राैतहट,जेठ २२ गते
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेसँगै रौतहटका रामजी राम डाक्टर बनेका छन्। उनले आफूले लाइसेन्स परीक्षामा पास भएको जानकारी शुक्रबार सामाजिक सञ्जालमार्फत् दिएका हुन्। परीक्षा पास गरेसँगै उनले आफूलाई सघाउनेहरूलाई धन्यवाद दिएका छन्।
‘परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्ययन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरू, दृश्य अदृश्य रूपमा मलाई सिकाउनुहुने हाम्रा सम्पूर्ण गुरूहरू, बिरामीहरू, सम्पूर्णलाई यो सर्टिफिकेट चढाउँछु,’ उनले लेखेका छन्।
यस्तै आफूले चिकित्सा शास्त्रको अभ्यास आधिकारिक रूपमा गर्न पाउने अनुमति पाएसँगै बिरामीका दु:खहरूले लिने परीक्षामा पनि पास हुन पाऊँ भनेका छन्। रौतहटका रामजी रामले डाक्टर बन्न थुप्रै संघर्ष गरे। पैसाको अभावले उनले परीक्षा दिने अन्तिम समयसम्म पनि संघर्ष गर्नुपरेको थियो।
उनले वीरगन्जस्थित नेसनल मेडिकल कलेजबाट एमबिबिएस पास गरेका हुन्। उनी चमार समुदायबाट डाक्टर हुने जिल्लाकै पहिलो व्यक्ति हुन्। एमबिबिएसको परीक्षा दिन गएका बेला कलेजले उनलाई शुल्क नतिरेको भन्दै पटकपटक परीक्षा हलबाट निकालेको थियो। कलेजले उनीहरूलाई परीक्षा दिनबाट रोक लगाएपछि त्यसको सर्वत्र आलोचना भएको थियो। २०७२ सालमा सरकारले वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर पढाउने भनेपछि उनी पनि सोही कार्यक्रम अन्तर्गत नेसनल कलेजमा भर्ना भएका थिए।
रौतहट,जेठ २२ गते
रौतहट ,फतुवा बिजयपुर नगरपालिकामा सडक कालेपत्रको लागि ठेक्का प्रक्रिया सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २ अन्तर्गत मर्यादपुर देखि शितलपुर हुँदै अरुवा खोला सम्मको सडक कालोपत्र कार्य गर्नका लागि बोलपत्र खोल्ने कार्य सम्पन्न भएको छ ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको अध्यक्षतामा आज बसेको बैठकले ठेक्का प्रक्रिया सम्पन्न भएको छ । सो सडक खण्ड कालेपत्र गर्नका लागि तीन वटा निर्माण सेवा कम्पनीले बोलपत्र दर्ता गराएका थिए । बोलपत्र दर्ता गराउने निर्माण सेवा कम्पनीहरुमा प्रिन्स कन्सट्रक्सनले १ करोड ३४ लाख २० हजार ७ सय ,आराध्या निर्माण सेवाले १ करोड ३४ लाख ४० शजार ६ सय र यूनाइटेड कन्सट्रक्सन झुनखुनवाले १ करोड ३८ लाख ५५ हजार ३ सयमा सो कालेपत्र गर्नका लागि बोलपत्रमा रकम उल्लेख गरेका थिए ।

जसमध्ये प्रिन्स कन्सट्रक्सनले कम रकम उल्लेख गरेकाले सो सडक खण्ड कालेपत्र गर्ने जिम्मा उसैले पाएको हो । यसै आ.व.२०७९।८० को असाढ मसान्त सम्म निर्माण कार्य सम्म गर्ने गरी ठेक्का सकार गरिएको नि.प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले जानकारी गराउनु भयो ।

उनले दिएको जानकारी अनुसार सो सडक खण्डमा करिब १४ सय मिटर असफालट कन्क्रीट चौडाइ ५.५ मिटर हुने भएको बताए । सो अवसरमा सशस्त्र बेश क्याम्प बिजयपुरका इन्चार्ज राजेश आचार्य,इप्रका बिजयपुरका प्रहरी सहायक निरिक्षक जोगिन्द्र चौधरी,इन्जिनियर धर्मेन्द्र यादव,लेखापाल नविन यादव,प्रशासन शाखा प्रमुख उपेन्द्र सुाह,

प्रदेश सांसद प्रत्यासी मो.शेराज,वडा नमबर १ का वडा अध्यक्ष बिजय यादव,वडा नम्बर ९ का वडा अध्यक्ष राकेश कुमार यादव,वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरी,स्वास्थय शाखा प्रमुख प्रमाेद गुप्ता ,जिन्सी शाखा प्रमुख हिरालाल महतो नपा कर्मचारी पत्रकार सहितको व्यक्तीहरुको रोहबरमा ठेक्का प्रक्रिया सम्पन्न भएको छ ।

