२०८३ असार २५
२०८३ असार २५

काठमाडौं,६ गते भदौ । लोकतान्त्रिक महिला संघको आयोजनामा तीज पर्वको अवसरमा आज लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वदेखि विभिन्न भातृसंस्थाका प्रतिनिधिहरूसम्मको उल्लेख्य उपस्थिति रहेको थियो ।


कार्यक्रममा विशेष अतिथि तथा लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक योगदानको प्रशंसा गर्दै तीज जस्ता पर्वहरूले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने बताए। उनले भने, “तीज मात्र नाचगानको उत्सव होइन, यो महिलाहरूको अधिकार र आत्मसम्मानको प्रतीक पनि हो। लोकतान्त्रिक महिला संघले यस्तो पहल गर्नु निकै सराहनीय छ।”


प्रमुख अतिथि तथा पार्टीका वरिष्ठ सह अध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले तीजको सांस्कृतिक र सामाजिक महत्वबारे चर्चा गर्दै महिलाहरूको सशक्तीकरणमा यस्ता कार्यक्रमले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । उनले भने, “यस्ता सांस्कृतिक कार्यक्रमहरूले राजनीतिक आन्दोलनमा समेत ऊर्जा दिने काम गर्छन्। महिलाहरूको सहभागिता बिना सशक्त लोकतन्त्र सम्भव छैन।”

 

त्यसैगरी, लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामरेन्द्र वर्माले महिलासम्बन्धी कार्यक्रमहरूमा सञ्चारकर्मीको भूमिका उल्लेखनीय हुने भन्दै यस्ता उत्सवहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

लाेसपा नेपालका प्रवक्ता एवम् उपाध्यक्ष डा.अभास लाभ सुमधुर गित सुनाएर सबैजना मनाेरंजन गराउनु भएको थियोे । साथै वहाँले महिलाकाे साथमा आफूहरू सधैं रहने प्रतिबद्धता जनाउनु भएको थियोे ।

कार्यक्रमकी अध्यक्षता गर्दै लोकतान्त्रिक महिला संघकी अध्यक्ष मिनु ठाकुरले तीज पर्व महिला सशक्तीकरणको प्रेरणास्रोत भएको उल्लेख गरिन्। उनले भनिन्, “हाम्रो संघले महिलाहरूको हकहितका लागि निरन्तर काम गरिरहेको छ। आजको तीज उत्सव त्यसको एउटा सांस्कृतिक प्रतिबिम्ब हो।”

कार्यक्रममा लाेसपा नेपालका महासचिव मनिष मिश्र,डा.सुरेन्द्र झा,सितल यादव,लाेकतान्त्रिक युुवा संघका सुजन यादव,लाेकतान्त्रिक बिद्यार्थी संघका अध्यक्ष राेशन मिश्रा ,पार्टीका सचिव अजय झा, लाेकतान्त्रिक पत्रकार संघका बरिस्ठ उपाध्यक्ष बिजेता चाैधरी,महासचिव सुस्मिता लाल,चन्द्रमाेहन चाैधरी सहित पार्टीका अन्य वरिष्ठ नेता, विभिन्न भातृसंगठनका प्रतिनिधि, महिला संघका पदाधिकारी, पत्रकार, सांस्कृतिक कलाकार र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । तीजको अवसरमा सांस्कृतिक कार्यक्रम, गीत-संगीत र नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित सबैलाई रमाइलो बनाएकाे थियोे ।

ओम प्रकाश यादव,राैतहट,भदौ ६ गते । 

रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले जनताको समस्या बुझ्न जनताको घरदैलोमा व्यस्त हुन थालेका छन्।

मेयर जयसवालले नगरको विभिन्न गाउँ टोलमा गएर आम जनतासंग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या, जिज्ञासा, आवस्यकता, बुझिरहेका छन्।

जनताको हरेक समस्या समाधान गर्ने र आवस्यकता पुरा गर्ने उद्देश्यले आफूले जनताको घरदैलोमा जान थालेको मेयर जयसवालले बताए ।

