आरके श्रीवास्तव,राैतहट,२० गते चैत ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चैत मसान्तसम्म वडा सवै वडा र पालिका अधिवेशन गर्न परिपत्र गरेकाे छ ।
आज लाेसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले परिपत्र जारी गर्दै चैत मसान्तसम्ममा अधिवेशन सक्न निर्देशन दिनु भएको हाे ।
लाेसपा नेपालकाे आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै पार्टीको निर्वाचन निर्देशिका -२०८१ अनुसार धारा(१)(३) बमोजिम वडा र पालिका सम्बन्धित जिल्ला र सम्बन्धित निकायका सम्पूर्ण नेता,कार्यकर्ता तथा शुभचिन्तकहरू सामेल गराई अधिवेशन गर्न भनिएको हाे ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले यसअघि चैत ७ गतेभित्र सवै वडा र पालिका अधिवेशन गरिसक्न निर्देशन दिएको थियो । उक्त समयसिमालाई बढाएर चैत मसान्तसम्म गरिएको लाेसपाका महासचिव मनिष मिश्रले जानकारी गराएका हुन् ।

यता आजै लोसपा नेपालको सचिवालय बैठकमा लोकतान्त्रिक महिला संघको सांगठनिक गतिविधिमा तिव्रता ल्याउन महिला संघका अध्यक्ष लाई आमन्त्रित गरी सल्लाह सुझाव दिनुका साथै पार्टीका कार्यसञ्चालन एवं सांगठनिक सुदृढिकरण तथा केन्द्रीय महाधिवेशन तयारीका निम्ति छलफल गरिएकाे उनले बताएका छन् ।
काठमाडौँ, २० गते चैत २०८१ ।
भाटभटेनीका संचालक मीन बहादुर गुरुङले चैत्र १५ गतेको राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।
बुधबार चैत्र १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड तुलप्रसाद पराजुली लगायत सुरक्षा गार्ड र कर्मचारीलाई भाटभेटनी सुपरमार्केटले सम्मान गर्ने कार्यक्रममा गुरुङले पत्रकार रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
भाटभटेनीले चैत्र १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख नगद र पाँच ग्रेड बढुवा गरेको हो । त्यस्तै अन्य गार्ड र कर्मचारीहरुलाई २५ हजार नगद र एक ग्रेड प्रमोसन गरेको छ ।
सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीलाई सुपरमार्केटले सम्मान गरेको हो ।
लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ संख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियो देख्न सकिन्छ ।
उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ । उक्त घटनापछि पनि शनिबार बिहानदेखि नै सुपरमार्केट सञ्चालनमा आएको थियो । खरीबोट
गुडु यादव,राैतहट,१९ गते चैत ।
राैतहट । गरूडामा जनता समाजवादि पार्टीको नेपालको नगर अधिवेशन सम्पन्न भएको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिमा पर्ने झाझ बैरेजमा अवस्थित गोपाल सेवा समितिको भवनमा एक क्रार्याक्रमका बिच नगर अधिवेशन सम्पन्न भएको हाे । क्रायकर्मको प्रमुख अतिथि जसपाको केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री गोबिन्द चौधरी, बिशिष्ट अतिथि प्रदेश सांसद फुलबाबू तथा माधबनारायण नगरपालिकाका पूर्व मेयर बिरेन्द्र यादब, जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादब ,पुर्व राज्य मन्त्री योगेन्द्र यादब, गरुडा नपा वडा नमबर २ वडा अध्यक्ष कृसनन्द सहनी, प्रदेश सदस्य राज कुमार दास तात्मा, प्रदेश सदस्य तथा मेयर प्रत्याशी अनिल यादब, जसपा मधेश प्रदेश अध्यक्ष बाल किशोर यादब, जसपा नेता धिरेन्द्र यादब लगायतका नेताहरुको विशेष उपस्थितिमा जय मंगल यादवको अध्यक्षतामा ४७ नगर कमिटी गठन भएको छ।
