२०८३ बैशाख ५
२०८३ बैशाख ५

आरके श्रीवास्तव,राैतहट,२३ गते जेठ । 

आगामी मनसुनमा सम्भावित प्राकृतिक विपद्‌बाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रौतहटको गौरस्थित बरहवाको झोलुङ्गे पुल नजिक आज एक दिवसीय कृत्रिम उद्धार अभ्यास सम्पन्न गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालद्वारा आयोजित उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकायको सक्रिय सहभागिता रहेको थियो । मनसुन पूर्वानुमानअनुसार औसतभन्दा बढी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै विपद्‌को समयमा गरिने उद्धार तथा राहत कार्यमा समन्वय र तयारी अभिवृद्धि गर्ने उद्देश्यले सो अभ्यास गरिएको हो ।

कार्यक्रममा आरडिसी नेपाल, मान्डवी लगायतका विभिन्न गैरसरकारी संघसंस्थाहरूको समन्वय रहेको थियो । अभ्यासका क्रममा नदीमा फसेका व्यक्तिहरूको उद्धार, आकस्मिक उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण लगायतका गतिविधिहरू देखाइएको थियो ।

सुरक्षा निकायका प्रतिनिधिहरूले यस्ता अभ्यासले विपद्‌ व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् । स्थानीय तह, सरोकारवालाहरू र सर्वसाधारणबीच समन्वय बढाउने यस्ता अभ्यासले भविष्यमा हुने सम्भावित विपद्‌बाट जनधनको क्षति न्यूनीकरणमा ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

बिना राउत श्रीवास्तव, गौर, २३ गते जेठ । 

राैतहटकाे गौर र इशनाथ नगरपालिकालाई जोड्ने टीकुलिया घाटको पुल निर्माण कार्य पुनः सुरु गरिएको छ । तर सो स्थानमा काम गरिरहेका केही निर्माण मजदुरहरूले त्यहाँबाट दैनिक आवतजावत गर्ने महिलाहरूलाई जिस्क्याउने, अश्लील र आपत्तिजनक टिप्पणी गर्ने जस्ता अभद्र व्यवहार देखाइरहेका छन् भन्ने गम्भीर गुनासो आएको छ ।

एक पीडित महिलाका अनुसार, ती मजदुरहरूले ठूलो स्वरमा फोहरफाल कुराहरू गरेर महिलाहरूलाई असहज बनाउने, हेरेर जिस्क्याउने, र आत्मसम्मानमा ठेस पुर्‍याउने कार्य नियमित रूपमा गर्दै आएका छन् । “हामीले अब त्यो बाटो हिँड्न पनि डराउनुपरेको छ। साँझपख त एक्लै जान त झन् जोखिमपूर्ण लाग्छ,” उनले बताइन् ।

महिलाहरूले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् र यथाशीघ्र समाधानको माग गरेका छन् । पीडितहरूले ठेकेदार र स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ती कामदारहरूलाई तत्काल निर्माण स्थलबाट हटाउनुपर्ने माग राखेका छन् ।

“यदि यस्ता कामदारलाई तुरुन्त नहटाइयो भने भविष्यमा कुनै महिला दिदीबहिनीमाथि अप्रिय घटना घट्न सक्छ,” स्थानीय महिलाहरूको चेतावनी छ ।

सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिहरूको तुरुन्त ध्यान जानु आवश्यक छ । पुल निर्माण जस्तो विकासको काम महिला सुरक्षाको मूल्य चुकाएर हुनुहुन्न भन्ने चेतावनीसहित स्थानीय महिलाहरूले आफ्ना आवाज उठाइरहेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ २२ गते । 

रौतहटको कटहरिया नगरपालिका–५ प्रगतिनगरमा रहेको श्री बाल कल्याण विधा मन्दिरले विश्व वातावरण दिवसको अवसरमा विविध कार्यक्रम गरी दिवस मनाएको छ । विद्यालयका विद्यार्थीहरूले प्लेकार्डसहित कटहरिया बजार परिक्रमा गर्दै वातावरण संरक्षणका सन्देशमूलक नाराहरू गुन्जाएका थिए ।

“हरियो वन नेपालको धन”, “रूख रोपौं, वातावरण बचाऔं”, “हरियाली छ जीवनको शान”, “प्रकृति हो हाम्रो पहिचान” जस्ता नाराहरू सहित विद्यार्थीहरू वातावरणप्रति जनचेतना फैलाउने उद्देश्यले बजार परिक्रमा गरेका थिए ।

कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिकाको प्राङ्गण, ईप्रका कटहरियाको प्राङ्गण, बौद्धीमाताको मन्दिर नजिकसहितका स्थानहरूमा वृक्षारोपणसमेत गरिएको विद्यालयका प्रबन्ध निर्देशक बैजुदास बनियाँले जानकारी दिए ।

उनका अनुसार यस्तो खालका कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारीको भावना विकास गर्नुका साथै स्थानीयवासीहरूमा पनि चेतना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

विश्व वातावरण दिवसका अवसरमा गरिएको उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति सामूहिक जिम्मेवारीबोध गराएको सहभागीहरूले बताएका छन् ।

आरके श्रीवास्तव,राैतहट,२२ गते जेठ ।
राैतहटकाे बौधिमाई नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले ऐलानी जग्गा खाली गराउने क्रममा वर्षाैंदेखि बसोबास गर्दै आएका स्थानीय गरिब नागरिकहरूको घर भत्काएका छन् । प्रभावितहरूका अनुसार वर्षाको बेला घर भत्काउँदा उनीहरू असहज र पीडामा परेका छन् ।
घर भत्काइएका महादेव राय यादव, सिकिलदेव राय यादव, धर्मदेव राय यादव, हरदेव राय यादव र गंगनदेव राय यादवले मेयर यादवले व्यक्तिगत रिसइवीका आधारमा आफूहरूलाई उठिबास लगाएको गुनासो गरेका छन् । उनीहरूले मेयर आफैंले पालिकाभित्र पाँच कठ्ठा भन्दा बढी ऐलानी जग्गा कब्जा गरेर राखेको आरोप समेत लगाएका छन् ।


स्थानीयवासीहरूका अनुसार मेयर यादवले विकास निर्माणको नाममा विभिन्न ठाउँका घर भत्काउने, खाली गराउने काम त गरेका छन्, तर ती ठाउँहरूमा अहिलेसम्म कुनै ठोस विकासका काम भने हुन सकेका छैनन् । यसले जनतामाझ शंका उत्पन्न गराएको छ कि विकासको नाममा गरिबमाथि अत्याचार भइहेको हो कि?
यसबारे नगरप्रमुख प्रदीप यादवसँग बुझ्दा उनले जग्गा खाली गराउनुको कारण स्पष्ट पारेका छन् । उनका अनुसार कोल्ड चेम्बर निर्माणका लागि ४७ लाख रुपैयाँको बजेट आएको छ र सो बजेट फ्रिज हुने अवस्थामा पुगेपछि बाध्य भएर जग्गा खाली गराइएको हो । उनले आफूले कुनै पनि ऐलानी जग्गा कब्जा नगरेको र गरिबको घर तोड्दा पटकपटक सूचना दिएर कानुनी प्रक्रिया पूरा गरेरमात्र प्रशासनको सहयोगमा घर हटाइएको स्पष्ट पारेका छन् ।
” आफूमाथि लागेको आरोप प्रमाणित गर्न सके खुला चुनौती दिन्छु,” मेयर यादवले भने । पाेखरिकाे डिलमा नै अन्य विकास निर्माणकाे भएकाे र कार्यपालिकाकाे निर्णय अनुसार त्यहाँ काेल्ड चेम्बर बनाउन जग्गा खाली गराइएको बताए ।
यो विषयले स्थानीय तहमा सत्ता र जनताको सम्बन्धबारे गम्भीर बहस सिर्जना गरेको छ । विकासको नाममा गरिब जनताको अधिकार हनन हुने हो कि भन्ने प्रश्न उठिरहेका बेला, सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्दै पीडितहरूको आवाजलाई समेत सम्बोधन गर्नुपर्ने माग उठेको छ ।

राजेश निर्माणी,राैतहट,२०८२ जेठ २२ गते । 
रौतहटको वृन्दावन नगरपालिका वडा नं.-७ धमौरा स्थित रहेको श्री रुपा नेपाली पाल माध्यमिक विद्यालय सखुअवा धमौरामा विद्याकी देवी सरस्वतीको मन्दिरको शिलान्यास गरिएको छ। बिद्यालयको प्राङ्गणमा नगर प्रमुख विनोद प्रसाद कुर्मीको नगर स्तरीय बजेटबाट निर्माण हुन लागेको मन्दिरको शिलान्यास नगर प्रमुख कुर्मीले बुधबार सम्पन्न गरेका हुन्।