सबै जनता कार्यालयमा आएर समस्या राख्न नसक्ने भएको तथा जनताको बीचमा नगई जनताको आवश्यकता र समस्या बुझ्न नसकिने भएको हुँदा आफू घरदैलोमा गएर जनताको कुरा सुन्ने काम गरिरहेको उनले बताए।

नगरपिताको हैसियतले निर्वाचित नगर प्रमुख स्वयंम जनताको बीचमा गएर उनीहरूसँग प्रत्यक्ष सम्वाद गरी समस्या बुझ्नुु आम जनताको लागि गौरवको विषय हो, निर्वाचित जनप्रतिनिधिले जनताको बीचमा गएर जनतासंग भेटघाट र छलफल गर्नुपर्छ ।

जनप्रतिनिधि जनतासंग भाग्ने होइन जनताको बीचमा गएर जनताको कुरा सुन्ने, समस्या बुझ्ने र समाधान गर्ने साहस, आँट राख्न सक्नुपर्दछ ।

गरुडा नगर प्रमुख जयसवालले आज गरुडा न.पा.–९ श्रीपुर र रघुनाथपुरका बिभिन्न टोल–टोलमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै समस्या, आवश्यकता र विकासका प्राथमिकताहरू बुझ्ने प्रयास गरेका हुन् ।

जनताको आवश्यकता र समस्या बुझ्न आफू जनताको घरदैलोमा पुग्ने गरेको मेयर जयसवाल बताउँछन् ।

जनताको साथ र सुझावका आधारमै नगरलाई अझ समृद्ध र सक्षम बनाउन निरन्तर प्रयासरत रहने उनले बताए।

जनताबाट प्राप्त हुने सुझावको आधारमा आफू अगाडि बढ्दै जनताको हरेक इच्छा आकांक्षा पूरा गर्ने उनले प्रतिबद्धता जनाए।

घरदैलो सकेपछि जनताको हरेक समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै उनले जनताको हरेक आवस्यकता पुरा गरेर छाड्ने उद्घोष गरे ।

बज्जिकाञ्चल संवाददाता,रौतहट, ०६ भदौ । 

प्रभु साह नेतृत्वमा रहेको आम जनता पार्टी (आजपा) का विभिन्न तहमा सक्रिय रहँदै आएका शीर्ष नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरूमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, केन्द्रिय सदस्य तथा प्रदेशसभा उम्मेदवार राजन यादव ‘मनोज’, महिला मोर्चा केन्द्रिय इन्चार्ज एवं पूर्व उपमेयर कान्ति देवी, केन्द्रिय सदस्य तथा पूर्व उपमेयर सिमल कुमारी साह, उपमेयर उम्मेदवार रिमा कुमारी यादव, सचिवालय सदस्य श्याम यादव, केन्द्रिय सदस्यहरू लालबहादुर साह, राजेश साह, श्यामनन्दन प्रसाद साह कानु, मुना साह कानु, रन्जन साह कानु लगायत दर्जनौं नेता कार्यकर्ता रहेका छन् ।

उनीहरूलाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्दै टिका र माला लगाई पार्टी प्रवेश गराएका थिए ।

 

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्ने सबै नेताहरूलाई स्वागत गर्दै देश र जनताको सेवामा सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए। ओलीले पार्टीमा आएको यो नयाँ उत्साहले संगठन अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।

नवप्रवेशी नेताहरूले एमालेलाई आफूहरूको राजनीतिक यात्राको नयाँ गन्तव्यका रूपमा रोजेको भन्दै पार्टी संगठन बलियो बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उता, आजपाले भने पार्टीबाट पहिले नै निष्कासित गरिएका केही व्यक्तिहरूलाई पार्टीको नाम जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । पार्टीले यस्तो भ्रमपूर्ण गतिविधिबाट जनता झुक्किन नहुने स्पष्ट पारेको छ ।

जनकपुरधाम, ०६ गते भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मधेश प्रदेशको नव गठित प्रदेश कार्यकारिणी समितिको प्रथम बैठक आज शुक्रबारका दिन जनकपुरधाम स्थित प्रदेश पार्टी कार्यालयमा सम्पन्न भएको छ । उक्त बैठक पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको हो ।

