काठमाडौं, ७ भदौ ।
दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत् दिवंगत अभिनेता सारुकले अभिनय गरेको ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गरे पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए ।
‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो । उ नरहेता पनि उसको काम हामी माँझ रहिरहने छ’, निर्देशक गुरुङले भने । गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले बताए ।

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए ।
सारुककी आमा रुकमणिले आफ्नो छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘सरुकले यो चलचित्रको लागि तीन वर्षदेखि समय दिएको थियो । यसलाई ठूलो पर्दाममा हेर्न न पाएता पनि यहाँ हेर्न पाउँदा खुशी लाग्यो ।’
उनले छोराकै मृत्यु वियोगका कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेको कारण कार्यक्रम उपस्थित नभएको जानकारी गराइन् । उनले सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन् ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाले पनि ‘सारुकले न्याय पाउनु पर्छ’ भन्दै आफ्नो मन्तव्यको सुरुआत गरे । उनले भने, ‘म यो परिवारसँग जोडिएको चार दशक भईसक्यो । उहाँहरू सरुकलाई गुमाउदा जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुङ्ग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ ।’
अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टी श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समुहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग विदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माँग छ । र, हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ’, अभिनेत्री श्रेष्ठले भनिन् ।
चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । अभिनेता ताम्राकारले गत असार २१ गते आफ्नै रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।
गीतकाे लिंक : https://youtu.be/c95Ioi4G930?t=19

चितवन, ७ भदाै।
लक्की फिल्मी अवार्डको तयारी तीव्र बनेको छ । लक्की मिडिया हाउसले असोज पहिलो साता हुने अवार्ड कार्यक्रमका लागि कलाकारसँग अन्तर्क्रिया, भेटघाटका गतिविधि हुँदै आएका छन् ।
दुई दर्जन कलाकारलाई विभिन्न विधामा अवार्ड दिने तयारी भइरहेको छ । अवार्ड वितरण कार्यक्रममा समाजमा उत्कृष्ट प्रशंसनीय काम गरेका व्यक्तिलाई समेत सम्मान गरिने लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले बताए । मोफसलमा रहेर पनि सक्रिय पत्रकारिता गरेका पत्रकार, स्वास्थ क्षेत्रमा योगदान पुर्याएका चिकित्सक, शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकलाई पनि सम्मान गरिने बताए ।
यस्तै चितवनको खेल जगतमा योगदान गरेका खेलाडी, उद्यमशिलता-रोजगारी प्रवर्द्धन गर्न योगदान गरेका व्यवसायीलाई सम्मान गरिनेछ । कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । कलाकारको योगदानको कदर गर्नेुपर्नेमा जोड दिए ।
अवार्ड वितरणका लागि नोमिनेसनको काम हुन थालेको छ। अवार्ड छनौटका लागि जूरी टिमले कार्यविधि बनाएर काम गर्न थालेको बताए । हल सञ्चालक सम्मान , चलचित्र बितरक सम्मान, समाजसेवी सम्मान जस्ता कार्यक्रमहरु पनि हुने बताए ।२०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउसले चितवनबाट सिनेमा बजारको प्रचार, प्रर्वद्धनका काम तथा इभेन्टसहरु गर्दै आइरहेको छ ।
