२०८२ चैत्र २९
२०८२ चैत्र २९

काठमाडौं, असोज ३ – संविधान दिवसका अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले आज असोज ३ गतेलाई ‘कालो दिन’ तथा ‘शोक दिवस’का रूपमा मनाएको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरूले संविधानप्रति गम्भीर असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका थिए ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले कार्यक्रममा सम्बोधन गर्दै भने, “असोज ३ को संविधानले सबै जाति, वर्ग, समुदायलाई न्याय र समावेशी अधिकार दिन सकेन । यो संविधान हाम्रा सपना र आन्दोलनको अपमान हो।” उनले संविधान निर्माणको प्रक्रियामै मधेस र थरूहट आन्दोलनका आवाजहरू उपेक्षा भएको उल्लेख गर्दै, जेनजी आन्दोलनमा सहादत भएका वीर युवाहरूकाे समझनामा यो दिनलाई ‘शोक’ र मधेसी विराेधी संविधानकाे विरूद्वमा ‘कालो दिन’का रूपमा मनाउनु बाध्यता भएको बताए ।

वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पनि संविधानले मधेस, जनजाति, मुस्लिम, थारू लगायतको पहिचान र अधिकार सुनिश्चित गर्न नसकेको आरोप लगाए । उनले भने, “हामीले लडेका थियौं समान अधिकारका लागि, तर संविधानले त झन् विभाजन बढायो । यसैले आजको दिन हाम्रो लागि खुसी होइन, पीडाको दिन हो।”

कार्यक्रममा उपस्थित अन्य नेताहरूले बरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल,महासचिव मनीष मिश्रले पनि संविधान संशोधनको आवश्यकता तत्काल रहेकोमा जोड दिएका थिए ।  कार्यक्रममा कालो झण्डा देखाएर विरोध प्रकट गरिएको थियो भने सहभागीहरूले कालोपट्टी बाँधेर संविधानप्रति असन्तुष्टि जनाएका थिए ।

कार्यक्रममा संविधान दिवसलाई ‘शोक दिवस’को रूपमा मनाउनुको राजनीतिक सन्देश मात्र नभई मधेस केन्द्रित आन्दोलनको निरन्तरताको संकेतसमेत गरिएको नेताहरूले जनाएका छन् ।

कार्यक्रम सञ्चालन पार्टीका उपाध्यक्ष तथा प्रवक्ता डा. आभास लाभले गर्नु भएको थियो ।

 

आरके श्रीवास्तव,राैतहट,असाेज ०२ गते ।
“समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने नाराका साथ कटहरिया बजारस्थित विवाह मण्डप भवनमा एक दिने युवा मानसिक स्वास्थ्य तालिम सम्पन्न भएको छ । नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा तथा लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य र कटहरिया नगरपालिका वडा नं. ४ को समन्वयमा सम्पन्न तालिममा करिब १५० जना युवाहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कटहरिया वडा नं. ४ का वडाध्यक्ष चन्दन कुशवाहाले युवा पुस्ताले मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “समृद्ध राष्ट्र निर्माणका लागि युवा सशक्त हुनु आवश्यक छ, र सशक्तताको आधार मानसिक सन्तुलन हो । यस प्रकारका तालिमहरूले युवालाई आत्ममूल्यांकन गर्ने र सही निर्णय लिन मद्दत गर्छ।”

कार्यक्रमका आयोजक संस्था नेपाल युवा नेतृत्व विकास केन्द्रका प्रतिनिधि रिजवान बडाईले तालिमको उद्देश्य र आवश्यकता स्पष्ट पार्दै भन्नुभयो, “युवाहरूलाई आत्ममूल्य र आत्मबलको विकास गराउँदै उनीहरूलाई मानसिक रूपमा सशक्त बनाउने हाम्रो अभियान हो। मानसिक स्वास्थ्यबारे खुला संवाद गर्ने संस्कार विकास गर्न यस्ता तालिम अत्यावश्यक छन्।”

