२०८२ चैत्र २६
२०८२ चैत्र २६

आरके श्रीवास्तव,राैतहट,मंसिर ११ गते । 

राजपुर — लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा राजपुर नगरपालिकामा आज विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाको आयोजनामा विभिन्न सरोकारवालाको सक्रिय सहभागितामा सचेतना कार्यक्रम, प्रतिबद्धता घोषणाहरू तथा किशोरी पदयात्रा गरिएकाे थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख डा. मो. राजिक आलमले आफ्नो कार्यकालमा आरडिसी,ईस्लामिक रिलिफ लगायतका संस्थाहरूको सहकार्यमा निरन्तर रुपमा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन हुँदै आएको बताए । उनले बालविवाह न्यूनीकरणदेखि लिएर महिला–किशोरी लक्षित सीप तथा तालिम कार्यक्रमहरू ६ वटा वडामा विस्तार गरिएको जानकारी दिए ।

डा. आलमले सामाजिक सञ्जालमार्फत पनि महिलामाथि हुने दुर्ववहार बढ्दो अवस्थामा रहेको भन्दै मोबाइल तथा इन्टरनेटको सुरक्षित प्रयोगबारे सचेत हुन आग्रह गरे । महिलामाथि कुनै पनि प्रकारको हिंसा भएमा वडा अध्यक्षमार्फत वा सिधै उपप्रमुख तथा न्यायिक समितिमा उजुरी दिन सकिने स्पष्ट गर्दै, नगरपालिकाले कठोर रूपमा कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले महिला भएकै कारण हुने भेदभाव समाजका लागि गम्भीर समस्या भएको बताउँदै “महिलामाथि कुनै पनि प्रकारको हिंसा सहिँदैन, सामूहिक रूपमा रोकथाममा उभिनु हाम्रो दायित्व हो” भने ।

त्यसैगरी राैतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिन कार्की, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी लगायत सुरक्षाकर्मी, कर्मचारी तथा स्थानीय सरोकारवालाले अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले नगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
“किशोरी तथा युवतीहरूलाई आत्मविश्वासी, सक्षम र जागरूक बनाउनु हाम्रो पहिलो लक्ष्य हो । यसका लागि नगरपालिकाले सीप विकास, सूचना प्रविधि, आत्मरक्षा तथा जीवन कौशल तालिमहरू निरन्तर रूपमा विस्तार गर्दै आएको छ,” ठाकुरले भने ।

उनले लैङ्गिक हिंसा रोकथाममा सामुदायिक सहभागिता अत्यावश्यक रहेको भन्दै विद्यालय, अभिभावक, युवा समूह र स्थानीय निकायबीच समन्वय अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमअन्तर्गत आयोजित किशोरी पदयात्राले समाजमा महिला अधिकार र सुरक्षित वातावरण निर्माणकाे सन्देश प्रवाह गरेको आयोजकले बताएका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०८ गते । 

राैतहटको फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक मेयर अम्बेया खातुनविरुद्ध वडाअध्यक्षहरूले सोमबार संयुक्तरूपमा व्यापक विरोध प्रदर्शन गरेका छन् । उनीहरूले बिजयपुर बजार परिक्रमा गर्दै नाराबाजीसहित र्‍याली निकालेका थिए । प्रदर्शनका क्रममा ‘कार्यवाहक मेयरको एकल निर्णय बन्द गर’, ‘नगरलाई बन्धक बनाउन पाइदैन ’, ‘करार कर्मचारी व्यवस्थापन गर’ जस्ता नारासहित कोणसभामा परिणत भएको थियो ।

कोणसभामा वडाअध्यक्षहरूले कार्यवाहक मेयर खातुन र उनका श्रीमान् माेहमद सेराजका कारण नगरपालिकामा प्रशासनिक काम ठप्प भएको आरोप लगाए ।

वडा नं २ का अध्यक्ष अनिरुद्ध प्रसाद यादव (सञ्जय) ले सबै वडाको कार्यालयमा तालाबन्दी हुनुपरेको र सेवाग्राही मारमा परेको बताए । उनका अनुसार पहिले नै कालोपत्रे भइसकेको सडकमा फेरि बजेट देखाएर माटो पुर्याई ग्राभेल गरिएको देखाइ नक्कली बिल तयार गरी भुक्तानीको दबाब दिइएको थियो । प्रमुख प्रशासकीय अधिकृत भरत यादवले अस्वीकार गरेपछि उनीहरूलाई सरुवा गरी नयाँ सीएओ मदन थापालाई ल्याइएपछि विवाद थप चर्किएको दाबी गरियो ।

