२०८३ असार २६
२०८३ असार २६

बज्जिकाञ्चल संवाददाता,राैतहट,२९ गते जेठ । 

रौतहटको कटहरिया नगरपालिकामा पत्रकारहरूमाथि दुर्व्यवहार र कुटपिट भएको घटनाप्रति प्रेस चौतारी नेपाल, रौतहट शाखाले कडा आपत्ति जनाएको छ । नगरपालिकामा देखिएको खानेपानी समस्यासम्बन्धी सार्वजनिक टिप्पणी गरेका पत्रकार रविन्द्र प्रजापति र सागर ठाकुरमाथि कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले अपमानजनक व्यवहार गरेको भन्दै प्रेस चौतारीले प्रेस विज्ञप्ति जारी गरी विरोध जनाएको हो ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार मेयर जयसवालले पत्रकार प्रजापतिलाई गाली-बेइज्जती गरेका थिए भने अर्का पत्रकार सागर ठाकुरमाथि शारीरिक आक्रमणसमेत गरेका थिए । प्रेस चौतारीले जनप्रतिनिधिबाट यस्तो किसिमको व्यवहार हुनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हमला भएको स्पष्ट पारेको छ ।

“जनताको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानीजस्तो संवेदनशील विषयमा प्रश्न उठाउँदा त्यसको उत्तर कुटपिट र गालीमार्फत दिनु अस्वीकार्य छ,” प्रेस चौतारीका अध्यक्ष अशोक कुमार पहाडीले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रेस चौतारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूलाई आग्रह समेत गरेको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२०८२ जेठ २९ गते । 

पत्रकारिता क्षेत्रलाई स्तब्ध पार्ने एक आपराधिक घटना रौतहट जिल्लाको कटहरिया नगरपालिकामा घटेको छ । कटहरिया म्यूजिकल एफ.एम.का समाचारवाचक तथा सागर संगम मिडिया प्रा.लि.का अध्यक्ष सागर संगम ठाकुर र सञ्चारकर्मी रविन्द्र प्रजापतीमाथि बिहीबार साँझ संघातिक हमला भएको हो ।

प्राप्त जानकारीअनुसार, खानेपानीको वास्तविकता सार्वजनिक गरेका कारण र सामाजिक सञ्जालमा व्यक्त विचारका लागि उनीहरूलाई  कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले  छलफलको बहानामा त्रिशक्ति बोर्डिङ स्कुलको प्राङ्गणमा बोलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको हो । यस घटनालाई पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला आक्रमणका रूपमा लिइएको छ ।

घटनापछि गम्भीर घाइते भएका पत्रकार ठाकुरको प्रारम्भिक उपचार गरुडा स्थित बेटर मल्टिस्पेसलिस्ट अस्पतालमा गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि वीरगंज रेफर गरिएको छ । अर्का सञ्चारकर्मी प्रजापतीलाई पनि सामान्य चाेटपटक लागेको छ ।

घटनाको सर्वत्र निन्दा भइरहेको छ । सामाजिक सञ्जालमा शीघ्र स्वास्थ्य लाभको कामना र दोषीमाथि कारबाही होस, पत्रकारिताको अधिकार लगायतका ह्यासट्याग प्रयोग गरी नागरिक, पत्रकार र सामाजिक अभियन्ताहरूले दोषीमाथि तुरुन्त कानुनी कारबाहीको माग गरिरहेका छन् ।

यस आक्रमणलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको गम्भीर संकटको रूपमा लिइँदैछ । पीडित पक्षले दोषीहरूलाई पहिचान गरी तत्काल कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

पत्रकारिता कुनै अपराध होइन, यो समाजको ऐना हो ।
यस प्रकारको हिंसात्मक घटना दोहोरिन नदिन सम्पूर्ण पत्रकार जगत, नागरिक समाज र राज्य निकाय एकजुट हुन आवश्यक देखिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२८ गते जेठ ।