काठमाडौं, ७ भदौ ।
नेपाली गीत संगीतका क्षेत्रमा राधिका अधिकारीको नाम नौलो होइन् । उनले २०७१ सालमा नै अन्जु पन्तको स्वरमा आफ्नो गीत रेकर्ड गराएर गीत लेखनको औपचारिक यात्रा सुरु गरेकी हुन् । २०७२ सालमा उनको एकल एल्बम बजारमा आएको थियो । त्यसपछि केही फुटकर गीत बजारमा आए पनि सांगीतिक बजारमा उनको उपस्थिति पातलो देखियो । तर, लेखनमा भने उनी निरन्तर थिइन्। 
उनै राधिकाको नयाँ तीज गीत ‘माइती देशको घाउ’ बजारमा आएको छ । यो गीतलाई सांगीतिक क्षेत्रमा उनको दोस्रो इनिङका रुपमा लिन सकिन्छ । नेपाली गीत लेखनमा पुरुष गीतकारको वर्चस्व रहेका बेला सांगीतिक क्षेत्रमा आएर आफूलाई उभ्याउन सफल राधिका पछिल्लो समय गीत लेखनमा कम गीत÷संगीतका स्रष्टाका बारेमा धेरै लेख्दै आएकी छिन् ।
राधिका ओखलढुंगामा जन्मिइन्, हुर्कंदै गएपछि बाबुआमासँगै बसाईं सरेर मकवानपुरको हेटौँडा आइन् । उनलाई आफू जन्मिएको र हुर्किएको ओखलढुंगाको सम्झना हरक्षण आउँथ्यो । ‘त्यो समयमा ओखलढुंगा सम्झिएर नरोएको क्षण थिएन । त्यो मेरो जन्मभूमि थियो । अहिले सम्झँदा त्यो रुवाई र ओखलढुंगाको प्रेम मेरो कवि चेत रोएको रहेछ,’ राधिका भन्छिन् ।
आर्थिक रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएकी राधिका घरकी जेठी छोरी थिइन् । बाल्यकालको धेरै समय घर, खेतीपातीको काममा बिताइन् । यति हुँदा हुँदै पनि उनमा लेखनको रुची ताजै थियो । ओखलढुंगा र हेटौँडाका भीर, पहरा र फाँट उनलाई ‘सुन्दर कविता’ जस्ता लाग्थे । उनी वनको हरियालीमा घण्टौंसम्म एक्लै हराउँथिइन् ।
‘स्कुले जीवनबाटै गीत कविता लेख्न थालेँ । कविता प्रतियोगितामा थुप्रै पुरस्कार जितेकी छु । त्यो समय रेडियोको जमाना थियो । म रेडियोका सबै कार्यक्रम नबिराइ सुन्थेँ । रेडियोमा गीत–कविता पठाउने लेखन आदत जस्तै बनेको थियो,’ राधिका सम्झिन्छिन् ।
त्यो समयमा देशभर साहित्यिक पत्रिका प्रकाशन हुन्थे । हुलाकमार्फत् राधिकाको हातमा ती पत्रिका आइपुग्थे । आफ्नो रुची भएको विधाको पत्रिका हातमा परेपछि को नै खुशी नहोला र ? उनी पत्रिका आएकै ठेगानामा गीत, कविता, गजल लेखेर हुलाकमार्फत् पठाउँथिइन्। पत्रिकाको नयाँ अंकमा उनको सिर्जना पनि छापिएर आउँदा राधिकालाई जीवनकै ठूलो खुशी र प्रेरणाको अनुभव हुन्थ्यो ।
राधिकाको रुची साहित्य भए पनि सपना भने मिडिया अर्थात् सञ्चारमाध्यमको देख्थिइन् । त्यही सपनालाई पूरा गर्न एसएलसी पास गरेपछि रेडियोमा काम गर्न सुरु गरिन् ।
‘अरुका गीत बजाउँदै गर्दा आफ्ना गीत पनि रेकर्ड भइदिए हुन्थ्यो भन्ने सपना देख्थिइन् । ‘गीत रेकर्डको सपना मैले रेडियो यात्रा सुरु गरेपछि मात्रै देखेकी हुँ । तर, त्यतिबेला हेटौंडामा गीत रेकर्डिङ स्टुडियो थिएनन् । गीत गाउन थालेपछि गायक, गायिका काठमाडौं नै बस्थे। कसैसँग भेटघाट हुँदैनथ्यो’, राधिका सम्झिन्छिन् ।
‘प्लस टु’को पढाई सकेपछि उनी काठमाडौं आएर रेडियोमै काम गर्न थालिन् । काठमाडौं आएपछिमात्र उनी गीत रेकर्डको सपना पूरा हुनेमा ढुक्क भइन् । २०७० सालमा उनले पहिलो गीत ‘जिन्दगीले आफैंलाई छल्दा खेरी रोएँ’ बोलको गीत गायिका अन्जु पन्तको स्वरमा रेकर्ड गराइन् । सागर अधिकारीको संगीत रहेको उक्त गीत सुरुमा म्युजिक नेपालबाट अपलोड भएको थियो ।