बैठकमा नवनियुक्त प्रदेश पदाधिकारीहरु तथा कार्यकारिणी समितिका सदस्यहरुले औपचारिक रुपमा पदभार ग्रहण गर्नुका साथै सपथ लिएका छन् । बैठकमा विभिन्न एजेन्डाहरुमा गम्भीर छलफल, संगठन सुदृढीकरणदेखि प्रदेश सरकारसम्बन्धी विषयसम्मका महत्वपूर्ण निर्णयहरु पारित गरिएको छ ।

बैठकमा संगठन विस्तार एवं सुदृढीकरण,वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशन,मुलुकको वर्तमान समसामयिक राजनीतिक अवस्था र मधेश प्रदेश सरकारसँग सम्बन्धित विषयहरु लगायत विविध विषयमा छलफल गरिएको बुझिएको छ ।

बैठकमा प्रदेश कार्यकारिणी सदस्यहरुद्वारा प्रस्तुत विभिन्न सुझाव तथा सल्लाहहरुमा समेत विस्तृत छलफल गरिएको थियो । सहभागी सदस्यहरुले पार्टीलाई प्रदेशस्तरमा अझ मजबुत बनाउँदै संगठनात्मक गतिविधिहरुलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी नेतृत्वले उक्त बैठकलाई अत्यन्तै सफल र दिशानिर्देशक भन्दै आगामी दिनमा प्रदेशस्तरमा पार्टीको प्रभावकारिता वृद्धि गर्ने रणनीति अनुरूप कार्य अघि बढाइने जानकारी दिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०६ गते भदौ  । 

राैतहटकाे फतुवाबिजयपुर नगरपालिकाको वडा नम्बर २ सीतलपुरदेखि वडा नम्बर ३ मेवा क्षेत्रसम्मको करिब २ किलोमिटर सडकमा आरसीसी ढलान र नाला निर्माण कार्य अगाडि बढ्ने भएको छ । करिब ३ करोड रुपैयाँको लागतमा बन्ने यो योजनाको लागि स्थलगत निरिक्षण/सर्वेक्षण सम्पन्न भएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्जका ईन्जिनियर रामविनय साहको नेतृत्वमा आएको प्राविधिक टोलीले बिहीबार सीतलपुर क्षेत्रमा पुगेर स्थल निरीक्षण तथा नापजाँच कार्य सम्पन्न गरेको हो । टोलीमा नासु मुकेश साह लगायत अन्य प्राविधिकहरू सहभागी थिए । स्थानीय भद्रभलाद्मीहरू, जनप्रतिनिधि तथा नागरिकहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।

प्रत्येक निर्वाचन क्षेत्रमा ७ वटा याेजना छानाैट गर्नुपर्ने प्रावधान अनुसार आ.व.२०८२/८३ मा राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहकाे संसदीय याेजना अन्तर्गत पहिलाे याेजना रहेको आजपा नेता रामशरण यादवले जानकारी गराएका छन् । सांसद साहकाे विशेष पहलमा याे महत्त्वपूर्ण याेजना सुरु भएको उनकाे भनाइ छ ।

यो योजना अघि बढाउन नगरपालिकाको तर्फबाट देखाइएको सक्रियता उल्लेखनीय रहेको छ । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले पनि योजना सहज बनाउन महत्वपूर्ण भूमिका खेलेकी छिन्।

उनले भनिन्, “स्थानीय तहमा जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौं। यो योजना पनि सोही प्रयासको हिस्सा हो। नगरवासीलाई गुणस्तरीय सडक र नाला सुविधा उपलब्ध गराउन हामी दृढ छौं । संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयबाट मात्रै दिगो विकास सम्भव छ।”

 

योजना वीरगंजस्थित सघन शहरी तथा भवन निर्माण कार्यालयमार्फत कार्यान्वयन गरिनेछ भने डिपिआर पनि नगरपालिकाकै समन्वयमा तयार गरिनेछ । ईन्जिनियर साहका अनुसार डिपिआर तयार गरी छिट्टै टेण्डर प्रक्रिया सुरु हुनेछ ।