रौतहटको यमुनामाई गाउँपालिका–१ स्थित झाझपुल नजिक लुटपाट गर्न खोज्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मिति २०८२ साल जेठ २८ गते राति करिब १:३० बजे मधेश प्रदेश ०७–००१ प ०००४ नम्बरको मोटरसाइकलमा सवार दुर्गाभगवती गाउँपालिका–३, मत्सरी निवासी ३५ वर्षीय कृष्णमणि झालाई ७/८ जना अपरिचित व्यक्तिहरुले रोकेर लुटपाट प्रयास गरेका थिए ।

प्रहरीलाई घटनाबारे सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनास्थल पुगेर झालाई सकुशल उद्धार गरेको थियो । घटनामा संलग्न २२ वर्षीय मुकेश महतो र २० वर्षीय सिताराम महतोलाई नियन्त्रणमा लिइएको छ । हाल पक्राउ परेका दुवै युवामाथि आवश्यक अनुसन्धान भइरहेको र अन्य फरार व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको राैतहट प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिएका छन् ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ २८ गते । 

रौतहटकाे गरुडा नगरपालिका–८ स्थित बिर्ता चौक नजिक मस्जिदको छेउमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार दासमाथि एक आपराधिक समूहले संघातिक आक्रमण गरेको छ । शुक्रबार साँझ ६:३० बजे भएको उक्त घटनाप्रति जसपा, मधेस प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको कडा भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । “यस्तो आपराधिक गतिविधिले लोकतान्त्रिक राजनीतिमा खलल पुर्याउने खतरा उत्पन्न भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “संबन्धित निकायले यथाशीघ्र दोषी पहिचान गरी कानूनी दायरामा ल्याउनु पर्छ।” यस घटनाले स्थानीयस्तरमा त्रासको वातावरण सिर्जना भएको छ भने सुरक्षाको सवालमा गम्भीर प्रश्न उठेको जनगुनासो छ। प्रहरी प्रशासनले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।

आरके श्रीवास्तव,गरूडा,२७ गते जेठ ।

राैतहटकाे माैलापुर नगरपालपका वडा नम्बर ६ पथरास्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा वि.स. २०७३ सालदेखि सञ्चालनमा रहेको डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ्ग कार्यक्रमले प्राविधिक शिक्षामा नयाँ उचाइ लिएको छ ।

नेपाल सरकारको “प्रत्येक पालिकामा एउटा प्राविधिक धार” नीति अनुरूप सञ्चालनमा आएको उक्त कार्यक्रम अहिले सशक्त रूपमा अघि बढिरहेको छ । हाल चालू शैक्षिक सत्रमा ४८ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ८ र ९ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई इन्ट्रान्स परीक्षामार्फत नामाङ्कन गरिन्छ ।

चार वर्षको अध्ययन पूरा गरेपछि विद्यार्थीलाई नेपाल सरकारबाट प्रमाणित डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ्गको प्रमाणपत्र प्रदान गरिन्छ । विद्यालयका प्रधानाध्यापक राजेश कुमार सिंहका अनुसार, “विद्यार्थीहरूलाई अध्ययनका क्रममा विभिन्न सरकारी तथा निजी कार्यालयहरूमा प्राविधिक अवलोकनका लागि पनि लैजानुका साथै, उनीहरूलाई व्यवहारिक ज्ञान दिइँदैछ।” उनले थपे, “अध्ययनका लागि २० वटा ल्यापटप र ५० वटा डेस्कटप कम्प्युटर छन्, साथै स्मार्टबोर्डमार्फत शिक्षण प्रक्रिया सञ्चालन गरिन्छ ।

” विद्यालयमा प्राविधिक धारका लागि ९ जना दक्ष शिक्षक कार्यरत छन् । तीमध्ये एकजना, शिक्षक लखिन्द्र यादवका अनुसार, “विद्यार्थीहरूमा कम्प्युटर सम्बन्धी प्राविधिक दक्षता अभिवृद्धिमा निरन्तर ध्यान दिइँदैछ ।” विद्यालय सञ्चालनमा राजनीतिक हस्तक्षेप हटाउँदै सहकार्य र समर्पणका साथ अघि बढेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक यादवले भने, “हामीले राजनीतिक गतिरोध अन्त्य गरी विद्यालयमा प्राविधिक शिक्षाको स्तर उकास्न प्राथमिकता दिएका छौं । शिक्षामा गुणस्तर ल्याउने हाम्रो मुख्य उद्देश्य हो ।