वडा नं १ का अध्यक्ष विजय यादव ले कार्यवाहक मेयरले कार्यपालिकाको बैठक कहिल्यै नबोलाउने, बारम्बार आग्रह गर्दा पनि निर्णय प्रक्रियालाई पन्छाउने गरेको आरोप लगाए । निर्णयबिनै विभिन्न योजना अघि बढाइएको दाबीसमेत गरिएको छ ।

त्यस्तै, वडा नं ६ का अध्यक्ष रामएकवाल यादव ले कार्यवाहक मेयर कार्यालयमा उपस्थित नहुने र सेवाग्राहीलाई कार्यालयकाे साटो आफ्नै निवासमा बोलाउने गरेको बताएका छन् ।

वडा नं १० का अध्यक्ष मञ्जय कुमार चौधरी ले नगरपालिकामा कार्यरत ८७ करार कर्मचारीको तलब कार्यपालिका निर्णयअनुसार दिनुपर्ने भए पनि सेराजको दबाबमा तलब रोकेर कर्मचारीलाई आन्दोलनतर्फ धकेलिएको बताए । तलब रोकिँदा कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेपछि सेवाप्रवाह पूर्ण रूपमा प्रभावित भएको उल्लेख गरियो ।

वडा नं ११ का अध्यक्ष ज्ञानेन्द्र चौधरी ले विद्युत्‌ खर्च भुक्तानी गर्न नगर परिषद्ले निर्णय गरिसक्दा पनि सेराजको हस्तक्षेपका कारण प्रक्रिया अवरुद्ध भएको बताए।

विरोध प्रदर्शनमा सयौँ स्थानीयहरूको उपस्थिति रहेको प्रत्यक्षदर्शीले बताएका छन् । वडाअध्यक्षहरूले नगरपालिकामा “करोडौँको अनियमितता भएको” दाबी गर्दै कार्यवाहक मेयर अम्बेया खातुनको राजीनामा माग गरेका छन् ।

हनुमत कुमार यादव,राैतहट,मंसिर ०७ गते । 

जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहट जिल्ला समितिको आयोजनामा दुर्गाभगवती गाउँपालिका–४ पचरुखी पोखरीको तटमा सम्पन्न पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रममा झण्डै दुई सयभन्दा बढी नेता–कार्यकर्ताले विभिन्न दल परित्याग गरी सामूहिक रूपमा जसपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवले विशेष सम्बोधन गर्दै नवप्रवेशीहरूलाई स्वागत गरे । साथै उनले समावेशीता, समानता, मधेसको पहिचान र स्थानीय विकासका एजेन्डालाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नवप्रवेशीहरूको आगमनले पार्टीलाई झनै सबल बनाएको बताए ।

त्यसैगरी, जिल्ला अध्यक्ष राजिव रंजन उर्फ राजु यादवले पनि कार्यक्रमलाई सम्बोधन गर्दै ‘जेन–जेड’ पुस्ताको हक–अधिकार, राजनीतिक सहभागिता, रोजगारीका अवसर र स्थानीय नेतृत्व विकासमा जसपा नेपाल प्रतिबद्ध रहेको जनाएका थिए । उनले युवा पुस्ताको सहभागिता बिनाको राजनीति सम्भव नहुने बताउँदै नवप्रवेशी युवालाई पार्टीमा सक्रिय भूमिका खेल्न आग्रह समेत गरे ।

कार्यक्रममा जनमत पार्टी परित्याग गर्दै बौधिमाई नगरपालिका–६ का वडा अध्यक्षका पूर्व–प्रत्याशी विजय यादव तथा आम जनता पार्टी छाडेर बौधिमाई नगरपालिका–४ का नेता स्माइल मियाले औपचारिक रूपमा जसपाको सदस्यता ग्रहण गरे ।