आजको नगर अधिवेशन बाट चयन भएका नगर अध्यक्ष जय मंगल यादव , उपाध्यक्ष ,लाल बहादुर दास ,खुशी सहनी, सचिव माधो पिडंत , सहसचिव प्रमोद जयस्वाल , कोषाध्क्ष बिरेन्द्र यादव सहित निर्वाचित भएको खवर प्राप्त भएको छ।
राकेश यादव, गौर ,१९ चैत्र
राैतहट । जनता समाजबादी पार्टी नेपालका बर्गीय संगठन प्रेस मन्च नेपाल जिल्ला कार्य समिति रौतहटको दोस्रो जिल्ला अधिबेशन मंगलवार गौरमा सम्पन्न भएको छ।
प्रेस मन्च नेपालको केन्द्रिय कार्य समितिको कार्यवाहक अध्यक्ष मनोज यादवको प्रमुख आति्थ्यमा सम्पन्न भएको जिल्ला अधिबेशनबाट तेस्रो पटक अध्यक्षमा किशोरी यादव सर्व सहमतिबाट चयन भएका छन्।
१५ सदसिय गठन गरिएको जिल्ला कार्य समितिको उपाध्यक्षमा दिपक कुमार , महिला उपाध्यक्षमा रश्मि पटेल ,सचीवमा चन्दन महतो ,सह सचीवमा दिलिप पान्डे, महिला सह सचीवमा प्रियाका सिंह ,सदस्यहरुमा शेख समीर आलम , प्रदीप यादव , राकेश पटेल र अरबिन्द यादव सदस्यमा चयन भएको जिल्ला सचिव चन्दन महतोले जनाएको छ।
जिल्ला अधिबेसनको उदघाटन सत्रमा सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् पूर्व कृषि राज्यमन्त्रि योगेन्द्र राय यादवले देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको बिरुद्ध राजाबादीहरू सल्बलाएको बताएका छन्। लोकतन्त्रको बिकल्प लोकतन्त्र नै रहेकोले संघियता बिरुद्ध हुने सड्यन्त्र सहन गर्न नसकिने बताए। संघियता मधेशी समुदाय,दलित समुदाय.मुस्लिम,आदिबासी,जनजाती अल्प संख्याक,पिछडिएको बर्गको लागि रहेकोले कुनै पनि हालतमा फालिएको बंशवादको स्थापना हुन नसक्ने दावी गर्नु भयो।
पार्टीका बर्गीय संगठन भएकोले पार्टीको पक्षमा लोकतन्त्रको सस्थागत गर्न कलम चलाउन आग्रह गर्दै प्रेस मन्च नेपालको लागि पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिब्द्धता समेत जनाए।
कार्यक्रममा मधेश प्रदेश सांसद शोभा देवी साह, प्रेस मन्च नेपालका प्रदेश महासचिव बन्दना झा, श्रमजिबी पत्रकार संघ नेपालका जिल्ला उपाध्यक्ष राकेश कुमार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए।
राकेश यादव,गौर,चैत्र १९
राैतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाले चैत्र १५ गते काठमाडौँको तिनकुनेमा भएको घटनाको बारेमा मंगलवार जिल्ला प्रशासन कार्यालय रौतहटमा ध्यानकर्षण पत्र बुझाएका छन्।
राजाबादी समुहकोले गरेको प्रदर्शनको क्रममा आगो लगाएर हत्या गरिएको पत्रकार सुरेश रजकको घटनामा दोषीमाथि कानुनी कार्यवाही गर्न तथा घाइतेको उपचार गराउन माग गर्दै ध्यानकर्षण पत्र बुझाइएको हो।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको निर्णय अनुसार प्रत्येक जिल्ला शाखाले ध्यानकर्षण पत्र बुझाउन जारी गरिएको निर्देशन अनुसार सोमबार बुझाउनु पर्नेमा सार्बजनिक बिदा भएको ले मंगलवार बुझाइएको रौतहट शाखाका सहसचिव एवम् सुचना अधिकारी दिनेश यादवले जानकारी दिएका छन्।
