२०८२ चैत्र २९
२०८२ चैत्र २९

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २६ गते । 

राैतहटकाे कटहरियामा  नेपाली कांग्रेस नगर समिति कटहरियाको आयोजनामा आज एक शान्तिपूर्ण जुलुस सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष शम्भुकान्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्ने माग सहितको प्रदर्शन गरेका थिए ।

 

कार्यक्रममा सहभागीहरूले “राष्ट्रपतिलाई सार्वजनिक गर”, “संविधानको रक्षा गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए । जुलुस नगर क्षेत्रका विभिन्न भागमा पुग्दै शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको थियो ।

शान्ति जुलुसमा राैतहट निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश जयसवाल, कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश साह, कांग्रेसका महासमिति सदस्य वाल्मीकि यादव, विभिन्न वडाका अध्यक्ष पदका उम्मेदवारहरू लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

नेपाली काँग्रेसका यूवा नेता एवम् कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनाेज जयसवालका अनुसार पार्टीको केन्द्रीय सर्कुलर अनुसार हामीले आज शान्तिपूर्ण प्रदर्शन गरेका हाैं । संविधानकाे रक्षा गर्नु हामी सबैकाे दायित्व रहेको उनकाे भनाइ छ ।

 

कार्यक्रममार्फत सहभागीहरूले संविधानको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि जनमत अभिव्यक्त गरेका थिए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २७ गते । 

रौतहट जिल्लामा हालको सुरक्षा अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, रौतहटले आजदेखि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बिनोद कुमार खड्काको हस्ताक्षरमा जारी आदेशअनुसार, आज विहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिएको हो भने साँझ ७ बजेदेखि कर्फ्यू आदेश लागु हुनेछ ।

 

निषेधाज्ञाको विवरण अनुसार जिल्लामा २०८२ साल भदौ २७ गते विहान ६:०० बजे देखि साँझ ७:०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका क्रममा सार्वजनिक स्थलमा भेला, जुलुस, सभा, प्रदर्शन, पोष्टर टाँस्ने वा लेख्ने कार्य, तथा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाइने छ।

कर्फ्यू आदेश अनुसार निषेधाज्ञा पछि २०८२ भदौ २७ गते साँझ ७:०० बजेदेखि भोलिपल्ट २०८२ भदौ २८ गते विहान ६:०० बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ । कर्फ्यू अवधिमा सर्वसाधारणलाई आवतजावत गर्न अनुमति नहुनेछ । कुनै पनि प्रकारका सभा, जुलुस, समुह बनाएर हिँड्न, प्रदर्शन वा घेराउ गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।

 

अत्यावश्यक कामको लागि छुट्टै समय दिइएको छ । यद्यपि, आज साँझ ५:०० बजेदेखि ७:०० बजेसम्मको दुई घण्टा अवधि अत्यावश्यक कार्यका लागि नागरिकलाई आवतजावतको अनुमति दिइएको प्रशासनले जनाएको छ ।

 

जिल्ला प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र संभावित झडप वा अस्थिरता रोक्न उक्त आदेश जारी गरिएको स्पष्ट पारेको छ । आदेशको उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २६ गते । 

रौतहटकाे फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको निजी सम्पत्तिमा बुधबार युवाकाे समूहद्वारा आगजनी गरिएको छ ।

 

नगरपालिकाको वडा नम्बर ५ सन्तपुर चाैक स्थित रहेको खातुनको औषधी पसलमा जेनजीसहितका केही व्यक्तिहरूले आगो लगाएको बताइएको छ । आगलागीबाट पसल पूर्णरूपमा नष्ट भएको छ भने करिब १ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

घटनाको पुष्टि गर्दै प्रदेश सांसद प्रत्यासी मोहम्मद सेराजले आगजनीबाट ठुलो मात्रामा क्षति भएको जानकारी दिएका छन् । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरू माथि कार्यवाही गर्न माग गरेका छन् ।

 

यसअघि पनि फतुवा बिजयपुर नगरपालिकाभित्र आगजनीका घटना भइसकेका छन् । स्थानीय स्रोतका अनुसार हालैको समयमा नगरपालिकामा राजनीतिक तथा व्यक्तिगत कारणले तनावको स्थिति देखिएको थियो ।

स्थानीय बासिन्दाहरूले यस्ता घटनाले शान्तिपूर्ण जनजीवनमा असर परेको भन्दै यस्तो कार्य गर्न नहुने जिकिर गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,भदौ २४ गते । 

कटहरिया – भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र काठमाडौं लगायतका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि देशभरि आक्रोश चुलिएको छ ।

