इन्दीप कोइराला,बारा, ३ भदाै ।
बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथी आक्रमण गरेका हुन् ।
आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घरमा बसिरहेका बेला पचरौता नगरपालिका-२ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणसँगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उपप्रमुखको घरमा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा घरका दराज, बाक्सा र सामान फालिएको अवस्थामा थियो । उक्त समूहले यसअघि पनि उपप्रमुखको घरमा आक्रमण गर्दै आएको र प्रहरीमा उजुरी दिँदा दर्ता नगरिएको स्थानीयको भनाइ छ ।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे आफूले पनि जानकारी पाएको र प्रहरी परिचालन गरिएको बताए । पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाईते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।
प्रहरी उपरीक्षक बोगटीले घटनास्थलको स्थिती अहिले सामान्य रहेको र दुवै पक्षका घाइतेको उपचार भइरहेको बताए । बोगटीले थप झडप हुन नदिन प्रहरी परिचालन गरिएको र घटनाको विषयमा आफूले बुझिरहेको बताए ।
हेमन्त केसी,सुर्खेत, ३ भदाै ।
नेकपा माओवादी केन्द्रकै नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको आफ्नै पार्टीभित्र व्यापक आलोचना सुरु भएको छ । तीन महिने अभियानलाई सफल बनाउन कर्णालीमा इन्चार्ज भएर आएका उपमहासचिव मात्रिका यादवले सुझाब माग्ने आयोजित कार्यक्रममा कर्णाली सरकारकै आलोचनाको मुख्य विषयले भारी समय खर्चियाे ।
अधिकांश बैठकमा सहभागीले मुख्यमन्त्री राजकुमार शर्मासँग सम्पर्क समेत गर्न मुस्किल भएको बताएका थिए । नेकपा माओवादी केन्द्र कर्णालीका अध्यक्ष बिमला केसीले भनिन्, ‘मुख्यमन्त्रीज्यूलाई पार्टीले कुनै हस्तक्षेप नगर्ने निर्णय गरिसकेकाले हामी केही नभन्ने पक्षमा छौँ , उहाँलाई कसरी काम गर्दा सजिलो हुन्छ । त्यही गर्नुहुन्छ ।’
अर्का स्थायी सदस्य कालीबहादुर मल्लले आफ्नो पार्टीबाट गएका मन्त्रीहरुलाई एक जना स्वकीय राख्दा पार्टीका सिफारिसमा राख्नु, अरु इच्छा आएका व्यक्तिलाई राख्नु भनेपनि त्यो कुरा कार्यान्वन नभएको बताए । उनले भने ,‘ पटक , पटक मैले मुख्यमन्त्रीलाई ध्यानाक्रषण गराएको छु । बाँकी काम गर्ने उहाँले हो । ’
शनिबारदेखि सुर्खेतमा कर्णालीका १० जिल्लाबाट आएका पार्टीका नेता कार्यक्रतालाई प्रशिक्षण हुन लागेको छ । त्यहाँ समेत पार्टी र सरकारको बीचमा तालमेल नमिलेको आवाज चर्को रुपमा उठेको छ । अहिले सम्म व्यापारी , पत्रकार , तथा शुभचिन्तकसँग प्रदेश इन्चार्ज मात्रिका यादवको उपस्थितीमा अन्तरक्रिया हुँदै आएका छन् ।
सत्तामा पुग्न साथ पार्टीका कुरा नसुन्ने प्रवृतिले गर्दा आफूहरु हैरान भएको सहभागीले बताएका छन् । प्रदेश समितिका पदाधिकारी समेतले सरकारमा सहभागी साथीहरुले आफूहरुको कुरा नसुनेको गुनासो गर्न भ्याएका छन् । त्यस्तै केही सहभागीले तपाइहरु अहिले बाहिर हुनुहुन्छ, तपाइँहरु सरकारमा हुँदा कस्तो गर्नुभएको थियो, अहिले अर्काले कुरा नसुन्दा कस्तो अनुभूति हुदोरहेछ भन्दै ब्याङगे समेत गरेका थिए । सरकारका महत्वपुर्ण अंगमा राजनीतिक न्यूक्ति गर्नुपर्नेमा वर्ष दिन सम्म खाली राखेर के गर्न खोजेको भन्दै मुख्यमन्त्रीलाई सहभागीले प्रश्न समेत गरेका थिए ।
प्रेस सेन्टर निकट पत्रकारले सबै भन्दा बढी मुख्यमन्त्रीको आलाचेना गरेका थिए । स्थानीय तहका जनप्रतिनिधिले समेत पार्टीका कुरा नसुनेर एकलौटी तरिकाले अगाडी बढेको समेत भारी आलोचना भएको छ । संघीय मन्त्री , प्रदेशका मुख्यमन्त्री ,मन्त्री देखि स्थानीय तहका जनप्रतिनिधि सम्मको आलोचना भइरहेको छ । पार्टी भित्र आलोचना गरेमा मन नपरेकाले भित्तामा पुर्याउने गरेको समेत गुनासो गरिएको छ ।
