बारा, २२ फागुन ।
बारा प्रहरीले हुण्डी कारोवारमा संलग्न रहेका पाँच जनालाई एकाईस लाखसहित पक्राउ गरेको छ ।
प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ गरेको थियो ।
प्रहरीले भारत विहार राज्य मोतिहारी जिल्ला थाना हरपुर पंचायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रंजित सरार्फ सहित कलैया उपमहानगरपालिका-४ स्थितमा मनि चेन्जर संचालकसमेत रहेका कलैया उपमहानगरपालिका ७ बस्ने ३१ वर्षीय कलामुदिन अंसारी र अर्का मनि चेन्जरका संचालक बारा महागढीमाई नगरपालिका १ घर भएका ३९ वर्षीय मेराजुल हक अंसारीलाई पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका- १ स्थित छत्वा कलयाणपुर सुलिगेटबा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाईकलकम सवार भारत राज्य बिहार मोतिहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्ण लाल प्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रबि शंकर सिंहलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुबाट सोह्र लाख नौ हजार रूपैयासमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरोश काफ्ले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई अनुसनधान गर्ने क्रममा उनीहरुबाट कुनै पनि बैंकको इजाजत नभएको पाईएपछि प्रहरीले हुण्डी कारोबार हुन सक्ने भन्दै अनुसनधान गर्दा सुरु गर्याे ।

त्यसपछि प्रहरीले गरेको अनुसनधानमा मलेसियामा रहेका नेपालीहरुले मासिक तलब त्यहाँबाट भारत हुदैँ नेपाल भित्रिएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्ले जानकारी दिए । उनका अनुसार हुण्डी कारोबारबाट पक्राउ परेकाहरुले करैडोको कारबार भएको समेत देखिएको समेत बताएको छ ।
पक्राउ परेकाहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसनधान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।न्युज करखाना
बारा, २२ फागुन ।
निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक साता अगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ ।

प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका २ स्थित न्यु शिव स्क्र्यापका संचालक सर्लाही चक्रघट्टा गाउँपालिका १ निवासी वर्षीय ४१ शिवशंकर साह र कवाडी सङ्कलन सर्लाही ईश्वरपुर नगरपालिका- ७ निवासि ४६ वर्षीय बिल्टु महत्वलाई प्रहरीले पक्राउ गरेको हो ।
यो संगै पक्राउ पर्नेको सख्या पाँच पुगेको छ । प्रहरीले यसअगि निजगढ ९ मा कवाडी संचालन गरि बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश जैसवाल, कवाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रक चालक निजगढ नगरपालिका–९ स्याक्तान टोलका ४२ वर्षिय बासु तामाङ्ग र सोही ठाँउका सहचालक २५ वर्षिय टिकाराम पाख्रिन पक्राउ परेका थिए ।

उनीहरुलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ । ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते छन । निजगढ नगरपालिका– ९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो ।

यसैबिच, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अनुरोधमा वीरगञ्जस्थित बयोधा अस्पतालले उपचारमा भएको खर्च रकममा छुट्ट दिएको छ ।