रन्धिर साह, रौतहट, जेठ २२ गते ।
रौतहटको किसानहरु चर्को घामका कारण अहिले चिन्तित भएका छन् । केहिँ दिनदेखि देखा पर्दै आएको अधिक तापक्रमका कारण किसानी पेशामा आवद्व रहेका किसानहरु समस्यामा परेका छन् । चर्को घामले चौतर्फी रुपमा प्रभाव पारेको छ । सो कारणले जनजीवन कष्टकर बन्दै गएको हो ।
पानी नपर्ने तर चर्को घाम गर्मी त्यसमा दिउँसो हावा पनि ताँतो चलेपछि जनजीवन कष्टकर बन्दै गएको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ निवासी गुलाम महतोले बताएका छन् । उनी सानैदेखि किसानी पेशामै आवद्व भएर आफ्नो जिवीकाेपार्ज गर्दै आएका छन् ।
उनी भन्छन् हाम्रो देशमा तीन तहका सरकार रहेकाे छ । तर, किसानका लागि गर्ने सरकार नै छैन् । सबैले आफ्नो आफ्नो पेट भर्ने काम गर्दै आएको आरोप लगाएका छन् । हाम्रो लागि हाम्रो सरकार भनेको स्थानीय तहका सरकार हो । तर, खै किसानको समस्या बुझेको ।
प्रत्येक वर्षको बजेट भाषणमा किसानका लागि बजेट छुट्याईएको हुन्छ । तर, छुट्याइएको बजेट खोइ ? किसानकाे समस्या ज्यूकाे त्यू रहेकाे छ । देवाही गोनाही नगरपालिकाले आफ्नो नगरसभा छैठौ बजेट अधिवेशन गत वर्ष २०७९।०८० को बजेटमा भनिएको थियो कि नगरपालिका भित्र गरिने कृषि पेशालाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गरी व्यवसायीकरण गरी बजेट विनियोजन गरिेने, आधुनीक र व्यवसायीक फर्म संचालन गर्न कृषकलाई प्रोत्साहन गर्ने निति निर्माण गरिने, सिँचाई व्यवस्थापनका साथ भौतिक पुर्वाधार निर्माण गर्ने जस्ता तपाईको योजनाहरु खोइत ? मेयर साब वहाँले प्रश्न गर्नु भयाे ।
यस्तै सोहि वडाका अनुपा महतो भन्छन् सरकारले भनेको जस्तो काम गरेको भए हामी सबै कुरामा परिपक्व हुन्थ्याैं । आज भोली सिचाईको अभावले हामीलाई तरकारी तथा फलफुल बाली विरुवाहरू सुक्न थालेको छ। जलजन्तु र स्थलजन्तु तथा पशु चौपायाहरु बढी प्रभावित भईरहेकाे देखिएको छ ।
पानी नपर्दा धानको बीउ खसाल्न नसक्दा किसानहरु चिन्तित देखिएका छन् । यस्तै अवस्था रहिरहे र तिनै तहको सरकारले ध्यान दिएन भने सर्वसाधारणलाई आर्थिक संकटकाे भयावह अवस्थाको सामना गर्नु पर्ने स्थिति आउन सक्ने उनले बताए ।
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको तराईका केही भू-भागहरुमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ।
सोमबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि मंगलबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
जेठ २२ गते
तराईका केही भू–भागहरूमा तातो हावा (Heat Wave) चलिरहेकोले देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिएकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
तसर्थ अत्याधिक गर्मी तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन माैसमविद्ले आग्रह गरेका छन् ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशकाे तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएकाे छ ।
तातो हावा तथा लूबाट हुने सम्भावित असर
थकाइ लाग्ने
कमजोरी हुने
बढी तिर्खा लाग्ने
टाउको दुःख्ने
खुट्टा बाउँडिने
चक्कर आउने
बेहोस हुने
मांसपेशी दुख्ने
बान्ता हुने
के गर्ने ?
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने
बाहिरी वातावरणमा बढी नजाने
घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने
बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने
नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने
स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिने
संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्य रूपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।
रौतहट ,आजको पात्रो । २२ जेठ २०८०, सोमबार ।
जुन महिनाको ०५ तारिक सन् २०२३ । असार कृष्ण प्रतिपदा पूर्णिमा तिथि, आज विश्व वातावरण दिवस ।
आज बिहान सूर्योदय ५ः०९ मा हुनेछ भने सूर्यास्त ६ : ५७ मा हुनेछ ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला लाग्न पनि सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाइनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज कलहको योग रहेको छ । खर्च हुने, विवाद पनि बढ्नेछ तर, दिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा र नयाँ कार्यको थालनी पनि होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
सभार : हाम्रो पात्रो
आरके श्रीवास्तव,राैतहट,जेठ २१ गते
राैतहटको कटहरिया नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गर्ने भएको छ । प्रत्येक वडामा धान बिउ खरिद गरी कृषकलाई बीउ वितरण गर्न लागेको हाे । सरकारी फार्म बाट खरिद गरि शत प्रतिशत अुनदानमा बीउ वितरण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भयाे ।

