महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २५० परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् । नापी कार्यालय महोत्तरीले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको नापजाँच कार्य २०६९-७० सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन । अहिले प्रक्रिया अघि बढाउँदै अहिले २५० थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् ।
लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ । त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,
असोज २० गते
रौतहट । रौतहटका अतिरिक्त हुलाक कर्मचारीले लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्नुपरेको भन्दै श्रमअनुसारको सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
उनीहरूका अनुसार अहिले बिहान ९ देखि साँझ ५ बजेसम्म कार्यालयमा काम गर्नुपर्ने भए पनि मासिक ७ हजारदेखि ८ हजार रुपैयाँ हाराहारी मात्रै पारिश्रमिक पाउने गरेका छन्। यसले दैनिक खर्च चलाउनसमेत कठिन भएको कर्मचारीहरूको गुनासो छ।

फतुवा विजयपुर नगरपालिका–२ दुधियास्थित इलाका हुलाक कार्यालयका अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक आनन्द पौडेलले आफू २० वर्षदेखि सेवामा रहे पनि पारिश्रमिक र सेवा–सुविधामा अपेक्षित सुधार नभएको बताए।
मिठुअबा अतिरिक्त हुलाककी पत्रवितरक बिमला देवीले १२ वर्षदेखि काम गरे पनि ७ हजार २ सय रुपैयाँको पारिश्रमिकले परिवार धान्न मुस्किल भएको बताइन्।

कर्मचारीहरूले पोसाक तथा आवश्यक सामग्री जुटाउनसमेत समस्या रहेको जनाएका छन्। आफूहरूलाई बेवास्ता गर्दै विभिन्न स्थानीय तहमा करार कर्मचारी राख्दा राज्यको खर्च बढेको उनीहरूको भनाइ छ।
काम गर्ने समय बढे पनि पारिश्रमिकमा सुधार नभएको भन्दै अतिरिक्त हुलाक कर्मचारीले उचित पारिश्रमिक र सेवा–सुविधाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। रामआधार यादव
रौतहट,असोज,१६ गते
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुलाई परेको छ । उनलाई १० लाख रुपैयाँको बम्पर पुरस्कार परेको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन् ।
साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो । पुरस्कारबारे जानकारी दिन आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उनलाई तत्काल फोन गरेर बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए ।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए । त्यसमध्ये नगद कारोबारबाट बिल लिएका २ लाख ४७ हजार ९७९ र अनलाइन तथा कार्डबाट भुक्तानी गरी खरिद गरिएका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार थिए ।
कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेता पनि छनोट गरिएको विभागले जनाएको छ । ती विजेताको कुपनसम्बन्धी विवरण सार्वजनिक गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी
रामअधार यादव, राैतहट,१५ गते असाेज ।
रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा अवस्थित श्री बाबा बैजुनाथ सुगर मिलले आर्थिक वर्ष २०८२/०८३ मा उखु क्रसिङ तथा सञ्चालन गरे पनि उखु बिक्री गरेका किसानहरूले हालसम्म आफ्नो रकम तथा नेपाल सरकारबाट प्राप्त हुने अनुदानसमेत नपाएको विषय प्रतिनिधिसभाको बैठकमा उठाइएको छ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धिरज पटेल (रविन्द्र) ले डुमरियास्थित श्री बाबा बैजुनाथ सुगर मिलमा उखु बिक्री गरेका किसानहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

उखु किसानहरूले उखु चलान गरेको करिब ९–१० महिना बितिसक्दा पनि आफ्नो उत्पादनको रकम नपाएको गुनासो गरेका छन्। उखु नगदे बालीका रूपमा खेती गरिने भए पनि उत्पादन बिक्री गरेपछि समयमै भुक्तानी नपाउँदा किसानहरू आर्थिक समस्यामा परेको उनीहरूको भनाइ छ।किसानहरूका अनुसार उखु चलान गर्ने समयमा सामान्यतः ७ देखि १५ दिनभित्र भुक्तानी गर्ने प्रक्रिया तथा प्रतिबद्धता रहने गरे पनि मिल सञ्चालन पक्षले सोअनुसार नियमित रूपमा रकम भुक्तानी नगरेको गुनासो छ। मिल सञ्चालन पक्षले आफूखुसी ढंगले भुक्तानी गर्दै आएको भन्दै किसानहरूले आपत्ति जनाएका छन्।

विशेषगरी हिन्दू धर्मावलम्बीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा समेत उखुको रकम भुक्तानी नहुँदा किसानहरू थप समस्यामा परेको बताएका छन्। चाडपर्वको समयमा घरायसी खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक खर्च जुटाउनुपर्ने अवस्थामा आफ्नो उत्पादनको रकम नपाउँदा आर्थिक भार बढेको किसानहरूको गुनासो छ।सांसद पटेलले किसानहरूले आफ्नो उत्पादनको रकमसँगै नेपाल सरकारबाट प्राप्त हुने अनुदानसमेत पाउन बाँकी रहेको उल्लेख गर्दै सम्बन्धित उद्योग तथा सरकारी निकायबीच आवश्यक समन्वय गरी किसानले पाउनुपर्ने सम्पूर्ण रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ।

उखु किसानहरूले आफूहरूले मेहनत गरेर उत्पादन गरेको उखुको रकम लामो समयसम्म रोकिँदा खेतीपाती तथा दैनिक जीवन सञ्चालनमा समेत कठिनाइ भइरहेको बताएका छन्। उनीहरूले चाडपर्वलाई समेत ध्यानमा राख्दै बाँकी रहेको उखुको रकम र सरकारले उपलब्ध गराउने अनुदान रकम यथाशीघ्र भुक्तानी गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।डुमरियास्थित बाबा बैजुनाथ सुगर मिलका उखु किसानको भुक्तानीको विषय प्रतिनिधिसभामै उठेपछि लामो समयदेखि रकमको प्रतीक्षामा रहेका किसानहरूले अब आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन्।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।
गौर नगरपालिका–अन्तर्गत बी.पी. चोकमा सञ्चालित फुलतारा डेरीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा गुणस्तर तथा नापतौल सम्बन्धी निकायको संयुक्त टोलीले छापा मारेको छ।

अनुगमनका क्रममा डेरीले सञ्चालन गर्दै आएको भान्सा तथा होटलमा बिक्रीका लागि राखिएका मिठाईलगायत विभिन्न खाद्य सामग्री गुणस्तरहीन अवस्थामा भेटिएको टोलीले जनाएको छ। त्यस्तै, मिठाई तथा खाद्य सामग्री तयार गर्ने भान्सा अत्यधिक फोहोर तथा दुर्गन्धित अवस्थामा रहेको पाइएको बताइएको छ।

खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएपछि सम्बन्धित निकायले फुलतारा डेरीलाई २ लाख रुपैयाँ जरिवाना गरेको जनाइएको छ।टोलीले जरिवानाबापतको रकम एक साताभित्र बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र जरिवाना रकम नबुझाए डेरीमा सिलबन्दी गर्ने चेतावनी समेत दिइएको बताइएको छ।

