काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो ।
पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैँ सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका छन् । आवश्यक सुझाव समेत उनले दिएका छन् ।
“उहाँ आफ्नो जीवनीमा बनेको सिनेमाको छायांकन हेरेर निकै भावुक पनि हुनु भएको छ । उहाँ सिनेमाको काम देखेर सन्तुष्ट पनि हुनुहुन्छ,” निर्देशक मिलन चाम्सले भने, “जसको कथामा सिनेमा बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ ।”
दोस्रो चरणको छायांकन दसैँ लगत्तै सुरु हुने निर्देशक चाम्सले जानकारी दिएका छन् । ‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरिरहेका छन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् । हरिवंश मदनकृष्णको कलाकारिताको जोडी हुन् । यो जोडीलाई मह जोडीको नाम दिइएको छ । अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् । चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन् । चलचित्र ‘म मदनकृष्ण’ चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, विनोद न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ । बाल कलाकारमा जेविस र जेविन श्रेष्ठ छन् ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ)को डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र काठमाडौं बाहिर रोहित कट्टले र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । प्यारामाउन्ट स्काइडान्सले ११० अर्ब अमेरिकी डलरमा वार्नर ब्रदर्स डिस्कभरीलाई आफ्नो स्वामित्वमा लिएको छ । दुई ठूला हलिउड स्टुडियोबीचको यो एकीकरणले विश्वको चलचित्र, टेलिभिजन र प्रवाहमा आधारित मनोरञ्जन उद्योगको स्वरूपमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
यो सम्झौतासँगै एचबीओ, सीबीएस, निकेलोडियन, शोटाइम, कमेडी सेन्ट्रल, डीसी स्टुडियो र फुड नेटवर्क एउटै कम्पनीअन्तर्गत आएका छन् । प्यारामाउन्टले ‘ह्यारी पोटर’, ‘गेम अफ थ्रोन्स’ र ‘द लर्ड अफ द रिङ्स’ जस्ता चर्चित श्रृंखलाको स्वामित्व पनि पाउनेछ । कम्पनीसँग यसअघि नै ‘इन्डियाना जोन्स’, ‘मिसन इम्पोसिबल’ र ‘श्रेक’ जस्ता लोकप्रिय श्रृंखला छन् ।
एकीकरणपछि नयाँ कम्पनीको नाम स्काइडान्स कर्पोरेसन राखिएको छ । स्काइडान्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डेभिड एलिसनले सम्झौतालाई चलचित्र उद्योगका लागि ‘ऐतिहासिक’ क्षण बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौतालाई ‘उत्कृष्ट’ भन्दै नयाँ कम्पनी सफल हुने विश्वास व्यक्त गरेका छन् । यद्यपि, यो सम्झौता सहज रूपमा सम्पन्न भएको भने होइन । प्रतिस्पर्धा कमजोर हुने, उपभोक्तामाथि मूल्यको भार बढ्ने तथा चलचित्र हल र केबल वितरण क्षेत्रमा असर पर्ने भन्दै अमेरिकाका करिब एक दर्जन राज्यले सम्झौता रोक्न कानुनी प्रक्रिया अघि बढाएका थिए । पछि प्यारामाउन्ट र राज्य सरकारबीच सहमति भएपछि एकीकरणको बाटो खुलेको हो ।
सम्झौतापछि सीएनएन र सीबीएसको सम्पादकीय स्वतन्त्रताबारे पनि चासो बढेको छ । सहमतिअनुसार सीएनएन र सीबीएसमा स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित समाचार सुनिश्चित गर्न ‘समाचार सम्पादकीय स्वतन्त्रता बोर्ड’ गठन गरिनेछ । सीएनएनका अध्यक्ष तथा प्रधान सम्पादक मार्क थम्पसन र सीबीएस न्युजकी प्रधान सम्पादक बारी वाइसले आ–आफ्नो जिम्मेवारी कायम राख्नेछन् ।
नयाँ कम्पनीले ठूलो ऋणको सामना गर्नुपर्ने भएकाले खर्च कटौती र नाफा बढाउने दबाब रहने विश्लेषण गरिएको छ । साथै सम्झौताअनुसार प्यारामाउन्टले प्रत्येक वर्ष कम्तीमा ३० चलचित्र निर्माण गर्नुपर्नेछ र पहिलो दुई वर्षमा चलचित्र उत्पादनको कम्तीमा २० प्रतिशत अमेरिकामै गर्नुपर्नेछ । कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएका कम बजेटका सामग्रीमार्फत उत्पादन लक्ष्य पूरा गर्न नपाउने गरी समेत नियम राखिएको छ ।
एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको करिब पौने चार मिनेट लामो ट्रेलरमा प्रेम, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न पक्षलाई प्रस्तुत गरिएको छ ।
हाँसो र भावनाबीचको सम्बन्धलाई देखाइएको ट्रेलरले पारिवारिक सम्बन्धमा आउने आरोह–अवरोहलाई कथाको मुख्य आधार बनाएको छ। निर्देशक बोहराले चलचित्र विशुद्ध मनोरञ्जनात्मक रहेको बताउँदै दर्शकलाई साढे दुई घण्टा मनोरञ्जनसँगै भावनात्मक अनुभव दिने उद्देश्यले निर्माण गरिएको बताएका छन् । चलचित्र असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
करिब १८ वर्षपछि यही चलचित्रमार्फत ठूलो पर्दामा फर्किएका हास्य अभिनेता नारायण त्रिपाठीले पुनरागमनलाई लिएर आफू उत्साहित रहेको बताएका छन्। अमेरिकामा आयोजित विशेष प्रदर्शनमा दर्शकबाट पाएको माया र प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ। चलचित्रमा मुकुन, विल्सन विक्रम राई, उमेश राई, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्माता रामनारायण उपाध्यायले दर्शकलाई भरपूर मनोरञ्जन दिने उद्देश्यले चलचित्र निर्माण गरिएको बताउँदै यसमा सामाजिक सद्भाव र पारिवारिक प्रेमको कथासमेत समेटिएको जानकारी दिएका छन् । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई आरआर फिल्मस्ले देशभर वितरण गर्नेछ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । ७८औँ एमी अवार्डको मुख्य विधाका विजेताहरू घोषणा भएका छन् । अमेरिकाको लस एन्जलसमा सम्पन्न समारोहमा ‘वाइडोज बे’ उत्कृष्ट हास्य शृंखलाका रूपमा चुनिँदा ‘द पिट’ले लगातार दोस्रो वर्ष उत्कृष्ट नाटक शृंखलाको पुरस्कार जितेको छ ।
‘वाइडोज बे’ले उत्कृष्ट हास्य शृंखलासहित अभिनयतर्फ पनि महत्वपूर्ण सफलता हात पारेको छ । यसका लागि म्याथ्यु राइसले उत्कृष्ट हास्य शृंखला अभिनेताको पुरस्कार जितेका छन् भने केट ओ’फ्लिनले उत्कृष्ट सहअभिनेत्री र स्टिफन रुटले उत्कृष्ट सहअभिनेता पुरस्कार जितेका छन् । यस शृंखलाले यस वर्ष कुल १४ एमी पुरस्कार जित्दै हास्य शृंखलातर्फ नयाँ कीर्तिमानसमेत बनाएको छ ।
‘द पिट’का नोह वाइलले उत्कृष्ट ड्रामा शृंखला अभिनेताको पुरस्कार जितेका छन्। उनले लगातार दोस्रो वर्ष यो पुरस्कार प्राप्त गरेका हुन् भने ड्रामातर्फ उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘प्लुरिबस’की रिया सिहोर्नले जितेकी छन् ।
‘ह्याक्स’की जाँ स्मार्टले उत्कृष्ट हास्य शृंखला अभिनेत्रीको पुरस्कार जित्दै लगातार पाँचौँ पटक एमी हात पारेकी छन् । यो उनको अभिनय करियरको आठौँ एमी पुरस्कार हो । उनी एउटै शृंखलाको हरेक सत्रमा उत्कृष्ट हास्य अभिनेत्रीको पुरस्कार जित्ने पहिलो अभिनेत्री बनेकी छन् ।
सीमित वा सङ्ग्रह शृंखला अथवा चलचित्र विधामा ‘डिटिएफ सेन्ट लुइस’ उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट अभिनेता म्याथ्यु राइसले ‘द बिस्ट इन मी’का लागि पुरस्कार जितेका छन् भने उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘रिमार्केबल ब्राइट क्रिएचर्स’का लागि स्याली फिल्डले प्राप्त गरेकी छन् ।
ड्रामा शृंखलातर्फ उत्कृष्ट सहअभिनेताको पुरस्कार ‘टास्क’का टम पेल्फ्रेले तथा उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार ‘द डिप्लोम्याट’की एलिसन जेनीले जितेका छन् । ‘द ट्रेटर्स’ उत्कृष्ट वास्तविकता प्रतिस्पर्धात्मक कार्यक्रम घोषित भएको छ भने ‘द लेट शो विथ स्टिफन कोलबर्ट’ले उत्कृष्ट विविधता कार्यक्रमको पुरस्कार जितेको छ ।
लेखनतर्फ नाटक शृंखलाको पुरस्कार ‘प्लुरिबस’का लागि भिन्स गिलिगनले र हास्य शृंखलाको पुरस्कार ‘वाइडोज बे’का लागि केटी डिपोल्डले जितेका छन्। निर्देशनतर्फ नाटक शृंखलामा ‘स्लो हर्सेस’का लागि साउल मेट्जस्टाइन तथा हास्य शृंखलामा ‘वाइडोज बे’का लागि हिरो मुराई विजेता बनेका छन् ।
