२०८३ बैशाख ५
२०८३ बैशाख ५

आरके श्रीवास्तव,राैतहट,०३ गते जेठ । 

रौतहट । गरुडा नगरपालिका वडा नम्बर ९ स्थित श्रीपुरमा निर्माणाधीन स्वास्थ्य चौकीको पुनः शुभारम्भ गरिएको छ । जनताको आधारभूत स्वास्थ्य सेवा नजिकै उपलब्ध गराउने उद्देश्यले सुरू गरिएको यो परियोजना २० लाख रुपैयाँको लागतमा निर्माणाधीन रहेको छ ।

पुनः शुभारम्भ कार्यक्रममा बोल्दै गरुडा नगरपालिकाका मेयर कन्थमनी जयसवालले स्वास्थ्य चौकीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  “स्वास्थ्य सेवा जनताको पहुँचमै पुगोस् भन्ने उद्देश्यले यो परियोजना अघि बढाइएको हो,” मेयर जयसवालले बताएका छन् ।

उक्त परियोजनाको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, स्थानीयवासी तथा सबै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको मेयर जयसवालको भनाइ छ ।

स्थानीय तहबाट जनताको स्वास्थ्यप्रति देखिएको सक्रियता र प्रतिबद्धता उल्लेखनीय भएको जनाइएको छ । निर्माण कार्य सम्पन्न भएपछि श्रीपुर र आसपासका बासिन्दाले सहज रूपमा प्राथमिक स्वास्थ्य सेवा लिन सक्नेछन् ।

बज्जिकाञ्चल संवाददाता,गरूडा,०३ गते जेठ । 

रौतहटकाे गरुडा नगरपालिका वडा नम्बर ४ अन्तर्गत संजय साहको खेतदेखि श्रीराम चिनीमिलसम्मको ३ सय ९५ मिटर लम्बाइ र सवा ३ मिटर चौडाइको आरसीसी ढलान सडक निर्माण कार्य आज विधिवत रूपमा शिलान्यास गरिएको छ ।

करीब ४५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो सडकले स्थानीय बासिन्दाहरूको दैनिक आवागमन सहज बनाउनुका साथै व्यापार तथा यातायात क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सडक शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख कन्थमनी जयसवालले गुणस्तरीय निर्माण सुनिश्चित गर्दै निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्थानीयको अपेक्षा अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिइरहेको जनाउँदै यस सडकले आर्थिक गतिविधिलाई समेत सहज बनाउने विश्वास व्यक्त गरेका छन् ।

सडक निर्माण कार्य छिट्टै प्रारम्भ भई तोकिएको म्यादभित्र सम्पन्न गरिने नगरपालिकाले जनाएको छ ।

आरके श्रीवास्तव,गरूडा,०३ गते जेठ ।

रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष पत्रकार संजय सहनीका ६५ वर्षीय पिता रामनारायण सहनीको निधन भएको छ । मस्तिष्क घातको कारण विगत चार दिनदेखि वीरगंजस्थित एक अस्पतालमा उपचाररत सहनीको आज विहान निधन भएको हो ।

शोकाकुल अवस्थामा रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाले एक विज्ञप्ती जारी गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै ईश्वरले शोक सहने शक्ति प्रदान गरुन् भन्ने कामना पनि गरेको छ ।

महासंघका सचिव गौतम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा सहनी परिवारको अपूरणीय क्षतिमा पुरै पत्रकारिता क्षेत्र मर्माहत भएको उल्लेख गरिएको छ ।

यता लाेकतान्त्रिक पत्रकार संघ राैतहटका अध्यक्ष एवम् बजिकान्चल मिडिया प्रा.लि.का अध्यक्ष राजु कुमार श्रीवास्तवले सामाजिक संजाल मार्फत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले लेखेका छन्- “नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष सहनीकाे पिताजी रामनारायण सहनीको उपचारका क्रममा आज बिहान निधन भएको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौं ।

स्व. रामनारायण सहनीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौं । यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं । भगवान पशुपतिनाथले उहाँहरूलाई यो अपूरणीय क्षति सहने धैर्य र शक्ति प्रदान गरून । “

आरके श्रीवास्तव,राैतहट,०३ गते जेठ । 

रौतहट । नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला समिति अधिवेशन रौतहटमा भव्य रूपमा सम्पन्न भएको छ । यमुनामाई गाउँपालिकाकाे मावि झुनखुनवामा भएको अधिवेशनबाट मावि जमुनियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाहा सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन हुनुभएको छ ।