त्यसपछि उनको भेट बिन्ध्यबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीसँग भयो । सुवासले एल्बम निकाल्ने प्रस्ताव गरेपछि २०७२ को फागनुमा बिन्धबासिनी म्युजिकले ‘किनारा’ नामक एल्बम बजारमा ल्यायो । यो एल्बममा राधिकाका ६ वटा गीत छन् । एल्बमको ‘जति छाल आए पनि’ बोलको गीत त्यो वर्षको बिन्धबासिनी म्युजिक अवार्ड र म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट ५ मा परेको थियो । एल्बमले राम्रै रोयल्टी पनि प्राप्त गरेको थियो ।
समय सधैं एकनासले चल्दैन । राधिकाको जीवनमा पनि त्यही आइलाग्यो । पारिवारिक विखण्डनका कारण उनी संगीतमा सक्रिय हुन सकिनन् । भलै उनले संगीतलाई चट्क्कै भने छोडिनन् । तर, गीत लेखनको र रेकर्डको गति भने मन्द भयो ।
उनले अघिल्लो वर्ष तारा अधिकारीको स्वरमा ‘न त तिमीले दिएको चोट देखाउन सके’ बोलको गीत बजारमा ल्याइन् । यो वर्ष राधिका तीजको गीत लिएर पुनः आफ्ना स्रोता माझ आएकी छिन्। ‘यो तीजको गीत मेरो गीत र संगीतमा दोस्रो इनिङ हो’, राधिका भन्छिन् ।
उनको तीज गीत ‘माइती देशको घाउ’मा काव्य आचार्य र मिना नेपालीको स्वर छ । दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र बजागाईंले संगीत संयोजन गरेका छन्। गीतमा देश छोडेर परदेश पुगेका छोरी चेलीको पीडा ब्यक्त गरिएको छ । सुखको खोजीमा मानिस जहाँ पुगे पनि आफ्नो देश र आफ्नाप्रतिको मोह सुखले छोप्न नसक्दाको भाव गीतमा व्यक्त गरिएको छ ।
गीतकाे लिंक : https://www.youtube.com/watch?v=8IPlQJ4wZwU

मुम्बई, ५ भदौं ।
सन्नी देओलको फिल्म गदर २ बक्स अफिसमा रोकिने नाम लिइरहेको छैन ।
यो फिल्मले साताका दिनमा पनि राम्रो कमाई गरिरहेको छ । गदर २ रिलिज भएको दुई साता भैसकेको छ र फिल्म अब ४०० करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ । तारा सिंह र सकिनाको केमेस्ट्रीले यस पटक पनि मानिसको मन जित्न सफल भएको छ । गदर २ को एघारौं दिनको बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ । जसलाई देखेर सबै छक्क परेका छन् ।
गदर २ लाई ३०० करोड क्लबमा प्रवेश गर्न धेरै समय लागेको थिएन । फिल्म दोस्रो साताअघि नै यस क्लबमा प्रवेश गरिसकेको थियो । गदर २ ले ८ दिनमा ३ सय करोडको आँकडा छोएको थियो । लामो समयपछि बलिउडमा यस्तो हिट फिल्म देखिएको छ । हरेक दिन यसको बढ्दो तथ्याङ्कले मानिसहरूलाई चकित पारिरहेको छ।
गदर २ को ११ औं दिनको प्रारम्भिक संकलन सार्वजनिक भएको छ । सकनिल्कको रिपोर्ट अनुसार गदर २ ले ११ औं दिन करिब १४ करोड कलेक्सन गरेको छ । त्यसपछि फिल्मको कुल कलेक्सन ३८९.१० करोड हुनेछ । फिल्मले ४०० करोडको आँकडा छुन धेरै समय लाग्ने छैन । भोलिसम्म उनी पनि यस क्लबमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।
गदर २ को कलेक्शनको कुरा गर्दा फिल्मले पहिलो साता २८४.६३ करोड कलेक्सन गरेको थियो । फिल्मले अगस्ट १५ मा सर्वाधिक कमाई गरेको थियो । गदर २ ले १५ अगस्टमा ५५.४ करोडको व्यापार गरेको थियो । जसले धेरै रेकर्ड तोड्न लागेको थियो ।
गदर २ को कुरा गर्दा यो २००१ मा आएको फिल्मको सिक्वेल हो । अनिल शर्माले निर्देशन गरेका हुन् । फिल्ममा सनी देओल र अमिषा पटेलसँगै उत्कर्ष शर्मा र मनिष वाधवा महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्ममा मनिष खलनायक बनेका छन् र उनको कामको निकै प्रशंसा भइरहेको छ ।
काठमाडौं, ३ साउन ।
नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित् गीतहरु सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ । तीज नजिकिँदै गर्दा तीज गीतहरु सार्वजनिक भइरहेका छन् ।
हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका पुजन काफ्लेले तीज गीत तयार गरेकी छिन् ।

‘ए आमा गाउँदै नाच्ने हो’ बोलको तीज गीत गायिका काफ्लेकै शब्द समेत रहेको छ भने संगीत आरसी रिमालले दिएका छन् । गीतमार्फत तीजलाई हर्षोल्लासका साथ मनाउनु पर्छ भन्ने भाव व्यक्त गरिएको गायिका काफ्लेले बताइन् । उनले भनिन, ‘गीतको शब्दमा तीजमा चेलीले महसुस गर्ने भावलाई समेटेकी छु । गीतमार्फत सपरिवार र उनीहरूको पर्वमा महत्वलाई दर्शाइएको छ ।’
उनले गीतमार्फत चेलीको बेदनासँगै परिवारमार्फत् चाहने साथ र सहयोगलाई देखाइएको बताइन् । गीतको निर्मित भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन् ।
शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टी थापा मगरको मेकअप एण्ड हेयर रहेको छ ।
गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आउँदो तीजमा दर्शक तथा स्रोताको रोजाइमा पर्ने विश्वास व्यक्त गरिएको छ । यसअगाडी गायिका काफ्लेले ‘मेरो सासको’ बोलको आधुनिक गीत सार्वजनिक गरिसकेकी छिन् ।
गीत हेर्ने लिंक : https://youtu.be/2nbGWA6EYz8?t=59
काठमाडौं, ३ साउन ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले युद्ध विधामा बनेको ‘गोर्खा वारियर’ हेरेपछि फिल्मबारे प्रतिक्रिया दिँदै शतप्रतिशत नम्बर दिएका छन् । गत शुक्रबार शुक्रबार बेलुकी काठमाडौँमा ‘गोर्खा वारियर’ हेर्न आफ्नी श्रीमती तथा सैनिक श्रीमती संघकी अध्यक्ष सुनीता शर्मासँग पुगेका उनले ‘गोर्खा वारियर’को मूल्याङ्कन गर्दा पाँचमा पाँच नै नम्बर दिने बताए ।
‘मलाई निर्देशक मिलन चाम्सले बताउनुभएको जस्तै फिल्म पर्दामा पाएँ । उहाँले पर्दामा जङ्गल युद्धलाई देखाउन गर्नुभएको मेहनतलाई म महसुश गर्न सक्छु । किनकि यसमा वास्तविक रुपमा सैनिक गर्ने गतिविधीलाई देखाईएको छ’, प्रधानसेनापति शर्माले भने, ‘मेरो लागि यो उत्कृष्ट फिल्म हो । यसले सैनिकलाई युद्धमा मात्र सीमित गरेको छैन । उसको घरको कथालाई पनि पर्दामा ल्याउन सफल भएको छ । वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक चाम्स लगायतका निर्माण समूहलाई आग्रह गर्छु ।’
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले लाहुरेको जीवनलाई पर्दामा हेर्न पाइएको बताए । ‘लाहुरेको खुशी जीवनलाई सबैले देखेका छन् । तर उनीहरुको वास्तविक जीवनलाई फिल्ममा प्रस्तुत गरिएको छ । यहाँ उनीहरुको संघर्ष, परिवार र देशप्रेमलाई देखाईएको छ’, महानिरीक्षक अर्यालले भने, ‘प्राविधिक रुपमा समेत चलचित्र अब्बल बनेको छ । यस्ता कथाले पर्दामा स्थान पाउनु पर्छ । स्वदेश मात्र नभई विदेशीले पनि यो कथालाई उत्तिकै रुचाउनेमा विश्वस्त छु ।’
निर्देशक चाम्सले पाएको प्रतिक्रियाले आफूलाई आगामी दिनमा यस्ता कथामा काम गर्न ऊर्जा थप्ने बताए । ‘यो फिल्म निर्माण गर्दा झेलेको दुःख कष्टलाई प्राप्त प्रतिक्रियाले बिर्साएको छ । हामीले गरेको मेहनतलाई पर्दामा हेरेर सैनिकले नै तालि बजाउनु हुँदा गर्व महसुश भएको छ’, निर्देशक चाम्सले भने, ‘हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने स्थानमा रातो कार्पेटमा नेपाली कलाकारलाई हिडाएर विदेश प्रदर्शनको आरम्भ गर्दैछौँ । जहाँ बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुती दिने छन् ।’