अनुगमन टोलीले खाद्य सामग्रीको गुणस्तर, भान्साको सरसफाइ तथा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा व्यवसायीहरूलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।
कटहरिया । कटहरिया फिडरअन्तर्गत जलैया पुलदेखि दुधीयाभारसम्मको क्षेत्रमा विद्युत लाइन आसपासका झाडी तथा बुस कटिङ (झाडी सफाइ) गर्ने कार्य हुने भएको छ ।
उक्त कार्यका कारण आज दिउँसो १ बजेदेखि ३:४५ बजेसम्म सो क्षेत्रको विद्युत आपूर्ति अनियमित हुन सक्ने नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रले जनाएको छ।
विद्युत लाइनको सुरक्षित सञ्चालन तथा सम्भावित अवरोध न्यूनीकरणका लागि बुस कटिङको काम गर्न लागिएको हो । निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत आपूर्ति पुनः नियमित गरिने जनाइएको छ।
सम्बन्धित क्षेत्रका विद्युत उपभोक्तालाई कार्य अवधिमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
बज्जिकाञ्चल संवाददाता असोज १३ गते
जनकपुरधाम । प्रसिद्ध ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थल जनकपुरधामको राम चोकमा रहेको गोपाल धर्मशाला एक शताब्दी अघि निर्माण भएको थियो । देश–विदेशबाट आएका तीर्थयात्रीले यो धर्मशाला सहज रूपमा प्रयोग गर्दै आएका छन् ।
जानकी मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकहरूलाई बासको व्यवस्था गर्न भन्दै १ सय वर्ष अघि यो धर्मशाला निर्माण गरिएको हो । अहिले पनि यो धर्मशालाले धार्मिक पर्यटकहरूलाई सेवा दिँदै आएको छ ।जनकपुरको जानकी मन्दिर १३० वर्ष अघि निर्माण भएको थियो । मन्दिर निर्माण पश्चात यहाँ आउने पर्यटक तथा भक्तालुहरूलाई रातको समयमा बस्न स्थानको अभाव देखेपछि भारतको कलकत्ता निवासी रामबहादुर, बलदेव दास र रामेश्वरजी नथानीले यो धर्मशाला विसं. १९८३ मा निर्माण गरेका थिए ।एक सय वर्ष पुरानो संरचना भएकाले यसको भौतिक पूर्वाधार केही जीर्ण देखिए पनि अहिलेसम्म सञ्चालन भइरहेको छ । एक शताब्दी यता यो धर्मशालाको भौतिक संरचनाले ९० सालको महाभूकम्प, त्यसपछिको अन्य सानातिना भूकम्पसँगै ०७२ सालमा गएको भूकम्प पनि यसले थेग्यो ।
२० वर्षदेखि यो धर्मशालाका प्रबन्धक भएर कार्य गर्दै आइरहेका राजकुमार झा भन्छन्, ‘ती भूकम्पहरूमा सामान्य कतै चिरा लागे पनि ठुलो क्षति भएको छैन । जानकी मन्दिरकै शैली र निर्माणमा प्रयोग भएको सामग्रीबाट पनि निर्माण भएकाले होला, त्यस्तो विनाशकारी भूकम्पमा खासै केही भएन ।’
प्रबन्धक झाका बुवा काशीनाथले पनि प्रबन्धक भएर यो धर्मशालाको व्यवस्थापनमा ४० वर्ष कार्य गरेका छन् । प्रबन्धक राजकुमारले भने, ‘बुवा कार्यरत रहँदा यहाँको एउटा कोठा ३० देखि ३५ रुपैँयामा पाइन्थ्यो । त्यतिबेला जनकपुरमा अहिलेको जस्तो सुविधा सम्पन्न होटल, लजहरू नहुँदा यहाँ आउने अधिकांश पर्यटकहरूको बासस्थान नै यही धर्मशाला बन्ने गर्दथ्यो ।’
अहिले नगरभित्रमात्र नभएर ग्रामीण क्षेत्रमा समेत होटल तथा लज सञ्चालनमा आएसँगै यहाँ खासै पर्यटक नआउने उनले बताए ।
करिब ३ बिघा क्षेत्रफलमा फैलिएको यो धर्मशालाको तल्लो तलामा ८ वटा ठुलो कोठा, एउटा हल गरी १० र माथिल्लो तलामा ठुलो र सानो गरी १३ वटा कोठा छन् । यी कोठा अहिले ३ सय देखि ८ सय रुपैयाँमा दैनिक भाडामा लगाइँदै आएको छ ।