साइट निरीक्षणको क्रममा मेयर प्रत्याशी विजय यादव “निर्बीज”, वडा नं. २ का अध्यक्ष अनिरूद्व प्रसाद यादव (संजय) स्थानीय अगुवाहरूको उपस्थिति थियो । निरीक्षणपछि आयोजना स्थलमै संक्षिप्त छलफल पनि भएको थियो ।

कार्यक्रममा सहभागी प्रदेश सांसद प्रत्याशी महमद सेराजले यस्तो पूर्वाधार योजनाले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै भने, “यस किसिमका विकास योजनाहरूलाई सहयोग गर्न म प्रतिबद्ध छु । जनताको आधारभूत आवश्यकतामा आधारित योजनाहरूमा सबै तहको सरकारबीच सहकार्य आवश्यक छ।”

फतुवाबिजयपुर नगरपालिकाले पछिल्लो समय पूर्वाधार विकासमा अग्रसरता देखाउँदै आएको छ । सडक ढलान तथा नालाजस्तो अत्यावश्यक संरचनाको निर्माणमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय निकायबीचको समन्वय एक सकारात्मक उदाहरणका रूपमा देखिएको छ ।

 

ओम प्रकाश यादव
भदौ ५ गते, रौतहट।

रौतहटमा गौर हत्याकाण्डको विषयलाई लिएर आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आन्दोलन गर्ने निर्णय गरेको छ।

गौर हत्याकाण्ड सम्बन्धी जाहेरीको अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि सत्तापक्ष र विपक्षी दलका नेताहरु एकढिक्का भएर आन्दोलन गर्ने निर्णय गरेको हो ।

जसपा नेपाल सहित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा लगाएत दलका नेताहरुको आज गौर स्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको सर्वपक्षीय बैठकले आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको बैठकमा सहभागी जसपा नेपालका नेता श्याम विहारी यादवले जानकारी दिएका छन्।

२०६३ साल चैत्र ७ गते गौर राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच भिडन्त हुँदा २७ जनाको हत्या भएको विषयमा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सो घटनामा मुछिएको भन्दै अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित १ सय ३० जनामाथि अनुसन्धान गर्न आदेश दिएपछि जसपा नेपालका नेता कार्यकर्ताहरुलाई राजनीतिक पूर्वाग्रही ढङ्गले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकारले फसाउन खोजेको भन्दै आन्दोलित भएका छन्।

रौतहटमा अहिलेसम्म जसपा नेपालले मात्र विरोध प्रदर्शन गर्दै आएको अवस्थामा अब नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एस, लोसपा लगाएत पार्टीका नेताहरु समेत संयुक्त रूपमा आन्दोलन गर्ने भएको छ।

सर्वोच्च अदालतको आदेशपछि आन्दोलनमा सक्रिय रहेका जसपा नेपालसँगै अब जिल्लामा क्रियाशील अन्य दलका शीर्ष नेताहरू पनि सडक संघर्षमा उत्रिने भएका छन् ।

जसपा नेपाललाई सत्ताधारी र प्रतिपक्षी दलहरुले सघाउन तयार भएपछि आन्दोलनले नयाँ तरंग पैदा गर्ने भएको छ।

गौरमा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आउँदो शनिवार गौरमा मसाल जुलुस निकाल्ने र त्यसको भोलि पल्ट आईतबार संयुक्त बृहत शक्ति प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एसका नेता रेवन्त झाले बताएका छन्।

गौर हत्याकाण्डमा सरकारले विभिन्न दलमा आबद्ध रहेका मधेशका नेताहरुलाई सुनियोजित तरिकाले फसाउने षड्यन्त्र रचेकोले आफूहरु एकढिक्का भएर सरकारको सो कदम विरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णयमा पुगेको नेता झाले बताए।

बैठकले विगतका घटनाबारे जनमानसमा प्रचार–प्रसारका लागि रौतहटका चार वटै क्षेत्रमा टोली गठन गरेको छ ।