तालिमका प्रमुख प्रशिक्षक तथा कटहरिया नगरपालिकाका स्वास्थ्य संयोजक दिनेेश प्रसाद यादवले युवाहरूबीच बढ्दो मानसिक तनाव, डिप्रेसन, र आत्महत्या जस्ता समस्याबारे तथ्यसहित प्रष्ट पार्नुभयो । उहाँले मानसिक स्वास्थ्यलाई शरीरको स्वास्थ्य सरह ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा सामाजिक अभियन्ता सोनु कुशवाहाले भन्नुभयो, “युवाहरूले मानसिक समस्यालाई लुकाउने होइन, खुलेर कुरा गर्नुपर्छ । समस्या चिर्न सक्ने शक्ति युवासँग नै हुन्छ।” अर्का वक्ता रामअधार यादवले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने यस्ता तालिमहरू विद्यालय र समुदायस्तरसम्म लैजानु पर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा पत्रकारहरूले केही युवा पुस्ताहरू गलत कुलतमा फसेर मानसिक तनावकाे सिकार बनेकाे खुलासा गरेका थिए । मानसिक रूपमा सशक्त युवाबिना देशको विकास सम्भव छैन।”

तालिममा इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घरेलु हिंसा, आत्महत्या, लागूपदार्थ दुरुपयोग जस्ता सामाजिक समस्याका कारण युवामा देखिने मानसिक तनावबारे जानकारी दिनुभयो । उहाँले यस्तो अवस्थाबाट उम्कन परिवार, समाज र राज्यको त्रिस्तरीय सहयोग आवश्यक हुने बताउनुभयो ।

कार्यक्रमले सहभागी युवाहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्था नेपाल युवा नेतृत्व विकास केन्द्रले जनाएको छ ।

आरके श्रीवास्तव,रौतहट,असाेज ०२ गते

सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको भावना अनुरूप जिल्ला प्रशासन कार्यालय रौतहट र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूबीचको संयुक्त छलफलबाट १९ बुँदे महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बिनोद कुमार खड्का र जिल्लाभरिका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूबीच सम्पन्न छलफलपछि “सुशासनमा हाम्रो प्रतिबद्धता, भ्रष्टाचार विरुद्ध हाम्रो कटिबद्धता” भन्ने मूल नारासहितका निर्णयहरू कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

प्रजिअ खड्काले कानुनी शासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले भएका यी निर्णयहरूले सरकारी कार्यशैलीमा अनुशासन र प्रभावकारिता थप्ने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख निर्णयहरू यस्ता छन्:

१. इन्धन वितरणमा प्रचलित कानूनको पालना गर्दै पारदर्शी व्यवस्था गरिने।
२. व्यक्तिगत प्रयोजनमा सरकारी सवारी र इन्धन प्रयोगमा प्रतिबन्ध।
३. पालिका वा जिल्ला बाहिर काजमा जाने सार्वजनिक पदाधिकारीले औचित्यसहित जानकारी दिनुपर्ने।
४. व्यक्तिगत प्रयोजनको खर्चको भुक्तानी नगरिने।
५. सम्पूर्ण आय–व्ययको विवरण वेबसाइटमा अनिवार्य रूपमा प्रकाशन गरिने।
६. बजेट र खर्च विवरण वेबसाइटमा राखेपछि मात्र निकासा हुने।
७. मासिक आय–व्यय विवरण सार्वजनिक नगरेसम्म तलब भत्ता निकासा नगर्ने।
८. शाखा प्रमुखहरूको सिफारिसबिना निकासा प्रक्रिया अगाडि नबढ्ने।
९. मौखिक आदेशमा कुनै पनि योजना सञ्चालन नगर्ने।
१०. प्रत्येक तीन महिनामा स्वतः सूचनाप्रकाशन (Proactive Disclosure) गर्ने।
११. आन्तरिक नियन्त्रण प्रणाली बिना भुक्तानी नगर्ने।
१२. रेडबुकबाहेक अन्य चन्दा, दान वा सहायताको भुक्तानी नगर्ने।
१३. सामग्री खरिदमा पूर्ण कानुनी प्रक्रिया पालना अनिवार्य।
१४. योजनापछि सार्वजनिक परीक्षण गर्नुपर्ने।
१५. स्थानीय तहले नियमित रूपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने।
१६. कार्यालय प्रमुखले अधिकार प्राप्त निकायबाट स्वीकृति लिएर मात्र बिदा बस्ने।
१७. सुशासन र भ्रष्टाचार विरुद्ध सामूहिक ऐक्यबद्धता जनाउने।
१८. प्रमुख प्रशासकीय अधिकृत नहाजिर रहेका तहमा साविकका अधिकृतबाट अति आवश्यक भुक्तानी मिलाउने।
१९. अन्य सम्पूर्ण कार्य स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनबमोजिम गरिने ।