यही आक्रोशको प्रतिविम्बस्वरूप आज रौतहटको कटहरिया बजारमा जेनजी (जेनेरेसन जेड) युवाहरूले आक्रामक विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय कटहरिया घेराउ गर्दै टायर बालेर सडक अवरुद्ध पारेका छन् । उनीहरूले “केपी चोर देश छोड”, “विद्यार्थी मार्न पाइँदैन”, “नेपाल सरकार मुर्दाबाद” लगायतका आक्रोशपूर्ण नारा लगाउँदै सरकार र सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

विद्यार्थीहरूमा आक्राेेश देखिएपनि प्रदर्शन भने शान्तिपूर्ण रूपमा नै गरेका छन् । अहिलेको सरकारको रवैयाले मुलुकलाई जुन दिशातर्फ धकेलिरहेको छ । त्यो गम्भीर चिन्ताको विषय बनिसकेको छ ।

कटहरियाका स्थानीय यूवा नेता नसरूदिन अन्सारीले जेनजीकाे माग जायज रहेकोले यसमा आफनाे समर्थन रहने बताएका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,भदौ २३ गते । 

विकास मसला उद्योग, विरगंज पर्सा द्वारा उत्पादित ‘क्यूरी मसला’ को प्रचारप्रसार तथा व्यवसाय विस्तारको उद्देश्यले रौतहटको मौलापुरस्थित होटल पार्कमा होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको छ ।

‘हरेक गृहणीको रोजाई क्यूरी मसला’ नारासहित सम्पन्न सो कार्यक्रमको अध्यक्षता स्थानीय व्यवसायी तथा निरला जेनरल किराना पसलका सञ्चालक महाशक्ति निरालाले गर्नुभएको थियो ।

कार्यक्रममा विकास मसला उद्योगका सञ्चालकद्वय विकास अग्रवाल र विवेक अग्रवाल उपस्थित रहनुभएको थियो । उहाँहरूले उत्पादनमा अपनाइएको गुणस्तर, स्वाद र नेपाली परिकारहरूसँगको सामञ्जस्यबारे जानकारी दिनुभएको थियो ।

 

कार्यक्रममा सहभागी व्यवसायीहरूलाई कुपन सिस्टममार्फत आकर्षक उपहारहरू वितरण गरिएको थियो । कार्यक्रममा हिमगिरी हाईजिन लिमिटेडका पुण्य लुँइटेल र मिन्टु सिंह, खेतान चिया उद्योगका प्रबन्ध निर्देशक ईश्वर दवाडी, जनक खड्का र महेश गुप्ता, तथा हाईजिन पैक्स नेपालबाट भोला महतो र मदन साह लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो ।

सञ्चालक महाशक्ति निरालाले कार्यक्रमको सफलता प्रति सन्तोष व्यक्त गर्दै स्थानीय व्यवसायीहरूलाई गुणस्तरीय घरेलु मसला उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

सञ्चालक विकास अग्रवालले भने, “हामीले क्यूरी मसला विशेष गरी नेपाली स्वाद अनुसार उत्पादन गरेका छौँ, र हरेक गृहणीको भान्सामा हाम्रो स्थान बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेका हौँ।”

 

कार्यक्रमले स्थानीय स्तरमा घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ । साे अवसरमा क्यूरी मसालाकाे राम्रो व्यवसाय गर्ने दुई जनालाई टिभिएस माेटरसाईकिल,ईभि माेटरसाईकिल र अन्य उपहारहरू पनि प्रदान गरिएको थियोे ।

 

राकेश ठाकुरले सञ्चालन गरेको कार्यक्रममा भाेजपुरीका चर्चित कलाकार सुनिल पंण्डित,एमएल पटेल लगायतका कलाकारहरूले सहभागीहरूलाई भरपूर मनाेरंजन गराएका थिए । कार्यक्रममा बारा,राैतहट र सर्लाहीका व्यवसायीहरू सहभागीता रहेको थियो ।

आरएन पटेल,राैतहट,भदौ २२ गते।
नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजू प्रसाद बाबरा पुनः निर्विरोध चयन भएका छन। नेपाल मदिरा उत्पादक संघको पाँचौं अधिवेशन तथा दशौं वार्षिक साधारण सभाबाट रौतहटका उद्योगपति बैजू प्रसाद बाबरा दोस्रो कार्यकालका लागि पुनः केन्द्रीय अध्यक्षमा निर्विरोध चयन भएका छन्।
भदौ २१ र २२ गते संघीय राजधानी काठमाण्डौमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा बाबरालाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।