संगठनभित्र लामो समयदेखि सक्रिय योगदान दिँदै आउनुभएका कुशवाहाको नेतृत्वमा संगठनले अझ सशक्त भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । अधिवेशनमा जिल्लाभरिका शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने विभिन्न प्रस्ताव र भावी कार्यदिशा पनि तय गरिएको थियो ।

नव-निर्वाचित अध्यक्ष कुशवाहालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहभागीहरूले उहाँको नेतृत्वमा संगठन अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,०२ गते जेठ । 

रौतहटको गरुडा नगरपालिका ४ स्थित वंशीराम जयसवाल अनाथालयका संस्थापक तथा रौतहटका वरिष्ठ समाजसेवी वंशीराम जयसवालको देहावसान भएको छ । जिल्लाको सबैभन्दा निःस्वार्थ समाजसेवीको रुपमा परिचित वंशीराम जयसवालको गरुडास्थित अनामिका अस्पतालमा उपचारको क्रममा देहावसान भएको हो ।

२०५२ सालमा आफ्नै जमिनमा अनाथालय स्थापना गरी अनाथहरुसितै बस्दै आउनु भएका समाजसेवी जययवालको ९३ वर्षको उमेरमा देहावसान भएको भतिज पंकज जयसवालले जानकारी गराएका छन् । जयसवालको शवलाई अन्तिम श्रद्धाञ्जलिको लागि ११ बजेसम्म अनाथालय परिसरमा राखिने र वैदिक विधिअनुसार अन्तिम संस्कार पनि अनाथालय परिसरमै गरिने उनले जानकारी गराएका छन् ।

सम्पूर्ण घरपरिवारलाई त्याग गरी अनाथहरुसित अनाथजस्तै जीवन व्यतीत गरेका समाजसेवी जयसवालमा मानवता तथा उच्च धार्मिक आस्था रहेको थियो । सम्पूर्णरुपले निस्वार्थ समाजसेवामा जीवन अर्पण गरेका जयसवाल सयौँ अनाथ तथा विपन्नका धर्मपिता तथा अभिभावक भएर जीवन सुधारेको गरुडा नगरपालिका ४ का वडाध्यक्ष सुनिलकुमार जयसवालले जानकारी गराएका छन् ।

विभिन्न उमेरजन्य समस्याहरुसित संघर्ष गर्दै समाजसेवी जयसवालले ९३ वर्षको उमेरसम्म निःस्वार्थ रुपमा अनाथ तथा विपन्नको सहारा बनेर सेवा गरेको महान व्यक्तिले आजबाट विश्राम लिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा उद्योगपति धर्मनाथ जयसवालले बताएका छन् ।

समाजसेवा र मानवीय सेवामा समर्पित जीवन बिताउने परम आदरणीय एवं अति विशिष्ट व्यक्तित्व वंशीराम जयसवालप्रति साहित्यकार संजय साह ‘मित्र’ले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

साहित्यकार साहले सामाजिक संजाल मार्फत श्रद्धाञ्जलि सन्देशमा उल्लेख गरेका छन्, “वंशीराम जयसवाल ज्यू समाजसेवा, सद्भावना र मानव कल्याणका प्रतीक थिए । उहाँको निधनले समाजले एक असल अभिभावक गुमाएको छ।”

उहाँको योगदान सदैव प्रेरणाका स्रोत बनेर रहने विश्वास पनि साहले व्यक्त गरेका छन् ।

समाजसेवी जयसवालले अनाथालयसँगै आफ्नो निजी जमिन निशुल्क दान दिएर विद्यालयको स्थापना पनि गरेका छन् । जयसवालले स्थापना गरेको अनाथालय प्राथमिक विद्यालयमा करिब दुई सय बालबालिका अध्ययनरत छन् ।

समाजसेवी जयसवालले आफ्नै जमिन दिएर गायत्री शक्ति पीठको निर्माण पनि गराएका छन् । शक्ति पीठ गरुडाको एउटा धार्मिकस्थलको रुपमा परिचित बनेको छ ।