यस्तै, दुर्गाभगवती गाउँपालिका–१ निवासी तथा हालै सशस्त्र प्रहरी बलको रोजगारीबाट राजीनामा दिएका चन्दन ठाकुरले पनि आजै पार्टी प्रवेश गरेका छन् ।

जिल्ला समितिका अनुसार, विभिन्न दलका करिब दुई सय नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा जसपा प्रवेश गरेका छन् । नेताहरूले नवप्रवेशी कार्यकर्ताहरूसँगै पार्टीलाई स्थानीयदेखि राष्ट्रिय स्तरसम्म मजबुत बनाउने लक्ष्य व्यक्त गरे ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०७ गते । 

रौतहट — नेपाल विश्वकर्मा लोहार संघ रौतहटले २०८२ असोज १ गते सम्पन्न भएको विश्वकर्मा पूजाको आय–व्यय औपचारिक रूपमा सार्वजनिक गरेको छ। आईतबार बसेको समितिको बैठकले आर्थिक विवरण प्रस्तुत गर्दै संघले पारदर्शिता नै संस्थाको विश्वासको मुख्य आधार भएको बताएकाे छ।

लोहार समुदायका कुलदेवता बाबा विश्वकर्मा जीको वार्षिक पूजा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको थियो। रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित बाबा विश्वकर्मा जीको मन्दिरमा आयोजित पूजामा स्थानीय लोहार समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। पूजाका विभिन्न तयारी, व्यवस्थापन तथा कार्यक्रमहरू समुदायकै सक्रियतामा सम्पन्न भएका थिए।

पूजाको लागि लोहार स्वजातीयहरूले चन्दा संकलन गरेका थिए। संकलित रकम तथा खर्चको विवरण सार्वजनिक गरिएको छ। संघका अनुसार:

कुल संकलित चन्दा (आय): रु. २,४५,४५६,कुल खर्च: रु. २,१८,७१५,जम्मा बचत: रु. २६,७१५

संघले आर्थिक विवरण सार्वजनिक गर्नु संस्थाको पारदर्शिता र विश्वसनीयता मजबुत बनाउन महत्वपूर्ण भएको सघका अध्यक्ष विवेक शर्माले बताएको छ। पूजासँगै मन्दिरको पेन्ट, गेट पेन्ट, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, भजन–कीर्तन तथा स्वजातीय सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको थियो।

यस वर्षको पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण स्वजातीय, सहयोगी हातहरू र सहभागीहरूलाई संघले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

गुडु यादव,राैतहट,मंसिर ०७ गते । 

रौतहटको गरुडा नगरपालिका–१ जयनगरका निवासी तथा इलाका प्रशासन कार्यालय गरुडामा कार्यरत कर्मचारी अवधेश यादवले गरूडामा अवस्थित वंशीराम जयसवाल अनाथालयका बालबालिकालाई राहत सामग्री वितरण गरेका छन् ।

एक विशेष समारोहबीच गरिएको कार्यक्रममा यादवले लत्ता–कपडा, खाद्य सामग्रीसहितका राहत वस्तुहरू अनाथालयलाई हस्तान्तरण गरेका हुन् । उनले भगवान् पशुपतिनाथको कृपाले आफूलाई सबै आवश्यक वस्तु प्राप्त भइरहेको बताउँदै समाजका अभावग्रस्त बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

यादवले अनाथालयमा बसोबास गर्दै आएका बालबालिकाको सहयोगका लागि आगामी दिनमा पनि निरन्तर रूपमा राहत सामग्री उपलब्ध गराइरहने प्रतिबद्धता जनाएका छन् ।

अनाथालय व्यवस्थापनले आवश्यकताका बेला उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बालबालिकाको दैनिकी सहज बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने धारणा राखेको छ ।

बज्जिकाञ्चल संवाददाता,रौतहट, मंसिर ०७ गते । 

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरूले गर्दै आएको तालाबन्दी १२ औँ दिनसम्म पनि जारी छ । करार अवधि समयमै नथपिएको विरोधमा कर्मचारीहरूले आन्दोलन थालेका हुन् । लिखित सहमति नभएसम्म तालाबन्दी नखुल्ने कर्मचारी सुबोध यादवले बताएका छन् ।