उपचारको क्रममा भएको खर्च रकम आफन्तले बुझाउन नसकेपछि अस्पताल प्रशासनले उनीहरुलाई छुट्ट दिएको बयोधा अस्पतालका प्रशासक बिष्णु पटेलले जानकारी दिए । न्युज करखाना
सर्लाही, २१ फागुन ।
जनप्रतिनिधि कै तालाबन्दीका कारण सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिकाको कामकाज २१ दिनदेखि ठप्प बनेको छ ।
तीन सातादेखि गाउँपालिका कार्यालयमा तालाबन्दी जारी रहँदा सेवाग्राही मारमा परेका छन् । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गत आर्थिक वर्ष २०७९÷०८० को आय–व्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरुको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेश्की र बेरुजु फछ्र्यौट गर्नुपर्नेलगायतका माग आन्दोलित जनप्रतिनिधिको छ ।
पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका वडाध्यक्ष राकेश रामले आफूहरुले यी माग राखेर तालाबन्दी गरेको तिन साता बितिसक्दा पनि छलफलबाट समस्याको निकास निकाल्न कुनै पहल नभएको बताए । “प्रमुख प्रशासकीय अधिकृतले हामीले मागेका यि सूचना कार्यालयको गोपनियतासँग जोडिएको भन्दै दिन मिल्दैन भनिरहनु भएको छ, जनप्रतिनिधिलाई नै सूचना दिँदा गोपनियता कसरी भङ्ग हुन्छ ?” वडाध्यक्ष रामले भने, “जबसम्म हाम्रो माग सम्वोधन हुँदैन तबसम्म हामी ताल्चा खोल्ने पक्षमा छैनौँ ।”
वडाध्यक्ष रामका अनुसार सुरुमा कार्यपालिका बैठकबाटै १९ बुँदे माग पूरा गर्ने र बहुमत जनप्रतिनिधिले मागेको सूचना उपलब्ध गराउने निर्णय भएपनि पछि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको निर्णयबाट पछि हटे पछि समस्या भएको हो ।
पर्सा गाउँपालिकामा १५ जनाको कार्यपालिका सदस्य रहेको छ । त्यसमध्ये चार जना वडाध्यक्ष र चार जना सदस्यसहित आफूहरु बहुमद सदस्यले १९ बुँदे माग राखेर गाउँपालिकामा तालाबन्दी गरेको पर्सा गाउँपालिका–४, जिङ्गडवाका वडाध्यक्ष सुवोध राय यादवले बताए । कार्यालयको मुलगेटमै तालाबन्दी भएपछि कर्मचारी २१ दिनदेखि कार्यालयमा आएका छैनन् ।
लगातार २१ दिनको बन्दले पालिकाबाट हुने सबै काम ठप्प भएको स्थानिय चन्दन कुमार मिश्राले बताए । आन्दोलित पक्षबाट गाउँपालिकामा कार्यरत वन प्राविधिक राजेशप्रसाद यादव, प्रशासन, योजना तथा जिन्सी शाखाका नायब सुब्बा उपेन्द्र राय यादव र सूचना तथा संचार प्रविधि अधिकृत विमलेश रायलाई हटाउनुपर्ने माग अघि सारिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवले सङ्घीय सरकार मातहतका कर्मचारी गाउँपालिकाले हटाउन नसक्ने बताए ।
उनले जनप्रतिनिधिले मागेका सूचना प्रदान गर्न र कर्मचारीमा रहेका कमी कमजोरी सुधार गर्न आफू तयार नै रहेको बताए । गाउँपालिका कार्यालय बन्द रहे पनि वडा कार्यालय र मातहतका अन्य कार्यालय भने नियमित सञ्चालन भइरहेका छन् ।न्युज करखाना
प्रदिप कुमार दास ,राैतहट, फाल्गुन २१ गते ।
राैतहटकाे गुजरा नगरपालिकाको आयोजना तथा ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि) काे आर्थिक एवं प्राविधिक सहयोगमा नगरपालिकाको कृषि विकास रणनीति र कार्ययोजना तर्जुमा विषयक परामर्शदायी बहुसरोकारवालाहरुसँग गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।

साेमबार राैतहटकाे चन्द्रनिगाहपुर स्थित होटेल हिमालयनकाे सभाहलमा ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि) काे आर्थिक तथा प्राविधिक सहयोगमा नगरपालिकाकाे कृषि विकास रणनीति र कार्ययोजना तर्जुमा विषयक परामर्शदायी बहुसराेकारवालाहरुसँग एकदिने गाेष्ठी कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा गुजरा नगरपलिकाका नगर प्रमुख सन्तलाल चाैधरीले मन्तव्य राख्दै आजको यस कार्यक्रमले हाम्रो आँखा खाेल्दिएकाे छ ।

कि हामीलाई कृषि आवश्यकता अनुसार बजेट वियाेजन गर्नै पर्छ । विगतमा पनि कृषि बजेट वियाेजन गरेकै थिए । तर जति गर्नुपर्ने थियोे त्यति भएको थिएन ।

अब हामीले कृषिलाई पहिलो प्राथमिकता राखेर बजेट वियाेजन गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभयाे । उनले स्वागत मन्तव्यको क्रममा पाँच वर्षीय योजना कसरि अगाडी बढाउने भन्ने कुराको उठान गरेका थिए । कृषि क्षेत्रमा राम्रो काम गर्ने किसानहरुको लागि सेवा सुविधाहरुमा एक जुट भएर लाग्नु पर्नेमा उहाँले जाेड दिए ।