शिलान्यास कार्यक्रममा बोल्दै,नगरप्रमुख कुर्मीले आफू बाल्यकाल मा सोही बिधालयमा अध्यनरत रहेको बेलादेखि अहिलेसम्म पनि विधार्थीको आस्थाको केन्द्र मानिने सरस्वती माताको मन्दिर न रहेकोले आफू विद्यालयमा बिद्याकी खानी सरस्वतीको मन्दिर शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले शिक्षा भन्दा ठुलो कुरा संसारमा अरु केही नभएको बताउँदै कुनै पनि देशको सफलतामा शिक्षाको सबैभन्दा ठुलो भुमिका हुने गरेकोले आफू शिक्षामा जोड दिएको बताउनु भयो ।

नगर प्रमुख कुर्मीले शिलान्यास पश्चात् पत्रकार संग कुराकानी गर्दै सरस्वती मन्दिरको लागि आफ्नो नगर स्तरीय योजना बाट ५ लाख रकम दिएर शिलान्यास सम्पन्न गरेको र सोही बिधालयमा सम्पुरक बजेट अन्तरगत केन्द्रबाट स्वीकृत भई आएको १ करोड २३ लाख रकम बाट अधुरो भवनको निर्माण कार्य हुन गइरहेको साथै सोही बिधालयमा शौचालयमा निर्माणको लागि २० लाख रकम दिएकोले सुबिधा सम्पन्न शौचालय निर्माण हुन गइरहेको बताए।

विगत लामो समयदेखि विद्यालयमा सरस्वतीको मन्दिर राख्ने अधुरो सपनालाई साकार पार्नको लागि विद्यालयका शिक्षक, विधालय व्यवस्थापन समिति पूर्व विद्यार्थी तथा वर्तमान विधार्थी र अभिभावकहरुको अपेक्षा रहेको कुराको मध्यनजर गर्दै सरस्वती मन्दिरको शिलान्यास गरिएको बिद्यालयका प्रधानाध्यापक धर्मेन्द्र सिंहले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा उपप्रमुख संगिता कुमारी राम,सोही वडाका वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर,वडा नं.-३ का वडा अध्यक्ष हरिनरायण साह,वडा नं.५का वडा अध्यक्ष फेकु दास,वडा नं.८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साह,वडा नं.९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान,नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेल र शिक्षा संयोजक उपेन्द्र महतो लगायत विधालयका शिक्षक एवम् स्थानीय हरुको समेत उपस्थिति रहेको थियोे।

प्रेमचन्द्र झा,रौतहट,२०८२ जेठ २२ गते । 
रौतहटमा ट्राफिक साप्ताह २०८२ आज एक विशेष समारोहमार्फत औपचारिक रूपमा उद्घाटन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको आयोजनामा सम्पन्न कार्यक्रममा सरकारी, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि तथा नागरिक समाजको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। नगर प्रमुख साहले सवारी दुर्घटना नियन्त्रणमा प्रविधिको प्रयोग अपरिहार्य भएको धारणा राख्दै जिल्लामा सवारी गतिमापन क्यामरा जडानमा ढिलाइ गर्न नहुने बताए। उनले मादक पदार्थ सेवन, लागूपदार्थ प्रयोग र लापरवाहीपूर्ण चालक व्यवहार दुर्घटनाका मुख्य कारण भएको उल्लेख गरे।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद खडकाले सवारी दुर्घटनाबाट हुने मृत्यु दर दैवी प्रकोपभन्दा भयावह बन्दै गएको तथ्य प्रस्तुत गर्दै कानुनको कडाइका साथ कार्यान्वयनमा जोड दिए। उनका अनुसार, केवल जनचेतनामूलक कार्यक्रमले मात्र समस्या समाधान हुँदैन, व्यवस्थापन सुधार अत्यावश्यक छ।

प्रहरी उपरीक्षक नेत्रमणि गिरीले सवारी दुर्घटनाका कारणबारे धारणा राख्दै चालकको लापरवाही प्रमुख कारक रहेको स्पष्ट गरे। उनले ट्राफिक साप्ताहजस्ता कार्यक्रममार्फत जनचेतना फैलाउन आवश्यक रहेको बताए। उनका अनुसार, “सावधानीपूर्वक सवारी सञ्चालन नै जीवन सुरक्षाको मूल आधार हो।”

जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकेंद्र अधिकारीले कार्यक्रमको अध्यक्षता गर्दै ट्राफिक साप्ताहलाई जनचेतनामूलक अभियानको रूपमा उपयोग गर्न आग्रह गरे। उनले ट्राफिक नियम उल्लंघनका नकारात्मक प्रभावहरूबारे समाजमा गम्भीर बहसको खाँचो रहेको बताए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारी, सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेत, मेजर ऋषिकेश थापा, पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कुमार कार्की, उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालसहित विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भ गौरको बीपी चौकबाट सुरु भएको प्रभातफेरीद्वारा गरिएको थियो। प्लेकार्ड, बाजागाजा र स्थानीय सांगीतिक समूहहरूका साथ सहर परिक्रमा गर्दै सभाहलमा पुगेर औपचारिक समारोहमा परिणत भएको उक्त प्रभातफेरीले सर्वसाधारणको ध्यान आकर्षित गर्‍यो।