उत्तर प्रदेश इन्चार्ज मात्रिका यादवले यो समस्य देशै भरी भएकाले नै यो तीन महिने अभियान सञ्चालन गरिएको बताए । अब गाउँ ,गाउँमा माओवादी, जनजनमा माओवादी भएमा मात्र यो पार्टी बन्ने उनले तर्क गरे । गुट, उपगुट सबैलाई पिसेर धुलो बनाइने समेत बताए । नेताहरु सुविधभोगी भएको तर जनताको कुरा सुन्न छोडेको भन्दै आलोचना भएपछि नेताहरूलाई जवाफ दिन मुस्किल हुँदै आएको छ ।
हेमन्त केसी ,सुर्खेत, ३ भदाै ।
डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरु मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । घटना घटेको ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो ।
वडा नं ६ बस्ने बालिकामाथि स्थानीय युवाहरुले पटक पटक बलात्कार गरेको किटानी जाहेरी परिवारबाट जिल्ला प्रहरी कार्यालयमा आएपछि संलग्न नौ जनामध्ये तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका तीनमध्ये दुई जनालाई जुम्लाबाट र एक जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । ६ जना युवा फरार छन् । फरार रहेकाहरुको खोजी कार्य तिब्र रुपमा भइरहेको प्रहरीले जनाएको छ । फरार भएका युवालाई पक्राउ गर्न सजिलो होस् भनेर नियन्त्रणमा लिइएका युवाहरुको नाम प्रहरीले गोप्य राखेको छ ।
बलात्कार भएकी बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको छ । गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको परिवार निम्न वर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो । पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ । बलात्कृत बालिका कक्षा ७ मा अध्ययनरत छिन् ।
प्रदीप कुमार दास, रौतहट भदौ ०२ गते,शनिबार ।
रौतहटको गढीमाई नगरपालिकाका निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व सम्बन्धि ३ दिने मध्यवर्ती तालिम आज गरुडाको आशिर्वाद होटलमा सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा IFES सहकार्यमा ‘ शी लिड्स : महिला नेतृत्व कार्यक्रम अन्तर्गत विगत वर्ष देखि नै यस्ता तालिमहरु विभिन्न सत्रमा सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमको उदघाटन तथा समापन सत्रमा माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासको उपस्थिति रहेको थियो ।
२०२२ को जनवरी-फेब्रुअरी सम्म नेपालको मधेश प्रदेशका २८ नगरपालिकामा स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ , यस तालिमबाट महिला जनप्रतिनिधिहरुले सिकेका ज्ञानहरुलाई अवश्य नै व्यवहारमा लागु गरी समग्र नगरपालिकाको विकासमा नै सहयोग पुर्याउनेमा आफु विश्वसत रहेको बताए ।
यस कार्यक्रम अन्तर्गत गढीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । मध्यावर्ती तालिममा नैतिकवान नेतृत्व, समस्याको विशलेषण, तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन र दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिको बारेमा छलफल गरिएको थियो ।
महिला जनप्रतिनिधिहरुमा पहिलाको भन्दा अझ यस तालिमले नेतृत्व क्षमताको विकास गरेको तालिममा सहभागि महिला जनप्रतिनिधिहरुले जानकारी गराउनु भयो । मध्यवर्ती तालिममा गरुडा नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै पत्रकार , माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०२ गते ।
गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले आज भदौ २ गते बृहत् किसान आम भेला गरेको छ ।
श्रीराम सुगर मिल्स लिमिटेड गरुडा रौतहटका संचालनको लागि आयोजना गरिएको बृहद किसान आम सभा कार्यक्रम शनिवार मिल्सको मैदानमा सम्पन्न भएको छ ।

उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमको प्रमुख आतिथिको रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का संघिय सांसद देव प्रसाद तिमल्सिनाले उद्योग संचालन गराउनको लागि संघिय सस्कारबाट रकम व्यवस्थापन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद किरण साहले बन्द रहेको चिनी उद्योगको लिलामी प्रक्रियाबाट जोगाउन कानुनी प्रक्रिया अपनाउनु पर्ने बताए। । यसको लागि सडक देखी सदन सम्म आवाज उठाउनु पर्ने जोड दिए ।
रौतहटको धरोहरको रूपमा रहेको चिनी मिलको जग्गा बिक्रि गर्न कसैले चाहे रौतहटका जनता त्यसको प्रतिकार्य गर्न पछि नहट्ने बताए ।

आम सभामा मधेश प्रदेश सरकारका उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्रि अब्बुल कलाम अजाद उर्फ फुलबाबुले प्रदेश सरकार, संघ सरकार र स्थानीय सरकारको सहयोग गर्नु पर्ने बताए ।

चिनी मिल संचालनको लागि पटक पटक आवाज र संघर्ष गर्दै आएका संघका अध्यक्ष अशोक यादवको सभापतित्वमा सम्पन्न भएको आम सभामा पुर्ब संबिधान सभा सदस्य राम कुमार भट्टराई, पूर्व राजदुत डाक्टर बंशीधर मिश्र, पूर्व कृषि राज्य मन्त्रि योगेन्द्र यादव, प्रदेश सांसद कनिश पटेल, सुनिल यादव, गरुडा नगर पालिकाका मेयर कन्थ मुनि जयसवाल, बौद्धिमाई नगर पालिकाका मेयर प्रदिप यादव, बृन्दा बन नगर पालिकाका नगर प्रमुख बिनोद पटेल, पुर्ब मेयर राम स्नेही यादव नगर प्रत्यासी बृज किशोर यादव, अनिल यादव, दिपक यादव, सुनिल यादव, विजय यादव लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।
गरुडाको चिनी मिल बचाउन सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाइएको थियो ज्ञापनपत्र
गरुडाको चिनी मिल बचाउन प्रर्दशन सहित ज्ञापनपत्र बुझाइएको थियो । श्रीराम सुगर मिलको उपकरण लिलाम भएछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको थियो । साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको र सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिएका थिए ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०२ गते ।
रौतहटको मध्य भाग गरुडामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याबसन रौतहट द्धारा एक दिवसीय जिल्ला स्तरीय हाजरि जवाफ प्रतियोगीता कार्यक्रम २०८० सम्पन्न भएको हो । गरुडा स्थित रहेको श्री न्यू डिभाईन लाइट सेकेण्डरी इंग्लिश बोर्डिङ्ग स्कूल गरुडा ४ मा सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवाल,विशिष्ट अतिथी उपप्रमुख पुनम चौधरी,वडा अध्यक्ष रामबिनोद साह रह्नु भएको थियो ।

राष्ट्रिय निजि तथा आवासीय विधालय एसोसिएसन नेपालका अध्यक्ष तथा डिभाईन लाइट स्कूलका प्रधानाध्यापक बिगन राय यादवको अध्यक्षामा कार्यक्रम भएको थियो । सो प्रतियोगितामा नेशनल प्याबसनमा आबद्ध १४ वटा स्कूलहरु सहभागि भएका थिए ।

प्रतियोगितामा चिरञ्जिवी नारायणी सुकदेव चौक स्कूल,गौतम गोबिन्द धनाडी,ज्योती पराडाइस मौलापुर,श्री ज्ञान कुञ्ज इनर्वा,कलाकुञ्ज इंगलीश बोर्डिङ्ग औरैया,सुशान्त इंगलीश बोर्डिङ्ग स्कूल,अन्नपूर्ण स्कूल मौलापुर,मिड रौतहट आवासीय बिधालय,द्धान एकेडेमी औरैया,हिमालयन इंगलीश बोर्डिङ्ग स्कूल दोही गोनाही,सरस्वती ज्योती इंगलीश बोर्डिङ्ग स्कूल दिपही, र देवपती आदर्श बाल बिधालय यमुनामाइ सहभागी रहेको थियो ।

प्रतियोगीतामा श्री न्यू डिभाईन लाइट सेकेण्डरी बोर्डिङ्ग स्कुलले प्रथम, ज्ञानकुञ्ज इंगलिस बोडीङ्र्ग स्कूल वौधिकाई नगरपालिका २ इनारवा द्वितिय, प्यूस एकेडेमी इशनाथ डुमरिया तृतिय स्थान हासिल गर्न सफल भएको छ ।