कार्यक्रममा परामर्श दाता महेन्द्र पौडेलले आफ्नो प्रस्तुतीकरण दिएका थिए । जसमा उनले भने, “कृषिमा राम्रो लगानी लगाउनुपर्छ ।

सरकारले कम्तिमा बजेटको १०% ले लगानी लगाउनुपर्ने थियो तर हाम्रो देशमा जम्मा २.५% मात्र कृषिमा लगानी लगाईएकोले कृषिमा समृद्धि नभएको हो ।

हामी सँग अथाह ज्ञान र स्रोत छ । त्यसलाई सदुपयोग कसरि गर्ने, योजना कसरि बनाउने, तर्जुमा कसरि गर्ने लगायतका सन्दर्भमा क्रियाकलापको अवश्यकता छ ।”

कर्यक्रममा नगरप्रमुख सन्तलाल चाैधरी, उप-प्रमुख रत्न लामा, प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, समृद्धि योजनाका इटहरीका प्रतिनिधिहरु तथा परामर्शदाता, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रतिनिधिहरु, विभिन्न बैंकका प्रतिनिधिहरु लगायत कृषि सम्बन्धि विभागीय प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

रौतहट २१ फागुन।
रौतहट क्रिकेट संघले जिल्ला स्तरको क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी गरिरहेको आरोप लागेको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले क्रिकेट संघ रौतहटले खेलाडी छनौटको नाउँमा ठगी धन्दा सुरुगरेको आरोप लगाएका छन्।
गृह नगर रौतहटको मौलापुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले गौरका केही जनप्रतिनिधिको छोरा भतिजाहरुले गौरमा क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी धन्दा सुरु गरेको आराेप लगाएका हुन्।

‘नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रतियोगिता हुने भए नेपाल सरकारले सम्पूर्ण व्यवस्था गर्छ, होईन भने आफ्नै मनले गरिएको प्रतियोगिता ठगीबाहेक अरु केही हुन सक्दैन’ उनले भने ।
खेलाडी छनौटको नाउँमा प्रत्येक पालिका, बिभिन्न संघ संस्था र व्यापारीहरुबाट पैसा संकलन गरी खेलाडी छनौटको नाउँमा उनीहरुले गरिखाने भाँडो बनाएको पूर्व मन्त्री प्रभु साहको दाबी छ। यदी खेलाडी छनौट गर्ने राष्ट्रिय कार्यक्रम हो भने त्यो अन्य जिल्लामा पनि हुन्थ्यो तर रौतहटमा मात्र किन त्यो पनि चन्दा उठाएर उनले प्रश्न गरे ।
एउटा जनकपुर उप महानगरपालिकाले प्रदेश स्तरको टुर्नामेन्ट गराउन सक्ने तर पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,गौर नगर प्रमुख शम्भु साह, जिल्ला समन्वय समिति सभापति राम अयोध्या यादव एउटा जिल्ला स्तरको क्रिकेट टुर्नामेन्ट प्रतियोगिता गराउन नसक्ने नेता साहकाे प्रश्न छ ।
‘खेलकुद मन्त्रालयमा बर्षको कम्तीमा १० अर्ब रुपैयाँ बजेट बिनियोजन हुने गर्दछ , त्यो हिसाबले एउटा जिल्लामा करोडौं रुपैयाँ आउनुपर्ने हो तर रौतहटमा खेलकुद मंत्रालय अथवा क्यानबाट कहिलै रकम आएको सुन्नु भएको छ, अर्थात हामीसंँग बेईमानी हुँदै आएको छ,’ उनले भने ।
क्रिकेट संघ रौतहट जिल्लाको १७ पालिकाबाट तीन तीन लाख रुपैयाँ चन्दा लिएर खेलाडी छनौट गर्ने भन्दै आगामी २६ गतेदेखि गौरमा जिल्लास्तरीय क्रिकेट टुर्नामेन्टको आयोजना गर्दैछ।
मौलापुर नगरपालिकाले भने चन्दा सहयोग दिएको छैन। संघीय संसद प्रभु साहले स्थानीय निकाय नहुँदा आफूले व्यक्तिगत लगानीमा मौलापुरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा, नाच प्रतियोगिता र अहिले मौलापुर नगरपालिकाले एक्लो लगानीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गर्दै छ।
तर, सदरमुकाममा जिल्ला स्तरको क्रिकेट प्रतियोगितामा गर्न सबै स्थानिय तह, संघसंस्था ब्यापारी बाट पैसा उठाउन ठगौतिको अलावा केही हुननसक्ने पूर्व मन्त्री प्रभु साहले दाबी गरेका छन्। पछिल्लो समय रौतहटको अधिकांश स्थानीय तहले मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरी लाखौँ कुम्ल्याउने गरेको आरोप लाग्दै आएको छ।न्युज कारखाना
रौतहट, २१ फागुन।
आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । दुई दशकअघि उत्खननबाट निस्किएको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अध्यक्ष साहले सरकारसँग आग्रह गरेका हुन्।
सोमबार बिहान हाल जारी रहेको उत्खननको स्थलगत अनुगमन निरीक्षण पश्चात अध्यक्ष साहले त्यस्तो आग्रह गरेका हुन् । मौलापुरमा जारी पुरातात्विक उत्खननबाट दुनियाँलाई चकित पार्ने तथ्यहरु बाहिर आइरहेको उनले बताएका छन्।