कार्यक्रममा विद्यार्थी, सवारी चालक, ट्राफिक प्रहरी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले ट्राफिक नियमबारे सन्देश आदानप्रदान मात्र नभई तिनलाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि जनाए।

कार्यक्रम आयोजकका अनुसार ट्राफिक साप्ताहका विभिन्न गतिविधिहरू आगामी दिनहरूमा विद्यालय, बजार तथा सार्वजनिक स्थलहरूमा सञ्चालन गरिनेछ। आयोजकहरूले यस्ता कार्यक्रमको निरन्तरता नै सवारी दुर्घटनामा न्यूनीकरण गर्न प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरेका छन्।

बज्जिकाञ्चल संवाददाता,रौतहट,२०८२ जेठ २३ गते । 
रौतहट जिल्लाका ग्रामिण भेगमा अवैध मदिराभट्टी सञ्चालनमा हुँदा स्थानीयको जनस्वास्थ्यमा गम्भिर समस्या देखा परेको छ । स्थानीय प्रहरी प्रशासनले अवैध रुपमा सञ्चालन गरेका मदिराभट्टिको नियन्त्रण गर्न नसक्दा अवैध मदिराको उत्पादन र बितरणमा बिगीबिगी बढेको हो ।


रौतहट जिल्लाको राजपुर,मठिया,महादेवपट्टी, झुनखुनुवा, चन्द्रपुर लगायतका दजनौ ठाउँमा स्थानीय प्रहरी प्रशासनको मिलेमत्तोमा अवैध मदिराको बिक्री वितरण हुँदै आइरहेको छ ।
अवैध मदिराको खुलेयाम बिक्री वितरण हुँदा अनुमति लिएर सञ्चालनमा रहेका मदिराजन्य पदार्थको बिक्री वितरणमा समेत प्रत्यक्ष असर पर्दै आइरहेको छ ।
भारतको विहार राज्यमा मदिराजन्य पदार्थको वितरणमा प्रतिबन्ध भएपछि भारतीय सीमावर्ती जिल्ला पूर्वी चम्पारण, पश्चिम चम्पारण लगायतका जिल्लाका मदिराप्रेमीहरु पनि रौतहटमा आउने गरेका छन् ।
नेपाल प्रहरीका घुमुवाहरुले मदिराका भट्टी पसललाईलाइन दिएपछि यहाँ जनस्वास्थ्यलाई असर पार्ने मदिराको पनि समस्या भएको हो ।
बौधीमाई नगरपालिका ४ स्थित इरनवारी अवैध घरेलु मदिरा उत्पादन गर्ने व्यक्ति रामप्रताप अरविन्द जयसवाल, रुपेश यादव लगायतका भट्टी सञ्चालकहरुले इलाका प्रहरी कार्यालय कोपवा पिपरियाको संरक्षणमा अवैध मदिराभट्टी सञ्चालन गर्दै आइरहेको स्थानीय कमल यादवले जानकारी दिए ।
भारत नेपाल सीमा जोडिएका नेपालका विभिन्न बजारहरुमा मठिया, रामपुरखाप, औरहीया,बन्जरहा, नरकट्टीया,बंकुलबजार लगायतका सीमासँग जोडिएका भारतीय जुवाडे र अपराधिक गतिविधिमा संलग्नहुनेहरुले होटलमा मदिरा सेवन गरेर स्थानीयको चोरी तथा लुटपाटमा संलग्न रहेको स्थानीयहरुले चर्काे गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख नेत्र मणी गिरीले अवैध सञ्चालनमा रहेका मदिरा भट्टीलाई तुरुन्त नियन्त्रण गर्नका लागि आफू मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

राजेश निर्माणी,राैतहट,२०८२ जेठ २१ गते

रौतहटको वृन्दावन नगरपालिका वडा नं.-९ भुुषहामा मदरसा नेदाय मिल्लत भुषहाको मदरसा भवनको बुधबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

