२०८३ श्रावण २
२०८३ श्रावण २

हनुमत यादव,गौर, ०८ असोज । रौतहट जिल्लाको सदरमुकाम गौरमा अव्यवस्थित फोहरले वातावरण दुर्गन्धित बन्दै गएको छ । गौरमा प्रवेश गर्ने मुख्य सड़क छेउमा नगरपालिकाले अव्यवस्थित रुपमा फोहरमैला थुपार्ने गरेका कारण वातावरण दुर्गन्धित भएको छ । गौर समनपुर सड़क खण्ड अन्तर्गत गौर नगरपालिका वड़ा नम्बर ५ स्थित हनुमान मंदिर देखि पूर्वमा सड़क किनारमा फोहर थुपार्ने काम भइरहेको हुँदा वातावरण खराब भई स्वास्थमा असर पर्ने अवस्था बनेको र आवतजावत गर्नेलाई नाक थुन्नु पर्ने अवस्था उत्पन्न भएको छ ।

गौरदेखि सिरसिया, गंगा पिपरा, समनपुर जाने मुख्य सड़क रहेकोले सड़क किनारमा नगरपालिकाले अव्यवस्थित रुपमा भण्डारण गर्ने गरेको फोहर मैलाको दुर्गन्धले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने जोखिम बढेको छ । पुलदेखि करिब ५० मीटरसम्म नगर भित्रबाट दैनिक रुपमा निस्कने फोहर अव्यवस्थित तरिकाले फालिने कार्य गरिएको छ । बाटोको छेउमा सड़ने तथा नसड़ने फोहर अव्यवस्थित रुपमा फालिएकोले बिहान र बेलुका बढी दुर्गन्ध दिने गरेको स्थानीयहरुले बताएका छन ।

फोहर फालिएको ठाउँमा नाक थुनेर हिड्नु पर्ने बाध्यता सृजना भएको बाटो हिड्ने बटुवाहरुको भनाइ रहेको छ । कुहिने र नकुहिने फोहर
फरकफरक ठाउँमा व्यवस्थापन गर्नु पर्ने अवधारणा ल्याउन नसकेका गौर नगरपालिकाले अव्यवस्थित रुपमा फोहर फाल्ने गरेकोले त्यसको असर स्वास्थ्यमा पर्ने चिकित्सकहरुको कथन रहेको छ । सडको वस्तुको दुर्गन्धले स्वास्थ्यमा असर गर्नुको साथै विभिन्न किसिमको रोगको
संक्रमण हुने खतरा बढेको छ ।

स्वच्छ साफा नगर बनाउने गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको यस्तो कार्यले दुर्गन्धित नगरको रुपमा पहिचान हुने अवस्था आउन सकिन्छ । सडक किनार सफा हुनुपर्नेमा अनावश्यक रुपमा फोहर थुपार्नुले नगर कुरुप हुने भएकोले फोहरको उचित व्यवस्थापन गर्ने तरफ नगर प्रमुखले ध्यान दिनु पर्ने आवश्यकता रहेको जनमानसको भनाई रहेको छ ।

जनकपुरधाम, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले   जानकी मन्दिरको दर्शन एवं पूजाआजा गरेका छन् ।

सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा उनले अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे ।

मन्दिरमा राष्ट्रपति पौडेललाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरे ।

सोमबार दिउँसो राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

इन्दीप कोइराला,बारा, ८ असाेज ।

दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जादै गरेको १० ट्याक्टरलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जीतपुर तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

प्रहरीले साँझ ८ वटा र दिउँसो दुई वटा गरी १० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४० लाई साँझ साढे ५ बजे पक्राउ गरेको हो ।

 

त्यसैगरि जीतपुरसिमरा ४ स्थित दुधौरा खोलामा ना.७.प.४५३६, प्र.०३–००१.त.३९२१ न.गरी जम्मा १० वटा ट्रयाक्टरलाई दिउँसो नियन्त्रणमा लिएको हो । बालुवा लोड भएका ट्रयाक्टरलाई रोकी चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले आवश्यक कारवाहीको लागि बालुवा सहित ट्रयाक्टर नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको प्रवक्ता न्यौपानेले प्रेस नोट मार्फत जानकारी गराएका छन् ।

काठमाडौं, ८ असोज । धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा बाराको दशगजा क्षेत्रमा एक नेपालीको शव फेला परेको छ।

 

पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेश कुमार सिंहको शव हत्या गरिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ।

 

अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

 

सिंहले सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी जवानमा पाँच वर्ष जागिर गरी छोडेका थिए सशस्त्रको जागिर छोडे पछि उनले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल समेत सञ्चालन गरेका थिए।

 

सिंह रक्सी पसललाई छोडेर अहिले गाउँमै खेतीपाती गर्दै आएका थिए। सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

सर्लाही, ८ असोज । सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

विष्णु गाउँपालिका–६ स्थित भित्री सडकमा बीआर ३०एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनिता देवीको मृत्यु भएको हो।

पैदल हिँडिरहेकी सुनिता मोटरसाइकलको ठक्करबाट सिकिस्त घाइते भएकी थिइन्। घाइते सुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने मोटरसाइकलसहित चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डल प्रहरी नियन्त्रणमा रहेका छन्।

विशाल बस्नेत/ महोत्तरी, ९ असाेज । 

मधेशको चुरे काक्षमा पानी पुनर्भरण गर्ने उदेश्यले बनेका ताल र पोखरीहरु पछिल्लो समय पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएका छन ।

 

सर्लाहीको बागमती नगरपालिकामा बनेको बहुचर्चित भरत तालको निर्माणले पर्यटकिय हिसावले मात्र आकर्षण बनेको छैन, किसानहरुको लागि समेत उपयोगी सावित बन्दै गएको छ । चुरे अतिक्रमणका कारण पानीका मुहानहरु सुकिरहेको जनगुनासो बढीरहेको वेला स्थानिय सरकारले समेत रिचार्ज पोखरी र ताल निर्माणमा ध्यान दिन थालेका छन ।

 

यसै सन्दर्भमा महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिबासमा बन्न लागेको मधेश कै सवैभन्दा ठूलो तालले स्थानिय सरकारहरु चुरे संरक्षणमा संवेदनशील वन्दै छन भन्ने बिषयलाई प्रमाणित समेत गरेको छ । बर्दिवास-३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भैइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानिय सरकारले विशाल पर्यटकिय तालको गुरुयोजना अगाडि बढाएको हाे । जसका लागि प्रारम्भिक चरणमा काम गर्न नगरले २० लाख बजेट समेत बिनियोजित गरिसकेको

 

रातु नदीको छेउमा नै रहेको उक्त ठाउँ झण्डै ३ किलोमीटर वरपरसम्म फैलिएको छ । रातु नदीकाे नदी उकास जग्गालाई उपयोग गर्दै मधेश कै सवैभन्दा ठुलो ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । बर्षौदेखी हकभोग गर्दै आएका जग्गालाई समेत मुआब्जा प्रदान गर्ने र पानीको समस्यालाई समेत ताल बनाएर होल्ड गर्दा पानीको अभाव समेत परिपुर्ति हुने भएकाले तालको परिकल्पना गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए । २०५० को दशकमा आएको बाढीले ताल निर्माण गर्ने भनिएको ठाउँमा बगर बनाएको थियो । स्थानियहरुले थप बाढीले असर नपुर्‍याओस भन्ने उदेश्यले केही साल, सिसौको बिरुवा रोपे तापनी त्यस्को उचित संरक्षण हुन सकेको थिएन । रातु नदिको दायाँबायाँ किनारामा राष्ट्रपती चुरे संरक्षणले बलियो तटबन्धन गरे पछी उक्त जग्गालाई स्थानियहरुले नै अतिक्रमण गर्दै आएका छन ।

 

चुरे जलाधार संरक्षणमा चुरे क्षेत्रमा तालतलैया र पोखरी बनाए पछिल्लो समय बढदै गएको पानीको समस्यालाई न्यूनीकरण गर्न सकिने बताउदै मधेश प्रदेश वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पनि नगरको पवित्र उदेश्यमाथी हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन । गत अाइतबार मात्रै स्थलगत अवलोकन गरेका मन्त्री कुर्मीले पारिस्थितिक प्रणालीलाई सन्तुलन बनाई राख्न र चुरे संरक्षण गर्न यस्ता खाल्का कामहरुको जरुरी भएको वताए ।

 

यता  महोत्तरी जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष यादवले पनि बनको अधिकार क्षेत्रमा आईपरेका कामहरुमा सहजीकरण गर्ने बताएका छन । मधेशमा नै सवैभन्दा ठुलो तालको निर्माणले पर्यटन क्षेत्रमा श्रीबृदी हुने सरोकारवालाहरुको बिस्वास छ । नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानियहरुको आयआर्जनमा मात्र हैन, नगरको समेत मुख्य आयस्रोत बन्न सक्ने अनुमान गरिएको छ ।