निर्माणकर्ता रामबहादुर, बलदेवदास रामेश्वरजी नाथानी च्यारिटेबल ट्रस्टको नामबाट सञ्चालित यो धर्मशाला व्यवस्थापनका लागि ५ जना कर्मचारी खटिँदै आएका छन् । प्रबन्धक झाका अनुसार उच्च वर्गका पर्यटकहरू खासै नआए पनि भारतबाट आउने पर्यटकहरूका कारण अहिलेसम्म यो सञ्चालन भइरहेको छ । उनीहरू नआउने हो भने यसको वार्षिक मर्मत खर्च पनि नउठ्ने उनको भनाइ छ ।
वार्षिक २८ देखि ३० लाख रुपैयाँसम्मको कारोबार हुने यस धर्मशालाको आफ्नै ३ दर्जनभन्दा बढी सटर व्यावसायिक प्रतिष्ठानका लागि भाडामा लगाइएको छ । ती सटरको भाडा मासिक २ हजारदेखि २५ सय रुपैयाँसम्म हुने गरेको छ । त्यसैबाट उठ्ने र पर्यटक बसेबापत उठने रकमबाट कर्मचारीको तलब, भवन मर्मतमा खचिने गरेको छ ।
भारत, बिहारको मोतिहारीबाट यहाँ बास बस्न आएका रामशिष यादवले भने, ‘म त अहिलेसम्म १० पटकभन्दा बढी जनकपुर आइसकेँ । जतिपटक आए पनि यही धर्मशालामा बस्ने गर्छु ।’ उनका अनुसार बाहिरको होटलमा बास बस्न र खाना खान महँगो पर्ने भएकाले धर्मशाला हुँदा सहज हुने गरेको छ ।
यो धर्मशालामा विजया दशमी तथा विवाह पञ्चमीमा ठुलो मेला पनि लाग्ने गर्छ । वडा दसैँमा स्थानीय उद्योगव्यापारीहरूले यहीँ सस्तो बजार लगाउने गर्छन् । त्यतिबेला सस्तो बजार घुम्न तथा किनमेल गर्न आउनेहरूका कारण ठुलो चहलपहल हुने गर्छ ।
त्यस्तै विवाह पञ्चमीमा पनि मेलासँगै यहाँ रात बिताउने तीर्थालुहरूको ठुलो घुइँचो लाग्छ । धर्मशाला बाहिर रहेको एक चियापसलमा चिया पिउँदै गरेका स्थानीय अमोद कुशवाहाले भने, ‘यस्तो पवित्र सहरको बिचमा यो धर्मशाला छ, तर यसको संरक्षणमा कसैले ध्यान दिएजस्तो लाग्दैन । दिन प्रतिदिन जीर्ण हुँदै गएको देख्छु ।’
स्थानीय तहले जानकी मन्दिरजस्तै यस्तो ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार यस्तो सम्पदालाई मर्मत गरी समयसापेक्ष सुधार गर्न सके पर्यटकको ओइरो लाग्छ ।
म उल्लेख नगर्ने सर्तमा धर्मशालाको एक सटर व्यवसायीले भने, ‘यो धर्मशाला नगरको मुख्य स्थानमा छ र धेरै जग्गा पनि छ । त्यही भएर यसको जग्गामा धेरै ठुलाबडाले आँखा लगाइरहेका छन् । केही समय अघि नगरभित्रकै एक जना वरिष्ठ व्यक्तिको नाम समेत यसमा जोडिएको थियो ।’
स्थानीयबासीका अनुसार एकै स्थानमा धेरै जग्गा भएकाले पनि धेरैले विगतदेखि नै यसको जग्गा हडपिने प्रयास गर्दै आए पनि उनीहरू आफ्नो उद्देश्यमा सफल हुन सकेका छैनन् ।
प्रबन्धक झाका अनुसार तत्कालीन श्री ३ जंगबहादुर राणाले यो धर्मशालालाई धर्म, कृति प्रयोजनार्थ खड्ग निशान दिएका थिए । प्रदेश सरकार तथा स्थानीय तहले यसको भौतिक पूर्वाधार मर्मतमा चासो नदेखाएको उनले बताए ।
कतिपयले धर्मशालामै कार्यक्रम आयोजना गर्ने तर त्यसबापत शुल्कसमेत नतिर्ने गरेको झाले बताए । उनका अनुसार धर्मशालाको वार्षिक लेखापरीक्षण हुने गरेको छ । यो विशुद्ध सेवाभावका साथ सञ्चालित भएको, ट्रस्टले सञ्चालन गरेको संस्था रहेकाले नाफामूलकभन्दा पनि सेवाभावले काम गरिँदै आएको उनले बताए ।
जनकपुर नगर क्षेत्रभित्र रौनियार सेवा समिति, मारवाडी सेवा समिति, पगलबाबा धर्मशाला लगायतका विभिन्न धर्मशाला रहे पनि गोपाल धर्मशाला तुलनात्मक रूपमा निकै सस्तो रहेकाले विपन्न वर्गका तीर्थयात्रीहरूको रोजाइमा पर्ने गरेको छ ।