प्रजिअ खड्काले सबै स्थानीय तहहरूलाई यी निर्णयहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिइसकेको जनाएका छन्। उनले नागरिक सेवामा विश्वास र पारदर्शिता कायम राख्न यस प्रकारका कदमहरू अत्यावश्यक रहेको बताए ।

यस निर्णयले जिल्लामा सुशासन र उत्तरदायित्वमूलक सेवा प्रवाहमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

आरके श्रीवास्तव,राैतहट,असाेज ०१ गते । 

विश्वकर्मा पूजाको अवसरमा रौतहटको प्रसिद्ध धार्मिक स्थल शिवनगर महादेव मन्दिर नजिक रहेको विश्वकर्मा मन्दिरमा श्री विश्वकर्मा लोहार संघ नेपालद्वारा एक भव्य कार्यक्रम सम्पन्न गरिएको छ । संघका अध्यक्ष विवेक शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि डा. बैधनाथ ठाकुर रहेका थिए ।

कार्यक्रममा गरूडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवाल, मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साह, गरूडा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामबिनोद जयसवाल लगायत दर्जनौं विशिष्ट अतिथिहरूको उपस्थिति थियो । साथै रौतहट जिल्लाभरिका लोहार समुदायका अगुवा तथा समाजसेवीहरू सहभागी थिए ।

 

मुख्य अतिथि डा. बैधनाथ ठाकुरले लोहार समुदायको पहिचान र विकासका लागि संघले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, “संघको निरन्तर प्रयास र नेतृत्वले समुदायमा सकारात्मक परिवर्तन आएको देखिन्छ। यस्ता कार्यक्रमले एकता र चेतनाको सन्देश दिन्छन्।”

 

त्यस्तै, गरूडा नगर प्रमुख कन्थमनी जयसवालले स्थानीय तहले यस्ता कार्यक्रमलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भने, “हामी सधैं सामाजिक विकास र समावेशिताका पक्षमा छौं, लोहार समुदायको सशक्तीकरणमा संघले देखाएको लगनशिलता प्रेरणादायी छ।”

 

त्यस्तै माैलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहले यस्ता कार्यक्रमले राम्रो संदेश दिएको भन्दै आफनाे तर्फबाट संघलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

 

कार्यक्रममा अध्यक्ष विवेक शर्माले संघको तर्फबाट यो वर्ष १५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जानकारी गराउँदै भने, “हामी हरेक वर्ष समाजको हितमा केही नयाँ कार्य गर्ने प्रयास गर्छौं। यस वर्ष छात्रवृत्तिसँगै आँखा जाँच शिविर, रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।” उनले युवाको नेतृत्वमा संघले लिएको गति परिवर्तनशील भएको बताउँदै भावी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा संघकाे काम योगदान पुर्‍याउने व्यक्तित्वहरू र पत्रकारलाई सम्मान गरिएको थियो । समापनमा वक्ताहरूले संघको क्रियाशीलता, युवाको सक्रियता र समुदायप्रतिको समर्पणको प्रशंसा गरेका थिए ।

 

संघले हरेक वर्ष जस्तै यस वर्ष पनि भव्य रूपमा कार्यक्रम आयोजना गर्दै सामाजिक एकता र पहिचानको संरक्षणमा टेवा पुर्‍याउँदै आएको छ ।

काठमाडौं, असोज १ गते – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा आज पार्टीको पदाधिकारी, केन्द्रीय सदस्य, तथा भातृ/शुभेच्छुक संगठनका प्रमुखहरूको बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय बबरमहल काठमाडौंमा भएको बैठकले आउँदो चैत्र ६ र ७ गते पार्टीको केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको छ । त्यससँगै बैठकले असोज ३ गतेलाई ‘कालो दिन’का रूपमा यथावत् राख्दै ‘शोक दिवस’का रूपमा मनाउने निर्णयसमेत गरेको छ । सो अवसरमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूले कालोपट्टी बाँधी कार्यक्रमहरूमा सहभागिता जनाउनेछन् ।

