ओएमजी- २ ले १५० करोड कमाई गरेको थियो र बक्स अफिसमा सुपर हिट भएको थियो । त्यसअघि रिलिज भएका सेल्फी, रक्षा बन्धन, सम्राट पृथ्वीराज र बच्चन पाण्डे फ्लप भएका थिए ।
सुधा कोंग्रा प्रसादले निर्देशन गरेको सरफिरामा अक्षय कुमार बाहेक राधिका मदन, परवेश रावल सीमा विश्वासलगायतको अभिनय रहेको छ ।न्युज कारखाना
काठमाडौं । पूर्वप्रधान मन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ।
वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट पहिलो संस्करण प्रकाशित यस कृतिको दोस्रो संस्करण वि.सं. २०८१ मा एलआरआई एडुकेसनल् फाउन्डेसनबाट प्रकाशित भएको हो। यस कृतिमा कृतिको नामकरण गरिएको रात्रिभोज कथासहित जम्माजम्मी १८ कथा समावेश छन्।
जीवन–भोगाइसम्बद्ध अनेक परिघटना एवम् मनोगत विम्बलाई बौद्धिकताको कसी लगाएर तथ्यपरक आलोचनाका साथ स्पष्ट मूल्याङ्कनसमेत गर्ने प्रखर सामथ्र्य भएका कथाकार लोकेन्द्रबहादुर चन्दले विभ्रान्त अन्तर्दशाका नेपथ्यमा नै मानवीय निष्ठा र आदर्शको घर–आँगन स्थापना गर्ने अभीष्टका साथ सामाजिक यथार्थमा आधारित पर्यवेक्षणयुक्त आख्यान सिर्जना गरी उच्च साफल्य प्राप्त गरेको पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले बताए।
उनले कथाका माध्यमबाट भ्रष्ट र अनैतिक आचरणको पर्दाफास गर्दै निखारिएको व्यङ्ग्यात्मक धारको चेत–अस्त्रबाट चोटिलो प्रहार गरेका छन्। उनले वस्तुतः सामाजिक विसङ्गतिले विषाक्तिएर विक्षत भएका असन्तुष्टि र आवेशयुक्त मनोद्वन्द्वका बियाँहरुलाई युगचेतनाको सुपोमा राखेर राम्ररी निफनेको भण्डारीले बताए।
‘हिउँको तन्ना’ र ‘विसर्जन’ (मदन पुरस्कार प्राप्त) पछि प्रकाशित तेस्रो कथासङ्ग्रह ‘रात्रिभोज’को दोस्रो संस्करण (वि.सं. २०८१) एलआरआई एडुकेसनल् फाउन्डेसन, काठमाडौंका तर्फबाट सुरुचिपूर्वक प्रकाशन गर्ने अभिलाषा सार्थक गरेकोमा शिक्षासेवी, समाजसेवी एवम् साहित्यपारखी शिवराज पन्तप्रति भण्डारीले आभार व्यक्त गरे।न्युज कारखाना
काठमाडौँ ।
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो ।
गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए।
फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शककालागि ‘पूर्ण बहादुरको सारङ्गी’ विशेष हुने बताए ।
उनले भने, ‘ वर्षातको समयमा घाम पानी नभनी धेरै दुख गरेर पहिलो चरणको सेड्युल पुरा गरियो, यो फिल्मका लागि स्कृप्टको चरण देखिनै मेहनत गरेर आफैँ सेटमा ३६ दिनसम्म खटिएर काम गरियो, फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतमा कुनै कुराको कमी नगरी भनेकै समयमा छायांकन गर्न पाइयो, फिल्म मेकिङ बारे नयाँ अनुभव भयो त्यसकारण पनि फिल्मले हामी सबैलाई नयाँ उचाइ दिनेमा विश्वस्त छु ।’
कलाकारहरूको बलियो लाइनअप रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।
यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।
यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
सोसल–ड्रामा जनरा रहेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको लेखन रहेको छ । यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ ।
निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।न्युज कारखाना
काठमाडौँ । शुक्रबार अभिनेता खगेन्द्र लामिछानेको जन्मदिन पारेर उनलाई नयाँ फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अनुबन्ध गरिएको छ ।
जन्मदिनको अवसरमा उनलाई निर्माण टिमले फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको हो । दीपेन्द्र के. खनालले फिल्मलाई निर्देशन गर्नेछन् । खगेन्द्र र दीपेन्द्रबीच यसअघि ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘मेयर’मा सहकार्य भैसकेको छ ।