पुरस्कार दिएर विद्यार्थीहरुमा एउटा नयाँ उत्प्रेरक जगाएको हुनाले उनीहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरिएको अध्यक्ष यादवले बताउनु भयो । सो अवसरमा नेशनल प्याबसनका जिल्ला उपाध्यक्ष जितेन्द्र पटेल,कोषाध्यक्ष सुरेन्द्र चौधरी,सचिव उधो राय यादव,प्रदेश पर्यवेक्षक विजय कुमार यादव,गरुडा नपाका शिक्षा संयोजक सरोज गौतम, नेशनल प्याबसनमा आबद्ध बिधालयका प्रिन्सीपल संस्थापक,शिक्षक शिक्षिका,बिधार्थी,अभिभावक तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

गरूडा,भदौ ०१ गते ।
गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको श्री बंशीराम जयसवाल अनाथालयलाई खेलकुद समाग्री हस्तान्तरण गरिएकाे छ । सोहि नगरपालिकाको वार्ड नं.६ अमरपट्टी निवासि युवा नेता रबिन्द्र प्रसाद यादवले आफ्नो निजि लगानीमा करिब १५ हजार बाराबरको खेलकुद समाग्री अनाथालयलाई एक कार्यक्रम बिच हस्तान्तरण गर्नु भएको हो ।
युवा नेता यादवले आफ्नो लगानीमा ३ थान क्यारमबोर्ड ,पिंङ्ग ,फुटबल ,भलिबल ,ब्याट ,बल ,ब्याडमिन्टन,चेस लगायतकाे र खेलकुद समाग्रीहरु हस्तान्तरण गरेको बताउनु भयो । पढाई लेखाईको साथसाथै खेलकुद पनि जिवनमा अति नै आवश्यक रहेको बताउदैं यादबले भने खेलले पनि मानिसको शरिरलाई गतिलो,फ्रुतिलो ,दिमागलाई चलायामान बनाउने उदेश्यले अनाथालयका अनाथ बालबालिकालाई हस्तान्तरण गरेको बताउनु भयो ।
उनले यति मात्र नभएर समाज वहाँले १ सय भन्दा बढि बालबालिकालाई फ्रि टिउसन पढाउने ,किसानलाई औषधी छर्न टंकी ,छाता ,कम्बल जस्ता अनेकौं समाग्री बितरण गदै आईरहेका छन् ।
हनुमत कुमार यादव,गाैर,भदौ ०१ गते ।
नेपाल स्वयंसेवक संघ मधेश प्रदेश द्वारा आरती शाहका हत्यारालाई कारबाही गर्न मांग सहित रौतहटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंत्री लाई ज्ञापनपत्र बुझाईएको छ । दाइजो नल्याएको निहुँमा हत्या गरिएकी जनकपुरकी आरती शाहको परिवारप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउन नेपाल सरकारसँग नेपाल स्वयंसेवक संघ मधेश प्रदेशले माग गरेको छ ।
संघले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमंत्री लाई एक ज्ञापनपत्र बुझाएका छन् । प्रत्येक नेपाली नागरिकको न्याय पाउने अधिकार नेपालको संविधानमा सुनिश्चित गरेको हुदाहुदै पनि दाइजोको निहुमा गरिएको हत्याको घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन माग गरेको हो । सरकारले कुनै सुनुवाई नगरी अभियुक्तलाई जोगाउने नियत राखेर पीडित परिवारको आन्दोलन समाप्त पार्ने गरी सरकारको निर्देशनमा प्रहरीद्वारा गरिएको ज्यादती, शोषण, दमनप्रति स्वयंसेवक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महिला प्रहरी हुदा हुदै आन्दोलनमा बसेका मिला लाई पुरुष प्रहरीले शरीरका संवेदनशील अंगमा हात लगाई गाडि भित्र हालेको घटना समाजिक संजाल व्यापक रुपमा देखिएको नेपाल सरकारका गृह मंत्रालयको आदेशमा आन्दोलनकारी लाई पक्राउ गर्न गएका पुरुष प्रहरीले महिला माथी गरेको दुर्व्यवहार प्रति घोर निंदा गर्दै दोषी प्रहरी माथी कार्यवाही गर्न समेत स्वयंसेवक संघले मांग गरेका छन् ।
मृतक शाहको न्यायका लागि माइती पक्ष काठमाडौँको माइतीघरमा धर्ना बस्न थालेको ६४ दिन बितिसक्दा समेत सरकारले बेवास्ता गरेको संघकी प्रवक्ता पूजा पाठक तिल्सिनाले बताएकी छिन् । मृतक शाहको न्यायका लागि संघकी प्रवक्ता तथा प्रदेशका फोकल पर्सन पूजा पाठक र जिल्लाका फोकल पर्सन राकेश कुमार यादवले संयुक्त रूपमा प्रजिअ मार्फत प्रधानमंत्री लाई ज्ञापन सौंपेका छन् ।
रमेश कुमार यादव,रौतहट, ०१ गते भदौ ।
देशको छैठौं राष्ट्रिय भाषाको रुपमा रहेको बज्जिका भाषामा रौतहट जिल्लाको कटहरिया बाट नियमित रुपमा प्रकाशित हुँदै आएको विश्व बज्जिकाको एक मात्र दैनिक पत्रिका बज्जिकाञ्चल दैनिक पत्रिकाले आज आफनो बार्षिकोत्सव मनाएको छ । बज्जिकाञ्चल दैनिक पत्रिकाले तेस्रो वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन गरेको छ ।
पत्रीका प्रकाशक राजु कुमार श्रीवास्तवको अध्यक्षतामा कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा आयोजना गरिएको पत्रीका तेस्रो वार्षिक उत्सव कार्यक्रम धुमधामको साथ सम्पन भएको छ । सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा कटहरिया नगरपालिकाको नगर उपप्रमुख रिता देबि यादव रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथीको रुपमा देवाहिगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु रहनु भएको थियो ।