पार्टीका अनुसार असोज ३ गतेको दिन देशमा मानवअधिकार उल्लंघन र उत्पीडनको ऐतिहासिक सम्झनामा कालो दिनको रूपमा मनाउने परम्परा रहेको छ । विशेषगरी जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति प्रति सम्मान प्रकट गर्नका लागि एक मिनेट मौनधारण गरिनेछ ।

बैठकले आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेको छ । साथै, शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

 

पार्टी अध्यक्ष महन्थ ठाकुरले बैठकपछि प्रेस विज्ञप्ति मार्फत जनाएअनुसार, लोकतन्त्र, सामाजिक न्याय र समावेशी आन्दोलनप्रति पार्टीको प्रतिबद्धता यथावत् रहेको र आन्दोलनमा सहभागी सबैप्रति सम्मानजनक व्यवहार गरिनुपर्नेमा पनि बैठकले जोड दिएको छ ।

 

आरके श्रीवास्तव,राैतहट, असाेज ०१ गते

आज राैतहट सहित देशभर विश्वकर्मा पूजा श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरूले औजार, सवारीसाधन, मेसिन र निर्माणसँग सम्बन्धित उपकरणहरूको पूजा गर्दै विश्वकर्मा पूजाको उल्लासपूर्वक आयोजना गरेका छन् ।

विशेष गरी निर्माण व्यवसाय, मिस्त्री, कारखानामा काम गर्ने मजदुर, प्राविधिक र सवारीसाधनधारीहरूले आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन् । राैतहटकाे कटहरिया,गौर, चन्द्रनिगाहपुर, गरुडा लगायतका बजार क्षेत्रहरूमा रहेका ग्यारेज, वर्कसप र कारखानाहरूमा बिहानैदेखि पूजा–पाठ, भजन–कीर्तन तथा प्रसाद वितरण कार्यक्रम भइरहेको छ ।

विश्वकर्मा भगवानलाई सृष्टिका पहिलो वास्तुकार मानिन्छ, जसले सम्पूर्ण ब्रह्माण्डको रचना गरेको विश्वास गरिन्छ । आजको दिन काममा प्रयोग गरिने औजार तथा सवारीसाधनहरूलाई सफा गरी पूजा गरिन्छ र दिनभर ती उपकरण प्रयोग नगरी विश्राम दिइन्छ ।

यस पर्वको अवसरमा कतिपय स्थानमा छुट्टी घोषणा गरिएको छ भने कतै स्थानिय तहको पहलमा सामूहिक पूजा कार्यक्रम समेत आयोजना गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते । 

देशको नयाँ प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नियुक्ति भएपछि रौतहटको कटहरिया नगरपालिका–५ स्थित विवाह भवनको अगाडि चौकमा स्थानीय युवाहरूले मैनबत्ती बालेर खुशीयाली व्यक्त गरेका छन् ।

 

शुक्रबार राति दर्जनौँ युवाहरू “जय युवा” नारासहित चौकमा भेला भएर दीप प्रज्वलन गर्दै सुशीला कार्कीप्रति समर्थन र सम्मान प्रकट गरेका हुन् । उनीहरूले कार्कीलाई इमानदार, निडर र न्यायप्रेमी नेतृको रूपमा चित्रण गर्दै आगामी दिनमा देशले सही दिशा पाउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी स्थानीय युवा बैजु दास बानियाले भने, “सुशीला कार्कीजस्तो साहसी नेतृत्व अहिलेको आवश्यकता हो । हामी युवाहरू परिवर्तन चाहन्छौं, र कार्कीज्यू त्यस परिवर्तनको प्रतिक बन्न सक्नुहुन्छ।”

 

सांकेतिक दीप प्रज्वलनपछि युवाहरूले शान्तिपूर्ण तरिकाले जातीय, क्षेत्रीय तथा पार्टीगत भेदभावभन्दा माथि उठेर सुशासनको पक्षमा आवाज उठाउँदै एकताको सन्देश पनि दिएका थिए ।

 