एक शताब्दी पुरानो यो धर्मशालाको स्तरोन्नति तथा संरक्षणमा प्रदेश सरकार तथा स्थानीय तहले ध्यान दिनुपर्ने स्थानीयबासी बताउँछन् । रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज १० गते
जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता तथा आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार दुवै प्रदेशले आगामी दिनमा बजेट निर्माण, राजस्व प्रशासन, वित्तीय सङ्घीयता, बेरुजु फर्छ्योट तथा सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्नेछन् ।
मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई अङ्गीकार गर्दै यो समझदारी भएको बताए । उनले भने,‘एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितका विषयमा सूचना आदानप्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य तथा विधायनका बारेमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्ने संवैधानिक व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न यो समझदारी गरेका हौँ ।’
दुवै प्रदेशले प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभन्दा कम्तीमा तीन महिना अघि साझा प्राथमिकता, राजस्व तथा आर्थिक नीतिका विषयमा पूर्व–बजेट परामर्श र संयुक्त कार्यशाला आयोजना गर्ने सहमति भएको छ ।
त्यस्तै, वार्षिक सहकार्य कार्ययोजना निर्माण तथा प्रगति समीक्षा गर्न संयुक्त अन्तरप्रदेशीय समन्वय समिति गठन गरिनेछ । मन्त्रीस्तरीय उच्चस्तरीय सम्मेलन पनि पालैपालो आयोजना गरिने समझदारीमा उल्लेख छ ।
बेरुजु फर्छ्योट र सार्वजनिक खर्च सुधारमा सहकार्य
समझदारीमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, परिणाममा आधारित बजेट प्रणाली, आन्तरिक नियन्त्रण तथा बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखिएको छ ।
एक प्रदेशले सार्वजनिक वित्त व्यवस्थापनमा अपनाएका असल अभ्यास अर्को प्रदेशमा प्रयोग गर्ने तथा अनावश्यक प्रशासनिक खर्च घटाउने विषयमा समेत सहकार्य गरिने सहमति पत्रमा उल्लेख छ ।
राजस्व वृद्धि र डिजिटल प्रणालीमा सहकार्य
दुवै प्रदेशले राजस्व सम्भाव्यता अध्ययन, राजस्व सुधार कार्ययोजना तथा स्थानीय तहको राजस्व प्रशासन सुदृढीकरणमा संयुक्त रूपमा काम गर्नेछन् । वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा प्रदेश र स्थानीय तहबीचको वित्तीय सम्बन्धबारे संयुक्त अध्ययन गरिने र एीःद्यक्ष्क्, क्गत्च्ब्, ऋन्ब्क् लगायतका डिजिटल सार्वजनिक वित्तीय प्रणालीको प्रयोग र कर्मचारीलाई तालिम दिने विषयमा पनि सहकार्य हुनेछ । धार्मिक तथा अन्य पर्यटकीय संयुक्त संरचना विकास गरी त्यसबाट प्राप्त हुने राजस्व बाँडफाँटका लागि आवश्यक ढाँचा तयार गर्ने समझदारीसमेत भएको छ ।
रोजगारी र उद्यमशीलतालाई प्राथमिकता
समझदारीले युवा रोजगारी, नवप्रवर्तन, उद्यमशीलता, साना तथा मझौला उद्योग र निजी क्षेत्रको लगानी प्रवर्द्धनलाई पनि सहकार्यको प्रमुख क्षेत्रका रूपमा समेटेको छ ।
दुवै प्रदेशले कर्मचारीको क्षमता विकासका लागि संयुक्त तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन् । बाढी, पहिरो र डुबानजस्ता विपद्का क्षेत्रमा पनि अनुभव आदानप्रदान तथा आपतकालीन समन्वय गर्ने पनि सहमति भएको छ ।
दुवै प्रदेशका मन्त्रीको नेतृत्वमा संयन्त्र
