गोदार (धनुषा), १९ पुस :
जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो ।
जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गर्नुभयो । जानकी मन्दिरको अगुवाइमा विशेष यात्रासहित भार लिएर यहाँबाट यात्रा प्रारम्भ भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।
मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ । सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार एक सय भार त्यसतर्फ पठाइएको हो । भारमा विभिन्न प्रकारका आभूषण, भाँडा, कपडाका साथै मीठाइलगायतका भार बाँसबाट बनाइएका विशेष चङ्गेरमा सजाइएका छन् ।
राममन्दिरको प्राण प्रतिष्ठा (उद्घाटन) लाई नयाँ गृह प्रवेशका रूपमा लिई ‘घरबासक भार’ लिएर जनकपुरधामबाट करिब तीन सय जनाको टोली त्यहाँ प्रस्थान गरेको सहमहन्थ दासको भनाइ छ ।
जनकपुरधामबाट जलेश्वर नाथ, मलङ्गवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विभिन्न धार्मिकस्थलको दर्शन गर्दै अयोध्या पुग्ने र पुस २१ गते अयोध्यामा श्रीराम जन्मभूमि राममन्दिर ट्रष्टलाई भार हस्तान्तरण गरिने छ ।
यस कार्यले नेपाल–भारतबीच त्रेतायुगदेखि चलिआएको वैवाहिक सांस्कृतिक सम्बन्धको महत्व दर्शाउनुका साथै त्यसलाई थप बलियो बनाउन भूमिका खेल्ने विश्वास गरिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख एवं भारयात्रा मूल समारोह समितिका संरक्षक मनोजकुमार साहले बताउनुभयो ।
सहमहन्त दासले पनि यस कार्यले नेपाल भारतबीच सदियौँदेखि कायम सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपालमा पर्यटन प्रवर्द्धनका लागि विश्वभर सन्देश प्रवाह हुनेमा विश्वास व्यक्त गर्नुभयो । यसअघि निर्माणाधीन राममन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको थियो । विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको जल अयोध्या पठाइएको थियो ।
अयोध्यामा मन्दिर निर्माण सुरू भएपछि गत वर्ष नेपालको कालीगण्डकी नदी किनारबाट दुईवटा शिलासमेत अयोध्या पठाइएकाे थियाे । (रासस)
जनकपुरधाम, १८ पुस :
कानुनप्रदत्त जिम्मेवारी र पदीय दायित्व सबैले पूर्ण पालना गर्नसकेमा मात्रै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनेमा सरोकारवालाले जोड दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँले आज जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया’ मा सरोकारवालाले कानुनको अभावले नभई त्यसको पालना नगर्ने प्रवृत्ति बढेकाले समस्या भइरहेकोसमेत बताउनुभयो ।
कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक सेवाप्रवाहको दायित्व बोकेका जनप्रतिनिधि, कर्मचारी र सम्बद्ध सबै पक्षले कानुनको अक्षरशः पालना गरेमा धेरै समस्या समाधान हुने दाबी गर्नुभयो । उहाँले प्रशासनिक उल्झनबाट उम्किनका लागि नीतिगत निर्णय गर्ने र गराउने प्रवृत्ति बढिरहेको भन्दै त्यसलाई रोक्न विषयविज्ञ कर्मचारीको बढी भूमिका हुनेसमेत बताउनुभयो ।