वृन्दावन–९ स्थित मदरसा कम्पाउन्ड भित्रै रहेको मदरसाको जमिनमा सो भवनको शिलान्यास गरिएको हो । मदरसा भवनको शिलान्यास वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले गर्नुभएको थियो । २० लाख रुपैयाँको लागतमा चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी दुईकोठे एक तल्ले मदरसा भवनको शिलान्यास गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख कुर्मीले स्थानीय समुदायको चौतर्फी विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो । वृन्दावन नगरपालिका वडा नं.-९ का वडा अध्यक्ष प्रवेज आलमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अधिकांश वक्ताले मदरसामा आश्रित तथा पढ्न आउने मुस्लिम समुदायका विद्यार्थीलाई विद्यालय भवन बनेपछि पठनपाठनमा सहज हुने बताए ।

विद्यालय भवन निर्माणका लागि नगर प्रमुख कुर्मीको नगर स्तरीय योजनाबाट रु.२० लाख निर्माण हुन लागिएको मदरसामा अहिले कक्षा १ देखि १० सम्मका मुस्लिम समुदायका सात सय विद्यार्थी अध्ययनरत छन् ।

शिलान्यास कार्यक्रममा उपप्रमुख संगिता कुमारी राम,सोही वडाका वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर,वडा नं.-३ का वडा अध्यक्ष हरिनरायण साह,वडा नं.५का वडा अध्यक्ष फेकु दास,वडा नं.८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साह,वडा नं.९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान,नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेल र शिक्षा संयोजक उपेन्द्र महतो लगायत विधालयका शिक्षक एवम् स्थानीय हरुको समेत उपस्थिति रहेको थियोे।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ २० गते । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टीका महासचिव नेता मनिष कुमार मिश्रलाई थप जिम्मेवारी दिँदै प्रवक्ताको पदमा मनोनीत गर्नु भएको छ ।

पार्टीको संशोधित विधानअनुसार मिश्रलाई उक्त जिम्मेवारी दिइएको हो । अध्यक्ष ठाकुरद्वारा जारी गरिएको मनोनयन पत्रमा मिश्रलाई नयाँ भूमिकामा सफल कार्यकालको शुभकामना दिइएको छ । साथै, देश, मधेश र पार्टीको हितमा मिश्रको योगदान उल्लेखनीय हुने विश्वास व्यक्त गरिएको छ ।

मनिष कुमार मिश्रले यसअघि पनि पार्टी संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । नयाँ जिम्मेवारीसँगै उनी अब पार्टीको आधिकारिक धारणा सञ्चार माध्यममार्फत प्रवाह गर्ने जिम्मेवारीमा रहनेछन् ।

पार्टीका कार्यकर्ताहरुले पनि मिश्रलाई दिएको जिम्मेवारीको स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन् ।

सागर संगम ठाकुर रौतहट जेठ १८ गते

रौतहटकाे देवाही गाेनाही नगरपालिकामा विपद् प्रतिकार्य सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली अन्तर्गत (icimod ) को आर्थिक तथा प्राविधिक सहयोग र माण्डवी नेपालको आयोजना र देवाही गाेनाही नगरपालिकाकाे सहकार्यमा जय किसान बहुप्राबिधिक शिक्षालयकाे सभा हलमा यो तालिम सम्पन्न गरिएको हो।

तालिममा दैवी प्रकोप—विशेषतः बाढी—बाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा प्रशिक्षक घनश्याम श्रेष्ठ र दिपक मराठाले सहभागीहरूलाई प्रशिक्षण दिएको थिए। पालिकाकाे प्रत्येक वडाबाट तीन-तीन जना सहभागी भएका पुरुष र महिलाहरुलाई तालिममार्फत समुदायस्तरमा विपद् पूर्वतयारी र तत्कालीन प्रतिक्रिया क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजक संस्थाका प्रमुख रामअज्ञा साहले जानकारी दिनु भयो ।

वर्षायामकाे बेला बाढीबाट मानवीय धनजनको क्षति वा नाेक्सानी हुने गरेकाले त्यस्ता मानवीय क्षतिलाई न्युनीकरण गर्न स्थानीय समुदायकाे कम्तीमा २०,३० जना महिला तथा पुरुषकाे समुहलाई मनसुन पुर्व एक दिने ( water simulation) तालिम प्रदान गरि Rescue गर्न सक्षम प्राबिधिक स्थानीय स्तरमा तयार गरिएको साहले बताउनु भयो ।

जिल्लाको लालबकैया खाेलामा आएको बाढी र त्यसबाट बाट हुने गरेका क्षति र तालिममा देवाही गाेनाही नगरपालिकाका विपत व्यवस्थापन शखाका प्रमुख ललन साह ,वडा-५ वडा अध्यक्ष उपेन्द्र साह र स्थानीय संचारकर्मीहरुकाे समेत उपस्थिति रहेको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।