महासंघको पदाधिकारी सहितको गएको संचारकर्मीहरुको टोली जिल्ला प्रशासन कार्यालय रौतहटको प्रशासकीय अधिकृत मनिष झालाई बुझाएको ध्यानकर्षण पत्रमा सन्चारकर्मी र संचार माध्यममा गरिएको आक्रमणको दोषी लाइ नेपाल सरकारले छिटो भन्दा छिटो कानुनी दायारामा ल्याएर कार्यवाही गर्नु पर्ने माग गरिएको छ।
प्रदर्शनको क्रममा आन्दोलनकारीको हमलामा घाइते भएका सन्चारकर्मीको उपचार, मृतक पत्रकार रजकको शहिद घोषणा, पिडित परिवारलाइ छतिपूर्ति दिनु पर्ने उल्लेख गरिएको हो।
बज्जिकाञ्चल संवाददाता,पर्सा,१९ गते चैत ।
वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले सडकमा तमाशा देखाईरहेको टिप्पणी गरेका छन् । असफल भईसकेका प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेको उनले बताए ।
आजपा पर्साद्धारा आज वीरगंजमा आयोजित अगुवाकार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले एमालेको सडक प्रदर्शनले अराजकताको हद नाघेको टिप्पणी गरेका छन् ।
एमाले निकट युवा संगठनले सोमबार काठमाडौंको तीनकुनेमा मोटरसाईकल र्याली निकालेपछि उनले एमालेले राजा छैन भन्ने अनि राजाको विरुद्धमा सडकमा बाईक र्यालीको नाममा गुण्डाहरुको ताण्डव देखाईरहेको बताए ।
‘एमाले, कांग्रेस, माओवादी केन्द्रहरुले उक्साएर राजा ल्याउन खोजेका छन् । हुदैनभएको राजाको बिरुद्धमा किन नाटक गरेका होलान ? राजावादी र दुर्गा प्रसाईहरुलाई काँधमा बोक्ने नै केपी शर्मा ओलीहरु हो’, आजपा अध्यक्ष साहले भने, ‘सरकारमा बसेर ओलीको दम्भलाई संस्थागत गर्न युवा संघलाई रमिता देखाउन लगाईयो ।’
एमालेको नेतृत्वमा नक्कली व्यक्ति पुगेपछि देशमा अराजकता मच्चिएको बताउदै उनले देशलाई अस्थितार र अन्धकारमा धेकेल्ने काम स्वयम केपी ओली नेतृत्वको सरकारले गरेको बताए ।
‘एमाले र ओलीलाई देश दुख्दैन्, आफ्नो फाइदाको लागि चरित्र धुमिल पारेको पुष्टि भयो । देशमा यत्रो आतंक सिर्जना गराएर केपी ओली आजबाट विदेश शयरमा निस्किँदैछन्’, उनले भने ।
यस्तै उनले आफ्नो पकेटका मान्छेलाई गभर्नर बनाउन शेरबहादुर देउवासँग मिलेर मापदण्ड नै परिवर्तन गरिएको बताए । ‘अहिलेको सरकारमा नक्कली कांग्रेस र नक्कली एमालेको बोलवाला छ । लुटको स्वर्ग मच्चाएकाहरुलाई अब नागरिकले नर्कमा पठाउने बेला भयो’ उनले भने । उनले गगन थापा र विश्वप्रकाश शर्मा त मिडिया खपतको लागि प्रसिद्ध भएको र यिनीहरु देउवा दम्पत्तिसामू निरीह देखिएको टिप्पणी गरे ।
संघीय सरकारमा सहभागि नेताहरु लुट, भ्रष्टाचार, अनियमिततामा लागेको गम्भिर आरोप लगाउदै उनले उनीहरुबाट केही आश गर्नु बेकार रहेको बताए । लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै आजपा अध्यक्ष साहले नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए ।
लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि रौतहट, बारा र पर्सामा आयोजित कार्यक्रमका लागि मधेस झरेका साहले भ्रष्ट, लुटेरा, दलाल नेताहरुका कारण मुलुक समृद्ध नभएको बताउदै तेस्रो जनआन्दोलनमा सहभागिताका लागि आह्वान समेत गरे ।