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि कार्यकारी अधिकार प्रयोगकर्तालगायत जिम्मेवारीमा रहेकाले कानुनको पूर्णपालनामा ध्यान दिन सके धेरै समस्या समाधान हुनसक्छ । त्यसमा पनि निर्णय कार्यान्वयन गर्ने कर्मचारीले कानुन प्रतिकूल हुने विषयलाई तर्कसहित गर्नुहुन्न र गर्न सकिँदैन भन्न सकेमा भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहलाई चुस्त बनाउन सकिन्छ । त्यसका लागि म ध्यानाकर्षणसमेत गराउन चाहन्छु”, प्रमुख आयुक्त राईले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अख्तियारले चाल्ने हरेक कदममा प्रदेश सरकारको सहयोग हुने भन्दै अख्तियारले पनि उजुरी समयमै टुङ्ग्याएर जनप्रतिनिधिलाई काम गर्ने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी विगतका कमजोरीबाट पाठ सिक्दै आफू नेतृत्वको सरकार भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअनुसार अगाडि बढिरहेकाले योजना तथा कार्यक्रम कार्यान्वयनसँग जोडिएका सबै पक्षलाई सरकारको नीतिअनुसार जिम्मेवारीपूर्वक काम गर्न पनि मुख्यमन्त्री यादवले आग्रह गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीलगायत सबै पक्षको साझा प्रयासबाट अनियमिततालाई नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले सुशासनको प्रत्याभूतिका लागि सार्वजनिक सेवाप्रवाह गर्ने दायित्व बोकेका प्रदेश मातहतका सबै निकायले इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्नेसमेत बताउनुभयो ।
आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले कार्यालयले गरिरहेका कामकारबाही र आयोगका सहसचिव लक्ष्मीप्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी कानुनी व्यवस्थालगायत विषयवस्तुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।(रासस)
वीरगञ्ज (पर्सा), १८ पुस :
जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् ।
पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न गाउँका किसान जङ्गली जनावरबाट पीडित भएका छन् । वनजङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालुलगायतका जङ्गली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउनका लागि जाग्राम बस्न बाध्य भएको ठोरीका रञ्जित श्रेष्ठले बताउनुभयो । राष्ट्रिय वनमा घेरवार नहुँदा दिनहुँ जङ्गली जनावरले बालीनली नष्ट गर्ने गरेको उहाँको भनाइ छ ।
जङ्गली जनावरबाट बालीनाली जोगाउन मचान बनाएर राति निगरानी गर्दैआएको जिराभवानीका शङ्कर महतो बताउनुहुन्छ । रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटाका पड्काउने, टिन ठटाउने र होहल्ला गर्ने गरेको उहाँले बताउनुभयो । बर्सेनि जङ्गली जनावरले बालीनालीमा क्षति पुर्याउने गरेपनि आफूहरूको समस्या समाधानका लागि स्थानीय सरकार, डिभिजन वन कार्यालयले कुनै सुनुवाइ नगरेको किसानको गुनासो छ ।
डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दासले वनजङ्गल आसपास क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएकाले समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठूलो खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ । (रासस)
महोत्तरी, १८ पुस :
दिनगन्तीले पर्व आउन अझै पुगनपुग दुई साता बाँकी छ । मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको तयारीमा मैथिल(मिथिलाका बासिन्दा) जुटिसकेका छन् ।
अहिले घरघरमै तिल चुट्ने, निफन्ने र आफूलाई चाहिने राखेर बाँकी बजार लैजाने चटारो छ । त्यसैगरी चिउरा र मुरी (विशेष विधिले बनाइएको चामल भुटेर बनाइने भुजा)का लागि धान भिजाउने, चामल कुट्ने, निफन्ने चटारो घरघरै देखिन्छ । त्यसैगरी पर्वकै लागि उखु किसान उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन तल्लीन देखिन्छन् । पर्वअघि मिठ्ठाले राम्रो भाउ पाउने किसानको आश छ ।