‘कर्नाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता पुस्तकका लेखक बुद्धिसागरले यो फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । आगामी साउन २५ गतेबाट छायांकन सुरु हुने फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्मातामा छन् । कार्यकारी निर्माता भने युवराज कार्की हुन् । फिल्मका लागि खगेन्द्रबाहेक अरु कलाकार फाइनल भएका छैनन् ।
ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने निश्चित भएको छ । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो । न्युज कारखाना
काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
फिल्मको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो ।
यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका क्रममा कोरोना संक्रमित भएका थिए । यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए । त्यस अघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ थिए ।
अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ हिजो शुक्रबार रिलिज भएको छ । यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन् । न्युज कारखाना
काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्ट चाँडै यशराज फिल्म्सको आगामी स्पाइ थ्रिलर फिल्म ‘अल्फा’ मा देखिदै छन् । यस फिल्ममा आफ्नो स्पेशल लुकका लागि आलिया भट्टले पनि कडा प्रशिक्षण लिएकी छिन् । यस फिल्ममा आलिया यसअघिका उनका फिल्म भन्दा फरक रुपमा प्रस्तुत हुदै छन् । आलियाले ५ जुलाईबाट स्पाइ ब्रह्माण्ड फिल्म ‘अल्फा’ को सुटिङ सुरु गरेकी छिन् ।
अब आलियाको आगामी फिल्म ‘अल्फा’ को शुटिंग शुरु गरेपछि यसको चर्चा शुरु भएको छ । आलियाले ‘अल्फा’ मा पहिलेभन्दा फिट र हट देखिनका लागि चार महिनाको कडा प्रशिक्षण लिएकी छिन्, ताकि उनी यस फिल्ममा पहिलेभन्दा फरक र फिट देखिन सकोस् । यद्यपि, आलिया फ्यानहरूको नजरमा पहिलेदेखि नै एकदमै फिट र हट छिन् ।
शिव रवैलले निर्देशन गरेको यो एक्सन थ्रिलर फिल्ममा आलिया भट्टसँगै ‘मुंजा’ स्टारर अभिनेत्री शर्वरी वाघ पनि देखिनेछिन् । हालै आलिया, शर्वरी वाघ र फिल्ममेकर शिव रवैलले आफ्नो आगामी फिल्म ‘अल्फा’ सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । आदित्य चोपडाले निर्माण गरेको चलचित्र ‘अल्फा’को छायांकन निरन्तर चलिरहेको छ ।
आलिया महिलाको प्रमुख भूमिका भएको यशराजको ‘जासूस’ को कथामा अल्फा बन्न लागेको छ । यसमा उनी एक सुपर-एजेन्टको भूमिकामा देखिनेछिन् । यसलाई शिव रवैलले निर्देशन गर्दैछन्, उनले यसअघि ‘द रेलवे मेन’ वेब सिरिज निर्देशन गरिसकेका छन् ।
यसअघि ‘रकी और रानी की प्रेम कहानी’ को अपार सफलता र ‘हार्ट अफ स्टोन’ बाट हलिउडमा डेब्यू गरेपछि आलियाले ‘जिगरा’ मा एक अभिनेता र निर्माताको रूपमा काम गरेकी थिइन् ।
आफ्नो आगामी फिल्म ‘जिगरा’ को पोस्ट प्रोडक्सनको काम भइरहेका बेला नायिकाले अर्को एक्सन थ्रिलर ‘अल्फा’ को छायांकन सुरु गरेकी छिन् । उनको फिल्म ‘जिगरा’ ११ अक्टोबर २०२४ मा रिलीज हुनेछ ।न्युज कारखाना
काठमाडौं । अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो- उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टोबर २५ बाट रिलिज हुने पक्का भएको छ।
बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ । सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मेहेनत गरेका छन भन्ने छनक पोस्टरबाटै मिल्छ। नाजिरले ‘गुन्यो चोलो- उर्फ गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए ।
पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन । उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन । उनको शरीरमा कहिँ कतै चोटको निशान छ ।
उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ । नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ ।
यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन । चलचित्रमा उनले गरेको मेहेनत पनि कम छैन । नाजिरले यस चलचित्रको चरित्र निर्माणका लागि जति संघर्ष गरेका छन, समुन्द्रले पनि चलचित्रलाई न्याय दिन उतिनै मेहेनत गरेकी छिन । निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु ‘निलहिरा समाज’ र ‘मितीनी नेपाल’ संग पनि परामर्श गरेकी थिइन । धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा आफ्नो ज्यान भरेकी हुन। चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन। ‘गुन्यो चोलो उर्फ गुलाबी’ ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन ।
अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।
चलचित्रको थिममात्र नभएर प्रोडक्सन पनि ए-वान छ। चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ। यसैबाट पनि चलचित्रको गुणस्तर मापन गर्न सकिन्छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर-२’ यहीँ डिसेम्बरमा आउँदैछ ।
नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन। भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन ।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन् ।न्युज कारखाना
काठमाडौँ । बलिवुड फिल्म ‘कल्कि २८९८ एडी’ अहिले पनि सिनेमा हलमा प्रदर्शनमा छ । जुन २७, २०२४ मा रिलिज भएको प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन अभिनित यो फिल्मले दर्शकको निकै माया पाइरहेको छ ।
फिल्मले घरेलु बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरिसकेको छ । योसँगै यो फिल्मको विश्वव्यापी कमाईको आँकडा पनि तिब्र गतिमा बढिरहेको छ । आज निर्माताले ११ दिनको कमाईको अपडेट सेयर गरेका छन् ।
नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भारत स्तरमा रिलिज भएको छ । केवल ११ दिनमा फिल्मले भारतमा सबै भाषासहित ५०७ करोड भारुको व्यापार गरेको थियो । योसँगै फिल्म ग्लोबल बक्स अफिसमा १००० करोडको क्लबमा सामेल हुने दिशामा द्रुत गतिमा अघि बढिरहेको छ । वैजयन्ती मुभिजले साझा गरेको जानकारी अनुसार यो फिल्मले विश्वभर ९०० करोड कमाएको छ ।
निर्माण पक्षले फिल्मको नयाँ पोस्ट सार्वजनिक गरेको छ । यो फिल्मलाई ९०० करोडको आँकडाको साथ एक एपिक ब्लकबस्टरको रूपमा वर्णन गरिएको छ । पोस्टरको साथमा क्याप्सनमा लेखिएको छ, ‘जादुई माइलस्टोनतर्फ अघि बढ्दै…’। चलचित्रको यो उपलब्धिलाई दर्शकले निर्मातालाई बधाई दिइरहेका छन् । उनीहरुले पनि १००० करोडको पोस्टर हेर्न आतुर रहेको बताएका छन् । चलचित्र ‘कल्की २८९८ एडी’ को सिक्वेलको काम पनि सुरु भएको बताइएको छ ।
फिल्म कल्की करिब ६ सय करोडको बजेटमा बनेको हो ।
यो फिल्मले हिन्दी क्षेत्रमा पनि दर्शकलाई आकर्षित गर्न सफल भए पनि तुलनात्मक रूपमा दक्षिण भाषी क्षेत्रको तुलनामा हिन्दी क्षेत्रमा यसको चर्चा छैन । तर, कमाईको हिसाबले अहिलेसम्मको प्रदर्शन राम्रो भइरहेको छ र यो अवस्था कायम रहेमा चलचित्र छिट्टै हिट र सुपरहिटको श्रेणीमा पर्नेछ ।
फिल्म ‘कल्कि २८९८ एडी’ प्राचीन भारतीय हिन्दू पौराणिक कथाको पृष्ठभूमिमा आधारित छ । फिल्ममा मृणाल ठाकुर, एसएस राजामौली र दुल्कर सलमानको क्यामियो पनि छ। यो फिल्मको सिक्वेलको पनि घोषणा भइसकेको छ ।न्युज कारखाना