 

वडा अध्यक्ष बिराट बिष्टले विशाल मानवनिर्मित ताल बनाउने बिषयमा वडावासीहरुसगँ पारम्भिक छलफल अगाडी बढाईसकिएको जानकारी दिए  छ । न्युज कारखाना

 

 

 

 

बारा, ६ असोज ।

बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन्।

११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो। लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

सिरहा, ६ असोज।

सिरहाको विष्णुपुर बजारमा रहेको एक कपडा पसलमा आगलागी हुदाँ लाखौं मुल्य बरवरकोे धनमाल जलेर नष्ट भएको छ।

 

विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर काम नलाग्ने भएको हो।


आगलागीबाट पसलमा रहेका सवै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तत्थाङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिएका छन ।

 

उनका अनुसार क्षतिका विवरणहरु अझै संकलन हुन बाँकी रहेकोले तत्कालै क्षतिको एकीन गर्न नसकिने बताए। बिधुत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीको भनाई रहेको छ। नजिकै रहेको चिया पसलेले पसलबाट धुवा निस्किरहेको देखेपछि तत्काल प्रहरीलाई खवर गरेका थिए। प्रहरी आएर पसल खोल्ने प्रयास गरे पनि सम्भव नभएपछि पसलका साहुलाई बोलाइएको थियो।

पसलले आउँदा सम्ममा धेरै सामान जलिसकेको प्रहरीले बताएको छ। सिरहा र गोलबजार नगरपालिकाबाट गएका बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

आरके श्रीवास्तव,रौतहट,०४ गते असोज ।
रौतहट । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा आज नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक समपन्न भएको छ । नगरपालिकाको आयोजनामा संचालन भएको बैठकमा, नगर उपप्रमुख स्मिता कुमारी यादवको अध्यक्षतामा नगरस्तरीय परियोनजा सल्लाहकार समितिमा शिक्षा, स्वास्थ्य, साामाजिक, योजना, महिला तथा बालबालिका विकास शाखा, नगरपालिकाको वडा अध्यक्षहरु, कार्यपालिकाको सदस्यहरु र आमन्त्रित संस्था आसमान नेपालको पदाधिकारी र एसओडिसिसि संस्थाको पदाधिकारीहरु सहभागी भएका थिए ।


यू.के.ऐड.को आर्थिक सहयोग र पिपुल इन निड नेपालको प्राविधिक सहयोगमा एसओडिसिसि पर्साको समन्वयमा आसमान नेपालद्धारा संचालित रौतहट जिल्लाको गढीमाई नगरपालिकामा आरम्भ परियोजना अन्र्तगत नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा आसमान नेपालको आरम्भ परियोजनाको परियोजना संयोजक जगदिप बन्ठाले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए ।


साथै सो प्रगति प्रतिवेदनमाथी परियोजना सल्लाहकार समितिकोे बैठकले छलफल गरिएको थियो । साथै विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना भएको किशोरीलाई कसरी दिगो रुपमा निरन्तरता गर्ने, सामुदायिक सिकाई केन्द्र स्थापपना र संचालनका, साक्षर पालिका अभियान आदि विषय वस्तुमा रही यो परियोजना सल्लाहकार समितिको बैठकमा छलफल गरिएको थियो ।
विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना हुनकोे लागि मदत आसमना नेपालले ३१२ जना गढीमाई नगरपालिकाको किशोरीहरुलाई गरिएको थियो ।

त्यस्तै नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा एसओडिसिसिका अमरेन्द्र यादवले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

सर्लाही, ५ असोज । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाममा मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय, सर्लाहीका अनुसार सो कर्फ्यु बिहिबार राती १० बजे देखी अनिश्चित कालसम्म जारी रहने छ ।

 

गणेश मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर  मलङ्गवा नगरपालिका क्षेत्रमा झडपको स्थीति देखा परेको थियो । सो क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादबले जानकारी दिए ।

उनका अनुसार पुरानो मलङ्गवा नगरक्षेत्र, पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्प सीमा भित्र सो कर्फ्यु लागु हुनेछ ।

 

जिप्रकाका अनुसार साे  क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।