उनले भने, ‘पुरातत्वविदका अनुसार यो नेपालमै अहिलेसम्म भेटिएको सबभन्दा पुरानो अवशेष हो । यस्तो अवशेष दुनियाँमा बिरलै पाइन्छ । यो कति पुरानो हो ? फोटोबाटै बुझन सक्नुहुन्छ । यो हाम्रो पुस्ताका लागि अनुपम उपहार हो । यसको संरक्षण र पुनर्निर्माण गर्न तथा यस पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपाल सरकारसँग विशेष अनुरोध गर्दछु ।’
यसअघि मौलापुर नगरपालिका पतौरास्थित पुरातात्विक महादेव मन्दिर गुप्तकालको रहेको जिकिर सुरु भएको थियो। उत्खननपछि नेपालसँगै बेलायतका पुरातत्व बिदहरुले कर्नाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको दाबी सुरु भएको हो।
भारत बिहार सरकारका अवकास प्राप्त एकजना पुरातत्वविद विधा चौधरीले मन्दिर तथा अन्य संरचनालाई चौथो शताब्दी अर्थात दुई हजार वर्ष अघिको गुतकालको भएको दाबी गरेका थिए। केही महिनाअघि उनी मौलापुर पतौरास्थित पुरातात्विक मन्दिर र मन्दिर छेउ उत्खनन भइरहेको स्थानबाट निस्किरहेको इँटालाई गुप्तकालको भएको दाबी गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।

चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरुको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए। यसैबीच पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मन्दिर छेउ भईरहेको उत्खननको स्थलगत निरीक्षणपछि त्यसको विस्तृत अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका थिए।
नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला एक जना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटेका थिए ।
सोही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरीएको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिका लागि विभिन्न पुरातत्त्वविदसँग समन्वय गरी अध्ययन सुरू गरेको थियो । करिब डेढ वर्षमा वरिष्ठ पुरातत्त्वविद् स्वर्गिय तारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको थियो।