रौतहटको कटहरिया नगरपालिका-९ डुमरियामा अवस्थित ज्योति डिस्टिलरी प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रहेका बाबरा लामो समयदेखि मदिरा उद्योगसँग आबद्ध रहँदै आएका छन्। संघको केन्द्रीय अध्यक्षमा पुनः निर्वाचित भएपछि उनले नेपाल मदिरा उत्पादक संघलाई अझ सबल बनाउँदै आवद्ध सम्पूर्ण उद्योगी-व्यवसायीका हकहितको लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
बाबराले आफूलाई दिएको विश्वास र समर्थनप्रति आभार प्रकट गर्दै संघलाई समावेशी, सबल र परिणाममुखी बनाउन सम्पूर्ण उद्योगी-व्यवसायीको सहकार्य आवश्यक रहेको बताएका छन्।

अब्दुल सलाम,राैतहट,भदौ २२ गते । 

लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदै आएका युवा अब्दुल सलामले हालै सरकारले सामाजिक सञ्जालमा सरकारका कामकारबाहीबारे प्रत्यक्ष टिप्पणी तथा आलोचना गर्न रोक लगाउने निर्णयको कडा आलोचना गरेका छन्।

उनका अनुसार, सामाजिक सञ्जाल आजको युगमा नागरिकले आफ्ना विचार अभिव्यक्त गर्ने सशक्त माध्यम हो, र यसमा नियन्त्रण लगाउनु अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हो।

लोकतान्त्रिक मुल्य–मान्यतामा विश्वास गर्ने सरकार आफैंले आलोचना सहन नसक्ने हो भने त्यसले निरंकुशताको संकेत दिन्छ, सलामले बताएका छन्।

उनले सरकारको उक्त निर्णयलाई गैरजिम्मेवार र अलोकतान्त्रिक कदम भन्दै खारेज गर्न माग गरेका छन्। साथै, यस्तो निर्णयले सरकारप्रति जनताको विश्वास थप कमजोर हुने चेतावनी पनि दिएका छन्।

सलाम विगत केही वर्षदेखि सामाजिक विकृति–विसंगति विरुद्ध, जनताको हकअधिकारका लागि, तथा राज्यका गलत नीतिहरूको विरोधमा आवाज उठाउने युवा स्वरको रुपमा परिचित छन्।

उनका अनुसार,सञ्चार माध्यम र सामाजिक सञ्जाल कुनै पनि लोकतान्त्रिक मुलुकको मेरुदण्ड हो। यदि त्यसलाई बन्द गर्न खोजिन्छ भने त्यो राष्ट्रको स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिताको अन्त्यतिर उन्मुख हुने संकेत हो।

अब्दुल सलाम जस्ता सचेत र क्रियाशील युवाहरुको आवाजले अहिलेको परिस्थितिमा नागरिक सचेतना र जिम्मेवार शासन प्रणालीका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास समाजका धेरै वर्गले व्यक्त गरेका छन्।

 

ओम प्रकाश यादव,रौतहट,भदौ २२ गते ।

रौतहटको नेकपा एमालेकी महिला नेतृ जमुना साहले केहीदिन अघि मात्र आगोले जलेर मृत्यु भएका लक्षमण पासवानको परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेकी छन् ।

रुबी हत्याकाण्डको मुख्य आरोपित रहेका लक्षमण पासवानले आफैले शरीरमा आगो लगाई आत्मदाह गरेपछि उनको श्राद्ध र भोजभतेरको लागि महिला नेतृ साहले खाद्यान्न सामग्री उपलब्ध गराएकी हुन्।

माधवनारायण नगरपालिकाकी उपप्रमुख प्रत्यासी समेत रहेकी माधोपुर घर भएकी नेकपा एमाले नेतृ जमुना साहले आर्थिक अवस्था निकै कमजोर भएका लक्षमण पासवानको परिवारलाई आफ्ना व्यक्तिगत तर्फबाट खाद्यान्न सामग्री सहयोग गरेकी छन्।

नेतृ साहले माधवनारायण नगरपालिका -६ माधोपुर घर भएका पासवानका बुबा र श्रीमतीलाई ५० किलो चिउरा, ५० किलो आलु, २० किलो चिनी, ४० किलो दही, १० किलो चना, १० किलो प्याज, खाने तेल ५ किलो लगाएतका खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् ।

लक्षमण पासवानको मृत्युपछि आर्थिक अवस्था निकै कमजोर रहेका उनका परिवारलाई पासवानको श्राद्धमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री सहयोग गरेको नेतृ जमुना साहले बताइन् ।