यस वर्षको समारोहको सञ्चालन मारिस्का हार्गिटेले गरेकी थिइन् । अभिनेता माइकल जे फक्सलाई मानवीय सेवाका लागि प्रदान गरिने बब होप मानवीय पुरस्कार प्रदान गरिएको छ ।
७८औँ एमी अवार्डको मुख्य समारोह सेप्टेम्बर १४ मा लस एन्जलसको पिकक थिएटरमा आयोजना गरिएको थियो । यसअघि सेप्टेम्बर ५ र ६ मा सिर्जनात्मक तथा प्राविधिक विधाका केही पुरस्कार घोषणा गरिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । भारतीय र्यापर गायक बादशाहले ईशा रिखीसँग विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद भएको पुष्टि गरेका छन् ।
उनीहरूले यसै वर्ष मार्चमा विवाह गरेका थिए । विवाह भएको करिब तीन महिनापछि नै उनीहरूबीच सम्बन्धमा समस्या आएको खबर सार्वजनिक भएको थियो ।
बादशाहले सामाजिक सञ्जालमार्फत आफू र ईशा रिखीले आपसी सहमतिमा अलग हुने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्- ‘मैले र ईशा रिखीले आपसी सहमतिमा अलग हुने र आ-आफ्नो बाटोमा अघि बढ्ने निर्णय गरेका छौँ । यो निर्णय आपसी सम्मानका साथ लिइएको हो । यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिन सबैसँग आग्रह गर्दछौँ ।’
उनले आफूहरूको सम्बन्धबारे थप अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन् । साथै, यस विषयमा यही नै उनीहरूको अन्तिम भनाइ हुने बताएका छन् ।
बादशाहले यसअघि सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए । उनीहरूबाट सन् २०१७ मा छोरी जन्मिएकी थिइन् । दुवैबीच सन् २०२० मा सम्बन्धविच्छेद भएको थियो ।
बादशाह र ईशा रिखीको पहिलो भेट एक साथीको पार्टीमा भएको थियो । त्यसपछि उनीहरूबीच नजिकिँदै गएर प्रेम सम्बन्ध सुरु भएको थियो । दुवैले लामो समयसम्म आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन् । सन् २०२३ मा उनीहरूको विवाहको हल्ला चले पनि बादशाहले त्यसलाई अस्वीकार गरेका थिए ।
बादशाह बलिवुडसहितको संगीत क्षेत्रमा चर्चित छन् भने ईशा रिखी मोडल तथा अभिनेत्री हुन् । चण्डीगढमा जन्मिएकी ईशाले पञ्जाबी चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।
काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ १४ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, हली र लज्जावतीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।
जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ६८ लाख ६२ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ३१ हजार ६२७ टिकट बिक्री गरेको छ ।
त्यस्तै भदौ ५ गतेदेखि प्रदर्शनमा आएको प्रियंका कार्कीको चलचित्र मास्टर्नीले ३९ लाख ५२ हजार कमाइ गरेको छ । यस चलचित्रले ११ हजार ९९६ टिकट बिक्री गरेको छ ।
त्यस्तै त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २३ लाख ११ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ८ हजार ४६३ टिकट विक्री गरेको छ ।
त्यसैगरी साउन २९ गतेदेखि रिलिज भएको चलचित्र लज्जावतीले ७ लाख ७५ हजार कमाई गरेको छ भने २७३५ टिकट बिक्रि भएको छ ।एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइलीको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्रीमा अञ्जना अनुबन्ध भएकी हुन् ।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जनाको प्रवेश भएको हो । अहिलेकी व्यस्त र डिमान्डेड नायिका अञ्जनाको प्रवेशसँगै सिनेमाको लाइनअप थप बलियो भएको छ ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्नेछ । यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् । यो चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीको भनाइ छ ।
सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ । चलचित्रको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।
यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् । मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता ०७ गते