रौतहट क्षेत्र नं. १ का लागि नेकपा एमालेका नेता बबन सिंह, लोसपा नेता बाबुलाल साह, नेकपा एसका नेता रेवन्त झा, लोसपा नेता अनिल सिंह लगायतको नेताहरुको टोली बनाइएको छ ।

त्यस्तै क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता रामचन्द्र गिरि, जसपा नेपाल रौतहटका अध्यक्ष राजु यादव, प्रदेश सांसद शोभा साह र बशिष्ट यादवलाई बैठकले प्रचार प्रसारको जिम्मेवारी दिइएको छ ।

त्यस्तै क्षेत्र नं. ३ र ४ का लागि नेकपा एसका नेता ब्रिज किशोर यादव, जसपा नेपालका नेता अनिल यादव, जसपा नेपाल रौतहटका जिल्ला इन्चार्ज राजकुमार दास र श्याम यादव सहितको टोली बनाइएको बैठकमा सहभागी जसपा नेपालका नेता श्याम विहारी यादवले बताए ।

बैठकमा सहभागी लोसपा नेता अनिल सिंहले अदालतमार्फत सरकारले मधेश जनविद्रोहलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाए।

नेता सिंहले सरकारले अदालत मार्फत मधेश जनविद्रोहलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले मधेशी जनताको अधिकार र पहिचानका लागि भएको संघर्षलाई मुद्दा र कानुनी जटिलतामा फसाएर आन्दोलनको प्रभाव घटाउन खोजिएको बताए।

नेकपा (एस) का नेता रेवन्त झाले मधेशलाई नेतृत्वविहीन बनाउन नियोजित षड्यन्त्र भएको दाबी गर्दै आन्दोलनलाई थप सशक्त बनाउनु पर्ने धारणा राखेका थिए।

मधेशलाई नेतृत्वविहीन बनाउन नियोजित षड्यन्त्र भइरहेको आरोप लगाउँदै नेकपा (एस) का नेता रेवन्त झाले मधेसका नेताहरू माथि दबाब र कानुनी फन्दा मार्फत आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको टिपणी गरे ।

मधेशको मुद्दामा कुनै सम्झौता नहुने बताउँदै अब आन्दोलनलाई अझ सशक्त र संगठित बनाउनु पर्ने नेता झाको भनाइ रहेको थियो ।

सर्वोच्च अदालतको आदेशसँगै जसपा नेपाल मात्र प्रदर्शन गर्दै आएकोमा अब सर्वपक्षीय सहमति सहित सर्वदलिय आन्दोलन हुने भएको छ ।

सर्वपक्षीय बैठकमा नेकपा एमालेका नेता बबन सिंह, नेपालीका कांग्रेसका नेता रामचन्द्र गिरी, नेकपा एकीकृत समाजवादी पार्टीका नेता रेवन्त झा, ब्रिज किशोर यादव, लोसपा नेता अनिल सिंह सहित जसपा नेपालका नेताहरुको सहभागिता रहेको थियो।

आरके श्रीवास्तव,राैतहट,०४ गते भदौ । 

रौतहटको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आफूले नगरमा विकास, समृद्धि र सुशासनको अभियान तीव्र रूपमा अघि बढाएपछि विकासविरोधी तत्वहरू आत्तिन थालेको बताएकी छन्।

 

आज पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले विकासको गति तीव्र बनाएसँगै भ्रष्टाचारका विरुद्ध कडा कदम चालेको र यही कारण केही व्यक्तिहरू आफू र नगरपालिकाविरुद्ध भ्रामक र अनर्गल प्रचारमा लागेका आरोप लगाइन्। “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छु, त्यसैले लुटतन्त्रमा पलाएका केही तत्वहरू अहिले आत्तिएका छन्,” खातुनले भनिन्।

 

खातुनले नगरवासीको हितलाई प्राथमिकतामा राख्दै सुशासन र पारदर्शिता कायम गर्न थालेपछि विगतमा नगरपालिकालाई आफ्ना स्वार्थका लागि दुरुपयोग गर्दै आएका व्यक्तिहरू असहज भएका र तिनैले अब भ्रमपूर्ण प्रचारमार्फत जनतालाई दिग्भ्रमित गर्न खोजिरहेको स्पष्ट पारिन्।

