२०८३ बैशाख १३
२०८३ बैशाख १३

रौतहट, ८ फागुन ।
पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष  प्रभु साहले असक्षम फिरंगी नेताहरु नेतृत्वमा पुग्दा रौतहट समग्र विकासमा पछाडि परेको टिप्पणी गरेका छन। सधैं भरी बाहिर बसेर चुनावको समय मात्र रौतहट सम्झने नेताहरुको नेतृत्वका कारण जिल्ला पछि परेको उनले टिप्पणी गरेका हुन्।

गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा भन्सारको लुटकारी ४५ प्रतिशत पुरस्कारको ब्यबस्था हटाउन पार्टी द्वारा आयोजित बृहत्त भेलालाई  सम्बोधन गर्दै उनले उक्त विचार राखेका थिए। २०१५ सालदेखि देशको ठूला ठूला आन्दोलन ,  राजतन्त्रविरुद्धको  आन्दोलनमा समेत रौतहटको भूमिका महत्वपूर्ण तथा अग्रणी रहेको उनकाे भनाइ छ ।

तर, पछिल्लो समय  केही नेता व्यक्तिगत स्वार्थमा लागेको कारण जिल्लाको नाम बदनाम मात्र होइन कलंकित भइरहेको बताएका अध्यक्ष साहले  पूर्व प्रधानमन्त्री माधव कुमार नेपालप्रति आक्रोस व्यक्त गर्दै
देशको नेतृत्व गर्दा पनि आफ्नै गृह जिल्ला विकासमा पछाडि पर्नु फिरंगीपनको संज्ञा दिए ।

पूर्वकालदेखि उर्वरभूमि मधेश भूमि उजाड हुनुमा मुख्यतः नेता नेपाल र उपेन्द्र यादव रहेको उनको आराेपमा छ । संघीयता भएदेखि नै उपेन्द्र यादवको पार्टीले मधेशको सत्ता चलाए पनि मधेश प्रदेश कहाँ पुग्यो सहजै अनुमान गर्न सकिने उनकाे भनाइ छ ।

नेता नेपाल र  यादव सधैं सत्ता कुर्सीको लागि देश जनतालाई धाेका दिएकाे भन्दै उनले उनीहरुकै कारणले मधेशमा बेरोजगारी गरिबी समेत बढेको बताए । गौर हत्याकाण्डमा अहिलेसम्म पीडितले न्याय पाउन नसकेको बताउँदै उनीहरुलाई न्याय दिलाएरै छोड्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेता साहका साथै आमजनता पार्टीका मधेश प्रदेश ईन्चार्ज सुधीर यादव, जिल्ला इन्चार्ज त्रिभुवन साह लगायतले गौर हत्याकाण्डका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने चेतावनी दिएका थिए।न्युज कारखाना

पर्सा, ८ फागुन ।

पर्सामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फूयू जारी गरेपछि उत्पन्न समस्या समाधान गर्न ५ बुँदे सहमति गरिएको हो ।

मंगलबार बसेको सर्वपक्षीय छलफलमा वीरगञ्जसहितका स्थानमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको हो ।

यही हुन् सहमति जुटेको ५ बुँदा 

१. सयौँ वर्षदेखि कायम रहेको जात–जाती, भाषा, धर्म, समुदाय सम्प्रदायबीचको एकतालाई अझ मजबुत गराई नेपाली जनतावीचको सुसम्वन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिवद्धता गर्ने ।

२. एकअर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरुमा नाराबाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने । यस किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने ।

३. जिल्लाभित्र खुलमखुला रुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्नेविरुद्ध कानुन बमोजिम कारबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने ।

४. जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव विगार्ने एवं दृन्दलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरु, धार्मिक सम्प्रदायिक याली, जुलुश, बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरु कुनै पनि संघ, संस्था एवं समुदायले नगर्ने । यसमा सबै राजनितिक दल, स्थानीय तह, नागरिक समाज, संघ, संस्था एवं सरोकारवालाहरुले सहयोग गर्ने ।

५. सामाजिक सञ्जालमा कुनै पनि जात, धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनबाट कानुन बमोजिम कडा कारवाही गर्ने ।न्युज कारखाना