” अर्कोतर्फ, लेखापाल भगत साहले जानकारी गराएअनुसार, “नेपाल सरकारबाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीका लागि प्रत्येक वर्ष १२ लाख रुपैयाँ बराबरको रकम बजेटस्वरूप प्राप्त हुन्छ ।

अबदेखि त्यो रकम चार वर्षका लागि कूल १२ हजार विद्यार्थी खातामा सिधै पठाउने व्यवस्था गरिएको छ।” श्री मावि पथरा बुधरामको यो प्राविधिक पहलले ग्रामीण क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षालाई टेवा पुर्याइरहेको छ ।

बज्जिकाञ्चल संवाददाता,२०८२ जेठ २६ गते । 

जनकपुरधाम । एकीकृत समाजवादी पार्टीका मधेस प्रदेश सांसद कनिस पट्टेलले सरकारको वार्षिक नीति तथा कार्यक्रममा कडा असन्तुष्टि जनाएका छन् ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा बोल्दै उनले सरकारले सांसदहरूको आवाज समेत नटेर्ने अवस्थामा ‘हेल्लो सीएम’ जस्ता कार्यक्रम जनताका समस्या सुन्ने भरपर्दो माध्यम हुन नसक्ने टिप्पणी गरे ।

“सांसदहरू बारम्बार संसदमा सरकारसँग जनताको समस्या उठाउँछन् तर सुनेको पाइँदैन,” उनले प्रश्न गर्दै भने, “हेल्लो सीएममार्फत जनताको गुनासो कसरी सुन्ने ?”

सरकारले संसदमा उठाइएका प्रश्नहरूको जवाफसमेत दिन चुकेको भन्दै उनले कार्यपालिका र व्यवस्थापिकाबीचको संवादको अभावमा नीतिगत कार्यान्वयन प्रभावित भएको बताए ।

सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम नारा र देखावटी शैलीमै सीमित रहेको उनको आरोप थियो । “फूलबुट्टा सजाएर ल्याएको नीतिभन्दा व्यवहारमा देखिने परिणाम जरुरी छ,” पट्टेलले टिप्पणी गरे ।

उनले नीति तथा कार्यक्रम केही सीमित निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै सबै क्षेत्रमा समानरूपमा योजना विस्तार गर्न सुझाव पनि दिए । “१२ वटा निर्वाचन क्षेत्रमा मात्रै योजना सीमित नगर्नुहोस्,” उनले चेतावनी दिए, “सार्वजनिक योजना देशभरका जनताको हक हो ।”

पट्टेलको भनाइले सरकार र सांसदबीच बढ्दो दूरी तथा नीतिगत संवादको आवश्यकतालाई उजागर गरेको देखिन्छ ।

चन्दन यादव,राैतहट,२७ गते जेठ । 

राैतहटमा अदालतको फैसला कार्यान्वयन गर्न खटिएको प्रहरी टोलीले फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । ती सबै प्रतिवादीहरू विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका थिए ।

प्रहरीका अनुसार मिति २०८२ साल जेठ २७ गतेसम्ममा रौतहट जिल्ला अदालतबाट सजाय पाएका तर फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका ईकाइहरूबाट परिचालित टोलीले खोजी गरी पक्राउ गरेको हो ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा बुझाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार रायले जानकारी दिएका छन् ।

रायका अनुसार अदालतको फैसला कार्यान्वयनमा शून्य सहनशीलता नीति अपनाउँदै फरार प्रतिवादीहरूलाई खोजी गरी कारबाही अघि बढाउने कार्यलाई प्रहरीले अझ प्रभावकारी बनाउँदै लगेको छ ।

आरके श्रीवास्तव,राैतहट,२७ गते जेठ । 

नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले सूचित गरेअनुसार भोलि मिति २०८२ जेठ २८ गते (बुधबार) मौलापुर क्षेत्रमा ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