आजपा पर्साका इंचार्य लखिन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष अशोक लामा, मधेश अध्यक्ष उमेश कुशवाहा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,गरूडा,१९ गते चैत ।
रौतहट । गरुडा नगरपालिकाको वडा नम्बर ८, जिगडियामा जामे मस्जिद भवन निर्माणका लागि भव्य शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। मंगलबार एक विशेष समारोहबीच नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले विधिवत रूपमा मस्जिद भवनको शिलान्यास गर्नुभएको हो।

१ करोड ३८ लाखको लागतमा निर्माण हुन लागेको यो मस्जिद भवन मुस्लिम धर्मावलम्बीहरूको धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सहज बनाउनका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ। शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख जैसवालको उपस्थिति रहेको थियो भने जामे मस्जिदका अध्यक्ष कौशर खान मिथिलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख जैसवालले गरुडा नगरपालिकाको विकास सबै जातजाति, धर्म, वर्ग, तथा समुदायको समान हक सुनिश्चित गर्दै अघि बढिरहेको बताउनुभयो। उहाँले नगरपालिकाले सबै नागरिकको धार्मिक तथा सामाजिक आवश्यकतालाई ध्यानमा राखेर कार्य गरिरहेको स्पष्ट पार्दै भन्नुभयो, “नगरपालिकामा कसैलाई उपेक्षित हुन दिइने छैन। सबै समुदाय समान छन्, सबैको हक बराबर छ, र विकासको अधिकार सबैको हो।”
नगरपालिकाको नेतृत्व सम्हालेपछि समान विकासलाई प्राथमिकता दिएको बताउँदै प्रमुख जैसवालले गरुडा नगरपालिकालाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र समृद्धिको उदाहरणीय मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिलान्यास समारोहमा स्थानीय जनप्रतिनिधि, मुस्लिम समुदायका अगुवा, सामाजिक अभियन्ता तथा नगरवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। मस्जिद भवनको निर्माण कार्य छिट्टै प्रारम्भ भई निर्धारित समयसीमाभित्रै सम्पन्न गरिने योजना रहेको छ।
आरके श्रीवास्तव,रौतहट,१९ गते चैत ।
स्तरवृद्धिको माग गर्दै रौतहट सहित मधेसका स्वास्थ्यकर्मीहरू आन्दोलीत भएका छन् । यसै क्रमममा मंगलवार जिल्लाको कटहरिया नगरपालिकामा कार्यरत्त सिअहेव र सिअनमी चौथो÷पाँचौ तहकका स्वास्थ्यकर्मीहरुले धर्ना कार्यक्रममा सहभगी हुने बारे जानकारी गराएका छन् ।

नगर स्तरीय संघर्ष समतिले कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर साह लाइ स्वास्थ्यकर्मी धर्मेन्द्र दासको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोली चैत २५ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यालय अगाडी अनिश्चितकालिन धर्नामा सहभागी हुने बारे जानकारी गराएको हुन् ।

कार्यालयको सेवा प्रवाहमा असर नपर्नेगरी सो धर्ना कार्यक्रममा सहभागिता हुने सम्बन्धमा एउटा पत्र नै तयार पारी बुझाएका हुन् । मधेस प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको माग गर्दै आन्दोलित छन् ।
मधेश प्रदेशका आठ जिल्लामा करिब १ हजार ८ सय स्वास्थ्य क्षेत्रका कर्मचारीको स्तरवृद्धिमा मधेस सरकारले रोका गरेकाले नियमित स्तरवृद्धिको माग गर्दै प्रदर्शन गरिरहेको छ ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम विगतदेखि पाउँदै आएको दुई तह स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुलाबाट पदपूर्ति शतप्रतिशत हुनुपर्नेलगायत माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित छन् ।