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको थियो । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो हुन सक्ने पुरातत्वविदहरुको अनुमान रहेको छ । पूर्व मन्त्री प्रभु साहको पहलमा पतौरा महादेव मन्दिरको बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन गरेको थियो। जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन गरेका थिए ।
२०७६ सालमा पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्वबिदहरुले अध्ययन गरेका थिए। मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्त्विक अध्ययन गर्न थालिएको थियो । बेलायती पुरातत्वविदले जमीन मुनि देख्ने एक्सरे मेसिनको सहायताले मन्दिरको ५० मीटर उत्तर सम्म जमीन मुनि संरचना रहेको बताएपछि मौलापुर नगरपालिकाले दुईजना अवकास प्राप्त पुरातत्वविद राखेको छ। २०६७ सालादेखिनै नेपालका पुरातत्वविद देवनाथ तिवारी र अर्का अवकास प्राप्त कर्मचारी उत्खननमा नियमित खट्दै आएको मेयर रिना कुमारी साहले बताएकी छन्। तिवारीका अनुसार पछिल्लो उत्खनन पूरा हुन अझै केहीदिन लाग्ने बताएका छन। हाल उत्खनन भईरहेको स्थानमा जमिन मुनि चौथो सताब्दीको ईट प्रयोग गरिएको पर्खाल र ढोकाको स्वरूप देखिएको छ। उत्खनन सकिएपछि पूर्ण रूपमा यकिन हुने उनको ठम्याई रहेको छ।
बिगतमा कर्नाटकालिन, सेनकालीन र हाल गुप्तकालिन भनिएको पुरातात्विक महादेव मन्दिर लाई नेपाल सरकारले १०० गन्तब्यको सूचीमा समावेस गरेको थियो। सोही मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनु मौलापुर नगरपालिकाले २०७६ सालदेखि प्रत्येक बर्ष महाशिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ।
यसपटक पनि यही २२ गतेदेखि मधानी महोत्सव आयोजना गरिएको छ। महोत्सवमा बलिउड अभिनेता गोबिन्दादेखि नेपाली नायक पल शाह लगायत नेपाल र भारतका ३० जना कलाकारको प्रस्तुती हुने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।
चार दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाईने महोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता हुने आयोजनक मौलापुर नगरपालिकाले जनाएको छ । फागुन २३ गते ३ बजे शिव बारात यात्रा, २४ गते ११ बजे मधानी बिशेष पुजा, २५ गते सांस्कृतिक बिशेष कार्यक्रम र २६ गते अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता राखिएको छ । जहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय पुजारी, खेलाडी, कलाकार लगायतको बिशेष सहभागिता हुँदै छ ।न्युज करखाना ा
महाेतरी, २० फागुन ।
महोत्तरीको रातु खोलामा भएको अवैध उत्त्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिवासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ ।
निवेदकहरुले पेश गरेको प्रमाणलाई आधार वनाएर आज सर्वोच्च अदालतले उत्त्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिबक्ताहरू पदम बहादुर श्रेष्ठ, राजु फुयाल, सुधनराज आचार्य , बिष्णु कुमार थोकर र सुदिप कुमार भुजेलले गरेको बहसमा न्यायाधिश आनन्दमोहन भट्टराईको इजलासले रातु नदीमा भएको उत्त्खननलाई अवैध भएको ठहर सहित तत्काल रोक्न आदेश जारी गर्दै १९ चैत्रमा विपक्षीहरुलाई छलफलमा सहभागी हुन आग्रह गरेको छ ।
पर्यावरणलाई असर वनाउनेगरी मापदण्डको समेत धज्जी उडाएको भन्दै बर्दिवासका स्थानीय शंकर महतो, श्याम खडका, चेत कुमार थापा, परशुराम बस्नेत, निरज अधिकारी, रामजतन महतो र बिमलेश महतोले १७ फाल्गुनमा रिट दायर गरेका थिए ।
रिट निवेदकहरुले पेश गरेको प्रमाणलाई हेर्दा आईई रिपोर्ट र मापदण्डलाई अनुसरण नगरेको अदालतको निष्कर्ष छ ।
स्वच्छ र स्वस्थ वातावरण, स्वस्थ जिवन र मानवअधिकारको आधार रहेको सन्दर्भमा नदीजन्य पदार्थको अनियन्त्रित दोहन हुदा वातावारनिय हानि हुन जाने र मानवअधिकारमा पार्ने प्रतिकुल असर र हालको दोहानवाट उक्त नदीमा क्षति पुग्न गएको अवस्थालाई दृष्टिगत गरी यस्तो कार्य तत्काल रोक्न आवस्यक देखिएकाले अन्तरिम आदेश जारी गर्नुपरेको अदालतले जनाएको छ ।
निवेदकको तर्फवाट बहस गर्ने अधिबक्ता पदम बहादुर श्रेष्ठले अदालतले आदेश जारी गरेसँगै उत्त्खनन तत्काल रोक्नुपर्ने वताए । ‘आजैवाट सर्वोच्च अदालतको आदेश कार्यान्वन हुने हुदा जस्ले उत्त्खनन गरेतापनि तुरुन्त बन्द गर्नुपर्छ ।’ उनले भने । ‘बर्दिवास लगायत नदीको तटिय क्षेत्रमा बस्ने मानिसहरुको लागी सर्वोच्चवाट ठुलो न्याय भएको छ ।’
उत्त्खनन, विक्रिवितरण र ओसारपसार आजैदेखि बन्द नगरे अदालतको मानहानि समेत हुन् सक्ने अधिबक्ता श्रेष्ठको भनाई छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महोतरी जिल्ला समन्वय समिति, महोतरी, बर्दिबास नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयको कार्यालय महोतरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश, देव विष्णु कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.,राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स प्रा.लि.दोलखा जिल्ला भिमेश्वर नगरपालिका र राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति सातादोवाटो ललितपुरलाई विपक्षी बनाइएको थियो ।न्युज कारखाना
काठमाडाैं, २० फागुन।
संघीय संसद किरन कुमार साहले काठमाडाै महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडाैँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन।
काठमाडाैंस्थित कवाड व्यवसायीहरुको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले कवाडीहरुमाथि गरेका ज्यादती विरुद्ध आइतबार कवाड व्यवसायीहरुले दोश्रो दिन सड़क प्रदर्शन गरेका छन् ।
महानगरको हस्तक्षेविरुद्ध गरिएकाे प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिनारोकताेक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकारसंँग माग पनि गरे ।