 

“जनताको विश्वास जित्दै विकासका काम अघि बढाइरहेको छु,” उनले भनिन्, “तर विकास र सुशासन नचाहने शक्तिहरूले मलाई बदनाम गर्ने अभियान थालेका छन्।” यस्ता हल्लाहरूमा विश्वास नगर्न उनले आम जनसमुदायलाई आग्रह गरिन्।

 

नगरप्रमुखको रूपमा उनले लिएको नेतृत्वपछि नगरमा उल्लेखनीय विकास भएको दाबी गर्दै खातुनले सडक कालोपत्रे, विभिन्न ठाउँमा नाला, ढलान र पूर्वाधार निर्माण सम्पन्न भएको जानकारी दिइन्। साथै, विद्यालय, मठ–मन्दिरको भवन निर्माण, कृषि सडक निर्माण लगायतका कामहरू सम्पन्न भएको उल्लेख गरिन्।

 

कृषि क्षेत्रमा स्यालो ट्युबवेल, विद्युतीकरण, मलखादको सहज उपलब्धता र सिंचाइको व्यवस्थाले किसानहरू लाभान्वित भएको खातुनको भनाइ छ।

 

उनले कानुनको दायराभित्र रहेर कुनै दबाब नमानिकन जनताको सेवा चुस्त रूपमा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिइएको जानकारी पनि दिइन्।

 

निलम्बित नगर प्रमुख गोपाल प्रसाद यादव भ्रष्टाचार मुद्दामा दोषी ठहरिएपछि कार्यवाहक जिम्मेवारी सम्हालेकी खातुनले आफ्नो कार्यकालमा नगरमा ठोस र जनमुखी विकास भएको दाबी गर्दै नगरको समृद्धिको यात्रामा सबै पक्षलाई साथ दिन आग्रह गरिन्।

 

“मेरो उद्देश्य स्पष्ट छ – फतुवा विजयपुरलाई समृद्ध बनाउने। जनताको साथ र विश्वास नै मेरो प्रेरणा हो,” कार्यवाहक नगर प्रमुख खातुनले जोड दिइन्।

काठमाण्डौ, भदौ ३ गते।

गौर घटनामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सर्वोच्च अदालतको परमादेश विरुद्ध विरोध प्रदर्शनका क्रममा १८ जना नेता पक्राउ परेका छन् ।

मंगलबार आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले पार्टीका प्रवक्ता मनिस सुमन सहितका नेतालाई पक्राउ गरेका हुन् । माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट पक्राउ परेका नेताहरूमा केन्द्रीय सदस्य हंसा कुमारी साह, सशी मिया, दिनेश कुमार यादव, मा. अम्बिका काफ्ले, माननीय किरण साह, भोगेन्द्र यादव,विकी यादव, बबी सिंह, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवा महासचिव दिलीप पटेल र युवा नेता मनीष यादव ओम, बलिराम कापरीलगायतका छन्।

यसैबीच शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी भइरहेका नेताहरूमाथि प्रहरीले अनावश्यक बल प्रयोग गर्दै गिरफ्तार गरेको कार्यप्रति जसपा नेपाल मधेश प्रदेश समितिले मङ्गलवार प्रेस विज्ञप्ति जारी गरी अविलम्ब रिहाइको माग गरेका छन् ।।

प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई कुचल्दै सरकारले दमनकारी शैली अख्तियार गरेको छ। यस्तो प्रवृत्तिले लोकतन्त्र र राजनीतिक सहिष्णुतामाथि प्रहार हुन्छ।