सर्लाही, ८ फागुन ।

सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । सर्लाहीकोे पहिचान र बागमती नगरपालीकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटनका लागि फागुन १२ गते उद्घाटन गर्न माओबादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर्लाही आउने भएका छन् ।

 

नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेको बागमती नगरपालिकाले फागुन १२ गते शनिबार वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाले जनायको छ ।  “शिक्षा, स्वास्थ्य, रोजगार, त्यसैकालागि पूर्वाधार” भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरुको रुपान्तरण अभियान अन्तर्गत बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले बताए ।


शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन नगरपालिकाले शैक्षिक महोत्सव आयोजना गरियको बागमती नगरपालिका नगर प्रमुख भरत थापाले बताए । उनका अनुसार समुदाय र अभिभावकको अपनत्वमा सामुदायिक विद्यालय रुपान्तरण गर्ने ऐतिहासिक आन्दोलन हुने र नेपालमै पहिलो पटक सामुदायिक विद्यालयका तीन हजार भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एकै पटक सामुहिक नृत्य प्रस्तुत समेत गर्ने तयारी भएको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम कार्कीले जानकारी दिए ।

 

एक दिन हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनी शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ । बागमती नगरपालिकाले नगरभित्रका  समुदायलाई सामुदायिक विद्यालयसँग जोड्ने प्रयास  स्वरूप १० हजार अभिभावकको आ–आफ्नो सांस्कृतिक झल्किने भेषभुषामा झाँकी सहितको प्रस्तुति रहनेछ । हरेक विद्यालय,टोल र वडाबाट आ-आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै हामी सुधार गछौं, हाम्रो विद्यालय“ जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखा मीनप्रसाद उपाध्यायले बताए  ।

विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने भएकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवमा उपस्थित हुन पनि नगरपालिकाको शिक्षा शाखाले अनुरोध गरेको छ । वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने  करिब २५ लाख  खर्चलाग्ने अनुमान गरिएको बागमती नगरपालिकाले जनाएको छ ।न्युज कारखाना

रौतहट ८ फागुन ।
रौतहटको गुजरा नगरपालिका–५ स्थित जनजागृति आधारभूत विद्यालयको  अभिभावक भेला चौथोपटक पनि स्थगित भएको छ ।विद्यालय व्यावस्थापन समिति गठनका लागि विद्यालयमा सोमबार भएको अभिभावक भेला बिना कुनै निर्णय स्थगित भएको थियो । व्यवस्थापन समितिका लागि अभिभावकहरूबाट दुईजना महिला छनौट गर्ने विषयमा अभिभावकबीच सामन्य  भानभन हुँदा  चौथोपटक अभिभावक भेला स्थगित गरिएको थियो।

शिक्षा नियमाबली २०५९ को दफा १२ को उपदफा १ को खण्ड क बमोजिम बोलाइएको अभिभावकहरूबाट दुईजना महिला सदस्यसहित चारजना  छनौट गर्नुपर्ने कानुनी व्यवस्था छ ।

अभिभावकहरूबाट चारजना महिलाको नाम आएको र चारैजना समितिमा बस्ने अडान लिएको र दुईजनामा सहमति गर्न भनेपछि सामान्य भनाभन भएको थियो । अभिभावक नै नभएको व्यक्ति समर्थक हुन नपाउने प्रश्न उठेपछि विवाद भएकोमा शिक्षक प्रतिनिधि एवं नगर शिक्षा संयोजक शिवमंगल साहले भेला स्थगित गरेको प्राध्यानाध्यापक आमानुल हकले बताए ।

निर्वाचन प्रक्रियामा नगई सहमतीय प्रक्रियाबाट सदस्य छनौट गर्ने प्रयास जारी रहेको क्रममा चौथोपटक सहमतिको वातावरण नदेखिएपछि अर्को सूचना नआएसम्मको लागि अभिभावक भेला स्थगित गरिएको प्रधानाध्यापक हकले जानकारी दिए ।

 