आर्थिक अवस्था निकै दयनीय रहेका पासवानको परिवारलाई क्रिया र श्राद्ध गर्न पैसाको अभावमा कुनै सामान किन्ने अवस्था नरहेकोले केही सहयोग होस भन्ने उद्देश्यले आफूले खाद्यान्न सामग्री उपलब्ध गराएको उनले बताइन् ।

चर्चित सुटकेस काण्ड रुबी साह हत्याकाण्डका मुख्य आरोपित लक्षमण पासवानको केहीदिन अघि मात्र उपचारको क्रममा मृत्यु भएको थियो।

बुबाको एक्लो छोराको रूपमा रहेको पासवानको मृत्युपछि आर्थिक रुपमा निकै कमजोर र विपन्न रहेका उनको परिवार अहिले विचलिमा परेका छन्।

पासवानको दुई छोरा र श्रीमती छन् भने उनको बुबा र आमा पनि छन् ।

लक्ष्मणको मृत्यु पछि उनको सिंगो परिवार नै ठूलो आर्थिक समस्यामा परेका छन् ।

आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते । 

रौतहटको गरूडा देखि समनपुर जोड्ने मुख्य सडकखण्ड अन्तर्गत चाँदी खाेला भन्दा अगाडि र मलाहीटाेलकाे बिचमा कज्वे क्षेत्र नजिकैको सडकमा पानीको ओभरफ्लो हुँदा आवागमनमा समस्या हुँदै आएको छ । अलिकति पानी परे पनि सडकमा पानी जमेर बग्ने अवस्था सिर्जना हुने गरेको छ, जसले गर्दा दैनिक आवतजावत गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई ठूलो सास्ती हुने गरेको छ ।

 

स्थानीयहरूका अनुसार वर्षा भएलगत्तै सडकभरि पानी जमेर नदीझैं बग्ने स्थिति आउँछ । यस बाटो भएर विद्यार्थी, कर्मचारी, व्यापारीदेखि लिएर एम्बुलेन्स र भिआइपि सवारीसम्म गुड्ने गर्दछन् । तर यस्तो गम्भीर समस्याप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन् ।

 

“हाम्रो माग कुनै नयाँ सुविधा होइन, यतिका वर्षदेखि यो समस्यालाई सम्बन्धित निकायहरूले वेवास्ता गरिरहेका छन्,” एक स्थानीयले गुनासो गरेका छन् । उनका अनुसार खासगरी विद्यालय समयमा विद्यार्थीहरू भीडमा जोखिम मोल्दै स्कुल जान बाध्य छन् ।

 

यो सडकखण्ड सडक डिभिजन राैतहट तथा स्थानिय तहको जिम्मेवारी क्षेत्रभित्र पर्छ । तर अहिलेसम्म स्थायी समाधानका लागि कुनै पहल नदेखिएको भन्दै स्थानीयवासीहरू आक्रोशित छन् ।

 

स्थानीय प्रशासन तथा सडक डिभिजन कार्यालयले समस्या समाधानका लागि तत्काल ध्यान नदिए जनप्रदर्शन गर्ने चेतावनीसमेत स्थानीयहरूबाट आएको छ ।

आरके श्रीवास्तव,राैतहट,भदौ २२ गते । 

२२ औं निजामती सेवा दिवसको अवसरमा मालपोत कार्यालय गरुडा, रौतहटमा विशेष सरसफाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कार्यालयका कर्मचारीहरूबीच आपसी सहकार्य र सेवा भावनाको सम्मानस्वरूप उत्कृष्ट कर्मचारी छनोट गरि सम्मान गरिएको हो ।

उक्त अवसरमा मालपोत कार्यालयमा कार्यरत सुब्बा अरविन्द कुमार यादवलाई उत्कृष्ट कार्यसम्पादन, इमान्दारिता, शिष्ट व्यवहार तथा सेवा प्रतिको समर्पणका आधारमा “सर्वोत्कृष्ट कर्मचारी” घोषणा गर्दै सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यालय प्रमुख मालपोत अधिकृत मोहन कुमार पाठकले यादवको योगदानले कार्यालयको प्रतिष्ठा अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कर्मचारीहरूबाट प्रेरणा लिइने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो, जसमा सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको मालपोत कार्यालय गरूडाका कर्मचारी हरिन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको हाे ।

 

मालपोत कार्यालय गरुडाले निजामती सेवा दिवसलाई सेवा, इमानदारी र समर्पणको भावना अभिवृद्धि गर्ने अवसरको रूपमा उपयोग गर्दै आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।