कार्यक्रममा साहित्यकार रेणु गुप्ताले स्वागत मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम सञ्चालन पत्रकिाका प्रकाशक श्रीवास्तवले गर्नु भएको थियो । स्वागत मन्तव्य राख्नु गुप्ताले बाज्जिका भाषा हाम्रो मातृभाषा रहेको कारण यसलाई बचाउन आवश्यक रहेको बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै बाज्जिका साहित्कार किशुनदयाल प्रसाद यादवले भने, हाम्रो रौतहटबाट नै प्रकाशित हुने बाज्जिका भाषाको दैनिक पत्रिका एक मात्र रहेको पत्रिका हो । त्यस कारण यस भाषा र पत्रिकालाई संरक्षण गर्न हामी सबैजनाको सहयोग अति नै आवश्यक रहेको छ ।

उनले भने कि यो भाषा हाम्रो मातृभाषा समेत रहेकोले यसलाई विलय हुन नदिन एकजुट भई ब्यवहारमा उतार्न पनि सबैलाई आग्रह समेत गर्नु भएको थियो । अरु कुरा त परै जाओस, तर हामि आफ्नो आमाबाट पहिलो पल्ट सिक्ने भाषा रहेको बाज्जिका भाषा नै रहेको हो । त्यसैले हरेक मानिस हरेक तहतप्काबाट आ–आफ्नो तवरबाट सहयोग आवश्यक रहेको पनि बताउनु भयो । यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बाज्जिका भाषका संरक्षक, विज्ञ,साहित्यकार एवम् शिक्षक संजय साह मित्रले दोस्रो बर्ष पार गरि तेस्रो बर्षमा प्रबेश गरेकोमा बाज्जिकाञ्चल दैनिक पत्रिकालाई बधाइ तथा शुभकामना दिदै भने कटहरियाबाट बाज्जिका भाषामा प्रकाशित हुने रौतहटको एक मात्र पत्रिका रहेको छ ।

जुन हामी आफ्नो आमाको कोखबाट नै सिक्ने भाषा बाज्जिका नै रहेको छ र यो भाषामा प्रकाशित हुने पत्रिका सबै खाले ब्यतिmले बुझने गरि पढने पत्रिका रहेको हुँदा यसलाई अझै प्रोत्साहन गर्नेमा जोड दिएका थिए । साथै उनले भने कि मधेश प्रदेशमा बोल्ने अन्य भाषाहरु मध्येबाट भोजपुरी भाषा भन्दा अगाडी बज्जिका भाषा रहेको पनि जिकिर गर्नु भएको थियो । मधेश प्रदेशको तेस्रो भाषाको रुपमा रहेको बजिजका भाषा २०७८ सालको जनगणनामा हाम्रो मधेश प्रदेशमा बाज्जिका बोल्ने भाषाको संख्या ११ लाख भन्दा बढी रहेको समेत दावी गर्नु भएको थियो ।