पर्व नजिकिएसँगै गरिब किसानको व्यस्तता झनै बढ्छ । पर्व विशेषमा आफ्ना उत्पादित फसलले राम्रो मूल्य पाउने आशमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो । यसपालि अब १०–११ दिनपछि आउने यो पर्वका लागि महोत्तरीका सबैजसो हटिया (साप्ताहिक बजार) पर्व विशेषका सामग्रीले जम्न थालेका देखिन्छन् ।तिलासक्रायत पर्व यहाँका किसानका लागि नगद आर्जनको अवसर बन्ने गर्छ ।पुसको ठिही (चिसो) खप्दै उखु पेलेर बनाइएको मिठ्ठा, पाखोबारीमा लगाइएको तिल, कन्दमूल (तरुल, सुठुनी, पिँडालु) र मासको दालले राम्रो मूल्य पाएपछि किसानलाई यो पर्व नगद आर्जनको अवसर बनेको हो ।
त्यसैगरी धान किनेर मुरी (भुजा) र चिउराको व्यापार गर्ने साना व्यापारी पनि आर्जन हुने आशामा छन् । तिलको बजार जमिसकेको छ भने सख्खर, चिउरा र मुरीलगायतको बजार एक–दुई दिनपछि जम्न थाल्ने भङ्गाहा–५ सीतापुर बजारका किराना पसले रामभगत साह बताउनुहुन्छ । पर्व नजिकिएसँगै थोरै जग्गामा उखु लगाएका किसान भ्याइनभ्याई गरेर मिठ्ठा बनाउन र बनेको सामग्री बजार पुर्याउन तल्लीन छन् ।
धेरैजसो बस्तीमा पर्वका लागि मिठ्ठा खोज्न व्यापारी र उपभोक्ता घरघरै आएपछि बजार पुग्नुपर्ने समय पनि बचत भएको र राम्रो मूल्य पाइएको किसानको भनाइ छ । भङ्गाहा–४ का किसान लखन कापर भन्नुहुन्छ, “पवनी (पर्व) आइपुग्यो, उखु पेल्न र तिल चुट्ने समय एउटै पर्यो, भ्याइनभ्याई छ ।” पर्वको मुखमा कामको मारामार परे पनि मिठ्ठा र तिल बेचेको पैसाले नगद खर्चको राम्रै जोहो हुने गरेको कापर बताउनुहुन्छ । यसैगरी कापरकै छिमेकी भजनसिंह दनुवार पनि पर्वअघि तरुल, पिँडालु र सुठुनी खन्ने तालिकामा हुनुहुन्छ ।
तरुल, पिँडालु र सुठुनी तिलासक्रायत पर्वको खास परिकार भएको हुँदा यी उत्पादनले राम्रो मूल्य दिने दनुवारको भनाइ छ । “एकाध धुर (२० धुरको एक कठ्ठा)मा खमरुवा (तरुल), पिँडालु र अलुवा (सुठुनी) छ, आफ्नै टोल (घर वरिपरिका छिमेकी)ले मागेका छन्”, दनुवारले भन्नुभयो, “चाडवाडमा नगदकै कारोबार हुन्छ, राम्रै आर्जन होला ।” यी कन्दमूल केही दिनसम्म ताजै रहने हुनाले पर्वको तीन–चार दिनअघि खनिने दनुवार बताउनुहुन्छ । अहिले तीन–चार कठ्ठामात्र जग्गा भएका गरिब किसानले पनि मिठ्ठा, तरुल, पिँडालु, सुठुनी र तील बेचेर रु १०–२० हजार जोहो गर्ने योजना बनाएका छन् ।
आफ्नो पाँच कठ्ठा पाखो बारी (सिँचाइ नपुगेको)मै लगाइएको उखु, तिल, सुठुनी र तरुलबाट पोहोर रु २० हजार आम्दानी भएको भङ्गाहा–४ कै किसान चन्देश्वर राय दनुवार बताउनुहुन्छ । यसपालि अझ बढी आम्दानी हुने चन्देश्वरको विश्वास छ । “अन्य कुरा मजदुरी र बरबटैया गरेर गुजारा टारिन्छ”, उहाँ भन्नुहुन्छ, “नगद खर्च भने आफ्नै बारीको कमाइबाट दुःखसुख चलाइन्छ ।”
तिलासक्रायत पर्वमा सख्खर मिसाएर बनाइएको तिल, चिउरा, मुरी (विशेष प्रकारको चामलको भुजा) र जुनेला (अन्नविशेष)लाई (लड्डु), उसिनेको सुठुनी तथा तरुल एवं मासको दाल, अरवा चामल र घिउको खिचडी विशेष प्रकार मानिने मैथिल परम्परा छ । यसै परम्पराले अहिले महोत्तरीसहितका मिथिला क्षेत्रका बस्तीमा यी सामग्रीको जोहोमा सर्वसाधारण लाग्छन् ।