शुक्रबार कार्यवाहक नगरप्रमुख अम्बेया खातुन तालाबन्दी खोल्नका लागि नगरपालिकामा पुगे पनि कर्मचारी राजी नभएपछि वार्ता निष्कर्षविहीन बनेको थियो । खातुनले काममा फर्किन आग्रह गरे पनि कर्मचारीहरूले लिखित प्रतिवद्धता बिना तालाबन्दी नखोल्ने अडान दोहोर्‍याएका छन् । आइतबार पनि पत्रकार सम्मेलनमार्फत उनले कर्मचारीलाई काममा फर्किन अपिल गरेकी थिइन् ।

हाल नगरपालिका कार्यालय प्रमुख नहुँदा प्रक्रिया अघि बढ्न समस्या परेको कार्यवाहक नगरप्रमुख खातुनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्र लिखित सहमति दिन सकिने उनले स्पष्ट पारिन् । “म कसैलाई कामबाट हटाइदिन्छु भनेको होइन,” उनले भनिन्।

कर्मचारीहरूको भनाइअनुसार सेवा अवधि विस्तारमा ढिलाइ भएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् । कार्यालय प्रमुख आएपछि मात्र थप छलफल हुने उनीहरूले बताएका छन् । त्यसअघिसम्म तालाबन्दी यथावत रहने जनाएका छन् ।

तालाबन्दीका कारण वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म सबै सेवा अवरुद्ध बनेका छन् । दैनिक आवश्यक कामका लागि कार्यालय धाउनुपर्ने स्थानीयवासीले दुवै पक्षलाई छिटो समाधान खोज्न आग्रह गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०७ गते । 

रौतहटकाे फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आईतबार पत्रकार सम्मेलन गर्दै पालिकाभित्र देखिएका अनियमितता, चुनौती र कर्मचारी व्यवस्थापनका विषयमा विस्तृत जानकारी सार्वजनिक गरेकी छन् ।

उनका अनुसार हालसम्म पालिकाले कुनै पनि करार कर्मचारीलाई हटाएको छैन् । नयाँ आर्थिक वर्ष २०८२/०८३ को दशैं खर्चसहित एक चौमासिक तलबसमेत भुक्तानी भइसकेको उल्लेख गर्दै उनले नयाँ कार्यालय प्रमुख आएपछि दरबन्दी मिलान प्रक्रिया अघि बढ्ने र आवश्यक कर्मचारीलाई मात्र पालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने तयारी रहेको बताइन् । सो प्रक्रिया सुरु नहुँदै केही कर्मचारीहरूले अटेरी गर्दै धर्ना थालेको उनको आरोप छ ।

विद्युत् महसुल भुक्तानीसम्बन्धी विवादबारे उनले नगरपालिकाले यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिसकेको तर मन्त्रालयको नयाँ निर्देशनले वितरणमुखी कार्यक्रम सञ्चालनमा प्रतिबन्ध लगाएपछि समस्या उत्पन्न भएको स्पष्टीकरण दिइन् । “वडाअध्यक्षदेखि कार्यपालिका सदस्य सबैको एउटै धारणा बनेमा नगरबासीको सम्पूर्ण बक्यौता भुक्तानी गर्न म तयार छु,” उनले भनिन्।

पत्रकार सम्मेलनमा कार्यबाहक नगर प्रमुखका श्रीमान् मोहम्मद सेराजले समेत पालिकाभित्रका अनियमितता सार्वजनिक गरे । उनका अनुसार करार कर्मचारीको अनियन्त्रित नियुक्ति, निःशुल्क उपलब्ध सेफ्टी ट्यांक सफाइ मेसिन हुँदाहुँदै पनि कर्मचारीहरूले पैसा उठाउने प्रचलन, किसानका लागि प्रदेश सरकारबाट पठाइएका मोटर र ट्युबवेल जडानका सामग्री निजी घरमा थन्क्याइनेजस्ता घटनाले पालिका अस्तव्यस्त बनेको छ । उनले प्रमुख प्रशासकीय अधिकृत भरत यादवको लापरवाहीले प्रणाली नै कमजोर भएको आरोप लगाए ।