स्थानीय अभिभावक संजय साहले षड्यन्त्रपूर्वक अभिभावक भेला पटक पटक स्थगित गर्दै आएको आरोप लगाएका छन् । विद्यालयमा कार्यरत शिक्षकहरू विद्यार्थीको अध्ययनअध्यापनतर्फ ध्यान नदिएर दिनभरि गफ गरि बस्ने गरेको बताउँदै विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने कार्य गर्ने गरेको आरोप लागेको छ ।

 

शिक्षाको स्तर बढाउने कार्य नगरी राजनीतिक गर्ने गरेको शिक्षकलाई विद्यालयबाट हटाउनुपर्ने स्थानीय अभिभावकहरुले माग गरेका छन् । हरिहरपुरका राम आशिष साहले केही शिक्षकहरू स्वयं विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको आरोप लगाए ।

 

उक्त विद्यालयको अभिभावकमध्ये ७५ प्रतिशत अभिभावक व्यवस्थापन समिति गठन गराउन प्रयासरत छन् । तर, केही जनप्रतिनिधि आफ्नो नजिकको मानिसलाई समितिको अध्यक्ष बनाउन विभिन्न षडयन्त्र गरेर पटकपटक अवरुद्ध गर्दै आएको पूर्व गाविस अध्यक्षसमेत रहेका साहले बताए ।

जनजागृति आधारभूत विद्यालय हरिहरापुरमा लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको अभावमा पठनपाठनदेखि विद्यालयको सम्पूर्ण अवस्था दयनीय भएको अभिभावकले गुनासो गर्दै आएका छन् ।न्युज कारखाना

रौतहट, ८ फागुन ।

जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सद्भाव कामय राख्न अपील गरेको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विज्ञप्ति जारी गरेर सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् । सर्वपक्षीय छलफलको निर्णयअनुसार ईशनाथ–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गरिएको भन्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् ।

‘मिति २०८०।११।०५ गते ईशनाथ न.पा.–७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादको सम्बन्धमा मिति २०८०।११।०७ ग प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रतिनिधि सभा सदस्य माननीय किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, प्रदेश सभा सदस्य माननीय मो. जैद आलम, संविधान सभा सदस्य माननीय सुरेन्द्र जसयवाल, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नं.२ मधेश प्रदेशका सशस्त्र प्रहरी नायब, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालयका अनुसन्धान निर्देशक, ईशनाथ नगरप्रमुख कौशल्या देवी, राजपुर नगरप्रमुख डा. मो. राजीक आलम, ईशनाथ नगरउपप्रुख मो.प्रवेज, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु तथा सम्पूर्ण राजनितिक दलका प्रतिनिधिहरु, विभिन्न पदका प्रत्यासीहरु, हिन्दु मुस्लिम दुवै समुदायका अगुवाहरु, नागरिक समाज, पत्रकार, संचारकर्मी एवं सम्बन्धित सरोकारवाला पक्षहरु समेत सम्मिलित सर्वदलीय÷सर्वपक्षीय बैठकबाट छलफल भई सरस्वती पूजाको मूर्ती विसर्जन तत्काल गर्ने निर्णय भए बमोजिम शान्तिपूर्ण एवम् सौहार्दपूर्ण वातावरणमा अन्यन्तै हर्षोल्लास साथ मूर्ती विसर्जन गर्ने कार्य सम्पन्न भएकोमा उल्लेखित महानुभावहरुले सामाजिक सद्भाव राख्ने कार्यमा निर्वाह गर्नुभएको अहम् भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै अगामी दिनहरुमा समेत यस्तै साथ सहयोगको अपेक्षा राख्दछौँ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना

रौतहट ८ फागुन ।

रौतहट सदरमुकाम गौरस्थित राजदेवी मिडियाले आयोजना गरेको महिला साइकल दौड प्रतियोगितामा गौर नगरपालिका–५  कि चंचला कुमारी प्रथम भएकी छन् । ७४औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित ११औं जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा चंचला कुमारी प्रथम भएकी हुन् ।

 

फाइनल दौडमा सहभागी भएका २०  जना प्रतियोगीमध्ये उनी प्रथम हुँदा राजदेवी नगरपालिका–७ कि रानी कुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ कि  बबिता कुमारीले तेस्रो स्थान हासिल गरिन् ।

