२०८३ बैशाख १३
२०८३ बैशाख १३

फागुन, ८ वीरगञ्ज । 

वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ।

सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका थिए।

गत फाल्गुन ३ गते  रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर फागुन ७ गते वीरगञ्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई लिएर सोमबार बेलुका ५ बजे देखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू आदेश जारी गरिएको थियो। न्युज कारखाना

रौतहट,७ फागुन ।

महोत्तरी जिल्लाको बर्दिबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल कराते महासङ्घको आयोजनामा हुन लागेको प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगितासँगै राष्ट्रिय रेफ्रिज सेमिनार र ग्रेडिङ समेत हुने आयोजकले जानकारी दिएको छ।

यही आउँदो फागुन १४ गतेदेखि १७ गतेसम्म राष्ट्रिय रेफ्री सेमिनार हुने आयोजक नेपाल कराते महासंघ मधेश प्रदेशका रेफ्री संयोजक चित्र बहादुर पुलामीलेले जानकारी दिएकाछन्।

फागुन १८ गतेदेखि २० गतेसम्म प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता को लागि तयारी तीव्ररूपमा भइरहेको नेपाल कराते महासंघ मधेस प्रदेशका सचिव कसम लामाले जानकारी दिए। मिथिला राष्ट्रिय कराते प्रतियोगितामा सातै प्रदेश, तीनवटा विभागीय टिम र एक आयोजक टिम गरी ११ वटा टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा महिलातर्फ ४५ केजीदेखि ६८ केजी प्लससम्मको खेल हुनेछ। पुरुषतर्फ ५० केजीदेखि ८४ क्लक केजी प्लस खेल हुनेछ। प्रतियोगितामा महिला र पुरुषको एकल काताका साथै टिम काँतासमेत हुने आयोजकले जानकारी दिएको छ।

नेपाल कराते महासङ्घ मुख्य आयोजक रहेको सो प्रतियोगिताको सहआयोजक नेपाल कराते महासघ मधेस प्रदेश रहेको नेपाल कराते महासन मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरले बताए।

मधेस प्रदेशमा एकैपटक राष्ट्रिय रेफ्री सेमिनार राष्ट्रिय कराते प्रतियोगिता र मधेस प्रदेश स्तरीय छुटपुट ग्रेडिङको आयोजना हुने भएपछि मधेस प्रदेशका खेलाडीहरूमा उत्साह छाएको आयोजकले जनाएको छ।

न्युज कारखाना

बारा, ७ फागुन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक जीतपुरसिमरा महोत्सव हुने भएको छ। जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पहिलो जीतपुरसिमरा एक्स्पो र जीतपुरसिमरा महोत्सव २०८० फाल्गुन १८ गतेदेखि लिएर फाल्गुन २९ गतेसम्म आयोजना हुन् लागेको जनाएको छ। जीतपुरसिमरा उपमहानगरको वडा नम्बर ३ बजनीमा महोत्सवको आयोजना हुनलागेको आयोजकले जनाएको छ ।

सोमबार संघकै जीतपुरस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर कृषि र पर्यटनलाई प्राथमिकता दिएर जीतपुरसिमरा महोत्सव हुन् लागेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए।‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेस समृद्धिको आधार’ भन्ने नारासहित फाल्गुन १८ देखि २९ गतेसम्म महोत्सव चल्ने छ। संघका अनुसार महोत्सवको आवश्यक तयारी भइरहेको छ।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछ भने महोत्सवमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्‍याउने रहेको छ।

महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरूबीच डान्स आइडल, व्यवसायिक स्टल र नेपाली सेना आर्मीको विषेश कार्यक्रमहरू समावेश गरिएको बताइएको छ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको जीतपुरसिमरा महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाले समेत सहयोग गर्ने भएको छ। जीतपुरसिमरा उपमहानगर सहित वडा र उद्योगसँग समन्वय गरेर महोत्सवको आयोजना गरिएको संघका महासचिव प्रकाश गिरीले पत्रकार सम्मेलनमा जनाएको छ।