सेराजले “स्वस्थ नगरबासी–सुन्दर नगर” अभियानअन्तर्गत असहाय परिवारलाई व्यक्तिगत रूपमा सेफटि ट्यांकीकाे रिङ, सीट र पाइप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यता, धर्नामा बसेका करार कर्मचारीहरूले कार्यबाहक नगर प्रमुखले लिखित रूपमा म्याद थपको आश्वासन नदिएसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

नगरबासीका अनुसार पत्रकार सम्मेलनले पालिकाभित्र देखिएका समस्या, अनियमितता र सम्भावित समाधानका उपायहरू थप स्पष्ट रूपमा सतहमा ल्याएको छ । यस विषयमा आज वडा अध्यक्ष पक्षहरू आफ्नो धारणा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न बताएका छन् ।

 

सर्लाही, ६ मंसिर २०८२।
बज्जिका भाषाका प्रखर साहित्यकार विजय यादव ‘निर्विज’लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान–२०८२बाट सम्मान गरिएको छ। सर्लाही मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सम्नव्य समिति सर्लाहीका सभापती कौशल किशोर सिंह र बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा
ले सम्मान–पत्र प्रदान गरे।
नेपालमै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक ‘निर्विज’ अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन्। २०७९ सालको मधानी महोत्सवमा नेपालका सम्माननीय पुर्व उपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन गरेको थियो !उनी फतुवा–विजयपुर नगरपालिकाको मेयर पदका निकटतम प्रतिस्पर्धी रहिसकेका तथा हाल आम जनता पार्टी लुम्बिनी प्रदेश अध्यक्षका रूपमा सक्रिय छन्।

कार्यक्रममा नेपाल–भारतका साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मान गरिएको थियो। रौतहटका साहित्यकार संजय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सचिव मुकेश मिश्रले जानकारी दिए। समारोहमा साहित्यकार, पत्रकार र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक ०६ गते । 

गरुडा – नेकपा (नेपाल) का नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले केपी शर्मा ओलीको हुकुमी शासनका कारण देश आर्थिक, सामाजिक र राजनीतिक रूपमा संकटमा परेको आरोप लगाएका छन्।

गृह जिल्ला रौतहटको मध्यभागमा रहेको गोपाल धर्मशालामा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका उनले पार्टी कार्यकर्तालाई ‘उठ त उठ, बस त बस’ भन्ने शैलीमा शासन सञ्चालन भएको बताए।

नेता नेपालले ओलीको तानाशाही प्रवृत्तिका कारण देशमा जेनजी आन्दोलन जन्मेको र सो आन्दोलनले उठाएका भ्रष्टाचार, सुशासन, विकास जस्ता मुद्दा आफ्नै पार्टीको मागसँग मिल्दोजुल्दो भए पनि समयमै उठाउन नसकेको स्वीकार गरे। उनले जेनजी आन्दोलनका सहभागीप्रति धन्यवाद पनि व्यक्त गरे।

साथै, जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गराउन आफ्नो व्यक्तिगत र पार्टीगत सक्रिय भूमिका रहेको पनि उनले खुलाएका छन्। तत्कालीन माओवादीसँग भएको वार्तामा प्रचण्डलाई सहयोग गरेको जानकारी पनि कार्यक्रममा साझा गरियो।

कार्यक्रममा समीर भटराई, रामकुमार भट्टराई, कल्याणी खडका, देवेन्द्र पटेल, विन्देश्वर यादव, प्रदेश सांसद कनिस पटेल, गौरका मेयर शम्भु साह, महिला नेतृ देवकी नेपाल, विनिता बख्रेल, वहिद अन्सारी, जितेन्द्रलाल श्रीवास्तव लगायतले मन्तव्य राखेका थिए।

काठमाडौँ,मंसिर ६ — संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा आज बसेको बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ तथा प्रतिनिधि सभा निर्वाचन, २०८२ मा सहभागी हुने निर्णय गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष तथा संघीय लोकतान्त्रिक मोर्चाका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई भयमुक्त, स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नेपाल सरकारसँग माग गरेको छ ।

मोर्चाका घटक दलहरू मिलेर संयुक्त रूपमा निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले पारित भएको बैठकले जनाएको छ ।

अध्यक्ष ठाकुरले निष्पक्ष निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताउँदै सरकार र सम्बन्धित निकायहरूलाई आवश्यक तयारी र सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन् ।

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।