गोर्खालीको वीरतालाई आउँदो भदौ २४ मा विश्वलाई बुझाउन बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा विशेष प्रदर्शनी (वर्ल्ड प्रिमियर) गर्न लागिएको जानकारी दिए । युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । आयोजित विशेष प्रदर्शनीमा नेपाली सेनाका उच्च पदस्थ व्यक्तित्वसँगै सशस्त्र प्रहरी बलका पुर्व महानिरीक्षक दुर्ज कुमार राई, निर्माता सुमन राई, लेखक तथा सहायक निर्देशक गिरिराज घिमिरे, सम्पादक मिलन श्रेष्ठको, छायाङ्कन निर्देशक सुदीप बराल, द्वन्द्व निर्देशक हिमाल केसी, सञ्चारकर्मी नरेश भट्टराई लगायत उपस्थित थिए ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन् ।
हैदाराबाद, ३ भदौं ।
कमल हसन बिग बोस तमिलको नयाँ सिजनमा फर्किएका छन् । बिग बोस तमिल ७ को नयाँ टिजर प्रोमो अन्ततः अभिनेता र निर्माताहरु द्वारा सामाजिक सञ्जालमा हालै रिलीज गरिएको छ ।
प्रोमोमा, कमल हासन समुद्रले घेरिएको काठको डेकमा फसेको देखिन्छ। जब शट बिस्तारै उहाँमा जुम इन हुन्छ, अभिनेता आफ्नो अनुहारमा मुस्कान लिएर फर्कन्छ र आफ्नो औंलाहरूले इशारा गर्दछ। सिजनको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ । यो चाँदी र सुनको डिजाइनको संयोजन हो।
बिग बोस तमिल सिजन ७ स्टार च्यानलहरू र डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीज्नेमा प्रसारण गर्न तयार छ। यद्यपि प्रतियोगीहरूको बारेमा कुनै आधिकारिक घोषणा गरिएको छैन, धेरै रिपोर्टहरूले सुझाव दिन्छ कि ज्याकलिन, अभिनेता पृथ्वीराज, महिला बस चालक शर्मिला र बिग बोस ६ स्टार रचिताका पति दिनेश यस सिजनमा देखा पर्न सक्छन्।
आफ्नो राजनीतिक करियरमा ध्यान केन्द्रित गर्न चलचित्र क्षेत्रबाट टाढा रहेका कमल हसनसँग अहिले धेरै विशेष प्रोजेक्टहरू छन्। फिल्म बाहेक, कमल हासनले प्रसिद्ध टेलिभिजन रियालिटी शो, बिग बोस तमिल पनि होस्ट गर्छन्।
काठमाडौं, ३२ साउन ।
बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’को वल्र्ड प्रिमियर आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुँदै छ । निर्माता तथा निर्देशक मिलन चाम्सले प्रिमियरको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । सो प्रिमियरमा बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुती दिने तय भएको निर्देशक चाम्सले बताए ।
‘नेपाली फिल्मको लागि गर्विलो इतिहास लेखिँदै छ । उक्त बेलायती सेनाको ब्याण्डले दिने सम्मान आफैँमा गौरवपूर्ण हुनेछ । उहाँहरू गोर्खालीको कथालाई पर्दामा देखाउने भएपछि स–सम्मान आफ्नो प्रस्तुती दिन तयार हुनुभएको हो’, निर्देशक चाम्सले भने, ‘सो प्रिमियरमा बेलायत सेनाका उच्च पदाधिकारीसमेत सहभागी हुनेछन् । गोर्खालीको विषयमा फिल्म बनेको छ भन्ने थाहा पाएँपछि उहाँहरूले दिनुभएको सम्मानलाई म शब्दमा व्यक्त गर्न सक्दिन ।’ बेलायती सेनाको ब्याण्डले पहिलोपटक फिल्मको प्रिमियरमा आफ्नो प्रस्तुती दिनेछ ।
हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरको दौरान रेड कार्पेटमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको बताए ।
‘गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु, किनकि हाम्रो वीरताको कथा विश्वले देख्नेछ’, निर्देशक चाम्सले भने । उनले लन्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रदर्शनीमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।