यसैबीच शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी भइरहेका नेताहरूमाथि प्रहरीले अनावश्यक बल प्रयोग गर्दै गिरफ्तार गरेको कार्यप्रति जसपा नेपाल मधेश प्रदेश समितिले मङ्गलवार प्रेस विज्ञप्ति जारी गरी अविलम्ब रिहाइको माग गरेका छन् ।समितिका अध्यक्ष बालकिशोर प्रसाद यादवले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गर्दै, आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ । सर्वोच्च अदालतको परमादेशविरुद्ध आयोजित शान्तिपूर्ण तथा लोकतान्त्रिक आन्दोलनलाई सरकारले बल प्रयोग गरी दमन गर्न खोज्नु अलोकतान्त्रिक र निन्दनीय कार्य भएको जसपाको ठहर छ । सभार मधेसलाईभ 

आरके श्रीवास्तव,राैतहट,०३ गते भदौ । 

जसपा नेपालका युवा नेता राजाबाबु साहले देशमा फेरि मधेसमाथि विभेद गर्ने प्रयास भइरहेको आरोप लगाउँदै मधेसी नेताहरूलाई एकजुट भएर प्रतिकार गर्न आह्वान गरेका छन् । बज्जिकाञ्चल खबरसँगको विशेष कुराकानीमा नेता साहले पछिल्लो समय सर्वोच्च अदालतबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध आएको परमादेशको कडा शब्दमा विरोध जनाएका छन् ।

 

उनले भने, “कांग्रेस र एमालेको भ्रष्ट सरकारले हाम्रो अध्यक्षविरुद्ध सर्वोच्चबाट जुन परमादेश ल्यायो, त्यो पूर्वाग्रही र बदनियतपूर्ण हो। भूमि विधेयकको विरोधका कारण यो बदला स्वरूप आएको कदम हो।”

 

नेता साहले न्यायपालिकामा भइरहेको राजनीतिक हस्तक्षेपप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। “न्यायाधीशहरू राजनीतिक पहुँचबाट नियुक्त हुने गरेका छन्, त्यसैले १९ वर्षपछि आएको फैसला पनि पूर्वाग्रही भएको प्रमाणित हुन्छ,” उनले स्पष्ट पारे।

 

गौर घटनालाई स्मरण गर्दै साहले तत्कालीन मधेस जनअधिकार फोरमले पहिले नै कार्यक्रम तय गरेको तर माओवादीले जानाजान त्यही दिन कार्यक्रम राखेर द्वन्द्व निम्त्याएको आरोप लगाए। “त्यो बेला माओवादीका नेताहरू विशेषगरी प्रभु साहको हठका कारण घटनाको चपेटामा हामी पर्नुपर्‍यो,” उनले दुखेसो पोखे।

 

उपेन्द्र यादवको योगदानको प्रशंसा गर्दै उनले भने, “मधेसीलाई उच्च ओहदामा पुर्‍याउने एउटै नेता उपेन्द्र यादव हुनुहुन्छ। आज मधेसीहरू ठूला–ठूला ओहदामा देखिनु उहाँकै कारण हो।”

 

उनले हाल उपेन्द्र यादव र उनको पार्टीमाथि भइरहेको दबावलाई सुनियोजित योजना भन्दै भने, “जसरी रवि लामिछानेलाई निसाना बनाइयो, त्यसरी नै उपेन्द्र यादवलाई र उनको पार्टीलाई तहसनहस पार्ने खेल भइरहेको छ।”

 

अन्त्यमा, नेता साहले सबै मधेसी दलहरूलाई आह्वान गर्दै भने, “आज फेरि मधेसमाथि अन्याय र विभेद हुने संकेत देखिएको छ। यस्तो समयमा सबै मधेसी दल र नेताहरू एकढिक्का भएर लड्नुपर्ने ऐतिहासिक आवश्यकता आएको छ।”

 

अभिमनु पटेल,रौतहट, ३ भदौ ।

सर्वोच्च अदालतले १९ वर्ष पुरानो गौर घटनामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवविरुद्ध छानबिन अघि बढाउन परमादेश जारी गरेपछि मधेशमा राजनीतिक तरंग आएको छ । जसपा नेपालले यसलाई “राजनीतिक प्रतिशोध” र “राज्यसत्ताको दुरुपयोग” भन्दै रौतहटमा विरोध प्रदर्शन गरेको छ ।