अनाथालयमा रहेका बालबालिकाको उपचारको लागि समाजसेवी जयसवालले कम्तीमा एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्न खोजेका थिए । विभिन्न समाजसेवी तथा पालिकालाई अनाथालयको तर्फबाट बारम्बार अक्षयकोष स्थापनाको लागि पहल गरेका समाजसेवी जयसवालको चाहना थियो – अनाथालयमा बस्ने बालबालिकालाई कुनै रोगले सताउँदा उपचारमा समस्या नहोओस् । हरेक महिना अनाथ बालबालिकाको उपचारमा घटीमा तीस हजार रुपैया खर्च हुँदै आएको देखिएको छ । समाजसेवी जयसवालको चाहनाअनुसार अक्षयकोषको स्थापना भएको भए पनि एक करोड रुपैया भने पुग्न सकेको छैन ।

शैलेश गुप्ता,पर्सा,०१ गते जेठ । 

पाेखरिया– पोखरिया नगरपालिकाको वडा नम्बर ४ स्थित पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी, बाल रोग, डेन्टल लगायतका विशेषज्ञ सेवाहरू सुरु भएका छन् ।

अस्पतालको सभा हलमा आयोजित कार्यक्रममा डा. अरविन्द साह (हाडजोर्नी), डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिङ अधिकृत सवेनाज बेगम र अहेव मधु यादवलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर तथा अस्पताल विकास समिति अध्यक्ष प्रदुमन प्रसाद चौहानले अब स्थानीयवासीले महंगो शुल्क तिरेर बाहिरी अस्पताल जानुपर्ने आवश्यकता नपर्ने बताएका छन् ।

कार्यक्रम डा. आनन्द रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि मेयर चौहानसहित स्वास्थ्य शाखा सहायक शिव पटेल, डा. सुरेश यादव, सञ्चारकर्मी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,०१ गते जेठ ।
माओवादी केन्द्र रौतहटका पूर्वमन्त्री सत्यनारायण भगत बिनले नेपाल सरकारको राज्यमन्त्रीको हैसियतमा उल्लेख गरिएको लेटरप्याड प्रयोग गर्दै आएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । उनी हाल राज्यमन्त्री पदमा नरहे पनि सो पद उल्लेख गरिएको सरकारी शैलीको लेटरप्याडबाट आर्थिक योजना समावेश गर्न माग गर्दै अर्थमन्त्री, मधेस प्रदेश सरकारको नाममा पत्र लेखिएको देखिएको छ ।

सामाजिक सञ्जालमा उक्त लेटरप्याडको फोटो सार्वजनिक भएसँगै आम नागरिक र राजनीतिक विश्लेषकहरूले यसलाई “लेटरप्याडको गैरकानुनी दुरुपयोग” भन्दै सम्बन्धित निकायलाई कारबाहीको माग गरेका छन् । कानुन विपरीत सरकारी पदको भ्रम सिर्जना गर्दै पत्राचार गर्नु आपराधिक कार्यको श्रेणीमा पर्ने हुँदा दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवाज चुलिएको छ ।

यता, भगत बिनले भने आफूबाट त्रुटिपूर्ण काम नभएको र यसमा सचिवालयको लापरबाही भएको बताएका छन् । उनले एक सामाजिक मार्फत भनेका छन्, “मेरो सचिवालयको कमजोरीका कारण लेटरप्याडमा केही त्रुटि भएको हो । तपाईंहरू आम सञ्चार जगतलाई यसबारे हार्दिकतापूर्वक जानकारी गराउँदैछु र यसलाई अन्यथा नलिनुहुन अनुरोध गर्दछु।”

तर राजनीतिक विश्लेषकहरू भन्छन्, सरकारी हैसियत नहुँदाहुँदै आफूलाई राज्यमन्त्री देखाउने शैलीमा पत्राचार गर्नु गम्भीर विषय हो । सत्यनारायण भगत बिनले प्रष्टिकरण दिए पनि कानुनी प्रक्रिया अवलम्बन गरी सत्यतथ्य छानबिन हुनुपर्ने माग बढ्दो छ ।

यस घटनाले राजनीतिक आचरण र पद प्रयोग सम्बन्धी प्रश्न उठाएको छ । अब सम्बन्धित निकायहरूले यस विषयमा के कदम चाल्छन् भन्ने आम जनताको चासोको विषय बनेको छ ।

आरके श्रीवास्तव,राैतहट,०१ गते जेठ । 

मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव( जितेन्द्र) को प्रमुख आतिथ्यमा सम्पन्न ‘जय नेपाल कप टि २० अन्तरकलेज क्रिकेट प्रतियोगिता’ को उपाधि सिन्धुरेघारी मल्टिपल क्याम्पस,चपुरले हात पारेको छ । बैशाख २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा सिन्धुरेघारीले मध्य रौतहट मल्टिपल क्याम्पस, गरुडालाई ६८ रनले पराजित गर्दै उपाधि चुमेको हो ।