गौर वितरण केन्द्रबाट प्राप्त जानकारी अनुसार,हर्षाहा ३३ केभी लाइन अन्तर्गत बसन्तपुर क्षेत्रमा अवस्थित दुई थान पोल भाँचिन लागेकोले ती पोलहरुको मर्मत तथा बद्ली कार्य गर्नुपर्ने भएको हो । यस कार्यका लागि बिहान ७:३० बजेदेखि दिउँसो १२:३० बजेसम्म मौलापुर सब स्टेसनबाट सञ्चालित सम्पूर्ण विद्युत् आपूर्ति बन्द रहने जानकारी दिइएको छ ।

Oplus_0

 

विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तालाई केही असुविधा पर्न सक्ने भएकाले मौलापुर वितरण केन्द्रले सबै ग्राहक वर्गमा क्षमायाचना गर्दै आवश्यक वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

मौलापुर वितरण केन्द्रका प्रमुख रामदिनेश यादवले जानकारी दिनु भएको छ कि पोल मर्मत कार्य सम्पन्न भएपछि पुनः नियमितरूपमा विद्युत् आपूर्ति सुरु गरिनेछ ।

आरके श्रीवास्तव,रौतहट, २०८२ जेठ २६ गते । 

जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रिय सल्लाहकार समिति सदस्य राजकुमार दासमाथि गम्भीर आक्रमण भएको छ । उक्त आक्रमण आइतबार साँझ करिब ६:३० बजे गरुडा नगरपालिका–८ अन्तर्गत बिर्ता चौक नजिकको मस्जिद छेउमा भएको हो ।

पार्टीका अनुसार केही आपराधिक समूहले योजनाबद्धरूपमा दासमाथि संघातिक आक्रमण र दुर्व्यवहार गरेका छन् । यस घटनाप्रति जनता समाजवादी पार्टी नेपाल, रौतहट जिल्ला समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

जिल्ला अध्यक्ष राजीव रंजन यादवद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

पार्टीले सुरक्षा निकायलाई दोषी पहिचान गरी तुरुन्त कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । साथै, यस्ता आपराधिक घटनाले मुलुकको शान्ति, स्थायित्व र राजनीतिक सहिष्णुतामाथि प्रश्न उठाउने भन्दै चौतर्फी चिन्ता व्यक्त गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ २३ गते ।

प्रिन्सिपल एसाेसिएसन अफ नेपाल (प्यान) काे दोस्रो सभा पोखरा सभागृहमा भव्य रूपमा सम्पन्न भएको छ । शिक्षा मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यता र प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अध्यक्ष अम्बर बहादुर थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सभामा देशभरका स्थानीय तहका प्रमुखहरू, अध्यक्षहरू, उत्कृष्ट पालिकाका प्रतिनिधिहरू तथा शिक्षाविदहरूको विशेष सहभागिता रहेको थियो । शिक्षा क्षेत्रका राष्ट्रिय स्तरका व्यक्तित्व प्रा. डा. विद्यानाथ कोइरालासहित देशभरिका प्रधानाध्यापकहरू उपस्थित थिए ।

यसै अवसरमा मधेश प्रदेशका उत्कृष्ट प्रधानाध्यापक जलधर कमलदेव नमुना मावि बह्रमपुरी,सर्लाहीकी कुशल, मेहनती, इमानदार र सफल शिक्षानेत्री विनिता कुमारी साहलाई नेपाल प्रधानाध्यापक संघ (प्यान) द्वारा विशेष सम्मान गरिएको छ । उनी बज्जिका साहित्य समाज, सर्लाहीकी स-सचिव समेत हुन् । उनकाे सम्मानले मधेश प्रदेशकाे शिक्षा क्षेत्रलाई थप प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ ।

सोही अवसरमा किशुनदयाल श्रीकृष्ण प्रधानाध्यापक  श्री अमरपट्टी प्राविका पोठियाही, गरुडा नपा-६, रौतहट तथा अध्यक्ष, बज्जिका साहित्य संगम रौतहटले प्रअ साहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।