त्यसमा पनि रौतहट सबभन्दा अगाडी र सर्लाहि दोस्रो स्थानमा रहेको समेत बताउनु भएको थियो । शिक्षक साहको अनुसार मधेश प्रदेशको अधिकाशं जिल्लामा हाम्रो बाज्जिाका भाषा बोल्ने गरेको समेत जानकारी दिनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुले पत्रिकाको उतरोतर प्रगतीको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । साथै पत्रिकाको विकासको लागि चौतर्फी रुपमा सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो । आउँदो दिनमा हाम्रो बाज्जिका भाषा अरु भाषा भन्दा अगाडी रहने दावी समेत गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर उपप्रमुख रिता देवी यादवले यो बाज्जिका भाषामा हाम्रै नगरपालिकाबाट प्रकाशित हुने पत्रिकालाई संरक्षण गर्न सबैजनालाई हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको थियो । साथै हाम्रो मातृभाषामा पनि प्रकाशित भईरहेको र यो पत्रिका बालबालिका,बृद्धबृद्धा कर्मचारीहरुले पनि आफ्नो भाषामा रहेको पत्रिका प्रष्टसंग बुझने भएकोले यसलाई गत बर्ष झै यस बर्षमा पनि सहयोग गर्न अति आवश्यक रहेको बताउनु भयो ।

यो पत्रिकालाई आफुबाट हुने सम्पुर्ण सहयोग लगायत पालिकाबाट हुने सहयोग समेत गर्ने आश्वासन समेत दिनु भएको थियो । कार्यक्रममा पत्रिकाको विकासका लागि अमूल्य सहयोग गर्नु हुने अतिथीहरु लगायतका व्यत्तीहरु पनि पत्रिकाको तर्फ बाट प्रशंसापत्र प्रदान गरिएको थियो । लाइ सो कार्यक्रममा कटहरिया वडा नम्बर ३ का पूर्व वार्ड अध्यक्ष उमेश यादव,वर्तमान वडा अध्यक्ष श्यामाकान्त यादव,इप्रका कटहरियाका प्रतिनिधी,मौलापुर एफएमका समाचारबाचक सागर ठाकुर ,पत्रकार दिपेन्द्र रजक ,रामप्रबेश बैठाले आफ्नो मन्तब्य समेत राख्नु भएका थिए भने मधेश जनअवाज एफएमका समाचार बाचक एवम् रिपोर्टर रमेश कुमार यादब ,हनुमत यादब ,नागरिक समाज ,बुद्धजिवि ,भद्रभलादमी मानिसहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

इन्दीप कोइराला,बारा, १ भदाैं ।
श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एक जनासहित बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका- २६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेको हो ।
देवानसँगैं श्रीमतीको मृत्यु भए बीमाबाट मोटो रकम आउने भन्दै उनलाई उक्साएको आरोमा एशियन लाईफ ईन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अंसारी पनि पक्राउ परेका छन् । यस्तै पक्राउ परेका अर्का एकजनाको नाम खुल्न सकेको छैन ।
पक्राउ परेका देवानले अन्दाजी ४० वर्षिया पत्नी हजरा खातुनको नाममा एशियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैंयाको जीवन बीमा गराएका थिए । गत वर्ष भदौमा हजाराको मृत्यु भएको थियो । बीमा अभिकर्ता अन्सारीमार्फत उनले श्रीमती खातुनको नाममा २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराएका थिए ।
हजाराको गतबर्ष भदौमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएको थियो । सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाएर उनले बीमा दावी गरेपछि २०८० साल असारमा बीमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैया क्षतिपूर्ति भुक्तानी गरेको थियो ।
देवानले बीमाबाट रकम बुझिसकेपछि देवान पत्नी हजराकोे मृत्यु शंकास्पद भएको सूचना पाएको प्रहरीले देवानलाई सोही समयदेखि निगरानीमा राखेको थियो । देवानले श्रीमतीको आफूले नै हत्या गरेर दुर्घटनाको नाटक गरेर बीमा कम्पनीबाट रकम निकालेको भन्दै हिँडेको पाईए पछि उनीहरुलाई सोमवार प्रहरीले पक्राउ गरेको हो । उनले घाँटीमा सलले बेरेर श्रीमतीको हत्या गरेका थिए ।
बीमाबाट रकम लिन पत्नी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको बारा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिनकै लागि श्रीमतीको हत्या गरिएको पुष्टि भएको छ, उनले भने, घटनाको गहिरो गरी अनुसन्धान भइरहेको छ ।’ घटनामा अझै केहीको संलग्नताको आशंका छ । विस्तृत विवरणका लागि दुई दिन अझै पर्खिन पनि उनले आग्रह गरे ।