फाइनल खेलमा सिन्धुरेघारी क्याम्पसले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको मध्य रौतहट क्याम्पस १०.२ ओभरमै ६३ रनमा सिमित रहँदै अलआउट भयो ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि रहेका अर्थमन्त्री यादवले भने, “खेलकुद युवामा अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने माध्यम हो । यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेल प्रतिभालाई उजागर गर्न सहयोग गर्छन् ।” उनले सरकार खेल पूर्वाधारको विकास र स्थानीय स्तरमा यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता पनि जनाए ।

अर्थमन्त्री यादवले सिन्धुरेघारी क्याम्पसलाई ऐतिहासिक जितका लागि बधाई दिँदै पराजित टिमलाई पनि उत्साहजनक प्रदर्शनका लागि धन्यवाद दिए । उनले आयोजक नेपाली काँग्रेस बिद्यार्थी विभाग राैतहटलाई सफल व्यवस्थापनका लागि प्रशंसा गर्दै यस्तो प्रतियोगिता हरेक वर्ष आयोजना गरिनुपर्ने धारणा राखेका थिए ।

जय नेपाल कपको पहिलो संस्करणमै देखिएको उत्साह र प्रतिस्पर्धात्मक खेलले यस प्रतियोगिताको दीर्घकालीन सम्भावना उजागर गरेको छ ।

फाेटाे फिचर:

आरके श्रीवास्तव,गरूडा,३१ गते वैशाख ।
राैतहट । राैतहटकाे कटहरिया ४ मा सशस्त्र प्रहरीले मोटरसाइकलमा दुर्घटनामा फतुवा विजयपुर–४ टेंग्राहाका ४८ वर्षीय अनूठा राय यादवको ज्यान गएको घटनापछि पीडित परिवारलाई न्याय दिलाउने पहल सुरु गरिएको छ ।

नेपाली काँग्रेसका युवा नेता तथा भावी मेयर उम्मेदवार ज्ञानेन्द्र यादवको सहित स्थानीयहरूकाे उपस्थितिमा रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का र प्रहरी उपरीक्षक नेत्रमणि गिरीले मृतक यादवका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

भेटका क्रममा सुरक्षा निकायका प्रमुखहरूले दोषी सशस्त्र प्रहरीमाथि कारवाही प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्दै,घाइते दिलीप कुमार साहको उपचारमा राज्यको तर्फबाट आर्थिक सहयोग प्रदान गरिने प्रतिबद्धता जनाएका छन् ।

युवा नेता यादवले पीडित परिवारको न्यायका लागि निरन्तर दबाब दिने बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारवाही र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारबाट गराउन पहल जारी रहने बताए ।
शोक सन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नेतृत्त्वद्वयले परिवारजनसँग सहानुभूति व्यक्त गरेका छन् ।

घटनास्थलमा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो भने, उनीहरूले पनि दोषी प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,३१ गते वैशाख । 

गुजरा । नेकपा एमाले गुजरा नगर कमिटीको आयोजनामा गुजरा नगरपालिका वडा नम्बर ३ स्थित सिमरी गाउँमा भव्य र सभ्य रूपमा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा राैतहट जिल्ला इन्चार्ज कमरेड अजय गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य कुन्दन कुशवाहा, भूमिसम्बन्धी समस्या समाधान आयोगकी केन्द्रिय सदस्य आरती भण्डारी, आयोगका जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, पूर्व राज्य मन्त्री कमरेड केशव चौधरी तथा प्रदेश, जिल्ला र नगर कमिटीका विभिन्न नेताहरूको पनि उपस्थिति रहेको थियो ।

यस अवसरमा गुजरा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष पदका प्रत्यासी काजीमान माझीको नेतृत्वमा सिंगो सिमरी गाउँ एमालेमा गोलबन्द भएको नेकपा एमाले राैतहटका नेताहरूकाे दाबी छ । कार्यक्रमका आयोजक तथा नेताहरूले नयाँ प्रवेश गर्ने सबैप्रति हार्दिक स्वागत, बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नयाँ जोश र उत्साहसहित जनसमर्थन अझ सुदृढ भएको नेताहरूले बताएका छन् । कार्यक्रमले स्थानीय स्तरमा एमालेको प्रभाव विस्तारमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।