पर्वविशेषले जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा उखु, तिल, सुठुनी, पिँडालु तथा तरुललगायतका बाली बढी लगाइने गरेको छ । पर्वविशेषले आफ्ना उत्पादित बाली सजिलै घरघरै राम्रो मूल्य पाएर बिक्री हुने भएकाले अहिले खासगरी किसानका लागि नगद जोहोको अवसर बनेको हो । अहिले राम्रो तिल प्रतिकिलो रु तीन सय ५० र मिठ्ठा रु एक सय १० ले बिक्री हुँदैछ ।
त्यसैगरी अब एक सातापछि खनिने तरुल, सुठुनी र पिँडालुले पनि राम्रो भाउ पाउने किसानले आश गरेका छन् । तिलासक्रायत पर्व केही दिनमात्र बाँकी रहँदा यस क्षेत्रका घरघरमै अहिले यो पर्वको तयारीले रौनक बढेको छ ।
खासगरी यताका थारूको मुख्य पर्व नै तिलासक्रायत हुँदा थारू बस्ती पर्वको तयारीमा तल्लिन देखिन्छन् । तिलासक्रायत नजिकिएसँगै यहाँका बजारमा पनि पर्व विशेषका सामग्रीको बजार दिनदिनै जमेको छ । साप्ताहिक हटियामात्र नभएर अहिले बस्ती–बस्तीमै तिल, मिठ्ठा, चिउरा, मुरीका बजार जम्दैछन् । केही दिनपछि सुठुनी, पिँडालुको बजार जमाउने तयारीमा किसान जुटेका छन् । (रासस)
श्रीभगवान यादव,कटहरिया,पुस १७ गते ।
रौतहट जिल्लाको कटहरीया नगरपालीकाको एक बिधालयमा छात्रबृत्ति वितरण गरिएको छ । सो नगरपालीको वडा नम्बर ५ स्थित रहेको श्री जनता नमूना माध्यमिक बिधालय कटहरियामा छात्रबृत्ति प्रदान गरिएको हो । मंगलबार नगरपालीका बाट आएको आर्थिक २०७९।०८० को छात्रबृत्ति वितरण गरिएको हो ।
बिधालयमा अध्ययनरत सम्पुर्न छात्रा,दलित छात्र छात्राछात्रहरु लाई कुल ५ लाख १२ हजार रुपयाँ वितरण गरिएको प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको हो ।
सो बिधालयमा अध्ययनरत २ देखी ९ सम्मका बिधार्थी लाई बवितरण गरिएको हो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष नसरुदिन अंसारीको अध्यक्षतामा वितरण गरिएको हो । साे अवसरमा बिधालय व्यवस्थापन समितिका पदाअधिकारिहरु र स्थानिय भद्रभलादमिहरुकाे उपस्थिति रहेको थियो ।
छात्रबृत्ति वितरणको अवसरमा कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,शिक्षा संयाेजक अनिल निधी,सह संयाेजक सुरेन्द्र ठाकुरको साथै वडा सदस्य भगल राय यादव पनि उपस्थिति रहेका थिए ।
आरके श्रीवास्तव,रौतहट,१७ गते पुस ।
रौतहट । समृद्धि आयोजना आयोजना व्यवस्थापन कार्यालय इटहरि सुनसरीको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा सहकारी र आइएमइ रेमिटान्स बिच अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल सरकारको उधोग वाणिज्य तथा आपूर्ती मन्त्रालय ग्रामीण तथा विप्रेशन आयोजना (समृद्धि) अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।

गत बिहिवार भएको कार्यक्रममा आइएमइ रेमिटान्स कम्पनीका मधेश प्रदेश प्रमुख विजय सुवेदी बाट रेमिटान्सको हालको अवस्था,अवसर, चुनौती र सहकारी संस्थाको माध्यम बाट रेमिटान्स लाइ कसरी लगानी योग्य ऋण र बचतमा प्रोत्साहन गर्ने इत्यादी विषयमा व्यापक छलफल गरिएको थियो ।

आइएमइ लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख रवि शंकर सर्राफ बाट वर्तमान अवस्थामा सहकारी संस्थाको ऋणलाइ जोखिमबाट जोगाउन ऋणीको पनि विमा गर्न सकिने र यसको प्रावधान के कस्तो रहेको छ भने जानकारी गराइएको थियो । त्यस्तै ऋणीको विमा गर्दा भुक्तानी गर्नुपर्ने विमा शुल्क र विमितको मृत्यु वा दुर्घटना हुँदा के कस्तो सेवा पाइने कुरामा जानकारी गराइएको थियो ।