फाल्गुन १९ गतेदेखि हुन् लागको महोत्सवमा बिद्यार्थीहरुको लागि रु २५ रुपैयाँ, वृद्ध वृद्धालाई नि:शुल्क तथा युवाहरूसँग ५० रुपैयाँ प्रवेश शुल्क लिने आयोजकले जनाएको छ। महोत्सवमा स्टल राख्नका लागि ८ हजारदेखि २५ हजारसम्म शुल्क लाग्ने र स्थानीय व्यवसायीको हकमा छुटको समेत व्यवस्था गरिएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए।आयोजकले महोत्सवको कुल लागत करिव ८३ लाख रहेको बताएको छ।

अपाङ्गता र वृद्ध वृद्धाका लागि निःशुल्क प्रवेश तथा महोत्सव अवलोकनको व्यवस्था मिलाइएको छ। महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ। महोत्सव सञ्चालनका लागि विभिन्न विधागत समिति समेत निर्माण गरिएको छ।

उक्त पत्रकार सम्मेलनमा संघका महासचिव प्रकाश गिरि,सदस्य तथा महोत्सव प्रचार प्रसार समितिका संयोजक राजु गिरि, संघका संस्थापक अध्यक्ष घनश्याम गिरिलगाएत बारेली पत्रकारहरूको उपस्थिति रहेको थियो ।न्युज कारखाना

पर्सा, ७ फागुन ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फूयू जारी गरेको हो ।

 

सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जानकारी गराएका छन् ।
उनका अनुसार पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र)मा लागू हुनेगरी कर्फ्यू जारी गरिएको हो ।

 

मिति २०८० फाल्गुन ०३ गते बिहीवार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच विवाद र झडप भएको बिषयलाई लिएर आज मिति २०८०।११।०७ गते बीरगंजमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले बीरगंज महानगरपालिका क्षेत्रको तपसिल बमोजिमको सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ –याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०७ गते बेलुका ०५ः०० बजे देखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क. बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ । उक्त आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कडा कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको आदेशमा भनिएको छ ।
न्युज कारखाना

रौतहट ७ फागुन।
पछिल्लो चारदिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै  विसर्जन गरिएको छ ।  मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।

ईशनाथ–७ घिउरा गाउँ विद्यालयछेउको सार्वजनिक पोखरीमा यसअघि भएको सहमतिअनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीको अध्यक्षतामा सोमबार जिल्ला समन्वय समितिको सभाकक्षमा बसेको बैठकमा  नेपाल प्रहरीका डीआईजी  पोखरेल, सशत्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव, तथा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।


बैठकलगत्तै संघीय सांसद किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, तीनैजना डिआईजी, दलका प्रतिनिधि सम्मिलित टोली स्थलगत पुगेर चारदिनदेखि थन्किएको मूर्ति विसर्जन गरिएको हो ।यसअघि संघीय संसद किरणकुमार साहको पहल तथा सिडिओ रेग्मीको अध्यक्षतामा ईशनाथ–७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँछेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने सहमति भएको थियो । सोही निर्णयअनुसार मूर्ति विसर्जन गरिएको छ ।

शनिवार भएको सहमतिअनुसार सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका घाइते भएका थिए । त्यसपछि बिग्रिएको स्थितिलाई नियन्त्रणमा लिन सिडिओ हिरालाल रेग्मीले शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू अवधिमै उच्छृखंल गतिविधि भएपछि स्थानीय प्रशासनले आइतबार कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ ।
कर्फ्यू जारीसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी ७०० जनशक्ति परिचालन गरिएको छ ।  सिडिओ रेग्मीले आइतवार सूचना जारी गर्दै ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरेका थिए ।

 

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैया देखि जयनगर सम्म चारकिल्ला भित्र कर्फ्यू जारी गरिएको थियो। कर्फ्यू अवधिमा शनिबारदेखि नै सरस्वतीको मूर्ति बाटो छेउमा प्रहरीको निगरानीमा राखिएको थियो । रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी २४ सै घन्टा खटेका थिए भने उक्त क्षेत्रमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरीका ५०० र सशस्त्र प्रहरीका २०० गरी ७०० जवान परिचालन गरिएको थियो ।

रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा पछिलो लामो समयदेखि हिन्दू समुदायले गर्ने धार्मिक अनुष्ठानमा अनेक प्रकारले हस्तक्षेप हुँदै आएको स्थानीयले बताएका छन् । यसैबीच सांसद किरण कुमार साहले पुरानो सहमतिविपरीत गरेकामाथि कारबाही र आक्रमणमा भएको क्षतिको एकीन गरी क्षतिपुर्ती दिनुपर्ने माग गरेका छन् ।न्युज कारखाना

रौतहट ७ फागुन। 
रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै मुर्ति बिसर्जन गरिने निर्णय गरिएको छ। निर्णय कार्वान्यन गराउन मधेश प्रदेशका तीनजना डिआईजी रौतहटका परिचालित भएका छन। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन यसअघि भएको सहमतिलाई कार्वान्वयन गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

सिडिओ हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा नेपाल प्रहरीका डीआईजी  पोखरेल, सशत्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव र सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो।

संघीय संसद किरण कुमार साहको पहल तथा सिडियो रेग्मीको अध्यक्षतामा ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजा सहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँछेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा बिसर्जन गर्न लैजाने सहमति भएको थियो।

सोही सहमती अनुसार मुर्ति बिसर्जन गर्न जनप्रतिनिधि सहित प्रशासन प्रमुख सहितको टोली केहीबेर अघि ईशनाथ ७ घिउरा गाउँ तर्फ रवाना भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकि छन्।  शनिबार भएको सोही सहमतिअनुसार शनिबार सरस्वतीको मूर्ति सेलाउन लैजाने समुहमाथि  घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाईते भएका थिए।

स्थिति नियन्तरणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए ।कर्फ्यू अवधिमै उच्चश्रृंखल गतिविधि भएपछि स्थानीय प्रशासनले आइतबार कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ।

कर्फ्यू जारीसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ती परिचालन गरिएको छ।  सिडिओ रेग्मीले आइतबार एक सूचना जारी गर्दै ईशनाथ नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको थियो ।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र कर्फ्यू जारी गरिएको थियो। कर्फ्यू अवधिमा शनिबारदेखि नै सरस्वतीको मूर्ति बाटो छेउमा प्रहरीको निगरानीमा राखिएको छ।

साथै यस सम्प्रदायिक विवाद लाई फैलाउने बढाउने कुनै प्रकारको तस्बिर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ। पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटना संग जोडिएको बिभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिबिधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासी लाई आग्रह गरेको छ।

रौतहट संसदीय निर्वाचन क्षेत्र-२ मा पछिलो लामो समयदेखि हिन्दू समुदायले गर्ने धार्मिक अनुष्ठानमा अनेक प्रकारले हस्तक्षेप हुँदै आएको स्थानीयले बताएका छन्। यसैबीच सांसद किरण कुमार साहले पुरानो सहमतिविपरीत गरेकामाथि कारबाही र आक्रमणमा भएको क्षतिको यकिन गरी क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्।न्युज कारखाना

जनकपुर, ६ फागुन ।

जनमत पार्टीले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।

 

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदे सभाबाट विश्वासको मत लिने कार्य सुचि रहेको थियो ।

 

बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरुले उठेर विरोध जनाएका थिए ।

 

सप्रदेश सभा सदस्य चन्दन सिंहले मधेस प्रदेश को मन्त्री र प्रदेश सभाका सदस्यहरुमाथि कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठि चार्ज गरेको र त्यहा स्वंय मुख्यमन्त्री समेत उपस्थिति रहेको कारणले उनले माफि नमागे सम्म प्रदेश सभाको बैठक चल्न नदिने बताएपछि बैठक १० मिनटेको लागि स्थगित गरिएको छ ।

 

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री विशवासको मतको क्रममा आफनो धारणा राख्ने नै भएपछि तत्काल बैठक सुचारु गर्न आग्रह गरेका थिए । तर जनमतका प्रदेश सभा सदस्यहरुले उठेर विरोध जनाएपछि बैठक स्थिगित गरिएको छ ।न्युज कारखाना