प्रतियोगिताका प्रथम विजेतालाइ ५० हजार, दोस्रो ३० हजार र तेस्रोलाई २० हजार नगद पुरुस्कार दिइएको आयोजक राजदेवी मिडियाका अध्यक्ष रामापुकार पटेलले बताए ।

१४० मध्ये  छनौट भएर फाइनलमा सहभागी भएका २०  जना महिलालाई पुरुस्कार स्वरुप एक एक थान साइकल प्रदान गरिएको छ । राजदेवी मिडिया प्रालिले प्रजातन्त्र दिवसको अवसर पारेर११ वर्षदेखि महिला साइकल दौडको आयोजना गर्दै आएको छ।


सो प्रतियोगितामा प्रमुख अतिथि रुपमा पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

उनलाई चन्द्रनिगाहपुर जसपा केन्द्रिय सदस्य तथा पूर्व प्रदेश सांसद रामकिशोर यादव, जिल्ला अध्यक्ष श्यामा बिहारी यादव, प्रदेश सांसद शोभा साह लगायत नेता कार्यकर्ता लामबद्ध भएर फूलको मालासहितले स्वागत गरेका थिए । न्युज कारखाना

रौतहट, ८ फागुन ।

चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्ष कप नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

चन्द्रपुर वडा नम्बर ४ मा रहेको तुलसीलाल स्मृति रङ्गशालामा सो प्रतियोगिता आयोजना हुन लागेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको चन्द्रपुर ४ का वडा अध्यक्ष रवि रानामगरले जानकारी दिएका छन् ।

 

चन्द्रपुर नगरपालिकाका १० वटै वडाका फुटबल टिमको सहभागितामा यही फागुन १८ गतेदेखि २८ गतेसम्म सो प्रतियोगिता आयोजना हुनेछ । वडामा रहेका विभिन्न खेलको विकासलाई मध्यनजर गर्दै वडाले विभिन्न खेलकुद प्रतियोगितामा सहयोग गर्दै आएको वडा अध्यक्ष मगरको भनाइ रहेको छ ।न्युज कारखाना

 

रौतहट, ८ फागुन। 

 

भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणी क्षेत्र ईशनाथ नगरपालिकामा चार दिनको प्रहरीको प्रयासपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यू भने यथावत रहेको छ। उक्त विषयलाई लिएर सोमबार वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ।

पर्साका सिडियो दिनेश सागर भुसालका अनुसार वीरगञ्जमा नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको छ।

वीरगञ्ज महानगरको पावरहाउस, मूर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरियालगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए।

ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपरान्ह कर्फ्यू अवधिभित्रै विसर्जन गरिएको छ। मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको सक्रियतामा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।

साविक स्थान घिउरा गाउँको उत्तरपट्टी विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्। तर, गत शनिबार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू भने हालसम्म यथावत रहेको छ। त्यसैगरी उक्त क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न ५०० नेपाल प्रहरी र २०० सशस्त्र गरी परिचालन गरिएको ७०० प्रहरी हालसम्म फिर्ता भएका छैनन्।

ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने स्थानीय प्रशासनको रोहवरमा गत सनिबार दुई पक्षीय सहमति भएको थियो।

सहमती अनुसार  मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा कैयौं मानिस घाइते भएपछि स्थिति नियन्तरणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सोहिदिन साँझ ५ बजेदेखि लागू हुनेगरी वडा ६ र ७ मा कर्फ्यू आदेश जारी गरेका थिए। कर्फ्यू अवधिमै उश्रृंखल गतिविधि भएपछि भोलिपल्ट आइतबारदेखि कर्फ्यू क्षेत्र फराकिलो बनाएको थियो।

सिडिओ रेग्मीले एक सूचना जारिगर्दै ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मासमेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र जारिभएको कर्फ्यू हालसम्म यथावत छ।

मधेश प्रदेश नेपाल प्रहरी संगठन प्रमुख डिआईजी पोखरेलका अनुसार ईशनाथको ठूलो विवाद मूर्ति बिसर्जन गर्ने काम भएको छ। हाल अवस्था सामान्य हुँदै गएको छ। पूर्ण रुपमा सामान्य भएपछि क्रमसः त्यहाँ तैनाथ प्रहरी फिर्ता बोलाइने उनले जानकारी दिए। त्यहाँ केन्द्रित भएका नेपाल प्रहरीका डिआइजी पोखरेल, सशस्त्र प्रहरीका डिआईजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसंधानका डिआइजी सञ्जय यादव तीन दिनपछि सोमबार साँझ फर्किसकेका छन्।न्युज कारखाना