अन्त्यमा रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्थाको मुख्य व्यवस्थापक यज्ञ प्रसाद प्रसाइ बाट समृद्धिको प्राविधिक सहयोगमा सञ्चालित समृद्धि विप्रेषण खाताको विशेषता,अवस्था,चुनौती र यसको कार्यविधिको छलफल र जानकारी प्रदान गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालक समृद्धि आयोजना विक्तिय समावेशिकरण अधिकृत इन्दिरा श्रेष्ठले समृद्धि आयोजनाको आगामी ६ महिनाको योजना तथा कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन् ।
जनकपुरधाम, १७ पुस :
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बेरुजु शून्य बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ ।
आज जनकपुरधाममा आयोजित लेखापरीक्षण, बेरुजु फर्छ्याेट तथा सम्परीक्षणसम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै जनभावनाअनुसार काम गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने गरी क्रियाशील हुन पनि सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।
“सङ्घीयता महँगो र अनियमितता मात्रै भइरहेको छ भन्ने ढङ्गले गलत प्रचारबाजी भइरहेको छ । यस्तो गलत भाष्यलाई चिर्न पनि बेरुजु शून्य बनाउनुका साथै सङ्घीयताको जननीका रुपमा रहेको मधेस प्रदेशले जनतालाई अनुभूति गराउने किसिमले काम गर्नुपर्ने आवश्यकता छ । यस कार्यमा सघाउ पुग्ने गरी तपाईं हामी मिलेर काम गरौँ”, मुख्यमन्त्री यादवले भन्नुभयो ।
महालेखापरीक्षकको कार्यालयका कार्यबहाक महालेखापरीक्षक महेश्वर काफ्लेले देशको वित्तीय अवस्थाबारे प्रकाश पार्नुहुँदै वित्तीय अनुशासन कायम गर्न तीनै तहका सरकार र सम्बद्ध पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारबीचको समन्वयले मात्रै देशको शासकीय प्रबन्ध र अर्थतन्त्रका सूचकलाई राम्रो बनाउन सकिने र त्यसका लागि उपलब्ध स्रोतसाधनको सदुपयोग हुन जरुरी रहेको धारणा राख्नुभयो ।
उपमहालेखा परीक्षक विन्दु विष्टले विगतको तुलनामा बेरुजु क्रमशः घट्दै गएको र थप सुधारका लागि लेखा समिति सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेले लेखा उत्तरदायी अधिकृतलाई खर्च निगरानी र वित्तीय अनुशासन पालन गर्न आग्रह गर्नुभयो ।
त्यसअवसरमा मुख्यमन्त्री कार्यालयको तर्फबाट सचिव रामकृष्ण पुडासैनीले मधेस प्रदेशबारे प्रस्तुति दिनुभएको थियो भने प्रदेश लेखानियन्त्रक वीरेन्द्रकुमार मिश्रले प्रदेशको वित्तीय क्रियाकलापबारेको प्रतिवेदन कावा महालेखापरीक्षक काफ्लेलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा सात प्रदेशका एक हजार दुई सय १८ कार्यालयमा लेखापरीक्षण भएकोमा सात रु अर्ब ५० लाख बेरुजु भएको र त्यसमध्ये ३५ प्रतिशत बेरुजु गम्भीर प्रकृतिका रहेकासमेत जानकारी दिइएको थियो ।(रासस)
राजन कुमार बानिया पर्सा १६/
पुष पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिखमपुर सिकटा खोला नजिक गण्डक नहरमा खसेर भारतिय मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। अज बिहान गण्डक नहरमा खसेको अवस्थामा स्थानिय हरु मोटरसाइकल र मान्छे हेरे पछि स्थानिय प्रहरी लाई खबर दिने बितिकै घटना स्थलमा पुगेका ईलाका प्रहरी कार्यालय जानकिटोलाका प्रहरी पुगेर मोटरसाइकल र मानिसको शव बाहिर निकालेको थियोे ।