उनले बालेनले गरेको हर्कत बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । बालेनको पछिल्लो कदम तानाशाही भएको भन्दै उनले भर्त्सनासमेत गरे । उनले एमाले साथमा रहेको भन्दै सडकदेखि सदनसम्म कवाड व्यवसायीको पक्षमा जोडदार आवाज उठाउने बताए ।
‘कवाड व्यवसायीहरु बर्षौंदेखी काठमाडौमा रहेर व्यापार गर्दै आएका छन् । तर, महानगर प्रमुख बालेन अदालत र नेपालको कानुनभन्दा माथि छैनन्, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तपाईंहरुको साथमा छ,’ उनले भने, ‘बालेनजी तपाईं जुन उद्योगी, ब्यवसायी, श्रमजीवीको अधिकार खोस्न लागि पर्नु भएको छ। कहीं तपाइँलाई काठमाडाैँ छोड्न नपरोस्।’
कवाड व्यवसायीको माग बालेनले नभएर काठमाडौं महागरपालिकाकाले सम्बोधन गर्नुपर्ने उनकाेे भनाइ छ । सांसद किरण कुमार साहले काठमाडौंलाई सुन्दर सफा र स्वच्छ बनाउन कवाड व्यवसायीको ठूलो भूमिका रहेको चर्चा गर्दै उपत्यकाबाट दैनिक ७० ट्रक कवाड बाहिर जाने गरेको बताए ।
आमजनता पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहले पनि कवाड व्यवसायीको अधिकारको लागि आवाज उठाए ।
काठमाडौं महानगरालिकाकाले कवाडी हरुलाई व्यवसाय बन्द गर्न सूचना जारी गरेपछि उनीहरु आन्दोलित भएका छन्। कावाडीहरुको आन्दोलनलाई आमजनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले समर्थन जनाएका छन्।न्युज कारखाना
जकपुरधाम, २० फागुन ।
विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो भने अन्य चारजना महिला घाइते छन् । घाइतेहरुको जनकपुरमा उपचार भइरहेको छ ।
विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेका महिलाहरुलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएर कुल्चिएको थियो । दुर्घटनापछि स्थानीयले टायर बालेर जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेर विरोधमा उत्रिएका हुन् । उनीहरुले सडकमा बिजुली पोलसमेत तेर्साएर विरोधमा उत्रिएका हुन् ।
ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्जसमेत गरेको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । न्युज कारखाना
रौतहट २० फागुन ।
रौतहटको कटहरिया नगरपालिकाका अधिकांश निर्वाचित जनप्रतिनिधि बजेटको राजनीतिमा लागेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका छन् ।
दिनभरि नै सवारीसाधनको आवागमन जारी रहने कटहरिया बजारको मूल बाटोमा नाला निर्माण गर्न खनिएको खाडल एक महिनापछि पुरिँदा पनि नाला निर्माण हुन नसकेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका हुन् ।