समझदारी कार्यान्वयनका लागि अर्थमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीको नेतृत्वमा उच्चस्तरीय मार्गदर्शक समिति गठन गर्ने र समितिको अध्यक्षता दुवै प्रदेशले पालैपालो गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, दुवै मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक तथा कार्यान्वयन समिति रहने र उक्त समितिमा बजेट वा राजस्व हेर्ने उपसचिवस्तरका एक–एक जना अधिकारीलाई सम्पर्क व्यक्ति तोकिने पनि सहमति भएको छ । ।
संयुक्त कार्यक्रमको खर्च ५०–५० प्रतिशत व्यहोर्ने
संयुक्त रूपमा सञ्चालन हुने कार्यशाला, तालिम, प्रविधि विकास तथा अध्ययन–अनुसन्धानका कार्यक्रमको खर्च दुवै प्रदेशले ५०–५० प्रतिशत व्यहोर्ने समझदारी भएको छ । उच्चस्तरीय तथा प्राविधिक बैठक आयोजना गर्ने प्रदेशले व्यवस्थापन खर्च व्यहोर्ने र सहभागी टोलीको भ्रमण भत्ता सम्बन्धित मन्त्रालयले व्यहोर्नु पर्ने समझदारी पत्रमा उल्लेख छ ।
त्यस्तै दुवै प्रदेश बिच भएको समझदारी अन्तर्गत २०८२ कात्तिक १५ गते हेटौँडामा प्रदेशका अर्थ तथा आर्थिक मामिला मन्त्रीहरूले जारी गरेको ‘वित्तीय सङ्घीयता सुदृढीकरणका लागि प्रदेशका आर्थिक मामिला मन्त्रीहरूको साझा प्रतिबद्धता’ लाई समेत मार्गदर्शनका रूपमा आत्मसात् गर्ने उल्लेख छ भने यो समझदारी हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म लागू हुने उल्लेख गरिएको छ ।
सभार रातोपाटी
सागर संगम ठाकुर, रौतहट — असोज ५
रौतहटको कटहरियाबाट प्रसारण हुँदै आएको बज्जिकाञ्चल एफएम ८९.२ मेगाहर्जप्रति श्रोताको आकर्षण पछिल्लो समय बढ्दै गएको पाइएको छ।
स्थानीय भाषा, समाचार, गीत–संगीत, मनोरञ्जन तथा स्थानीय सरोकारका विषयलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरेपछि एफएमप्रति श्रोताको रुचि बढेको हो।
सोमबार बज्जिकाञ्चल एफएमले सञ्चालन गरेको ‘बज्जिकाञ्चल बहस’ कार्यक्रममा सहभागी श्रोता गन्धिर यादवले प्रविधिको विकाससँगै रेडियो सुन्ने माध्यम परिवर्तन भए पनि एफएमले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिएकाले आफ्नो प्रभाव कायम राख्न सफल भएको बताउनुभयो।

उहाँका अनुसार विगतमा फ्रिक्वेन्सीमार्फत नियमित रेडियो सुन्ने गरे पनि अहिले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट एफएमका कार्यक्रम सुन्ने क्रम बढेको छ। दैनिक तथा साप्ताहिक रूपमा प्रसारण हुने विविध कार्यक्रमका कारण बज्जिकाञ्चल एफएमप्रति श्रोताको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो। एफएमका सञ्चालक तथा प्रस्तोता आरके श्रीवास्तवका अनुसार एफएमले दैनिक समाचार बुलेटिनसँगै ‘शुभप्रभात भोजपुरिया धमाका’, ‘संगीत सफर’, विद्यार्थी केन्द्रित ‘ब्रेन चेक’, ‘पुरस्कार पाँच सय’, ‘उत्कृष्ट विचार’ र ‘सुनाइ अपन प्रतिभा’ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
श्रोता यादवले प्रत्येक शुक्रबार सञ्चालन हुने ‘क्युरी स्वाद संवाद’ कार्यक्रमले पुराना तथा नियमित श्रोतासँगको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुगेको बताउनुभयो। स्थानीय भाषा, समाचार, गीत–संगीत, मनोरञ्जन तथा स्थानीय सरोकारका विषयलाई प्राथमिकता दिएकाले एफएमप्रति आफ्नो रुचि बढेको उहाँको भनाइ छ। कार्यक्रममा सहभागी अन्य श्रोताले पनि पछिल्लो समय एफएमको फ्रिक्वेन्सीमार्फत नियमित रूपमा कार्यक्रम सुन्न थालेको बताएका थिए।