युद्धको कथामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
काठमाडौं, ३२ साउन ।
नेपाली कला क्षेत्रमा निर्माता, गायक तथा अभिनेताको रुपमा सक्रिय विक्रमजंग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ सार्वजनिक गरेका छन् । यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टिका पुनले साथ दिएकी छिन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोमा ब्रेकअपको कन्सेप्ट देखाइएको छ ।

प्रेमी र प्रेमिका बीच असमझदारी उत्पन्न भएपछि टुंगिने सम्बन्ध देखाएको गीतको भिडियोमा पल शाह, विजय पुन, बिष्णु पुन, यानी पुन लगायतले नृत्य गरेका छन् । गीतको भाव अनुसार नै भिडियो तयार गरिएको गायक विक्रमले बताए । उनले भने,‘गीतमा अहिलेको यूवापुस्ताको प्रेम र त्यसपछिको परिस्थितिलाई देखाउने कोसिस गरेका छौं । यसमा सबैले उत्तिकै मेहनत गरेका छन् ।’
उनले समझदारीमा प्रेमी र प्रेमिका छुटिने तथा त्यसलाई सेलिब्रेट गर्ने प्रस्तुतीलाई रुचाईएको जानकारी दिए । ‘मलाई सानै देखि नै कला क्षेत्रमा सक्रिय रहने ईच्छा जागेको थियो । त्यसलाई नै पछ्याउदै विभिन्न क्षेत्रमा मेरो उपस्थिति देखिएको हो’, गायक विक्रमले भने ।
विक्रम चौहानको निर्देशन र नृत्य निर्देशनमा तयार भएको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग संयोजन रहेको छ । रैथाने गीतसङ्गीत पस्कने गायक विक्रमले यसअगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायतका गीतहरुमार्फत दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।

मुम्बई, ३१ साउन ।
सुपरस्टार रजनीकान्त बक्स अफिसका बादशाह हुन् । उनका हरेक चलचित्र रिलिज हुनेबित्तिकै चर्चामा छ ।
रजनीकान्तको जेलर अगस्ट १० मा थिएटरमा रिलिज भएको छ र दिनहुँ धेरै रेकर्डहरू तोड्दैछ। ६ दिनमै दुई सय करोडको क्लबमा सामेल भएको चलचित्रले विश्वभर ४ सय करोडको क्लबमा सामेल हुने अपेक्षा गरिएको छ । जेलरले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको कारणले सकारात्मक समीक्षाहरू प्राप्त गरेको छ।
जेलर एक एक्शन मनोरन्जन फिल्म हो, जसमा रजनीकान्तसँगै शिव राजकुमार, मोहनलाल र ज्याकी श्राफले महत्त्वपूर्ण भूमिका खेलेका छन्। जेलरले ६ दिनमा मणिरत्नमको पोन्नियाँ सेल्भान पार्ट १ सङ्कलनको रेकर्ड तोडेका छन् ।
अगस्त १५ मा जेलरले ठूलो सङ्कलन गरेको छ। सार्वजनिक बिदाको कारण चलचित्रलाई धेरै फाइदा भएको छ । रिपोर्ट अनुसार जेलरले छैटौं दिन करिब ३३ करोड कलेक्सन गरेपछि कलेक्सन २०७.१५ करोड पुगेको छ । तमिलनाडु बाहेक जेलरले केरलामा पनि राम्रो प्रदर्शन गरिरहेका छन्।
जेलरले पहिलो दिन भारतमा ४८ करोड संकलन गरेका थिए । दोस्रो दिन फिल्मको कमाई घटेको थियो भने तेस्रो दिन २५.७५ करोड, ३४ करोड कलेक्सन गरेको थियो । फिल्मले तीन दिनमा १०८ करोडको व्यापार गरेको थियो ।
जेलरको कुरा गर्दा यो बाबु छोराको कथा हो । फिल्ममा रजनीकान्त रिटायर्ड जेलरको भूमिकामा देखिएका छन् । उनका छोरा प्रहरी अधिकृत हुन् । उनको छोराको हत्या हुन्छ र त्यसपछि उसले ती हत्याराहरूलाई मार्ने योजना बनाउँछ।
रजनीकान्तको जेलरलाई नेल्सन दिलीप कुमारले निर्देशन गरेका हुन् । फिल्ममा तमन्ना भाटियाको एउटा आइटम गीत पनि छ, जुन निकै भाइरल भइरहेको छ ।