कटहरिया–५ गाउँदेखि निर्माण हुँदै आएको नाला स्थानीय किराना व्यवसायी सुरेन्द्र साहको पसल अगाडिबाट बढ्न सकेको छैन । वडा अध्यक्ष सर्फलाल गुप्ताको नेतृत्वमा साहको पसलअगाडि नाला निर्माण गर्न एक महिनाअगाडि पेटी ठेकेदार उपेन्द्र बैठाले खाडल खनेर तल ढलान गरी फलामे छडसमेत प्रयोग गरेका थिए। तर, पछि वडा अध्यक्ष गुप्ताले उक्त स्थानमा ३६ फिट चौडाई हुनुपर्छ अहिले ३१ फिट मात्र छ भनेर निर्माण रोक्का गरेका छन्।
व्यवसायी सुरेन्द्र साह र सामुने घर भएका शिवशंकर साहले आ–आफ्नो नम्बरी जग्गा हाल रहेको बाटोमा ८÷१० फिट पर्ने दाबी गर्दै आएका छन् । सुरेन्द्र साहले जग्गा थोरै खरिद गरी नक्सा बढी बनाउन नापी कार्यालय मौलापुरमा यकीन गरेपछि मात्र नाला निर्माण गर्ने वडा अध्यक्ष गुप्ताले अडान राखेका छन्।
सामुने घर भएका शिवशंकर साहले भने ५!६ फिटको हाराहारीमा आफ्नो पक्की घर भत्काई सकेको बताउँछन्। तर एकमहिना बित्दा पनि वडा अध्यक्ष गुप्ताले सुरेन्द्र साहको जग्गा बारे बास्तविक यकिन गर्न सकेनन्।
उता थोक तथा खुद्रा किराना ब्यवसायी सुरेन्द्र साहको पसलमा दर्जनौं सवारी साधन तथा सयौं ग्राहक दैनिक आवत जावत गर्ने गर्दछन्।
पसलअगाडि खनिएको खाडलमा खसेर कयौंलाई चोटपटकसमेत लागेको उनले पटक पटक गुनासो गर्दै आएको भए पनि समयमा नाला निर्माण हुन सकेन । यसरी महिनौंसम्म पसलअगाडि खनिएको खाडलमा दुर्घटना हुन थालेपछि केहीदिन अगाडि बाध्य भएर सुरेन्द्र साहले नाला निर्माण नहुँदै खाडलमा माटो पुरेका छन् । पेटी ठेकदार बैठाले पनि बाध्य भएर फलामे छडहरु काटेर लागेका छन ।
किराना व्यासायी साहले पसलअगाडि महिनौंसम्म रहेको खाडलको कारण ग्राहक नआएर लाखौँ रुपैयाँ क्षति भएको बताउँछन्। त्यसैगरी पेटी ठेकेदार उपेन्द्र बैठाले पनि खाडल खनेर ढलान भएको र फलामे छड समेत प्रयोग भएर नाला निर्माण नहुँदा आफूलाई पनि लाखौंको क्षति भएको गुनासो गरिरहेका छन्।
कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले सुरेन्द्र साहको जग्गाबारे बास्तविक यकीन गर्न नापी कार्यालय मौलापुरले ढिलो गरेको कारण समस्या भएको दोह्रयाएका छन्।
कटहरिया नगरपालिकाका निर्वाचित जनप्रतिनिधि बजेट केन्द्रित भएको कारण जनसरोकारको कामहरूमा ढिलाई भएको स्थानीय जानकारहरुले गुनासो गरेका छन।
आश्रय निर्माण सेवाले कटहरिया ४ र ५ मा खानेपानीसँगै ढल तथा नाला निर्माणको ठेक्का लिएको छ । करोडौंको ठेक्काको काम आश्रयले आफैले नगरी साना साना पेटी ठेकदारमार्फत गरिएको कारण पनि भौतिक पूर्वाधार निर्माण समयमा नहुने तथा गुणस्तरमाथि प्रश्न चिह्न उठिरहेको छ।न्युज कारखाना