स्थानीय समुदायका समस्या, आवाज, सुझाव तथा प्रतिभालाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउन एफएमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनीहरूको भनाइ थियो। एफएमले श्रोतासँग प्रत्यक्ष संवाद गर्ने ‘क्युरी संवाद’ कार्यक्रममार्फत गाउँ तथा टोलमै पुगेर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। उक्त कार्यक्रमअन्तर्गत पहिलोपटक फतुवा विजयपुर नगरपालिका–१ स्थित गमहरिया चोकबाट कार्यक्रम सुरु गरिएको थियो।
त्यसपछि कटहरिया नगरपालिकाको छेदी चोक र फतुवा विजयपुर नगरपालिका–४ स्थित टेंग्राहामा कार्यक्रम सञ्चालन गरिएको एफएमले जनाएको छ। स्थानीयस्तरमै रेडियो कार्यक्रम सञ्चालन हुँदा आफ्ना समस्या, विचार तथा सुझाव प्रत्यक्ष रूपमा राख्ने अवसर प्राप्त भएको भन्दै स्थानीयले कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाएका थिए। श्रोता तथा स्थानीय समुदायसम्म पुग्ने ‘क्युरी स्वाद संवाद’ कार्यक्रमको बिजनेस पार्टनर कटहरियास्थित निराला जनरल स्टोरप्रति श्रोता यादवले आभार व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी श्रोताले क्युरी मसालाको उत्पादन तथा स्थानीय बजारमा यसको उपलब्धताबारे समेत चर्चा गरेका थिए।

कार्यक्रममा सहभागी श्रोताले महिलाको सहभागिता बढाउन महिलाकेन्द्रित रेसिपी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन्। एफएम व्यवस्थापनले क्युरी मसालाको प्रायोजनमा महिला सहभागितालाई केन्द्रमा राखेर रेसिपी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। त्यसैगरी किसानका समस्या, कृषि उत्पादन, आधुनिक कृषि प्रविधि तथा कृषिसम्बन्धी आवश्यक जानकारी समेटिएको छुट्टै कार्यक्रम सञ्चालन गर्न पनि श्रोताले माग गरेका छन्। एफएम व्यवस्थापनले कृषिलगायत विभिन्न विषय केन्द्रित नयाँ कार्यक्रमको तयारी भइरहेको र ती कार्यक्रम छिट्टै प्रसारणमा ल्याइने जनाएको छ।

नेपाल हिन्द रेडियो श्रोता संघका सदस्य जफरुल्लाह अन्सारीसहित विभिन्न श्रोताले एफएमका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कुनै पनि कार्यक्रम छोटो समयमै बन्द नगरी निरन्तर सञ्चालन गर्न तथा श्रोता र रेडियोबीचको सम्बन्ध अझ मजबुत बनाउन सुझाव दिएका छन्।

त्यस्तै, बिछोडिएका साथीभाइ तथा आफन्तसँग पुनः सम्पर्क स्थापित गर्न सहयोग पुग्ने गरी ‘आफ्नो सन्देश’ जस्ता कार्यक्रम सञ्चालन गर्न पनि श्रोताले एफएमका सञ्चालक श्रीवास्तवलाई सुझाव दिएका थिए।
श्रोताले बज्जिकाञ्चल एफएमले स्थानीय समुदायका समस्या तथा आवाजलाई प्राथमिकताका साथ उठाउँदै आएको भन्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, महिला, युवा तथा स्थानीय सरोकारका विषयलाई थप प्राथमिकता दिन आग्रह गरेका छन्।

कार्यक्रममा यादवले एफएमका प्राविधिक तथा सहकर्मीलाई धन्यवाद दिँदै एफएमप्रति निरन्तर माया, साथ र सहयोग गर्ने सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्नुभयो। एफएम परिवारले पनि आगामी दिनमा थप नयाँ तथा श्रोतामैत्री कार्यक्रम सञ्चालन गर्दै गाउँ–गाउँसम्म पुग्ने प्रतिबद्धता जनाएको छ।
राजेश निर्माणी, रौतहट, असोज ६