क्षितिज विश्वकर्मा, फागुन, ८ लालबन्दी ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० ताइवान टोलमा रहेको बिलिभर्स इस्टर्न चर्च भवनको सोमबार एक कार्यक्रमका बिच सिलान्यास गरिएको छ ।

हरिवन नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको बिलिभर्स इस्टर्न चर्चको सर्लाही जिल्ला क्षेत्र नम्बर ३ क, बाट निर्बाचित माननीय जवाहरलाल कुशवाहा तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले संयुक्त रुपमा सिलान्यास गरेका हुन ।

ताइवान टोलमा बन्न लागेको बिलिभर्स इस्टर्न चर्चको सिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद जवाहरलाल कुशवाहाले चर्चको सफलता कामना गर्नुका साथै सबै धर्म र आस्थालाई आफुले समान ढंगबाट आदर गर्ने बताएका आयोजक बिलिभर इस्टर्न चर्च हरिवनका पास्टर बिष्णु राइले जानकारी दिए ।

कार्यक्रममा बिलिभर्स इस्टर्न चर्चका रौतहट जिल्ला परिषदका अध्यक्ष फादर महेन्द्र प्रसाद चौधरी लगायत सर्लाही जिल्ला भरिका चर्च फादरहरुको सहभागिता रहेको थियो ।

क्षितिज विश्वकर्मा, फागुन, ८ लालबन्दी ।

उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा हुन लागेको प्रथम लालबन्दी महोत्सव २०८० को उद्घाटन मधेश प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले गर्ने भएकी छिन ।

आईतबार संघका अध्यक्ष दिपेन्द्र बलम्पाकीले निवर्तमान अध्यक्ष कल्याण जोशि, सल्लाहकार गोपाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदिप दत्त, प्रदेश सांसद बेची लुंगेलीसहित मन्त्रालय पुगेर मन्त्री यादवलाई प्रमुख अतिथीको निमन्त्रणा दिएका हुन । महोत्सवमा मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने पनि आउने संघका अध्यक्ष बलम्पाकीले जानकारी दिए ।

संघले कोरोनाकाल पछि सुस्ताएको लालबन्दी बजारको अवस्था परिवर्तनका लागी आर्थिक चहलपहल बढाउन, लालबन्दी विकास र परिचयको लागी यहि फागुन १० देखि १९ गतेसम्म प्रथम लालबन्दी महोत्सव २०८० को आयोजना गर्न लागेको हो । वडा नम्बर ६ स्थित राधाकृष्ण खेलमैदान हुन लागेको महोत्सवको नारा ‘कृषि, पर्यटन, व्यापार, स्वरोजगार, आत्मनिर्भरताको आधार’ भन्ने रहेको छ ।

औद्योगिक शान्ती नेपाल र संयुक्त नेपाल मेला महोत्सव ग्रुप को व्यवस्थापनमा हुने महोत्सवमा अहिलेका चर्चित कलाकारहरु करिव ८० जनाले आफ्नो प्रस्तुति दिनेछन । आफुहरुको १५ बर्षे अनुभवलाई लालबन्दी महोत्सवमा लगाउने र सफल रुपमा महोत्सव संचालन गर्न हरतरहको प्रयास गर्ने औद्योगीक शान्ति नेपालका महासचिव शंकर गुरुङले बताए । करिब ७१ लाख लगत अनुमान गरिएको महोत्सवमा झण्डै ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । आयोजकले महोत्सव अवलोकन गर्न आउने शारीरिक अशक्त र ज्येष्ठ नागरिक लाई प्रवेश शुल्क नलिने, विद्यार्थीलाई ५० रुपैँया मात्रै र सर्वसाधारणलाई ७० रुपैँयाको टिकट शुल्क निर्धारण गरेको छ ।

महोत्सवको लालबन्दी नगरपालिका संरक्षक, नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र उद्योग वाणिज्य महासंघ मधेस प्रदेश सहयोगीान रहेका आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।