गण्डक नहरमा खसेर मृत्यु हुनेमा भारत बिहार ,बेतिया जिल्ला चनपटिया थाना क्षेत्रको जईतिया गाउँ निवासी ४० को भोलान राम रहेको प्रहरीले जनाएका छन।मृतकको शव र बीआर २२ बी ९४१६ नम्बरको हिरो हुण्डा प्रो मोटरसाइकल रहेको हो। प्रहरीका अनुसार अाईतबार रातीको सम्य मृतक राम अाफ्नो ससुराली लक्ष्मीपुर गाउँ तरफ गईरहेकोले सिकटा पुल नजिक गण्डक नहरमा मोटरसाइकल अनियंत्रित भई ठोक्किएर नहरमा खसेको हुनसकने अनुमान गरिएको छ ।
पुल बाट गण्डक नहरको पानीमा खसेपछी मोटरसाइकल चालकको कठिनग्रिएर मृत्यु भएको छ। प्रहरी हरुले मृतकका शवको प्राकृतिक पहिचान गरि मुचुलका उठाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले जनाएका छन।
वीरगञ्ज पुष १७।
पसावन जातिकाे कुलदेवता सल्हेस बाबा मन्दिर एक ब्यक्तिले उक्त मन्दिर र जग्गा कब्जामा लिएको छ। बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं ७ जितपुरमा रहेको पसावन जातिकाे कुलदेवता सल्हेस बाबाकाे मन्दिर स्थानीय सताेष साहले कब्जामा लिएका छन।
४० देखि ५० वर्ष आगडी देखि नै हाम्रो पासवान जातिको कुलदेवता शैालेस बाबाको मन्दिर रहेको नेपाल दलित मुक्ति माेर्चा मधेस प्रदेश सदस्य चन्द्रशेखर पासवानले बताए । पासवान का अनुसार धेरै निकायहरुमा पनि पहल गरेको छु तरपनि चारैतिरबाट बाउन्डीरीवाल लगाइ सकेको छ ।
साह ले बाउन्डीरीवाल भात्काएन भने हामी बाध्य भएर नगरपालिका र वडा नं ७ को वडा कार्यालय घेराउ गर्ने छाै पासवानले बताए । संतोष साह सँग उक्त मन्दिरको जग्गा कब्जा गरेको बारेमा सोधदा खेरी साहको भनाइ अनुसार मैले किनेको जग्गा मात्र बाउन्डिरिग्ङ वाल गरेको प्रतिक्रिया दिए।
राजन कुमार बानिया पर्सा १७ पुस/
पुस महिना सुरु भएसगै पर्सा लगायत देशभर मै चिसो बढेसगै शितलहर पनि सुरु भएको छ । मंसिरको अन्त्यसम्म खासै नदेखिएको हुस्सु पनि पुस सुरु भएसगै आज बाट अत्याधिक लाग्न थालेको छ । बिहानै देखि लागेको हुस्रो दिउसो बाट सुरु भएको शितलहरका कारण धोबिनी गाउँपालिका बासी लगायत प्रभावित बन्न थालेका छ्न ।
बिशेष गरी बिद्यालयमा अध्ययनरत बालबालिका , वृद्धवृद्धा , युवा हरु यसबाट प्रत्यक्ष प्रभावित बनेका छ्न । अत्याधिक चिसो र निरन्तर शितलहरका कारण बिद्यालयहरुको पठनपाठन समेत प्रभावित बनेको धोबिनी गाउँपालिका-४ मा रहेको श्री काली प्रसाद लाखे मावीका प्र.अ मदन साहले बताउनु भयो ।
बिशेष गरी कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु चिसो बाट बढी प्रभावित हुनगरेको साहले बताउनु भयो । बाक्लो हुस्सुकै कारण सवारी आवतजावतमा पनि समस्या भएको भिस्वा, धोबिनी,पोखरिया, पटेर्वासुगौली,जिराभवानी पर्सागढी, ठोरी ,बिरगंज क्षेत्रका सवारी चालकहरुको भनाइ रहेको छ । अचानक सुरु भएको शितलहर निरन्तर देखिएमा खेतिबाली पनि प्रभावित हुन सक्ने कृषकहरुको आकलन रहेको छ ।
गाउँ गाउँमा सिंहदरबार अाएको छ, तर दरबार केन्द्रमा नै रहेको र गाउँ गाउँमा सिंह मात्र अाएको स्थानिय हरुले महसुस गर्दै अाएका छन। गाउँपालिका, र नगरपालिका हरु बाट बृद्ध र बालबालिका हरुको लागि न्यानो कपडा बितरण गरिरहेको थियो। भने ठाउँ ठाउँमा दाउराको ब्यवस्थापन भईरहेको थियो ,तर यसपाली अहिले सम्म नयानो कपडाको कुरा छोडौ काठ दाउराको पनि ब्यवस्थापन कतै नदेखिएको गुनासो एक, जना बृद्धले गरेका छन। परिरहेकोअाईतबार बिहानै बाट हुस्सु सहित चिसो बढेको अहिले पर्सामा दिउँसो ८ डिग्री सेल्सियस मापन गरिएको थियो भने, बेलुका ५ डिग्री भन्दा पनि तल पुग्न सक्ने अनुमान गरिएको छ ।