साे कार्यक्रममा स्थानिय बासिन्दा समेत सहभागीता रहेको थियो ।

काठमाडौं, भदौ २७ – हालै देशव्यापी रूपमा भएको जेन्जी आन्दोलनमा अन्धाधुन्ध गोली चलाइँदा दर्जनौँ युवाहरुको ज्यान गएको घटनाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता डा. आभाष लाभद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “ऐतिहासिक, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति जलेर नष्ट भएको घटनाप्रति पनि पार्टी संवेदनशील छ।” साथै, संविधानलाई आधार मानी संघीयताको मर्म विपरीत नजाने गरी, मुलुकमा शान्ति र स्थायित्व शीघ्र स्थापित गर्नुपर्नेमा जोड दिइएको छ ।

 

लोकतान्त्रिक समाजवादी पार्टीले समाधानको खोजीमा संघीय लोकतान्त्रिक मोर्चाको अभिमतलाई सम्मान गर्दै अघि बढ्न सरकार र सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

 

जेन्जी आन्दोलन पछिल्लो समय युवा पुस्ताले पुराना राजनीतिक प्रणालीप्रति व्यक्त गरेको असन्तोषका रूपमा देखिएको छ । तर, यस आन्दोलनको क्रममा भएको हिंसा र राज्यद्वारा गरिएको बल प्रयोगको चौतर्फी आलोचना भइरहेको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २७ गते । 

रौतहट जिल्लाको ईशनाथ नगरपालिका–१ स्थित बकैया खोलामा नुहाउने क्रममा एक किशोर डुबी बेपत्ता भएका छन् ।

 

बिहिवार दिउँसो ३:१५ बजेको समयमा स्थानीय फौदी साहका १५ वर्षीय छोरा बिगन साह पाँच जना साथीसँग खोलामा नुहाउने क्रममा खोलाको बहाव अचानक बढेपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

 

घटना सम्बन्धी खबर अपराह्न ४:१५ बजे प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्जराहाबाट प्रहरी निरीक्षक (प्र.ना.नि.) को कमाण्डमा दुई जना र स.प्र.नि.को कमाण्डमा चार जना गरी जम्मा ६ जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

 

अन्य चार जना बालक भने सकुशल रहेका छन् । बेपत्ता भएका बालकको खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

घटना स्थल ईलाका प्रहरी कार्यालय बन्जराहाबाट पूर्वतर्फ करिब २ किलोमिटरको दूरीमा रहेको बताइएको छ ।

 

प्रहरी र स्थानीयबासीको सहयोगमा खोज तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

आरके श्रीवास्तव,राैतहट,भदौ २७ गते । 

रौतहट जिल्लाको हर्षाहा क्षेत्रमा अवस्थित प्रहरी चौकीमा गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा केही उत्तेजित समूहले आगजनी गरी चौकी पूर्णरूपमा क्षति पुर्‍याएका थिए । घटनामा चौकीका संरचना जलेर नष्ट भएका थिए भने प्रहरी प्रशासनको कामकाज पनि प्रभावित भएको थियो ।

 

तर यो घटनाले स्थानीय सज्जन नागरिकहरूको प्रहरीप्रतिको विश्वास र सहयोग भावना कम गर्न सकेन् । चौकी जलेपछि क्षेत्रका भद्रभलाद्मी, समाजसेवी र स्थानीय नागरिकहरूले पहल गर्दै त्यसलाई पुनः मर्मत गरी सञ्चालनमा ल्याउने कार्य अघि बढाएका छन् ।

 

ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीका अनुसार, “नेपाल प्रहरी जनताको जिउधनको सुरक्षाका लागि २४ सै घन्टा तत्पर रहन्छ । अस्थायी आवेगमा आएको एउटा समूहको गतिविधिले हामीलाई रोक्न सक्दैन् । हामी अझ बलियो, सुदृढ र कर्मठ बन्दै जनताको सेवामा समर्पित रहनेछौं।”

 

स्थानीय जनताको सहयोगमा चौकी पुनःनिर्माणको कार्य सुरु भइसकेको छ । यस क्रममा आवश्यक सामग्री जुटाउने, श्रमदान गर्ने र आर्थिक सहयोग गर्ने कार्यमा समुदायले सक्रियता देखाइरहेका छन् । प्रहरी प्रशासनले पनि चौकी सञ्चालन पुनः सुचारु गर्न आवश्यक तयारी गरिरहेको जनाएको छ ।

 

सामुदायिक सहभागिता र प्रहरी प्रशासनबीचको सहकार्यले हर्षाहामा कानुनी शासन र शान्तिको पुनःस्थापना हुने आशा गरिएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।