काठमाडौँ । बलिउड अभिनेता अर्जुन रामपालले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी ग्याब्रिएला डेमेट्रियाड्ससँग विवाह गरेका छन् । उनीहरूले शुक्रबार गोवामा कानुनी रूपमा विवाह दर्ता गराएका हुन् ।
उत्तरी गोवाको मापुसास्थित उपदर्ता कार्यालयमा पुगेर उनीहरूले विवाहको कानुनी प्रक्रिया पूरा गरेका थिए ।
स्थानीय कानुनअनुसार विवाह दर्ताका लागि पहिलो र दोस्रो हस्ताक्षरबीच १५ दिनको समय आवश्यक हुन्छ । तर, उक्त अवधि छुटाउन दुवैले स्थानीय अदालतका सहायक सरकारी वकिलबाट विशेष अनुमति लिएका थिए । उपदर्ता अधिकारी सूरज वर्नेकरका अनुसार विवाह गोवाको समान नागरिक संहिताअन्तर्गत दर्ता गरिएको हो ।
अर्जुन र ग्याब्रिएला सन् २०१८ देखि प्रेम सम्बन्धमा थिए। अर्जुनले पूर्वपत्नी मेहर जेसियासँग सम्बन्धविच्छेद गरेपछि ग्याब्रिएलासँग उनको सम्बन्ध सुरु भएको थियो । विवाहअघि नै उनीहरूका दुई छोरा छन् । सन् २०१९ मा पहिलो छोरा एरिक र त्यसको चार वर्षपछि दोस्रो छोरा एरिभको जन्म भएको थियो । सन् २०२५ मा अर्जुनले ग्याब्रिएलासँग इन्गेजमेन्ट गरेको जानकारी दिएका थिए ।
यसअघि दुई सन्तान भइसके पनि विवाह नगर्नुको कारणबारे अर्जुनले आफूहरूबीचको सम्बन्धलाई कानुनी कागजभन्दा माथि राखेको बताएका थिए । उनका अनुसार आफूहरूबीच विवाहको भावनात्मक सम्बन्ध पहिल्यै स्थापित भइसकेको थियो ।
अर्जुन रामपालको पहिलो विवाह पूर्व सुपरमोडेल मेहर जेसियासँग सन् १९९८ मा भएको थियो । उनीहरूबाट दुई छोरी माहिका र मायरा छन् ।
करिब २० वर्ष सँगै रहेपछि उनीहरूले सन् २०१८ को मेमा अलग हुने घोषणा गरेका थिए । त्यसपछि सन् २०१९ को नोभेम्बरमा उनीहरूको कानुनी रूपमा सम्बन्धविच्छेद भएको थियो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ ।
एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिईन् । उनको अनुसार फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।
फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ । फिल्ममा कथा तथा निर्देशन राजिव गुरुङको रहेको छ ।
आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ मा प्रदर्शन हुने फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएकोछ। नेपाली संस्कृति, परम्परा र आमा-छोरीबीचको आत्मीय सम्बन्धलाई विषयवस्तु बनाइएको यो गीत आउँदै गरेको तीज पर्वलाई लक्षित गरीबजारमा ल्याइएको हो।
विगत १२ वर्षदेखि सिड्नीको एक पब्लिक हस्पिटलमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत कार्की तीन सन्तानकी आमा तथा व्यवसायीसमेत हुन्। प्रबासकोव्यस्त जीवनका बाबजुद नेपाली भाषा, संस्कृति र परम्पराप्रतिको लगावलाई सङ्गीतमार्फत जीवन्त राख्न उनले पहिलोपटक तीज गीत सिर्जना गरेकीहुन्।
‘ए मैना सुनन’ बोलको गीतमा गायिका निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टिका दहालको सङ्गीत छ। गीतलाई अल्मोडा रानाउप्रेतीले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीले गरेका छन्।
गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा मोडल बिना राउतको शीर्ष अभिनय देख्न सकिन्छ। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा देवदोर्जे लामाको छायाङ्कन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन र प्रबिन भट्टको सम्पादन तथा कलर संयोजन छ।
भिडियोमा तीजको सांस्कृतिक पक्षका साथै आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। तीजका अवसरमा नेपालीमहिलाहरूले माइती, परिवार र आफ्ना प्रियजनसँग साट्ने आत्मीय भावलाई गीतमा समेटिएको निर्माण पक्षले जनाएको छ।
नियरबाइ क्याटरिङ र नीका टेक्नोलोजीको संयुक्त लगानीमा निर्माण भएको यो भिडियो ‘नेपाल क्युब’ (Nepal Cube) युट्युब च्यानलमार्फतसार्वजनिक गरिएको हो। विदेशमा रहेर पनि आफ्नो माटो, मौलिकता र पारिवारिक सम्बन्धसँग जोडिरहने प्रवासिएका नेपालीको भावनालाई गीतमार्फतदर्शाउने प्रयास गरिएको गीतकार कार्कीले बताएकी छन्।