आरके श्रीवास्तव,राैतहट ,१९ गते चैत ।
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । कटहरिया वडा ४ मा गरिएको शिविरमा ४८ बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।
कटहरिया नगरपालिका वडा नम्बर ४ को समन्वयमा नेत्र ज्योती आँखा हस्पिटल प्रालिले सञ्चालन गरेको शिविरमा बिरामीले निःशुल्क स्वास्थ्य उपचार गराएका हुन् ।

जसमध्ये २८ जनामा मोतियाविन्दु समस्या देखापरेको आधारभूत स्वास्थ्य केन्द्र कटहरिया ४ का इन्चार्ज कृषनन्दन साहले जानकारी गराएका हुन् । उनले भने चैत १९ र २० गरि याे शिविर दुई दिनसम्म चल्ने छ । त्यसैले काेही पनि बञ्चित हुनु हुँदैन ।
सो वडामा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ वडामा निःशुल्क आँखाजाँच गरिएको कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले जानकारी गराएका हुन् । साथै उनले सबै वडावासीलाइ मौकाको फाइदा उठाउनु हुन अनुरोध समेत गरेका छन् ।

शिविर सञ्चालन भइरहेको बेला अुगमन गर्न कटहरियाका प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर साह पनि पुगेका थिए । यस्ता शिविरले ग्रामीण क्षेत्रका सर्वसाधारण लाभान्वित हुने बताएका छन् ।
शिविर उदघाटनको क्रममा कटहरिया ४ का वडा सदस्य रामइश्वर यादव,मेराजुल मियाँ धोबी,एलआइसीका अभिकर्ता जटाशंकर सोनी लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो । कटहरिया वडा नम्बर ६ फतेपुरमा यो आँखा शिविर सञ्चालन गरिएको थियो ।
बज्जिकाञ्चल संवाददाता, रौतहट १९ गते चैत २०८१ ।
राैतहट । लोकतान्त्रिक पत्रकार संघको रौतहट जिल्ला संयोजकमा राजुकुमार श्रीवास्तवलाई मनोनयन गरिएको छ । संघको केन्द्रीय कार्य समितिले विधान अनुसार पत्रकार श्रीवास्तवलाई रौतहट संयोजकमा मनोनयन गरेको हो ।
बज्जिकाञ्चल मिडिया प्रालि.का प्रमुख तथा बज्जिकाञ्चल दैनिकको पनि प्रमुख हर्ताकर्ताको रुपमा कार्यरत श्रीवास्तव बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष पनि हुन् । एक दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा रहेका श्रीवास्तव एफएम रेडियो, अनलाइन तथा छापा पत्रकारिता गरी पत्रकारिताका सबै क्षेत्रमा क्रियाशील छन् ।

नेपाली र बज्जिका दुवै भाषाको पत्रकारिता गर्दै आएका श्रीवास्तव मधेश प्रदेशमा आफ्नो पहिचान बनाइसकेका छन् । ग्रामीण क्षेत्रमा रहेर स्थानीय तथा केन्द्रीय सञ्चार माध्यमसम्म पहुँच विस्तार गरेका श्रीवास्तवको नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघले अलग्गै पहिचान बनाउने विश्वास गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले मंगलवार श्रीवास्तवलाई जिल्ला संयोजकमा मनोनयन गरिएको जानकारी गराएका छन् । देश, मधेश, पत्रकार र पार्टीको हितमा श्रीवास्तवको कार्यकाल उल्लेखनीय रहने विश्वास पनि संघले लिएको अध्यक्ष वर्माद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख गरिएको छ ।