प्रत्येक वडामा २१ क्विन्टलका दरले धान बीउ वितरण गर्न लागिएको उनले बताए । कटहरिया नगरपालिकाकाे प्रत्येक वडामा विभिन्न जातका धान बिउ हर्दिनाथ ६, चैते ५, हर्दि नाथ हाई ब्रिड, सोना मंसुली १, मकवानपुर ,सावित्री नामकको धान वितरण गरिने अधिकृत साहले जानकारी गराए ।

यता कटहरियाका मेयर अजय प्रकाश जयसवालले आजै देखि प्रत्येक वडामा घानको बीउ पठाउने काम भएकाे बताएका छन् । बीउ अनुदानमा दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लाग्ने नगरप्रमुख जयसवालकाे भनाइ छ ।

कटहरिया नगरपालिकाका कृषकले माग गरेअनुरुप धानको बीउ परवानीपुर लगायतका ठाउँबाट बाट खरिद गरी वितरण गर्न लागेको हाे ।

राैतहट,गते २१ जेठ
रौतहट जिल्लाको रामपुरखाप,नरकटिया र जयनगर मठिया औरैया नाका हुँदै व्यापक रूपमा तस्करी भइरहेको छ।
जिल्लाको दक्षिण भेगमा पर्ने भारतसँग जोडिएकाे बन्जरहा नाका भारतको चयनपुर, घोडासहन,छौडादानाे, बौरगनिया,नेपालको बेलबिछवा गौर,महादेवपट्टी हुँदै राजेश्व छलि लत्ताकपडा,स्पेयरपार्ट,हार्डवेयर विभिन्न खाले किराना सामग्री र तयारी कुखुरा तथा कुखुराको चल्ला नामचीन तस्करहरुले प्रहरी प्रशासनलाई मोटो रकम दिई बिना रोकटोक तस्करी गर्ने गरेको बुझिएको छ ।
जिल्लाको विभिन्न बजार मौलापुर,विजयपुर, कटहरिया,शिवनगर, गरुडा,चपुर बजार सम्म पुर्याउने गर्ने गरेको जिल्ला भन्सार कार्यालय गौरका एक जना कर्मचारीको भनाइ छ। जसकारण लक्ष्यानुसारको राजस्वमा कमि भएको भन्सार कर्मचारीले बताएकाे आदर्श वाणीमा खबर उपलब्ध छ ।
सर्लाही।
सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल)मा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण भएको छ। उक्त तालमा मधेश प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण गरिएको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले जानकारी दिए।
उनका अनुसार ताल किनारमा निर्माण भएको ‘स्काई साइक्लिङ’को परीक्षण सम्पन्न गरेर सञ्चालनका लागि तयारी गरिएको छ। तारको लठ्ठामा झुन्डिएको साइकल चलाएर मनोरञ्जन लिने यो खेल पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएकाले तालमा पनि निर्माण गरिएको बागमती इन्टरनेश्नल प्रालिका अध्यक्ष गौतम खड्काले जानकारी दिए।
‘स्काइ साइक्लिङ’ले तालमा थप पर्यटक आकर्षित हुने अपेक्षा गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताए। उनका अनुसार जमिनको सतहदेखि ३७ फिट उचाइमा रहेको यो ‘स्काइ साइक्लिङ’ दुई सय १३ फिट लामोे छ।
भरत ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको र पर्यटकलाई थप आकर्षित गर्न ‘स्काइ साइक्लिङ’ निर्माण गरिएको बागमती नगरपालिका– १२ का वडा अध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए।
तालमा पर्यटकको मनोरञ्जनका लागि तीन दर्जन मोटरबोट र एउटा मिनिक्रुज बोट सञ्चालन भइरहेको छ। यसैगरी ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण भइरहेको नगरपालिकाले जनाएको छ। रु ८५ लाखको लागतमा निर्माण भएको ‘स्काइ साइक्लिङ’मा दुईवटा रोपलाइन विस्तार गरिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोख्रेलले बताए।
उनका अनुसार ‘स्काइ साइक्लिङ’मा एकपटकमा तीन जनासम्मले साइकल चलाउन सक्ने छन्। नगरको गौरबको आयोजनाको रुपमा निर्माण सुरु गरिएको भरत ताल निर्माणकै चरणमा पनि आन्तरिक आयस्रोतको आधारस्तम्भ बनेको नगरपालिकाले जनाएको छ। – रासस