रौतहटको माधवनारायण नगरपालिका–१ दिपहीका शम्भु पासवानको खेतमा काम गर्ने क्रममा मृत्यु भएको छ। युरिया मल तथा विषादी छर्ने क्रममा खेतमा बेहोस भएर ढलेका पासवानको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ।
विपन्न दलित परिवारका पासवान स्थानीय चन्देश्वर राय यादवको खेतमा काम गर्न गएको परिवारको भनाइ छ। काम गर्ने क्रममा उनी अचानक खेतमै ढलेर बेहोस भएको र तत्काल उद्धार तथा उपचार नगरिएका कारण उनको मृत्यु भएको परिवारले आरोप लगाएको छ।
परिवारका अनुसार घरमा कोही नभएको मौका छोपी यादव र उनका भाइ बिन्देश्वर राय यादवले पासवानलाई आफ्नो खेतमा काम गर्न लगेका थिए। खेतमा मल तथा विषादी छर्ने क्रममा उनी गम्भीर अवस्थामा ढलेपछि दुवै जनाले तत्काल उद्धार नगरी घटनास्थलमै छाडेर हिँडेको परिवारको आरोप छ।
पछि स्थानीयवासीले खेतमा पासवानलाई ढलिरहेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए। त्यसपछि परिवारजन घटनास्थल पुगेर उनलाई एम्बुलेन्समार्फत उपचारका लागि शिवनगरस्थित आनन्द पोलिक्लिनिक पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्जस्थित तराई हस्पिटल लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको परिवारले जनाएको छ।
पासवानको मृत्यु भएपछि उनका दुई छोरा र एक छोरीसहितको परिवार संकटमा परेको छ। परिवारका अनुसार उनी नै घरको मुख्य कमाउने व्यक्ति थिए। उनीहरूको नाममा दुई धुर घडेरी र त्यसमा बनेको फुसको छाप्रोबाहेक अन्य सम्पत्ति नरहेको बताइएको छ।
घटनापछि परिवारले निष्पक्ष छानबिन गरी मृत्युको वास्तविक कारण सार्वजनिक गर्न माग गरेको छ। साथै घटनामा कसैको लापरवाही वा कमजोरी देखिए कानुनबमोजिम कारबाही गर्न र परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन उनीहरूले माग गरेका छन्।
महाजन भन्छन्– ‘आरोप गलत र निराधार हो’
यता, घटनाबारे यादवको धारणा लिन सञ्चारकर्मीको टोली उनको निवास पुगेको थियो। सञ्चारकर्मीहरूले घटनाबारे भिडियोमार्फत आफ्नो धारणा राख्न आग्रह गरे पनि यादवले क्यामेरामा बोल्न अस्वीकार गरे।
यद्यपि अनौपचारिक कुराकानीमा यादवले आफूमाथि लगाइएको आरोप गलत र निराधार भएको दाबी गरे। उनका अनुसार पासवान लामो समयदेखि आफूअन्तर्गत कृषि मजदुरका रूपमा काम गर्दै आएका थिए।
यादवले पासवानलाई पाँच कठ्ठा खेतमा काम गर्न दिएको र त्यहाँको उब्जनी दुवै पक्षले उपभोग गर्ने गरी सहमति भएको दाबी गरे।
उनका अनुसार पासवानले खेतमा युरिया मल छरिसकेपछि नजिकैको पैनीमा नुहाउने भन्दै बसेका थिए। आफू भने घर फर्किएको र पछि बाटोमा रिँगटा लागेर रुखमुनि सुतेको अवस्थामा एक स्थानीयले देखेर खबर गरेपछि आफु घटनास्थल पुगेको यादवको भनाइ छ।
महाजन यादवले पासवानलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको र केही समयअघि पक्षघातसमेत भएको यादवले दाबी गरे। त्यसको उपचार आफूले गराइदिएको उनको भनाइ छ।
केही समयदेखि उनी उच्च रक्तचापको औषधि खान छाडेका कारण उनलाई हृदयघात भएको हुन सक्ने यादवको दाबी छ। उनले आफूहरूले नै एम्बुलेन्स बोलाएर सुरुमा उपचारका लागि आनन्द पोलि क्लिनिक शिवनगरमा पठाएको बताउँदै घटनामा आफ्नो कुनै लापरवाही नभएको दाबी गरे।
घटनाको वास्तविक कारण भने सम्बन्धित निकायबाट हुने अनुसन्धान र चिकित्सकीय परीक्षणबाट स्पष्ट हुने देखिन्छ।