काठमाडौं, ६ फागुन ।

पर्सा जिल्लाबाट तस्करी तीव्र हुने गरेको पाइएको छ। बारा प्रहरीले पर्साबाट छुटेका तीन करोड बढी सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। प्रहरी प्रमुख सरूवाको मौकामा पर्सामा तस्करीमाथि कारबाही शून्य पार्दा तस्करी बढेको हो। पर्साबाट छुटेका ट्रक बारा प्रहरीले अमलेखगन्ज र पथलैया चोकबाट नियन्त्रणमा लिएको हो।

पर्सामा हालै प्रहरी प्रमुख एसपीको सरूवा भएको छ। एसपी कोमल शाहको सरूवा भएर नयाँ एसपी कुमोध ढुंगेलको पर्सामा पोस्टिङ भएको छ। शाह शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बडिगार्ड थिए। उनकै आशीर्वादका कारण एसपी बढुवा हुनेवित्तिकै उनले पर्सा जिल्ला पोस्टिङ गराएका थिए। उनी रहुन्जेल तस्करीमाथि पर्सा प्रहरीले खासै कारबाही नगरेको जिल्लास्थित स्रोतहरू बताउँछन्।

 

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट दुई वटा र पथलैया चोकबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले शुक्रबार राति ११ बजे ना७ख १६५२ नम्बरको ट्रक र ना८ख ४१६५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।

ट्रकमा चाबीमा प्रयोग हुने प्याड लक र कस्मेटिक सामान थिए। एउटा ट्रकमा दुई करोड ५० लाख ६३ हजार १२२ रुपैयाँ र अर्को ट्रकमा ३३ लाख २६ हजार ८६७ रुपैयाँ बराबरको सामान भेटिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

 

ती ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान फेला परेको थियो। यस्तै, प्रहरीले बिहीबार पथलैया चोकबाट अर्को ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना८ख ७२४४ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।

 

राति करिब १२ बजे प्रहरीले करिब ७७ लाख ६ हजार २६४ रुपैयाँ बराबरको खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत नखुलेको सामान फेला परेको न्यौपानेले बताए । तीनवटै ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।न्युज कारखाना

जनकपुरधाम, ६ फागुन ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाउनु भएको छ ।

मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गर्नु भएको थियो ।

 

आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन । विपक्षमा कुल ३५ सांसद पुगेका छन । दोस्रो पटक सम्म बिश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोहि पनि थिएन ।

यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ ।

मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ ।

 

सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा माओवादी केन्द्रको नौ र नेकपा एकीकृत समाजवादी पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा रहेका छन । न्युज कारखाना

 

महाेत्तरी, ६ फाल्गुन ।

महोत्तरीको बर्दिवासमा चौथो मेयर कप प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।

प्रजातन्त्र दिवसको अवसर पारेर ७ फाल्गुनमा आयोजना हुन् लागेको उक्त प्रतियोगितामा प्रदेशभरिका ३२ वटा टिम सहभागी हुने आयोजक पक्षले जनाएको छ।

बर्दिवास ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता एकै दिन सकिनेगरी ३ वटा कोर्टमा खेलाइने संघका माहासचिव चन्द्र बहादुर खड्काले जानकारी दिए।

झण्डै ५ लाख ५० हजार लागत अनुमान गरिएको खेलमा टाढावाट आउने खेलाडीहरुलाई आवास र खानाको व्यवस्था गरिएको छ भने प्रथम हुने टिमलाई ३१ हजार पुरुस्कारको राशि राखिएको छ।

दोश्रो र तेश्रो हुनेहरुलाई क्रमश: १५ हजार र ५ हजार नगद पुरुस्कारको समेत व्यवस्था गरिएको संघका अध्यक्ष पोषण थावाले जानकारी दिए।  अहिले बर्दिवास भइरहेको सडक खाना महोत्सवलाई मध्यनजर गर्दै थप प्रचारप्रसार गर्ने उदेश्यले पनि यही समयमा खेलको आयोजना गरिएको अध्यक्ष थापाले बताए।

खेलको नै उदघाटनको अवसर पारेर नवनिर्मित ब्याडमिन्टन भवनको समेत उदघाटन गरिने र उक्त प्रतियोगिता सोही भवनमा संचालन गरिने आयोजक पक्षको तयारी छ। न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।