सदरमुकाम गौरमा आज बिहानैदेखि जसपाका कार्यकर्ताले “निर्दोष आन्दोलनकारीलाई फसाउन पाइदैन, “राज्यसत्ताको दुरुपयोग बन्द गर, गौर घटना षड्यन्त्र हो, गौर घटनाको योजनाकार प्रभु साहलाई कारबाही गर, “प्रभु साह हत्यारा हो” जस्ता नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । ¥याली जिल्ला अदालत अगाडि कोणसभामा परिणत भएको थियो ।

जसपा नेपाल रौतहटका अध्यक्ष तथा पूर्वमेयर राजीव रंजन यादवले विरोध सभालाई सम्बोधन गर्दै गौर घटना १९ वर्षपछि पुनः उचालिनु पूर्ण रूपमा षड्यन्त्र भएको बताए । उनले भने, “२०६३ साल चैत ७ गते गौरस्थित राईस मिल प्राङ्गणमा भएको आमसभामा उपेन्द्र यादव सहभागी नै नभएको प्रमाणित भइसकेको हो । तर, तत्कालीन माओवादी नेता प्रभु साहको योजनामा डकैती र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई लागूऔषध खुवाएर सर्वसाधारण जनतामाथि आक्रमण गराइयो । प्रतिकारमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । अहिले वास्तविक दोषीलाई बचाएर निर्दोष आन्दोलनकारीलाई फसाउन खोजिएको छ ।”

अध्यक्ष यादवले गौर घटनाका योजनाकार प्रभु साहलाई सरकार तुरुन्त हिरासतमा लिएर छानबिन गर्न माग गरे । उनले घटनालाई राजनीतिक प्रतिशोधको रूपमा प्रयोग गर्दै एमाले र कांग्रेस मिलेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई टार्गेट गरेको आरोप लगाए ।

जसपाले यस घटनालाई हालसालैको भूमि आयोग विधेयकसँग पनि जोडेको छ । अध्यक्ष यादवका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि आयोग विधेयक पारित गर्न उपेन्द्र यादवलाई पटक–पटक दबाब दिएका थिए । तर यादवले मधेशी जनताका हकहितविपरीत हुने भन्दै अस्वीकार गरेपछि अहिले पुरानो मुद्दालाई पुनः जीवित पारिएको हो ।

उनले भने, “भूमि अध्यादेशका विरुद्ध चट्टानी अडानमा रहेका उपेन्द्र यादवलाई एमाले र कांग्रेस पार्टीले मिलेर लोकतन्त्र, न्यायपालिका र मधेशी जनताको आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले फसाउन खोजिएको हो ।”

२०६३ साल चैत ७ गते गौरस्थित राईस मिल प्राङ्गणमा मधेशी जनअधिकार फोरम नेपालले एक महिनाअघि नै रेडियो तथा बाजागाजामार्फत प्रचार–प्रसार गर्दै आमसभा आयोजना गर्ने तयारी गरेको थियो । तर सोही दिन तत्कालीन माओवादीले कुनै अनुमति नलिई त्यही स्थलमा आफ्नो कार्यक्रम गर्न स्टेज बनाउन थालेपछि तनाव चर्किएको थियो ।

फोरमको सभालाई बिथोल्ने र मधेशी समुदायलाई डरत्रास दिने उद्देश्यले भएको आक्रमणमा स्थानीय जनताले प्रतिकार गर्दा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । त्यस घटनापछि माओवादीले उपेन्द्र यादवसहित रौतहटका करिब १३० जना नेताकर्मचारीविरुद्ध किटानी जाहेरी दिएको थियो । तर प्रारम्भिक अनुसन्धानमै यादव घटनास्थलमै नरहेको पुष्टि भएको थियो ।

आजको कोणसभामा जसपा नेताहरूले सर्वोच्चको आदेशलाई “न्यायपालिकामार्फत राजनीतिक खेल” भन्दै कडा आलोचना गरेका छन् । उनीहरूले गौर घटनाका वास्तविक दोषीलाई कारबाही नगरी निर्दोष आन्दोलनकारीलाई फसाउने प्रयास भएमा मधेशभरि थप व्यापक आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।